Sagar Saud – Tyahan Ujyalo Hundai Chha

सगर साउद – त्यहाँ उज्ज्यालो हुँदैछ ।

अन्धकार रात
भयावह निशा चिरेर
त्यहाँ सूर्योदय हुँदैछ ।

मिर्मिरेको शितल पवन
भररातको त्रासले मृत्यू भएका
जीवनहरु त्यहाँ
पुनः जीवन लिएर
पंछीहरु चिर्विराईरहेछन्
फूलहरु हल्लिदै यता उता
भ्रमरहरु टहलिदै यता उता
किटपतंग आफ्ना
संसारी कर्महरुमा लीन हुँदैछन् ।

तप्तप् खसिरहेका शीतका थोपाहरु
वृक्षबाट धर्तीमा
धर्ती उज्ज्यालो हुँदैछ
धर्ती नादमय हुँदैछ
जीवन पुनः चल्मलाउँदैछ
सूर्योदयका नवीनकिरण पुञ्ज
चराचर जगतमाथि सर्वसमान वर्षदैछन् ।

कालो कालो मोसो जस्तो अन्धकारले
आफनो ओडनीले अठ्याएको
त्यो भूमी
त्यो देह
त्यो जिन्दगी
रात फाटेर
त्यहाँ उज्ज्यालो हुदैछ ।

ढुंगा छोडी भावतर्फको यात्रा
काया छोडी आत्मातर्फको यात्रा
सुख छोडी आनन्दतर्फको यात्रा
शरीर छोडी मनतर्फको यात्रा
ऐस छोडी बैराग्यतर्फको यात्रा
बाहिर छोडी भित्रतर्फको यात्रा
चक्रव्यूह छोडी निकासतर्फको यात्रा
अन्त छोडी अनन्ततर्फको यात्रा ।

विहान हुँदैछ
छोडी अन्धकार स्वभावहरुको कालो धङ्धङी
विहानीको शीतवृष्ट्रिमा
पवित्रस्नान र शीतल पवनको स्पर्शले
थकान, भागदौड, तँछाडमँछाड
तेरोमेरो, नाफाघाटा, रिसराग
ईष्र्या र अहम्लाई
ज्ञानपुञ्ज, शक्तिपुञ्ज, ज्योतिपुञ्ज
सृष्ट्रि नियामक सूर्यदेवका कोटी कोटी
अग्निचरणमा तपर्ण गर्दै
त्यहाँ आफनो खोजतर्फको यात्रा
प्रकाशपुञ्जतर्फको यात्रा
व्यक्त छोडी अव्यक्ततर्फको यात्रा
शान्तीतर्फको यात्रा
अनुशासनतर्फको यात्रा
मानवतातर्फको यात्रा
सृजनातर्फको यात्रा
सभ्यतातर्फको यात्रा ।

