Baidyanath Upadhyaya – Pratibimba

बैद्यनाथ उपाध्याय – प्रतिबिम्ब

मरूभूमि जस्तो अतृप्तता
छ जीवनमा
कुनै चीजले पनि
तृप्त गराउन सक्दैन!
जानी-जानीकन भिडिएको छु
सूर्योदय देखि सूर्यास्तसम्मको दौडमा
म र मेरोको रंग पोतेर
उज्ज्याला अनुहारभरि
केवल आफ्नो तस्वीर हेर्न चाहने म मान्छे!
म चाहन्छु
मेरो समयमा
आफ्नै अनुहारको बिम्ब उत्रयोस
मेरो क्यानभासमा पीडाको ध्वाँसो खनिएर
धमिलिएको यो समय
चाहनाहरूको रंग पोखिएर
छताछुल्ल छ यो रात
असमन्जसमा छु
मैले उतार्न चाहेको त्यो प्रतिबिम्ब कुन हो?

(Sent to Sanjaal Corps via Email)