Purna Biram – Ek Jana Aaundaichha

पूर्ण विराम – एकजना आउँदैछ

एकजनालाई न्रि्रा दिन
रात आउँदैछ शहरमा
एउटा मुर्दालाई जलाउन
आगो हिँडेर आउँदैछ शहरमा
तिम्रा गीतलाई संगीत दिन
एउटा विशाल हूल आउँदैछ
पर्खिबस केही क्षण मात्र
कुनै युद्धले खसालिदिएको
तिम्रा कपालको लालीगुराँसलाई
फेरि टिपेर तिम्रो कपालमा
घुर्सार्न एउटा असल मानिस पनि आउँदैछ शहरमा ।

एकजना जमिन्दारको आँगनमा आउँदैछ
हरियो बाँस काटेर बोकेर आउँदैछ
एकजना खाल्डो खन्ने औजार
लिएर आउँदैछ गाउँमा
पटवारीको चिहान बनाउन
एकजना आउँदैछ
धेरै अगाडिदेखि हराएको
मानिस आउँदैछ गाउँमा
जसको छाती चट्टानले बनेको छ
चट्टानको छाती बोकेर
एकजना पनि आउँदैछ गाउँमा
गाउँका आँगनहरु बढारेर सफा पार्न
अमरिशाको मूठा बोकेर कोही आउँदैछ
असमानताको धर्सो मेटेर
समानताको धर्सो कोर्नका निम्ति
एउटा रातो सिसाकलम बोकेर
एकजना विद्यार्थी पनि आउँदैछ
कहिल्यै नदेखिएको हावा बोकेर
गाउँमा वातावरण पनि आउँदैछ
सम्पूर्ण साङ्लाहरु मर्छन् त्यस्तो हावामा
त्यस्तो हावा पनि आउँदैछ ।

पुरानो शहर भत्काएर
नयाँ शहर बनाउन
एकजना कालिगढ आउँदैछ
अराजकता फैलाइरहेका शालिकहरु जलाउन
एउटा नाम लिएर
अग्निदेव शहरमा आउँदैछ
एक हुल साथीहरु आउँदैछन्
पर्खिबस बादल लागेको शहरलाई हेरेर
एउटा दिवाकर ल्याउँदैछन्
आफूसँग भएका रगत दिएर
धेरै जनालाई तातो झिरले घोचे पनि
घोचेको आभास हुन नसक्ने
समय र्छन समय र्छर्ने
मानिस आउँदैछ
एकजना मानिस आउँदैछ
यो ठाउँमा आउँदैछ
यै ठाउँमा जन्मेको मानिस आउँदैछ
लामो रातलाई विश्लेषण गरेर उज्याला टुक्राहरुमा परिवर्तन गर्न
एकजना असल विश्लेषक
यो शहरमा आउँदैछ
वारहेड्स र क्षेप्यास्त्रलाई निस्क्रिय पारेर
संसारलाई युद्धबाट मुक्त गर्न
एकजना मुक्ति मोर्चाबाट
यो शहरमा आउँदैछ

फूल छ भने फूल टिपिराख
समस्या समाधान गर्न रातो ढक्की बोकेर कोही आउँदैछ
अँध्यारो छ तोपहरु तैनाथ छन्
सिपाही छन् पुलिसहरु छन्
बसन्तले यस बखत साना-साना
नानीहरु पनि आफ्नो काखमा राखेर
खेलाइरहेको शहरमा
एक जना जसरी आएको थियो
त्यसरी नै यहाँ पनि आउँदैछ
एकजना यो शहरमा पनि आउँदैछ ।

चट्टानको टुक्रालाई फाँसी दिने
समुद्रको ओठमा पट्टी कस्न
झुत्रो सुकुल च्यातेर
त्यसमाथि नयाँ तन्ना कस्न
एक जना आउँछ
चपरीमुनिबाट एक जना आउँदैछ ।
एक जना यो ठाउँमा आउँदैछ
हजारौँ हातहरु बोकेर
यही ठाउँका हातहरु बोकेर
एक जना आउँदैछ
तिमी छिँडीमा छौ भने पनि बसिराख
तिमी मटान या बार्दलीमा छौ भने पनि बसिराख
कौसीमा तिमी छैनौ
आउन लागेको आँखाको दृष्टिलाई थाहा छ
तिमी बिछौनामा छैनौ भने पनि बसिराख
तिम्रो आँखामा निद्रा छैन
आगन्तुकलाई थाहा छ
धेरै घरका कथाहरु यस्ता छन्
आउन लागेकोलाई थाहा छ

छाता छैन भने केही बेर
रुझेर नै बसिराख
एउटा छाता लिएर
एक जना मानिस आउँदैछ
आफ्नो भन्नु कुनै छाता
धेरै अगाडि कसैले खोसेको छ भने पनि
आफ्नो छाता बाहिर नै बसिराख
एक जना आउँदैछ

जंजीर लिएर यो ठाउँमा
एउटा अमीन पनि आउँदैछ
तिम्रा राष्ट्र छैन भने पनि उभिराख
एउटा राष्ट्र बनाउन
यो ठाउँमा एक जना आउँदैछ
हजारौँ तोपहरुले छुन नसक्ने
एउटा विशाल छाती साहस सहित
यो ठाउँमा आउँदैछ
छिडी बार्दलीमा जीवन रोप्न
मृत्युसँग लड्दै एकदमै निर्भिक
एकजना मानिस आउँदैछ ।