Rameshwari Panta – Phool Jastai Chhe Meri U

रामेश्वरी पन्त – फूलजस्तै छे मेरी ऊ
(मधुपर्क २०६६ चैत)

बाहिरबाट हेर्दा यो घर खण्डहर जस्तो लाग्छ, मानौँ वर्षौँदेखि यो खालीखाली छ । चारैतिर अत्यासलाग्दो झाडी र झुम्म परेका रूखहरूको बीचमा ठडिएको यो घरलाई सडकमा ओहोरदोहोर गर्ने जो कोहीले पनि एकपटक पुलुक्क हेरेर जान्छन् । सायद उनीहरूको मनमा पनि यस्तैयस्तै जिज्ञासाहरू उठ्दा हुन् ।

यतिबेला म यो घरको माथिल्लो तलामा पश्चिमपट्टकिो सानो बरण्डामा उभिएर त्यही झाडी नियालिरहेको छु । म प्रायः यसरी नै यहाँ उभिएर यो झाडीको भित्रभित्र आँखा दौडाउँछु, मानौँ यसभित्र मेरो केही अमूल्य चीज हराएको छ ।

झाडीभित्र लुकेको घरको कुरा गरिहालेँ । घर र झाडी दुवैको परिचय पनि गराइहालुँ । झाडी खै केके उमि्रएर झ्याङ्गएिको छ

कुन्नि अनेक थरी रूप र रङ्गका बोटबिरुवाहरू छन् त्यहाँ । ऊ त्यो दक्षिण-पश्चिमको कुनामा यौटा अजङ्गको काफलको रूख झ्याङ्गएिको छ । अलि वर यौटा नास्पातीको बोट लटरम्मै फलेको छ । बोटले धान्न नसकेर कैयौँ हाँगाहरू जमिनतर्फ झुकेका छन् । एक दुई हाँगा त भाँचिएर जमिनमा लडिरहेछन् । कति फल्न सकेको होला आफ्नो क्षमताको पनि विचार गर्नु नि यसो हुन त यसले पनि मेरी आमाले जस्तै सोच्दो हो- ‘भगवान्ले दिएका जति हात थाप्नै पर्‍यो’ । धन्न मेरी आमा भगवान्ले दिएका जति सबै हात थापेर करिब एक दर्जन सन्तानकी आमा बनेर पनि असी वर्षको उमेेरसम्म ठमठम हिँड्दै हुनुहुन्छ ।

नास्पाती पाक्नै लागेका छन् । थुप्रै चराहरू आएर तिनलाई ठुँगिरहेछन् र रमाउँदै पेट भरेर भुर्रभुर्र उडिरहेछन् । यिनीहरूमध्येकै यौटा ‘बलिष्ट चरो’ काग आएर नास्पाती ठुँग्छ । यति जोडले ठुँग्छ कि, ठुँगाइलाई सहन नसकेर नास्पाती फुत्त भुइँमा र्झछ । एकैछिनमा त्यो झरेको नास्पातीमा कमिलाको हुल जम्मा हुन्छ र रमाइरमाई उनीहरू पेटपूजा गर्न थाल्छन् ।

नास्पातीका रहरलाग्दा दाना देख्दा मलाई पनि खान मन नलागेको कहाँ हो र ? मैले आˆनो इच्छालाई अप्रत्यक्षरूपमा साथीसँग जाहेर गरेँ- ‘तिमीहरू नास्पाती खाँदैनौ कि कसो ? पाकेर सबै चराले खाइसके ‘

‘कसरी खानु ? पहिलो कुरा त त्यो झाडी छिचोलेर नास्पातीको बोटसम्म पुग्नै मुश्किल छ, कसैगरी पुगियो भने पनि घरबेटीले थाहा पाए मारिहाल्छ । कस्तो कञ्जुस बूढो छ भने न आफू खान्छ, न अरूलाई खान दिन्छ ।’

