Mahendra Adrisya Rai – Joon, Kalaa Ra Ma

महेन्द्र अदृश्य राई –जून, कला र म


गीद्द चिल र वाजको उडान भन्दा माथि
त्यहा हावा छैन पानी छैन
अक्सिजन र कार्बनडाईअक्साईडको भण्डार छैन
तर पनि युगौंदेखि
चम्किलो धम्किलो बनेर
धर्मको हरफहरुमा ज्ञान छरेर
बाँचिरहेको छ ।
जन्मदा नै सगरमाथाले देखेको जून
अनी
तल ब्रम्हाण्डकै सर्बश्रेष्ठ धर्तिमा
अन्धबिश्वासको सेतो कपडा ओडाएर
अर्धमृत एउटा आत्मालाई
संस्कृतिको गोदाममा थन्काईएको छ
हावा पानी सँग लजाउनुपर्ने
आकाश पातालसँग मन बुझाउनु पर्ने
उर्दि जारि गरिएको छ
संस्कृतिको पण्डितहरुबाट
हासो भित्र रोदन
मुास्कान भित्र क्रन्दनले
क्षतबिक्षत बनाएर
निधारमा कालो तुल झुण्डाईएको छ ।
जहाँ लेखिएको छ ।
स्वामि बिहिन बिधवा
अनि शास्त्रको रिमोटले चलाएमान छन्
सुन्दर गाँउहरुको सुन्दरी कलाहरु ।

त्यो माथिको जून
यो तलको कला
बारम्बार

जूनलाई आधा रातमा देखेर
हाँस्न छोडेको कला
खित्कौली छोडेर हास्छन्
त्यसै दिनहरुमा
ग्रहहरुको चेपबाट कलाको अबश्थामा चिहाउदै
अमिलोतितो आभा छरेर
कसैले नदेख्ने गरि नाच्छन् जून

एक दिन सम्साझैं
मैले जुनलाई सोधे
ए…………जून
भूपिको कबिताको हरफमा
कत्तिको सत्यता छ हँ
रुन्छ पो शीतहरु प्रेर ।
त्यहि दिन
मैले कलालाई सोधे
ए……………कला
तिमीलाई देखेर म भ्रमित हो
या त तिमी त्यस्तै छ हौ
कला बोल्न खोज्छे
राता राता गालामा
आशंकाको कालो रेसाहरु मडार्दै
जूनका उत्सुकतामा बादल परेछ
पानी पर्ला पर्ला जस्तो भयो
परन्तु मेघ गर्जन पाएन ।
कला उिठ
सिमसिममा केहि मन भिजे जसरी
गर्जनाको गर्जन चड्कियो
मेरो मुटुमा
मेरो कानमा
स्वतन्त्रताको नाममा माकुरी जालो
म हेर कहिल्यै लाउदिन
संस्कार र ईज्जतको भ्रममा
कालो धुवाभित्र बस्दिन
राता राता समयहरुमा
यो सेतो कत्ति सुहाएन मलाई
शब्दहरुको बर्षा भयो
ऊ लागि घर तिर
जून लाग्यो पर तिर।

म भने
त्यहि बर्षामा भिजाएर बसे
तन र मन दुबै।

धेरै जाडो भयो मलाई
मुखबाट तातो श्वाश बहदै थियो।
कलाको समिपसम्म सायद
जूनको अर्धगोलाकार आयतन सम्म सायद
अब मैले
तौलहिन अन्धबिश्वासमा
मेरो अठोठको ढक तराजु राखेर
अर्को तिजसम्ममा मैले जोख्नुछ
एकापट्टि अन्धबिश्वास र
अर्को पट्टि
कलाको चाहाना
जूनको समर्थन

मेरो ढक तराजुको टनहरु…

बिण्णुपादुका ४, सुनसरी

Manoj Kafle (Mansoon) – Bilauna Maile Gardina Aba

विलौना मैले गर्दिन अब
डसे तिमीले सर्दिन अब

जालबुन्ने पुजारी रहेछौ
भावनामा म मर्दिन अब

नछेक मलाई दोबाटोमा
तिम्रोजालमा पर्दिन अब

व्येर्थमा मेरा सुके नयन
अमोल मोती छर्दिन अब

पैताला म खियाई कहिले
लेकबाट बेंसी झर्दिन अब

Krishna Bajagain – Ankha Ra Sapana

कृष्ण बजगाईं – आँखा र सपना

खुल्लै आँखाले पनि
कसरी देख्न नसकेको हँ ?

आँखा चिम्लेर महिर्षिले
संसार देख्थे
ध्यान मग्न बुद्धले
ज्ञानको गहिराई देखे
आँखै खोलेर पनि
नदेखे जस्तो किन गर्नु ?

