Baidyanath Upadhyaya – Peer Bhaari Bhayera

पीर भारी भएर
हिजो राति आकाश खसेछ।
घनीभूत अँध्यारोले
प्रगाढ़ बनेको छ
यो रात।

मनको आधा पाटोमा
खर्लप्पै पैह्रो लागेको छ
आशाको झीनो त्यान्द्रो
यतै कतै अल्झिरहेथ्यो
यो अपशकुन क्षणमा
म कुन खुसीको
कल्पनामा निमग्न थिएँ?
अलमल्ल परेको छु।

मेरो सपनाहरूमा
माकुराले जालो बुनेको छ।
अत्यास लाग्ने
यो समयमा
म हिंडिरहेकै छु
तर मलाई
गन्तव्य थाहा भएन।

हिजो का ती यादहरू
भारी भै रहेको छ
विस्मृतिको गहिराईभित्र
जन्म-जन्मातरका
व्यथा कथाहरू
कति बनायौं, कति भत्कायौं
यस्ता अनेकौं घरहरू!

खै कस्ले पो
राख्न सक्यो र
यस्को लेखा-जोखा
मान्छे धेरै थोक पाउने आशामा
दगुरी रहेकै छन।
एक तमाशको दौड-धूप छ
बाटोभरि

देख्दछु कोलाहल
छाएको छ
कालो रातको
पिठ्युँभरि
मन एकोहोरो
विलाप गाई रहेछ

कस्लाई के भनौं
म यस घडी
जीवन एउटा
बेहिसाबको व्यथा बनेर
दुखिनै रहेको छ।

वैद्यनाथ उपाध्याय