Bhupin Byakul – Saancho

भूपिन ब्याकुल – साँचो

एउटा साँचो मैले तिमीलाई दिएको छु

म आँफै एउटा बन्द कोठा हुँ
कहिलेकाहीँ
आँफै खोल्न सक्दिन कोठाको ताल्चा
छिर्न सक्दिनँ कोठाभित्र
र छिरिहालें भने पनि
बुझ्न सक्दिनँ कोठाको मौन-ध्वनि

मैले पनि खोल्न नसकेका पानाहरु छन्
पढ
र सच्याउ यो कोठाको नमिलेको ब्याकरण
उडेको छ रङ भित्ताको
त्यसलाई मुटुको रङले सजाउ
बर्षौदेखि
काम चलाएको छु सीमित हावाले
झ्यालहरु खोल
र नयाँ हावा भित्रिन देउ
साँघुरो हुनसक्छ कोठा तिमीलाई
मसँग तन्किने भित्ताहरु छन्
यसलाई आफू अट्ने गरी तन्काउ

बन्द आफुलाई सम्पूर्ण खोल्न
कोही एकजनाको हात चाहिँदो रहेछ
कोही एकजनाको साथ चाहिँदो रहेछ

मलाई खोल्न
एउटा साँचो मैले तिमीलाई दिएको छु !

Bhupin Byakul – Kiran Haruko Khel Bhoomi

किरणहरुको खेलभूमि

आँखीझ्यालबाट कोठाभित्र छिरिरहेका
ट्युवलाइटझैं
घामका किरणहरु
समात्न खोजिरहेको छ मेरो सानो छोरो
जसरी मा समात्न खोजिरहेको छु उसको बगलमा
कविताका त्यतै किरणहरु !

सोचिरहेछु –
उसले लठ्ठीझैं समात्न रहर गरेको
र समातेर खेल्न खोजिरहेको घामका किरणहरु
त्यहीं कतै उपस्थित छ जीवनको निख्खर अर्थ !

सोचिरहेछु –
किरणहरुको खेलभूमिमा
मैले पक्रिन खोजिरहेका र परपर सर्दै गइरहेका कविताका क्षितिजहरु
त्यहीं कतै उभिएको छ कविताको छायाँ !

असफलतासँग निस्फिक्री जिस्किएर
छोरा सङ्घर्ष गरिरहेको छ
किरणहरूको लठ्ठी समात्न
र त्यसलाई टेकेर धर्तीमा उभिन

ब्यस्त छु म
कविताका छायाँहरू पक्रन र त्यसलाई लगेर कसैको हृदयमा टाँग्न

सोचिरहेछु
जीवन अरु कुन बेला यति सुन्दर देखिन सक्छ ?

Bhupin Byakul – Fohor

भूपिन ब्याकुल – फोहोर

के प्राण बाँकी हुन्छ र ती घरहरुमा
जहाँ कुनु फोहोर हुँदैन !

जीवन केवल
नमेटिने तृष्णा हो सौन्दर्यको
फोहोरको नदी किनारमा
फोहोर त त्यहाँ पनि हुन्छ
जहाँ पुग्छन सपनै सपनामा
उचाइ टेकेरफर्किरहेका जाँगरिला खुट्टाहरु
जहाँ छिर्छन रहरको बन्द ढोकाबाट
गहिराइ छोएर उत्रिएका सुन्दर आँखाहरु
फोहोर त्यहीं हुन्छ
जहाँ फुल्छन अदृश्य सम्भावनाहरु

असमर्थ छन् फोहोर गर्न
मुखियाको लौरिलाई झैं
समयको जी-हजुरी गरिरहेका अमुक गाउँहरु
श्रमिकका आवाजहरु निल्ने हृदयविहीन सहरहरु
कोठाभित्र अचेत पल्टिएका रोगि हावा
र मानिसको स्पर्श पर्खिरहेका किताबहरु !

गरिबीलाई झैं
चरम असफलतालाई झैं
र मेरा अभावका अनन्त परतहरुलाई झैं
फोहोरलाइ घृणा गर्ने मेरो सभ्य मित्रहरु
म कसरी सम्झाउँ तिमीहरुलाई
कि फोहोरको क्षितिजबाट उदाउँछ
कानुन र राज्यसत्ताको नयाँ घाम
फोहोरकै आकाशमा टिम्टिमाउँछन
कला र समस्त सौन्दर्यका जुनतारहरु
कसरी सम्झाउँ
कि फोहोरकै कडा आवरण फुटालेर
चल्लाझैं निस्कन्छ स्वयम् सफा पनि !

फोहोर रुमालले अनुहार पुछने पृथ्वीमा
फोहोर गरेरै जन्मिन्छ मानिस पनि !

निरपेक्ष कहाँ हुन्छ र स्वच्छता
बाँच्नको लागि फोहोर गर्नु जरूरी हुन्छ … … !

Bhupin Byakul – Samundra Heri Raheko Manis

भूपिन ब्याकुल – समुद्र हेरिरहेको मानिस

बग्दै गरेको
कुनै समुद्रझैं देखिन्छ मानिस
जब ऊ समुद्रअघि उभिन्छ !

