Sarubhakta – Tandav Nritya

स्वप्नसम्वोधिः विवर्तित वाँदरहरु
वमका गिदीहरु बोकेर
माधे सक्रान्तिको मेला भर्छन्
ढुङ्गे साँघुतिर
फाटेका धर्तीहरु
जिन्दावाद !
तुहिएका युगहरु
परावैजनी स्पर्शहरुमा
ओजन छिद्रित छन्
धमिराका जनप्रसादतिर
कमिलाहरुले धावा बोलेका छन्
काँचुलीमा हराएका जिन्दगीहरु
हुस्सुका सुरुङ्गभित्र
भोका अजिङ्गरहरु जन्माइरहेछन्
हिमालहरुको देशः ताण्डव नृत्य चलेको छ
ढाड भाँच्चिएका पहाडहरु
वसिवियाँलो गर्दैछन् –
‘हामी कहाँ एटना र भिसुभियसहरु छैनन
त्यसैले मान्छेहरु विस्फोटित छन् !’
अग्रिम युद्धमोर्चाः मनका प्रक्षेपाश्त्रीय भूमिहरु
आउ, हिमालका आँसुहरु पिएर
फोसिल उत्खनन् गरौं
शुम्भ निशुम्भका
किरातार्जुनीय तपोभूमिः छलनाहरु वर्जित छन्
आउ, हाकाहाकी मनको खेती गरौं
मान्छेको आधा मन देउताको जीउमा छ
आधा मन राक्षसको जीउमा छ
प्रकोपप्रकृतिः किन जिन्दगीको गतिलो पाठ वन्दैन ?
यहाँ जड पदार्थहरु दङ्ग छन् किन
चेतनपदार्थहरु वर्गीकृत छन् ?
सक्रान्तिप्रतीक्षाः वनवास गएका राजनीतिहरु
हेर, हामी नक्सा देशका बासिन्दाहरु
नक्सा देशमा मरिरहेका छैनौं
अन्ततोगत्वाः देश कस्ले विगा¥यो ?
कुम्भकर्णहरुले देश विगार्दैनन् ।