त्यहाँ सूर्योदय हुँदैछ ।
त्यहाँ उज्ज्यालो हुँदैछ ।

Tanka Subba – Uhile Ra Ahile

टंक सुब्बा – उहिले र अहिले

उहिले
अहिलेको जस्तो थिएन
अमनचयन थियो
न्याय निशाफ थियो
जीवनको मुल्य थियो
त्यसैले
अघाउन्जेल हाँस्न पाइन्थ्यो
कुनै व्यवधान थिएन
बाचुन्जेल जिवन
बाँच्न पाईन्थ्यो
अहिले
एक्कासी बद्लिएकाछन्
समयका अनुहारहरु
र वेग्लिएका छन्
वर्तमानले वोल्ने भाषाहरु
त्यसरी नै विचारहरु पनि
वाडीएकाछन्
चुडीएका छन्
फुक्लिएकाछन्
फलस्वरुप
मानविय आस्थाहरु भत्किएकाछन्
मानविय विश्वासहरु लच्किएकाछन्
मानविय संवेदनाहरु हराएकाछन्
मात्र स्वार्थ व्युँझिएकोछ
मान्छेहरुमा यसरी मानवत्व लोप भएपछि
यहाँ हिंसा बढेकोछ
यहाँ हत्या बढेकोछ
त्यसैले मान्छेहरुको मन दुख्दैन
किनकी उनीहरुको मुटु ढुङ्गा जस्तै भएकोछ
त्यसकारण मान्छेले मान्छेलाई
हेर्ने दृष्टि र दृष्टिकोण
जङ्गवहादुरको जस्तै वनेकाछन्
अचेल यी आँखाहरुमा
दृष्टिप्रेम छैन
अचेल मान्छेहरुको हृदयमा
भातृत्व प्रेम छैन
आधुनिकताको नाममा
विकासको नाममा
मान्छेहरु यान्त्रिक बनेकाछन्
त्यसैले मान्छेले मान्छेहरुको
अस्मिता लुटेकाछन्
आकांक्ष थुतेकाछन्
यसरी मान्छेले मान्छेलाई
निर्मम शिकार वनाएकाछन्
यहाँ दृश्यहरु देख्ने आँखा मात्र छन्
सहयोगका आँखाहरु छैनन्
सद्भावका आँखाहरु छैनन्
त्यसैले ती आँखाको कुनै काम छैन
किनकी आँखा भित्र आँखाहरु छैनन्
अहिले
यसरी परिभाषीत भएकोछ
उहिले त्यस्तो थिएन
जो अहिले भैरहेकोछ
उहिलको र अहिलेको परिस्थिती
यहाँनेर यसरी छुट्टीएकोछ
यहाँनेर यसरी वेग्लिएकोछ
यहाँनेर यसरी निर्जीव वन्दै गएकोछ
अहिले
सुनियोजित ढङ्गले
लुटिनु र भुटिनुको खेल खेलिन्छ
त्यसैले अहिलेसँग
न्याय गाँसीएको छैन
निशाफ जोडिएको छैन
मात्र महत्वकांक्ष छोडिएको छ
मात्र स्वार्थ गोडीएकोछ
जस्ले वर्वरता थपीरहेकोछ
जस्ले क्रुरता निम्त्याईरहेकोछ
अहिले यसरी वौलाहीरहेछ
अहिले यसरी मौलाईरहेछ
तर उहिले
त्यस्तो थिएन
अमनचयन थियो
न्याय निशाफ थियो
जीवनको मुल्य थियो
त्यसैले
अघाउन्जेल हाँस्न पाइन्थ्यो
कुनै व्यवधान थिएन
बाचुन्जेल जिवन
बाँच्न पाईन्थ्यो

Sumitra Kafle – Jindagi Ko Anautho Khel

सुमित्रा काफ्ले – जिन्दगीको अनौठो खेल

सपना सुन्दर जिन्दगीका घुमिरहन्छन् वरिपरि
कर्तव्य र जिम्मेवारीहरू झकझक्याउँछन् सधैँभरि
इच्छा र आशाहरू उब्जन्छन् मनमा सदासदा
सपना र कर्तव्यबीचको जिन्दगीको अनौठो Continue reading “Sumitra Kafle – Jindagi Ko Anautho Khel”

Kamala Risal ‘Jyoti’ – Timi Aayou (Nepali Gajal)

कमला रिसाल ‘ज्योति’ – तिमी आयौ जून पनि मुस्कुराई शान्ति (गजल)
(मधुपर्क असार, २०६७)

तिमी आयौ जून पनि मुस्कुराई शान्ति
निदाएकी मनचरी जुर्मुराई शान्ति ।

कोइलीले गाउन थाले रनवन डुल्दै
स्वागत गर्न न्यानो हावा सिर्सिराई शान्ति ।

हिमपरी हाँस्न थाले दन्तलहर खोली
चन्द्रसूर्य अंकित झण्डा फर्फराई शान्ति ।

लाली छर्दै गुराँस पनि फुल्छ वनैभरि
अचेतमै तिम्रो ‘ज्योति’ बर्बराई शान्ति ।

Komal Shrestha Malla – Ke Lagchha ? (Nepali Muktak)

कोमल श्रेष्ठ – के लाग्छ ? (मुक्तक)

बिजय खोजको सोचहरु
प्रयासमै अस्ताए के लाग्छ ?
पाइलै पिच्छे पथहरू
पहिरोले लडाए के लाग्छ ?

