Biplav Pratik – Mero Geet

बिप्लव प्रतिक – मेरो गीत

विधाताले दिएको भिक्षा भाग्य
मलाई कहिल्यै मन्जुर भएन
मेरो आफ्नो कर्म, मेरो भाग्य निर्माण
तिमीलाई कहिल्यै स्वीकार भएन ।

मलाई तातोसँग खेल्न मन पर्छ
त्यसैले सधैँ सुर्यको गोला चिथोर्छु
मलाई तिर्खासँग खेल्न मन पर्छ
त्यसैले सधैँ पानीको मुहान थुन्छु
मेरा उत्कण्ठा, मेरा चाहना
तिमीलाई कहिलै स्वीकार भएन ।

जिन्दगीको यात्रा, न आरम्भ न अन्त
त्यही शून्यमा बेग्लै एउटा आयाम
म खोजिरहेछु, निरन्तर खोजिरहेछु
भनेँ नि, म नयाँ बाटो पहिल्याउन खोज्दछु
मेरो जिजीविषा र मेरा बैँसका गीत
तिमीलाई कहिल्यै स्वीकार भएन
विधाताले दिएको भिक्षा भाग्य
मलाई कहिल्यै मन्जुर भएन ।

नयाँसडक, २५ सेप्टेम्बर १९८७

Baidyanath Upadhyaya – Sparsha

वैद्यनाथ उपाध्याय – स्पर्श

पीडाहरूको ध्वाँसो पोतिएर
प्रगाढ बनेको यो रात!
सुनिरहेछु
छातिभरी भूकम्पको हलचल
धरफराएका छन
आदर्शका स्तम्भहरू
भत्किएर सम्झनाका बाँधहरू
आकाशभरी उत्रिएको छ
सपनाका ‘कोलाज’ हरू
केही ठम्याउनै न सक्ने गरी
के हो यो ? प्रेम
या मेरो पागलपन !
उडिरहेछ यो मन हावासरी
खोजेर तिम्रै सान्निध्यका मीठा पलहरू
चारै दिशाहरू अँध्यारोले
धूमिल भएको बेला
कहाँ भेटिएला, मैले खोजेको
मायाका कोमल स्पर्शहरू!

Manu Brajaki – Jasko Mutu Dhunga Jasto Dekhen Maile (Nepali Gajal)

जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले
त्यसैमाथि आफ्नो नाम लेखेँ मैले

जतातिर बल्यो आगो उतैतिर
प्रतीक्षामा आफ्नो हात सेकेँ मैले

चौबाटोमा उभिएर सोच्दै छु म
कुन बाटोमा खुट्टा आफ्ना टेकेँ मैले ?

मध्याह्नमा हिँड्दा लाग्न थालेको छ
आफ्नो छाया आफूले नै छेकेँ मैले

‘मनु’लाई भेटेपछि गन्न थालेँ
गुमाएछु जिन्दगीमा के-के मैले ?

Rakesh Karki – Mantri Jyu Kasari Bho Samanata

इन्जिनियर राकेश कार्की – मंत्रीज्यू कसरी भो समानता

मंत्रीज्यू
कसरी भो समानता
जब बिचरो सिपाहीले
सधैं बुट बजारेर हजूरलाइ
स्यालोट ठोक्नु पर्छ भने

हजूरको विदेश भ्रमण
किन समान छैन
पसिनाले रुझेर भारी बोक्ने
भरीया दाईको
उकालो ओरालोसंग ?

हजूरको बोलाई हाइफाइ छ
हजूरको बसाई हाइफाइ छ
डुलाई खवाई हिडाई पियाई
लवाई हँसाई सुताइ रिसाई
सबै सबै हाइफाई छ

समानता नारामा हुँदोरैछ
संविधानको धारामा हुँदोरैछ
समानता भाषणमा हुँदोरैछ
समानता रासनमा किन हुन्न ?
समानता शासनमा किन हुन्न ?

