Rupesh Rai – Juwa

रुपेश राई – जुवा

छ-बाह्रभित्र
कुनी कस्तो मति आउँछ।
एकदिन केटाहरूसँग, हजारे खेल्दै थिएँ।
आमाको स्वाँटले अहिलेसम्म दोहोर्‍याएको छुइनँ।

‘तास, जुवा, मद, पान भुले हात लाउँलास्, लाखेस!’

गाउँलाई यो सजाइ हो। सभ्यताको कलङ्क।
मान्छे हुनुको विडम्बना। इच्छा गर्नुको श्राप।
यसैले गाउँ मौका हेरिबस्छ तृप्तिको।

सकिनै आँट्दाको आनन्द। तिमीले भोगेको छौ?
सहरलाई मात्र यो सब किन छुट् छ?

व्यायाम गर। अनुहार झरिलो पार।
कट् सार! पोलिसी हाल। केही व्याज
पाऊ। व्याङ्क व्यालेन्स राख, इत्यादि।

छुल्याहा स्किम!
दाउमा, दाउ हाल फेरी-फेरी,
नाफा-मुनाफा, हार-जित पैसाको शैली…।
कता के, कता के, किनबेच हुन्छ,
विश्वासको सेयर बजार।
आजको जीवन शैलीमा
भर पर्दो सूत्र।

यो सब के हो??

पैसा…। जीवन होइन र???

जीवन त जुवा हो! जीवन त जुवा हो!! अहिले सम्मको अनुभव
मलाई यही भन्छ!! एउटा दाउ! अर्को दाउ! जोखिम आनन्दको मिश्रण!!

Bidhya Prasad Ghimire – Annapurna, Gurans Ra Sagarmatha

विद्याप्रसाद घिमिरे – अन्नपूर्ण, गुराँस र सगरमाथा

सगरमाथा हेरेँ—गर्व गरेँ
लालीगुराँस हुर्काएँ—गौरव गरेँ
आँखामा अन्नपूर्ण राखेँ— शिर उठाएँ ।

मेरो सगरमाथाको शान
आज बस्तीबस्तीमा पग्लिएको देख्दैछु ।
गुराँसको लाली धुवाँमा उडेको हेर्दैछु ।
अनि, अन्नपूर्णको अस्मिता
चूर्णचूर्ण र खण्डित हुँदै गएको महसुस गर्दैछु ।

लुम्बिनी—बागमा हुर्किएका
एक जोडी सेता परेवा
आज, बीच बजारमा
लिलाम भइरहेछ,
खुल्लमखुल्ला मोलतोल भइरहेछ ।

अनि म र महरू
लाचारी, बाध्यता र विवशता बाँचिरहेका छौं ।

म आँखामा लगाउँछु—
घट्दै गएको कोसी
ध्यानमा राख्छु —
छोटिँदै गएको महाकाली
र, कानमा राख्छु—
आवाज हराएको नारायणी र सुस्ता ।

हिजोको
सूर्य, चन्द्र, तारा
आज पनि उस्तै छ ।
तर, चौडा छाती खोलेर हाँस्ने आकास
खण्डित छ, दण्डित छ ।
स्वच्छन्दतामा नाच्ने धर्ती
रातो धुवाँ र कालो रगत बाँच्दैछ ।

वर्तमानमा सुदूर चिच्याउँछ र भन्छ—
दासत्व–उन्मुक्ति नारामा
समेटिएको तिम्रो भूगोल—
कतै अर्काको दास हुने त होइनं
सासविनाको लाश बन्ने त होइनं
कतै, दुनियाँको उपहास बन्ने त होइन ।

Kshetra Pratap Adhikari – Ful Ko Kavita

क्षेत्रप्रताप अधिकारी – फूलको कविता

मलाई थाहा थियो
तिमीलाई फूलको कविता मन पर्छ
मलाई थाहा थिएन
रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ !

अनि, मलाई थाहा थियो-
तिमीलाई परेवा घुरेको
प्रशान्त प्रेमको कविता मन पर्छ
तर मलाई थाहा थिएन
परेवाको गुँड भत्केको बेला
प्रेमको कविता कसरी लेखिन्छ !

खलङ्गामा आगो फुलेको बेला
इन्द्रकमलको कविता लेखेको भए
तिमीलाई मन पथ्र्यो होला
द्रौपदीको व्यथा बिर्सेर
दुःशासनको गाथा लेखेको भए
तिमीलाई मन पर्थ्यो होला
आफू त-
शकुनि हुन पनि सकिएन
कागतको फूल लेखेर
त्रि्रो मन छुन पनि सकिएन ।

मङ्गलसेनहरु मरेको बेला
सबैले अलिनो खानुपथ्र्यो
कर्णालीमा डढेलो लागेको बेला
दमकलभरि कोशी जानुपर्थ्यो
देशको हाराकिरी भैरहेको बेला
सामुर्राईको कविता लेखियो
तिमीलाई मन परेन ।

देश घुस्याहासित लडिरहेको थियो,
देश देशद्रोहीसित लडिरहेको थियो,
देश युद्ध हारिरहेको थियो
देशले कामीकाजे पाइलट खोजेको देखियो
र, त्यही ध्रुवसत्य लेखियो
तिमीलाई मन परेन ।

तिमीलाई फूलको कविता मन पर्छ
तर रगतको पोखरीमा उभिएर
फूलको कविता कसरी लेखिन्छ !