Min Dwandi – Jaitun Ra Parewa

भोको पेटले भोकै देख्छ स्वयम्भूका आँखाहरू
नांगो आँतले नांगै देख्छ निंदमा पनि सपनाहरू
म भोको छु, केवल खाने बस्तु सोच्न सक्छु
म नांगो छु, केवल लाउने बस्तु सोच्न सक्छु
म भोकले मरणासन्न अवस्थामा
कसैले आकाशमा उडाएर परेवाहरू खेर नफाल्नू
किनकि तिनबाट मेरो केही छाक टर्न सक्छ
म जाडोले मरणासन्न अवस्थामा
कसैले जैतुनको हाँगो ल्याएर नओढाउनू
किनकि, त्यसको चिसोले यो ज्यान मर्न सक्छ ।

Govinda Singh Rawat – Satta Bhitra Ko Anka Ganit

सत्तामा भित्रिए पछि बाहिरिन कोही मान्दैनन्
सत्ता रोहण गर्नेले बाहिरका लाई मान्छे नै ठान्दैनन्
किनभने
बाहिर चर्को घाम छ सडक जाम छ जताततै लामैलाम छ
भित्र मीठो माम छ नजराना र प्रत्येक बोलीमा दाम छ
बाहिर Continue reading “Govinda Singh Rawat – Satta Bhitra Ko Anka Ganit”

Bhupin Byakul – Pariwartan

भूपिन ब्याकुल – परिवर्तन

म त्यही देशको उदास कवि हूँ
जहाँ परिवर्तनको नाममा
मात्र मौसम परिवर्तन हुन्छ !

रुखको देहबाट
उडेर जान्छ पुरानो गन्ध
र नयाँ बैंश पलाउँछ
हिमालको आँखाबाट
चुहिएर सकिन्छ निद्राको साँझ
बगिरहेको नदीहरुमा
फरकफरक लहरहरु दौडन्छन्
तर उस्तै छन्
सोचका साँघुरा गल्लीहरु
अन्त हुने हाम्रा यात्राहरु
हाम्रो जीवनको क्यालेन्डरमा
मात्र बर्ष परिवर्तन हुन्छ

जताततै
आवाजका लस्करहरु छन्
हामीसँग तिनीहरुलाई सुन्ने कानहरु छैनन्
जताततै
उत्सवका तयारीहरु छन्
हामीसँग तिनीहरुलाई देख्ने आँखाहरु छैनन्
युगका अँध्यारा गुफाहरुमा
हामीहरु
उही आदीम निद्रा सुतिरहेछौँ
हाम्रै आसपासबाट गुज्रिएर
मात्र समय परिवर्तन हुन्छ !

मा त्यही देशको गरिब कवि हुँ
जहाँ परिवर्तनको नाममा
मात्र मौसम परिवर्तन हुन्छ !

Saran Rai – Antim Sandesh

सरण राई – अन्तिम सन्देश

वाक्य बसिसकेको छ
बोल्न त के
ओठ समेत चल्न सकेन
इशारा गर्ने सामथ्र्य छैन
मुन्टो घुमाउन नसक्ता
नानी आँखाको घुमाएर, हेरेर
आँसु झार्न चाहन्छ होला
जीवनले साथ नदिँदा
आँसु आँखामा जम्न सकेन
आँसु समेत झार्न सकेन
अन्तिम क्षण–अन्तिम बेला
कठैबरा ! बिचरा !!
अन्तिम सन्देश भन्न सकेन ÷बोल्न सकेन
संकेतले पनि व्यक्त गर्न सकेन …च्च..च्च…
अन्तिम बेला अन्तिम सन्देश छोडन सकेन ।

