Bikash Bajagain – Artha

विकाश बजगाईं – अर्थ

कोलाहलयुक्त अनुत्पादक दिनहरुबाट,
चकमन्न मेरा चेतना किन व्यूउँझिदैनन् ?
निशब्द रातको निश्लोट प्रहरहरुबाट,
हृदयको मधुर संगीत किन निदाउँदैनन् ?

आखिर,
मानव नै हुँ म पनि,
धिक्कार्न सक्दिन यो जन्मलाई ।
स्वाभिमानी हुँ भन्छु आफूलाई,
स्वीकार्न सक्दिन सह अस्तित्वलाई ।।
के हार अनि के जीत नै हुनु छ र
यो कालान्तरीत लडाईमा ।
पाउनु गुमाउनुको केही रहेन अब
नितान्त एक्लो यो जीवनमा ।।

स्वरचित कल्पनाले मात्र,
हृदयलाई शितलता दिने भए,
अर्धचेतन स्वप्नले मात्र
स्वर्गानुभूत गराउने भए,

वास्तवमै,
मांश प्राचिर तिम्रो त्यो सुन्दर स्तम्भको
प्रेमक्रिडाका ति आनन्द तिरेक क्षणहरुको
हजारौ कामात्मालाई परास्त पार्ने तिम्रो वाक्पटुताको
परिहास युक्त यो जिवलाई के नै अर्थ हुने भो र ?

– इन्द्रपुर ७, बेलेपुर, मोरङ्ग

Pravin Khaling – Achel Sairan Bajeko Chhaina

प्रविन खालिङ – अचेल साइरन बजेको छैन

आमाहरू बोतलमा फिक्का चिया भर्दैनन्‌,
मुखको गॉंस घॉंटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन्‌
अचेल साइरन बजेको छैन।

नागा हुने त्रास छैन, हक छुट्टीको लोभ पनि छैन
मुनाहरू त्यसै हुर्किन्दैछन्‌।
सुस्ताएरै बिहान बित्छ,सुस्ताएरै दिन
गोलाई टारमा तौलाईमा भेला हुनुपर्दैन
ठीका नपुगे दुःखी हुनुपर्दैन, अचेल घुमौरी खेल्नपर्दैन
न त राशन थाप्नुको हतार छ
अचेल भिघा पनि लागेको छैन।

उनीहरूसित त्यस्तो केही छैन र,नै धेरै छ
सास कष्ट, जुन जिन्दगीको अवधिभन्दा धेरै छ।
नानीहरू पाठशाला गइरहेकै छन्‌, धुराभरि केटाहरू रङ्गालिरहेकै छन्‌
कसैलाई केही भएको छैन
यत्ति हो अचेल साइरन बजेको छैन।

प्रत्येक पहरहरूमा हुकुम बजेको छैन।
प्रत्येक श्वास-प्रश्वासमा
शोषणको गन्ध आउँदैन
मान्छेहरू कामविहीन भएरै पनि, बॉंचिदिन खोज्दैछन्‌
मालिकबिनै पनि हॉंसिदिने सोच्दैछन्‌
गाउँमा अभाव छ
चेतनाको प्रभाव पनि छ
यत्ति मात्रै हो, अचेल काम लागेको छैन
टायम-टायममा साइरन बजेको छैन।

(बन्द चियाबारीका मेरा आफन्तहरूको नाममा समर्पित)

Monika Khatiwada – Jeewan

मोनिका खतिवडा – जीवन
(Source: मधुपर्क, चैत, २०६८)

हाँस्न थालेको छु विवशतामा
जिउन थालेको छु बाध्यतामा
जिवन जिउँदो लास भए नि
रमाउन थालेको छु आर्यघाटमा ।
सारा संसार विरानो भएछ
आफ्नै छायाँ पराइ भएछ
रुन छाडेको छु एक्लै रातमा
आँखामा आँसु नै रित्तिसकेछ ।
टुटेका सपना जोड्दिन अब
तिम्रो विछोडमा जल्दिन अब
एक्लै रमाउन थालेको छु अचेल
तिम्रो साथको कल्पना गर्दिन अब ।
झुटो कसममा विश्वास गरेँछु
तिम्रो सपनामा आफ्नो जीवन देखेँछु
फेरि अब लालसैलालसामा मर्दिन म
जीवनमा धेरै मृत्यु पहिल्यै मरिसकेकीछु ।