आँखा चिम्लेर पनि ब्यूँझि राख्नु– बुद्ध
आँखा खोलेर पनि नदेख्नु– राजनीति

कसरी असरल्ल छाड्न सकेका
आँखाहरु सडकमा ?

जिन्स पाइन्टको पछिल्लो खल्तीमा
आँखा राखेर किन हिँड्छन तरुनीहरु ?
वक्षस्थलमा आँखा टाँसेर
कसरी हिँड्न सकेका लोग्ने मानिसहरु ?
कसले भन्यो
राजनेताहरुको आँखा घिच्चुकमा हुन्छ ?

हाम्रै आँखा अगाडि छट्टू राजनेताहरुले
कसरी झुक्यार लगेकाछन्
जनताको आँखाको नानी,
र टाँसी दिएकाछन् उनीहरुको आँखामा सपना ।

सपनाको आकार हुँदैन
सपना साकार हुँदैन
–भन्ने जब थाहा पाउँछन् एक दिन
माग्नेछन् उनीहरुले आआफ्ना आँखाका नानी ।
त्यसपछि हेर्नुपर्दछ
कसरी चलाउँछन् अन्धाहरुले शासन ?

ब्रसेल्स, बेल्जियम

Madhav Prasad Ghimire – Gaunchha Geet Nepali

माधबप्रसाद घिमिरे-गाउँछ गीत नेपाली

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त नेपाल

गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली

सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिबले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एशियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीं साँझमा

यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा पृतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सूर्य ध्वाजा लिई
नाँचौंला हामी हिमालमा ज्योतिको पंख उचाली

शब्द – माधबप्रसाद घिमिरे
स्वर – आनन्द कार्की, कुन्ती मोक्तान, तारा थापा, ममता दिपबिम, राजु लामा
संगीत – उस्ताद गोविन्दलाल
एल्बम – गाउँछ गीत नेपाली

Chandra Gurung – Pahiro

चन्द्र गुरुंग – पहिरो

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ डाँडामाथिको गुम्बा,
बगाएछ खोला किनारको मन्दिर
र बगाएछ गाउँ माँझको मस्जिद पनि ।
तर बिहान सवेरै
चिण्डे लामा गुरुले
स्वार्थको ‘माने’ घुमाई रहेको देखें,
बूढो पण्डित बाजेले
छल-कपटको प्रसाद बाँडी रहेको भेटें
र बोके दारीवाला मौलवीले
जातियताको अग्लो पखर्खाल निर्माण गरेको सुनें ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ साना-ठुला घर-गोठहरु,
बगाएछ गरीबका मन धान्ने हरियो खेतबारीहरु
र बगाएछ असंख्य चौपाया-दोपाया जीवनहरु
तर बिहान सवेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउँन
आई पुगेको साहूलाई भेटें,
खेतबारीहरुमा थुप्रै सपनाहरु रोपेका
किसानहरुका आँखामा आँसु र व्यथा देखें
र हर घर-आँगनमा
मात्र मृत्यु पल्टेको सुनें ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ गोदामहरुमा
सुति रहेका अन्नका बोराहरु,
बगाएछ खेतहरुमा उभिएका लहलहाउँदो बाली
र बगाएछ थुप्रोई लत्ता-कपडाहरु पनि ।
तर अझै पनि
अशान्त भोकलाई
गाउँलेहरुको पेटमा अल्झेको देख्छु ।
निर्वस्त्र नाङ्गोपनलाई
पीडितहरुका अंगमा टाँस्सिएको भेट्छु ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

Khagendra Pandhak Limbu – Agni Lalakar

खगेन्द्र पन्धाक लिम्बू – अग्नि ललकार

म युयुत्सु हुँ

मान्छेको बिरुद्ध
युद्ध नलड्ने भनेर
चुपचाप बसेकोछु
मेरो अखण्डता

सार्बभौम सत्ताको
घात गर्दै
अघि आयौ भने
एक्काइशौं शताब्दीको
अन्तिम युद्ध
तिमीसंगै लड्छु
लड्छु तिमीसंगै

कोलोनी बाँच्न सक्दिन

दुई दशमलब चार प्रतिसत
भूगोलको फोक्टीमा
धरतीका सारा
पन्ध्र प्रतिशत
मान्छे/अ/मान्छे बीच
डढेलो सल्काउन चाहन्न
मेरो शरीरभरि
झुल्ला थापेर
चकमक नपार
ममाथि तेल नथप

अहिले आगो भएकोछु
शैलाधिपबाट
तिमीले चोरेका माटो

बंग्याएको ईतिहांसमा
अब,
लाभा उमालेर छोड्छु

विस्तारवादी आतंककारी !
कुमनुच्छे !
तँलाई तुन्द्रुंगमा हाल्छु
हाल्छु तँलाई तुन्द्रुंगमा

