Ramesh Bikal – Pariksha Kendra : Maane Exam Hall (Hansya Byangya)

रमेश विकल – परीक्षा केन्द्र : माने एक्जाम् हल (हाँस्य-व्यंग्य)
(रचना द्वैमासिक)

स्थान : परीक्षा केन्द्र

पात्रहरू :
उल्फ के.सी. – खल पात्र
ज्याकिल शर्मा – अर्को पात्र
भ्यालेन्टाइन गुरुङ – एउटी पात्री
सेक्सी पाण्डे – मुख्य पात्री
फूलन के.सी. – खल पात्री
(अरु धेरै हल्लागिरी पात्र पात्रीहरू)
एङ्कर शर्मा – परीक्षा रेखदेख गर्ने शिक्षक

उल्फ के.सी. : (पप गायन शैलीमा) : ओ ऽऽऽ मा’ भ्यालेन्टाइन ल्यासी ! ऽऽ आई लभ या’ ऽऽ आई लभ याऽऽऽ आई लभ या ऽऽऽ ओ ऽऽऽ

सेक्सी पाण्डेः (उस्तै नक्कल गर्दै) ओ ऽऽऽ यू ब्लडी स्वाइन ऽऽऽ यू लुक अन् द मिरर ऽऽऽ ऽऽ अर ऽऽ अर ऽऽ

उल्फ के.सी. : ओ ऽऽ मा’ ओल्ड बिच ! आ’म द स्मार्ट एण्ड क्यूट ऽऽ आ’म द हिरो नम्बर वान् ऽऽऽ यु’र माई भेलेन्टाइन गर्ल ऽऽऽ ऽऽऽ

(सबै परीक्षार्थी उठेर हल्ला गर्दै नाच्न थाल्छन् । अलि पर एउटा कुनामा एउटा मेचमा उँघिरहेको एङ्कर शर्मा झल्याँस्स हुन्छ ।)

एङ्कर शर्मा : (न्यायाधीशको पारामा) : अर्डर ! अर्डर ! यो तिमीहरूको भाँड भैलो गर्ने ठाउँ डिस्को होइन, भट्टी होइन ! यो परीक्षा केन्द्र हो, एक्जाम् हल ! हल्ला खल्ला होइन ! खुरुक्क बसेर लेख्ने ! टेक योर सिट ! (सबै बस्छन्)

ज्याकिल शर्मा : (नजिकै बसेकोसंग) यो कुन चाहिं फिलीमको गीत हो भाइ ? यो मैले नहेरेको परेछ कि क्याहो ?

रेम्बो : यति पपुलर पिक्चर पनि नहेरेको ? तँ त साँच्चैको ड्याम्फुल नै रहेछस् भाइ ! यो हाम्रो हिरो नं. वन गोगो के.सी. र नं. वन हिरोइन लरनिङ् थापाले खेलेको ‘बलात्कार’को फेमस गीत हो । यस्तो पनि मिस गर्ने ?

ज्याकिल : (खुसामदी स्वरमा) ए ! लौ न भाइ, भन् त्यो कुन सिनेमा हलमा लाग्या छ अहिले ? म भरे नै गएर हर्छु भन् न प्लीज !

रेम्बो : (गजक्क परेर) जनसेवा सिनेमामा !

स्याम्बो : के हावाको भरको कुरा गर्छ यो रेम्बो ! जनसेवा हल भनेको त अहिलेको हो ? उहिल्यै खतम् भैसकेकोलाई आज सपना देख्छ । साउनमा आँखा फुट्या गोरु सधैँ हरियो देख्छ !

भ्यालेन्टाइन : (लाई स्वरमा) सर, सर ! म यो प्रश्नको उत्तर दिन सक्तिन । यसको सट्टा आफैं प्रश्न बनाएर दिन्छु । हाम्रो डेमाण्डमा ब्वाइज एण्ड गर्लको लागि फरक फरक प्रश्न हुनु पर्छ भन्ने छ ।

एङ्कर : त्यो त कसरी हुन्छ ? पुरुष महिला भनेको समान हुन्; समान अधिकार अझ बढी अधिकार हुनु पर्छ भनेर नयाँ सडकमा उफ्रने पनि तिमरु अहिले…

भ्यालेन्टाइन : त्यो त अर्थको मामिला पो त ! अरुमा त हामीलाई पुरुष भन्दा कमै काम गर्ने सुविधा चाहिन्छ नि !