धरान

Bhira Khadka – Timro Yaad Aaunchha

भीरा खड्का – तिम्रो याद आउछ

तिम्रो याद आउछ सारै सताउछ
बिर्सन सकिन
माया याद आउछ धेरै रुवाउछ
सहन सकिन
कति सुन्दर थियो
त्यो हाम्रो संसार
आगो कसले लगाइ दियो
जली सके म
खरानी भएछु
तिमीलाई भुल्न सकिन
माया याद Continue reading “Bhira Khadka – Timro Yaad Aaunchha”

Amar Nembang Limbu – Triveni Dobhan

अमर नेम्बाङ लिम्बू – त्रिवेणी दोभान

वर्षौँ पहिले
श्रावण महिनाको एक दिन
स्थानीय त्रिवेणी दोभानमा
जलाएको थियौँ हामीले
मेरी स्वर्गीय मुमाको लाश ।
मुमालाई दोभानमा झार्दा
कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर
ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले
वनको देवताको लागि भनेर ।
आमालाई जलाएर
माथि घरमा आइपुग्दा पनि
घरिघरि झझल्को आइरह्यो मलाई
त्यो सानो चल्लोको ,के भयो भनेर ।
हिजोआज पनि
जब आमालाई जलाएको सम्झना आउँछ,
एउटा सम्झना अर्को सम्झनासँग टाँसिए जस्तै
अनायास त्यो सानो चल्लोको पनि
सम्झना आउँछ मलाई ।

Tanka Subba – Manchhe Adambari Huna Sakchha

टंक सुब्बा – मान्छे आडम्वरी हुन सक्छ

सेवामा
श्रद्घाले शिर झुकाएर
कसैले पाउ छुन्छ भने
अथवा
निश्वार्थ प्रेमले ओतप्रोत भएर
सच्चा हृदय कसैले देखाउछ भने
सायद कोही नहोला
यस जगतमा
प्रश्न चिन्ह खडा Continue reading “Tanka Subba – Manchhe Adambari Huna Sakchha”

Pravin Rai Jumeli – Man Mareko Durghatana Bare Euta Report

प्रवीण राई जुमेली – मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट

सधैं त सरीर मर्थ्यो मन बाँच्थ्यो
यसपाली त मन चाहिँ मरेछ सरीर बाँच्यो

नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो
विडम्बनाको भीरमा वैरिएछ
‘ए झरी’ भन्थ्यो ‘रे मर्नअघि
अलिकति घामको किरण पनि माग्थ्यो ‘रे
नीलो आकाशलाई हेरेर त झन् सासै चुँडिन गाह्रो भो ‘रे
मर्दै गर्दा त्योसित एकान्तको साथ थियो ‘रे

सरीर मर्नलाई त एउटा ढुङ्गाको चोट नै मनग्गे
छुरीको एउटा सानो प्रहार नै मनग्गे
तर गीतबाट भाका नचुँडी
रुखबाट हरियो नखोसिई
कहाँ मर्छ र मन कहाँ मर्छ र मन

समयले भन्थ्यो ‘रे हामी अमर्त्यसेन-खोला सुकेको देख्छौं
असीम एउटा वानगोफ-बोध हराएको देख्तैनौ
हामी सुन्छौं पण्डित बजेको ज्ञानहरु
तरलताको अरुणालामा-रुदनहरु सुन्दैनौ
समयले त्यसै भन्थ्यो ‘रे

कति सुटुक्क मऱ्यो त्यो समयकै षडयन्त्रमा
कसैको गजप मुटुले देख्नै भ्याएन
मलामीको रमिता भर्न र विषादको काँध दिन पाएन कसैले
हिप्पोक्रेसी गन्हाउने फूल नै चढाउन आएन
कुनै भ्रमको महत्वकांक्षी हात
आस्था नामक सरौको सूचीमा पनि चडेन
राहत भनिने केही छद्म राशी

