Laxmi Prasad Devkota – Shaha Jahan Ko Ichha

क.
यमुनाजलमा बज्दछ मुरली !
जलमा बुलबुल रुन्छन् पिलपिल !
रुन्छन् कलकल !
यो तटको, वन छाया छवियुक्त
यौवन, यौवन !
दिवानिशाको छाया अङ्कित,
वियोगमिलनको क्रीडाभूमि,
वृन्दावन !
यो मिलनको रोइरहेको इतिहास !
याद रुँदाको बास !
पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरुको बतास !

ख.
सरिताको छ सागररोदन !
एक सुनौली सन्ध्या पछाडि,
खोजी, खोजी,
पौडिरहेछन् जलमा क्रन्दन,
जलमा क्रन्दन !
अबोला निशा छ चिहान सरि यो,
कब्र उपरका क्रन्दन सरि
आँसु बिन्दिए स्वर्ग भरि रे,
स्वर्गभरि !

ग.
विश्वका अघिपति रुन्छ यहाँ,
आफ्ना पूmलहरुमा !
आफ्ना मृत्यु र परिवर्तनका
आदिम, स्वनिर्मित नियम रुपका
भूलहरुमा ! भूलहरुमा !
आफैं घोची आफ्नो छाती
शूलहरुमा ! शूलहरुमा !

घ.
तिनी सुतिन् यो लहरीमाथि,
सुन्दरता !
जागृति–शिथिला कोमलता !
बोल्थे मुगाहरु, बोल्नै छोडे !
मोती गुड्दथे, वर्षन छोडे !
जलभर दृग छु, जागा राति !
मस्त निदाइन् नित ती साथी !
ओह ! अकेलापन क्या रुन्छ
आकाशभरि !
चकमन्न पारी !
ओढ्छिन् कफन जब भै विचरी !

ङ.
पुरुषको अतिपरुष छ माग के
अति कोमलमा जग–वनका ?
थकित भए जो शान्ति लिनाका
पार जगत्का वनका ?
लाग्यो थकाइ, तिनी निदाइन् ।
दोष के तिनका ?
“फर्क” भनीकन रुन्छ सदा मन,
तर हा ! वियोगी जनको !
क्रूर माग हो ! कसरी आउन् !
नगलोस् पाउ सुमनको ?
अनन्त शान्ति हो जाती !
दुःख दिंदो छु तर म पुकारी !
राज जस्तो दिनको पनि अझ
आज छ मेरो राति !

च.
सुकुमारीको कुन चिर जीवन ?
उपवनमा वा जनगणना ?
शिखरज्योति झैं सुनधूलीमा चढिरहेकी
झप्प निभिन् ती, क्षणमा !
एक चखेवा रुन्छ असङ्ख्य
ताराहरुको वर्षणमा !
आँखा जस्तो नीलो गगनमा,
गरेर क्षण, क्षण, कणकणमा !

छ.
हात उठाई फैलाईकन, रोई, रुहले
सोध्दछ कोही
“ए सन्नाटाको घोर महावन !
ती लुकेकी खोइ ?”

ज.
अन्तताको सघन महावन
प्यास चहार्दछ ।
जीवनज्योतिको ज्वाला कहाँ गो ?
अपनाएथेँ जो रोजी ?
अन्धो आँखाको यो तिर्खा
गर्छ मशीहा साथ सवालः
“अमिट खोजले सारा ढोका
खोलि हेर्दा, मिल्दछ काहीँ,
दिव्य गुमेको माल ?”

झ.
थिइने दया ती ! निष्ठुरता म !
आफ्नी ढुकुटी भन्ठानेँ !
मसिना, खस्रा, सारा इच्छा
थन्काएथेँ—अब जानेँ !
ज्योतिभन्दा मसिनी थिइन् ती
माटोभन्दा खस्रो म !
अन्दाज सच्चा गर्न सकिन !
प्यारको सेवा हाय ! पुगेन !
लायक कदर रहिन !