– मस्को कलेज, कुपण्डोल

Basu Dhakal – Maasinchha Ki Mero Desh

मासिन्छ कि देश मेरो

बन्दैछ कि धुजा धुजा
आजभोलि देश मेरो
मासिन्छ कि डर लाग्छ
त्यों नेपाली भेष मेरो

बाँड्नै परे नेपालीको
मन बाँडे हुन्थ्यो
शीप रुपी पौरखको
धन बाँडे हुन्थ्यो

मलाई पनि नटुक्र्याई
देश देऊ अलिकति
हिमाल पहाड तराइको
भेष देऊ अलिकति

आफू आफू के का लागि
कुस्ती खेल्नु घरी घरी
नेपालीले कतिन्जेल
दुख: झेल्नु सधैभरि

एउटै जात नेपालीको
हात देऊ अलिकति
नेपाली हुँ भन्न लाई
साथ् देऊ अलिकति

डेविस, क्यालिफोर्निया

Chhabi Raman Silwal – Aama

छविरमण सिलवाल – आमा

धर्तिमा पहिलो
पाइला टेकाउने पनि उनै हुन् ।
आफू भोकै बसेर
मेरो पेट भर्ने पनि उनै हुन् ।
मेरा दुःखका पहाडहरू छेक्दै
मलाई सुखानुभूतिको
आभाष गराउँदै
मेरो पुकार सुन्ने पनि उनै हुन् ।
मेरी आमा !



आफू खोले खान्थिन्
मलाई दुध खुवाउथिन्
आफू घाँसको भारी बोकेर
मलाई भारी माथि
बोक्थिन,
मेरो हरेक प्रहरको
देखवाल गर्थिन,
म ठूलो मान्छे बनेको
हेर्न चाहन्थिन्,
आज पनि मेरा हरेक प्रहरमा
उनी चिन्तित छिन्,
आफ्नो मातृवत्सल्य बाढेर
मेरो खुशीको कामना
गरिरहेकी छिन्
ईश्वरसंग
मेरी आमा !



आफू निरक्षर थिइन
चिठ्ठीपत्र पढ्न अरूको सहारा लिन्थिन
मलाई पढ्न पठाएर
आफू साक्षर बन्ने कोशिस गर्थिन्
म आज सोच्ने गर्छु
उनी नहुदी हुन् त
म यो संसारको
सुख भोग्नबाट वन्चित हुने थिए ।
यसरी नै
संसारीक ममता वढिरहेको छ
युगौँयुग देखि
म यसैको प्रतिनिधि पात्र मात्र हुँ
मातृत्व प्रेममा लुटपुटदै
आफूलाई
भाग्यमानी ठान्छु,
अनि,
उनको दिर्धायुको
कामना गरिरेको छु
हरेक प्रहर
उनै हुन ममताको प्रतिक
मेरी आमा !



आजकल म हरेक प्रहर
सोच्ने गर्छु
मैले उनको चाहना पुरा गरें या गरिन ?
स्वार्थी बन्दै गएको हाम्रो समाजमा
आमाको महत्वमाथि
कुठाराघात भइरहेका हरेक घटनाहरूले
मेरो हृदय छियाछिया भएको छ
तापनि, मेरी आमाको विशाल हृदयले
भनिरहेछ,
एक दिन मेरो महत्व सवैले बुझ्नेछन् ।
चिन्तित हुने कुनै कारण छैन ।
सधैँ सकारात्मक सोच्न
सिकाउँछिन मेरी आमा
विशाल हृदय भएकी
सधैं ममता वाढिरहने
उनै हुन् मेरी आमा !