क्लिव !
अज्यौली थापेर
जाफ्ता च्यात्न
म पनि जान्दछु
अचैतन्य !
लोहकिल मिच्दै
मसंग सेम थपेर बढ्दैछौ
भीरमा बसेर
सोघा झैं नतर्साऊ

तिम्रो कल्पान्त नजिकिएकोछ
मेरो राष्ट्रियतामा धावा नबोल

लोदर योपन सहन सक्दिन

म वाग्मीपुत्र हुँ
अग्निशर्मा हुँ
अग्रेठ भएकोछु

स्वतन्त्र भुतल/व्योमप्रेमी
हिमाली राज्यको
प्रगल्भ नेपाली हुँ
स्वाभिमानमा अपच
अतिक्रमण अक्षम्य छ

तिम्रो भौज्य होइन यो मेची-महाकाली

स्वाभिमान र स्वतन्त्रताको निमित्त
यो अझेटोमा
पुरै अढाई करोड भन्दा
बढी प्राणले
एकै चोटी
प्रतिरक्षात्मक रुपमा
अन्गुली खेल्दै
पृथ्वी रंग्याउन तयारछु

मेरो इरादा बुझेर घुंडा टेक

भाग यहाँबाट

रोटी पोलेर खाऊ
धोतीले इज्जत छोप्न सिक
त्यहिँ तिम्रो भलो छ

म योगक्षेममा छुच्चोछु

यो विपुलामा
मेरो पनि आफ्नै देश छ

कोलोनी बाँच्न सक्दिन

खबरदारीको यो अन्तिम पत्र हो –
अन्यथा,
म अन्तिम युद्ध तिमीसंगै लड्छु

अजस्त्र म नेपालभक्त हुँ

– २०१० अगष्ट ०७

Shikhar Arohan – Nishabdata

शिखर आरोहण – निःशब्दता
(Sent to Sanjaal Corps via Email)

ऊ, हिडिरहन्छ प्रत्येकपल्ट
एउटा निर्माणका विरूद्धहरूमा
ऊ लडिरहन्छ प्रत्येकपल्ट
विनिर्माणका संघारहरूमा
चुपचाप चुपचाप
वाचाल ओठहरू
पड्किरहेछन्, Continue reading “Shikhar Arohan – Nishabdata”

Bikram Subba – Lampat Rajtantra

विक्रम सुब्बा – लम्पट राजतन्त्र

कुनै सम्मानित सभामा
बनाएर मलाई प्रमुख अतिथी
पहिर्यालएर खादा-माला आसन ग्रहण गराउँदा
मेरो अंगअंग र रक्तकण सबै हुन्छन् प्रफुल्ल
कुनै मालामाल समिति-कमिटीको अध्यक्ष बनाई
गर्न दिए मलाई बैँक खाताको चेकमा हस्ताक्षर
हात-आँखाका तन्तुतन्तु मेरा दंगदास हुन्छन्
भने, खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?

चिनेजानेको मानिसले बाटोमा
ढोग-दण्डवत-नमस्कारले गरे सम्मानभने
भित्र पस्छ अनौठो उर्जा र जिउ रमरम मक्ख पर्छ
कसैले ‘हजुर’ भनेर गरे सम्बोधनभने
यी कान हुँदै पस्छ खुशी नसानसामा
हरेक हप्ता-दशदिनमा पत्रपत्रिकातिर
भाषण गर्दैको फोटो देख्दा छापिएको मेरो
शिरमा शिरपेच र हातमा राजदण्ड कायमझैँ हुन्छ
भने, खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?

म खासमा एक लम्पट र हुस्सु मानिस
तर कसैलको पुस्तक-भुमिकामा
‘प्रेरणाको लागि धन्यवाद’ भनि मेरो नाम लेखेभने
बिजुली-तागत मेरा नौवै नारीमा जर्मुराउँछ
कार्यक्रममा कुनै विमोचन-उद्घाटनको
मलाई साभपति-प्रमुख अतथी बनाएको क्षण
खाँट्टी सम्राट भएजस्तो हुन्छ म भित्रको मानिस
छिन-छिन, दिन-दिन र समय-समय
शक्तीबर्धक यी प्रशंसाका क्यव्सुलबिना
बाँच्नै सक्दिन म यो दुनियामा
किनभने म खोक्रोछु भित्रभित्र पुरै
र बाहिरिया-देशी-विदेशी क्रितृम पम्पले बाँचिरहेछु
भने, खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?

