Tanka Subba – Hatar

टंक सुब्बा – हतार

हरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार
कुन्नी के लाई हो हतार
थाहा छैन
तर पनि हतार छ
एकदमै साह्रै हतार छ
एकैछिन थकाई मार्ने मौका छैन
कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि
केहि गरी हाल्नु छ केहि गर्नु छैन र पनि
विना वित्थामा हतार छ
जव घडीको काँटा हतार हतार कुदेको देख्छु
जव डुव्दै गरेको घामलाई देख्छु
र मेरो अगाडी हिड्दै गरेको मान्छेलाई देख्छु
तव झन झन हतार लागेर आउँछ
समयको काँटा कुद्नुले
घाम डुव्दै जानुले
र मेरै अगाडी मान्छे हिड्दै जानुले
एउटा अर्को हतार जन्माउँछ
सायद त्यसैले होला हतारले हाल्फाल्दै कुदाईरहेछ
यहाँ सवैलाई हतार छ
मलाई मात्र होईन
किनकी म देखिरहेछु
सवै कुदिरहेछन् हतारहतारमा
हाम्फाल्दै हाम्फाल्दै कहाँ पुग्नलाई हो थाहा छैन
सोध्दा मात्र हतार छ भन्छन्
कसैलाई फुर्सद छैन भलाकुसारी गर्ने
हतारै हतार छ सवैलाई
हतार भन्दा अरु केहि छैन जस्तो छ यहाँ
किनकी हतार हुनुले यहि कुरा दर्शाउछ
आखिर यो हतार किन सवैलाई ?
हिजो पनि त थियो होला हतार
आजको जस्तै
त्यसैले भोलि पनि हतार नहुने कुरै भएन
ए ! बाबा यो हतार केलाई हो ?
बाह्रौकाल हतार
हामी के सम्झौता गरेकाछौ र हतारसँग ?
हतारले हतार लगाउँछ
हामीलाई थाहा छ
समय आउँछ रोकिदैन
निरन्तर गईरहन्छ
कस्ले रोक्न सक्छ र समयलाई ?
कस्ले भेट्न सक्छ र समयलाइ ?
मात्र हामी अनुभूति गर्र्छौ ती सवै समयको
सायद त्यसैले हामीमा हतार जागेको हुनुपर्छ
ओ हो यो कस्तो हतार ?
के लाई हतार ?
किन हतार ?
हिजो भन्दा आज हतार
आज भन्दा भोलि हतार
रफ्तार झन झन बढीरहेछ हतारको
हाम्फाल्दै जति कुदे पनि
हतार लागि रहन्छ
लौ हजुर केहि गर्दा भएन
हतार कहिल्यै रोकिएन
हतार कहिल्यै सकिएन
हतार पछि हतार आईरहेछ र गईरहेछ
के हो यो हतार ?
चाहे जे सुकै होस्
दुनियाँलाई हतार छ ले हतार लगाएको छ
समयको काँटा भन्दा पनि हतार
हाम्फाल्दै कुदने वनाएको छ
हतार भन्दा हतार

Kshetra Pratap Adhikari – Nepal

क्षेत्रप्रताप अधिकारी – नेपाल

प्रिय सम्पादक !
तिमी सम्पादकीयमा
नेपाल लेखिरहेछौ
म, कवितामा
नेपाल लेखिरहेछु
विधा भिन्न भएर के भयो त
हामी एउटै नेपाल लेखिरहेछौँ
हाम्रो सौन्दर्य त्यही हो
कहिलेकाहीँ तिम्रो पत्रिकामा
मेरो कविता पनि छाप है !

तिमी तिम्रो रूपकमा
मुखियाको हाँसो लेख
म मेरो गीतमा
दुखियाको आँसु लेख्छु
हाँसोमा होस् कि आँसुमा
हामी नेपाली दुःखसुख लेखिरहेछौँ
हाम्रो विशेषता त्यही हो
तिम्रो पत्रिकामा यदाकदा
मेरो गीत पनि छाप है !

