Damodar Pudasainee – Hatice Cengiz Ko Prashna

दामोदर पुडासैनी किशोर – हातिस सेँगिजको प्रश्न

खुशीको बिशाल आकाशमा
उँडदा उँडदै
किन बनायौ उसलाई मृत्युको निशाना
अघि अघि उँडिरहेको उ
एक्कासी खसेपछि
म पो भएकिछु
सबै पँखेटा काटिएकी घाइते चरी

मरूभूमीमा जन्मिएकी म
आजसम्म कुनै हिमाल देखेकी छैन
न देखेकीछु कुनै बिशाल नदी
एउटा बिशाल सगरमाथा
भेटेंकोथिँएँ उसैभित्र
र डुल्थेँ उसकै मुटुका चुचुरा र खोल्सीहरूमा
एउटा अनन्त नाइल भेटेँथेँ
उसको मनका असिम तरँगहरूमा
र , पौडन्थें , मनका सारा भारी बिसाएर

मरूभूमीबाट निस्केको
बिशाल जून
आफ्नै खोकिलामा छ भनेर फुर्केको थिएँ
मरूभूमीको आशाको बिशाल ओएशिश
उ नै हो भनेर हुर्केकी थिएँ
तिम्रा काला कर्तुतहरू मेटाउन
किन निमोठ्यौ तिमीले उसको घाँटी
उसको अभाबमा
म पो भएकीछु अचेल
गोली लागेर रन्थनिएको
एउटा बेहोसी मृग

तिमी
तिम्रा काला नाटकहरू छोप्ने
सेता परिधानहरूमा
आँखा पर्नु हुँदैन कसैको भन्छौ
मान्छेको स्वतन्त्रतालाई
अर्को मान्छेले हडप्नु हुँदैन भन्थ्यो उ
तिमी तिम्रो बादशाहीपनको हैकम
सहिरहनुपर्छ युग युगसम्म भन्छौ
प्रत्येक मान्छेको मालिक
बन्न पाउँनुपर्छ मान्छे स्वयँ -भन्थ्यो उ

मान्छे मार्दैमा कहाँ मर्छ बिचार
किन सोचेनौ तिमीले
म तिमीसामु प्रश्न लिएर उभिएकीछु

प्रेमको रँगिन पोयो
र ,संघर्षको लखाकीमा झुण्डिएर पो
पिपिरो पलाइरहन्छ जीवनको
मेरो सपना थियो उ
मेरो जपना थियो उ
जिन्दगीको महान प्राप्ति
प्रेमकै उत्कृष्ठ नमूना थियो उ
प्रेमको बिशाल पर्खाल बनाउँन
बलियो आधारस्तम्भ बनाइरहेको बेला
एक्कासी किन खन्याइदियौ उसको शरीर
दन्दनी बलिरहेका आगाका ज्वालाहरूभित्र

संसार चलेको छ प्रेमलेनै
प्रेमकै कारण बढेका छन्
जन्म,जीवन र मृत्युका शृँखलाहरू
प्रेमकै कारण झाँगिन्छ
मान्छेको जिजीबिषा
प्रेमनै नभए
किन गर्थ्यो कसैले
क्षण क्षणमा सँघर्ष
उसको प्रेममा
मैले पाएको थिएँ
एउटा न्यानो भरोसा
र सबै मान्छेले पाएकाथिए
नयाँ ज्योतिको तरँग

तिमी ज्योति बिरोधी छौ
त्यसैले त
झुक्याएर निभायौ
एउटा बिशाल ज्योति
सम्झ
ज्योतिस्तम्भ मासेर मात्र
हराउँदैन कहिल्यै सँसारबाट उज्यालो

जानेर होस् वा नजानेर
जीवनमा एउटा सुन्दर काम गरेँथेँ मैले
कि मैले प्रेम गरेँथे सुन्दर मन भएको लेखकसँग
र ,प्रेम गरेँथेँ कालो चट्याँगसँग जुध्न सक्ने सामर्थवानसँग
तिमीले उसलाई बिष पियायौ
र,टुक्रा टुक्रा पार्यौ उसको शरीरलाई
अचेल
म पो ज्यूँदै मरिरहेछु
र,टनटनी दुखिरहेछ उ नै मेरा कोष कोषमा

उ मेरो जून थियो
मगमग बास आइरहने
एउटा कोमल फूल थियो
तिमीले झुक्याएर डँढेलो लगायौ
म पो बनिरहेछु
तातो खरानीमा होमेको माछा जस्तो

हे निर्दयी शासक
तिमीले भर्खरै
मान्छे होइन
हत्या गरेकाछौ प्रेमको

प्रेमका हत्याराहरूले
कतै पनि लुक्ने ठाउँ पाउँनेछैनन्
यो सँसारको कुनै कुनामा

-२०७५ मँसिर १ शनिबार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ

(जमाल अहमद खसोग्गी (Jamal Ahmad Khashoggi) साउदी) अरेबीयाको मदिनामा सन् १९५८ मा जन्मेका थिए ।उनी अल अरब न्यूज च्यानलका प्रधान सँपादक र साउदी अरेबीयन पत्रिका अल वाटनका सँपादक थिए ।बिगत केही बर्षदेखि उनी अमेरिकामा बस्थे र सन् २०१७देखि अमेरिकाको प्रसिध्द पत्रिका दि वासिँगटन पोष्टमा पनि लेख्थे ।उनले डेमोक्रेशी फर अरब वर्रल्ड नामक राजनीतिक दल पनि खोलेका थिए ।साउदी अरेबीयाका राजा सलमान र राजकुमार मोहम्मद बीन सल्मानका कटु आलोचक भएका कारण पत्रकार,स्तम्भकार र लेखक खसोग्गी उनीहरूका आँखाका तारो साबित भएका थिए ।खसोग्गीको तीन पटक बिहे र तीनै पटक पारपाचुके भयो ।सन् २०१८ को शुरूमा खसोग्गीको बिदूषी हातिस सेँगिज (Hatice Cengiz)सँग भेट भयो ।उनीहरूबीच प्रगाढ प्रेम पनि भयो र बिबाह गर्ने सहमति भयो ।उनैसँग बिहे गर्ने कागजपत्र मिलाउँन २ अक्टोबर २०१८ मा खसोग्गी टर्की स्थित दुताबासमा प्रबेश गरेपछि त्यहीँ उनको हत्या गरियो ।यो कविता साहित्यकार खसोग्गी र उनकी प्रेमिका हातिस सेँगिजप्रति समर्पित छ ।)