Lekhnath Paudyal – Satya Sandesh 1

लेखनाथ पौड्याल – सत्य सन्देश १

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो।
कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।

दोषी माता पिताका बचन गुरुजनादेश नि:शेष दोषी
सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी।
पत्नीको प्रेम दोषी अमृतमय मीठा बेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी बिधिवश छ भने आफ्नो दृष्टि दोषी।।

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो
भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो।
फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो
तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।।

भर्दाभर्दै हजारौँ बिषय-सुख-घडा देह लम्तन्न पर्दा
झर्दा सम्पुर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा्
सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिरदामा साथ जाने कुन-कुन चीज हुन्? सम्झ ती काम गर्दा।।

जस्तो मानी धनीका नगिच हर घडी तृपत जोडेर हात
छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रता साथ बात।
दु:खीका साथ उस्तै बिनयसित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरि ब्रत, जप, तपले स्वर्गको मोल तोल।।

मत्ता हात्ती हलुङ्गो, बितत जलधिका ह्वेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो
यो व्रह्माणडै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो।।

Bajra Kumar Rai – Jiundo Yo Lash Lai (Nepali Gajal)

बज्र कुमार राई – जिउँदो यो लाशलाई ढलाई देऊ बरु

जिउँदो यो लाशलाई ढलाई देऊ बरु,
चिन्तामाभन्दा चितामा जलाई देऊ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु,
आउ यो भौतिक शरीर बलाई देऊ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो,
पलपलको यो लाचारीबाट छलाई देऊ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ,
आउ आँशुमै बिष छरेर चलाई देऊ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता,
भैगो त्यो बहुरुपी माया नलाई देऊ बरु

Manoj Kafle (Mansoon) – Sanchera Kati Rakhu

साँचेर कती राखु मालाबुन्ने फूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले

खल्तीमा तस्बीर राखी कती मन्दिर धाउँ
पाउँ तिमी भनि कती चढाउँ त्रिशुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले

कती काटुं अब सपनाका तीता रातहरु
बगाउँकती आखाबाट आशुका मूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले

ओइलीजाला कि बिचैमा पो परीजाला
चारैतिर देख्छु मायाका हुलै हुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले

आउन खोज्छु फटकेर जहा तिमी छौ
कती जोडें भत्कियो मिलनको पुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले

साँचेर कती राखु मालाबुन्ने फूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले

मनसुन

Tanka Subba – Din

टंक सुब्बा – दिन

घाम बोकेर जन्मने दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ
जसले जमेको तुषारो हटेर बग्छन् उत्साहको नदीहरु
छुन पुग्छन् व्योमलाई छातीबाट हाम्फालेका मनहरु
अनि साइनु गासेर दिन
सपना भएर फुल्छ मानिससंग
पीडाका कैयौं क्षणहरु भुलाएर
जतिसुकै घातक बनेर आए पनि
दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ
तथाकथित बहकाइका पलहरु
उकाली ओरालीहरुमा समेटिंदा
जल्न पुग्छन् आशाहरु
अध्यारोमा डुब्न पुग्छन् पाइलाहरु
तसर्थ सन्त्रास फैलन्छ भावनाकासभरि
दिनहरु
फेरि आफन्त नबन्लान् कि भनेर
तर नित्य झैं उदाउदा
प्रफुल्लित हुन्छु
र हतारले धकेल्न थाल्छु जीवनरथ
स्वीटर बुनेझैं बुन्न थाल्छु आकांक्षाहरु
अनि सुम्सुम्याउन थाल्छु फराकिला पथहरु
बढ्दै आउने अधेरीले कुल्चन्छ कि भनेर
बाधाहरु पन्छाउदैं
हुइकिन थाल्छु बतास झैं
दिनसंग सहयात्री बन्न सकिन्छ कि भनेर
तर सधैं बिरानो बनिरह्यो
आफैसंग हातेमालो बनेका दिनहरु
सधैं उदाएर अस्ताइरह्यो पाहुना बनेर
पर्खाइमा , सेताम्मै केशराशी फुलाएर
सारा जीवन भुलाएर
उभ्याउन खोजें दिन
बचाउन खोजे दिन
कहिल्यै उभेनन् सामुन्ने
बगिरहे नदी झैं
पग्लिरहे हिउ झैं
थामिएनन् कहिल्यै
दिनमा सारा कुरा हुन्छ
थाहा छ सबलाई
त्यसैले घाम बोकेर जन्मने दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ ।

Bhairab Aryal – Khol

भैरव अर्याल – खोल

अस्पतालको सगाल पलङमा
सेतो सुकिलो ओच्छ्यान पाई
नयाँ रोगी रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याई
अहा ! कस्तो सफा विच्छौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कति मनोरम
खोपीभित्रको शैय्या जस्तो ।

तर जब ओल्टेकोल्टे गर्दा
तन्ना खोल अलि सर्न जान्छ ,
अनि रोगीको आँखा सहसा
भित्री तहमा पर्न जान्छ ।

ती सुकिला खोलहरूभित्र
कति थाङ्ना ती सिरह डसना
टाल्दैतुन्दै छोप्पिरहेको,
सयौं वर्षको अवशेषपना
छ्या! छ्या!! देख्दै डुङ्ग गनाउने
पीप रगतका टाटैटाटा
जति पल्टायो उति घिन लाग्दो
दिशापिशाबले कुहिँदा पाटा
देख्दछ जब यो रोगी
अनि पो खुल्दछ उसमा भित्री पोल
नब्य झैँ लाग्ने, भव्य झैँ लाग्ने,
ओछ्यान रहेछ केवल खोल
दारा किट्छ अनि त्यो रोगी
चिच्याउन लाग्छ च्यात्तै खोल
खोल खोलमै कति दिन धान्छौ
जगजीवनको मोल ।

तर नारी समाई भन्दछ डाक्टर
छैन यसको ब्रेन कन्ट्रोल
अनि धाइले प्याइदिन्छे
मुसुक्क हाँस्तै रङ्गिन झोल ।

Rajab – Kabita Bachaau

सुन्दरी
यो भीडमा कविता नपढ
मानिसको ध्यान
कविताको सुन्दरताबाट
तिमीमा सर्छ
र कविता एक्लो हुन्छ
यद्यपि कविता पढ्न
लायक र
राम्रो छ तिम्रो स्वर
तर मानिसका ेखँखु ार ध्यान
कविताबाट उछिट्टिएर
तिम्रो सुन्दर नाकमा
तिम्रो चपल बडे आँखामा
तिम्रो नङमा
तिम्रो शारीरिक सौष्ठव
र परिधानमा पर्न सक्छ
र तिमीले पढिरहेको कविताको प्रयास
बेकार हुनसक्छ
सुन्दरी
कविता बचाउ