Rakesh Karki – Laash Haru

इन्जिनियर राकेश कार्की – लाशहरु

गरीबी भित्रका लाशहरु
कुनै मरिसके
कुनै जिउँदै छन्
तर लाश भएर

सास फेर्न पाए पो
बाँच्लान ति लाशहरु
पसिनाको मूल्य पाए पो
जन्मेलान् आशहरु

भोकै छन् लाशहरु
बाँचे पनि मरे पनि
रोएकै छन् लाशहरु
रुवाउने हाँसे पनि

लाश माथि बाँच्नेहरु
दुर्गन्धमै बाँचिरहेछन्
ऐश आरामको नशाले
गन्धलाई भुलिरहेछन्

अघाएका बलिष्ठ हात
गाँस खोस्दै घिचिरहेछन्
लाशको गन्ध झैं
डकारेर गन्हाइरहेछन्

करोडौं लाशहरु
अझ लाशै छन्
तिन्का आशहरु
पनि लाशै छन्

लाशले मसानमै
जन्म लिनु परेको छ
शक्ति सबै गुमाएर
मसानमै लड्नु परेको छ

Raj Kumar Pudasaini – Mero Watan

राजकुमार पुडासैनी – मेरो वतन

मेरो- भीर, पाखा, गांऊ, बस्ती र फाँटहरु
निचोरिएर बगेको पानी
तल कतै नदी भएर बग्छ
त्यहि पानीको रंगमा मेरो जीवन पोखिएर बगेको छ
मेरो आमाको मन
मेरो बाबुको मन मिसिएको छ
त्यसैले त नदी –
सधैभरी मेरो बेदनाको गीत एकोहोरो गाइरहन्छ
र मेरो दुःख र सुखका अब्यक्त आवाजहरु निकालेर सुसाइरहन्छ
तसर्थ, नदीमा मेरो जीवनको कयौं कथाहरु छन्
अशंख्य पीडा र बेदानाहरू छन्
म नदीमा आमा देख्छु
म नदीमा बाबु देख्छु
यसै पानीमा मेरो आमाको आँशु बगेको छ
मेरो बाबुको रगत र पसिना मिस्सिएको छ
यसै नदीमा मेरो पिता पुर्खाको परिचय लुकेको छ
मेरो अशंख्य अलिखित सभ्यताहरु यसैमा अदृश्य भएर बगेको छ
नदी मेरो जीवनको बिम्ब हों
जहां नदी काली, गण्डकी, कोशी, कर्णाली र त्रिशूली भएर बग्छ
म त्यहि नदीको छोरो हूँ
त्यसैमा मेरो आमाको आँशु बगेको छ
मेरो बाबुको रगत र पसिना मिस्सिएको छ
यसै नदीमा मेरो पिता पुर्खाको परिचय लुकेको छ
मेरो अशंख्य अलिखित सभ्यताहरु यसैमा अदृश्य भएर बगेको छ

नुवाकोट, हाल बेल्जियम

Chakendra Rai Kaidi – Yesto Nahos

चकेन्द्र राई कैदी – यस्तो नहोस

मायाँमा अडिएको छ दुनिया
विश्वासले चलेको छ संसार
प्रेमी प्रेमिकामा धोका नहोस।
श्रीमान श्रीममतीमा घात प्रतिघात नहोस।
सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा
सानो Continue reading “Chakendra Rai Kaidi – Yesto Nahos”

Chaman Ghale ‘Pidit’ – Dikka Lagchha Yi Gadha Haru Ko Taal Dekhera

चमन घले पीडित – दिक्क लाग्छ यि गधाहरुको ताल देखेर

नागर्जुनमा बाउ मुसु मुसु हाँस्दो हो
सिङ्गापुरमा छोरो उफ्रि-उफ्रि नाँच्दो हो
खुसी हुँदै यि गधाहरुको ताल देखेर

राष्ट्रपती जिद्दी उस्तै ट्वाके परेछन्
प्रचण्ड त झन् सोरैआना ख्वाके छदैछन्
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर

उता गिरीजालाई के गरुँ के गरुँ भैसक्यो
शेरु त्यसै भक्-भक्-भक्-भक्-भक्भक्यो
चुनावहरुवा माकुनेको मुख्मा र्र्याल आइसक्यो
फोरमले झन्डै सित्तैमा गिफ्ट ह्याम्पर पाइसक्यो

सिंहदरवार भित्रको खाली कुर्ची देखेर

उफ्!