साथीको कुरा सुनेपछि मलाई उसको घरबेटीको बारेमा पनि जान्न मन लाग्यो । घर कम्पाउण्डको मूल गेटैनिर झ्वाम्म परेको असारे फूलको बोट, जसलाई लहरै लहराहरूले छोपिदिएको छ र त्यही बोटलाई आधार बनाएर अर्को यौटा लहरे फूल घरको भित्ताभरि फैलिएर छतसम्मै ढपक्कै ढाकेको छ । मुश्किलले अलिकति भाग मात्र सडकबाट देखिने यस घरको माथिल्लो तलामा मेरो साथी बस्छ । तल भुइँ तल्लामा दुई बूढाबूढी मात्र छन् । बूढो सरकारी सेवाको उच्च पदबाट सेवानिवृत्त भएर पनि उही धाकरवाफमा आफूलाई राख्न खोज्ने पुरानै सोचको मान्छे । छोरो इन्जिनियर र बुहारी डाक्टर अरे । राजधानीभित्रै यहीँ नजिकै जागिर भएर पनि किन वृद्ध बाबुआमालाई एक्लै छोडेर डेरामा बसेका होलान् त ? बूढोको कञ्जुस र कचकचे बानी भएर हो ? अथवा पुस्तान्तरण र आधुनिक जीवनशैलीमा रमाउने चाहनामा बूढाबूढीहरू बाधक अथवा बोझ भएर हो ?

जेसुकै होस्, यो उनीहरूको निजी मामला हो तर यसो भनेर मेरो मन कहाँ मान्छ र ? मेरा पनि त ती बूढाबूढीका जस्तै एक छोरो र एक छोरी छन् । छोराछोरीलाई डाक्टर, इञ्जिनियर बनाउने चाहानाले मैले पनि त राजधानीको यो अत्यासलाग्दो वातावरणलाई आत्मसात् गर्दैछु।

छोरोलाई जन्माएर, हुर्काएर, पढाएर, इञ्जिनियर बनाउँदासम्म उनीहरूले कतिधेरै शारीरिक, मानसिक र भौतिक लगानी गरे होलान् । कति सपना सजाए होलान् त्यो अवधिमा । ‘बूढेसकालको सहारा यही त हो नि’ भन्दै आˆनो जीवनका सारा खुसीहरू उसैमाथि न्यौछावर गरेर भविष्यका सुन्दर सपनाहरू साँचे होलान् । तर खै, ती सपनाहरू कहाँ उडे आज ?

सन्तान भनेको वंश परम्परा धान्नकै लागि मात्र हो भनेर शास्त्रमा भनिएकै छ । यदि वंश धान्नकै लागि मात्र सन्तान चाहिने भए किन मान्छेले यति धेरै आशा गर्छ सन्तानबाट ? र अन्तमा फेरि किन निराश बन्न पुग्छ उनीहरूबाट ? आखिर मेरो हालत पनि त यस्तै होला नि यी बूढाबूढीको जस्तै- बूढोको सहारा बूढी, बूढीको सहारा बूढो ।

मेरो साथीसँग कहिले कहाँं बूढोले आफ्नो पीडा हल्का पार्छ रे भन्छ रे-‘छोरोलाई भएभरको पैसा लगानी गरेर इञ्जिनियर गराएँ, बुहारीलाई मैले नै पैसा खर्च गरेर डाक्टर बनाएँ । आज उनीहरूलाई यो घर चाहिएन र बाहिर बस्छन् भने म बूढोलाई मात्र के चाहियो र मैले यो सब झ्याङ्झाडी सफा गर्नु ।’ मानौँ, बूढोले आˆना छोराबुहारीप्रतिको सम्पूर्ण आक्रोश यही झाडीमाथि खन्याएको रहेछ ।

मैले पनि त आˆना छोराछोरीलाई डाक्टर-इञ्जिनियर बनाउने सपना देखिरहेकी छु । आˆनो जीवनको सम्पूर्ण कमाई खर्च गर्नुपर्ने छ मैले उनीहरूमाथि तर भोलि ? उनीहरू डाक्टर-इञ्जिनियर भएपछि त्यही स्तरकासँग बिहे गर्नेछन् । अनि उनीहरूको जीवनशैली फेरिने छ र हामी पुरानो पुस्ताका ठहरिने छौँ । अनि त उही-‘बूढोको बूढी, बूढीको बूढा’ । महिना मरेपछि पेन्सन थाप्यो, दिनभर ओछ्यानमा बसेर थोत्रो टिभी हेर्दै अखबारमा आँखा तन्काएर दिन बितायो,

बस् तर सबै छोराछोरी उस्तै त कहाँ होलान् र ? आशा त गर्नै पर्‍यो नि ।

म अझै पनि सानो बरण्डामा बसेर तल त्यो झाडीलाई हेरिरहेको छु । काफलको बोटनेर झुम्म परेको झाडी छ । त्यो अत्यासलाग्दो झाडीको बीचमा सुन्दर गुलाबका फूलहरू फुलेका छन् । कस्तो अचम्म ! झाडीभित्र गुलाबको बोट देख्न मुश्किल छ र पनि झाडीमाथि फुत्त निस्केर फूलहरू फुलिरहेछन् । फूलको धर्म फुल्नु हो । त्यसैले त अनेक व्यवधानको बीचमा पनि यो फुलिदिन्छ र मुसुक्क मुस्काइदिन्छ यी गुलाबहरूजस्तै ।