Prashanta Kharel – Bichalan

प्रशान्त खरेल – बिचलन

कोरिएर पानाभरि
अक्षर–शब्द
शब्द–पङ्क्ति–कविता
विशाल अर्थ संयोजन
ट्वाक्क ट्वाक्क मिलेर
कहिले मायालुको सम्झना
छरिन्छ मुटुभरी
एक मृगतृष्णा
मरूभूमीको यात्रीको
दृष्टीभ्रम
त्यसमै बेलगाम घोडाका
टापहरू
नर्तकीको पाउजुका छिन्छिनाहट
घङ्घरूको झन्झनाहट
उफ्
यो कस्तो दरिद्रता
सोचाइको
एक युवती
नजिक नजिक हुँदैछे
खोइ उसका पाउमा पउजु छैन ?
यात्री
खालीखुट्टा (पाउ) पनि यात्रा गर्न सक्छ
घोडाका खुट्टाहरू
खाली हुँदैनन् क्यारे
मनका घोडाहरू
खालीखुट्टै दौडन्छन्
किन भिन्नता छ यस्तो
भिन्नता समयमा हुँदैन क्यारे
समय पनि
विकराल हुँदोरहेछ
विकलाङ्ग समय
आफ्नो मृत्यूको घोषणा
आफै गर्छ
आफ्नै इजलासमा
आफैविरूद्ध मुद्धा हाल्छ
अनि आफ्नो मृत्यूदण्डको सजाय
आफै तोक्छ
कस्तो अस्वभाविक
स्वभाविक त मृत्यू पनि हुन्न
टपक्क टिपेर
कर्मभूमिबाट
उदारता देखाउँछ
अब उप्रान्त
कर्म गर्नु पर्दैन तैले
कर्मशिल हुनु
मानवको प्राकृतिक गुण हो
मानव पनि एक कविता हो
अपुर्ण, अधुरो
भावभङ्गिमा नमिलेको
सिकारू कुमालेले
सिक्दै फ्याक्दै गरेको
परिक्षण भाँडा जस्तो
कुमालेले चक्र घुमाउँछ
वा
चक्रले कुमाले घुमाउँछ
विसङ्गती भयो
हेराइमा
हेराइ दृष्टी होला
सङ्गती त ब्रम्हाण्डमा पनि छैन
सबै आ–आफ्नै तालमा
चलिरहन्छन् निरन्तर
ब्रम्ण्डिय पिण्डहरू
स्वचालित, स्वनिर्देशित
मानिस पनि
मांशपिण्डको गोला मात्र हुँदो हो
अस्थिपञ्जर नभए
किन चाहिन्छ अस्थिपञ्जर ?
पुर्णता, स्थीरता, स्थायित्व
सुन्दरता, आधारभूमी
वा अरू केहीको लागि ?
कस्तो मुर्खता
एक आङ्ग घाम थापेर
हामी घोषणा गर्छौं
सुर्यका इतिवृतिको
लेखाजोखा गर्छौं
उसको जन्म मृत्यूको
सत्य यहि होला
प्राकृतिक नियमसंगत
उत्पति –> अन्त
प्राकृतिक छटाहरू कोरिन्छन्
शब्दहरूको जन्जालमा
किन हुँदैन एकै
अन्तस्करणको आवाज
आत्मा बेचेर महाकुम्भमा
फर्किन्छ हटारू
लसक् लसक्
पाइलाका डोबहरू बनाउँदै, मेट्दै
गनिरहेको मनमनमै
पाइलै पिच्छेका
आगतका प्रतिफलहरू
ढुङ्गो ठडिन्छ बाटामा
विगतको
फिस्रिक्क
उसले हिसाव विर्सिएको छ
लडखडाउँदै उठ्दा
यथार्थको पहाड
स्वभिमान बनेर ठडिन्छ
पहाड चिसो हुन्छ कि तातो
कालो हुन्छ कि रातो
आफ्नो हुन्छ कि विरानो
हुँदैन अनुभुति
कालो ठिहिराउने विरानो रातमा
कसरि सक्छ
अनुभुति गर्न
चस्मा लगाएका आँखाले
मनको कुनै सुरक्षात्मक चस्मा हुँदैन
अति संवेदनशिल
सजिलै च्यातिन्छ
ध्यार् ध्यार
सानो तनावमै
काँच जस्तो पो होला
मन त
टुक्रिने सजिलै
ताप, चाप, प्रहार
जे सुकैले पनि