समवेदनाको साइटभरि बोधो कंक्रिटहरु ठडिन थालेछ अहो
मनको चिहानमाथि विस्मृतिको बनमारा उम्रिन थालेछ॥

Manu Brajaki – Paindaina Kehi Bhanne [Nepali Gajal]

मनु ब्राजाकी – पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै (नेपाली गजल)

पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै, पाउने आशा अझै पनि लागिरहेछ,
तिमी सुत्यौ मुटुभित्र मेरो निदाएर, ञमनु अब रातभरि जागिरहेछ ।

समयको साथ सबै मेटिएर जान्छ, भन्ने कुरामाथि कति भर परुँ म,
कस्तुरी झैं तिम्रो मायाँ मनमा रहेछ, सुगन्धको खोजी गर्दै भागिरहेछ ।

जाँदाजाँदै फर्किफर्कि हेर्ने बानी त्यो, तेही नजरलाई अझै सम्झिरहेछ
तिमीसँग भेट हुने कल्पनाले नै, विषलाई अमृत झैँ चाखिरहेछ ।

बोल्नु परे एउटै शब्द बाँकी रहेथ्यो, त्यही भन्न खोज्दाखोज्दै घाम अस्तायो
धेरै धेरै कुरा भए तर पनि त्यो, एउटै कुरा मनले अझै राखिरहेछ ।

बादल झैँ टुक्रा टुक्रा छरिदै म हिँडे, आकाशमा लाखलाख ताराहरु छन्,
मन गगनले एउटा सानो जूनमात्र, अन्धकार मेट्न भनी मागिरहेछ ।

प्रतीक्षाको वेदनाले नसताओस् भनी, मनलाई ञमनु जस्तै ढुङ्गा बनाएँ,
हुँदाहुँदै यसैगरी हीरा भएछु, नभनिदेऊ हीरा पनि दागी रहेछ ।

Dinesh Chapagain – Chaite Kathmandu : Paanch Haiku Haru

दिनेश चापागाञी – चैते काठमाण्डौं: ५ हाइकुहरू

फागुको दिन,
रङ्गिन हल्लाहरू –
मुसो एक्लो म !

क्याफेरिनामा,
फूल काँडाको हाँसो –
हिमाल मौन !

हावा हुरीमा,
बच्चा हुर्क्याएको थ्यो –
उडेर गयो !

शब्दको वर्षा,
बेमौसमी फूल झैं –
घण्टको रण्को !

सारौँको हुल,
बिस्कुन सुकाएको –
एक्लो परेवी !

Shekhar Dhungel – Bhanchhin Meri Uni

नपछ्याऊ अब मलाई
मेरो बाटो अझै कठिन हुँदैछ
हिंड्नु छ मलाई
काँडाघारीको गोरेटो
तिम्रो सुकिलो लिवास
उध्रिन सक्छ
चिल्लो फराकिलो बाटो
रोज्नेहरू
दोष मलाई आउन सक्छ
फर्की जाऊ सुखको संसार
मलाई त अँझै पत्थरिला
बाटोमा Continue reading “Shekhar Dhungel – Bhanchhin Meri Uni”

Shrawan Mukarung – Coffee Shop Ma

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ

धिरज राई, नवीन भट्टराई, विधान श्रेष्ठ
या बबीन प्रधानका थोत्रिँदै गएका
पपगीतहरूका कुरा

कृष्णभूषण बल, शैलेन्द्र साकार, विष्णुविभु
या विमल निभाका फाट्टफुट्ट आउने
टुक्राटाक्री कविताहरूका कुरा

सौरभ, नवीन सुब्बा, प्रकाश सायमी
या नारायण वाग्लेका आक्कलझुक्कल देखिने
देखिने लघु लेखहरूका कुरा

