Tanka Subba – Sammohan

टंक सुब्बा – सम्मोहन

हरेक दिन यो सडकमा ओहोर दोहोर गर्दा
थुप्रै थुप्रै र्इच्छा आकांक्षहरु फूलेको देख्छु
सपनाहरु झुलेको देख्छु
त्यसै वेला मैले टेक्दै गरेका सडकहरुले
आकार वदल्न थाल्छन्
दिशा परिवर्तन गर्न थाल्छन्
तव मैले नसोचेको परिस्थिती
मडारिएर आईदिन्छ
अनि त्यसले वेस्सरी कुल्चिन्छ
थाहा थिएन यहाँ यस्तै होला भनेर
तर हिड्दै जाँदा
अनगिन्ति चोटहरु सहन पुगे
अनगिन्ति दुखहरु भोग्न पुगे
लाग्थ्यो अव कसरी हिड्ने होला
यी सडकहरुमा ?
जहाँ अनेकौ वाधाहरुछन्
जहाँ अनेकौ अड्चनहरुछन्
तर त्यसलाई पन्छाएर हिड्नै पर्दोरहेछ
यसरी अप्ठ्याराहरुसँग
कतै ठोकिएर पनि
कतै चोईटिएर पनि
यात्राका क्रमहरु जोड्नै पर्दोरहेछ
लाग्थ्यो खुशीहरु कहिल्यै उदाउँने छैनन्
लाग्थ्यो आकांक्षहरु कहिल्यै छोइने छैनन्
तर उज्याला दिनहरुको आगमनले
सपनाहरु फूल्न थालेपछि
मैले नाप्दै गरेका सडकहरुले
आकार वदले पनि
दिशा परिवर्तन गरे पनि
मेरो उत्साह मरेन
मेरो यात्रा विथोलिएन
समयले अनेकौं प्राहार गरे पनि
मेरो बाच्ने र्इच्छा घटेन
वरु झन आशाका मुनाहरु पलाईरहे
तव नयाँ दिनहरुसँग सम्झौता गरेर
म हाँस्न मञ्जुर भैदिए
त्यसैले त विवशतामा पनि
सम्मोहित भएका छन् मेरा जिजीविषाहरु

Prakash Thamsuhang – Bajeko Kapurthan

प्रकाश थाम्सुहाङ – बाजेको कपुरथान

चढ्दै-चढ्दै उमेरको भयङ्कर उकालो
हिँड्दै बिसाउँदै जिजीविषाका पाइलाहरू
चपाएर रहर
भोग्नु भोगेर जिन्दगी
मेरा बाजे यतिबेला सुतेका छन्
यो सेतो सिमेन्टको कपुरथानमा

हो, म पनि सुत्नेछु यसरी नै
यसरी नै चिरनिद्रामा मेरो पनि बन्नेछ
यस्तै कपुरथान यस्तै फलैँचा

त्यो फलैँचाको दायाँ-बायाँ उमि्रएको
बर-पीपलको हाँगामा
मेरो सपना झ्ुण्डिएर आत्महत्या गरेको
देख्नेछ मेरो नातिले

म यतिबेला
मेरा बाजेको कपुरथानमा
शब्दको फूल चढाउँदैछु।

Shreehari Phuyal – Odhar Chhodne Din

श्रीहरि फुयाँल – ओडार छोड्ने दिन
(मधुपर्क बैशाख, २०६७)

पैसाले पदले अपार मदले सारै घमण्डी बनी
ढाँचा-फुर्ति गरेर हिँड्छ मनुवा यस्तो र उस्तो भनी
सारै सुन्दर मूल्यवान बहुतै मैले बनाएँ घर
भन्दै फुल्दछ Continue reading “Shreehari Phuyal – Odhar Chhodne Din”

Madhav Prasad Ghimire – Aajai Ra Raati Ke Dekhen Sapana

माधबप्रसाद घिमिरे – आजै र राती के देखेँ सपना

आजै र राती के देखेँ सपना मै मरी गएको
बतास बिना हांगाको फूल भुइँ झरी गएको

मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाई रहेको
कहाँ हो कहाँ बादल भित्र म रोई रहेको

