Acharya Prabha – Desh Kina Dukhnu

आचार्य प्रभा – देश किन दुख्नु ?

सब लेख्छन देश दुखेको
कबिता, गीत, गजल
अनि के के, के के, …….?
मलाई त लाग्दैन कि
देश दुखेको छ,
देशलाई रोग लागेको छ,
देश शिथिल छ ,
अँह…. होईन………,
म पटक्क मान्दिन,
देश किन दुख्नु ?
यदि देश दुखेको भए
शायद……. यत्ति बिघ्न
आप्राधिक क्रियाकलापहरू सहेर
उ अझ सबल झैँ किन
अडिग भएर बाँचिरहन्थ्यो ?
बरु लेख्नोस न
देश दुखेको गुनासो हैन
देशलाइ उपचार गर्ने
मथिंगलहरू नै
रोगले भयभित बनी
दुखेको छ भनी,
अनि सोच्नुहोस् न ,
देशलाई सुरक्षा दिने
पाखुराहरू नै
“प्यारालाइसिस”ले
ग्रषित छ भनी ।
अनि भन्नु होस् न
देशको जग बनेर देशलाई
उभ्याउने खुट्टाहरू नै
“रिक्रेट्स” जस्तो संक्रामक रोगले
कुंजिएको छ भनी ।
यी सब रोगहरूमा
नजर अन्दाज गर्ने आँखाहरूमा नै
रतन्धो लागेको छ भने
अब कसरी भन्ने
देश दुखेको छ
देश दलदलमा फँसेको छ भनेर ?
म त भन्छु हामी सबै
मित्थ्या भ्रममा फँसेका छौं
केवल देशलाई दोषेका छौं
जब हामी नै असक्त र
अपाहिज छौं भने,
धर्ती कसरी अशक्त बन्न सक्छ ?
उ त कालान्तरदेखि नै
स्वस्थ्य, अजर, अमर छ
त र अफ्सोच !
उस्लाइ सम्रक्षण गर्ने
हाम्रा हौशला र सोंचहरूमा नै
धमिरा लागेको छ भने
अब सम्झौं
देश कसरी दुख्न सक्छ ?
शायद देश दुखेर
उस्ले पीडाबोध गरेको भए
त्यो छात्ती जीर्ण, जीर्ण बनेर
यत्तिखेर सम्म
कहाँ हामीले देश दुखेको
पीडाबोध गर्ने मौका पाउँथ्यौँ र ?
हो….. देश सबल बनेर त
हामीले नानाथरी अभिनय गर्दै
देशको छात्तीलाई रंगमन्च
बनाएर टेकीरहेका छौं,
कुल्चिरहेका छौं ,
बिभिन्न ढोङ रचेर ।
अब भने शायद
यसरी नै यो छातीमा
तान्डव नृत्य गरिरह्यौ भने
देश दुख्नु मात्र नै
देश दीर्घ रोगी बनेर
कुनै दिन लम्पसार बनिदिनेछ
अनि हामीले देश दुखेको
आभाष मात्र ग र्नेछैनौ
देश चिरनिद्रामा सुतेको नै
महसुश गर्नेछौँ
अनि हामी आफैं
चिरनिन्द्रा बाट ब्युँझनेछौ
कि…. देश दुखेको वा,
हाम्रै सोंच, मानसपटलमा
रोगका किटाणुहरूले
संक्रमण गरेको भनी
त्यसैले म मान्दिन
देश दुखेको छ भनी ……..।

(मार्च १५, २०१० रचना समय )