Tanka Subba – Aja Ko Aswa

टंक सुब्बा – आजको अस्व

अ अथवा अस्तित्व
स्व अथवा स्वभिमान
हरेक देश र जनतासंग
गासीएको
टासिएको
अलङ्कार हुन् यी दुइ अक्षरहरु
त्यो हरेक देश र जनताको लागि प्रीय हुन्छ
अ र स्व अथवा अस्व
कुनै देश
र जनताले गुमाउन चाहदैनन्
जव अस्व गुम्छ
तव त्यो देश देश रहदैन
र जनता जनता हुदैनन्
अथवा देश र जनता भए पनि
कठपुतली वन्नु पर्छ कसैको
त्यसैले त अस्वको लागि
हरेक युगमा हरेक देशमा
हरेक मान्छेमा युद्घ वाचीरहन्छ
कस्लाई सह्य होला र ?
स्वभिमान खोसीएको
कस्लाई मञ्जुर होला र?
अस्तित्व लुटिएको
त्यसैले अस्व गुमाउनु भन्दा
देश युद्घघोष गर्न तयार हुन्छ
र जनता देशको लागि वलि चढ्न तयार हुन्छन्
तसर्थ हरेक देश र जनतालाई
अति प्रीयकर हुन्छ अस्व
तर विडम्वना त्यहि अलङ्कारहरु
युगौ देखि कुल्चेकाछन् लुटेकाछन्
त्यसको विरुद्घमा आवाजहरु उठाए पनि
ब्यर्थ भएकाछन् ती आवाजहरु
किनभने लुटिनेहरु लुटिएकैछन्
कुल्चिएकाहरु कुल्चिएकै छन्
यहाँ त कसैको स्वभिमानलाई कुल्चिएर उभ्नु पनि
स्वभिमानै ठान्छन् मान्छेहरु
र अस्तित्वलाई अपहरण गर्नुलाई पनि
मानवता नै सोच्छन् मान्छेहरु
यो कस्तो मत्स्यन्याय हो ?
जव कि देश र जनतामा स्वार्थ पूर्तिको लागि
स्वभिमानको हवला दिएर
अरुको स्वभिमानलाई आफैले हडप्नु ?
र मानवताको वकालत गरेर
निर्दोष र निरीहहरु माथी हमला गर्नु
चरीत्र वनेकोछ आजका हिट्लरहरुको
अरुको सामु अस्वको वखान गरेर
भित्र हिंसा र हत्याको योजना वुन्छन्
त्यसैले वर्तमान भयानक संकटहरु ब्यहोर्दै गुज्रिरहेछ

Yuddha Prasad Mishra – Antar Byatha Ko Tufaan

युद्धप्रसाद मिश्र – अन्तर्व्यथाको तूफान
(बीणा – १:१)

र्घर्के दर्शन सब पुरातन भई झुल्के उज्याला दिन
ताता खून उठी सजीव बदला आए हिजोका लिन
जित्नुको परिपाटितातिर युवा जाँदै गए गर्जिदै
आए केश खुला भएर युवती हातमा हँसिया लिदै

पीडाका अनुभूतिबाट उठने तूफान प्रत्यक्ष भो
शोषणको प्रक्रिया खत्तम्तिर सबैको एउटै लक्ष्य भो
शोषक् वर्ग समूल नष्ट हुन गो दुर्दान्त बेला घटी
गो पर्नाकन रास- रंग गर्ने दर्वारमा छट्पटी

आस्थाको लहरी उठेर दुनियाँ छन् तोडदै हत्कडी
मुक्ती पारन गौरवान्वित रगत् पोखी अगाडि बढी
जोडेको भइ विश्व दृष्टिसितको सम्बन्ध ज्युँदोकन
मान्छेको बीच रुढ संस्कृति टुटेको आजको जीवन

तोडी बाल्मिकि व्यास आदिहरूका सामन्तवादी कथा
गर्ने राज्य समाप्त जागरुक भै तोडी विलासी प्रथा
साटो शोणितको अवश्य नलिई जान्नौं भनी र्सवथा
जागेको अहिले विशाल दुनियाँको मुख्य अन्तर्व्यथा

