Rupesh Rai – Takbar Ko Ek Raat Ra Chiyabari

रुपेश राई – टक्बरको एक रात र चियाबारी

कमाने म आफै गर्व
गर्छु। मेरो पसिना पुछिदिने तिमी छौ नी!

पसिना झरोस् यहाँ र मलिलो बनोस्
चियाबारीहरू। मैले देख्ने गरी। भन्छु। तर
अझसम्म मेरै पसिनाका रङ्गहरू मलाई थाह छैन…।

लिलाम गरिरहे छौ। पसि… ना… निर्यातमा तरेली-तरेली।
बासनाका छापहरू। चियाबारीबाट।

नौ औँलाहरूमा तिम्रै हैकम छ
केवल एउटा मात्र चल्छ मेरो।
चाँदमनीदेखि दार्जिलिङका सर्बत्रै चियाबारी हुँदै
टक्बरसम्म। मैले सोचेँ। अलपत्रै परेको उकालो र साँगुरो बाटोमा।
पस्टाउँदैन मेरो सपना। जसरी गाप हाली बस्छन् इच्छहरू पनि।

निचोरिएर अनुहारबाट पसिनाले
जिब्रो खोज्दै ओँठमा लत्पतिएर। अस्तित्वबोध गराइरहेथ्यो।
रूमाललाई के थाहा? पसिनाको अस्तित्व।
सोहोरिबस्छ केवल सोहोरी बस्छ। टुसाउँदै गरेका
मुस्कानहरू कमानका अनुहारबाट। अन्त कतै
मैले नजानिने गरी। नखोजिने गरी।

‘वाव नाइस पिक्स’ को कमेन्ट पनि सम्झेँ फेसबुक्मा!
अनि ‘चियाबारी साहित्य’ का कविताहरू। व्यङ्ग्यात्मक र मर्मस्पर्शी।
साँच्चै चि… सो पस्छ शब्दहरूमा,
कविताको । त्यो पिक्स। हेरेर साँच्चै तिमी रमायौ?
व्यङ्ग्यात्मक प्रश्न पनि गर्छु। आफैलाई। अँहँ…।
पनि भन्छु। मनमनै, गोयल छु जस्तो।

तिमी कमानेतर। त्यही चियाबारीमा। एउटा, भ्रामक पोज
हिर्काउँ जस्तो भयो होला। त्यही मुनाहरूमा लुटुपुटिएको;
नकल गर्ने मन भयो होला! अनि कल्पना गऱ्यौ होला
कसले, कतिपल्ट लाइक गऱ्यो-
‘नाइस…
नाइस पोज!
नाइस पिक्….’
अनि के नै छ र…! तिमीलाई फुर्क्याउने शब्द >>सरररररर
कल्पना कुद्यो।

रात नपरेर निद्राहरू आँखामा,
ओछ्यान टोहोल्याइ रह्यो बिहानसम्म। फर्लङै उज्यालो
भएथ्यो- ‘इ, यी नै हुन् हाम्रा चियाबारीहरू’ मित्रको
निर्दोष वाक्यमा। टेबलको चियाले रिफ्रेश
भएन हिजोको ओभर डज कल्पना। अझ
बिडम्बना लागिरहेछ। हिजो उसले नधकाइ
बनेकी। आफ्नोवोधका कुरा।

मैले बिडम्बना मानेँ। निर्दोष वाक्यलाई।
हो। तिमीहरू पनि त्यसै भन्छौ?
उसको अज्ञान्तालाई शङ्का नगरी
प्रश्न गरेको तिमीहरू। चियाबारीका मानिस।

नुन हालेको चिया तिमीलाई मात्र थाहा छ!!

