Tanka Subba – Bipatti Ma Pareka Chhan Chara Haru

टंक सुब्बा – विपत्तिमा परेका छन् चराहरु

फूलहरु
टिपिएकाछन् विषालु हातहरुले
र कुल्चिएका छन् भूइभरि थुङ्गाहरु
चैत्र वैशाखको विकराल मौसम जस्तै
पिउदैछन् फसादी करेसावारीहरु
तसर्थ
बिताइरहेछन् संक्रामक क्षण
दिनहरु अनायस
फूलसंग रमाउने चराहरु
हिंसामा अनुवाद भएपछि
अनिदो भोग्दैछन्
आफ्नै वासस्थानमा चराहरु
व्यथित छन्
समयको प्रदूषित आचरणले
किनभने रुखहरु विरुप भएर
हरियालीबाट बिछोडिएका छन् वनपाखाहरु
उजाडिएका छन् परिवेशमा
संगिनीहरुको भाका संगीतमा नउनिए पछि
दुख्दा रहेछन् छातीहरु
त्यसैले क्षणहरु सन्त्रासमय बनेका छन्
किनकी शिकारीहरु
बन्दूक भिरेर वन पसेपछि
विपत्तिमा परेका छन् चराहरु