२०३६

Asha Gurung – Shailaja Timi Banchi Rakha

आशा गुरुङ – सैलजा तिमी बाँचिराख

जन्मियौ पूर्वको काख मोरङमा तिमी,
राजनितिक बातावरणमा ओतप्रोत भएकी तिमी,
फलस्वरुप काँङ्रेसको झन्डा समाई अघी बढयो
कहिले छोडिनौ पार्टी जिबनका अन्तिम घडीहरु सम्मपनि,
क्रान्तिकारी काँङ्रेस नेत्री तिमी,
नारीको लागि एतिहासिक उदाहरण पनि तिमी।

जिबन जेलमा बिताएनौ कि,भूमिगत तिमी भएनौ कि,
नौ बर्षे भारत निर्बासनमा तिमी गएनौ कि, संघर्षको दिनहरु तिमीले काटेनौ कि
आखिर भयौ पनि सम्मानित मन्त्रि,उपप्रधानमन्त्री पदहरुबाट,
षडएन्त्र र आलोचनाको पात्र पनि भयौ तिमी।
तर तिमी हटिनौ,तिमी डराइनौ,न त गर्‍यो आत्मसमर्पण नै,
गरेउ त केबल पार्टीको निम्ति,देशको निम्ती र जनताको निम्ती।

तर के थाहा थियो र तिमीलाई नै ?
जिबनका तीनबीसका दिनहरु नै यति कठिन हुन्छ भन्ने।
गैइनौ र कहाँ तिमी उपचार गर्न ?
त्यो एकमुठी झिनो सास तिमी भित्रै गाँठो पारिराखन ।
कति लडाईं खेलेयौ होला तिमी, त्यो अल्जाइमर रोगसँग,
तिम्रो आफ्नै जिबनसँग , ती अतितका पानाहरुसँग ।
तर कोही बुझ्न आएनन तिमीलाई, तिम्रा ती त्यागहरुलाई सम्झेर,
आए त केबल ढोङ गर्न,कोही आइपुगे त तिम्रो मृत शरीरमा फुलहरु फ्याँक्न,
कसैले लगाईदिए अबिर, कसैले ओढाईदिए पार्टीका झन्डा,
पूजा गरे, ढोगे र चर्किए तिम्रो अमरताको लागि।

तिमीले केही सुन्यौ र सैलजा ? देख्यौ र कतै तिमीले यो रमिता ?
कठै ! किन भैदिएन यो? जहिले तिमी थियौ यहाँ जिउँदै।
बुझिदिएनन मान्छेहरुले सत्य जिबनको,
ओइरिए सबै, जब छोडेयौ संसार भबसागरको

स्रदाञ्जली तिमीलाई सिर्जिदैछु म,सारा नेपालीको प्रतिनिधित्व गर्दै,
तिम्रो आत्माको चिर शान्तिको कामना गर्दै,
सैलजा तिमी सधैं यसैगरी मरीमरी बाँचिराख है ।
तिम्रा हरेक सिदान्तहरु अर्को नयाँ जन्मको लागि साँचिराख है ।।

Bhupin Byakul – Samundra Heri Raheko Manis

भूपिन ब्याकुल – समुद्र हेरिरहेको मानिस

बग्दै गरेको
कुनै समुद्रझैं देखिन्छ मानिस
जब ऊ समुद्रअघि उभिन्छ !

हिमपहिरोबाट बग्दैबग्दै
पग्लदै आएको बरफको ढिक्काजस्तो
मानिस जब समुद्रमा हामफाल्छ
बिलाउँछ ऊ
असिनाहरु बिलाएझैं माटोमा
यात्रीहरु बिलाएझैँ बाटोमा

फुट्न तयार
हजारौं ज्वालामुखीहरु छन् समुद्रसँग
खलपात्र सन्तानको पेट बोकेकी आमाको गर्भझैं
लाखौंको ज्यान लिने
सुनामीहरु छन् समुद्रको गर्भमा
मान्छे निल्ने साइक्लोनहरु छन्
ढुंगा काट्ने छालहरु छन्
र पृथ्वी नै हल्लाउने
भयङ्कर हलचल छ समुद्रसंग

समुद्रअघि उभिएको मानिससंग पनी
यी सबै छन्
सीमाहीन सीमाहरू छन्
जहाँ कोह कोलम्बस पुगेको छैन अझसम्म
जीवनभरी हिंडेर नसकिने
अन्नत बाटाहरु छन्
दुर्घटित
इतिहासका किम्बदन्तीहरु छन्
अभेद्य प्रश्नहरु छन्