ञ.
यस तटमा छु सागरको म
उस तटमा छौ ए मुमताज !
शाहजहाँ यो छटपट गर्दछ,
पदधूलीमा फ्याँकी ताज !
असीम अकेलापन अब रुन्छे,
ती सब दाना, ती सब दाना
जसले बन्यो यो संसार !
आधा जीवन शून्य विलीन छ,
आधा बग्दछ स्मृतिको धार !

ट.
अनन्त भाग्यको अनन्त अभागी
गरीब शाहको ए दिलताज !
याद धनी छन् रुँदा, सडकमा,
अपूर्व सपना मागी आज ।
रङ्कपनमा सचेत बनेको
मेरो, अमरमा के उपहार ?
संसार चढाऊँ ! जीवन चढाऊँ ?
तुच्छ छ त्यो पनि ए सुकुमार !

ठ.
हाम्रा धन सब माटो धुलिन्छन् !
भावपुतली उड्छन्, भुलिन्छन् !
अमर तिमीमा के उपहार ?
नीरवताले छुन्छे हाम्रो
स्पन्दित दिलको चिर गुञ्जार !
क्रन्दन, पुकार !
छायाचित्र यो संसार !

ड.
लाचारीका झुक्का पलकमा जल गुड्दछन् !
इच्छा रङ्गिन्छन्, उड्छन् !
केवल अमर कलाको इङ्गित
नाघ्दछ देश र काल अपार !
मिली सुत्यौ यस जगतिर भन्ने,
मिली उठयौं उस जगतिर भन्ने
भस्म मस्मको विवाह जनाउन,
मूक हृदयको गुञ्जार सुनाउन,
शिल्पन लाउँछु एक अद्भुतको,
साजा एउटा शयनागार ।
यस जमुनाको क्रन्दन–किनार !

ढ.
कालले कहिल्यै यस्तो मीठो
फुल टिपेन !
टिपिएपछि पनि जसको सुगन्ध,
भूमण्डलको स्मृतिमा गुँज्दछ,
गुञ्जिरहला,
सक्झनुलाई धनी बनाई ।
भविष्यले तर सोध्ला निरन्तर,
मेरो आत्मासँगमा निशिभर,
“के चढाइस् आँसुसँगमा
तिनलाई ?”

ण.
धनी खरानी उपर शिल्पको
रानी झुकून् रोई ।
त्यो माटोमा अमर लताका
जराहरुको ज्यान फिजाउँछु ।
प्यारका जलकण तिनका बीउ
आद्र्र दृगले बोई, बोई !
काल विजेता ताजा मरमर
प्रेमले मन्त्रोस्, अपूर्व छिनाहरु
जलले धोई ।
अपूर्व स्मारक कलिलो उठाउँछु,
साथ सुतौंला अनि दोई !

त.
तरलताले छाओस् मरमर,
स्नायुसजीव र कोमल, सुन्दर !
एकै लयका सुरका चोट
सचेत छिनाले काटून् तिनभर,–
मोती झुल्ने लतिका फुल्दा,
रोदन दिलभर !
विहाग रागको आत्मा साकार,
चिर गुञ्जनले रचियोस् आगार,
रोदनको झैं घर !
रुदित बनोटको स्वपना उज्यालो
मरमरमा !
शाश्वत स्मारक वियोग–व्यथाको,
सुन्दरतामा !
युगयुग प्यारका हृदयहरुले
पाऊन् स्पन्दा, प्रेरणा, गुञ्जार !
प्यारको स्वपना, प्यारको भेटी,
मरमर आत्मा मृदुल चढीकन
पघलोस्, विलपी
जमुना–किनार !

