Sarubhakta – Suchi

सिकारी हावाः प्यारापिटमा उभिएका जुलुशहरु
किचकवधका पूनरावृत्तिहरु हेर्दैछन्
खरायो वर्षभरि
सफाया अभियान चलेको छ
वेलुनको पृथ्वी
स्लोथगतिमा घुमेको छ
हामी कृषकामा आत्माहरु
चमेरा फल्ने रुखहरु मन्तिर चिडियाखानामा
खैनीखाने वाघहरु हेर्दैछौं
उ ! विधवाहरुको जुलुश
लोग्नेमरेको सुशोभन तक्मा विभुषित छन्
समय आधातित भ्रुणपरीक्षण – प्रत्येक दिन
सिमोन दी वुआहरु आत्मघातित छन्
युद्ध सहस्राब्दी र अकालवुद्धहरु
लासहरुमा सूचिकृत छन्
आउ, यूरो डलरका मुण्डमालाहरु भिरेर
च्याउवमहरुको खेती गरौं
प्रोफाइलहरुमा बन्द जिन्दगी
लोडसेडिङ्ग प्रेमका वाढीहरुमा वग्छन्
सवै भन्छन् हृदय विशाल हुनु पर्छ
त्यसैले आऊ, भैंसीका हृदय प्रत्यारोपण गरौं
ए ! पानखाने बूढाहरु कता लागे ?
आजभोलि सर्वत्र अहंकारका ज्वालामुखीमा
लाभाका पानहरु बेचिन्छन्
विचारहरुको दासत्वः अव हामी दासप्रथाबाट
आत्मदासप्रथातर्फ उन्मुख छौं
देशधर्तीभरि तुफान छ ? त्यसो भए आऊ,
मनचिन्ते विमानमा पर्वतीय उडान भरौं
प्रत्येक मान्छे एक जैविक हतियार हो
ए ! यो पशुपतिनाथको देश हो
यहाँ मान्छे पाइदैनन् ?