समुद्र बोकेर पिठ्युँमा
प्रकाश छिरेझें झ्यालबाट चोटामा
मानिस घरभित्र छिर्छ
अफिस जान्छ
बैठकको निर्णयमा हस्ताक्षर गर्छ
पहाड चढ्छ र ओर्लन्छ
उसको मुटुले छाती बझाएझैँ
मन्दिर गएर घन्ट बजाउँछ
मौन बस्छ
कविता लेख्छ
र समुद्रझैँ
जीवन र मृत्युका सीमनाहरुमा बगिरहन्छ !

समुद्रअघि उभिएको मानिस
समुद्रमा मिसिएको पानीजस्तो देखिन्छ !

Krishna Bause – Sambandha Yesto Pani Ta Huna Sakchha

कृष्ण बाउसे – सम्बन्ध त्यस्तो पनि त हुनसक्छ
(मधुपर्क भदौ , २०६७)

तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
कृपया मलाई निरपेक्ष रहन देऊ…..तटस्थ रहन देऊ ।
मनभरि
मुठ्ठीको माखो बनाउने माकुरेजाल बुन्दै
मलाई
अझ प्रगाढ मित्रता को मन्द विष नपिलाऊ ।
नियतिको सिकार भएको म
एक्लै रुन चाहन्छु
सान्त्वनाको निहुँ पारेर
मेरो मझेरीमा
तिम्रा कलुशित बुटहरू नबजाऊ ।
थाहा छ-
एकपल्ट आफन्त ठानेर
सहयोगको भीख मागें भने तिमीसँग
तिमीले मेरो सिरिखुरीमै आँखा गाड्नेछौ
र मलाई
मेरै घरमा
सधैँको लागि मगन्ते बनाउने छौ ।
त्यसै भएर
तिमीले चुम्बा खान खोज्दा पनि
विष-कन्याको गन्ध आएको हो मलाई
मौकामा घाँटी निचोर्न खोजेर
बेमौकामा अँगालो मार्न खोज्ने तिम्रो बानी सम्झँदा
एउटा सुधो गाई
र छट्टु ब्वाँसोको सम्झना भएको छ मलाई ।
तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
सम्बन्ध त्यस्तो पनि छ, हुनसक्छ
अपरिचितहरूको जस्तो सम्बन्ध ।
कृपया मलाई निरपेक्ष रहन देऊ……..तटस्थ रहन देऊ ।

पोष्टबक्स नं.४५२५, काठमाडौँ

Rakesh Karki – Bachunjel Ho America

राकेश कार्की – बाँचुन्जेल हो अमेरिका

इन्टरभ्यु दिनेको ताँती
बुढो-बादेखि काखे नाती
भिसा पाउने बल्ल ढुक्क
नपाउने ट्वाल्ल थु’क्क

हातमु’ख जोर्न नसक्नेलाई
थाहै छैन अमेरिका
थाहा हु’नेलाई पनि
रिजेक्ट गर्छ अमेरिका

पढ्न गुन्न नपाउनेलाई
बाटो गाह्रो अमेरिका
पढी भाग्य खु’ल्नेलाई
ब्रेन ड्रेन अमेरिका

मरेपछि स्वर्ग जाने
बाँचु’न्जेल हो अमेरिका
नपाउनेलाई पस्न गाह्रो
पस्नेलाई हो अमेरिका

उकुसमुकुस भा’को मु’टु
अब चल्छ अमेरिका
नबु’झ्नेलाई बु’झ्न गाह्रो
बुझ्नेलाई हो अमेरिका

जन्मनु’ मात्र जीवन हैन
जीवन रैछ अमेरिका
जति गर्यो धेरै दिने
भण्डार रैछ अमेरिका

मानिस यहाँ हराइदिन्छन्
किनकि मन पराइदिन्छन्
ती पौरख हातगोडाले
अर्थतन्त्र फलाइदिन्छन् ।

Hem Nath Ghimire – Naya Barsha

हेमनाथ घिमिरे – नयाँ बर्ष

रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले ।
पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥
हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा ।
नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥

हाम्रा यी जति छन् कुभाव मनमा फालौँ सबैले अब ।
राम्रो काम गरौँ सबै तरहले धर्ती उठाऔँ अब ।
हाम्रो माथ उठोस् सदा सगरमा नीचो न ह्वौं क्वै कतै ।
हाम्रा यी सब सन्तती सफल हुन् राखुन् सुकिर्ती सधैं ॥ २ ॥

चारैतर्पु बहोस् नयाँ पवन त्यो नौलो छरी जाँगर ।
एकै भै सब बाल-बृ-बनिता उर्लोस् महा-सागर ॥
नौलो जोश नयाँ उमङ्गहरुले माथी उठोस् देश यो ।
डाकौँ यूग नयाँ सबै जन मिली फालौँ सबै क्लेश त्यो ॥ ३ ॥

झुल्कोस् घाम नयाँ छरी किरणका नौला बिहानीहरु ।
आओस् यूग नयाँ हटुन् जति थिए पीडा र बाधाहरु ॥
नौलो दृष्टि खुलोस् सबै जन मिलुन् सन्तान एकै सरी ।
आओस् बर्ष नयाँ मधू-सुमनको वास्ना सुनौलो छरी ॥ ४ ॥

डा हेमनाथ घिमिरे
बाहुन डाँडा लमजुङ् ।

Kalyan Shrestha – Mero Thotro Bhatbhate Ko Khali Tyanki

कल्याण श्रेष्ठ – मेरो थोत्रे भटभटेको खाली ट्यांकी

सूत्र र प्रक्रियाका जाल नबुनी
मेरा साधा सपनामाथि कात्रो
अरबियन सीका वरिपरी
विश्वको कस्तो यो जात्रो
कुन देशको झेल, कहाँको तेल
टाउकेहरुको तालमेल;
अफिस, भेला, घर, मेला
नबुनियेका यी समय, बेला;
दोषी मेरा वायुपंखी
मरभुमीमा जल नपाए सरी
मेरो थोत्रे भटभटेको खाली ट्यांकी

सुन्दर बसन्तमा न्यानो घाम
प्रकितिले स्याहारेको मेरो तन;
उडीरहुन मस्त तालमा पुतली
गाउन अमृत स्वर लिएर चराचुरुंगी;
शितल आँखामा हरियो छाप
रहुन फूल रंगीचंगी;
जस्तै स्वर्गका झिल्का भएपनि
मनको चाप, नेताको पाप, दरिद्र राप
मेरो थोत्रे भटभटेको खाली ट्यांकी

Bodh Raj Pant – Bhram

बोध राज पन्त ‘अनागत’ – भ्रम

किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

दिउसै रात पार्न घाम नै छेक्नु पर्छ र ?
तिमीले आँखा चिम्लिदा
मैले समय बिर्षेको थिएँ
झटारो हानेर पहराको काखमा
हामीले मारेको मलेवा
एकैछिनपछि फेरि उडेको हाम्रै आँखाले देखेका त हौं नि
अब पनि के भनिरहनु पर्छ
किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

दलिनमा
गौंथलीको गुँड थियो
गौंथली थिएन
झरीमा बरालिएको भंगेराले
बेलौतीको हाँगामा बसेर कागसंग कुरा गर्यो
मात्र सन्चो बिसन्चोको कुरा
झरी बतासको कुरा
कुन्नि किन उसले त्यो खाली गुँडको कुरा गरेन
कुन्नि किन उसले गौंथलीको अनुपस्थितिको कुरा गरेन
हामीले मारेको जस्तो
उसले त्यो मलेवाको पनि कुरा गरेन
अहिले तिमी रिसाएको बेला
म सोंच्दै छु
किन म त्यो भंगेरा हुन सक्दिन
किन तिमी त्यो भंगेरा हुन सक्दिनौ
किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

मणिग्राम, रुपन्देही

Narayan Prasad Sharma Gaire – Chhunu Munu Aanganima (Nepali Bal Gajal)

नारायण प्रसाद शर्मा गैरे – छुनुमुनु आँगनीमा

छुनुमुनु आँगनीमा नाच्छिन् मेरी नानी
मनमनै धेरै कुरा साँच्छिन मेरी नानी

कहिले बन्छिन आगोजस्तै कहिले बन्छिन पानी
मनमा सुन्दर सरल चित्र टाँस्छिन् मेरी नानी