Sanju Bajagain – Aama Ra Digital Sapanaa

सन्जु बजगाईं – आमा र डिजिटल सपना

कान्ला खन्ने कोदालोका दोब्रिएका धारहरुले
खाल्डाहरुमा लाश चाख्न थालेको देखेर
सालघारीमा सुसेल्दै हिँड्ने
नौजवान
मुङ्गलान भासिदैछन्
आँखामा अनिदा रहरहरु च्यापेर ।

चुहिने घरको फुसको धुरी
बर्षातको चेतावनी
मुटुमा च्यापेर
पीडा बाँचिरहेछ बर्षौदेखि,
मुङ्गलानेको आफ्नो धर्ती
केवल फुङ्ग माटो बनेर
छटपटाईरहेछ तिर्खाहरुमा
काकाकुल भएर ।

खडेरी परेको आमाको कोख,
सुत्केरी भएको भ्रम कोट्याउँदै
आँगनमा सन्तान खोजिरहेछ,
भूत, प्रेत, नरपिचाश बेरिएको वायू
घुम्छ रे आजकल वस्तिहरुमा,
आधारातमा शंख फुक्ने जोगी
भुस्याहा कुकुरको धम्कीले
थरथराएपछि
शंख बज्दैनन्…..
साईरन बज्छन् गल्लीहरुमा ।

ऊ,
मुङ्गलानको ठिमाहा चरित्र,
आफ्नै आमा बिर्सिएर
फेसबुकका पाना पल्टाउँछ

आवाद गर्छ
अप्राकृतिक मसीका काला थोपाहरु
ईमान्दारीताको बिजयप्राप्तिमा ।

समय म्याराथुन दौडिरहेछ,
आमा नाङ्गलो उठाएर
चन्द्रमा चिहाउँछिन् अझैपनि
जोड र घटाउका सिलशिलाहरु
उनका हातका औलाबाट
फुत्किई सक्दासम्म पनि
दुई बीस,
अनि
चारकोरीको गन्तीले
लपक्क लिपेको भकारीमा
एउटा सग्लो बर्ष भर्छिन्
र खुशी देख्छिन् हलुङ्गेका थालहरुमा ।

त्यो ठिमाहा चरित्र,
हरेक साँझ
मुङ्गलाने ईन्द्रेणी आँखामा टाँसेर
आईरीस क्याफेको ढोका चाहार्छ
जीवन्त तन्तुहरुमा गर्व भरेर ।

रात मस्त नशाको
सिरक ओढेर
झुल्के घामसँगै बिदा हुन्छ
आज, भोली, पर्सी गर्दै
धेरै रात ओर्लिए बिहानीमा
तर,
ऊ डिजिटल युगमा बाँचेको मान्छे
आमा भेट्ने दिन कहिल्यै आएन
उसको डिजिटल सपनामा ।

ब्रसेल्स, बेल्जियम

Komal Shrestha Malla – Bancheko Chhu (Muktak)

कोमल श्रेष्ठ मल्ल – बाँचेको छु

हो मेरो
आफ्नै भोगाइ
र नतौलिएको सोचाई
नहारेर हारे कतै
हारेर हारे कतै
त्यहैले म जीवन भोगेर
मृत्युलाई बाँचेको छु ॥

Nawaraj Subba – Satyam Shivam Sundaram

नवराज सुब्बा – सत्यम् शिवम् शुन्दरम्!

हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल
कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरुको बीचमा
लुकेर बसेको
सुवासलाई सुटुक्क सोधें
यो भन्दा सुन्दर
कहिल्यै नओइलिने फूल
छ मसंग
जाउँ त्यहीँ ढुक्कले बसौं
ऊ मानेन पटक्कै मानेन
पक्रन खोजें तर
नओइलिने फूलमा
कहिल्यै बस्दिन म भन्दै
मेरो हात झड्कालेर
मनै दुख्नेगरि
उ टाढा गयो
यी फूलका पत्रदलमा या
असल मानिसको देहमा
सुगन्ध अर्थात् प्राण
अन्ततः बास बसेनन्
सत्यम् शिवम् शुन्दरम् !

Parmananda Sapkota – Prem

परमानन्द सापकोटा – प्रेम

हाम्रो प्रेम त दुई मनको पिंजडा थियो प्रिय
ताल्चा हामिले नै लगाएका थियौ ।
चाबी त हामीसँग मात्र थियो
संग संगै खोल्ने वाचा गरे कै थियौ ।
तिम्रो हातको चाबी हरायौकी कसैले चोरीदियो प्रिय
की त नाट्यकर्मिको भूमिकामा थियौ ।
संसार पनि त एक नाटक घर नै हो प्रिय
अकस्मात किन खलनायकको भेषमा आईदियौ?
फलामका डण्डिभन्दा बलिया मेरा भावानालाई प्रिय
पिंजडाकै कसिङ्गर बनाईदियौ
तर थाहा छैन तिमीलाई प्रिय
मेरो जिवन अर्कै पिँजडा बनिदियो ।
म पनि त ब्याकुल बनेको छु नि प्रिय
समय र परिस्थितिले ताल्चा लगाईदियो ।
के शिशिर पछि बसन्त आऊदैन र प्रिय
देख्ने आँखालाई नै अन्धो बनाईदियौ ।