वारि Continue reading “Madhav Prasad Ghimire – Aajai Ra Raati Ke Dekhen Sapana”

Narnath Luitel – Dhaantnu (Nepali Byangya Kabita)

नरनाथ लुइँटेल – ढाँटनू (व्यङ्ग्य कविता )

कुटनीति झुटनीति फुटनीति जुटाएर
लुटनीति जति सबै अँजुलीमा उठाएर
अट्टहास गरीगरी लपालप चाटनू
सफाचट पारी देश ठाँटसँग ढाँटनू ।

छिन दिन हप्ता मैना वर्षैभरी ढाँटनू
ढाँटबाहेक केही छैन जुनीभरी ढाँटनू
खालि ढाँट्ने मौसम यो ढाँटेरै डाँटनू
ढँटवारे भयो नेता पेशा उसको ढाँटनू ।

ढाँटकै ढ्वाङ फुकी ढाँटको डोरी बाट्नू छ
ढाँटढुँट लाटलुट ढाँटेरै भोट काट्नु छ
भोट निम्ति नोट फेरि जताततै बाँटनू
तेब्र्याएर ब्रम्हलुट साधु बनी ढाँटनू ।

उठी ढाँटनू बसी ढाँटनू सुतीसुती ढाँटनू
ढाँटेरै उल्टासुल्टा भाषण गफ छाँटनू
फाटी मर्नु बनाएर देशको जरा काटनू
इलमै भो ढँटुवाको सारा जिन्दगी ढाँटनू ।

फेरि आयो ढाँट मौसम ढँटुवाहरू जुर्मुराए
ढाँटका यी ढाडीहरू केश भरी सर्सराए
ढाँट ढाँट ढँट्वारे हो सत्यलाई डाँटनू
ढाँटकै रहेछ राज्य यो मस्तीसँग ढाँटनू ।

कलङ्की, काठमाडौँ

Baikuntha Nath Aryal – Aatanka

वैकुन्ठनाथ अर्याल- आतंङ्क

राज्य आतंङ्क भयो सुदिन ती आनन्द स्वातै गयो
व्यवस्था वदली गरौ सुजनहो अशान्ति ज्यादै भयो
गर्जन्छन वलले ती राज्यदले सत्ता रहुन्जेल यहाँ
मास्नै पर्दछ राज्यमा सव मिली उम्केर जान्छन कहाँ
दुःखी मानवका ति दिनहरु सुन्नेछ यै राज्यमा
त्यस्ता सज्जनको गरौं मिली खातीर यै राज्यमा
वेलैमा वुझी राज्यको जनअधिकारको वहाली गरौं
आफ्नै हो भनि काममा रहरले निर्माण कार्य गरौं
आतंङ्की जनका ति भन्छन सुनौ सम्झेर मेरै भनि
आफ्नै दुःख गुनेर हेर्नु सहसा छोडेर कामै पनि
गोला वारुदले हुदैन अहिले वार्ता गरौ झ्याट लौ
वुझौ राज्यपिडा सहेर नवसौं संघर्ष चर्काउ लौ
जुध्नै पर्दछ राज्यको समरमा व्यूझेर लागौ अव
व्यूझेनौ भने दुःखमा पर्नेछ राज्य अझै
वाच्दै राज्य वचाउने दमनको साङ्लो चुडाई दिने
सत्ता ढाली लिने र राज्य जनताको हातमा सुम्पि दिने
चुन्नै पर्दछ राज्यले असल त्यो नेता सवैको हास्
आतङ्की र्सवनास पारी जनमा विस्वास वड्दै रहोस
सत्तामा रहदा सुशासन रहोस शान्ति रहोस देशमा
आफ्नो राज्य चलाउ सुजन ती छद्मी नहोस भेषमा
राजाले पनि जान्नु पर्छ अव ता चल्दैन दम्भी वनि
वार्ताकै भर छ सात दलमा सुम्पेर राज्य पनि
द्धन्द्ध अन्त भई शुसासन गरी सम्मान मिल्ने थियो
हुन्थ्यो देश विकाश सवमा संकृती नाच्ने थियो
गर्नै पर्दछ सवै मिली यहा सम्झेर आफ्नो भनि
प्रजातन्त्र नभई हुदैन मासिन्छ देश पनि
राजा लक्ष्मी हुदा भएन सुख प्रण विचल्ली परे
ल्याउनै पर्छ राज्यमा हुने त्यो लोकतन्त्र भरे
लागे भने यहा कठोर मण्डले प्रजातन्त्र मार्न
गर्छन राज्य यहा हठी स्वबलम्बि हुं राजतन्त्री भनि
पाखन्डीहरुको कमाल वलले चल्दैन राज्य
चाहन्छन जनता चलाउन यहा लोकतन्त्र अव ।

