Sarubhakta – He Barai

सरुभक्त – हे बरै

म अग्निपर्खाल चढेर
संसदीय चोरबाटासम्म आइपुगेको छु
वायोनिक – यान्त्रिक माछाहरु
रोयल डिस्कोका भिडन्तहरु
आउ, मुखमा सुइरो रोपी हिडौं
सांघातिक आक्रमणहरु सामान्य छन्
वेरुजुमा परेको देशः कथित वन्दहरु खुल्ला छन्
हामी मिशनरीहरुका मिशनहरु
देशमा के–के अफापसिद्ध भएको छ
फापसिद्धहरु ?
हुइयाँ ! हुइयाँ !
हामी ऐतिहासिक डार्विनवादीहरु
राजाको काम कहिलेजाला घामवाट
जनताका काम सवै मेरो मामतर्फ
विवर्तित छौं
अँधियाँ जिन्दगी ः खोई के गर्दैछन् जिव्रो
काटिएका भक्तराजहरु ?
थुक्क नियती ! धेरै भएपछि अग्निपरीक्षापनि
पानीपरीक्षा हुन्छ हौ
संकटग्रस्त इजलासः टाउकाका ताराहरु सस्तै छन्
जाउँ, छापामार तालिमगर्न
खेतमा मुसाहरुको विगविगी छ
‘जिमजाने होइन सोम के हत्याहिंसा पढिरहेको !’
यो कुरा स्वयंसिद्ध छः पृथ्वीमा शोषणको
अन्त्य हुँदैन शोषणको रुपमात्र फेरिन्छ
हे बरै झलकमान !
कस्ले पो सोध्लिन् र खोई को–को
के–के भन्लिन् ? …