एङ्कर : मैले अगि नै भनिसकें ! प्रिन्सीपल सरले लेख्नु भएको गाइड बुकबाट हेरेर उत्तर दिनु भनेर ? सके गाइड बुक पनि ल्याएकी छैन होली ! पैसा त लाग्छ नि अलि अलि ! त्यत्ति खर्च नगरेर आफ्नै बुद्धि र मिहिनेतले पास हुन खोज्ने कसरी असल र उत्तम विद्यार्थी हुन सक्छ ? यत्रो गाइड बुक किन्न पाइने बेलामा पनि गाइड बुक नल्याएको ? ऊ त्यो कुनाको दराजमा खात पुस्तक देख्यौ ? त्यो पुस्तकालय होइन बेच्न राखेको गाइड बुक हो । लौ तुरुन्त किनी हाल !

(फेरि फोनको घण्टी बज्छ , ऊ फोनको हातो उठाउँछ) ओ सेक्सी पाण्डे भन्या को हो ? तिम्रो फोन !

सेक्सी : (उठेर फोन लिदै) हेलो ! ….को बोल्या ! ? हैण्डसम् डार्लिङ्ग ! …ओ ! माई लभ ! …आई लभ यू ! आ’ रियली लभ या’ । … एक्जाम् ! कस्तो हुनु नि , बोर छ नि यार ! … आफ्नो बुद्धिले लेख्न पाइन्न भन्छ .. हो हो गाइड सर ! …उसको प्रिन्सिपलले लेख्या गाइड बुकबाट एन्सर गर्नु रे ! हेर न यार …कस्तो छ रे ! को गाइड सर ! बोर छ नि यार ! धोक्रे पाइन्ट एलो ज्याकेट, पुरानो ढाका टोपीबाट ‘पिग टेल’ जस्तै टुप्पी निस्केको छ । ऊ धेरैजसो मेचमै निदाइ रहन्छ । … डान्स पनि गर्न दिदैन , सिङ्गिङ् पनि गर्न दिदैन । … हेर न के गर्नु भन्या ! के सरलाई दिनु … सर तपाईंलाई !

एङ्कर : (रिसिभर लिएर) हेलो को ! …मलाई थाहा छैन । म त आफ्नो ड्युटी गर्ने हुँ । माथिबाट जे भन्छन् त्यै मलाई, तिमीसँग … (सेक्सीतिर) लौ फेरि तिमीलाई !

सेक्सी : हेलो ! हैण्डसम् डार्लिङ् ? उल्फ के.सीले आफ्नो अगाडि डेस्कमा चक्कु गाडेको छ … म कुमारी अगाडि पर्खन्छु । के फेरि सरलाई दिनु ? सर फेरि तपाईलाई !

एङ्कर : (ग्रहण यन्त्र लिएर) हेलो ? …के भन्नु छ फेरि तपाईंलाई …चक्कु …हो देखिरहेको छु … एउटा केटाको अगाडि डेस्कमा गाडेको छ । के मेरो जीवन बीमा छ ! जहान बच्चा पनि छन् एउटो छोरो एउटी छोरी ! … थ्याङ्क यू !

भ्यालेन्टाइन : साँच्ची सर ! थैङ्क यू लाई नेपालीमा के भन्ने ? मेरो मम् ड्याडले पनि घरमा नेपाली राम्रो बोल्नु हुन्न ! … इस्कुलमा त कुरै भएन …. आउँदै आउँदैन (ब्यागबाट लिपिष्टिक निकालेर ओठमा दल्न थाल्छे) ।

उल्फ के.सी. : साँच्चै ओ, माष्टर ! हाम्रो मागको बारेमा के भयो ?

एङ्कर शर्मा : मलाई थाहा छैन ! सुपरिटेन्डेन्ट कहाँ गएर सोध !