थ.
कला अगाडि सम्राट्को होस्
ताज रे झिलझिल उपहास !
मटीहरुमा शिल्पित मन्दिर
टिक्दछ भन्दछ इतिहास !
उपलाङ्कित एक दिव्य काव्य होस् !
अमिधाताज !
जिन्दगी औ मृत्यु जसका
जिल्द हुने छन् खास ।

द.
रुपद्धारा सङ्गीत रुलाऊँ !
साकार बिलौना यस दिलको !
मसृण छिनाले मीड बजाऊँ
रुदित भावको दिलको !
पाषाण बनोस् एक स्वरलहरीझैं
एक वियोगी बुलबुलको !
याद दिने होस् निर्माण पुनीत !
जमुना बन्लिन् मेरो गीत !

ध.
शिल्पित उपलको वेलीवनमा,
यो रुह बुलबुल,
घनले निलेकी शशिकन सम्झी,
बोली रहला युगका यात्री
सामु, दिलको पीडा, खलबल !

न.
मेरा दृगका मोती सीमित !
सारा नजरका मोती मागूँ !
मोती भिखारी भई यस तटमा,
जुगजुगका सब प्यारहरुका
गहिराइका दाना, दाना,
बटुलूँ, राखूँ !
दुनियाँ डाकूँ !
भविष्य ! तेरो उपहार निरन्तर
रोई, मागूँ !

प. व्योमको गुमज प्यारको गुम्मज !
यी पृथिवी हुन् अविरल जलकी
शिल्पकला !
यी लहरा हुन् प्यारका तृष्णा,
सरिताका यी सुन्दर चेली,
वेली, कलिला !
यी कुसुम हुन् विश्वशिल्पी प्राणपवनले
कुँदिई बनेका चट्टान, शिला !
निशदिन बत्ती सामु भला !
सृष्टि हो यो परमेश्वरको
स्थायी स्मारक कोही निम्ति !
असीम ! अगम !
के रुँदैनौ तिमी पनि एकला
निशिमा भन रे ?
शवनम ? शवनम ?

फ.
निद्रित बुलबुल त्य िअघि बोलून्,
मानव दिलका !
स्थान, कालका सीमा नाघून् पङ्खहरुले पलका !
मेरो होइन, प्यारकै होस् यो शयनागार !
मुमताज, होइन, सौन्दर्य
सुतेर सपनून् जमुना–किनार ।
सागरतृष्णा बोलिरहोस्,
रोई दुगुर्दी जलधार ।

ब.
प्यार नै हो धम्र्म महान् !
सुन्दरतम !
सुन्दरतम हो ताज रे ईश्वर !
मार्ग भक्ति हो !
भेटी शवनम !
सुन्दरको नै, आत्मा सुन्दछ,
मसिनो आहट !
शेष सुष्टिबाट छ त्यसको
दिलमा अनौठा बोलावट !
तृष्णा गति हो !
आशा इशारा !
आत्मा आत्मालाई चिनाउँछ
सलिल किनारा, सलिल किनारा !
म उक्लन्छु, ती ओर्लन्छिन् !
इश्ल मिलन हो ! इश्ल मिलन !
याद भजन !
स्मारक, पूजन !
बिन्दु, बिन्दुका माला !
हावभाव हुन् हाम्रा नट !
सब धम्र्मको हो आत्मा प्यार !
वेद, कुरान हो
जलको घट !

भ.
पुतलीको यो बत्ती पछिको
छटपटलाई स्मारक होस् !
जमुनाजल यो सागरसम्मन्
प्रेमकथाको प्रचारक होस् !
अछूत ऊँचाइमा अवलम्बित श्री
सको भाव विचारक होस् !
संसारको यो पत्थरमाथि
एक शाहको जलको अङ्क !
ताजमहल होस् ! जगभर जाती !
आदर्श, विना एक सानु कलङ्क !
सुषमा प्रति यो चिर वन्दन !
साथ सुतौँला युगयुग साथी !
मानव दिलमा विश्वधम्र्मको
दिई निरन्तर स्पन्दन !
पाषाणहरुमा भाषा भरुँला,
चूप सुती निशिदिन !