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 007 – Hindai Chhau Ki Basyou Katai

फर्कन्छन् वन शैलबाट बचरा सम्झेर पन्छीहरू
फर्कन्छन् परबाट प्यार घरको सम्झेर यात्रीहरू
हे रानी ! अझ फर्किनौ किन यहाँ अल्प्यौ अँध्यारातिर
हेर्छ झ्यालमहाँ बसेर टुहुरी यो शान्ति धारातिर

कोठा शून्य छ यो, उठीकन अहो ! बाटो कहाँको लियौ
तिर्खाएर पियौ कहाँ जल, यहाँ गाग्री भरेकी थियौ
टाढाको कुन छहारीमनि बसी सम्झेर के के गयौ
दौडायो कुन दूरदेश विधिले, एक्लै कसोरी गयौ

हिँड्दै छौ कि बस्यौ कतै, मुलुक त्यो कस्तो छ, यस्तै छकि
त्यो छायामय लोकबाट कहिल्यै यो लोक देखिन्छ कि
छन् तिम्रा मुखमा अझै बिफरका बुट्टा कि कस्ती भयौ
स्वप्नामा जुन आउँछ्यौ, भन त्यही सम्झूँ कि भिन्नै भयौ

लागेको मनमा छ के भन त्यहाँ हास्छ्यौ कसोरी तिमी
सम्झी शान्ति र कान्ति दूधकटुवा रुन्छ्यौ कि क्यारे तिमी
दिन्नन् फर्कन फेरि बिर्सन पनी, द्यौताहरु निठ्ठुर
त्यो एकै छिनको मात्र बिछुडले कत्रो महा–अन्तर !

हामी छौँ सुखमा कि आज दुःखमा के भन्नु के भन्नु ख्वै
आफैँ मर्न सकिन्न, बाँच्नु कसरी, के गर्नु के गर्नु ख्वै
छौ देवी सुखमा भने यदि त्यहाँ हामी रुँदैनौ यहाँ
हाम्रै साथ थियौ कुनै दिन भनी सम्झेर बस्छौँ यहाँ

बाँचुन्जेल सकेँ र गर्न अब के सक्नेछु गर्नै म हे
चाँडै नै सँगिनी ! गयौ नि मनका इच्छा मनैमा रहे
बाँचुन्जेल त चिन्न नै सकिनँ हे जाहान ! जे भन्दछ्यौ
गाढा आज हुँदो छ प्रेम, जति नै टाढा तिमी बन्दछ्यौ

लीलाले कहिलेकहीँ त भुइँमा ओर्लेर आऊ तिमी
नौला मानिस खेत चौर हरिया हेरेर जाऊ तिमी
आऊ शान्ति र कान्तिमा अमृतको देऊ नयाँ चुम्बन
आऊ यो मनमा पसेर सहजै लेऊ नयाँ जीवन

तिम्रा गीत म फाँट शैल वनका एक्लासमा गाउँला
आफ्ना मानिसका गएर घरमा तिम्रा कथा गाउँला
हुर्काईकन शान्ति कान्ति भुइँमा छाडी त्यहाँ आउँला
देवी ! अन्तिम साँझमा गहभरी आँसू लिई आउँला

Tanka Subba – Asmita Ko Khatir

टंक सुब्बा – अस्मिताको खातिर

मुटु छेड्ने चित्कारहरुले
गाढा निद्राको तन्द्राबाट
एक्कासी ब्युझिएका छन् निद्रित मेरा आखाहरु
झस्किएका छन् भयभीत आवाजहरुले
र तत्काल दृष्टिहरु हुत्याउदा
देखे त्यहा हुलका हुल व्वासाहरु एकातिर
देखें त्यही निरीह मान्छेहरु अर्कोतिर
ढुङ्गा हानाहान गर्दैछन् तिनीहरु सडकमा
अस्मिताको खातिर

अध्यारो छैन
विडम्वना भैरहेछ मध्यदिनमा
सगबगाई रहेछन् भोको पेटमा
हिंस्रक जनावरहरु
क्षणभर मै कोतपर्व अपनाएर
बगाएका छन् रगतका नदीहरु
त्यसैले असुरक्षति भान भैरहेछ
आफ्नै धरती अस्मिताको खातिर
निरुपाय र असहयोगले
कमजोर भैरहेछन् मनस्थितिहरु
वर्वरतामा होमिएका छन् यथास्थितिहरु
जो आफ्नै देशमा पनि
बाच्नु परिरहेछ शरणार्थी झैं
त्यसैले बाध्य हुनु पर्दोरहेछ हतियार उठाउन
अस्मिताको खातिर

