Sarubhakta – Bhitto

सम्प्रति यातनालय
खुम्बू हिमनदीका खरपसजाल
हुडिनीजात्राहरुमा हामीले पाएका छौ
आखेटोपहार – मुक्त कमैयाका
वन्धनहरु
क्यानोपीका नात्रेडयामसहरु
वधशालाका सिम्फोनीहरुमा
रगतका मूल्य किट्छन्
टटेरो – संविधानका खोस्टाहरु
सौसुरिया लाप्पाका धावाहरुमा
अवशोषित छन्
कोपरा उत्सवभरि
हुइयाँ गर्छन् आठपहरियाहरु
वन्दी सिधा खाएर
उत्प्रेषणको आदेश के छ ?
जलवनस्पतीय गृहिणीहरु धमाधम
पोतेमा झुण्डिएर आत्महत्या गर्दैछन्
रगतका अक्षरहरु
जातीय युद्ध भष्मासुरित छन्
खोई कस्लाई थाहा छ कहाँबाट
ओइरिए – अनन्त सहस्रार्जुनहरु ?
राष्ट्रिय सम्वत्सरमा
जहिलेपनि हामीसित अपहरित भित्तो छ
आह ! कहिलेसम्म रजाइ गर्नान्
नेपथ्यका माउसुलीहरु ?