Indra Kumar Sunuwar – Buwako Samjhana

ईन्द्र कुमार सुनुवार – बुवाको सम्झना

यो बर्ष पनि त्यसै बित्यो बुवा चरण छुन पाईन
दुखै दुखमा रुमलिएको जीबन घर आउने साईत जुरेन
मेरो छोरो आएन भनी अ्मुल्य आशु नखसाउनु
आशुले बाटो छेक्छ, छिट्टै आओस भनी आसिष दिनु

रहर त कहा हो र घर परिवार बाट छुट्टिने!
बिरानो मुलुक गरि खानु रैछ जिन्दगी हो डोर्याउने
भकारी भर्ने खेतबारी छैन,पेटले यो कुरा बुझ्दैन
साहुको रिण दिनदिनै बड्छ मनले सहन सक्दैन

मुख हेर्ने दिनमा बुवाको छेउमा म आउन सकिन
मेरा भाइबैनीलाई म भन्दा सुखी हुने आसिष दिनु न
तपाईलाई भेट्न बेलैमा आउछु यो आउने सालमा
यो जीबन तपाईकै देन हो भुल्दिन तपाईलाई कुनै हालमा

Basanta Mohan Adhikari – Yeti Thulo Chot Bich (Nepali Gajal)

बसन्त मोहन अधिकारी – यति ठुलो चोट बिच

यति ठुलो चोट बिच एक्लै आज जिएको छु ।
चोट भुलि बाँच्न खोज्दा अलिकति पिएको छु ।

दुख्यो मुटु चर्को छाती आँशु आफै बगेको छ
निष्ठुरीले छुरी धस्दा रगत सुकि खिएको छु ।

मायालुको छुरी लाग्दा धुजा धुजा भो शरीर
चोखो जीवन यो मुटु ! दुःखसंग सिएको छु ।

दुःख पिडा चोट आँशु जीवनको पेवा भई
यसैलाई भुलाउन नशा थोरै लिएको छु ।

रुन हुन्न कति भने मन मेरो रोएको छ
भुलाउँन गार्हो भै मदिरालाई दिएको छु ।

मुटु दुख्यो आँखा सुक्यो जीवन अडेको छ
उस्तै यो चोट बिच कोही छ कि चिएको छु ।

Murari Parajuli – Ganatantra Ko Nara

मुरारि पराजुली – गणतन्त्रको नारा

रगतले लत्पत
महाराजको पाउमा
कतिन्जेल ढोगिरहने हो दाम चढाउँदै
र कतिले बलिदान दिएर
महाराजलाई भोग चढाउने हो
भएन यकिन नेताज्यू
अझै हामीले कतिञ्जेल
महाराजको पाउ पुजिरहने हो ?

जो घरमै आगो सल्काएर
सेकुवा चपाइरहेछ चिहानमा
दाजुभाइ र भतिजाभतिजीको
उसले के दिन्छ जनताको झोलीमा
जो गद्दीमा बसेर जनताको आँसु पचाइरहेछ
मैले बुझेको छैन नेताज्यू
जल्लादको अचानोमा कसरी
लोकतन्त्रको फूल फक्र्रन्छ
र दर्शनभेटको पटाङ्गीनीमा
घुँडा मारेर लत्रिरहेको
तिम्रो शिरबाट कसरी
वर्षौंदेखि जनताले खोजेको
गणतन्त्रको आवाज घन्कन्छ ?