लस् एन्जेलस्

Bishnu Kumar Basnet – Jeevan Bhogai

बिष्णु कुमार बस्नेत – जीवन भोगाई

म कति पिडामा बाँचेको छु
म कति दु:ख सहेर हाँसेको छु
केवल मलाई थाहा छ।
तिमीहरुले सोच्यौ होला
यी आँखाहरुमा झल्केको पानी खुशीको हो
तिमीहरुले बुझ्यौ होला मैले लेख्ने
यी गीतहरु मायाप्रीतिका उपजहरु हुन्।
तर
पिडा मायाबिना पनि हुन्छ।
खुशी माया बिना नि हुन्छ।
मैले कोरेका यी भावहरु
मैले लेखेका यी शब्दहरु
मेरा भोगाईहरु हुन्
मेरा अन्तर्मनबाट निस्केका उच्छवासहरु हुन्
त्यसैले
जीवन भोगाई र देखाईमा धेरै अन्तर छ
भोग्न सबैले भोग्छन्
देख्न सबैले देख्छन्
तर कसरी भोग्छन्
तर कसरी हेर्छन्
त्यसमा रहस्य लुकेको हुन्छ
त्यसमा मजा छुपेको हुन्छ
जिउनुको
भोग्नुको

जीवन भोगाईको।।।

Hari Govinda Luitel – Sani Baini Furauli [Bal Kabita]

हेरौली र कुरौली
सानी बैनी फुरौली
एकै छिन बसौली
सानी बैनी फुरौली

त्रि्रो पालो आ’छैन
आएपछि खेलौली
बुर्लुक्क बुर्लुक्क उफ्रौली
सानी बैनी फुरौली

पुग्यो, डोरी नखेल्ने
अब अर्को के खेल्ने –
चुङ्गी, गट्टा नखेल्ने
अब अर्को के खेल्ने –

“भाग्यो भाग्यो, लखेट्यो
भेट्यो भेट्यो, समात्यो”
दौडी भेट्टाइ खेलौली
सानी बैनी फुरौली

लुच्चो बन्न पाइँदैन
झेली गर्न पाइँदैन
धक्का दिन पाइँदैन
छिर्की लाउन पाइँदैन

मिली खेल, जितौली
सानी बैनी फुरौली
डिलमा नजाऊ, लडौली
सानी बैनी फुरौली ।

Rakesh Karki – Parade (Nepali Geet)

इन्जिनियर राकेश कार्की – परेड (गीत)

परेड खेल्दाखेल्दै जिन्दगी बित्ने भो
बन्दुक भिर्दाभिर्दै जिन्दगी बित्ने भो ।।

आफ्नै दाजुभाई संग म कति लडुँ
आफ्नै दिदीबैनी कुल्ची अघि कता बढुँ
तोडफोड गर्दागर्दै जिन्दगी बित्ने भो
नाराबाजी गर्दागर्दै जिन्दगी बित्ने भो ।।

न त हरियाली न त फुल फुल्ने
न त उद्योगधन्दा न त स्कूल खुल्ने
टायर बाल्दाबाल्दै जिन्दगी बित्ने भो
देश बन्द गराउँदै जिन्दगी बित्ने भो ।।

गाउँ बस्ती हाँसो खुशी बाड्न पाए पो
आनन्दले पखेटा फिजाई उड्न पाए पो
खाई न पाई हजुर जिन्दगी बित्ने भो
छालाको टोपी लाइ जिन्दगी बित्ने भो ।।

लस् एन्जेलस्

Pratima KC – Aanshu Jharera Padhen Maile (Nepali Gajal)

प्रतिमा के.सी. – आँसु झारेर पढें मैले

गाउँ वस्ती र मानवीय पिडा आँसु झारेर पढें मैले
नेपाल आमाको रक्तिम छाति आँसु झारेर पढें मैले

जिन्दगीको अविरल यात्रामा भोगिएका ती भयाबह
कालखण्ड त्यो युद्धलाई हलगोरु झैं नारेर पढें मैले