Mukesh Rai – Abiral Bagirahechha Maai Ra Jogmaai

मुकेश राई – अबिरल बहिरहेछ माई र जोगमाई

उषाको लाली बनी स्पर्श गर्छ सुर्यको नवज्योतिले
जब श्री अन्तु र सन्तकपुरको शिखर
ब्युझन्छन जगत एक भई नवनिर्माणमा
जुटछन सारा नेपाली बोकी सुनौलो आकांक्षा प्रखर
असीमित निलगगनको आँचल तल
टलपल शितका मोती बटुलेर सिँगारिन्छे हरियाली चियाबारी
हरदम दुईपाते सुइरो बोकी एकताको माला गाँस्न
प्रयत्नरत छन फिक्कल र कन्याम
सिद्धीको चन्चल छङ् छङ् कहीँ
नागबेली बनी सुसाइ रहने यहीँ छ सुनमाई
शरद ऋतुमा नाची हिंड्ने नवरङी पुतली झै
मन मस्तिस्क भरी बसेका छन मेरो सुन्दर गाउँ
अनि बालापन
ति मयुरपंखी दिनहरुका धुमिल यादहरुमा
समेटिएका मेरो बर्तमान परदेशी परिबेश
बिबश, वाध्य म छोडि आएँ त्यो प्यारो घरदेश
श्री अन्तु वर्षौंदेखि अतिथी आगमनमा सु-स्वागत भनी उभिएकै छ
सल्लेरी र जितपुर ईलामलाई हरीयालीले श्रीगाँरेर मुस्काइ रहेकै छ
कहिले लालुपाते,चाँप,गुराँश र चिमलको सप्तरङमा सजिएर सन्तकपुर
कहिले बादलको घुम्टो ओडी
न्यानो आभाष दिएकै छ देउराली
सुन फल्ने सुनमाई बेंशी, बुधबारे र दानाबारी
मङसिर पाकेर पँहेलपुर बनी सजिन्छे
बर्षौ भयो ईलाम त्यहिँ छे, परिबेश् त्यही छ
असारे रोपाई र हक्पारे घन्कीरहेकै छ,
शायद बद्लिएका छौ त हामी परदेशी
भुलेका छौ त हामीले हाम्रो संस्कृति
माई र जोगमाई फर्की आउ परदेशी भन्दै
याचना गरेर पहाड, बेसीं, खोंच र तराइ बन्दै
खोला र सागर भएर हामीलाई खोजी रहेछ
यसरी नै सधैं-सधैं
परदेशी मनमा देशप्रेम छर्न बिदेशमा बिलिन नभै
घरदेशको यादहरु समेटेर अस्तित्व बचाइ राख्न
आव्हान गर्दै अबिरल बहिरहेछ माई, जोगमाई ।