हिमपहिरोबाट बग्दैबग्दै
पग्लदै आएको बरफको ढिक्काजस्तो
मानिस जब समुद्रमा हामफाल्छ
बिलाउँछ ऊ
असिनाहरु बिलाएझैं माटोमा
यात्रीहरु बिलाएझैँ बाटोमा

फुट्न तयार
हजारौं ज्वालामुखीहरु छन् समुद्रसँग
खलपात्र सन्तानको पेट बोकेकी आमाको गर्भझैं
लाखौंको ज्यान लिने
सुनामीहरु छन् समुद्रको गर्भमा
मान्छे निल्ने साइक्लोनहरु छन्
ढुंगा काट्ने छालहरु छन्
र पृथ्वी नै हल्लाउने
भयङ्कर हलचल छ समुद्रसंग

समुद्रअघि उभिएको मानिससंग पनी
यी सबै छन्
सीमाहीन सीमाहरू छन्
जहाँ कोह कोलम्बस पुगेको छैन अझसम्म
जीवनभरी हिंडेर नसकिने
अन्नत बाटाहरु छन्
दुर्घटित
इतिहासका किम्बदन्तीहरु छन्
अभेद्य प्रश्नहरु छन्

समुद्र बोकेर पिठ्युँमा
प्रकाश छिरेझें झ्यालबाट चोटामा
मानिस घरभित्र छिर्छ
अफिस जान्छ
बैठकको निर्णयमा हस्ताक्षर गर्छ
पहाड चढ्छ र ओर्लन्छ
उसको मुटुले छाती बझाएझैँ
मन्दिर गएर घन्ट बजाउँछ
मौन बस्छ
कविता लेख्छ
र समुद्रझैँ
जीवन र मृत्युका सीमनाहरुमा बगिरहन्छ !

समुद्रअघि उभिएको मानिस
समुद्रमा मिसिएको पानीजस्तो देखिन्छ !

Bhupin Byakul – Andhyaro Ko Maunata Ma

भूपिन ब्याकुल – अँध्यारोको मौनतामा

अँध्यारोको मौनतामा
केहो पनि नचिन्न अभिशप्त भएको बेला
सिर्फ बोलिदिनु तिमी
म तिम्रो आवाजलाई चिन्नेछु !

अँध्यारोमा
बगिरहेको नदी देखिनेछैन
तर नदीको आवाज सुनिनेछ
अँध्यारोमा
रोइरहेका मानिसहरु देखिनेछैनन्
तर रुवाइको आवाज सुनिनेछ !
अँध्यारोमा
जीवन
प्रेमभोक
र पीडाका संवादहरु निर्लिप्त भएको बेला
अँध्यारोमा
एकअर्कालाई चिन्न असमर्थ भइरहेको बेला
एकअर्कालाई बुझ्न असमर्थ भइरहेको बेला
बाँच्ने विकल्प केहि नरहेको बेला

सिर्फ बोलिदिनु तिमी
म तिम्रो आवाजलाई पछ्याउनेछु !

अँध्यारोको मौनतामा
आवाजहरुमात्र विकल्प रहनेछन हामीसंग
आँफूलाई चिनाउन !

Bhupin Byakul – Tamagai Deshko Manchitra Bata Metindai Thiyo

भूपीन व्याकुल – तामागी देशको मानचित्रबाट मेटिदैं थियो !

शहरले अपहरण गरेको छ, तिम्रो आत्मा
र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी
देश, म त्यही आस्था र ढुकढुकी खोज्दै
यस्तो गाउंमा आईपुगेको छुं
जहां मान्छेहरु भन्दा बढी घरहरु छन्
जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

मेरो अनुहारनै
एउटा प्रश्न भएर अगाडि उभिए पछि
गाउंका बृद्ध मुखिया ओतेले भने –
“युवतीहरु सपना खोज्न शहर पसेका छन्
युवाहरु जिवन खोज्न बिदेश पसेका छन्
र प्राण थामि रहेका बुढा बुढीहरु
आंगनमा काल पर्खेर बसेका छन्
यो गाउंको तातो पसिना
बिदेशको माटोमा बगेको छ
यो गाउंको तातो रगत
बिदेशको पानीमा बगेको छ ।”

मैले सोधें –
“कसले रोपेर गए
लाहुरे फुलका यि उदास बोटहरु ?
कसले गोडेर गए
फुलबारी, करेसाबारी र खेतबारीहरु ?
खोई बिहान जगाउन
भालेहरु बासेको यो गाउंमा ?
खोई गाउं ब्युंझाउन
हिमालहरु हांसेको यो गाउंमा ?”

गाउंको जम्मै उज्यालो बिदेश लैजाने
छोरा छोरीहरु सम्झदै
बृद्ध मुखिया आतेले रुंदै भने –
“लाहुरे फुलहरु नओईलाउंदै
र बिहान ब्युंझाउन भालेहरु नबास्दै
उनीहरु आएनन् भने
मृत्यु आउने छ हाम्रा ओछ्यानहरुमा
हामीहरु सबै यसरी मर्नेछौंकी
मलामी जान पनि कोही बांकी रहने छैनन् !”

मैले देखि रहेको थिएं –
शहरमा एक रात पनि बास नपाएर
संवेदनामा संस्कृतिहरु गाउं पस्दै थिए
र यहि क्रममा
तामागी
देशको मानचित्रबाट मेटिदैं थियो !

– भुपीन व्याकुल, रचनास्थल: तामागी, २०५५