रोए पनि उत्तिखेर दुख बिर्सिएर
मलाई हेरी मुसुमुसु हाँसछिन् मेरी नानी

संगीसाथी बटुलेर खेल्छिन् मीठा खेल
साथीभाईमा मीठो प्रीति गाँस्छिन् मेरी नानी

सबैप्रति दर्साउँछिन् समताको भाव
देखिएमा बैरभाव मास्छिन् मेरी नानी

Komal Bhatta – Kasari Byakta Garaun

कोमल भट्ट – कसरी ब्यक्त गरौँ

कसरी ब्यक्त गरौँ ? यहाँ अत्याचार भएको छ
कसैको स्वच्छ भावनामा बलात्कार भएको छ

विकृति र विसंगति,बढेका छन् दिन दिनै
पवित्र विचारधारा पनि, निराधार भएको छ

बदमाशहरु मस्त सँग घुम्दै छन् जताततै
सोझा र सज्जनमाथि,सधैँ तलवार भएको छ

बेसरम र नकच्चर्याइले पराकाष्ठा नाघ्दा
गहिरो मित्रतामा अब वारपार भएको छ

सिर्जनामा हस्तक्षेपले,प्रतिभाहरु सोच्दै छन्
“आफ्नो परिश्रममा अर्कैको फलाहार भएको छ”

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Arun Bahadur Khatri ‘Nadi’ – Naya Barsha

अरुणबहादुर खत्री “नदी” – नयाँ वर्ष
(मधुपर्क बैशाख, २०६७)

नयाँ आशा नयाँ भावना
नयाँ इच्छा लिएर
आयो नयाँ वर्ष
शुभकामना बोकेर ।
गाउँगाउँ वस्तीवस्तीमा
अँध्यारो होइन
उज्यालो छाएर
पूणिर्माको जूनझैं
चम्किएर आयो नयाँ वर्ष
सहरमा बेरोजगारी
जङ्गलझैँ बढिरहेको छ
सुन्दर, शान्त, विशाल
हिम स्वच्छता उजिल्याउँदै
आˆनै देशको माटोमा बसेर
विकास, उन्नति र प्रगतिको
भावना जगाउँदै
रोजगार गरौं है सबैले
सम्पूर्ण व्यक्तिमा
बुद्धको शान्तिको
सन्देश घन्काउँदै
नयाँ वर्ष तिमी
नयाँ हुनुको गर्भको
महिमा गाएरै आयौ ।

सामाखुशी मार्ग, ९३५/५४,
काठमाडौँ

Rajendra Shalav – Timi Nahunda

राजेन्द्र शलभ – तिमी नहुँदा

सूर्य
आफ्नै रापले डढेर
कतै खोलामा झर्यो ।

खोला
बग्न छोडेर
त्यहीँ बालुवामै
सुक्न थाल्यो ।

चराहरूलाई
गुँड बनाउन मन लागेन
र , थुपारेका सिन्काहरू
मेरै छेउमा छोडेर
कतै उडी गए ।

हावा
बहन छोडेर
पीपलको हाँगामा
थकाइ मार्न बस्यो ।

ह्दयगति
हत्केलाका रेखाहरूमा
छट्पटाइरह्यो ।

आँखाहरू
अनिँदा रहे
सपनाहरू आउनै मानेनन् ।
ओठका मुस्कानहरू
औपचारिकताको मुग्लान पसे ।

उमेर
घामसँग
आँखा जुधाउन नसकेर
बेतोड कुद्न थाल्यो ।

मेरा कविताका
अक्षरहरू
सबैसबै हराए ।

भन तिमी कहाँ थियौ ?

Bhoj Raj Neupane – Desh Ko Naksa

भोजराज न्यौपाने – देशको नक्सा

भन्नुस त महोदय
मेरो देश कस्तो हुन्छ ?

मेचीदेखि महाकाली सम्मका
जंगे पिलरहरु
युद्धले थकित सिपाहीजस्तै
घिस्रिंदै घिस्रिंदै नेपाल पसिरहेका बेला
महोदय, तपाईं राजधानीमा
देशको नयाँ नक्सा कोर्दै हुनुहुन्छ
देशको भागवण्डा गर्दै हुनुहुन्छ ।
अलिकति शेर्पा
अलिकति तामाङ
नेवार, मधेसी, थारु
राई, लिम्बु, गुरुङ
मगर, चेपाङ, थकाली
र, क्षेत्री–बाहुन सबैलाई भाग लगाउँदै
कति बचाउनु हुन्छ महोदय मेरो देश ?