ईलाम, हाल: बेलायत

J B Sherpa – Desh Dukhi Raheka Ghau Haru

जे बी शेर्पा – देश दुखीरहेका घाउहरु

छाक जुटाउन धौ धौ परे पनि
मिठो खान र राम्रो लाउन चाडै कुर्न परे पनि
धुलो र पसीना जीवन भए पनि
साग सिस्नु र ढ़िडोमै हुर्के पनि
बचे खुचेको केही थोत्रो आशा बाहेक
मलाई तिमी संग खासै गुनासो थिएन ए काठमांडू !
तर आज
म आफ्नै देशमा वैरीहरुद्वारा लुटियी रहेछु
लखेटीइ रहेको छु
शरणार्थी बनेको छु
अनि देख्छु, मेरो भत्किएको घर आँगनमा
तिरंगा ** को कालो छायाँ
उ, सुन्दै छु फेरी पनि ,
सीमापारबाट बुटहरुको गड्याम गड्याम क्रूर आवाजहरु
अर्को गायत्री ** र देबी ** को खोजीमा आउदैछ
अर्को दशगजा सारिदै छ र विर्खमानहरु मारिदै छन्
साथ साथै मेरो अस्तित्व, अस्मिता र स्वाभिमान
क्रूर हाँसोसंगै बुट मुनि दबाई रहेछ
एक्कासी छाती दुखेर आउछ , घाऊहरु बल्झिनछन
म हठात आँत्तिन्छु , रुन्छु भक्कानिएर
काठमान्डूलाई गुहार्छु आर्तनाद गर्छु
आँसु रित्तिन्छ
धेरै पछि काठमान्डू बोल्छ – “तिम्रो आँसु र रगत झूठ हो”
ए काठमांडू ! एक पटक आफैंलाई चिमोटर हेर
मेरो आँसु र रगतको आलो टाटो ,
अनि यी देश दुखी रहेका घाऊहरु बाहेक
के दशी प्रमाण देखाऊ ?
तै पनि भन्छु यी सारा घाऊहरु छोप्दै
भैगो तिम्रो सुरक्षा,सहारा र विकाशको आश्वाशन चाहिन्न
म केवल मेरो माटो चाहन्छु , उखेलिएको जंगे खम्बाहरु जहाँ को त्यहीं चाहान्छु
म केवल मेरो माटोमा देशको झंडा फरफराएको चाहन्छु
ए काठमांडू कहिले काहीं ,
अमर सिंह, भक्ति थापा र बलभद्र कुँवरको वीर गाथाहरु सुन्ने गर
शहीदहरुको देश प्रेम बुझ्ने गर
मलाई थाहा छ तिमी अचेल लेंदुप दोर्जे झै
लोभिएका छौ,वहकिएका छौ
हामी कहिल्यै शासित थिएनौ
लढयौ, मर्यों तर सिर झुकाएनौ
एक पटक त सोच फेरी, एक पटक त रोज फेरी
दास बनेर दरवारमा वस्नु या
स्वतंत्र भएर छाप्रोमा वस्नु ?
दास बनेर हैदरावादी बिरयानी खानु कि
स्वतंत्र भएर गुन्द्रुक ढिँडो खानु
दास बनेर अत्याचार सहनु राम्रो कि
स्वतंत्र भएर डटेर लड़नु राम्रो
ए काठमांडू !
म आज फेरी देश दुखी रहेका घाऊहरु छोप्दै
छातीमा ज्वालामुखीहरु सम्हाल्दै
अंतिम पटक तिमीलाई पर्खी रहेको छु ।

Hem Nath Ghimire – Mera Paiyun Ra Timra Sakura

हेमनाथ घिमिरे – मेरा “पैयूँ” र तिम्रा “साकुरा”

बसन्तको आगमनसंगै
सिंगो बसन्तकै प्रतीक बनेर
पूरै वातावरणलाई नै बसन्तमय पारेर
हाँगा-हाँगामा
पात-पातमा
ढकमक्क भई
फुलेका छन्
तिम्रा साकुराहरु ।

सायद
मेरा पहाडका
कुना र कन्दरामा पनि
तिम्रा “साकुरा”का सगोत्री
मेरा “पैयूँ”हरु
फुल्ने कोशिष गर्दै होलान् ।
तिम्रा “साकुरा” झैं
ढकमक्क फुल्न नसके पनि
फाटफूट फुलेका होलान् ।

म सुन्छु
र देख्छु पिन
मेरा केही “पैयूँ” हरु
तिम्रोमा आई “साकुरा” बनेका छन्
तिम्रै “साकुरा” झैं
स्वच्छ प्रफुल्ल भई
ढकमक्क फुलेका छन् ।

मलाई गौरव लाग्छ
फुल्ने अवसर पाएमा
मेरा यी “पैयूँ” पनि
तिम्रा “साकुरा” भन्दा
कम त रहेनछन् ।

तर
कताकता डर लाग्छ
मनमा शंका पलाउँछ
कतै
मेरा यी”पैयूँ”हरु
“साकुरा” नै बनेर
यतै बिलाउने त हैनन्
आफ्ना कुनाकन्दरा
र आफ्ना सहोदर “पैयूँ” लाई
चटक्क बिस्रने त हैनन्
आशा गर्छु
मेरो यो शंका
शंका मै सिमीत रहोस् ।
कामना र आग्रह गर्छु
“साकुरा” बनेका
मेरा प्यारा “पैयूँ”हरु
आफ्ना ती कुनाकन्दरा
र आफ्ना सहोदर
ती “पैयूँ”लाई नबिसर्िउन्

पूनः त्यहीं गएर
ती सहोदर सबै “पैयूँ” लाई पनि
आफू झैं “साकुरा” बनाउन्
र सिंगो पहाडलाई नै
ढकमक्क फुलाउन् ।

डा. हेमनाथ घिमिरे
बाहुन डाँडा लमजुङ् ।

Kalyan Shrestha – Barshat

कल्याण श्रेष्ठ – बर्षात ! (कबिता )

सामान्य दिनचर्याका
ब्यस्त मध्यम बर्गीयका लागि
अफिस आवरमा बसभित्र
ठेलाम ठेलसंग मिसिएको
पसीनासंग घोलिएको
झ्यालबाट छिर्ने दुखेसो होस
या
असामान्य दिनचर्याका
कमजोर Continue reading “Kalyan Shrestha – Barshat”

Rupesh Rai – Uttar Adhunik Sapana Ra Nidra

रुपेश राई – उत्तर-आधुनिक सपना र निद्रा

आएन निद्रा रातभरि
छट्पटाइरह्यो उत्तर-आधुनिक सपनाहरू।

फर्लङ्गै छ रात पनि
सपनामा ! कसो मितज्यू गफ सकिएन ?