दिक्क लाग्छ यि गधाहरुको ताल देखेर…

स्याऊ र केरा जस्ता नेताको निती देखेर
टायरको हाँडी काठमाण्डु सिटी देखेर…
नेताहरुमा ठप्पै नभाको युनिटी देखेर…

Durga Lal Shrestha – Ankhai Ankha

दुर्गालाल श्रेष्ठ – आँखै-आँखा

क्षितिज ठानी आँखा बिसाउँछु
आँखाबाहेक देख्तैनन् आँखाले;
अहो मलाई खेदिरहेछन्
चारैतिरबाट आँखै आँखाले !
एकटकले रुख हेर्छु,
अनायास पात-पातबाट
टुपुल्किदै, हेर्छन मलाई
ट्वाल्ल ट्वाल्ल आँखै-आँखाले !
के के न भने जस्तो
मभित्र मै पसे जस्तो
सुन्दै गर्छु, धेरै-धेरै
क्यै नभने पनि आँखै-आँखाले !
मैले आँखा नखोलेको हो कि ?
खोलेर पनि नदेखेको हो ?
यतिञ्जेल नउठेर मलाई
सोधिरहेछन् आँखै-आँखाले !

Shreeshisha Rai – Pani Rapantaran

श्रीशीशा राई – पानी रूपान्तरण

बगिरहेछ
पानी बगिरहेछ

तर यो अब पानी मात्र रहनेछैन
यो दूध बन्छ अब

बुँद बन्छ अमृतको
त्यसो त यो चाहेमा

जाँड – तरल बनिदिन सक्छ
भाङ – रहलपहल बनिदिन सक्छ
नसा – Continue reading “Shreeshisha Rai – Pani Rapantaran”

Siddhicharan Shrestha – Baa Aaunu Bhayeko Chhaina

सिद्दिचरण श्रेष्ठ – बा आउनुएको छैन

पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनुभइरहेछ-
बा आउनुभएको छैन ।

युग बदलिइसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जन्जिर टुटिसक्यो
अझ पनि आजादी आएको छैन
प्रगति आएको छैन,
प्रजातन्त्र आएको छैन,
आमा कराउनुभइरहेछ-
बा आउनुभएको छैन ।

हाम्रो विचारको घुयँत्रोले
हाम्रो कल्पनाको वज्रले
अन्धकारको टाउको फुटिसक्यो
अझ पनि नयाँ बेहान आएको छैन
नयाँ युग आएको छैन
आमा कराउनुभइरहेछ-
‘बा आउनुभएको छैन ।’

Dinkar Nepal – Ma Feri Haaren

दिनकर नेपाल – म फेरी हारें

म फेरी हारें ।
पहिले ढुङ्गा-मूढा
अनि धनुषबाँण
बन्दुक बारुद तोप टैंक
र अणुबम
इतिहासदेखि इतिहाससम्म
एकपछि अर्को
विजय ध्वनि गाउँदै रहे।

प्रत्येक पटक
म हारी रहें।
मासुका Continue reading “Dinkar Nepal – Ma Feri Haaren”

Kala Rai – Mero Bishwas

कला राई – मेरो विश्वास

टेकेर परदेशको माटो
झ्याम् झ्याम्
ढवाङ् ढवाङ्
ढोल झ्याम्टासँगै
नाच्दा किरात पहिरनमा
हल्लाउदै साकेवा पाइला
यस्तो लाग्छ
जुरुक जुरुक तालमा
नाचिरहेछ ताइमोसन

व्यक्तिगत स्वतन्त्रताको
दुहाइसँगै
केही महानुभावहरु
किन नबनुन
आधुनिक धर्मावलम्बि
किन नमिसिउन
समुद्रको नुनिलो पानीमा

मलाई
हिजो जत्तिकै
प्यारो लाग्छ
स्वर्गवासि दिपाले
सिकाउनु भएका
साकेवा सिली
अनि
मॆरैं सम्झनाको
छायाँ बोक्ने
अरुण, तमोर