उल्फ के.सी. : तपाईंलाई थाहा नभए तपाईंको के काम त यहाँ ? …हेर्नोस् हामीलाई अरुथोक थाहा छैन, हाम्रो सबै माग पूरा हुनु पर्छ । चोरेर र किताप हेरेर मात्र होइन, आफ्नो बुद्धिले लेखेको एन्सर पनि मानिनु पर्छ । नत्र अनिश्चित कालको हडताल गरिन्छ ।

एङ्कर शर्मा : तर मेरो काम त यहाँ तिमरुले नियम पालना गर्छौ कि गर्दैनौ त्यो हेर्ने हो । गरेनौ भने रेष्टिगेट गर्ने हो । अरु कुरा त माथिबाट हेर्ने हो । तै पनि हेरौं त तिमरुले आ आफ्नो बुद्धिले के लेखेका छौ ?

ज्याकल शर्मा : मैले त कितापै हेरेर लेख्या छु । अस्ति मात्र गाइड बुक किनेर ल्याएको …नपत्याए हेर्नोस् यी ! …. (देखाउँछ )

एङ्कर शर्मा : खोई ? … (हातमा लिन्छ) यो चैं होइन । …यो त अर्कै ग्याङ्गको माष्टरले लेखेको । हाम्रो प्रिन्सीपलले होइन । हामीलाई हाम्रै सरको पुस्तकबाट चाहिन्छ । नत्र…

उल्फ के.सी. : (अगाडि सरेर) नत्र के ? … ओ तीन कौडी माष्टर ! अगाडि डेस्कमा चक्कु देख्या छ कि छैन ? र …यी मैले लेख्या छु आफ्नै बुद्धिले ! हेर्र्छौ – …लौ हेर !

एङ्कर शर्मा : खोई ? (उत्तर कपी लिएर पढ्छ) प्र˘न नं. एक गौतम बुद्धको बारेमा के जान्दछौ ? लमकरीमा लेख, उत्तर : बुद्ध पश्चिमको थारु राजा यलम्बरको छोरो हो । उसको मावली पूर्वको लिम्बुवानमा थियो मेरै मावली गाउँमा । …उसकी आमा सुत्केरी हुन माइत जाँदा धरान विजयपुर बुढा सुब्बाको शिकार बनमा ऊ जन्मिएको हो । पछि मावली तिरकै राई केटीसँग उसको बिहा भयो । छोरो पनि जन्म्यो । राई केटीहरू अलि स्वतन्त्र स्वभावका हुन्छन्; कसैको अण्डरमा बस्न सक्तैनन् । …के कुरामा खटपट परेर स्वास्नीले बुद्धलाई लात्तीले हानेर दर्बारबाट निकालिदिई । ऊ विरक्त भएर हिंड्यो । पछि युवराज लामाले उसलाई आफ्नो ‘नगर बधु’ भन्ने पिक्चरमा हिरोको रोल दियो । (पढ्दा पढ्दै खुशी भएर) वा : क्या डिसेन्ट आन्सर !

उल्फ के.सी. : अरु अगाडि पढन अनि देख्छौ ब्रिलियन्ट कसलाई भन्ने !