जबसम्म निकाल्दैनौ तिमीले
गलहत्याएर बाटोमा
दरबारबाट उसलाई
र भकुण्डो खेल्दैनौ
उसको श्रीपेचलाई माटोमा
जनताले बोकेको रा“कोले
डढाउँदैन जबसम्म शाहीदरबार
उठाइरहनेछ उसले निरंकुशताको तरबार
जसको अन्त्यका लागि बजिरहेछ नगरा
मैले बुझेको छैन नेताज्यू
उसैको हबेलीमा बसेर
हुनसक्छ कसरी गणतन्त्रका कुरा ?

अडेस लगाएर शाही बालिस्टमा
घोडाको तबेलामा राखेर तिमीलाई
पुस्तौनी कमारासँग गर्जेझैं
खसाएर तिम्रो नूर आफ्ना पाउमा
ऊ कृपाको वार्ता गर्न सक्छ
जसले तिम्रो बाटो अवरोध गरेको छ
ऊ नहट्दासम्म संघारबाट
कसरी हुनसक्छ माग पूरा
कसरी पाउन सक्छौ तिमीले खोजेको कुरा
मैले बुझेको छैन नेताज्यू
जसको अन्त्यविना संभव छ र
सडकमा उर्लिरहेको गणतन्त्रको नारा –

Narayan Tiwari – Maile DV Bharina

नारायण तिवारी – मैले डि.भि. भरिन

जसले जति उचाले पनि
मैले मन गरिन
यसपल्ट पनि मैले डि.भि. भरिन ।

सोचेँ –
विदेशमा यस्तो घाम होला ?
जे भए पनि
जस्तो भए पनि
जत्रो भए पनि
मेरो आफ्नै नाम होला ?

सोचेँ –
बरु संझिँदै स्वदेशको माटो
मन रोला…..
बन्न नसकेका अनगिन्ती कठिन जीवनको बाटो
केटाकेटीमा हिंडेको , उफ्रेको
साथीसङ्गीहरू…….
मेरो प्यारो ट्याङ्ग्रा खोला
खोलाको बाढी !
सोचेँ –
सबथोक संझिँदै फेरि यो मन रोला
के अमेरिकाको वैभवले मेरो नेपाली हृदयलाई
थुम्थुम्याउनेगरी छोला…?

सोचेँ –
किमार्थ सक्तैन
अमेरिकी सुगन्धले मेरो दुर्घन्दितै भए पनि
माटो बिस्र्याउन सक्तैन
त्यसैले जसले जति उचाले पनि
मैले मन गरिन
यसपल्ट पनि मैले डि.भि. भरिन ।

पढेको छु –
अमेरिकामा बसेका राजवका हृदयबाट प्रस्फुटित
आफ्नै माटोका सुवासनाहरू
कति राजवहरू
कति रंजिताहरू
धेरै कलममा , यहाँकै पारिलो घाम खोज्छन्
के म भेटुँला त्यहाँ डलरमा खुसी ?
चटक्क छाडेर आफ्नो माटो , आफ्नो बाटो
के म हाँसुला सम्पन्नतामा रुझी…?

सोचेँ –
जहाँ खेलें , जहाँ हुर्कें
जहाँ रोएँ , जहाँ हाँस्न सिकेँ
के त्यस्तो कुनै धाम होला ?
विदेशमा सबथोक होला ,
भौतिक सम्पन्नताले जीवनलाई पाइलै पिच्छे छोला
तर याद आउला आफ्नो माटो
इष्टमित्र , साथीसङ्गी
विताएका दिनरात
अनि रुनु सिवाय के गरूँला ?
आफ्नै हिमाल ,
आफ्नै नेपाल संझिँदै धुरूधुरू रुनु सिवाय
अरू के गरूँला ?
विदेशी नागरिकता गोजीमा घुसारेर
दंग परूँला ?
अहँ सक्तिन , अर्काको माटोलाई
जति डलर घोप्ट्याइदिए पनि आफ्नो भन्न
सक्तिन !
सोचेँ –
पराधिन घामले
डलरको जति खोलै बगाए पनि पोल्ला
आफ्नो घामले पोले पनि ,
हृदय ‘उफ्’ नबोल्ला
त्यसैले जसले जति उचाले पनि
मैले मन गरिन
यसपल्ट पनि मैले डि.भि. भरिन…. ।

Anuradha Thapa – Shanti Nayak

अनुराधा थापा – शान्ति नायक
(Source: मधुपर्क २०६६ जेठ)

विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ
आˆनो मातृभूमिको पहिचान गरायौ
विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ
शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ
प्राणीमात्रको चिन्तन गर्ने
शीतल छहारी भएकाछौ
शरीर आˆनो बाजी लगाई
बुद्धत्व प्राप्त गरेर मोक्षको बाटो पहिल्यायौ ।
सौम्य तिम्रो मुहारमा कान्ति चम्किरहेछौ जताततै
एसियाकै नाम उच्च राखी मातृभूमि चम्कायौ
धन्यको कोख मायादेवी जीवन रक्षक जन्मायौ
लुम्बिनी भयो पवित्र धाम जीवन रक्षक जन्माई ।

-बानेश्वर, काठमाडौ

Lalita Karki – Dhikkar Chha Timiharulai

ललिता कार्की – धिक्कार छ तिमीहरुलाई !
(From tanneri.com)

हजारौं सपुतको बलिदानले पनि
फेरिएन काचुली यो देशको
रगतको खोला बगिरहेपनि
भएन भावना एकताको
फुस्रो आस्वसनको भाषाण ठोकेपनि
छैन नेताहरुलाई माया यो देशको
सुन्दर देशको कल्पना गरेपनी
चाहदैनन बेइमानहरु समुन्नत नेपालको
होली खेल्दै गएपनी रगतमाथि जनताको
लात मार्दै गएपनी छातिमाथि नेपाल आमाको
कोही छैन यहाँ तर पनि खबर्दारी गर्ने नेताहरुको
देश लथालिङ र भाताभुङ भएपनी
दिन आएकै छ नयाँ नेपाल हांक्ने सारथिहरुको
दु:ख गर्नेले गरिरहे पनि
शिर उच्च भएकै छ चैन गर्नेहरुको
पौरखी हरुले पसिना बगाए पनि
भरिएको छ पेट भोजन गर्नेहरुको
जती सक्यो गर्‍यो अब पालो जनताको
सराप लाग्नेछ तिमीहरुलाई शाहीदका सपनाको
खबरदार ! नबोल्नु कहिले भनी छोरा हौ नेपालको
धिक्कार ! छ तिमीहरुलाई यो देश र जनताको

Thakur Man Lama – Dukha Bandera Jiunu Bhanda

दुःख बाडेर जीउनुभन्दा दुःख पिएर मर्नु जाती
साथ दिने कोही हुन्नन संसारकै यही हो रिती

संसार नै एउटा यस्तो के हो बुझ्न नसकिने
जता हेर्‍यो अर्कै लाग्ने बाटो खोज्न नसकिने
उज्यालो जुन तर मनमा छाया
भरोसा केही हुन्न जीन्दगीको यहाँ
दुःख बाडेर…………

जीउनु पर्छ एक्लै यहाँ मर्नु पनि एक्लै यहाँ
बसन्तको फुल पनि ओइलिजान्छ एकदिन यहाँ
देलान हाँसो कसैले कसैगरी
आफ्नो दुःख आफ्नै छातीभरी
दुःख बाडेर

Ram Prasad Prasain – Lajjawati ‘Girish’ Ma (Poem 2)

रामप्रसाद प्रसाईं – लज्जावती ‘गिरिश’ म

प्रतिरोधबिहीन
नि:शब्द
लज्जावती

/
ला

(टच-मि-नट)
भन्दा भन्दै
प्रयोगशालामा,
कायापलट हुन्छु
कुमारी आमामा।

एक पृथक पहिचान
मान्छे न/हुनुको
पीडाले बांचेको
बिबश अस्तित्व
‘काफ्काको झुसिल्किरो’
शनै शनै
बागमती क्षेत्रमा
‘गिरिश’ बन्छ भने
मान्छे भन्दा
ढुङ्गो बढी बोल्छु,
म।
भूमण्डलको
‘टेक्टोनिक’ कम्पनमा,
लाभा-लाभा फालिंदै
ज्वालामुखीमा,
चांदीको घेरा भेट्ने
बिबिध अश्रु-अग्नि
म बिबश रामवाण,
उत्तोतर प्रगतिको कामना
अ/घोषित
मृत्युरेखामा।

