भोजराज न्यौपाने – आशिष हराउने देश
वुबा सानो छँदा
जिजुवुवाले दशैंमा टिका लगाएर
आशिष दिंदै भन्नु हुन्थ्यो रे
‘डिठ्ठा भएस् सुवेदार भएस्
पण्डित भएस् विचारी भएस् ।’
म सानो छँदा
हजुर वुवाले दशैंमा टिका लगाएर
जमरा सिउरिंदै पातीले पर्सेर
आशिष दिनु हुन्थ्यो –
‘सवैको मान्य भएस् सवैको प्यारो भएस्
ठूलो भएस् उँचो भएस् ।’
अहिले मेरो छोरालाई
वुवाले दशैंको टिका लगाउँदा
आशिष दिंदै भन्नुहुन्छ
‘असल हुनु ठूलो मान्छे नहुनु ।’
समय न हो हेर्दा हेर्दै वदलिंदो छ
समय न हो छाम्दा छाम्दै घर्किदो छ
भोलि कुनै दिन
मेरो छोराले
उसको नातिलाई दशैंमा टिका लगाउँदै भन्नेछ
‘वावु ,मान्छेको अनुहार लिएर जन्मँदैमा
कोही मान्छे हुँदैन,
अहिले मान्छेमा विवेक हराएको छ
अहिले मान्छेमा विचार हराएको छ ।
यो जन्ममा यस्तै भैहाल्यो
अर्को जन्ममा मेरा सन्तान मान्छे नहोउन
किनभने
मान्छेले पुर्खाको अंश खोज्छ
र पुर्खालाई नै घृणा गर्छ ।
मान्छेले पुर्खाको सदाचार सिक्दैन
पुर्खाको सम्मान गर्दैन
यो आशिष हराउने देश हो वावु
मान्छौ भने शिरको आशिष शिरमैं राख ।’
चरिकोट, दोलखा; हाल: काठमाण्डौं
समाप्त