एङ्कर शर्मा : (पढ्दै) हिरो बन्नु भन्दा पहिले नै ऊ पद्म कन्या क्याम्पस अगाडि घुम्दै रोमाण्टिक गीत गाएर हिंड्थ्यो । ओ माई भ्यालेण्टाइन गर्ल, ऽऽ यू’र सो ब्यूटिफुल ब्यूटि ऽऽऽ आइ लभ् या ऽऽऽ लभ् या ऽऽऽ लभ् या ऽऽऽ एउटी केटीले एक दिन चप्पल फुकालेर मारि दनक दिएपछि ऊ फेरि भिक्षु बनेर स्वयम्भूको जङ्गलमा घुम्न थाल्यो, त्यहीं आम्रपाली भन्ने कलगर्लसँग उसको इलु इलु भयो । एक दिन उ एक्लै वनमा कुनै च्वाँक केटीको खोजीमा घुम्दै गर्दा एउटा रोगी बुढालाई भेट्यो । उसले सोध्यो “बुढा बा ! बूढो भए पछि कस्तो फिलिङ्ग हुन्छ हँ ?” बुढाले लामो सुस्केरा हाल्दै जवाफ दियो – “हेर बाबु ! शरीर बुढो भएर एक्सन अर्गेन चल्न छोडे पनि मनको अर्गेन त चलिनै रहन्छ – ‘जोबन गयो बैंस त गएन लैलै’ ! कुनै च्वाँक गर्ल देखेपछि इलु इलु गर्न इच्छा त हुन्छ । तर आफुले चाहेका योङ गर्ल कण्डाले टर्र्दैनन् । कुनै कुनै आफ्नै उमेर यताउतिका अधवैंसे खास गरी सेक्स हङ्ग्री वीडोहरूले आँखाभरि इलु इलुको भोक बोकेर आफूलाई हेर्छन् । तर आफ्नो मन जाँदैन । … यस्तै हुन्छ । …अनि कल्पनामै इलु इलु गर्‍यो बस्यो ।”

एङ्कर शर्मा : वा : लेख्न त गजबै एन्सर लेखेछौ । तर …. तर….

सेक्सी पाण्डे : तर के तर सर ? के यो झुठो एन्सर हो त सर ? इलु इलुमा स्याण्डलको किस पनि मिसिन्छ ! … मलाई कति रोमाण्टिक बुढाहरू इलु इलुको प्रपोज गर्न हुरुक्कै हुन्छन् । म सेक्सी पनि छु नि त अनि योङ् पनि । लौ त भने टीन एजर, अनि म उसलाई सेण्डलको ‘किस’ दिन्छु ।

फूलन के.सी. : वा ! क्या बोल्ड एक्सन । …के गर्नु, आफूलाई त कुनै योङ् केटाले त के कुरा एजेड विडोअरले पनि फुट्या आँखाले हेर्र्दैन । आफ्नो त पूरा बैंस नै यसै गरी बित्न लाग्यो । बैंस के अब त सिङ्गो जुनी नै बित्ने भयो !

भ्यालेनटाइन : (उत्सुक भएर) अनि सेक्सी ! अनि के भयो ? तिमीले स्याण्डल किस दिए पछि त्यो ओल्ड फुलले के गर्‍यो ?

सेक्सी पाण्डे : इलु इलुमा सेक्स किसको गिफ्ट पाएपछि के गर्छ गर्छ मान्छे – कि रेपिष्ट बन्छ , कि सिङ्गर बनेर साइड सङ्ग गाएर हिंड्छ; कि इलु इलु पोइट्री लेखेर पोएट बन्छ । केही बन्न सकेन भने कि झोली तुम्बा बोकेर जङ्गल तिर, गाउँ तिर पस्तछ । त्यस्तै इमोशनल फुल भए सुसाइड गर्छ । ओल्ड फुलहरू त न सिङ्गर बन्न सक्छन्, न पोएट । उनीहरू त रेपिष्ट पनि बन्न सक्तैनन् त्यो बोल्डनेस कहाँ, न सुसाइड नै गर्न सक्छ । जति बुढो भयो बाँच्ने इच्छा उति नै बढी हुन्छ । उसको एउटै मात्र गोल हुन्छ, झोली तुम्बा बोकेर भजन गीत गाउँदै हिंड्नु ‘अलख बम बम ! … लौ हजूर जोगीलाई मानामुठी दान ! …’ (सबै गल्ल हाँस्छन्) त्यसै गर्‍यो उसले । अथवा घरकै एउटा अँध्यारो कुनामा छोरा बुहारीले लत्याएर दिएको गाँस खाँदै लङ ब्रिदिङ गर्दै बाँच्यो होला । (एक पल्ट फेरि गल्ल हाँसो)

एङ्कर शर्मा : अर्डर अर्डर ! … इट्जि एनफ । …अब आफ्नो काम ! अहिले फेरि सुपरिटेन्डेन्टको राउन्ड हुन्छ । (हल्ला र उफ्राउफ्री झन् चर्किन्छ । डेस्कको चक्कु थरथर काम्न थाल्छ । माष्टर डरले थर थर हुँदै हनुमान चालिसा पाठ गर्न थाल्छ ।)