अ/स्वीकृत अनुहारहरू
चेतनाका फालीहरू
युध्दोतर अभिष्टहरू
समयको चेपारोमा,
विश्रृङ्खल श्रृङ्खलाहरू
बेकम्मा आस्थाहरूका
लालपुर्जाहरू
एक बिबश मान्छे
सुकुम्बासीको
धनीपुर्जा
सम्बन्धबिछोड
गर्छ,
एक सुकुमार
स्वामित्वको।

अ/चेत
बिम्मतिका
विधेयकहरू
मोर्चाबद्ध
प्रारित भइरहेछन्
किनकि
मेट्रोपोलिसको चश्माले
चोमोलोङ्गमाको
घेटोटाइजेसन नियाल्छ,
मरियाना ट्रेन्चलाई
दुरबीन लगाएर।

जुलाई २५, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Purna vaidya – Pani Ko Artha

पूर्ण बैद्य – पानीको अर्थ

सायद, पग्लनुको अर्थ,
पानी हो –
ठोस-कठोर तिमी
आफ्नो स्वार्थमा
जब कहिले पग्लन्छौ
करुणाको घाममा

तिम्रो आँखामा
पहिले पानी नै त देखा पर्छ
जसले तिमीभित्र भित्र सुक्दै गइरहेको
जुन मानवताको बीज छ
त्यही यसले भिजाउँछ

पहिले, बीज नै नभिजिकन
कहाँ के उम्रिन्छ र ?
तिम्रो हृदय फाँटहरूमा ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Geeta Karki – Bhid Haru Ma Eklo Yatra Gariraheki Nora

गीता कार्की – भीडहरुमा एक्लो यात्रा गरिरहेकी नोरा

हुनसक्छ नोरा यही कतै होस्
आहतदेखि आहतसम्मको यात्रामा
आफूलाई सडकमा ओछ्याएर
आफै गाडी कुदाइरहेकी होस्
दन्त्यकथाको शिशिरजस्तै
हराएकी होस् अर्कै भूगोलमा

सायद इब्सेनका आँखाहरूमा
अपराजिता फुलेकी होस् नोरा
इब्सेन फूलका शैय्यामा
भोल्तेयर, दाँते र सेक्सपियर पढिरहेका हुन्
र टोल्भार्ल्डहरू पुतली नचाइरहेका हुन्
पुतलीहरू-
पाउजेबका सङ्गीतहरू रोकेर अनायास
बढारिरहेका हुन् सुकेका पतकरहरू

हुरीपछिको मौन आकाशमा
फेरि ताराहरू बल्छन्
कमल फुल्छ पानीमा
भीडहरूबीच एक्लो यात्रा गरिरहेकी नोरा
विस्थापित हुन्छे यात्रामै

उसका प्रश्नहरूले जवाफ पाऊन्-नपाऊन्
इनसाइक्लोपिडियाका पानाहरू नै उसका अर्थहरू हुन्
क्षितिजका रङ्गहरू नै उसका सपनाहरू हुन्
आफू हिंडेका-नहिंडेका बाटाहरूमा
कतै भीरहरूमा
ऊ अपराजिता फुलेकी होस्
म उसलाई तिनै बाटाहरूका, भीरहरूका
सेता-निला फूलहरू चढाएर
नियाल्छ-
क्षितिज, आकाश र बस्तीहरूमा
र, ऊ भिजेका बस्तीबाट उठेका बाफ
उसका घाउका रेखाहरूबाट कोत्रिएका वेदना
पग्लिरहन्छन् हरपल मेरा आँखाहरूबाट ।

Bimal Vaukaji – Garba

विमल भौकाजी – गर्व
(नेपाल साप्ताहिक ३९७)

मसँग एउटा सुन्दर देश छ
मसँग चन्द्र-सूर्य अंकित झन्डा छ
तर, तिमीसँग के छ ?

मसँग अग्लो सगरमाथा छ
मसँग शान्तिवाहक बुद्ध छ
मसँग लालिगुराँस छ
मसँग डाँफे-मुनाल छ
मसँग फेवा-रारा छ
तिमीसँग के छ ?

मसँग वीर बलभद्र छ
मसँग स्वाभिमानी अमरसिंह छ
मसँग बडामहाराज पृथ्वीनारायण छ
मसँग चेली भृकुटी छ
मसँग कलाकार अरनिको छ
तिमीसँग के छ ?