यस्तै केही…
अल्छीलाग्दो घाम
थानकोटवरपरका घुर्मैला पहाडहरू भएर नझरुन्जेल
या सल्किरहेको चुरोट आफैँ एस्ट्रेछेउछाउ कतै नखसुन्जेल
छेवैका गमलाका नाङ्गा फूलहरूमा
एक सौ बीस वाटका बिजुलीका तीखा र कामुक प्रकाशपुञ्जहरू
नपरुन्जेल
त्यत्तिकै…
अलमिलनु छ/गुथ्मुथिनु छ/धुम्धुमिनु छ

आजका अखबारहरूमा कुनै उत्तेजना छैन
बिल क्लिन्टनको मुख–मैथुन
वामदेव गौतमको सरकार छोड्ने
बाबुराम भट्टराईको सङ्घर्षको अर्को चरण
सब, सामान्य कुरा

नजिकैको शमीको रुखमा
एक बथान कागहरूबीच
भरे बासका लागि झगडा भइरहेको छ
अफिस छुटेको समय
ट्रााफिक आफैँले ट्राफिक जाम गरिरहेको छ
सब, सामान्य कुरा

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ

यस्तै–यस्तै
केही छल्न
केही यथानामहरू छन् सहरमा–
देश/राजा/जनता/प्रजातन्त्र/गणतन्त्र
कला/साहित्य/संस्कृति/सगरमाथा
सब, सामान्य कुरा

बतास
हिजोको भन्दा निक्कै चल्ने छ
ज्याकेटको चेन माथिसम्मै तानौँ !
पहेँलो घाम छोप्न–
स्वयम्भूमाथि बादलका उही झुप्पाहरू भेलिँदै छन्
मौसम बदलिन्छ कि जस्तो छ
विप्लवजी ! पकेटको अवस्था कस्तो छ ?

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ ।

Bishnu Bibhu Ghimire – Kathai Mero Man

विष्णुविभु घिमिरे – कठै! मेरो मन
(Source: Himal Khabar)

तुलसा तिमीले एकदिन भन्यौ
मन त हावा हो, सर
मनको भर पर्नुहुँदैन
यो त के के माग्छ- के के
यसले मागेजति दिने हो भने
… सबै सिमाना नाँघिन्छ

गीता Continue reading “Bishnu Bibhu Ghimire – Kathai Mero Man”

Yuddha Prasad Mishra – Para Jaa Para Jaa

युद्धप्रसाद मिश्र – पर जा पर जा

भ्रष्ट प्रशासन पर जा पर जा
रक्त क्रान्तिको घन्क्यो बाजा
उठ्यो बबण्डर हुँदै सशक्त
महल अटारी अस्तब्यस्त

सामन्तीले संगीन रोप्यो
जनजागृतिले दुनियाँ छोप्यो
झुपडी भन्दछ शहरै घेर्छु
धरती भन्छिन् काया फेर्छु

थाम्दा थाम्दा थाम्नै नसकी
पीडितहरूका टेवा मर्के
अड्दा अड्दा अड्नै नसकी
अग्ला घरका भित्ता चर्के

जाली दोषी क्रूर कठोर
पीडित जनका पसिना चोर
निम्न जनका रक्त पिपासा
धरतीका गुण गौरव नासा

(हलकारा-१०:२, ०४६)

Shiva Prakash – Manchhe Bhitra Ko Manchhe

बुद्धिमान प्राणी !
मान्छे भनेर चिनिने
मान्छेभित्र
अर्को मान्छे हुँदो रहेछ,
बाहिरको मान्छे
मान्छे जस्तो देखिए पनि
मान्छे भित्रको मान्छे
बिल्कुल फरक हुँदो रहेछ ।

मुखले मान्छे बोले पनि
उही मान्छेभित्र Continue reading “Shiva Prakash – Manchhe Bhitra Ko Manchhe”