Nirmal Kumar Acharya – Anshu Jhari Rahunjel Aash Banki Hunchha (Nepali Gajal)

निर्मलकुमार आचार्य – गजल
(मधुपर्क भदौ , २०६७)

आँसु झरिरहुन्जेल, आस बाँकी हुन्छ
मन रोइरहुन्जेल, सास बाँकी हुन्छ ।।

जितहार, चितपट, ठेगान छैन क्यै’को
जुवा खेलिरहुन्जेल, तास बाँकी हुन्छ ।।

सन्तोक-असन्तोकको, सीमा छैन केही
ईख राखिरहुन्जेल, खास बाँकी हुन्छ ।।

घाइते यो दुनियाँमा, संवेदना हरायो
मान्छे मरिरहुन्जेल, लास बाँकी हुन्छ ।।

भरोसाको मूर्ति कुनै, देवालयमा छैन
यात्रा चलिरहुन्जेल, बास बाँकी हुन्छ ।।

Nirmal Kumar Acharya – Chokhho Timro Maya (Nepali Gajal)

निर्मलकुमार आचार्य – चोखो तिम्रो माया (गजल)
(मधुपर्क २०६६ भदौ)

चोखो तिम्रो माया चोखिँदै छु म नि
तिमीसँगै अब जोखिँदै छु म नि ।।

भावनाकी तिमी छताछुल्ल खानी
तिमीसँगै अब पोखिँदै छु म नि ।।

संयम, धैर्य अनुपम छ तिम्रो
तिमीसँगै अब रोकिँदै छु म नि ।।

तिम्रो नाम चयन जहाँसुकै छ
तिमीसँगै अब तोकिँदै छु म नि ।।

मनमा सबैको अटाउने तिमी
तिमीसँगै अब बोकिँदै छु म नि ।।

Nirmal Kumar Acharya – Aaja Desh Tukrindaichha

निर्मलकुमार आचार्य – आज देश टुक्रिँदैछ (गीत)
(Source: मधुपर्क असार, २०६८)

आज देश टुक्रिँदैछ, किनार भत्कँदो छ
लोत्तिरहेछन् डाँडा, हिमाल लच्कँदो छ ।।
हरियाली कक्रिँदैछ, पहरा खस्कँदो छ
सुकिरहेछन् नदी, धरती धस्कँदो छ ।।
सहकाल फेरिँदैछ, अभाव पस्कँदो छ
घटिरहेछन् बाली, अकाल मस्कँदो छ ।।
छलछाम चुलिँदैछ, विश्वास घस्कँदो छ
मरिरहेछन् आशा, हृदय चस्कँदो छ ।।
खुसीयाली मेटिँदैछ, वेदना लस्कँदो छ
फुलिरहेछन् गला, आलाप झस्कँदो छ ।।