तिमी नेपालमा छापिएका
रामवरणहरूका कथा हेर
म नेपालमा नछापिएका
अपहरणहरूका व्यथा हेर्छु
हाम्रो सोचको चुरो नेपाल हो
नेपाल हेर्ने कोण/प्रतिकोणहरू
फरक भए पनि
केही फरक पर्दैन
त्यसैले आकलझुकल
तिम्रो लोकपि्रय पत्रिकामा
मेरो दृष्टिकोण पनि छाप है !

ठूलो कुरो त नेपाल हो
नेपालको माटो हो
यो माटोमा
तिमी वासमती विचार रोप
हिमालीहरू फापर रोप्छन्
पहाडीहरू कोदो रोप्छन्
मधेसीहरू धान रोप्छन्
र, म
यी सबै रोपाइँ र दाइँमा रमाएर
सहकालको सोरठी लेख्छु
तिम्रो पत्रिकामा सोरठीको भाका छाप है !

नेपाल साप्ताहिक ३५५

Tanka Subba – Naya Prayas Haru

टंक सुब्बा – नया प्रयासहरु

दुःख र सुखका
ती दुइ पथहरु पहिल्याएर
प्रशन्नतालाई वास गराउनु छ भने
अथवा प्रतिष्ठालाई
सगरमाथा झैं उभ्याइ राख्नु छ भने
पहिचान ओढेर सगौरव उभिनु छ भने
प्रत्येकको धड्कनमा
नबीन प्रयासहरु जारी गर्नु
नितान्तै आवश्यक हुन्छ ।

डुबेर जिन्दगीको गहिराइमा
आशाका मोतीहरु टिप्नुछ भने
अथवा समयको पुरै मुटु छाम्नु छ भने
भावनाको आगनमा
सफल योजनाहरु अंगाल्नुछ भने
अमृतसरी कठिनतालाई
नवीन प्रयासहरु गतिशील तुल्यानु
अत्यन्तै जरुरी हुन्छ ।

विवशताको सागरमा उभिएर
परिस्थितिका छालहरु सहजै कुल्चनुछ भने
अथवा लम्केर आकासगंगालाई छुनुछ भने
यात्राका हरेक मोडहरु साहसले नाघ्नुछ भने
बाधाहरुको बन्धनलाई तोड्न
नवीन प्रयासहरु जाग्नु
ज्यादै आवश्यक हुन्छ ।

जिएर भावनालाई बचाई राख्नुछ भने
अथवा अध्यारोलाई कुल्चेर उज्यालो ल्याउनुछ भने
लक्ष्यहरु संगालेर गन्तव्यमा पुग्नुछभने
किंकर्तव्यविमूढ मनहरुमा
नया प्रयासहरु समेट्नु
सदैव आवश्यक हुन्छ ।
अमानवीयताको कोलाहलमा
मानवतालाई जोगाई राख्नु छ भने
अथवा महानतालाई घामसंग बाधी राख्नु छ भने
तुषारापातले ओइलाएका आत्माहरु
लालीगुरास झैं फुलाउनु छ भने
त्याग र तपस्यामा अजेय साहस बटुलेर
नया प्रयासहरु हृदयमा झ्याङ्गीनु
नितान्तै आवश्यक हुन्छ ।

Bhupin Byakul – Shabdaka Surung Haru

भूपिन ब्याकुल – शब्दका सुरुङ्गहरु

जब जीवनले घातक हमला गर्छ
म शब्दका सुरुङ्गहरुभित्र छिर्छु

खामिन्छु शब्दका आवरणहरुभित्र
कुनै बेवारिसे चिठ्ठीझैं
ठेगानावीहीन
खसाल्छु मनलाई शब्दहरुको हुलाकघरमा
पुग्नेहो Continue reading “Bhupin Byakul – Shabdaka Surung Haru”

Bibek Dulal Chhetri ‘Damak’ – Ma Ani Yi Kabita Haru

विवेक दुलाल क्षेत्री “दमक” – म अनि यी कविताहरू

यी कविता रगत पच्छे छन्
यी कविताहरू दम र पक्षघातले पीडित छन्
यी कविताहरू अस्पतालको बेडमा भर्ना गरिएका छन्
तर डाक्टर छैनन्
डाक्टरहरू आन्दोलनमा छन् Continue reading “Bibek Dulal Chhetri ‘Damak’ – Ma Ani Yi Kabita Haru”

Saroj Dhital – Ghaam Ko Sapana

सरोज धिताल – घामको सपना

धेरै वर्षदेखि
ऊ यो यात्रामा छ ।

मान्छेको छोरो न हो !
सपना देख्थ्यो ऊ— घामलाई आफ्नो हातमा खेलाउने
रहर गथ्र्यो ऊ— घामको न्यानोले भुइँ तताउने
त्यसैको लागि निस्केको थियो Continue reading “Saroj Dhital – Ghaam Ko Sapana”

Bharat Baglunge – Yaksha Prashna 2

भरत बागलुङे – यक्ष प्रश्न–२

किन
उदास देखिन्छ
गुम्बाको यो बुढो
वौद्ध भिक्षु
मौनतामै नजाने
कति सुस्केरा फेर्छन्
यी मूर्तिहरु
र विवेकको हत्यामा
कति रगतका आँसु खसाउँछन्
शहरका मन्दिरहरु
चर्च र मस्जिदहरु ।

किन
सधैं
शीत निद्राबाट ब्यूँझेको सर्प भैंm
लोसे बन्छन्
मान्छेका आत्माहरु
वेदका ऋचा जस्ता
नानीहरुका स्वरमा
बलात्कार गरिन्छ
र जीतको अहम् साटिने गर्छ ?

किन थुनिन्छन्
घृणाले जीवनका मार्गहरु
फोहोरले सिंगारिएका
शहरका खोलाहरु
बार–बार प्रश्न गरिरहन्छन्
निसृतः सृष्टिको
खुला ढोकामा
किन मारिन्छ भोटे ताल्चा
र मनाउने गरिन्छ
जीवन सुखका उत्सवहरु !

किन
प्रितीकर लाग्छ
अँध्यारो–क्रुरता
उज्यालो घोसे मुन्टो लगाउँछ
माने घुमाउन विर्सिएर
विस्मित भावले सोध्छ
बौद्ध भिक्षु–हे ज्ञानी बुद्ध
“दुःख छ र दुःखको पनि कारण छ”
तर किन इच्छुक छ–शहर
खुशीको मलामी हिंड्न ?

किन ?
किन ??
र किन ???

–नारायणस्थान, बागलुङ्ग

Tanka Sambahamfe – Limbuwan Ko Khatir

टंक सम्वाहाम्फे – लिम्वूवानको खातिर

सेवारो आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ
हिउदको ठिही र वर्षाको झरीबादल सहेर
कति मेलापातमा मात्र सिमीत रहने
धनको लोभ र लालचमा फसेर
कति परदेशी मात्रै भैरहने
अव त हामीले आफ्नै लिम्वूवानको जोहो गर्नुपर्छ
र लिम्वूवानको सुनौलो भविष्यलाई खोज्नु पर्छ

आदाङवे
अव हामीले यो देशमा
आत्मानिर्णयको अधिकार खोज्नु पर्छ
हरेक तह र ताप्कामा
हाम्रो सहभागीतालाई अनिवार्य वनाउनु पर्छ
हक र अधिकारको लागि एकाधिकार चिरेर
हामी अगाडि अगाडि वढ्नु पर्छ
लिम्वूवानको लागि
हामी सवै लिम्वूहरू लड्न तयार हुनु पर्छ
किनभने हामीले
जाति भाषा र संस्कृतिको संरक्षण गर्नु छ
समग्र लिम्वू र लिम्वूवानको उत्थान गर्नु छ
त्यसैले आदाङवे
यसवेला हामीले
लिम्वू र लिम्वूवानको लागि
केहि सोचेनौ भने
लिम्वूवान राज्यको लागि
लागि परेनौ भने
मात्र इतिहास वन्नेछौ
जो हिजो लेखिएको थियो त्यस्तै
अव साच्चै लिम्वू भएर जाग्नु पर्छ
लिम्वूवानको खातिर

आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन : निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ

Tara Khanal – Hami Biddhyarthima Euta Josh Hunchha (Nepali Bal Gajal)

तारा खनाल – हामी बिद्यार्थीमा एउटा जोश हुन्छ

हामी बिद्यार्थीमा, एउटा जोश हुन्छ
त्यही जोसमा नयाँ, कुराको खोज हुन्छ

जुन जोस आज, ‘अदृश्य’ रहेको छ
त्यही जोस नै त, भोलिको मोज हुन्छ

जहाँ बिद्यार्थी नै, अलमल्ल परेको छ
त्यही नै उसको, जिज्ञासा होस् हुन्छ

बिद्यार्थीको सारै चन्चले बानीमाझ
अर्ति-उपदेश, जहिले बोझ हुन्छ

Sudesh Subedi – Anaam Mandali (Nepali Gajal)

सुदेश सुवेदी – अनाम मण्डली

ममा ज्यून आशाहरू उत्तिकै छन्
म भित्रै निराशाहरू उत्तिकै छन् ।

जुवा–खालमा द्रौपदी बाजी जित्ने
अझै कप्टी पासाहरू उत्तिकै छन् ।

बग्यो खेतबाटै खुलेआम पानी
लुकेका निकासाहरू उत्तिकै छन् ।

नयाँ खेल के भ्याउनु हेर्नलाई
पुरानै तमासाहरू उत्तिकै छन् ।

Mina Bantawa ‘Mridu’ – Ma Almaliyeko Manis

मिना बान्तवा “मृदु” – म अल्मलिएको मानिस

म अल्मलिएको मानिस
सधैं भरि चारकोसे
जंगल झाडीको बिचमा
अल्मलिएको म मानव
अन्योलको मोहने निशाले
आज त्यहीं
घनघोर झाडीमा घुमिरहेछु
कतिको त यहाँ रात परेर पनि
जीवन लिला नै समाप्त भयो अरे
मेरो पनि सायद
त्यस्तै त होला नि
मैले दिशा ठम्याउन
कहिले सकिन अनि
म अझैं निशामा छु,
मलाई निशा लागिरहेको छ

पूर्व पश्चिम छुट्याउँन
अझै सकेकी छैन
म अन्योलको जीवन बिताई रहेछु,
एकदम अन्योलको जीवन
कुहिरी मण्डलले मेरा आँखाहरू
ढप्पई छोपेका छन
पश्चिममा डुब्दै गरेको घाम
पूर्वतिर डुबेझैं लाग्छ
दिन हो कि रात हो
ठम्याउन सक्दिन
मलाई थाहा छ
घाम पूर्वबाट झुल्किन्छ
र पनि म काँतर बेहोसी
निशाको मातमा डुबिरहेछु

साच्चैं मोहनी निशाको
खैंजडीमा परेको छु
मेरो मानव बस्ने मानवीय
बसोवास खोज्दै हिंडिरहेछु
कुनै मानव हिडेको पाइलाहरू
पता लगाउँन खोज्छु
कुनै सिधा मानवीय गोरेटो
पता लगाउनु खोज्दैछु
म आधी बीच जंगलमा
आल्मलिएको छु
अनि फेरी घुम्दै फिर्दै,
घुम्दै फिर्दै
फेरि त्यहीं ऐजन-ऐजन
ठाउँमा नै आई पुग्छु

सहारा थाकेर बिसाएको
रुखको बोट निर आई पुग्छु
म मानव प्राण हुँ
त्यसैले पिउने पानि खोज्छु
यत्र-तत्र पानी अमलाको बुट्टा
माटोमा खोतल्छु
म हारेको भोको मानव हुँ
त्यसकारण
अघाउन पर्छ,
बाँच्नको लागि
स्वास बचाउनु पर्छ
बाँच्न र भोक मेटाउन
कन्दमूल खोज्दैछु
भोर्लेनिको बुट्टा र भकिम्ला
किम्बुहरु नियाल्छु

मलाई पुग्नुको पनि
अत्यन्तै जरुरी छ
किनकी आफ्नै मानव बस्ती खोज्दै
हिडेको मानव
मलाई हम्मे हम्मे परिरहेछ
मानवीय बस्ती खोज्न
कहिले भिरको टाकुरामा
बिसाउन पुग्छु
कहिले दुम्सीको
पुरानो खार खाने गुफामा
कहिले डर लाग्दा सिंह
बाघको गुफामा पुग्छु
कहिले बेलाखा राजारानीको
भष्मस्थित दरवारमा

त कहिले भताभुंगे
राजाको भग्नावशेष
पुरानो स्थित लथालिंगे
दरवारमा पुग्छु
म अझैं मानवीय मेरो बस्ती
खोज्दै हिंडिरहेको छु
आज त्यहीं
घनघोर झाडीमा घुमिरहेछु
म मोहने निशामा छु!
म अन्योलको निशामा छु!!
म अन्योलको निशामा छु!!!

Rakesh Karki – Daura Suruwal Ra Gunyu Cholo

इन्जिनियर राकेश कार्की – दौरासुरुवाल र गुन्युचोलो

दौरा सुरुवाल
गुन्यु चोलो
पश्चिम बंगालका
नेपालीको गोलो
चाड पर्वले एक बनाउँदैछ
खुशीयाली साथ मनाउँदैछ

कति माया छ
आफ्नो भेषको
जे पनि प्यारो
नाता रगतको
बज्छ लोक बाजा नेपाली धुनमा
भलाकुसारी आफ्नै साझा भाषामा

नेपालका नेपाली
मेचीदेखि महाकाली
के हो त एकताको भेष
एक अर्काप्रति गरेर द्वेष
छोडे दौरा सुरुवाल गुन्यु चोलो
संसदमा हिन्दी भाषा बोलो

सदन हेर
बहुरुपी जस्ता
रंग बेढंग
पहिरन कस्ता
कता गयो त्यो राष्ट्रियता
कोट पाइन्ट बिदेशी जुत्ता

नेपाली टोपी
लाजले छोपी
विदेशी पहिरन
हल्लाउदै गर्दन
उपराष्ट्रपति, मंत्रीको मेला
राष्ट्रिय पोशाकको हेला

धन्य धन्य
आमाको माया
मुटु भित्र
नेपाली कायाँ
बिदेशी भुमीका दिदीबैनी दाजुभाई
बचाई रहेछन् देशको भेषलाई

– लस् एन्जेलस्

Tanka Subba – Jiunu Ko Anekaun Chhal Haru

टंक सुब्बा – जिउनुको अनेकौं छालहरु

छाल उपछालहरु
केन्द्रित हुदै
समुद्रको भीषण छालसरी छचल्किने
जिउनुको अनेकौं छालहरु
किनारासम्म नपुग्दै जिन्दगीको
किनारासम्म नछुदै भावनाको
दुर्घटनामा फस्छन् सग्ला Continue reading “Tanka Subba – Jiunu Ko Anekaun Chhal Haru”

Bimala Tumkhewa – Mrityu

बिमला तुम्खेवा – मृत्यु

जीवन
आकाशमा अनन्त भएर बिलाउँदै छ
म जहाँबाट दोस्रो आकाश नियालिरहेछु
म जहाँबाट मृत्यु भोगिरहेछु
धूवाँ भएर
फैलिएको आँसुको रङ्ग
मृत्युको एकादेशमा पृथक् रहने छ
मृत्यु —
सत्य Continue reading “Bimala Tumkhewa – Mrityu”

Mani Bangdel – Sumsumaunda Nepal Timilai

मणी बांग्देल – सुमसुम्याऊंदा नेपाल तिमीलाई

तिम्रो मुल्यवान तनभरी
बगेका मेरा अमुल्य पसिनाका धाराहरु
खहरे खोला बनि सुकेर नजावस
तिम्रो काखमाथी मिठो निद शैयांमा
देखेका लाखौ सुनौला सपनाहरु
हुरी बतास संगै उडेर नजावस
माधक तिम्रो उष्ण मोहपास भीत्र
छल्किएका छाल झैं जवानीहरु
त्यो मोहिनि साथको बिछोडमा
ज्वालामुखि बनि फुटेर नजावस
मेरो जन्मभुमिमा पाईला पाईला गनि
तय गरेका कोसौं जीवनका दूरिहरु
लक्ष्य बिहिन चंगा बनि चुडेर नजावस
पीडाका खानीहरु
तिम्रो कण कणमा मिसाउदा
बेदनाका बोझहरु
तिम्रा हत्केला भरि बिसाउदा
कबिका दुःखान्त कबिताले
मस्तिष्क भरि गिज्याउदा
सधा चुपचाप स्थिर रहने कस्तो
रित्तो रित्तो तिम्रो मन
पिरोल्दैन बियोगले किन तिमीलाई
गर्जिदिन्छौ हरक्षण नियमित बर्सिदिन्छौ
अनि जताततै पड्किदिन्छौ
कसम छ तिमीलाई बगेका ती पसिनाको
र धेरै सुनौला सपनाहरुको
बिदाइका अन्तिम समर्पण संगै बितेका साथलाई
एक पटक सुम्सुमाउदा नेपाल तिमीलाई ।

न्युयोर्क

Neerose Maskey – Pahichan Harayo

निरोज मास्के – पहिचान हरायो !

आज,
फेरि एउटा ठाउँ हरायो!
ए बटुवा,
ए मनुवा,
तिमिले देख्यौ की कतै,
मेरो आफ्नै गाऊ हरायो!
यो गोरेटो पारी थियो,
त्यो घोरेटो वारी थियो!
नजिकै एउटा,
चौतारी थियो!
चौतारिमा बसि बागचाल खेल्ने,
दौतारी थियो!
सुसेलिहाल्दै हावालाई बोलाउने,
औतारी थियो!
एउटा,
स्वोमीको रुख थियो,
पिपल अनि बर थियो!
नजिकै मेरो घर थियो!
आमा थियो,
बाबा थियो,
दिदि भाइ अनि आफन्त थियो!
छेवैमा एउटा पधेरा थियो,
पोखरी थियो,
अनि एउटा कुवा थियो!
तल्लोघरे सान्कान्छा दाई,
अनि माथ्लाघरे ठुलो बुवा थियो!
जात्रा थियो,
चाड अनि उत्सब थियो!
सधैं उत्सबमा पकाउने र ख्वाउने,
पुछार घरकी,
साइली बजै भान्से थियो,
अरुपनी थुप्रै आफ्नो मान्छे थियो!

आज मेरो एउटा ठाउँ हरायो!
ए भरिया दाइ,
ए सहरिया भाइ,
तिमिले त देख्यौ की कतै,
आफ्नै मेरो गाऊ हरायो!
तेही देउराली नजिकै थियो,
तेही भन्ज्याङको छेवैमा थियो!
उकाली नेर थियो,
वोराली नसकिदै थियो!
डाँडा बाटै देखिन्थ्यो,
टाडाँ बाटै देखिन्थ्यो!
थुप्रै आफ्नो घर थियो,
गाऊ सबैको एउटै भर थियो!
घर संगै एउटा गोठ थियो!
गाई थियो,
बस्तु थियो,
केही कुखुरा र खोर थियो,
रातभर स्यालको स्वोर थियो!,
स्याल चोर् थियो!
तेसलाई लखेट्ने,
टाटे थियो,
पाङ्रे थियो!
दिनरात गाउकुर्ने,
काले र खैरे थियो!
गोठालो संगी बिरे थियो,
धेउसीरे खेल्ने हर्के,
अनि रोदी नाच्ने,
भैरे थियो!
छेवैमा सानो डाँडा थियो,
नजिकै रानिवन थियो!
केही बारी थियो!
तल हाम्रो खेत थियो,
संगै एउटा धन्सार थियो,
त्यो गाऊको अलग्गै संसार थियो!
निन्द्रा थियो,
सपना थियो,
सबै आफ्नै अन्सार थियो!
पाटी थियो, पौवा थियो,
पछाडि एउटा टौवा थियो!
डाँडामा एउटा मन्दिर थियो,
देवल थियो
त्यहि हाम्रो भाकल थियो!
भाकल संगै चडायको भेटी थियो,
टुँडाल थियो,
झुन्ड्यायको घन्टा थियो!
माटोले पोतेको भित्ता थियो!
भित्तमा मेरो नाम् थियो!
आज त्यो मन्दिर हरायो,
हामि सबैको शिर हरायो!
ए दैब,
मेरो गाउँ हरायो,
गाउँ संगै,
मेरो नाउँ हरायो!
आँन बान् शान हरायो,
सँग संगै मेरो,
पहिचान हरायो!

Indra Narthunge – Aphim Aatanka

इन्द्र नारथुङ्गे – अफिम आतंङ्क

मनको करेसोमा
लस्करै उभिएका
फूलका निर्दोश बोटहरुलाई उखेलेर
मैले अफिम छरेको छु
हिजो मात्र

आज
भत्काउँदैछु
आस्थाका पर्खालहरु
विश्वासका चौकोसहरु
श्रद्धाकाधुरी-खाँमाहरु
मन्दिरहरु Continue reading “Indra Narthunge – Aphim Aatanka”

Dipendra KC – Ma Piune Bhayeko Chhu

दीपेन्द्र “अपजसी” – म पिउने भएको छु

हो, नपिउने भन्दाभन्दै
पिउने भएको छु म ।
तिम्रो डोली अन्मिएपछि
सुनसान छ गाउँ;
त्यसपछि
चढ्न थालेको छ
अर्कै नशा मलाई
हटाउन त्यो नशा
म पिउने भएको छु
नपिउने भन्दाभन्दै
Continue reading “Dipendra KC – Ma Piune Bhayeko Chhu”

Bikram Subba – Geet Jindagi Ko

विक्रम सुब्बा – गीत जिन्दगीको

आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको
आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको
आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको
कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको
कुनै Continue reading “Bikram Subba – Geet Jindagi Ko”

Ratna Shamsher Thapa – Kamana

रत्नशमशेर थापा – कामना
(मधुपर्क २०६६ भदौ)

मौनतालाई टुक्राइदिने सुसेल ए आँधी
भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।
आगोको तातो असिना खन्या बादल कुर्लेर
क्षितिज चिर्ने आवाज सुना सागर उर्लेर
बदलिनुपर्छ धमिलो नक्सा सम्पूर्ण धर्तीको
गुञ्जिनुपर्छ एउटै गीत विश्वमा प्रीतिको ।
रगतको रङ चिन्न निर्मल आँखा चाहिन्छ
जीवनको अर्थ बुझ्न सरल भाका चाहिन्छ
उमि्रनुपर्छ मुटुमुटुमा पवित्र भावना
बर्सिनुपर्छ शान्तिको ज्योति मेट्न तिर्सना ।
मौनतालाई टुक्राइदिने सुसेल ए आँधी
भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।