मानब वधशाला जस्तै लाग्ने निर्दोस बस्तिभित्रै पनि
मानिसकै रगतको महासागर तारेर पढें मैले

गुमाएर प्रियतम बेहोसिमा बाँचेकी प्रियतमाको
गहिरो प्रीतगाथा मनलाई अति मारेर पढें मैले

बाबुआमा गुमाउने तिनै निर्दोष अबोध बालकको
अनिस्चित भविस्यमा प्रश्नै प्रश्न उमारेर पढें मैले

मुटुको टुक्रा सरह सन्तान गुमाउने तिनी आमाको
भल्भल्ती बगेका आँसु मुटु बाहिर सारेर पढें मैले

जीवनको बैशाखी लुटिएका ती असक्त बुढा बाबाको
बेसहारा जीवन आफ्नै सम्झेर धिक्कारेर पढें मैले

आफन्त गुमाएर बाँचेका बाँकी आफन्तजनहरुको
पुस्तौं पुस्ता बल्झिरहने घाउलाई हारेर पढें मैले

नमर्नु नबांच्नु घायल जीवन जिउनेहरुको पनि
दुखेको दृस्य असैय पिडा नजिक पारेर पढें मैले

आफ्नै घर खेतबारी बाटो पँधेरो युद्धमैदान बन्दा
सुन्यतामा हराएको बस्ति बादल फारेर पढें मैले

(नेपालमा चलेको १० बर्से युद्धको पृष्ठभूमिमा तत्कालिन समाजको अबस्था चित्रित गर्दै रचित गजल)
२८ मार्च २०११

(This Gajal was sent to Sanjaal Corps via Email)

Prem Binod Nandan – Desh Eklo Pareko Chha (Nepali Gajal)

प्रेम विनोद नन्दन – देश एक्लो परेको छ (गजल)

यहाँ देश एक्लो परेको छ आज
इमानी शिरै यो झरेको छ आज

बल्यो अग्नि ज्वाला छ रातो हिमाल
डढेलो कतैको सरेको छ आज

थियौं स्वाभिमानी हिजोसम्म हामी
कसोरी भनूँ क्वै चरेको छ आज?

र, ऐना फुटेझैं फुटेको छ भाग्य
भनूँ खै कसोरी मरेको छ आज

सबै हात हाम्रा उठाएर जागौं
सधैं भोलि भन्दै टरेको छ आज

Hangyug Agyat – Raja Ko Mrityu

हांगयुग अज्ञात – राजाको मृत्यु

कति प्रश्नहरूको जवाफ दिएर
कति जवाफहरूको प्रश्न भएर
कति इतिहासहरू उधारेर
कति रहस्यहरू बुनेर
सडकका भित्ताहरूमा वंशावली लेख्दालेख्दै
बिजुलीका मिटरबक्सहरूमा हुकुम कोर्दाकोर्दै
काउलुन पार्कको राज मरेछ,

उसको लासले
दर्जनौ तोपको सलामी पाएन
उसको लासले
लाखौ जनताको मलामी पाएन
उसको लासले
फूलहरूको चिता पाएन
उसको लासले
राष्ट्रिय झण्डाको कात्रो पाएन
उसको लासले
कुनै देशको राजाले पाउनुपर्ने
मृत्युपछिका राजकीय सुविधाहरू पाएन
यत्तिसम्म कि
उसको मृत्युलाई स्वर्गारोहण पनि भनिएन,

सिमेन्टको मेच आफ्नै गद्दीमा
सात बजेर उन्नाइस मिनेट जांदा
स्युयकसित
छिन्ताओ पिइरहेको अवस्थामा
बिना श्रीपेच, बिना राजदण्ड
बिना रानी, बिना राजकुमार
बिना राजपुरोहित, बिना सैनिक
बिना प्रजा, बिना सुसारे
बिना ढोके, बिना धुपौरे
पचहत्तर बर्षको उमेरमा
कुनै सन्की पुलिसको गोलीले होइन
कालगतिले
काउलुन पार्कको राजा मरेछ,

विद्युतीय चितामा राखेको
उसको लासलाई
कसैले दागबत्ती दिएन
बुढो सरकारी जल्लादले

केवल भित्ताको स्वीच दबायो
र मनमनै झक्र्यो
‘माफान तीउ….!!’

