Ritu Ashik – Washington

रितु आसिक – वासिङ्टन

वासिङ्टन आफूभित्र ज्वालामुखी घोप्ट्याएर
स्वतन्त्रताको सपना बुनी रहेको थियो
किल्ला किल्लामा बैरीहरुलाई सोत्तर पार्दै,
स्वतन्त्रताको गीत गाउदै
वासिङ्टन उठयो |
जताततै मुक्तिका धुनहरु बजे
अमेरिकाले आफूलाई दासता चुडाल्दै
स्वतन्त्रताको घोषणा गर्‍यो
मेरील्यान्ड,डेलावेर र न्यूजर्सी कानेखुशी गरेर
वासिङ्टनलाई सधैं सधैं फुर्काएर
आफ्नो दुनो सोझ्याउछन् |
वासिङ्टन आफूमा बैभव रोपेर
न्यूयोर्कको चाकडी गर्न थालेको छ |
आकाश छुने होड गर्ने न्यूयोर्क
नुन खाएको कुखुरा जस्तो भएको छ |
पराधिनताको बिरुद्ध स्वतन्त्रता उठ्यो
स्वतन्त्रता सधैं पराधिनता हुँदैन
स्वाधिनता वासिङ्टनमा पोखिएको छ |
स्वतन्त्रताका फूलहरु यसबेला फक्रिएका छन्,
वासिङ्टनको सातो गएको छ
संवृद्धी र बैभवको
स्वतन्त्रताकी प्रतिमुर्ती तर्फ
एकटक लाएर दिनैपिच्छे हेरिरहन्छ |
वासिङ्टन मन थाम्न नसकेर
भालेको डाँकमा हिंडेर
श्रद्धाका फूल चढाएर
साँझमा आफ्नै थालोमा फर्किन्छ ।

Ritu Ashik – Madhesh

रितु आसिक – मधेस

मुटुभरी छलकपट सँगालेर
तराई मधेश बन्न सक्दैन
तराईको पीडा
दाईजोमा आएको मधेशले बुझ्न सक्दैन ।
राष्ट्रियताप्रतिको अगाध स्नेह
रुपान्तरित राष्ट्रियता
ईतिहासको पौठेजोरीमा
उछीत्तो भएको Continue reading “Ritu Ashik – Madhesh”

Ritu Ashik – Great Wall

ॠतु आसीक – ग्रेटवाल

झरी वादल वतास ओढेर
असंख्य वर्षदेखि
उभिरहेको छ ग्रेटवाल
निर्दोष निमुखा बबुराको हत्यामा रमाएर
आफूलाई मपाई भनाउने वादशाह
लासै लासको खेती भित्र्याएर
सुत्केरी आमाको उत्पीडन
छोराको रोदन
पत्नीको वियोग
बाबुको वात्सल्यता
केही थाहा नपाए जस्तो गरेर
मुखभित्र पानी थुपारेर
निल्नु र ओकल्नुको दोधारमा परेर
यता जाउ कि उता जाउ भन्दै
लाखौ निर्दोषको रगतको आहालमाथि
ओथारो बसिराखेको छ ग्रेटवाल

हतार -हतार ब्यूझिएर
आँखा मिच्दै
के विर्सिएको के छोडिएको जस्तो गरेर
लाटाले पापा हेरे झैँ हेरिरहेको छ ग्रेटवाल

बिहानी पख
पर्खाल नजिक आएर
स्वरहरु सल्बलाउदै प्रश्न गर्छन
मेरो छोरो आयो कि ?
मेरो प्रियातामालाई देखेउ कि ?
मेरो आमालाई देखेउ कि ?
पर्खाल केही बोल्दैन
मुटुभरी उकुस मुकुस बोकेर
पर्खाल भित्र भित्रै ज्वालामुखी भैरहेको छ |
वाक स्वतन्तत्रता
सुसूचित हुने अधिकार
विरालोले विस्टा लुकाए झैँ लुकाई रहेको छ|

भन्न सकिरहेको छैन
तिम्रा आफन्तलाई नखोज यहा
तिम्रा आफन्तको लासमाथि
तिम्रा प्रियजनको खूनमाथि
म उभिएको छु |
मेरो सुन्दरता कुदिएको छ |
निर्दोषहरुको लासमाथि
निमुखाको रगतमाथि
मेरो सुन्दरता पौडी खेलिरहेको छ |
आत्मग्लानीले सधै निगुर्मुन्त्ते हुनु परेको छ |

