Purna Biram – Yaam Kai Kura

पूर्ण विराम – यामकै कुरा
(मधुपर्क साउन, २०६७)

तिम्रा अँगालामा रहेका बारुला र अरिङ्गालले मह बनाउने कुरा
कुन आधार समातेर विश्वासको रुमालमा जतन गरेर बांध्न सकिन्छ
गोडा नभएको मानिसलाई कृत्रिम गोडा जडान गरिदिएर
दौडाउँदा त्यो आफ्नै गोडाले दौडेको कहाँ देखिन्छ ?
खिइएका हाडहरू र कुहिएका मासुका थुप्रा बोकेको टापुले
सिगरेटको धूवाँ फुकेर कहाँ देख्न सक्छ
हजारौं वर्ग किलोमिटर टाढा रहेको क्रोडमा उम्रेको घाउलाई ?
करेलाको सर्वतको बोतलमा गुलियो छ भन्ने आवरण टाँस्दैमा
त्यो गुलियोमा परिवर्तन हुने होइन
एउटाले झण्डालाई पट्याएर गोजीमा हाल्दैमा
महान् झण्डाको दाहसंस्कार हुने होइन ।
चपाउँदै लाखामरी नाताशा मरिन् भन्ने हल्ला नगर
दही जमिनमा उमि्रदैन
जमिनमा दही पोखेर दही उम्रेको कुरा नगर
कहिल्यै नदेखिएको याम उदाएको छ
दुर्गन्धित शरीर उभ्याएर
आफ्नो शरीरको छायाँमा मेरो छायाँ समावेश नगर ।
कोकाकोलाको घुट्कोमा मरियमको पीडा कसैले बुझ्न सक्दैन
परेवाहरूले चाल्दैमा पखेटाहरू र छर्दैैमा हावा
बुद्ध उभिदैन रगत रोक्न नसकेको लाचार याममा
वख्ते नस्रको भारदारी प्रस्ताव
रवर्ट गि्रन पढ्नेहरूले इन्कार गर्छन्
सुसज्जित पोसाकका साथमा भोलि ढल्ने धरहरा चढ्नुभन्दा
राता मुगा एकत्रित गर्नु नै महान् कार्य हुनेछ
यो कहिल्यै नदेखिएको यामका निम्ति
मनले गरेको कठोर प्रतिरोध हुनेछ ।
पहिले सुनिन्थ्यो भित्ताका पनि कानहरू हुन्छन्
र यो याममा भन्न हिचकिचाउनु हुन्न-
भित्तामा रहेका केही पाका ईंटहरूसँग जिब्रा जडान भएका छन्
र ईंटहरू चिच्याइरहेछन्-
विपरीत धु्रवहरू एकले अर्कालाई मालिस गरिरहेका छन्
हुरीमा टापु छोपिदो रहेनछ अलवान ओढाएर
कपडा नै लज्जित हुँदो रहेछ
छोप्न नसकेर नग्नताका सन्दर्भहरूलाई ।
कहिल्यै नदेखिएको याममा
ताराहरूलाई छुर्पी ठानेर चपाउँदै
सर्कसको खेलाडी भएर
अँगालामा बारुला र अरिङ्गालहरू राखेर
बीसौं कुर्सीको अग्लाइ बनाएर
अग्लो भएको भजन गाउन लगाएर
भजन मण्डलीको माझमा भजन सुनेर बस
प्रकृतमा सगरमाथाको टुप्पोमा
बसिरहँदा एडमण्ड हिलारी पनि
देखिएन लेनिनभन्दा अग्लो
रोमन सम्राट टिटसले दैनिक दाह्री खौरिँदा पनि
त्यो कहाँ देखियो दाह्री पालेको कार्लमाक्सभन्दा सुन्दर ?

-३३ काठमाडौं