आईरनीहरू गाउँ पसेर
खासाको रिदम लगाइरहेछन्। अनुप्रासहरू घरैपिछे
अम्बल-डम्ल खेलिरहेछन्। सेलो र सवाई कतै उफ्री रहेछ, सायद।

कति… चिन्तनशील छ दिमाग ! फुर्सदमा पनि कुचुकुचु गरिबस्छ।
थाकेर भुसुक्क निदाउँ भन्छु… उत्तर-आधुनिक सपना र
मबाहेकका कुराहरू आँखा च्याती टुलटुल
हेरिबस्छ विश्वबजारमा।

म ! म ! म ! म !

उँहुँ… पत्यार लाग्दैन, चिम्म गर्छु फेरि
आँखीभौं उघार्दै निद्राहरू फुतु-फुतु निस्कन्छ।

हराउँछु। माथिदेखि तलसम्म
सोचेँर। कालो सेतो हुन्छ यी वर्ण र
पन्नाहरू। श्रीगणेश र इतिश्री जस्तो।

मेरो निद्रा कस्तो होला… यो मान्छे…

यो मान्छेले। के खोजेको हँ ??
तथ्य ?….?….?

रातभरि घुरेर डिप्रेसनले विज्ञानको अविष्कारलाई सल्हा दियो। हजूर अब एउटा औषधी यस्तो बनाउनुहोस् जसको सेवनले सारा मानिस पागल बहोस्। अर्थात् म पागल हुँदा कसैले मलाई पागल नभनोस्।

Abir Khaling – Asmita Ko Geet

अबीर खालिङ्ग – अस्मिता को गीत

हतभागी मेरा कति अनुर्वर बेलाहरू
फल नलागी सुकिसके /
देशको उर्वरा माटोमा ।
म देश जोतिरहेछु।
खडेरीग्रस्त मौसममा पसीना को के मूल्य हुंदछ
गोडीरहेछु बियाड धानको
हिल्याईरहेछु देश
खनिरहेछु देश

मलबांसले हानेको मेरो चिसो आंगमा घाम कहिले लाग्छ ?
पर्खाईको रित्तो लामो संगीतमा
हाम्रा आकांक्षाका शब्दहरु शहीद भईसके ।
देशले गाएको हर्षगानामा
खोई मेरो चिनारी
कोरस गाउँदै राजमार्गमा हिंड्न पाऊं ।

देश बिणामा मैले
आफ्नै धून बजाउनमात्र चाहेको हूँ
आफ्नै राप अलाप्न चाहेको हूँ
आफ्नै संगीतको स्वर्गीय आनंद अनुभूत गर्न चाहेको हूँ
बिणाका तारमा मैले
हाम्रा अस्मिताका सूरहरु झंकृत पार्न चाहेको हूँ ।

अखवारका हेडलाइनहरुद्वारा बहिस्कृत
मेरा अदम्य चाहना र तृष्णाहरु
छटपटीको मरुभूमिमा किन हराउंछ ?
न्यायको न्यानो घाम नपाई
अवहेलनाको बाढीले बगाउंछ?

मलाई कौसीमा उभ्याएको कति भयो?
मूलप्रवाहबाट उच्छेदित
अगर बगर सुकेको कति भयो?
म तिम्रो मुटुमा श्वासप्रश्वासमा
तिम्रो विगत , वर्तमान र भविष्य हुन चाहन्छु ।
तिम्रो बानी र व्यवहार हुन चाहन्छु ।

विविधतामा एकता भन्दै
कति हिंडीसकें म तिमी संग तिम्रो हात समाएर ।
हरेक पल्ट तिमीले सोध्यौ मेरो नाम ।
मेरो जात, थर र गोत्र
हाँसेर खेल्न दिएनौ त्यो घरको मझेरीमा ।
आँगन को डीलमा उभिएर तिम्रो हात सामाउन खोज्दै
यति यति पानी घेघेरानी खेलीरहें
सर्वांग पानीमा डुब्दा पनि
म बिचमा उभियेकी रानी हुन पाइन ।

(Sent to Sanjaal Corps via Email)

Bibash Bipra – Tesro Najar

बिबश बिप्र – तेस्रो नजर

समुल नतर्कीहरु
मयूरका प्वाँख सापटी माग्दै
खोल्सा खोल्सामा नाचगान गरिरहेछन
राँके भुतहरु
राँको बाल्दै
तालमा ताल मिलाउदैछन
सतीसाल र बयरहरु
मधुर मनोकांक्षा बोकी
रंगनाच चिहाँउदाछन
पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l

खहराहरु
बान्की मिलाउदै उँभोतिर उक्लीरहेछन
ढिस्काहरु
भेलको बाटो पहिल्याउन
निरन्तर माटो खन्दैछन्
भुत र प्रेतहरु
नयाँ बटुवाको आगमन ब्यग्र भइ कुर्दाछन
किचकन्नीहरुको भान्छामा हर्षको झोल उम्लदो देखिन्छ l

चालवाज जोकरहरु
पत्ता सम्हाल्दै
मकैका दाना गनिरहेछन
बकम्फुसे टपरटुँइयाहरु
चोरीका दुई-चार मकैको च्याँखे थाप्दैछन
सुर र सुराहरु
काँचका पारदर्शी गिलाससँगै छचल्किदाछन
कुकुरको घाँटीमा झुन्डेको घन्टी
एकोहोरो शंख फुक्दो देखिन्छ l

बिराटनगर, हाल: आबुधाबी

Manorama Sunuwar – Chhayan Yoddha

मनोरमा सुनुवार – छायाँ योद्धा

यूद्ध,
तिम्रो शक्ति प्रर्दशनको थलो
सत्ता कब्जाको उपाय
वीरता प्रमाणितको दह्रो कसी
तर यूद्ध,
कदापी तिमी एक्लै लड्दैनौ
संभवत तिमीसंगै
तिम्रोभन्दा विकराल यूद्ध
हामीले लड्दै आएको हुनुपर्छ ।

यूद्धस्थलमा तिमी लडिरहँदा
शत्रुपक्षको तरबारले
पहिले हामी रेटिन्छौं
अभावमा
भोकमरीमा
असुरक्षामा,
तिमीले प्रहार गरेको आर्टिलरीबाट
गोला बनेर फेरि
हामी नै बज्रन्छौं
विपक्षीको परिशरमा
अनि प्रत्येक रात
प्रत्येक दिन
आफैँ ध्वस्त हुन्छौं
कहिं सेक्स स्लेभज्ञ बनेर
कहिं कम्र्फट वुमनद्द बनेर ।

हाम्रो मातृत्वलाई
चुनौती दिने यूद्धले
फेरि हामीसंग नै योद्धाको माग गर्छ,
शरिर अव कारखानामा
अनुवादित हुन थाल्छ,
तथापि
जैविक कारखाना
दृष्टि विहिन हुन सक्दैन
सक्दैन हुन सम्बेदनाहिन,
आफन्तसंग वियोगको
आँशुमा पौडदै
लड्नुछ संघर्षको मैदानमा
प्रत्येक निमेषमा ।

बलत्कार,
हामीमाथि मात्रै प्रहार हुने
तिम्रो यूद्धको एक अभिन्न हतियार,
हामी हजारौं मृत्यू वरण गर्दै
बाध्यछौं विउतिन,
अनि यो कुरुप र विकृत युद्धसंग लडेर
तिमीछेउ आइपुग्छौं,
फेरि तिमीबाट तिरस्कृत हुनुको पीडासंगैं
जीवनको अर्को युद्धमा होमिन पुग्छौं ।

इतिहास साक्षी छ,
श्रृङखलाबद्ध वर्वर यूद्धहरू
यसरी लडिरहिउँ हामीले,
रुवाण्डाको जातीय यूद्धमा
पूर्व यूगोस्लाभियामा,
पाकिस्थान /बंगलादेशमा
विश्वयूद्ध /शितयूद्ध/ गृहयूद्धहरुमा
भूगोलका रेखा रेखामा
लडिएका यूद्धहरुमा ।

हामी तिम्रो यूद्धभूमिमा
यौन सेवा प्रदायक, भान्छे, सेविका
वफादार आत्मघाती दस्ता,
अनि तिमीसंगै
काँधमा बन्दुक बोकेर हिड्ने लडाकु,
तथापि यूद्ध
तिम्रो मात्रै पेवा
तिमी मात्रै यसको विजेता ।

कहलाएँनौ कहिल्यै हामी विरंगना
टाँगिएन कहिल्यै हाम्रो छातीमा भिक्टोरिया क्रश
गाइएन कहिल्यै हाम्रो विरताको गाथा,
यद्यपि
हरेक थरी यूद्धमा विचलित नभइ
निरन्तर लडी रहन सक्ने,
आदम्य साहस भएका
हामी
वास्तविक योद्धा
यसअर्थमा
तिमी
फगत छायाँ योद्धा !

हालः श्रीलंका