कोही चिथोर्दै छन् रक्ताम्मै पारेर स्वाभिमानलाई
कोही विशालु तरवार चम्काउदै छन् खतरा मोल्नलाई
वैमनस्यता बढिरहेछ मान्छेहरु बीच
सायद त्यसैले होला
तनावग्रस्त कुरुक्षेत्र जस्तै
गोलि हानाहान भैरहेछ
अस्मिताको खातिर

Hemanta Pardeshi – Kahan Jaun Ma Desh Khojna

हेमन्त परदेशी – कहाँ जाऊँ म देश खोज्न

देश नै जनता
र,
जनता नै देश !
कहिँ सुने जस्तो
कतै पढे जस्तो
तर बिस्मृत छन्
मेरा मानसपटलहरु
सुषविताबाट
क्षयग्रस्त बने जस्तै ।

तपाईलाई थाहा छ?
तपाईलाई पो थाहा छ कि?
सडक सडक

गल्ली गल्लीहरुमा
एक्लै भौतारिँदै
प्रश्नै प्रश्नहरुको
तुल टाँग्दैछु म l
सहरका होर्डिङ्गबोर्डहरुमा
बियर र चाउ चाउको
बिज्ञापन टाँगे जस्तै ।

सामयिक खोज
समादृत प्रश्न
हार्दिक बधाई दाइ/भाइ !
बधाई र शुभकामनाका
अनगिन्ती शब्दका पोकाहरुले
टन्न भरिएको
गह्रुँङ्गो झोला
पिठ्यूँमा बोकेर
यौटा अपरिमित
सडकको दुरी
निरन्तर नापिरहेकोछु म
ओलाङ्चुङ्ग गोलाका
खम्बा भोटेहरुले नुन बोकाएर
उकाली ओराली गराइरहेका
लेकाली ‘याकहरु’ जस्तै ।

ए मूर्ख मान्छे !
सडक र गल्लीहरुमा
खोजेर पनि पाइने चिज हो र ?
देश र जनताको
अर्थ र परिभाषा ?
म भित्रको ‘म’ ले
मलाई नै प्रश्न गर्छ
अनायसै झस्किन्छु म
आफ्नै प्रतिविम्वसँग l
आफ्नै छाँया देखेर तर्सिएको
खरायो र सिंहको कथाको
मूख्य पात्र बुद्धु सिंह जस्तै ।

पुग्छु म सिंहदरबार
नियाल्छु एक एक दृश्य
खोइ देश?
कहाँ छन् जनता?
सबै अरुकै ईशारामा नाँचिरहेका
नर्तकीहरु देखेर
आश्चर्यचकित हुन्छु म
अब कहाँ जाऊँ?
के गरौँ म?
बेस्सरी अलमलिन्छु l
मेरा थकित पाइलाहरु
पुन: लम्किन्छन्
आफ्नै गाउँ-बस्तीतिर
आहा ! जनता नै जनताको लस्कर
भावमङ्गित हुन्छु म अनायसै
र ,
नियाल्न थाल्छु
प्रत्येक अनुहारहरुलाई l
तर अफसोच !
कहिँ कतै देशको चित्र देख्दिन म
ती अनुहारहरुमा l
मिथ्या लाग्छन् मलाई
देश नै जनता
र ,
जनता नै देश-को परिभाषा l
मानौ जनता हरु
फगत न्यूरोडमा बेच्न राखिएका
बिभिन्न मानवाकृतिमा कुँदिएका
हस्तकलाका सामानहरु मात्रै हुन् ।

अब कहाँ जाऊँ म देश खोज्न ?
सडक?
गल्ली?
सिंहदरबार?
मेरो गाउँ-बस्ती?
अझै अनुत्तरित छन्
मेरा प्रश्नहरु आफैसित ।

Durga Lal Shrestha – Sanjog [Bal Kabita]

जाँदै थिएँ बाटोमा
भेट भयो ऊसँग,
किन किन एक्कासि
दुवै भयौं झसङ्ग !

भरखरै लागेकेा
घामजस्तै झुलुक्क,
मुख हामी दुवैको
हाँस्यो त्यसै मुसुक्क !

थाहा छैन ऊ को हो,
तर कति अचम्म
हेर्दै हामी डुबेछौँ
आनन्दमै चुर्लुम्म !

उल्ले, मैले पाएको
आनन्द यो कस्तो हो,
भनूँ नै म कसरी
यो भनेको यस्तो हो –

२०५९ जेठ ४

Durga Lal Shrestha – Raat Paryo [Bal Kabita]

रात पर्‍यो, सुत्छु आमा
बिहान त होला,
त्यो घामले यो अँध्यारो
छिनभर धोला;

त्यसैले त मेरो मनको
रुँदै बग्छ खोला-
सपनाको त्यो बिहान
कैले खुल्छ होला –

त्यो बिहान मेरो, आमा
त्यो प्रभातफेरी,
अस्ताउने Continue reading “Durga Lal Shrestha – Raat Paryo [Bal Kabita]”

Komal Shrestha Malla – Jasto Ghaat Ustai Haat (Nepali Gajal)

कोमल श्रेष्ट मल्ल – जस्तो घात उस्तै हात (गजल)

जस्तो घात उस्तै हात छुटेपछि साथ
नजिक टाढा के कुन्नी छैन कुनै बात

फूलै फूल केहो जात किन छोप्छ रात
सोध्छ किन छिन छिन भित्र भित्र आत

भोग पियास कस्तो लौ खिस्स हिस्स दाँत
कस्तो नसा नपियरै अङ्ग अङ्ग मात

अहो अहो तर्कनाको नदेखिने खात
नजिक टाढा के कुन्नी छैन कुनै बात

Dibya Giri – Raksi Ra Mayalu Ko Maat Ustai Ustai (Nepali Gajal)

दिव्य गिरी – रक्सी र मायालुको मात उस्तैउस्तै
(मधुपर्क २०६६ जेठ)

रक्सी र मायालुको मात उस्तैउस्तै
मायालु र रक्सीको जात उस्तैउस्तै ।

आँखाभरि आँसु अनि छातीभरि चोट
दुखाई र वेदनाको खात उस्तैउस्तै ।

आˆनै Continue reading “Dibya Giri – Raksi Ra Mayalu Ko Maat Ustai Ustai (Nepali Gajal)”

Gopal Parajuli – D.C. Ma Mero Prabesh

गोपाल पराजुली – डी.सी. मा मेरो प्रवेश

टनी मरिसनको परिचय आँखामा राखेर
डी.सी. हेरिरहेको म
काला जातिको संवेदनालाई
मरिसनले
र मेरा आँखाले
मेरो देशको संवेदनालाई
पुनर्जीवित गरेर
म कसरी बाँच्न सक्छु
अमेरिकालाई हेरेर
आफैँतिर फर्किरहेछु
शत्रुहरूको खराबीको भविष्यवाणी गरेर
र शत्रुहरूले
मानिसहरूलाई हेरेर ताकेका
बन्दुक हेरेर
आँखाको उच्चतम शिखरमा बसौँ
कि आधुनिक संवेदनालाई आत्मसात् गर्दै
आधुनिक अमेरिकाको जीवनलाई समाएर
विश्वलाई स्वतन्त्रताको भाव दिन सक्ने
कथा कविता लेखौँ
मेरो र देशको मौनताको बीच
उठ्न सक्ने
सबै पर्खालहरू ढालेर
मलाई मेरो कवि दिन सक्ने
समयलाई
र मेरो मनमा हुर्किएको
कुनै नवागन्तुक योद्धालाई
परिचयका साथ
साथमा लिँदै
असल खराबका बीच हुर्किएको
एउटा संसार
आफैँले राख्नका लागि छानौँ
कि जीवनको व्यापकतालाई
अमेरिकातिर हेरेर
देशलाई दिउँ
र सम्झनलायक समयको
प्रशंसामा
अमेरिकामै बसेर
अन्तिम कविता लेखौँ
म मानवीय संवेदनाको स्वर
मैले मलाई बाँच्न दिएको जीवनमा भरौँ
र आˆनै कविलाई
आफूसँग खोसेर
अमेरिकी भूमिमा उभिएर
संसारलाई दिऊँ
कि प|mस्ट हेमिङ्वे
हृविटमनहरु
शताब्दीको र मेरो भएको
खुलासा गर्दै
आˆनो सूचना लिन
नेपालबाट
अमेरिका प्रवेश गरेको कुरा
घोषणा गरौँ
कि अमेरिकाकी
कुनै कवयित्रीको गर्भबाट
बुद्ध झिकेर
यो संसारलाई दिन चाहन्छु भनौँ
र हातमा अस्त्र नहुनेहरुलाई
जीवित राख्न
यो संसारमा
एउटा असल मानिस जन्मनु
जरुरी छ भनेर
बिहान उठ्ने बित्तिकै
कविताको अन्तिम हरफमा
सही गरौँ
बन्दै गरेका
प्रश्नहरुलाई आँखामा राखेर
मेरा सबै उत्तरहरुलाई प्रतीक्षाबाट झिक्न
र बाँकी प्रश्न नगर्न
मेरो कविलाई हेरिरहेछु ।

-वुडबि्रज, भर्जिनियाँ,
अमेरिका, नोभेम्बर-६, २००५

Hem Nath Ghimire – Chhati Bhitra Desh Dukhchha

हेमनाथ घिमिरे – छातीभित्र देश दुख्छ

राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ ।
बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥

अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ ।
दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥

हाना-हान नगरेर द्वेश-ईष्र्या भुले पुग्छ ।
लुछा-चुँडी सुन्दा पनि छातीभित्र देश दुख्छ ॥

सबै मिली देश निम्ति दिल थोरै खोले पुग्छ ।
सीमाना त्यो छुँदा पनि छातीभित्र देश दुख्छ ॥

गाउँ-बस्ती गरीबका निम्ति केही बोले पुग्छ ।
ताना-बाना बुन्दा पनि छातीभित्र देश दुख्छ ॥

अरु पछि मागौँला है ऐले सबै मिले पुग्छ ।
जहाँ जो नै रुँदा पनि छातीभित्र देश दुख्छ ॥

हेमनाथ घिमिरे
बाहुनडाँडा लमजुङ् ।

Rakesh Karki – Maya Timile Chhode Pachhi

इन्जिनियर राकेश कार्की – माया तिमीले छोडेपछि (गजल)

माया तिमीले छोडेपछि नसोध मलाई
बाचा कसम तोडेपछि नसोध मलाई

म त त्यहीँ छु जस्ताको त्यस्तै छु
अर्को जिन्दगी ओडेपछि नसोध मलाई

मनको बिरुवा उखेलेर Continue reading “Rakesh Karki – Maya Timile Chhode Pachhi”

Sarita Tiwari – Kramasha Jiwan Kabita Bhitra

सरिता तिवारी – क्रमश: जीवन कविताभित्र

मलाई आफ्नै आँखाले भेट्टाएका
क्षितिजहरु मन पर्दछन
चाहे ती जतिसुकै सुदूर किन हाहोउन
मलाई आफ्नै पौरखले चुल्याएका
आस्थाहरु मन पर्छन
चाहे ती चट्टानी पहाडहरुझैं
कुरूप किन नहोऊन

मलाई
आप्ठेराहरु मन पर्छन
जोखिमहरू मन पर्छन
अचेल त झन
अनास्थाक असुरक्षित सडकहरुमा
एकलै धावा बोल्दै
हिड्न मनपर्छ मलाई

मलाई सम्झना छ
मैले ककटेल सभ्यता पिएको साँझ
मेरा आँखाहरु म बाट छुट्टिएका थिए

आत्माले सम्बन्ध-बिच्छेद गरको थियो
मैलेआफ्ना आँखाहरुसंग घुँडा टेक्तै
प्याला फालिदिएँ

आत्मासंग माफ मांगे

त्यो बिहानी थियो
त्यहा कविता थियो

मैले यावत किरणहरु पिएर कविताका
जिन्दगीको बाटोमा नवीन यात्रा
सुरु गरेदेखी
मलाई
संघर्षहरुमन पर्दछन
स्वाभिमानका दिग्विजयी शिखरहरु उक्लदै
मलाई
कविताका मुस्कानहरुसंगै हाँस्न मन पर्छ

आमा !
मलाई बाँच्नका निम्ति
दीर्घायुको आशिर्बाद नदिनु
मलाई कविताका जीवनहरुसंगै
बाँच्न मनपर्छ

२०५५/१०/०३

Dibya Giri – Ma Arthat Hami


अर्थात
हामी
यतिबेला तपाईं सामु
यौटा निवेदन सहित उपस्थित छौं
सरकार!

अर्थात
हामी
तपाईंजस्तै यो देशका नागरिक
तपाईंकोजस्तो यो हाम्रो पनि जन्मभूमि
तपाईंलाई जस्तै प्यारो छ
स्वाधिनता
स्वतन्त्रता
र, Continue reading “Dibya Giri – Ma Arthat Hami”

Acharya Prabha – Bikshipta Nagari Ilam (Nepali Gajal)

आचार्य प्रभा – बिक्षिप्त नगरी ईलाम (गजल)

प्रकृतिकी रानीलाई दैवले छल्यो किन ?
सुन्दर त्यो आक्रिती,ध्वस्त भई जल्यो किन ?

हाहाकार नै मच्च्यो होला,धुँवाले नभ ढाक्दा
त्यती मनोरम शहर,दन्दनी बल्यो किन ?

प्रकृतिलाई हँसाई,आफु पनि हाँसेथ्यो
रुखो हावा त्यहि क्षण,सरर चल्यो किन ?

उच्च शीर फैलाई,पहाडको शान राखेथ्यो
त्यहि शीर कस्तोगरी,आज फेरि ढल्यो किन ?

हँसाइ सबैलाई स्वागत गर्दै बाँच्ने शहर
हाँस्ने अधरमा नै,कालो रंग दल्यो किन ?

(बिक्षिप्त नगरी ईलाम प्रति गजलरुपी शब्दहरु समर्पण फेरि एकपटक )

Dr. Mohan Prasad Joshi – Khai Ke Garechha?

डा. मोहनप्रसाद जोशी — खै के गरेछ ?

जिन्दगीले खै के गरेछ ?
खालि रूखहरूलाई हेरेछ,
‘जङ्गल’ को भावै भुलेछ,
चित्रहरूमा नजर अड्काएछ,
‘क्यानभास’ को होसै गुमाएछ,
विश्व मानचित्रका अनेकन् धर्का
हेर्नमै व्यस्त बनेछ,
साँच्चिकैको धरतीमा ती धर्का
छैनन् भन्ने बिर्सेछ ,
डाँडाकाँडा र आकाशलाई
अलगअलग देखेछ,
एउटै ‘ल्याण्डस्केप’ को रूपमा
दर्शन गर्न सकेनछ,
कान्तिपुर र भक्तपुरलाई
भिन्नभिन्न भनेछ,
फूलचोकीबाट अभिन्न देखिने
उपत्यका भुलेछ |

यो जिन्दगीले खै के गरेछ ?
खालि अंशहरूमै आँखा गाडेछ,
पूर्णलाई सम्झनै छाडेछ |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Komal Shrestha Malla – Dukhyo

कोमल श्रेष्ठ मल्ल – दुख्यो

म र मेरो कर्तव्य के हो ?
सिकाउने एउटा पाठशाला चाहियो,
बन्द, हडताल, आगजनी र चक्काजाम,
लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान
निस्तेज गर्ने, एउटा वधशाला चाहियो
किनकि, एउटा Continue reading “Komal Shrestha Malla – Dukhyo”

Chanki Shrestha – Kayakalpa

(मणिपुरकी इरोम शर्मिलालाई जो फौजी
बर्बरताविरूद्ध गरिरहे की छन् सत्याग्रह )

मानवताविरूद्ध लडाइँले
अर्को मानवीय लडाइँ सुरु गर्छ
जसरी आतंकविरूद्ध आतंकले
सुरु गर्छ अर्को धारको व्रि्रोह ।

कुनै बादलमा Continue reading “Chanki Shrestha – Kayakalpa”

Santosh Lamichhane – Hami ra Hamro Batawaran

सन्तोष लामिछाने – हामी र हाम्रो वातावरण

मेरो वरीपरी
घनघोर जंगलबाट आउने
शित्तर हावाहरु
गर्मीका पंखा हुने गर्थे

चराका चिर्चिरसँगै
धर्ती अनि आकाश
खोलाका सुसाइमा
संगीत सिर्जना गर्थे

गहेन्द्र सम्सेरका बन्दुक बोकेका
जंगबहादुरहरु
मेरै चारकोसे झाडीहरु अनि
बाँसका झाङहरुमा
वनक्रिडा गर्थे

शान्तिका साधना गर्ने बुद्धहरु
‘ॐ शान्ति शान्ति’ भन्दै
मेरै छहरा अनि पहरा गुञ्जाउँथे

वेदध्वनीहरु संखका धूनमा समाहित भएर
गीता र त्रिपिटक उराल्थे

तर आज
मेरा वागमती र विष्णुमतीहरु
नालीको गन्धले टाइफाइड र जण्डिसका रोगी भएका छन्

मेरा आफन्तहरु
अनेकौं रोगले च्यापेर
मृत्युशैयामा सिकिस्त छन्

वातावरणको विनाशले
मेरा डाँफे नाँच्ने गुँरासे पाखाहरु नाँगिएका छन्
हरिया वन अनि केराका घारीहरु
ऐंसेलुका बोट अनि बयरका बुटयानहरु !
फाँडिएर उजाड मरुभूमिझैं भएका छन्
अनि मेरो माटो
बाढी पिडित भएर तप्प तप्प आँसु चुहाइरहेछ

यसरी वातावरण मबाट भाग्न खोलेको छ
मबाट भाग्न खोजेको छ ।

Ashesh Malla – Farkai Deu Mero Manko Ek Jodi Parewa

अशेष मल्ल – फर्काइदेऊ मेरो मनको एक जोडी परेवा

आज कतै गएर
एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ

मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न Continue reading “Ashesh Malla – Farkai Deu Mero Manko Ek Jodi Parewa”

Madhav Prasad Ghimire – Afnai Roop Ko Chhaya Heri

माधबप्रसाद घिमिरे – आफ्नै रूपको छायाँ हेरी
(‘किन्नर-किन्नरी’)

अञ्जुलिमा उबाएर पिऊँपिऊँ पानी
आफ्नै रूपको छाया हेरी छक्कै रूपा रानी

अञ्जुलिको यही पानी आफैं पिइद्यूँ त
आफ्नै रूप पिइन्छ कि? यही पानीसित

अञ्जुलिको यही पानी भुइँमा पोखिद्यूँ त
आफ्नै रूप पोखिन्छ कि? यही पानीसित

काँपिगयो अञ्जुलि त, भुइँमा पर्यो पानी
त्यस्तै फुल्यो फूल पनि, जस्ती रूपा रानी