मसँग कवि भूपी शेरचन पनि छ
मसँग उसको कविता पनि छ
र, कवितामा एउटा साँघुरो गल्ली छ
‘साँघुरो गल्लीमा चोक छ
त्यहाँ के छैन ? सबथोक छ
असङ्ख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ ।’
तर, तिमीसँग के छ ?
भन, के छ तिमीसँग ??

Bhira Khadka – Man

भीरा खड्का – मन

मनलाई
रिमोट कन्ट्रोलले
चलाउन सकिने भए

पावर अफ गर्थे
अनि
चुपचाप भै दिन्थे,
न कुनै सोचाई
न खुसि
न दुख
केवल खाली खाली मन /
मनलाई
रिप्लेमा लान
सकिने भए
मेरा सबै तनावहरु
बाध्यतामा सिर्जित
परिस्थितिहरु
अनि आफुलाई
सम्हाल्न नसक्नु पीडाको पलहरु
सबै डिलेट गर्थे
अनि
तनावमुक्त भई
स्वच्छन्द जीवन बाच्थे
न कुनै ग्लानी
न पश्चात्ताप
न छटपटी
केवल
स्वस्थ्य अनि खुल्ला मन

Shreeshisha Rai – Sapana Ko Wari Pari

श्रीशीशा राई – सपनाको वारीपारी

कतै निदाईहाले पनि अबदेखि
कहिल्यै पुरा नहुने सपना नदेखुँ भनेर
सुतेको हुँ म
निदाउनु एकछिन अघिसम्म पनि
दुनियाँलाई सपना मात्रै नबाढुँ भनेर
मुठ्ठी उठाईरहेको थिएँ

सपनामा–
मेरो देशभित्र एउटा देश माग्छ हाङ बुद्धिकर्ण
तर देश देश जस्तो हुनलाई शान्ति चाहिन्छ भन्छ
चमार हल्लाउँदै उसले ढ्या……म्म ढोल बजाएपछि
मैले सौहार्दतामा जाँडको एक सुरुप पिएँ र
एउटा शान्त देश हातमा राखिदिएँ
उसले जीतको उल्लास मनायो

विउँझिदा
विपनासँग समागमका लागि
मेरो पाइला एक कदम अघि थियो
यहिनेर लोडसेडिङ, भोक र अँध्यारो बाटो थियो
आफ्नै लामखुट्टेहरुले झुलको छिद्रवाट चोरेर
मेरो पाखुरा चुसेछन्
कन्याउँदा कन्याउँदै
भुईमा खसेको कलम टिप्न पाइनँ मैले
सँगै सुतेकी मेरी श्रीमति विरालो झैँ घुरिरहेकी छ
म उनलाई विउझाउन सक्दिन किनभने
अन्तरसंघर्ष छ, बोलचाल छैन

ई यसरी,
विपनातर्फको मेरो यात्रा अल्मलिन्छ
र मेरा सपनाहरु सँधै व्यर्थ हुन्छन्

तरहरा, सुनसरी

Komal Bhatta – Ki Ta Timle Pratibha Nai

कोमल भट्ट – कि त तिम्ले प्रतिभा नै (गज़ल)

कि त तिम्ले प्रतिभा नै लुटेको भे हुन्थ्यो
नत्र तिम्रो खराव आदत छुटेको भे हुन्थ्यो

निन्दनीय कार्य गर्छौ लुकी छिपी सधैं
समीपमै आई बरु कुटेको भे हुन्थ्यो

सत्यताको आँखा भित्र छारो हाल्नलाई
कठालोमा समाएर चुटेको भे हुन्थ्यो

देख्दा राम्रो अनुहार कपट राख्ने मनमा
जालीसङ्ग सबको नाता टुटेको भे हुन्थ्यो

भित्तो भित्तो चाहारेर चोट दिनु भन्दा
घरमै बसी थाङ्ना भोटा खुटेको भे हुन्थ्यो

तिरस्कृत हुने कर्म आजै देखि त्याग्दै
आफैँ कोशिश गर्छु भन्दै जुटेको भे हुन्थ्यो

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका