Amar Nembang Limbu – Triveni Dobhan

अमर नेम्बाङ लिम्बू – त्रिवेणी दोभान

वर्षौँ पहिले
श्रावण महिनाको एक दिन
स्थानीय त्रिवेणी दोभानमा
जलाएको थियौँ हामीले
मेरी स्वर्गीय मुमाको लाश ।
मुमालाई दोभानमा झार्दा
कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर
ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले
वनको देवताको लागि भनेर ।
आमालाई जलाएर
माथि घरमा आइपुग्दा पनि
घरिघरि झझल्को आइरह्यो मलाई
त्यो सानो चल्लोको ,के भयो भनेर ।
हिजोआज पनि
जब आमालाई जलाएको सम्झना आउँछ,
एउटा सम्झना अर्को सम्झनासँग टाँसिए जस्तै
अनायास त्यो सानो चल्लोको पनि
सम्झना आउँछ मलाई ।