Nawaraj Subba – Diyo Ra Putali

यो दियोमा
खोजेको उज्यालो
रोजेको आस्था
यंही हो भनेर
झुम्मिएर डढेका
हजारौं पुतलीहरूको लास
दियोको वरिपरि देख्छु
भावनाका पखेटा जलेका
कतै चाहनाका खुट्टा बलेका
आस्थारुपी शरीर
खरानी भएका अवशेष
म मेरै पूजा कोठामा पाउँछु
उज्यालो खातिर जल्ने पुतली
सुगन्धका लागि जल्ने अगरबत्तीका
बाँकी रहेका गन्धहीन खरानी
मेरो पूजाकोठामा छन्,
स्वभाविक रुपमा
पूजाकोठा सफा गर्दागर्दै
मेरो र पुतलीको नियति
उस्तै पाएँ
अचानक
आज मैले मेरै दर्शन पाएँ
म स्वयं
पुतलीको चोलामा छु ।