जय ! जय ! जय हनुमान गोर्साई

कृपा करो गुरु देवकी नाइ

भूत पिशाच नजिक नही आए

महावीर जब नाउँ सुनाए

(अनि उठेर) : म जान्छु प्रिंसिपल कहाँ । (निस्कन्छ )

क्यारोन : देख्यौ कसरी हारेको कुकुर झैं टाङ मुनि पुच्छर लुकाएर भाग्यो ।

उल्फ के.सी. : अकडिएर बस्या भए त खान्थ्यो नि ! राजेन्द्र खड्गीलाई विश्व बस्नेतले ख्वाए जस्तो !

फूलन के.सी. : वा : साँच्चै क्या बक्सिङ थियो हगि ? ढिस्यूँ ढिस्यूँ । .. क्या स्वाद आएको थियो ।

क्यारोन : तिमरु आइमाईलाई के थाहा बक्सिङको स्वाद !

ज्याकिल : आइमाई भनेर नहेप आजका गर्लहरूलाई, याद गर उसले फूलन के.सी. नाउँ लिएकी छ । उसका लागि एक दुइ मर्डर गर्नु ठूलो कुरो होइन ।

क्यारोन : ओ सरी फूलन ! …आफ्नो ‘फूलन’ ……….. मै माथि यूज नगर्नु नि फेरि ।

ज्याकिल : (हाँसेर) उसले अहिल्यै ट्राउजरमा सु सु गरिसके जस्तो छ । (सबै गलल्ल हाँस्छन् टेलिफोन बज्छ)

उल्फ के.सी.: (टेलिफोनको रिसिभर सुन्दै) हैलो ! को माष्टरनी ? उनी ठीक ठाक छन् डोन्ट वरी (हत्केलाले बोल्ने भाग छोपेर) माष्टरनीको सातो उडेजस्तो छ । (हात खोलेर) धन्दा नमान माष्टरनी, हाम्रो डेमाण्ड पूरा गरिदिए सम्म उनलाई केही हुन्न । डोण्ट वरी । (रिसिभर राख्छ )

भ्यालेन्टाइन : अँ साँच्चै त्यो छ नि त्यो नयाँ सिनेमा छ नि त्यो केरे ? ….चाहिया बेलामा आउँदैन नाउँ पनि के रे .. हो ‘लभ मेकिङ’ … हो अनि अर्को लाइन के रे ? भन न क्यारोन (क्यारोन शर्मा उठेर उसलाई आँगालोमा च्याप्छ दुवै हल्लिन थाल्छन् ।)

क्यारोन : ओ माई भ्यालेन्टाइन गर्ल ~~ ओ माई हनी लभ ~ लेट्स मेक ए लभ ~~ टुगेदर ~~ मेक अ रियल लभ ~~ लेट्स प्ले अ प्राक्टिकल लभ मेकिङ ~~ लेट्स डु एक्सपेरिमेन्ट अन लभ मेकिङ् ~~~ इट्स आवर रियल एजुकेशन ~~~ सेक्स एजुकेशन ~~~ इट्स आवर राइट् ~~~ ट्वेन्टी फस्ट सेञ्चुरी नीड्स -~~~ (एङ्कर शर्मा भित्र पस्छ)

उल्फ के.सी. : आयौ माष्टर ? के भने त सुपरिन्टेण्डेन्टले ? ….

एङ्कर : तिमरु बम्वैया नाङ्गा र मारकाटका सिनेमाको अमरीस पुरी, गुल्सन ग्रोभर नठान रे । ज्यादा त्यस्ता सिनेमाका पछि लागेर नहिंड रे । हाम्रा जमानामा त हामीले त्यस्तो केही गरेनौं रे !

फूलन : तपाईंहरूका पालामा त त्यस्ता सिनेमाहरू भए पो हेर्नु नि… ! तपाईंहरू त बारबर एजका ज्यू विस्टहरू !