संस्कृतिका विशाल आयामहरु
सभ्यतासंगै सौम्य बन्दै गएका बेला
कसले सल्कायो आगो यो देशमा ?
कसले खन्यो जातियताको खाडल ?
कसले रच्यो धर्मको नाम ?
तराईमा कौरा नाच्दा होस्
वा पहाडमा भोजपुरी नाच्दा
किन कोही अत्तालियो ?
राजधानीले छठ पर्व भित्र्याउँदा
कसलाई घाटा, कसलाई नाफा भयो ?
क्रिसमस होस् या इद
दशैं होस् वा तोरन्ल
लोछार होस् वा होली
संस्कृतिका भव्य संरचनाहरु
मजबुत बनीरहेका बेला
कसले बनायो आदिबासी र जनजातिको
मन दुख्ने कथा ?
सुन्दर देशको
खराब चित्र बनाउने को छ महोदय पर्दाभित्र ?
आफ्नै स्वार्थको तूफान बनेर
आफ्नै वस्ती खरानी बनाउने सपना नदेख्नु महोदय
बाईसे–चौबीसे राज्यजस्तै
टुक्रा टुक्रामा विभाजित हुने
मेरो देशको नक्सा कसरी हेर्न सक्छु म ?
कल्पना गर्छु
मेरो देशको नक्सा
राई– लिम्बुले खोजेजस्तो
मधेसी–थारुले रोजेजस्तो
तामाङ–शेर्पाले मागेजस्तो
सबै जातिले चाहेजस्तै
अलिकति टुक्रयाउँदै भाग लगाउँदै गरेको
कतै चुच्चो जस्तो — कतै बुच्चो जस्तो
कतै नेप्टो जस्तो — कतै थेप्चो जस्तो
साँच्चै भन्नुस त महोदय
मेरो देश कस्तो हुन्छ ?
मेरो देश कत्रो हुन्छ ?
साँच्चै मेरो देश
‘देश’ जस्तो त बन्छ ?

Saroj Dhital – Saanjh

सरोज धिताल – साँझ

कालै देखिन थालिसकेछ धर्ती त !
क्षितिजमा देखिएको
त्यो सुन्तला रङको सुन्दर घेरा के हो ?

बुढेसकालको हाम्रो प्रेमजस्तो ।
त्यसमाथि हाँसेको फिक्का सुनौलो रङ के हो ?
भगवानको मूर्तिअघि बलिरहेको दियोजस्तो !

अहा ! त्यो खुलेको उज्यालो आकाशे रङ्ग
पखालिएर सफा भएको सुन्दर मनजस्तो
अनि यो सबलाई पर्खाल लगाएर बसेको गाढा नीलो रङ्ग
बाँचू–बाँचू लागिरहने जीवनको मोहजस्तो

साँझ !
बाँचेर हेर्नुपर्छ
अनि पो सुन्दर देखिन्छ ।

Komal Bhatta – Biranu Baneko Shahar Le Ruwayo

कोमल भट्ट – बिरानु बनेको शहरले रुवायो

बिरानु बनेको शहरले रुवायो
अधिक झाँगिएको रहरले रुवायो

सधैँ उर्लिराख्ने खुसी प्रेम छर्दै
नजरमा घुमेको लहरले रुवायो

चढी पूर्व लाली मनै लट्ठ पार्ने
मधुर मिरमिरेको पहरले रुवायो

चखेवा चखेवी छुटाएर जोडी
निठुरले गरेको ठहरले रुवायो

रिसाएर सबको गलत सोच बढ्दै
मनैमा फुलेको जहरले रुवायो

वियोगी भएरै दिवस काट्नु पर्दा
अभागले दिएको कहरले रुवायो

( भुजङ्गप्रयात छन्द )
ISS ISS ISS ISS

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Sandhya Regmi – Naari

सन्ध्या रेग्मी – नारी

आफू आफैँमा नहार्ने विश्वास जगाएर
आफू आफैँभित्र नथाक्ने जाँगर बोकेर
कणकणमा जिन्दगीको भार उचाल्ने तागत लिएर
कोमल शरीर नै सही
हक्र्युलिस झैँ ऊ आङ्खनो काँधमा आकाश बोक्न तत्पर छे
प्रेम र वात्सल्यकी खानी ऊ
घाम जूनलाई समेत आङ्खनो काखमा खेलाउन लालायित छे
ऊभित्रको हिम्मतको उचाइ कुन शिखरले पो छुन सक्ला !
ऊभित्रको ममताको गहिराइ कुन सागरले पो नाप्न सक्ला !

आगो लागेको परिवेशलाई आपूm पानी बनेर सम्हाल्दै
गहिरो घाउ खोपिएको मुटुमा मलहम बनेर पुरिँदै
सान्त्वना–सुम्सुम्याहट र स्नेहलेपले
ऊ दुखेको दिल छुन्छे, टुटेको दिल जोड्छे,
सुकिसकेको बगरमा छाल ल्याउँदै
उदास उदास चकमन्नतामा सङ्गीतको मिठास छर्दै
खडेरी र शिशिरले उजाडेर छाडेका कुरूपतामा
ऊ स्निग्ध सौम्य सुन्दरता भर्छे,
हरिया जंगल र वनपाखा घुम्दै
खेलाउँदै हरिण र मृगका बच्चाहरूलाई
फैलाएर आँचल धर्तीको छातीभरि
स्नेहका अँगालाले ऊ सबलाई बेर्छे ।

शायद एउटा सिंगो धरती नै छ ऊभित्र
सहिदिन्छे मुटुमा भालासरि रोपाइहरू
दुखाइको ‘ऐया आत्थु’ बोल्दिन,
आफूलाई कुल्चेर हिंड्ने
आङ्खनो छातीमा लात्ती नै प्रहार गर्नेप्रति पनि
विद्रोहको हुङ्कार छोड्दिन,
ती कुल्चाइ र लात्तीविरुद्ध
ऊ कुनै गुहार पनि माग्दिन,
बरू वर्षिन्छे आकाशको जलसँगै
र पखाल्छे आङ्खना पीरहरू
जतिसुकै त्रूmर ह्दयमा पनि
ऊ काँडा बनेर बिझ्दिन,
बरू पिइदिन्छे विष पनि अमृतसरि
र पस्किदिन्छे मनका थालीभरि
अरूका लागि मायाका व्यञ्जनहरू ।

ऊभित्रको सौन्दर्यको सम्मान होस् नहोस्
गुराँस र सुनगाभाका पछ्यौरीहरूले
समयका कोर्राका नीलडामहरू छोप्दै
छातीभरि टन्न शरद फुलाएर
ढकमक्क सयपत्रीले अरूका मनका आँगन ढाक्छे,
उसको सौहाद्र्रको आदर होस् नहोस्
यातनाको निष्ठुरी घनले शिरमा ठोक्दा पनि
आपूmभित्र दुःखको पहाडै बोक्दा पनि
ऊ अरूका लागि आँखाभरि कृपाकै भाव पोख्छे
छातीभरि समर्पणकै नदी बग्छे ।

के छ त्यस्तो चमत्कार ऊभित्र !
यो जीवन र जगतलाई निरन्तरता दिन
ऊ कत्रो त्याग देखाउन सक्छे,
पग्लेर आफू मैन झैँ
अरूका लागि चम्किलो जीवनको ज्योति छर्छे,
सधैं करुणाकै सागर बनेर
केवल अरूकै निम्ति आफूलाई प्रस्तुत गर्छे,
सम्पूर्ण त्याग र दानकै निम्ति उत्प्रेरित भएर
आफू मेटिई अरूको भविष्य लेख्छे,
कसरी यति धेरै प्रेम र ममता उर्लन सक्छ ऊभित्र
सृष्टि र संरचनाको पक्षमा
ऊ कति संवेदनशील बन्न सक्छे,
कहीं मिल्किएको अपांग पुरुषत्वलाई पनि
उठाएर आङ्खनो गर्भमा राखी
अपूर्व जीवन दिन सक्छे,
आङ्खनो अस्तित्वको सम्मान दिन नसक्ने
पुरुषकै सुख, विजय र दीर्घायुका लागि
आफूलाई बलिदान दिन सक्छे ।

Radheshyam Lekali – Chandra Grahan Ko Kshan Bansuri Bajai Rahechhu

राधेश्याम लेकाली – चन्द्रग्रहणको क्षण बाँसुरी बजाइरहेँछु
(मधुपर्क माघ, २०६७)

कस-कसको चालले हो
स्थिति अराजक बनेको छ
भयैभयमा बाँच्नु पर्ने
चन्द्रग्रहणको यो क्षण
भयमुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
त्रिवेणी मुठभेडको स्थितिले
देश जलिरहेछ
एकातिर रगत पोखिएको छ
अर्कोतिर हुकुम तामेलीमा
भीड जम्मा भएको छ
यही क्षण सत्ता घोडा चढेर
शक्ति प्रदर्शन गरिरहेछ
अवाक् चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
तासमा तुरूपझैं अचुक ठानेर
ल्याउनेले अध्यादेश ल्याइरहेछ
यही अध्यादेश सडकमा जलिरहेछ
अर्कोले दुबैलाई गलत ठहराएर
आफ्नो आदेश फर्मान गरिरहेछ
देश जनताको हुनुपर्ने हो
विडम्बना
जनताको होइन जस्तो भएको छ
चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
आपसमा लडेर
देशसँग गद्दारी गरिएको छ
लडाउनेको चाल थाहा पाएर पनि
किन लेण्डुपको बाटो रोजिदैछ
एकपटक सोचौँ
देश नरहे हाम्रो अस्तित्वले
पाइला राख्ने धरातल कहाँ रहन्छ ।
बाँसुरी बज्छ कतिन्जेल
बाँसुरी बज्न छोडेको क्षण
भयानक हुनेछ
जनताले हटाई छाड्नेछन् ग्रहण
देशले शान्तिको सास फेर्ने छ ।
विडम्बना !
चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।

– काठमाडौं

Rakesh Karki – Dherai Ghumne Kursi Haru

राकेश कार्की – धेरै घुम्ने कुर्सीहरु

धेरै घुम्ने कुर्सीहरु नेतृत्वमा
गुडी रहेछन् देशको अस्तित्वमा
शंकास्पद छन् यहाँ नेताहरु
सुरक्षा खोज्दैछन् जनताहरु

तराईमा पहाडीमुललाई खै संरक्षण
जेलै भित्र आतंककारीलाई आरक्षण
बिदेशीको इशारा अनुसार मात्र चल्ने
नेपाली नदीले बिदेशकै बत्ती बल्ने

रोकटोक अब कतैबाट छैन
घुम्ने कुर्सी मै सुख र चैन
दल दल एकै खाने कुरोमा
एउटै मत विदेश जाने कुरोमा

मंत्री बनाउने कि संविधान बनाउने
व्यक्तिमात्र हैन अब पार्टी नै गन्हाउने
पानी छैन बिजुली छैन महंगीको मार
धेरै घुम्ने कुर्सीहरुको जनतालाई भार

लस् एन्जेलस्

(This poem was sent to Sanjaal Corps via email)

Komal Shrestha Malla – Chiri Rahechhan Kalila Chhati Haru

कोमल श्रेष्ठ मल्ल – चिरिरहेछन कलिला छातीहरु

नब निर्माण चाहनाका
बम बारुद पड्केर
चिहान चिच्याउदै
चिता खरानी मडारीएको आकाश हेरेर
धरातलमा लम्केका छ सय एक मलामीहरु
एउटै क्रिया गरी रहेछन
पटक पटक बैतणीको पुच्छर समातेर
स्वप्नील शान्त स्वर्गका लागी ?
कठै !
अनाथ बिदूर बिधवाका तातीमा
पालै पालो स्वाङको शहीद थपिंदै थपिंदै
त्याग तपस्या बलिदानका चार किरण मास्दै
शहीदगेट भत्की रहेछ !
नंपुसक भालेको बसाँईमा
तमासाका भेडाहरु
भोगी रहेछन बिभत्स यातनाहरु
शिबिर शिबिरमा
डरको राँको तापेर
आरोह अबरोहका
लोडसेडीङको बस्ती भोगेर
तैपनी नपुगेर
रक्त पिपासु बाघहरु
चिरिरहेछन कलिला छातीहरु ???