Saroj Dhital – Gaun Ko Tyo Budho Manchhe

सरोज धिताल – गाउँको त्यो बुढो मान्छे

जस्तै धूमिल होस् आकाश
जस्तै चिसो होस् धरती
मुसुक्क पोतेर मुस्कान
चाउरी परेका गालाहरूमा
स्वागत गरिरह्यो उसले मलाई
त्यो निष्ठुर जाडो भरी
र गुन्जिरह्यो आकाश भरी
त्यो मधुर गान ।

कौतूहलले एकछिन छाडेन मलाई ।

थाम्नै नसकी उत्सुकताको भेल
जब सोधेँ— बूढा बा ! के हो यो खेल ?
कहाँबाट निचो¥यौ यो मुस्कान ?
भावनाको यो खडेरीमा
तिम्रो मनको मुरलीमा निस्कन्छ कसरी या सुरिलो तान ?”

दिव्य आभा झुल्कियो
त्यो बूढो अनुहारमा
र देखेँ मैले त्यो आभामा
उसको र जगतबीचको सीमा
पग्लिँदै विलिन हुदै गइरहेको छ
ऊ नै ब्रम्हाण्डमा लिन भइरहेको छ
सिङ्गो ब्रम्हाण्ड
उसमै विलिन भइरहेको छ

उसको सिङ्गो अस्तित्व
दिनुमै अडिएको छ
फुलेका सेता केसहरू—दिइरहेका छन्
चाउरी परेका गालामा देखिने
स–साना तरङ्गहरू—दिइरहेका छन्
उसका शब्दहरू दिइरहेका छन्
गाँठा पार्न थालेका औँलाहरू—दिइरहेका छन्
र ऊ भने आफैँ
कृतज्ञताको
पवित्र सरोवरमा नुहाइरहेको छ

स्वप्नबाट बिँउझेसरी
फेरि
उसको दम्भरहित
दिव्य अनुहार
मेरा आँखाअघि झुल्किए
उसलाई सोध्न
मसँग कुनै प्रश्न बाँकी थिएन ।