एङकर : धेरै हामीलाई नहेप नानी ! हाम्रा पालामा जति अहिले के छ ? … हामी त अङग्रेजी नाटक

सेक्सपियर हेर्थ्यौ । संस्कृतका कथाहरू महाभारत पढ्थ्यौं, तरबारका खेलहरू, कुखुरा जुधाउने खेल, बरुवाल थुमा जुधाउने, बट्टाइ जुधाउने खेलहरू हेथ्र्यौ ।

सेक्सी पाण्डे : साँच्चै माडसाप यार ! महाभारत कसले लेख्या हो ?..(तर एङ्कर जवाफै नदिई बाहिर जान्छ)

फूलन : त्यति पनि थाहा छैन ? … महाभारत हरेकृष्णा हरेराम हरेकृष्णा हरेरामले लेखेको । हरेकृष्णा हरेराम भक्तपुर आउँदा तिमीहरू हेर्न गएनौ ? …हो त्यही लेखेको !

भ्यालेन्टाइन : तिमरु सबै बगमफुस । महाँभारत त देवानन्दले लेखेको । हरेकृष्ण हरे रामाले त महाँ भारतको बारेमा गीत पो गाएको ।

ज्याकिल : प्लीज भ्याल; त्यो रेडियो बजाउन बन्द गरिदेऊ न । मैले एक लाइन पनि कपी गर्न सकिन ।

भ्यालेन्टाइन : कहाँ हुन्छ ! म त म्यूजिक नसुनी एक अक्षर पनि लेख्न सक्तिन । …त्यही त भरखर “एउटा क्वेस्चन कम्प्लिट गरें ।

फूलन के.सी.: कम्प्लिट नाऊ लेख्ने जरुरी पनि छैन । पास्ट इज पास्ट !

सेक्सी : दाट्स राइट …तर क्वेश्चन भए पछि एन्सर त गर्नै पर्छ … तर अँ … अँ … पृथ्वी नारायण शाहले कस्तो ड्रेस लाउँथे हँ ? (एङ्कर शर्मा बाहिरबाट आउँछन् उनको पहिरन अहिले विचित्रको छ । अङ्ग्रेज नाइटहरूले लगाउने जस्तो : शिरमा शिर स्त्राण हातमा हर्क्युलसले लिनेजस्तो गदा, आङमा जालीदार ज्याकेट कम्मरमुनि घुँडासम्म झल्लरी जामा (स्कर्ट) ।

परीक्षार्थी : (खास गरी छात्राहरू अताल्लिदै कराउँछन्) : भूत ! भूत ! एकजाम हलमा भूत !

एङकर : ए : म भूत होइन, वर्तमान नै हुँ । तिमरुकै इनभिजिलेटर (मकुण्डो झिक्छ )

सेक्सी : ओ ! माड्साप तपाईंले त झण्डै हाम्रो सातो नै लिइदिनु भो ! …छ्याः म त कस्तरी डराएकी ।

भ्यालेन : म पनि ! म त अङग्रेज नाइटको भूत भनेर … यस्तो ड्रेस किन माड्साप ?

एङ्कर शर्मा : के गर्नु त ? तिमीहरूले कुन बेला चक्कु उठाएर हिर्काउने हो !

ज्याकिल : हामी किन हिर्काउँछौं ? हाम्रो माग पूरा गराइदिनु होस्न भैगो नि । हामीले आफ्नो बुद्धिले लेखेको आन्सर पनि ग्राण्ट हुनु पर्छ ; अनि

फूलन के.सीं : होइन, हामीले लेख्तै नलेखी हाजिर मात्र भए पनि पास हुन पाउनु पर्छ ।

सेक्सी पाण्डे : हाजिर पनि हुन नपर्ने … प्रिभिलेज हुनुपर्छ ; फर्म फिलप गरेपछि अटोमेटिकली पास भएको मानिनु पर्छ । होइन भने …

उल्फ के. सी. : (हावामा घुस्सा हिर्काउदै) हामीसँग जो टकराउला !