रेडियो र टेलिभिजनहरूमा
कुनै शोकधुन बजेन
अखवारहरूमा रङ्गीन कलेवरमै छापिए
सार्वजानिक विदा दिइएन
शोकसभाहरू भएनन्
कसैले श्रदान्जली अर्पण गरेन
ऊ त्यसै मर्‍यो
ऊ त्यत्तिकै मर्‍यो,

ऊ मरेका सात दिनपछि
मध्यान्ह १२ बजे
लगभग अढाइसय बर्ष पुरानो
बरको रूख पनि
कंक्रीटको सडक पल्टाएर
जरैसित ढल्यो
बिना टाइफून आफै ढल्यो,

काउलुन पार्कमा
ऊ एक्लैले चलाएको अघोषित राजतन्त्र
र त्यो पुरानो बरको रूख ढल्नु
सञ्जोग थिएन
सडकका भित्ताहरूमा वंशावली लेख्दालेख्दै
बिजुलीको मिटरबक्सहरूमा हुकुम कोर्दाकोर्दै
काउलुन पार्कको राजा मरेछ
धेरै प्रश्नहरूको जवाफ दिएर
काउलुन पार्कको राजा मरेछ ।

(प्रस्तुत कविता मूलबाटो डट्कमद्वारा आयोजित ‘मूलबाटो नाईट’ मा बाचन गरिएको कविता हो)

Sudhir Chhetri – Maila Lai Ramita Chha

सुधीर छेत्री – माइलालाई रमिता छ

अहिलेदेखि झण्डा बोकेको होइन माइलाले।
माइलालाई रमिता छ।

माइलाले नै बोक्नुपर्छ
जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी।

माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,
भिरिबस्नु छ देशरक्षाको भुत्ते खुकुरी
अनि उमालिबस्नु छ खाली कराइमा रालहरू,
झम्टिरहनु छ पक्रनलाई उम्केको माछा।

उसको चेतनाको गलछेँडीतिर युगैपिच्छे
कुन बज्रस्याँठले पिसाब गरिराख्छ ।

ठेलै ठेला उठेका छन्
माइलाको कुटस्थ ब्रह्मभरि।
माइला बिलिँदै गइरहेको छ,
पाठकवृन्द! माइला ग्लेसियर हो
जसको पग्लँदो सहादतले
धेरै खोलाहरू जन्मेका छन्, नदीहरू बनिएका छन्।
माइलाको धमिलो व्यक्तित्वको बारेमा चाहिँ नसोध्नुहोला,
त्यही क्लिष्टताले त यो कविता जन्मेको हो।

खबरमा पढ्नै हुन्छ
माइलाले नारा दिन्छ अघिल्लो जुलुसको पङ्क्तिमा
बादलको खरी उप्किनेगरी पछिबाट त्यसपछि माइलाहरू कराउँछन्।

इन्द्रशेखर पनि उही हो
रने पनि उही हो
जनक पनि उही हो
म्याउची, जयमाया, बाटुली सबै उही हो
उभित्र काँचो कलिलो लचिलो माटो छ
जसलाई प्रत्येकपल्टको दाभिन्चिले नयाँ बजार दिन्छ।
उसको भोकको टाटेपाङ्ग्रे नक्सा बनाउँछ।

पोहोर साल माइलाको मलिलो छातीमा टेकेर
ठूलो कथाको कटिङ सरेको थियो।
पाठकवृन्द। उसैले काटिबस्नु जराहरू,हाँगाहरू।
युगैपिच्छे।

अब माइलाको फोक्सोभित्र
किताबहरू जलेको गन्ध पस्दैछ।
आँखा पोल्दैछ अक्षरहरू ढडेको खिरिलो धुँवामा।
किसानहरूले आत्महत्या गरेको एउटा देशको मानचित्र पस्दैछ।

छिरिबस्छ रगतसरिको माडमा
उसको लपलपे भोक।
ढकढकाइरहन्छ प्रत्येक ऋतु
षडयन्त्रका नयाँ संस्करणहरूले
सजिलै चुइँकिने उसको अवचेतनको दैलो।

पाठकवृन्द। कविता त आजै सकिने होइन
तर माइलालाई रमिता छ।

– कालेबुङ

(Sent to Sanjaal Corps via Email)

Bibek Dulal Chhetri ‘Damak’ – Prema Sita

विवेक दुलाल क्षेत्री ‘दमक’ – प्रेमासित ..!

प्रेमा..!
तिम्रो प्रेम कहिँ लेखिएको छैन
उसको मूटूको पानामा पनी
उसको साँझ बिहानको दिन्चर्यामा पनि

बरू पर्खिन सक्छु उ
चुरोट सल्काएर महगो मोबाइल चलाउदै
माथ्लाघरे माइलीलाई पधेरोमा
या भेट्न सक्छ उसले
तल्लाघरकी बिजुलीलाई
बुधबारे हाटमा.

बरू सारी र मिठाइ
थुप्रैलाई किनी दिन सक्छ उसले
धेरै नव यौवनालाई प्रलोभन बाड्न सक्छ उसले
अनि निर्दोष कोपिलालालाई
एक पछि अनेक प्रपंच रचेर
रातारात सिमाना कटाउन सक्छ उसले .

प्रेमा..!
प्रेम कैले क्रय बिक्रय हुदै होइन
प्रेम टाढीने र कुल्चने चिज होइन
उ जस्ता नारीका दुश्मनहरू
उ जस्ता प्रेमका पिसाचहरू
तिम्रो मुटूमा बसेको नाटक गर्न सक्छन्
तिमिलाई सपनामा देखेको भन्न सक्छन्.

यसैले
ब्युझ प्रेमा ..!
भाबुकता रुपी गहिरो निद्राबाट
सचेत होउ प्रेमा ..!!
चन्चलताको चुन्गुल्बाट
के थाहा तिम्रो एक मुस्कान
तिम्रो अन्धकारको साम्राज्य बन्न सक्छ
के थाहा तिम्रो निर्दोष समर्पण
तिमीलाई जिन्दगीभर कोठीमा सजाउन सक्छ .

सत्ते प्रेमा ..!
तिम्रो प्रेम कहिँ लेखिएको छैन
उसको मुटुको पानामा पनि
उसको साझ बिहानको दिन चर्यामा पनि .

अस्तु :
दमक ,झापा

Seema Abhash – Mayalu

सीमा आभाष – मायालु…!

मेरो आँगनमा
उसले घाम पठायो
शीत पठायो
खामभित्र चराको सुसेलीसँगै
उसले गुनगुनाउने धून पठायो ।
म मौन बसेपछि
छोडेर गयो

मलाई उडाउन नसक्ने आँधी भनेर ।
ऊ फर्किएपछि
मैले उसलाई घाम पठाउन सकिनँ
शीत पठाउन सकिनँ
खामभित्र चराको गीत पठाउन सकिनँ ।

उसले साँचेको हुनसक्छ
मेरोलागि–
मीठो, नमीठो सम्झना गहिराई
बेनिन्द्रा मुस्काउने एकान्त
बग्दो हावामा अल्झिएको समर्पण
फूलको शीत,
शीतको गहिराइमा डुबेको नदीफूल
हृदयमा लुकाएको तस्वीर
थोपाथोपा पीडा
छुट्नुअघिको सम्झनास्पर्श
सेताफूलमूनि ओझेल परेको छायाँ
मेरोलागि रोपेको हँुदो हो उसले
फूलमा ओर्लने बिहान
जलकुम्भीमूनि लुक्ने आँसुतलाउ
गहिरो आकाशमा उड्ने नीला याद
पलपल आगोमा डुब्दै गरेको आश
चुल्ठोभरि छरिएको सुदूर सम्झना
सपनामा बर्बराउँदै भन्दो हो–
हावा लागेको रूखको पातमा
पछ्यौरी बनेर फरफराउने
मायासलाम तिमीलाई…!
मायालु…!
आगोमा उभिएको आँधीसलाम तिमीलाई…!
हाँस्न नसकेको आँसुसलाम तिमीलाई…!
तिमीले नदिएको घामसलाम तिमीलाई…!

Bodh Raj Pant – Rara

बोधराज पन्त – रारा

परेलीमा मेरो छायाँ सजाएकी तारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

कैले घुम्टो बादलुको रिमझिम रिमझिम बर्षां
छातीभरि नीलो आकाश तरंगका धर्सा
भोकाएको चरी, मीठो प्रकृतिको चारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

पर्खिएकी अभिसार बिच्छ्याएर आँखाहरु
मधुमास हो आज क्यारे सुसेलेर भाखाहरु
केही लज्जा, केही भय, दुलहीको पारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

चीसो चीसो हावा, चीसो नीलो कञ्चन पानी
रंगी चंगी बुँकी भित्र हिमालकी रानी
उन्को पाऊ धुँदै बग्ने खत्याडको धारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

यतै बसी एकान्तमा कुराकानी गरिरहूँ
सुम्सुम्याउं केश राशी अंगालोमा भरिरहूँ
जस्तो लाग्यो जब उन्को रुपरंग सारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

सल्लेरीको बाँसुरीमा लता तरेलीका नाँच
संगसंगै माझतिर पौडी खेल्ने राजहाँस
बाँकी सबै पृथ्वीलाई मैले सर्वाहारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

रुपन्देही

Monika Jirelgharti – Pahad Mathi Ubhiyera

मोनिका जिरेलघर्ती – पहाडमाथि उभिएर

दिव्य नीलगगनको उचाइ नापेर
अनन्त सागरको गहिँराइ नापेर
सभ्यताका शृङ्खलाहरु नियालिरहेछु
पहाडमाथि उभिएर ….

धर्तीमाथि उभिएको धर्ती चुम्न
धर्तीमा जन्मिएको रवि
यात्राका कठिन मोडहरुमा
निरन्तर बढिरहेछ,
सङ्घर्षका पदचापहरु
धर्तीको गह्रौँ पदचाप
पछ्याइरहेको रवि
उकाली अनि ओरालीहरुमा
नागीमा फुलेका फूलहरु
पहाडमा झुल्केका लालीहरु
हिमाल हाँसेका मुस्कानहरु
सबै–सबै सँगालेर धर्तीभरि
उज्यालो छर्ने रवि
धर्ती नियालिरहेछ
पहाडमाथि उभिएर …

एउटा पहाडमाथि धर्तीलाई उभ्याएर
अर्को पहाडमाथि उभिएको रवि
रगतले पछ्याएको बाटो
रगतले मुछिएको माटो
व्यस्त अभ्यस्त बाटो
सबै–सबै भुलेर
मुस्कुराइरहेछ हिमालको मुस्कानमा
हराइरहेछ धर्तीको छातीमा
पहाडमाथि उभिएर …

रवि खोजिरहेछ
रेनाता, बेनेडिक्टो र मुनामदन
रोमियो–जुलियट र लैलामुमताज
पहाडमाथि उभिएर …

जिरी, दोलखा

R M Dangol – Parichaya

आर एम डंगोल – परिचय

एउटा चट्टान
अथवा हीराको टुक्रा
चट्टान अथवा हीराको टुक्राभन्दा
अझै परेको समय
मेरो भोगाइ समयरहित एउटा पदार्थ ।

यसकै अथवा यीजस्तै पदार्थहरूको
केस्राकेस्रा भएर
बिल्कुलै हल्लारहित भएर
र बिल्कुलै चालरहित भएर
मैले एउटा जीवितकोष बोकेँ
यही कोषको सतहमा
हामी हाम्रो भाग्य खोज्दै छौँ ।

भनिन्छ – यही भित्ता हाम्रो नियतिरेखा हो
जिउनुपछाडिको बाध्यता
जस्तो कि हामी अहिले
खुत्रुकेमा हाम्रो भविष्य चिहाउँदै छौँ ।

Shyamal – Sarta

श्यामल – सर्त

जबसम्म नारी बलात्कृत भइरहन्छे
र आकास धुजा धुजा पार्ने गरी
महासागर सुक्ने गरी चिच्याइरहनेछ
जबसम्म चरा कैद गरिएको हुन्छ पिँजडामा
उसले आफ्ना स—साना चुच्चाले
फलामको पिंजडा भत्काउन छाड्ने छैन
परन्तु जीवित नै हुनेछ करुणा र कोमलता
प्रेमीहरूले छिनाल्नेछन् आफुलाई बाँध्ने सिक्रीहरू
प्रेम चलिरहनेछ ।

जबसम्म हत्याराको मुठीमा छटपटिएको हुन्छ न्याय
र पैसा हुन्छ डाँकाको ब्रिफकेशमा
जबसम्म आलमारीका किताबमा बन्द हुन्छ इज्जत
र शिक्षा बेरिएको हुन्छ
काँजो बेरिएजस्तै मास्टरको लट्ठीमा
जबसम्म बसिरहनेछ हत्यारा आरामदायी मेचमा
र मानिसहरु हुनेछन् त्यसभन्दा तल भुईंमा
धर्ती कम्पायमान भइरहनेछ ।

त्यतिन्जेलसम्म जन्मिरहनेछन् स्पार्टाकसहरू
जबसम्म चराहरुले गीत गाउन छाड्ने छैनन्
जबसम्म जमीन बाँझो हुन्छ र
कोदालीले विना काम
कुनामा झोक्राइरहनुपर्छ
किसानले जबसम्म हातमा लाठी लिएर
जमीन जोगाइरहनुपर्छ
क्रोध बढिरहनेछ ।

पानी भएसम्म नदी बगिरहनेछ
चेत भएसम्म मानिस छट्पटाइरहनेछ
विश्वास भएसम्म मानिस विश्वास गरिरहनेछ
आशा भएसम्म हौसला भइरहनेछ
बाजा भएसम्म सुनिइरहनेछ ताल, सुर र नाद
यो मन झंकृत भइरहनेछ ।

यी निराशा, क्रोध र हो—हल्लाका बीच
शिशुहरु जन्मिइरहनेछन्
र तिनकी आमाका पवित्र स्तनबाट
जीवन रसाइरहनेछ
मानिस आफ्नै देवताबाट मुक्त नभएसम्म
दासमोचन भएको मानिने छैन
त्यसपछि पनि अनन्तकालसम्म
मानिसहरुको आवाजले हावा कम्पित भइरहनेछ
जीवन चलिरहनेछ ।

Sangharsha Budhathoki – Mero Samarthya

संघर्ष बुढाथोकी – मेरो सामथ्र्य
(मधुपर्क बैशाख, २०६७)

मनको अँध्यारो कोठामा
अजंगको छाया बोकेर हिँडिरहन्छु म
पहाडको अन्तरंग बुझ्न
कालो बादलको लिस्नु चढेर
अश्लील मागहरूको आकृति काखीमा च्यापेर
सपनाको वस्ती खोज्न

अरुको चाहना टेबुलो घर्रामा कोचेर
आफ्नो मनको फाइल हाकिमको टेबुलमा
पुर्यामउँछु, खुसुक्क मैले ।
ङिच्च दाँत देखाउँदै
लाछी मनका खाली झोलाहरू बिसाउँदछु,
उसको समीप
ऊ उपरखुट्टा हल्लाउँदै मुस्काइ रहन्छ
नतमस्तक निदाइ रहन्छु म
उसैको निर्देशनमा
अरुको जायज मागमा टिपेक्स दलेर
कीर्ते अक्षरहरू रातो मसीले अन्डरलाइन गर्दै
अरुको चाहना हत्या गरिरहन्छु म
ऊ निर्धक्क हस्ताक्षर ठोक्दछ
तजबिजी अधिकारको दुरूपयोग गरेर
ऊ मुस्काउँदछ ।
म हाँस्दछु ।
भित्ता अलपक पर्दछ,
मेरो र हाकिमको कुटिल चाला देखेर
सन्नाटा एक्लो दिनमा !
अश्लील मागका आकृतिहरू दङ्गहास हुन्छन्
मेरो सामथ्र्य देखेर

प्युठान

Acharya Prabha – Najarko Baan Le Hanyo Ki Malai

आचार्य प्रभा – नजरको बाणले हान्यो कि मलाई ? (गजल)

नजरको बाणले हान्यो कि मलाई ?
मनको मन्त्रले तान्यो कि मलाई ।

बुझ्न नै सकिन आज खै के भनुँ ?
प्रियसी भनेर जान्यो कि मलाई ।

सकिन बुझेर मन नि कहिल्यै
जीवन संगीनी मान्यो कि मलाई ।

शायद असल प्रेमी नै भएर
मनकी प्रेमिका ठान्यो कि मलाई ।

हज्जारौं सुन्दरी छाड्दै पो यसरी
एक्मात्र मायालु छान्यो कि मलाई ।

छुटाइ कहिल्यै टाढा नै नगर्न
कसिलो डोरिले बान्यो कि मलाई ।

(रचना १९ अगस्ट २०१० )

Dipendra KC – Abhishapta Jeewan

दीपेन्द्र अपजसी – अभिषप्त जीवन

१.
कुनै युग !
बोकेर महादेवको श्रपित जीवन
थाकिनन् गोमा ब्रम्हाणी
पार लगाइन जीवनलाई जसोतसो
सुखद अन्त्यको घाटमा
शास्त्र भन्छ.–
सत्ययुग थियो त्यो ।

२.
अहिले
स्वस्थानी छ मेरो सिरानमा
तर युग अर्कै
महादेवबाट अश्रपित म
श्रपित जीवन जीउँदैछु समुद्रपारि
अघोषित, अप्रत्यक्ष र अन्यायी श्रापबाट
–“ तँ तेरा मातापिता, परिवार र आफन्तबाट छुट्टिएर, तड्पिएर बस्न परोस्
–जहाँ पुगेपनि दुुःख कष्टले नछोडोस्
–मनले आँटेताकेको नपुगोस्
–धन द्रव्यले कहिले वास नगरोस्
–मनमा चिन्ता खिन्नता छाइरहोस्
–जे जस्तो काम गरेपनि दोषको भागीदार हुन परोस् ” इत्यादि इत्यादि ।

३.
म सँग सत्ययुग छैन अहिले
आराधनाबाट श्रापमुक्ति पाउन
बिकल्प पनि छैन
सुखद अन्त्यको घाटमा विसाउन
साध्य पनि छैन
बोझिलो जीवन सहज टुँग्याउन
तर, अझैपनि
स्वस्थानी छ मेरो सिरानमा ।

४.
महादेवबाट अश्रपित म
लावण्यदेशको नवराज हुन सकेको छैन म
न त मलाई माला पहिराईदिने
ऐरावतहरु नै छन् कतै
न त श्रापफिर्ती गरिदिने
ब्रम्हाहरु नै छन कतै
किनकी म –
घेरिएको छु तिनै अप्रत्यक्ष श्रापहरुबाट
अभिषप्त वर्षाले रुझाएको
मेरो जन्मदिनको दिन देखि ।।

बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।