Ritu Asik – Duryodhan Ka Sahodar Haru

ॠतु आसीक – दूर्योधनका सहोदरहरू

दूर्योधनका र उसका सहोदरहरू
यसबेला पीडा पस्किरहेकाछन् |
कहिले कपिलवस्तु
कहिले सिराहा र सप्तरीका
ढाड र अंगहरुमा
कहिले कालजयी वस्तीहरुमा

भैयाहरु फेरी पनि
गौर वाल्झाउने तयारीमा छन् |
२३औ प्रान्तका संवाहक
घरमा नाग र कुश टाँसी रहेकाछन् |
तिनीहरु हातहरुमा
जवर्जस्ती नै भए पनि
दानावधु वानिरहेका छन् |

केही भेटीमा
केही लोभ र सन्त्रासमा
आफूलाई त्वम शरणं गरिरहेका छन् |
जताततै आगो वालेर
नुनको सोझो गरिरहेका छन् |
घर न घाट भएको दूर्योधन
वस्ती -वस्तीमा पसेर
फेरी पनि महाभारतको ब्यूह रचना गरिरहेको छन् |

Ritu Ashik – Bhoomi

ॠतु आसीक – भूमि

यो भूमिमा
हाम्रा धुकधुकिहरु फेरी फर्केर आउनेछन|
स्वतन्त्रताका फूलहरु फेरी फक्रिन्छ
र हामी
यो भूमि माथि
शहिदको सम्झनामा
झन्डाहरु उठाउछौ |
हामीले
रगतले बनाएको झन्डा
अविचल अक्षुण फरफरिने छ
शताब्दिको अन्तसम्म |
यो भूमिका वासिन्दाहरुको पुकार
हावामा लहलाउँछन
भूमिलाई स्वतन्त्र पार्दै
जन्जिरभित्रबाट उठ्नेछन|

जीवनको गर्जन उर्लदो नदी जस्तो भएर
उनीहरुले आफूलाई
नव निर्माणको साँचोमा ढाल्ने छन्|
यो सबै
यी भूमिमा पनि हुनेछ |
हाम्रा भाग्यका छाँयाहरू टडकारो छ |
यो भूमिका शहिदहरुले
जसरी आँखामा न्यानो सपना देखेथे
यो भूमिमाथि उभिएर
हामी प्रतिज्ञा गर्छौ
तिमीले चाहेको यो भूमि हुनेछ ।

Ritu Ashik – Sambodhan

ॠतु आसीक – सम्बोधन

धर्तीभारिका वासिन्दाहरु हो !
म सम्बोधन गरिरहेको छु |
तिमीहरुलाई
म तिमीहरुलाई ढुंगाले वोलेको आवाज सुनाउँछु |
काँतर हो !
यतिका शताब्दीसम्म आफूलाई
कुवाको भित्र राखेर
संसारको मपाई भन्न र भनाउन खोज्ने हो !
जिन्दगी ज्यादै अर्थपूर्ण र कामलाग्ने भएको छ |
सुन्तला भन्दा कमलो र
मौरीको मह भन्दा मिठो छ सूर्य
आउ यसलाई टुक्रा -टुक्रा पारेर खाउ
सुतेका सुताहाहरुलाई पनि झ्यालबाट
सूर्यका टुक्रा छिराइ दिउ
बुझनेले बुझे हुन्छ
जिन्दगी ज्यादै अर्थपूर्ण र संघर्षशिल भएको छ |
बाँच्न मन पराउने हो !
बाँच्न ज्यादै अप्ठेरो भएको छ |
हुन सक्ने र ढुंगाको छाती माथि
हरियो दुवो उम्रिएको हेर्न मन भए
आँट गर
अझै जाँगर भर
मान्छेले कसरी बाँच्नु पर्छ |
लुकेर चियाउने गर
निगरानी राख्ने गर
ए धर्तीभरिका मान्छेहरु हो !
म तिमीहरुलाई सम्बोधन गर्न फेरी आउने छु |
म बेला -बेला आउँदै भन्ने छु |
आँट इमान्दारीको आत्महत्या कहिले नगर्नु
तिमीहरुले चाहेको
वैचारिक र व्यवहारिक जिन्दावादलाई
म पनि सहयोग गर्नेछु |
कठोर र इमान्दारी हाथहरु चलाएर
आकाश भन्दा पनि माथि माथि उचाली दिनेछु |