भ्यालेन्टाइन : त्यसले पाउडर पाउडर पाउडर भएर डष्टमा मिल्ला (टेविलको चक्कु स्वतः हावामा उठेर माष्टरलाई लखेट्न थाल्छ । माष्टर यो कुना र ऊ कुना भाग्न थाल्छ । आखिर ऊ छुरीको सामू हनुमान मुद्रामा – एउटा घुँडा टेकेर हात जोर्दै भजन गाउन थाल्छ ।)

ओम् जय ………

…………………..

……………………

……………………

(फोन बज्छ । डराउँदै डराउँदै गएर रिसीभर उठाउँछ) ह..ह..हेलो ! को सुपरिन्टेण्डेन्ट साब ! ..सबै ठीक छ । …. गाइड बुक त किनेका छैनन् तर पुस्तकहरू पल्टाएर लेख्ने एटेम्ट गर्दैछन् । … तर उनीहरूको डेमाण्ड चाहिं एकजाममा शामेल नभएपनि फर्म फिलप गरेपछि स्वतः पास भएको मानिनु पर्छ । …हस् ! … (केटाकेटीतिर) सुन्यौ तिमरुले ! मैले त एम्बुलेन्स र फायर ब्रिगेड चाहिन्न भन्या थिएँ , तर बाहिर आएर बसिसकेछ ।

उल्फ के.सी. ल ल भैगो ! अब ज्यादा बक बक नगर ! …हामीलाई आफ्नो काम गर्न देऊ । हामी डान्स गर्ने मूडमा छौं, कसो फ्रेण्डस् एण्ड कम्रेडस् !

फूलन : हो हो वी डान्स् … वी सिङ् … नत्र वी …(छुरा देखाउँछे)

एङ्कर (अलि आँटिलो बनेर) नत्र के ? … घरिघरि ध्वाँस नदेऊ । मसँग पनि छ त्यस्तो टेट फर टाइट गर्ने । (परीक्षार्थीहरूको भन्दा पनि ठूलो छुरी झिकेर देखाउँछ ) तिमरु त मेरा चेला हौ । म त गुरु हुँ तिमरुका ! …कतिसम्म तिमरुका ध्वाँस – डर त्रास र आतङ्कसामू निहुरमुन्टी न मात्र भएर बस्छौं र ? …हामीले पनि जान्या छ बिसौलीमाथि धार्नी बन्न ।

उल्फ के.सी. (कम्मरमा हात राखेर उठ्तै ) साँच्चै खोज्या हो त ?

एङ्कर : सडप् यु ब्लडी फूल !

उल्फ के.सी. यू सडप् ! ओल्ड फूल !

एङ्कर : यू… यू… यू…

(त्यहाँ एक्कासी चकमन्न छाउँछ । डेस्कमा गाडिएको चक्कु नराम्ररी थरथराउँछ । वातावरणमा आतङ्कको गन्ध सुँघेर एङ्कर एक्कासी विनम्र हुन पुग्छ ।)

हेर भाइ बहिनी हो ! … तिमरु भन्या देशका सपूत हौ । म जस्तो एउटा निरीह शिक्षकसँग झगडा गरेर के मिल्छ ? तिमरुसँग साँच्चै जोश छ, त्यो आक्रोश विकृतिसंग जुध्नमा लगाऊ, भ्रष्टाचार, आतङ्क बलात्कार, भ्रष्टाचारको विरोधमा, देश र समाजलाई अधोगतितिर होइन ऊर्ध्वतिर लैजान लगाउ । …तिमीहरूले त यो देशको यसको उन्नति प्रगतिको जिम्मा लिनु पर्छ । हामी त कति रहौंला र ? माटो, यो धर्ति यो देश त तिमरूकै हो ! यसलाई ध्वंशतिर धकेल्दा तिमरु आफैं ध्वंश विनासतिर धकेलिन्छौ । त्यसैले आक्रोश जगाऊ तर विकृतिको विरुद्ध, विनासको विरुद्ध । लौ तिमरु समझदार छौ, जे गर्दा आफ्नो भविष्य उज्यालो हुन्छ , आफ्नो चरित्र सफा र सुन्दर हुन्छ, सृजनात्मक हुन्छ त्यही गर । हामी हस्तक्षेप गर्दैनौ ।

भ्यालेन्टाइन (खुशी हुँदै) के तपाईंले साँच्चै भन्नु भएको हो माड्साप ? के हामीले देश बनाउन सक्छौ ?