काँच जस्तै पारदर्शि मन
कतै ध्वाँसो लाग्यो भने ?
कसरी गोचर हुन्छ जगत ?
धमिलो विस्मृति मात्र रहला
जीवित रहनुको अर्थमा
अर्थ धेरै बुझिन्छ शब्दमा
अर्थ विनाको शब्द
कस्तो हुँदो होला ?
वायु विनाको जगत जस्तो
कति स्वतन्त्र छ वायु
वहिरहन्छ निरन्तर
होला
कहाँ वहन्छ यो ?
किन वहन्छ यो ?
उच्च चाप –> न्यूनचाप
कति विभेद छ
स्वतन्त्रताको उपभोगमा पनि
किन हुँदैन समानता ?
हावा, जल, जगत, जीवन
असमानता
अ+समानता
अ*समानता
सकारात्मक – बिबिधता
नकरात्मक – बिभेद
उपभोग बस्तुको
भावना – चेतना – विचार
अ–उपयोगि
किन सँगाल्छ, अँगाल्छ मान्छे
संवेगहरूलाइ
शब्द
यिनै संवेगहरू निर्माण गर्छ
त्यहाँ
जीवन, जगत, देश लुकेको हुन्छ
बाँचेको हुन्छ देश नसा नसामा
नसा तरलिकृत भएर
बहन्छ देशकै खोलानालामा
पसिना निस्कन्छ भिजाउन
देशकै माटोलाइ
हिमालयदेखि
विस्तारै विस्तारै
फेदि, फाँट हुँदै
महासिन्धु पुग्छ
हाम्रो सभ्यता
जहाँ
हाम्रो जीवन बाँचेको छ
सभ्यता सृष्टीको सुरूवात हो कि
सृष्टी सभ्यताको सुरूवात ?
एक अघोषित द्वन्द
बुझाइमा, विचारमा
दुबै सुरूवात होइनन
मात्र क्रमिकता
बाँच्ने उपक्रमहरूमा
सुरू कहाँ हुन्छ ?
हिँउ पग्लन्छ हिमालको
पानी बग्दछ खोलामा
रसाएर धर्त्ती
जीवन फैलिन्छ
लेउ, झ्याउ, झार बनेर
हिउँ–पानी–वाफ–बादल–पानी–हिउँ
खै सुरूवात कहाँ छ ?
जीवन–मृत्यू–जीवन
उत्पति खै ?
विचारको श्रृङ्खला टुट्दै जान्छ
क्षण प्रतिक्षण
प्रतिस्थापित हुन्छ
नयाँ–पुरानो–नयाँ
क्रमिकता एक सोचाइको
सोच्नु मुर्खता हो
रूखको हाँगामा
वास वसिरहेको पंक्षी
ढाडै, ठहरै मर्यो
विचारको निम्छरोपना
खै उसका गोडा चलेका छैनन्
चलायमान हुनु
गतिशिल हुनु
जैविकता हो यथार्थको
सारा ब्रम्हाण्ड गतिशिल छ
दिनभर भागीरहन्छ मान्छे
जित्छु संसार भन्दै
ठिङ्ग उभिन्छ पर्वत
खै गतिशिलता ?
चक्कर लगाउँछ पृथ्वी
पर्वत हो गतिशिल
नसुस्ताउने, नथाक्ने
उभिरहने ठिङ्ग
एक निश्चितता
दृष्टान्त
उफ्
किन दुख्छ छाती ?
छातीभित्र मुटु हुन्छ
मुटु किन दुख्दैन
कहाँ हुन्छ माया ?
किन जन्मन्छ घृणा ?
यौवनको अभिलाषा
छरिन्छ दिमाग भरि
मस्तिष्क शुन्य, सन्न
खाली, खाली
त्यहाँ रगत पुग्दैन क्यारे
यो उपज हो अनुभुतिको
जीवन भरीन्छ नसा नसामा
कसिएर रक्तनलिहरू
कोसिका, कोस
बराबर बराबर बराबर
रोकिन्छ गति स्नायूको
सकिन्छ गीत जीवनको
झ्या…………….प्……………..प
निभ्छ बत्ति
अँध्यारो, अँध्यारो अनि अँध्यारो
खै ज्योती कहाँ छ जिवनको ?
खोज खोज
छाम्छाम् छुम्छुम् छाम्छाम् छुम्छुम्
चेतना हो ज्योती
चुम्दैछ विस्तारै
जीवनको सुन्दरता

गौरादह – ४, झापा

Ram Prasad Prasain – Bidambana

रामप्रसाद प्रसाईं (आशुतोष आंशु) – विडम्बना

श्रीपेच वस्त्राभूषित कविताहरू
चिचिला टोपीधारी कविताहरूसँग जोरी खोजिरहदा
निधारको डिलभरि नाम्लाका डामका भाग्य टाँस्न
जिजीविषाको अलकापुरीमा खुइया काढ्दै भरिया दाइको
सपना सोध्छ,
बा ! बा !! यो KFC किन King’s Way मा नै त।?!
किन हुनन्
यिनीहरू
माने भञ्ज्याङ्ग, सिरूघारी र मोफसलका लोकमार्गहरूमा
जीवनदेखि दिक्क लागेर
थालेकाछन्
मृत्युहरू अमरत्वको
समाधिलेखनमा—
“ससीम बन्धनयुक्त अस्तित्वभन्दा असीम जीवनबादी मृत्यु प्यारो”

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिबिरबाट।

(Sent to Sanjaal Corps via Email)

Komal Bhatta – Kina Gazal Lekhnu Paryo (Nepali Gazal)

कोमल भट्ट – किन गज़ल लेख्नु पर्यो

किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त
सही नाम र ठेगानालाई मारिदिन्छु म त

थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त

बधाई र प्रशंशा ले भरिएलान भित्तो
यथार्थ लाई बैतरणी तारिदिन्छु म त

गज़लकार भएँ भन्दै साथीसंगाती लाई
धाक धक्कुसंगै मख्ख पारिदिन्छु म त

किन गर्यौ बेइमानी,जाल र झेल भन्दै
सोधी हाले भने पनि टारिदिन्छु म त

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
8 December,2012

Tanka Subba – Aaunuhos

टंक सुब्बा – आउँनुहोस्

एकैछिन भए पनि
आस्था र विश्वास रोपीएको चौतारीमा
भलाकुसारी गरौ
सन्चो र विसन्चोको
अनि चर्चा गरौ विद्यमान परिस्थितीको
गाउँ ,वस्ति र शहरमा वसोवास गर्ने
उस्तै हामी नेपाली
समयको काँटासँगै हतारमा
कति भागदौड मात्र गर्ने ?
एकैपल भए पनि
पीडाग्रस्त मनहरु विसाएर
अलिकति सोचौ
हाम्रो सुन्दर भविष्यको वारेमा
र छलफल गरौ
देशले भोगेका दुर्गतिहरुको वारेमा

एउटै देशका हामी बहुल जनता
बहुल संस्कृति भाषा र लिपिहरु
तर सवैको उस्तै पीडा र भोगाईहरु छन्
तर सवैको उस्तै कथा र व्यथाहरु छन्
त्यसैले साझा यो चौतारी जस्तै देशलाई
कसैले विखण्डन गर्नु हुदैन
कसैले बाड्नु चुड्नु हुदैन
कसैले विरुद्धमा सोच्नु हुदैन
किनकी देश हामी सवैको साझा हो
देश भएर हामी छौ
हामी भएर देश छ
त्यसैले हाम्रा समान विचारहरुको
सम्मानमा एकले अर्काको गर्नु पर्छ
समान छन् हिड्ने वाटाहरु
समान छन् हेर्ने समान दृष्टिहरु
समान छन् पुग्ने लक्ष्यहरु
समान छन् जिउँने आधारहरु
तसर्थ अस्तित्वको हिफाजत गरौं
र हामी रमाउँने माटोको रक्षा गरौं

आउँनुहोस्
यो समानताको घरमा वसेर
हामीले महत्वपूर्ण निर्णयहरु गर्नु छ
हाम्रो भविष्य हाम्रो देशको लागि
र सद्भावको पारीलो घामहरु बोकेर
एकअर्का विचको वैमान्यस्यताका हटाउँनु छ
भ्रष्ट विचारहरुलाई कुल्चनु छ ।
द्वन्द र द्वेशलाई विर्सीनु छ
भातृत्वको अङ्गालो हाल्नु छ
किनकी हामी एउटै देशका उस्तै जनता हौं
सुन्दर विचारको मुहान खोलेर
आपसी हितकै कुराहरु गर्नुपर्छ
द्वन्दका घाउहरुमा मल्हम लगाएर
पहिरो गएको आत्मीयतालाई जोड्नु पर्छ
सुमधुर सम्वन्धका पुलहरु बनाउँनु पर्छ ।
केहि क्षणको आवेगमा
आफ्नै घरको सर्वनाश गर्नु
कदापी उचित होईन
वरु सोचौ अलिकति भएपनि
आफ्नै घर निर्माणको वारेमा
आफ्नै देश विकासको वारेमा
किनकी हामी एउटै घरका
एकै परिवार जस्तै हौं
अव हामीले वुझ्नु पर्छ घरको गरिमालाई
अव हामीले सोच्नु पर्छ परिवारको महत्वलाई
मपाईत्वको ताण्डप नृत्य गरेर
कलहको वीउ रोप्नु
केवल निरर्थक छ सवैको लागि
किनकी हाँस्नको लागि देशमा शान्ति चाहिन्छ
बाँच्नको लागि स्वतन्त्र देश चाहिन्छ

त्यसैले
आउँनुहोस
एकै पलक भए पनि
उदेश्यका घुम्टोहरु ओढेर
पुनर्संरचना गरौ यो सुन्दर देशलाई
त्यागौ युद्धका मोर्चाहरु
र अङ्गालौ वुद्धका सन्देशहरु
सगरमाथा जस्तै अग्लो नेपालको गौरव
हामीले विश्व सामु वचाउँनु छ भने
हो यहि कुरा सोचौं हामी सवैले
एकैक्षण भए पनि
शुन्दर शान्त यो मातृभूमिको लागि
शुन्दर शान्त यो देशको लागि

Bhupin Byakul – Computer Ma Ishwar

भूपिन ब्याकुल – कम्प्युटरमा ईश्वर

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !

इन्टरनेटमा
देवीहरुसंग
कामुक लयमा
साइबर सेक्सका कुराहरु गरिरहेका छन् –
ईश्वरहरु !

ईश्वरहरुका हातमा
माउस रिंगिरहेको छ
या रिमोट कन्ट्रोल
या बन्दुक नाचिरहेको छ !

डिजिटल कोठाभित्र
आधुनिक द्रौपदीसरुसँग
ब्लु-फिल्म हेरिरहेका छन् –
ईश्वरहरु !

आधुनिकता प्रति असीम सम्मान र असीमित तृष्णा छ –
ईश्वरहरुको !

सभ्यताप्रति
अपार स्नेह र अपरिमित लालच छ –
ईश्वरहरुको
तर पनि अझै
आधुनिक हुन सकिरहेका छैनन्
स्वर्गको आदिम जङ्गलबाट
बाहिर निस्कन सकिरहेका छैनन्
नीतिशास्त्रको पुस्तकमा जमेको
शताब्दियौं पुरानो धुलो
अझै पनि पुछ्न सकिरहेका छैनन् –
ईश्वरहरु !

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !

Saraswati Shrestha ‘Saru’ – Mrityutsav

सरस्वती श्रेष्ठ ‘सरु’ – मृत्युत्सव
(मधुपर्क २०६६ जेठ)

किन भोगिरहेछौ हामीले
जताततै मृत्यु-मृत्यु जिन्दगीहरू.
किन बाचिरहेछौ हामीले
जताततै मृत्यु-मृत्युका जिन्दगीहरू
एकोहोरो स्यालहरू हासेका बेसुरा Continue reading “Saraswati Shrestha ‘Saru’ – Mrityutsav”

Tanka Subba – Sapana

टंक सुब्बा – सपना

म संग एउटा यस्तो सपना छ
जुन सपना रातको क्षणिक निद्रामा
झुल्किएको सपना होइन
समयसंगको बलियो सम्झौतामा
कठिनले उभ्याएको सपना हो
उज्यालो घाम जस्तै हुन्छ
कहिल्यै नसिद्घनिे युग जस्तै Continue reading “Tanka Subba – Sapana”

Dr. Mohan Prasad Joshi – Dhanya Chaitanya !

डा. मोहनप्रसाद जोशी — धन्य चैतन्य !

वसन्त ऋतु लागेको छ,
म कोठाबाट बाहिर हेर्दै छु,
झ्यालबाहिर भुसुनाहरु उडिरहेका छन्,
अलि टाढा एउटा कुकुर भुक्दै छ,
मान्छेहरु बोलेको पनि सुनिँदै छ,
केही पर रूखहरु उभिएका छन्,
नयाँनयाँ पातले सुसज्जित छन्,
हावामा मन्दमन्द हल्लिँदै छन्,
बेलुकीको घाम झुल्किरहेको छ,
रूखहरुको टुप्पोलाई पहेँलो पारेको छ,
आकाश नीलो र खाली छ,
केवल बादलुको एउटा छिर्का छ,
यसैबीच दृश्यपटलमा एक हूल चरा देखा पर्छन्,
उनीहरु उड्दै पश्चिमतिर लाग्छन्
र एकैछिनमा हराउँछन् |
आकाश फेरि खाली हुन्छ,
बिस्तारै त्यो बादलुको छिर्का पनि हराउँछ |
म यो सबै हेरिरहेछु,
म हेर्दै छु भन्ने बोध पनि भइरहेछ,
यस विशुद्ध बोधमा आनन्द छ,
न चाह छ, न तरङ्ग छ,
सबै विश्रान्त छ, पूर्ण छ,
अहा ! विशुद्ध चैतन्य धन्य छ !

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Ganga Prasad Upreti – Jeewan

गंगाप्रसाद उप्रेती – जीवन

हार र तिरस्कारको बिस्कुन फिजाउँदै
सुकिला आकांक्षाका नानी खेलाउने
बूढीआमाका चाउरिएका अनुहारमा पनि
जीवन नाचिरहेको मैले देखेको छु
सूर्यादयको मीठो किरणको उन्मादी चुम्बनमा
मसक्क मस्कने रुमानी गुलाबसँगै
कहिले रत्तिदै, कहिले मस्किदै
जीवन हाँसिरहेको मैले भेटेको छु।

निराशाको घुर्मैलो कात्रो ओढाई
जबर्जस्ती दाहसंस्कार गर्न जीवन ऊर्जाको
घाट झर्दै गरेका ए मलामीहरु हो
खोई काखी मुनिको दुर्गन्ध ? खोई सिसिपसको कथा ?
कहाँ नाचेको देख्यौ ख्याक तिमीले
जीवनको यो हरियाली करासोमा ?

होला ! नुनीला पिरा आँसुहरुले
यसको कथा भिजेको होला
पीडन र ग्लानिको झापट खपेर
जीवन कतै झुकेको होला
तर यो झुकाइको अन्तरपीडाबाट
एउटा फिलुंगो बुत्ताइरहेछ
राम्रो हेर त धैर्यको चश्माले
पिरो नुनिलो आँसु पिएर
प्रसव वेदना थामथुम पार्दै
नयाँ आशा र उज्यालो
पौरख बिछ्याइ बाटाहरुमा
तेजिला बिम्ब बनी लम्किरहेछ
स्वाभिमानले उठेका शिखरहरुमा
जीवन आफैं कुर्लिरहेछ
मस्त झुलेका बेसी फाँटमा
जीवन बाला झुलिरहेछ
कोशी, गण्डकीको सुरिलो भाकामा
विजय गीतको राग सुसेल्दै
कोही अघि बढिरहेछ
हरेक खेतमा हरेक पाखामा
नयाँ कलेबर बनिरहेछ
काँडाहरुको पीडा भुली
जीवन क्रमशः फुलिरहेछ ।

Bijaya Raj Sharma – Durbhagya Ko Jhonkka

विजय राज शर्मा – दुर्भाग्यको झोंक्का

आर्कटिक सागरबाट बगेको सिरेटोले जस्तै
जब दुर्भाग्यको झोंक्काले मेरो छाति छेड्दछ
बाक्लो हुस्सुले तलाउलाई ढपक्क ढाकेझैं
जब छटपटीले मेरो मस्तिष्कलाई ढाक्दछ
त्यसबखत बिलाउँछ मेरो अनुहारबाट आभा
मबाट हराउँछ चनाखोपना र प्रत्युत्पन्नमति
म उभिन त उभिन्छु कक्षामा पढाउन
तर मात्र भट्याउँछु कुनै भरिएको टेपसरी
निस्सासिन थाल्दछ मेरो जीवन
जिउनु बन्दछ सुल्झाउनै नसकिने पहेली
यस्ता क्षणमा म चाहन्छु भइजान निश्चल
जसरी हुने गर्दछ ब्याट्री सकिएको पुतली
साँच्चिकै साँच्चिकै चाहन्छ मेरो दिल
रोकियोस् यो पृथ्वी, थामियोस् पूर्ण प्रकृति
तर उफ्! मैले चाहेर मात्र के हुन्छ र?
घुमिरहन्छ घडीको सियो, रोकिंदैन खोलाको गति
मानिसको उदासीको के नै मूल्य छ र समयचक्रलाई?
आफैले आफुलाई ठूलो मानेर के हुन्छ नै,
जब चिन्ता छैन कसैको कसैलाई।

Kedar Shrestha ‘Gagan’ – Jindagi Ko [Nepali Gajal]

दुःखै–दुःख, धोका,घुणा साथ जिन्दगीको
मन रुँदा हाँस्नु पर्ने जात जिन्दगीको।

पृथ्वीको भार भइयो सकिएन गर्न केही
यस धर्तीमा जन्मिएर गरैँ मैले घात जिन्दगीको।

न आफ्नो बनाउन सकेँ न कसैको हुन सकेँ
प्रयासमै बित्यो जीवन खाएँ लात जिन्दगीको।

परदेश आ’को धेरै भयो वित्यो जीवन यसै
पैसै ठूलो ठान्ने समाजको हात जिन्दगीको।

प्रयास मेरो जारी छ है हरेस अझै खा’को छैन
‘गगन’ चुम्ने इच्छा मेरो आँट जिन्दगीको।

Shreeshisha Rai – Agaman

तिम्रो माया लागेर नै
काठमाण्डुलाई छोडेर
म तिम्रो आँगनसम्म आएँ
मेरो गाउँ !
यतिखेर तिमीले मसँग
कोशेलीको आशा गर्यौ होला
तर म त आफै खिईएर आएको छु
होचिएर आएको छु

काठमाण्डु एउटा ‘शो फार्म’ रहेछ
आदर्श, विस्वास र स्वाभिमानको प्रदर्शनी हेरिरहेका
लेनिन, ओक्टाभियो र गोर्कीहरु
छ्यापछ्याप्ती भेटिए
भरोसाहरु कालो बादल झैँ हो–हल्ला गरिरहे
मानवसागरमा,
स्थायित्व र अपनत्वहरु वाष्पिकृत भएर
म स्वार्थको वजनले भूमरिँदै डुबेको पनि थाहै भएन

यौवनमत्त मोनिकाहरुको मायाजालमा भद्रकालीनेर
ब्ल्याकहाउसको जग खनीरहे क्लिन्टनहरु
बिहीको बारै पिच्छे प्रेमजोडीका प्रत्येक चूम्बनसँग
साटिईरहे मन्दिरका घण्टहरु
हरेक अखवार र स्तम्भहरुमा
आँशू खसिसकेपछि आँखाको महत्व पढेँ
आधूनिक भन्दैमा हावा सँधै
धूवाँ र धूलोसँग मिसिएर प्रदूषित भयो

जति उठेपनि विश्वासको त्यो स्वयम्भू
मेरो सगरमाथा बन्न सकेन
जति अग्लिएपनि घरहराले
मेरो मन छुन सकेन
खसे पनि आकाशवाट तारा
त्यो मैरै पोल्टामा पर्छ भन्न सकिन मैले
आखिर म तिम्रै आँगनमा फर्किआएँ

यो आँगन
मेरो सू–प्रभात झूल्कने सिकूवा जस्तो छ
जहाँ म अहिले
लुगा झैँ फूकालेर यो दूनियाँलाई
एउटा स्वाभिमान गजक्क जमाएर उभिएको छु
दूनेरु झैँ खोक्रिएको अन्तर्मनमा
आस्था भरिएर म पौरुषत्व बाँच्न थालेको छु
फ्रिजमा कोकसँगै चिसिएको मेरो शरिरमा
तिम्रा स्पर्श र नजरहरुको वात्सल्य प्रेमले
पूनर्जिवन अनुभूत गरिरहेछु
त्यसैले म सगर्व भन्छु –
खोला भन्दा तिमी जति उठ्यौ
तिम्रो आफ्नै उचाईमा तिमी मेरो जन्मभूमी हौ ।

Manoj Bogati – Space

मनोज बोगटी – स्पेस

अघि हिँड़्‌नेहरूको पाइलाको धुलोले
ड्याम्म छोपेको छ
स्पेसको बाटो।

पुरानो बाटो भत्काएको भ्रमको
मीठो निद्रालाई
विचारको अँध्यारो कोठामा सुताउनेहरू
ब्यूँझिएको रिहर्सलको बतास चल्छ
बतासमा Continue reading “Manoj Bogati – Space”

Sharmila Pokharel – Pariwartit Samaya

शर्मिला पोखरेल – परिवर्तित समय

त्यो पुरानो युग
जहाँ मृत्यु त अवश्य पनि थियो
तर मर्नेहरुको वरिपरी रोइदिने
थुप्रै थुप्रै भाबुक मान्छेहरु पनि हुन्थे

दु:ख र आँशु त कहाँ हुँदैन र ?
तर सहानुभुति व्यक्त Continue reading “Sharmila Pokharel – Pariwartit Samaya”

Deep Raj Neyong-Hang – Aankha Ra Chitra Haru

दीपराज नेयोङ्हाङ – आँखा र चित्रहरु

मेरा सुन्दर चित्रहरु
किनिदिनेहरु कोही भएनन्
अध्याँरो कुनामा थन्काउँदा थन्काउँदा
श्याम–श्वेत बनेका छन
रङ्गहरुले चित्र पोतेका छैनन
बस्तीहरुमा मानिसहरु छैनन
लस्तिएको म
भुगोलबाट माथी माथी हेर्छु
चन्द्रमा टल्कन्छ
चन्द्रमाबाट माथी माथी हेर्छु
भूगोल टल्कन्छ
अन्तरिक्ष दोसाँधमा
माथीको बोधमा वास्तवित्ता खोज्दै
बिना गुरुत्वाकर्षण म उड्दैछु
यता उता…उता यता…

लिटिलब्याई र फ्याटमेन
बिटुलिन खोजिरहेको बेला
आईन्स्टाईन फेरि एक सम्झना
तर स्याउ माथीबाट किन खस्छ
अहँ
न्युटनहरु हेर्दैनन् अचेल
हो त्यसैले त अब
स्याउहरु माथी माथी जान्छन
लिटिलब्याई र फ्याटमेनहरु तल तल झर्छन्
आदिम युगको आदिम पाईलाहरु
पाईलिदै पाईलिदै गरेका डोबहरुमा
हाम्रा हरिया हरिया खर्कहरुमा
हाम्राबिजहरु उडाउँन माथी माथी र
झार्न बरमुडा ट्रयाङ्गलमा