मेरो विश्वास
पुरानो बनेपनि सबैकुरा
कहिल्यै पुरानो हुदंैन
सम्झना र संस्कृति ।

भोजपुर, साङपाङ, हालः हङकङ

Bimal Rai – Samabedana

बिमल राई – समवेदना

हो,
मृत्युलाई बिर्सेर कायापलट फेर्न खोज्ने हामी मान्छे
दनदनी आगोले नजल्ने बिचार पनि-
एक दिन अवश्य मर्छ
हिटलर मरे
मार्क्स मरे
नित्से मरे
अनि,
बिचरी मैना सुनार पनि त मरी
र हामी, अनि हामीले देख्ने विश्व मर्छ
बाँच्नुको बिकल्पबाट हारेको जीवन सबै मर्छ
त्यस्तै गरी
धेरै लामो जिवनको अध्यायबाट
कुटनैतिक चालबाजीको खुल्ला आकाश नाघ्ने दौरानमा
मान्छेको अन्तिम सत्यले तिमीलाई पनि छाडेन
कृष्ण र गणेशलाई सडकमा पु-याउने तिमी बहादुर
अन्तत तिमी मर्यौ
र-
मरे, शिखर हुँ भन्ने तिम्रो मानसीकता
तिता मीठा परिघटनाका एकांकीहरू छाड्दै
जो अरुजस्तै,
सहज र असहज मृत्युको भुमरीले
तिम्रो पार्थिव शरिरलाई आज यो लोकबाट
सदाको लागि बिसर्जन गरिदीयो
अब रहेन तिम्रो दैनिकीहरू
रहला त अब केवल,
बंशौली आडम्बरीतामा लम्केको तिम्रा पदचापहरू
सेतोमा कालो पोत्ने तिम्रो अपूर्ब कौशलता
भोका नाङ्गाको पुकारा गर्दै आफ्नो दुनो सोजाउने कुटिलताहरू
देशको रेखाङ्कन बेचेर मित्रता देखाउने अभिभाकत्व
अनि बहुलतालाई निषेध गरी
पारिवारिक्तालाई अप्नाउने राजनेता
इतिहासको पानाहरूमा ज्वलन्त अङ्कित रहनेछ-
पछिल्लो पुस्तासम्म,

भावी सन्ततीले तिम्रो सक्कली बिचारको अन्दाज गर्नेछन्
मृत्यु भन्दा पनि तिम्रो नेपथ्यका चेहराहरू
तर पनि, मृत्यु अवश्यभावी छ
यसर्थ,
यो पलमा म पनि समबेदनामा समाहित छु
शब्दका दुइफूल चढाउनलाई
तिम्रो निधनको दुःखदतामा ।

Kedar Shrestha ‘Gagan’ – Preeti Ka Kura Nakhelaunu Man Ma La

यादहरु यसरी मडारिदै छन्
आकाशको वादलजस्तै
प्रत्येक पलको हावाले
एक ध्रुवबाट अर्को ध्रुव पुर्याएर
सून्यबाट खसालिएकौ ढुङ्गाजस्तो
भएको छ मन
म निस्सासिदै छु हावाको वेगले
एउटा नावालक आमाको खोजीमा
रुँदै Continue reading “Kedar Shrestha ‘Gagan’ – Preeti Ka Kura Nakhelaunu Man Ma La”

Seema Abhash – Sapana Ma

सीमा आभास – सपनामा

सपनामा
मध्यरातमै ब्यूँझिएँ आफ्नै ओछ्यानमा ।
पात झरेको तर पाउलीन नपाएको
देखेँ, रूखजस्तो सपना ।

मेटिएपछि सौभाग्य कोर्ने सिउँदो पछ्याउँदै
बाटो बिराएको बटुवाका पदचाप
बजिरह्यो विरही धुनमा बाँसुरी
उठेपछि छातीबाट ज्वारभाटा
रुँरुँ लाग्ने धुनले रातभरि
फेररिह्यो आँखामा कोल्टो ।

सपनामा
घाम पछ्याउँदै खोलाको तीरैतीर
जून उकालो लागिरहेको बेला
अड्काएर खोला अञ्जुलीमा
नुहाइरहेथ्यो जोगीले यौवन ।

सुईसुई सुस्केरा दिँदै चियाबारीको थुम्कोबाट
सुन्तलाबजारतिर दौडिरहेका
युवकयुवतीमाथि ओछ्याएर छायाँ
गुँइइय गर्दै डाँडो काट्दै थियो हवाईजहाज ।

त्यसैबेला
हरायो लाहुरेको कहानी गाउने सारंगीको तार
हराए भरयिा र रोदी गाउने ठिटी
चिसिएपछि शीतलहरले
कोक्रो बिसाएर बारीको डिलमा
बाँझो बारी खनेथे सुत्केरीहरूले
नाम्लो बाँधेर कम्मरमा
काम खोज्न घर टाढा जाँदै थिए तन्नेरी ।

विदेशिएका छोराछोरीको तस्बिर
राखेर बैठक कोठामा
उनीहरूको जन्मदिनको दियो बाल्ने आमाबुबा
अबेलासम्म जून हिँडेर मेटिएको ।

अन्दाज लगाउँदै गोरेटोको
तिनै छोराछोरी खेल्ने र उफ्रने बार्दलीमा बसेर
गर्थे मुखामुख
पोकापोकी पारेर जिन्दगी फिरन्ते बिहानी चरो
फिरफिरेका पातमा संगीत खोज्दै जीवनको
चुँडेर आफ्नै प्वाँख खोलाकिनारमा
गीत गाउँदै थियो ढुंगा ब्यूँझने गरी ।

त्यहीबेला हिउँले ढाकिएको गोठमा
ताप्दै आगो
टक्य्राकटुक्रुक बसेका किसान बूढाबूढी
पल्याकपुलुक हेर्दै यताउति ठोसिरहेथे आगो ।

Madan Sitaula – Jindagi Ma Naulo Kaam Garna Banki Chha

मदन सिटौला – जिन्दगीमा नौलो काम गर्न बाँकी छ

जिन्दगीमा नौलो काम गर्न बाँकी छ
तिम्ले जस्तै मैले माया मार्न बाँकी छ
खाको सबै कसमहरु तोड्नु पर्ने छ
लाको माया तिम्लाई मैले भुल्नु पर्ने छ
तर माया तिम्रो म
तोडु कसरी, म भुलु कसरी!!!!

आधी बाटो हिड्दा हिड्दै तिम्रो साथ छुट्यो
बाध्यताको भुँमरिमा मेरो माया फस्यो
तिर्सना कती धेरै समालेको मनमा
आँगो लागे जस्तै भयो थुप्रीएको खरमा
जिन्दगीमा नौलो काम गर्न बाँकी छ
तिम्ले जस्तै मैले माया मार्न बाँकी छ

शंका थियो नजर लाग्छ हाम्रो मायाको
डर मात्रै लाग्थ्यो मलाई अन्जान छाँयाको
चञ्चलतामा मुस्कुराँको पललाई सम्झन्छु
याद आउँदा तिम्रै नाममा आँशु झार्दछु
जिन्दगीमा नौलो काम गर्न बाँकी छ
तिम्ले जस्तै मैले माया मार्न बाँकी छ
खाको सबै कसमहरु तोड्नु पर्ने छ
लाको माया तिम्लाई मैले भुल्नु पर्ने छ
तर माया तिम्रो म
तोडु कसरी, म भुलु कसरी!!!!

२०६९ चैत्र १ गते

Ramesh Gautam – Bidai Ko Bela

रमेश गौतम – बिदाइको बेला

उभिएको छु
गतिहीन
एउटा उष्ण बगरमा

नियालिरहेछु
माछाहरुको क्रीडा
उष्णता र पीडा!

स्थिर पानी
र पानीको स्थिरता!
सामुन्नेको झाडीका
चराहरुको चिरी-बिरी!