एङ्कर : अवश्य सक्छौ , इमानदार बन्न सक्छौ, शुद्ध चरित्र भएका असल मान्छे बन्न सक्छौ तिमीहरूले साँच्चै चाहृयौ भने !

उल्फ के.सी. हो हामी देशका सपूत हौं ! हामी देश बनाउन सक्छौं । हामी मुलुकलाई ध्वंश तिर होइन सृजना तिर निर्माण तिर लगाउँछौं । भ्रष्टाचार !

समवेत स्वर : मुर्दावाद ! मुर्दावाद !

उल्फ के.सी. भ्रष्टाचारी ! … व्यभिचारी, अत्याचारी !

समवेत स्वर : मुर्दावाद ! मुर्दावाद !

उल्फ के.सी. लौ साथी हो ! …अब हामी लेख्न थालौं । हाम्रो कापी खाली छ । दिमाग खाली हुनेको मात्र कापी खाली हुन्छ । हाम्रो दिमाग खाली छैन । त्यहाँ करोडौं समस्याका समाधान छन् । खाली हामीसंग विश्वासको कमी छ । हामी अर्काको लहै लहैमा चाँडै लाग्छौं । हाम्रो यो बानीले भ्रष्ट बदमास र दुष्टहरूले हाम्रो घोडा चढ्छन्; हाम्रो जोश जाँगर र बुद्धिलाई आफ्नो क्षुद्र स्वार्थ पूरा गर्न उपयोग गर्छन् , गर्दैछन् र भोलि पनि त्यस्तै जमर्को गर्न सक्छन् । हामी त्यसमा नफसौं । …लौ अब काममा जुटौं । पढ्न लेख्न पाउने हाम्रो अधिकार !

समवेत स्वर : जिन्दावाद ! जिन्दावाद !

उल्फ के.सी. एकजाम दिन पाउने हाम्रो हक !

समवेत स्वर : जिन्दावाद ! जिन्दावाद !

(फोनको घण्टी बज्छ)

एङ्कर शर्मा (प्रफुल्ल मुद्रामा यन्त्र उठाएर) हेलो ! नानीकी आमा – … अँ, यहाँ सबै ठीक छ । धन्दा मान्नु पर्दैन । केटाकेटीहरू तल्लीन भएर प्रश्नको उत्तर दिंदैछन् । शान्ति छ । चिता बनाउनु पनि पर्दैन, दाउरा बनाउनु पनि पर्दैन । …होइन, होइन घाटको सामान केही किन्न पठाउनु पर्दैन । पुरेत दाजु भाइ कसैलाई बोलाउनु पर्दैन । …चक्कु – चक्कु पनि डेस्कमा गाडिएको छैन । …भनिहालें नि सबै लेख्नमा मग्नछन् । …बरु आफैं सक्छ्यौ भने शिव मृत्युञ्जयको सङ्कटा भैरवको स्तोत्र पाठ गरे हुन्छ; पछि आउने सङ्कट पनि रोकथाम होला ! … ल त… (रिसिभर राख्छ) अँ त तिमीहरूले लेखिसक्यौ !

समवेत स्वर : सक्यौ सर !

एङ्कर शर्मा : कस्तो गर्‍यौं ? …सर होइन, गुरु भन । म रिसाउन्न

भ्यालेन्टाइन : राम्रै गर्‍यौं जस्तो लाग्छ । थैङ्क्यु गुरु । तर थैङ्क्यूसंग गुरु वर्ड कति अड लाग्छ । थैङ्क्यूको नेपालीमा के हुन्छ गुरु ?

एङ्कर शर्मा (अलि अकमकिन्छन्) मलाई अहिले ठयाक्कै आएन । म डिक्स्नरी हेरेर भोलि भनिदिउँला ।

सेक्सी पाण्डे : ओ.के. सर ! ओ गुरु , हेप्पी डे । गुड नाइट् स्वीट् ड्रीम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *