Tej Bikram Karki – Lahur Janu Aghi

तेजविक्रम कार्की – लाहुर जानु अघि

कसरी चलिरहेको छ सास?
म हेरीरहेछु भिरबाट तल
भर्खरै खसेको सपना
र सोचिरहेको छु
अचेल मलाई किन निद्रा पर्दैन?

भर्खरै यो सुनसान सडकको सन्नाटा चिर्दै
थला परेर भोक हुईकिएको छ एम्बुलेन्समा
चिरेर स्तब्धता
डढेलो लागेका मान्छेका अवशेषहरू बोकेर
चलिरहेछ बतास
मैले सहरमा आफैलाई लिलाम राखेर
छातीमा उमालेको छु एउटा ढुङ्गा
आमा भन्नुहुन्छ
बाबु तिमीले बाँच्नु पर्छ यॊ भूगोलमा
जिवनको निरास बत्ती बूझाएर
र म सोचिरहकोेछु
अचेल मलाई किन निद्रा पर्दैन?

अचेल मलाई किन निद्रा पर्दैन?
देखेर चलिरहेको बतास
सुनेर लहरहरूको पदचाप
लाम लागेर पासपोर्टका हूलहरू
कठ्याङ्ग्रिएर हरियो भएको
देश
विश्व मानचित्रमा खोज्दैछु आफ्नै अनुहार
र सोचिरहेछु ति आँखाहरू
फर्किएर किन आएनन्?
पिढीमा पर्खिरहेका हजुरबा
हजुरबाको निकोटिन भरिएको चिलिम
चिलिममा जलिरहेको छ रहर
छेउमा बा र उहि पुरानो खोकी
पढेर जिवन मेरो आँखा भरी
बा भन्नुहुन्छ जिवनको लडाई कठिन छ
त्यो भन्दा नि कठिन छ बिर्सिएर हिड्न
तिमी जन्मेको माटो
भन कतै हराएको त छैन?
तिम्रा आँखाहरूमा देशको नक्शा
या पिडाको सिङ्गै पहाडले थिचेर
रोई रहेछौ कि कतै देशको निम्ति

तिमीलाई पनि यस्तो हुन्छकी?
जसरी म सोचिरहेछु
अचेल मलाई किन निद्रा पर्दैन?

– मगलबार, 24 आसाढ, 2071

Peshal Acharya – Ichchha Ka Parswawarti Haru

पेशल आचार्य – इच्छाका पाश्र्ववर्तीहरू

भद्दा कुटिलताभन्दा
निर्दोष लज्जा प्रिय हुन्छ
वाणीले
वैखरीलाई
अन्माउन सक्नुपर्छ
शीतबिन्दु टप्किएको
फूल
विदाइमा रसाएका
गाजलु आँखाहरू
कसोकसो
चसक्क चस्किएको
वियोगको छाती
प्रियाको
अँगालोमा निस्किएको
उष्ण तापले
जीवनलाई
भँगाला भँगालामा
बाँड्न खोज्छ,
खै ! निस्तेज छन्
मनका डिमार्केसनहरू
इच्छाका
पाश्र्ववर्तीहरू
बैँसतिरै
बत्तिएछन् –क्रमशः ।

– वुधबार, 7 श्रावण, 2071

Gopal Kawali – Bhagya Ni Yatti Ko Ho

भाग्य नि यत्तिको हो र,ठाडो शिर तलै नुग्यो
चाईंदैन चेपारे बोलि, गालि खाएँ भयो पुग्यो

अक्षता पाती र चामल, फुकेँ फ्याकें नराम्रो भो
न गाडें शान्तिको झण्डा, डण्डा खाएँ भयो पुग्यो

बर्ष दिन शनिको चक्र,उल्का छ भामरि पनि
पर्दैन ग्रहको जाप,श्राप पाएँ भयो पुग्यो

हातका रेखा छन् उल्टा,चिना टिपन अकाट्य छ
परेन प्यारको ढर्रा,छर्रा खाएँ भयो पुग्यो

बर्तमान खोच्च्याई हिड्छ, बिगत रुन्छ धुरु धुरु
नगर भोलिका बात,बाँच्न पाएँ भयो पुग्यो!!!

अफगानिस्तान,३१/०१/२०१३

Ravi Man Lamjel – Ujyalo Bhaisakechha

रविमान लम्जेल – उज्यालो भइसकेछ
(Source: मधुपर्क २०६६ जेठ)

बाहिर उज्यालो भइसकेको छ
ब्यूझिसकेको छ बस्ती
युगौदेखिको महानिद्राबाट
दृश्यमा आउन थालेका छन्
तुवालोभित्र हराएका डाडाकाडाहरू
शीतले ओसिएका खोच र भञ्ज्याङहरू
सुनिन थालेको छ
झरनाको कलकल
र कोयलीको कुहुकुहु
स्वागत गर्दै मिर्मिरे उषाले
हामी सबैलाई
एउटै पङ्क्तिमा उभिन आहृवान गरेको छ
स्वीकार्य छैन हाम्रो लागि
युगौदेखि हाम्रो घाटीमा झुण्ड्याइएको
दासत्वको सिक्री
जसले हाम्रो जातिमा
अवरोध उत्पन्न गरेको थियो
आˆनै मझेरीमा पनि
पराइपनको परिचय दिएको थियो
अब छिनिसकेको छ
त्यो निरङ्कुश
सिक्रीको माला
हाम्रो घाटीबाट
ए, तिमी छिटै यता आऊ
अब कण्ठ खोलेर
गीत गाउनुपर्छ
स्वतन्त्रता र मुक्तिको गीत
जसले हाम्रो नव-जीवनमा
नया श्वास-प्रश्वास
र विश्वास जन्माइदिएको छ
ए, झ्याल खोलेर हेर त
कहा पुगिसेका छन्- चीन, रुसका मित्रहरू
कति ठूलो प्रगति गरिसके छन्
कोरिया र जापानका हितैषीहरूले
हामीमात्र निष्त्रिmयताको बन्धनभित्र
अल्मलिरहेका रहेछौ
अहिले-
कसले ˆयाकिदियो
त्यो निष्त्रिmयताको घुम्टो
र कसले उघारिदियो
हामी अघि बढ्ने
क्रान्तिको ढोका
त्यही ढोकाबाट
बाहिर निस्केर
हेरौ, हाम्रो देश
र नियालौ
अन्तर्राष्ट्रिय गतिविधिहरूलाई
हामीहरू पनि पङ्क्तिबद्धरूपमा
प्रगतिपथमा लाग्नुपर्छ
अन्तर्राष्ट्रिय दााजोमा देश पुर्‍याउन
सङ्घर्ष गर्नुपर्छ
हामीलाई थिचेर राख्ने अवरोधको विरुद्ध
हाम्रो अभिमुख
कसिङ्गर ल्याएर तगारो हाल्नेहरूको विरुद्ध
अनि मात्र हामी उद्देश्यअनुरूप
गन्तव्य पुग्न
र विजय हासिल गर्न सक्षम बन्छौ ।

Keshav Acharya – Bishwas Balnu Bali Sakyo (Nepali Gajal)

केशव आचार्य – बिश्वास बल्नु बलिसक्यो (नेपाली गजल)

यति धेरै पिडा दियौ, मन जल्नु जलिसक्यो
शान्त मेरो ह्दयमा, आँधि चल्नु चलिसक्यो

जिन्दगीको परिभाषा, खोजी खोजी थाकिसकेँ
सल्किएर आँफैभित्र, पिडा गल्नु गलि सक्यो

नआउनु फर्किएर, मनका व्यथा मेटाउन
तिम्रा सबै सम्झनाहरु, आज ढल्नु ढलिसक्यो

कति खाउँ आफुमात्र, चोटमाथि चोटहरु
आगो भित्र दनदनी, विश्वास बल्नु बलिसक्यो

Bhakti Ghimire – Bartaman

भक्ति घिमिरे ‘दुर्बोध’ – वर्तमान
(Source: मधुपर्क मंसिर, २०६७)

बाटोभरि
गोमन सर्पहरू
सल्बलाइरहेछन्

फणा फिजाइरहेछन् ।
गन्तव्य रोकिएको छ
शून्यताभित्र
देश आफैँ हराएपछि
ममता
चुडिन खोजेपछि
मुठ्ठीहरू कसिन थालेका छन्
मामका लागि लाम लागिरहेछौँ हामी
स्वाभिमानको जित खोजिरहेछौँ हामी
हाम्रो छाती चहर्‍याइरहेछ
पैताला घोचिरहेछ
कालापानीमा
सुस्तामा
मानेभञ्ज्याङमा…..!
तिमी त हृविस्कीको चुस्कीमा
मस्त छौ
म निःशब्द भएको छु

सीमारेखाको खोजीमा
दसगजा क्षेत्रमा हराइरहेछु
मेरा पाइतालाबाट
रगत बगिरहेछ

कोरिरहेको छ
रातो सीमारेखा ।
लिलामीमा परेको स्वाभिमान
बन्धक राखेर
कसरी गौरवको गीत गाउँ म ?
हिजो आज
फूलबारीमा फूलहरू फुल्दैनन्
भमराहरू डुल्दैनन्
पुतलीहरू उड्दैनन् ।
पानीको मूल सुकेको छ
भूलैभूलका हूलहरूभित्र
चरचर चहर्‍याइरहेछ
मुटु
हलहल बगिरहेछ रगत
ए ! आऊ न !
अलिकति मलम लगाऔँ
अलिअलि कलम चलाऔँ
हाम्रो हराएको
सीमा स्तम्भ भेटिन्छ कि
गौरवको सगरमाथा अलि ठडिन्छ कि !

Chandra Lal Bhomi – Janma Din

चन्द्रलाल भोमि – जन्मदिन
(मधुपर्क बैशाख, २०६७)

फूलमा कुनै सुवास छैन
न बग्ने नदीमा कुनै ध्वनि छ
पूणिर्मामा कुनै ज्योति छैन
न सङ्गीतमा नै कुनै सुरताल छ
हरियालीमा कुनै मनोरम चाल छैन
न खुशीयालीमा नै कुनै खुशीको लगाव छ
आफन्तहरूको भीडमा कुनै रस छैन
न मुस्कानहरूको
फैलावटमा कुनै मुस्कुराहट छ
दुलहीझैँ सजिएकी म –
सजावटमा कुनै सुन्दरता छैन
न पर्खाइको नयनमा कुनै चमक छ
के भयो आज खै, के भयो
दिलमा कुनै चयन छैन
न रुन्चे नयनमा नै आँसु छ
यस्तै भयो पि्रय, आज
तिमी बिनाको ‘जन्मदिन’ मा
दीप सबै निभेको भान भयो
तिमी बिनाको ‘खुशियाली’ को माहौलमा
खुशी सारा छिनेको भान भयो ।

पो.ब.नं. ११२०९ काठमाडौं

Biplav Pratik – Manchhe Kina Yatra Ma Chha

बिप्लव प्रतिक – मान्छे किन यात्रामा छ ?

केही रहर, केही महत्वाकांक्षा
थोरै सफलताका मुस्कान
अनि धेरै शूल छातीभरि बोकेर
म जिन्दगीको कठोर र रापिलो मरुभूमिमा
हिँडिरहेछु ।

कतिपल्ट सुनसान बाटो हिँड्दा
म डरले पल्याकपुलुक काम्दै हिँडेको सम्झना छ,
कतिपल्ट कहिल्यै नआइपुग्दा बिसौनी
डाँको छाडेर हुरुक्क रोएको याद छ ।
कस्ता बाधा हुँदा रहेछन् थाहा पाएको छु
कत्रो धैर्य टुट्दो रहेछ चाल पाएको छु,
यात्रा तय गर्दा कहिले घामले पोल्दो रहेछ
कहिले बर्सातले रुझाउँदो रहेछ
कहिले जाडोले कमाउँदो रहेछ
कतिले पछाडिबाट अङ्कुसे लगाउँदा रहेछन्
कतिले अगाडि नै जाल हाल्दा रहेछन्
छहारी दिने र माया गर्नेहरू परै बसेर हेर्ने गर्दा रहेछन्
म्वाइँ खाने र सहारा खोज्नेहरू दोधारमा पर्दा रहेछन्
सोच्दा रहेछन् र आपसमा सोध्दा रहेछन्
“यो मान्छे किन यात्रामा छ ?”

म पनि बिलकुल त्यही सोच्ने गर्छु
मान्छे किन यात्रामा हुन्छ ?
र म पनि केलाइरहेछु
मान्छे र यात्राबीच साइनो के छ ?

पुल्चोक, १ अक्टोबर १९८८

Tanka Wanem – Ramphu Ko Pakhama

टंक वनेम – रम्फुको पाखामा

चौंरीको घण्टी
कुहिरोको माझ
कागको इसारा
रम्फुको खोला
सुसाउँदै बग्छ
चल्दछ विरह ।

सबैले भन्छन्
गोठाला मान्छे
चौंरीको गोठमा
सल्केको मन
कसरी देखाउँ
मुटुको कोठामा ।

चौंरीको Continue reading “Tanka Wanem – Ramphu Ko Pakhama”

Mahesh Prasain – Ayena Ma Chasma

महेश प्रसाईं – ऐनामा चस्मा

आँखाको पनि रिदम हुन्छ
चस्मामा कति विश्वास छ,

ऐनामा सबै कुराहरू देखिँदैनन्
कमसेकम
तिम्रो ढाड देखिँदैन
पिठिउँ देखिँदैन
मेरूदण्ड देखिँदैन
कुर्कुच्चाहरू देखिँदैनन्,

तिमीलाई चिनाउने आधारस्तम्भहरू
पछाडि छन्
तिम्रो अग्रभाग
सबै कुरा होइन,

हुबहु तिम्रो चेतनचोला चिनाउने ऐना
स्वयम् आँखा हो
आँखाको लय हो
आँखाकै मण्डलामा
नृत्यमग्न छन्द हो
ढोलक बज्ने ती पलकमा,
रिदमजस्तो सुनिन्छ
ऐनासत्य त्यही देखिन्छ,
थाहा छैन
तिम्रो चस्मा कस्तो छ !

Mahesh Prasai – Manushya Ko Bighatan Mathi

महेश प्रसाईं – मनुष्यको विघटनमाथि

अकस्मात् एक दिन
एउटा प्रेतात्मा
मसानबाट
फुत्त बाहिर निस्कियो
र मानिसको भेषमा
देखा प¥यो,

सडकको
बीच चौराहमा,
उसलाई
पार्लियामेन्टमा जानु थियो,
हाउसमा प्रवेश गर्नु थियो,
त्यहाँ मानव सौन्दर्य गुमाएका
अनेकौं कुरूप मनुष्यहरूका
कृत्रिम हाउभाउ
र नक्कली तामझाममाथि
नोट अफ डिसेन्ट
लेख्नु थियो
लेख्ने निर्णयमा
पूर्ण प्रवेश गर्नु थियो,

उसको प्रवेश
उपस्थितिलाई
थरीथरीका
सुकिलामुकिला
दौराकमिज
इस्टकोट
सुरूवालहरूले कसरी लिने हुन,

अप्रत्याशित उत्पन्न
यो विरोध प्रस्तावमाथि
छलफल कसरी गरिनेछ
बेखबर थियो कार्यसूची,

तथापी ऊ
ती कुरूप
छद्मशील आकृतिहरूका
द्वैध चरित्रलाई उछिनेर
कुटिल राजनीतिका विरुद्ध
सङ्कल्प प्रस्ताव
दर्ता गर्ने टुङ्गोमा पुगेको थियो ।

– शुक्रबार, 2 श्रावण, 2071

Sirukharke Jetha – Bahini Lai Chitthi

सिरुखर्के जेठा – बहिनीलाई चिट्ठी

बहिनी
यसपाली पनि तीज
फर्केर आएछ
तर किन हो खै’ ऊ आफै रङ्गहीन छ
हिँजो
ग्रिनेड फुटेको कहाँ रै’छ र
तिम्रा हातका चुराहरू फुटेका रहेछन्
यो देशका शाषकहरूले
आमाको आँसु पुछ्ने कुरा गरेर
तिम्रो स्यूँदोको सिंदूर पुछेका रहेछन्

के गर्नै सकेँ र मैले
आखिर
बगैँचा उजाडिए झैँ उजाडियो
तिम्रो त्यो सुन्दर जीवन
कसरी ल्याइदिउँ कोशेली भनी तिमीलाई
सेतो बर्की र सेतै रीबन ??

वर्षाऋतु
हटिरहेछ यो धर्तीमा
तर आँसुको बलेनी चुहुँदै होला तिम्रो छातीमा
सुकिसकेका छन् अब यी वनपाखाहरू
तर भिजेकै होलान् कठै निर्दोष तिम्रा आँखाहरू

बहिनी
तिम्रो दुखाइको सीमा छैन
थाहा छ मलाई
तिम्रो आँसुको हिसाब छैन
तर के गछ्र्यौ
दुःखीहरूका निम्ति यो देशमा
कुनै न्याय निसाफ छैन

– सोमबार, 19 श्रावण, 2071

Pancha Bismrit – Samaya Ko Chaurasta Ma

पञ्च विस्मृत – समयको चौरास्तामा

१.
हेरिरहेछु अनवरत
समयको चौरास्तामा उभिएर
जन्मिरहेको मान्छे
हुर्किबढिरहेको मान्छे
बुढ्याउलीले अँठयाउदै लगेका
मृत्यूले लुछ्दै लगेका मान्छेहरू
त्यसरी नै
म न जन्मिनै सकें नौलो आयाम
न हुर्कि बढ्नै सकें उल्लेख्य
न त बुढ्याउलीले छुन सक्यो
मलाईदेखि
न मृत्युले नै र्याल काढ्न सक्यो
यसरी नै तर
ठीङ्ग उभिएर सगरमाथा
हेरिरहेछु अनवरत अनवरत
यसरी नै…
२.
हेरिरहेछु अनवरत
समयको चौरास्तामा उभिएर
दिल खोलेर रमाइरहेका मान्छे
पीडा खसाएर रोइरहेका मान्छेहरू
त्यसरी नै
म न उत्ताउलिएर रमाउन सकें
न त स्वयम्लाई भूलेर हाँस्न सकें
न नानाभाती सम्झि सम्झि
रून नै सकें
यसरी नै तर लम्पसार परेर
एउटा तिरस्कृत विराट मरूभूमी
धर्ती अवयव
हेरिरहेछु अनवरत अनवरत
यसरी नै…

Komal Shrestha Malla – Ke Gari Samjhaune

कोमल श्रेष्ठ मल्ल – के गरी सम्झाउने

के गरी सम्झाउने हो पानी सरी आँसु बग्छ,
मन काछ सम्झिदिने, सीसा जस्तै फूटीरा छ
गहिरी हेरे मन सागर, थरी थरी घाउ रैछ
उड्न खोजे भेटाउन झनै माया भागी रैछ

हैन हैन ऊनको दोष, दोष दिन्न जीउनलाई,
रहर छैन पैचो मागी, हारी हारी पीउनलाई
मेरै आखा बगी राखोस, मन पोखरी छल्कीएर,
जीवन भन्नु यस्तै न हो सकिन्छ नै सल्कीएर ॥

मदिराको नसा छुट्टै, बिछोडको दशा छुट्टै
जीन्दगीको गाउँघर, जता जाउ रित्तै रित्तै
न सकीने रैछ जीवन, मागी मागी चलाएर,
फूलको थुङ्गा संझी संझी, मन्दिरमा लडाएर ॥

मदिराको नसा छुट्टै, बिछोडको दशा छुट्टै
जीन्दगीको गाउँघर, जता जाउ रित्तै रित्तै
न सकीने रैछ जीवन, मागी मागी चलाएर,
फूलको थुङ्गा संझी संझी, मन्दिरमा लडाएर ॥

Sudhir Chhetri – Purush

सुधीर छेत्री – पुरूष

बीन बजाएर सपेराले
एकजोड़ी सॉंपलाई बजार बीचमा भीड तान्नलाई
नचाइरहेछ।
त्यसलाई कत्रो पुरूष लागेको छ आफैलाई।
सॉंप जति नाचेजस्तो गर्छ
सपेराको स्वाभिमान आनन्दविभोर बन्छ
भोक बिर्सेर
तिर्खा बिर्सेर उ मातिदिन्छ,
मदान्ध बन्छ पुरूषको गन्धले।
पुरूषार्थ घर-घरमा ढकमक्क फुलेको फूल हो,
फूल पनि के भन्नु कॉंडा हो।
फूल-कॉंडा भन्नु पुरानो भयो भने
यो पराग हो,
कहीं भूइँमा झरेपछि त्यो झर्योो झर्योो हुन्छ केही उम्रँदैन,
त्यसको जीवन थिएन अनि हुँदैन।

पुरूष कॉंचो माटो हो,
मूर्ति पनि बन्छ, भॉंडो पनि बन्छ
तर त्यो पाकेपछि सॉंपसित नाच्दैन,
सपेरासित हॉंस्दैन।

Yuddha Prasad Mishra – Badhdai Jao Badhdai Jao

युद्धप्रसाद मिश्र – बढ्दै जाओ बढ्दै जाओ

नयाँ निसाना, नवजागृति, नवचेतनाका साझा हो
हलो, कोदालो, खुकुरी, हँसिया, खुर्पि खुँडाका ताजा हो
पीडित जनले नगरी नहुने घोर क्रान्तिका बाजा हो
दलित गलित हुन बाध्य Continue reading “Yuddha Prasad Mishra – Badhdai Jao Badhdai Jao”

Basudev Adhikari – Anam Sadak Ki Thiti Sanga

वासुदेव अधिकारी – अनाम सडककी ठिटीसँग

बैभव चोर्न आएको होइन
न तिमीलाई बराल्न आएको !

म त पेरिसको
बैभव सुँघ्न आएको
विकास हेर्न आएको
सौन्दर्य प्युन आएको
मोनालिसासँग बात मार्न आएको
मसँग किन ततर्किएकी तिमी ?

म अङ्ग्रेज होइन
मैले पनि कनिकुथी अङ्ग्रजी सिकेर आएको
(सदा त नेपाली नै बोल्छु)
बाटो भुलेपछि
के गरुँ त तिमीलाई नसोधेर ?
अघि नै भनेँ नि
म तिमीलाई बराल्न आएको होइन
म तिम्रो भाषा बिटुल्याउन आएको होइन
म तिम्रो भाषाको गुबो मार्न आएको होइन
(हाम्रोमा त्यस्ता आउँछन्)
किन ततर्किएकी तिमी ?
किन मौन बसेकी
के के भनेर
मलाई आँखा तर्दै हिँडेकी ?

Yuddha Prasad Mishra – Guhar Guhar

युद्धप्रसाद मिश्र – गुहार गुहार

लाशमाथि लाश भयो डढाउँदा गाउँ
धरतीमा कतै छैन हाम्रो बस्ने ठाउँ

स्त्री जातिका गुप्तांगमा संगीनका घोचा
बदलाको भावनामा छौं कि हामी होचा ?

न्याय खोज्छौं खाँदै जान्छौं आज ताता गोली
फेराइदिन्छौं धरतीलाई हामी नयाँ चोली

भारतसित परिसक्यो नजोरिने फाटो
भिजिसक्यो रगतले नेपालको माटो

कैले हाम्रो साहसले सगरमाथा छुने
दुष्मनको रगतले हात गोडा धुने

नेपालका सन्तती हे खुकुरीका धार
दिदीबैनी दाजुभाइ गुहार गुहार

मान्छे खाने जन्तुलाई भगाइदिन आओ
जागृतिको राँको झन् झन् जगाइदिन आओ

(लहर – ०४५)

Dr. Madhu Madhurya – Euta Kabi : Nepathya Bhitra / Nepathya Bahira

डा. मधु माधुर्य – एउटा कवि: नेपथ्यभित्र / नेपथ्य बाहिर

कोठामा छिरेपछि
कविले सफेद पानामा “शान्ति” कविता लेख्यो
कोठाबाट निस्कानेबेला उसले
केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको
फोहोर- कन्टेनरमा Continue reading “Dr. Madhu Madhurya – Euta Kabi : Nepathya Bhitra / Nepathya Bahira”

Yuddha Prasad Mishra – School Jaun (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – स्कूल जाऔं (नेपाली बाल कविता)

सुनधारामा पानी भर्छन्
टुँडिखेलमा चर्छन् गाई
रत्नपार्कमा घुम्छ सिपाही
हुन्छन् नाङले पसले त्राही

धरराको त्यो टुप्पो हेर्दा
शिरमाथिको टोपी खस्छ
भई Continue reading “Yuddha Prasad Mishra – School Jaun (Nepali Bal Kabita)”