गोमन चालहरु!
न्याउल पीडाहरु!
एक साथ हेरिरहेछु
मूल्यांकनका नयनहरुले
सुस्ताएको छु
निस्ताएको छु
जीवन बँचाइको
सायद् नियमितता-
नीसताहरु
मार्गहीनताहरु
निकाशहीन गुम्स्याइहरु
आत्मदाहका सीमाहीन पीडाहरु
पोखिएका छन्
एक साथ
भूगोलहीन अस्तित्वमाथि।

लामो समयको तपस्यापछि
प्राप्त वरदान-
नमीठो जीत
जीवनका भोगाइमा
उन्माद-उमंगमाथिको आक्रमण
दीर्घकालीन हारहरु!

आत्मसमर्पण गरेको एउटा गुरिल्लाजस्तै
निन्याउरो अनुहार लिएर
आक्रमण्कारीका सामु
निदाएको छु एउटा जर्जर निद्रा-
दिवास्वप्नमा निमग्न बनेर
हर क्षण भिज्ने गरेका अभिशप्त रातहरु
सडकजस्तै पीडाहरु
आत्मग्लानिहरु
एक साथ
पोखिएका छन्
जीर्ण-रुग्ण मानसिकतामाथि।

उडिरहेछन्
चिल र गिध्दहरु
गुन्जिरहेछन्
निर्मम बाघ-गर्जनहरु
बर्बर छन् पाइलाहरु
जर्जर छन् सपनाहरु
अग्निपरीक्षाहरु
पूर्वघोषित असफलताहरु
अट्टाहस गरिरहेछन्
एक साथ
व्यंग्यपूर्वक।

शिवालायका शंखध्वनिहरुबाट
मन्दिरका घण्टआवाजहरुबाट
चर्चका मंगलकामनाहरुबाट
त्रसित-त्रसित एउटा विस्तृति
बाँचिरहेछ
शताब्दि-सन्दर्भहरु।
थिचेको छु
कैयन चोटि आफैंलाई
लघुताभासले
च्यतेको छु
कैयन चोटि आफ्नै हृदय
परीक्षाका कठोरताहरुले
यद्यपि
बाँचेको छ एउटा पल
मरुभूमिको एक ग्लास पानी
एउटा अमुर्त मुस्कान
अगम्य-अस्पष्ट स्वर्ग सुखानुभूतिहरु
दूर क्षितिजमा चम्कने तारा-सुन्दरताहरु
खण्ड-खण्ड बाँचेका छन्।

अद्यापि बगेको छैन त्यो पानी
म एक्नाश नियालिरहे छु
माछाहरुको क्रीडा
एउटा उष्ण बगरमा उभिएर
सुनिरहेछु भ्यागुताहरुको ट्वार्र-ट्वार्र
र हेरिरहेछु गोमन सर्पका चालहरु।

यही समय
शंख बजेकोछ एकोहोरो
सायद् कसैको म्रृत्यु भएको हुनु पर्छ-
म तर्सन्छु-
मेरी आमाको क्रन्दन सुनेर
म आत्तिन्छु-
मेरी दिदीको रोदन सुनेर
म डराउँछु-
मेरो भाइको चिच्चाहट सुनेर
सयद्
मेरै म्रृत्यु भएको हुनु पर्छ………

उही बगरमा उभिएर नियाल्छु-
पानी अझै बगेको छैन
त्यो स्थिरता उस्तै छ
यति बेला
विदाइको अन्तिम हात हल्लाउँछु
त्यस बगरलाई
सधैँकालागि ।

नर्वे

Yuddha Prasad Mishra – Ukhadindai Chha

युद्धप्रसाद मिश्र – उखाडिंदैछ

प्रचण्ड निम्न वर्गमा उठी उठी बहादुरी
विपन्न पूँजीवादीता छ भत्कँदै गयो धुरी

बुझिसक्यो मनुष्यका दिमागले सही कुरा
अकाट्य देश मुक्तिको खुलिसक्यो दिशा पूरा

गरीब वर्गको रगत् निचोरने प्रथाहरू
छ नासिदै पुराण मन् गढन्तका कथाहरू

विकासशील चेतना सधैभरी छकिन्छ र ?
उखाडिदै पूजारीको छ पूजनीय पत्थर

२६ अगष्ट १९८१