आज कोलोजिएमको एक तमासामा
आफ्नै अनुहार रगतपच्छे छ
आनन्दित मनाउँनेहरुको हुटिङ्गमा
अर्को आवाज बिलाएको छ
म बुलन्द गर्न
फिरउन आईपुग्न अघिनै लाल समुन्द्र तर्ने छु
चट्टानका फोहोराहरुबाट झरेको
जिवनको पानी पिएर
बाँच्ने र बचाउँने छु-फेदाङ्गमाहरुलाई
किन की फलाक्नु छ फेरि
बाँच्नु छ फेरि बिरामीहरु
हाम्रा बस्तीहरुमा
उस्तै, पहिलाजस्तै
उर्वर र फराकिला पाखाहरुमा
वर–पिपल चौतारीमा
बिसाउँन थकित काँधहरु

कागले सत्य टिप्न अघिनै
कोईलीको चुच्चोभरी
सत्यका झिल्लीहरु बगिरहेका हुन्छन
खोक्रो करङ्गमा थोत्रो कोट ओडाएर
बुख्याँचा ढाटिएको छ पलपल
बुख्याँचा देखाएर पंक्षीहरु ढाटिएका छन् उस्तै गरी
बाचाका मुर्त चित्र एकलब्य औंलाहरु अब
सनसनी बोल्न थालेका छन
यहाँ नदीका दोभानहरुमा
राता राता ज्वलाहरु उत्पन्न हुन्छन
हाम्रा राता राता बस्तीका छाँयाहरुले
आकाश रातो भएको छ
त्यसैले
पानी रातो बर्षिएको छ
आफ्नै आँगनमा
त्यसैले
झण्डाहरु राता राता छन्
किल्ला किल्लामा
त्यसैले
मान्छेका आँखाहरु राता राता छन
जस्ले
मेरा आँखाहरु तिर्मीराएका छन
हो त्यसैले अब
म सभागृहका प्रयोगशालामा
अनगिन्ती जारहरुमा
रासायनीक समिकरणको प्रयोगमा
अम्ल र क्षारको समिस्रणमा
रक्तकोष बिहीन मानवको
सृजना खोजिरहेको छु

पथरी – कोशी, मोरङ

Gyan Udas – Kahile Kahin Hidna Pani (Nepali Gajal)

ज्ञान उदास – कहिलेकाहीँ हिँड्न पनि (गजल)
(मधुपर्क साउन, २०६७)

कहिलेकाहीँ हिँड्न पनि साइत चाहिँदो रै’छ
कसो कसो बोल्न पनि साइत चाहिँदो रै’छ ।

सबैसँग सधैँभरि जिस्किरहने बानी
आँखाआँखा जुध्न पनि साइत चाहिँदो रै’छ ।

गाउँघरको समाज पनि कहिले काहीँ कस्तो
मनको फूल टिप्न पनि साइत चाहिँदो रै’छ ।

संसारमा देखेजति सबै आफ्नो भन्थेँ
तिनैसँग भेट्न पनि साइत चाहिँदो रै’छ ।

बनावटी मुस्कानमा बम हुनसक्छ
याद गर हाँस्न पनि साइत चाहिँदो रै’छ ।

Biwash Pokhrel – Baandar Aatanka

विवश पोखरेल – बाँदर आतङ्क

आफ्नै घर भत्काएर
एक हुल बाँदरहरू
शहर पसेका छन्
खबरदार मान्छेहरू
घर बाहिर ननिस्कनु
फेरि कफ्र्यु लाग्नसक्छ
अनाहक बाँदर आतङ्कले
एउटा शान्त बस्ती
तहसनहस हुनसक्छ
पुनःअसङख्य छोराहरू–
अनायास हराउन सक्छ ।

थरी–थरीका छन् बाँदरहरू
बाँदरको रङ्ग बेग्लै छ
जात बेग्लै छ
छुल्याँइ बेग्लै छ/उत्पात बेग्लै छ
बाँदर युद्धमा सधैं मान्छेहरू
सास्ती भोगिरहेछन्/सन्त्रास भोगिरहेछन्
कहिले मान्छेका –
सपनामाथि घोडा चढेर
स्वार्थका पीङ मच्चाउँछन् बाँदरहरू
कहिले पशुपतिको घण्ट ठोक्दै
राष्ट्रसङ्कटको उद्घोष गर्छन् बाँदरहरू
कहिले खुरूर्र बुर्कुसी मार्दै
कुर्सीका खुट्टा समाउँन पुग्छन् बाँदरहरू
चलिरहेछ –
एकपोल्टा उज्यालोको भागबन्डामा
बाँदरहरूको लुछाचुँडी
घामका रेशा–रेशाबाट
सगर छुने प्रविधि सिकाउँदै –
खाटा बसेको घाउ कोट्याएर
पारिलो घाममा–
सन्तुष्टिका जुम्रा हेरिरहेछन् बाँदरहरू
आँखामा भ्रमका हरिया चश्मा लगाएर
प्रत्येक मनलाई दिग्भ्रमित पार्दै
शिशिरलाई वसन्त देखाइरहेछन् बाँदरहरू
कति हेर्नु –
बाँदरका नृत्य नौटङगी र चटक
चोकमा– डबलीमा निरन्तर
जात्रा देखाइरहेछन् बाँदरहरू ।