साँच्चि ! गुलाबको सौन्दर्य कसलाई मन नपर्ला र ? ऊ त्यो फक्रनै आँटेको कोपिला कस्तरी लजाइरहेछ ! अनि त्यो भर्खर फक्रेको फूल ! आ हा ! त्यसको मादकता !! यहाँसम्म आएर मलाई लठ्याइरहेछ । मेरो नजर घरि कोपिलातिर पुग्छ , घरि फूलतिर । छेवैमा दुईचारवटा फूल ओइलिनै आँटेका छन्, सायद हिजोअस्ति नै फक्रिएका होलान् । केही फूलहरू आधा झरिसकेका देखिन्छन् भने केही त पूर्णरूपले झरेर अस्तित्वविहीन बन्दै भेट्नामा मात्र सीमित छन् ।

ओ हो ! खै कहाँ छ फूलको अस्तित्व ? फुल्नुमा ? फक्रिनुमा ? अथवा कसैलाई लठ्याउनुमा ? फूल आफँैमा केही हैन ? के सधैँ अरूकै लागि मात्र फुलिदिनुपर्छ उसले हरेक व्यवधान पार गर्दै ? मेरो मगजमा प्रश्नहरूका ओइरो लागिरहेछन् यतिबेला ।

हेर्दाहेर्दै यौटा मस्त भँवरो भुनभुनाउँदै आएर ती फूलहरूमाथि परिक्रमा गर्छ अनि विस्तारै अर्ध-प्रष्फुटित कोपिलातिर बढ्छ र फकाउन थाल्छ । यस्तो लाग्छ, ऊ भनिरहेछ -‘तिमी अत्यन्त सुन्दर छ्यौ’ । अनि कानैनेर पुगेर सुटुक्क भनेझैँ लाग्छ-‘के तिमी मलाई तिम्रो सौन्दर्यको रसपान गर्ने अनुमति दिन्छ्यौ ?’

भर्खर जवानीको लाली चढ्दै गरेको त्यो कोपिला लाजले भुतुक्क भएर पसिनापसिना हुन्छे । पत्रपत्रमा उसको पसिना शीत बनेर टप्किन थाल्छ । मानौँ त्यो पसिना, त्यो शीत उसको अस्वीकृतिको सूचक हो ।

तर ऊ भँवरो न ठहर्‍यो ! जबर्जस्ती उसमाथि आफ्नो आधिपत्य कायम गर्दै टन्न अघाएर डकार्दै रोबसाथ एकपटक सारा पुलहरूमाथि फन्को मारेर बेपत्ता हुन्छ ।

हिजो पनि त ऊ त्यस्तै गरेर आएथ्यो, अनि ऊ त्यो फक्रिएको थुङ्गामाथि रजाईं गरेर गएको थियो । अस्ती ऊ त्यो…। त्यो कोपिला पनि भोलि त्यसरी नै फक्रिने छ र क्षणभरको लागि मुस्काउने छ ।

मैले पनि त कुनै दिन यस्तै कोपिला मन पराएको थिएँ । कति सुन्दर थिई

ऊ ! यो कोपिलाभन्दा पनि सुन्दर !! ऊ त्यो कोपिलाभन्दा भिन्दै थिई र मेरो मन पराईको चाल पाएपछि उसले भनेकी थिई- ”सक्छौ भने मलाई आˆनै बनाएर लैजाऊ, अनि मात्र तिमीलाई जेसुकै गर्न छूट हुनेछ-माया गर्न, चुम्बन गर्न…।”

तर म त्यो भँवरोजस्तो बन्न सकिन । मैले कोपिलामै उसलाई चुडेर छिट्टै ओइलिई झर्ने फूल बनाउन चाहिँन र भनिदिएँ- ”तिमी अझै फुल्नुपर्छ, फक्रिनुपर्छ र अझै खुल्नुपर्छ, अनिमात्र तिमीलाई आफ्नो बनाउने छु ।”

मैले उसको अगाडि आफू महान् बन्न खोजेँ । पूर्ण प्रष्फुटनपछि मात्र उसलाई आˆनो बनाउने चाहनामा अनेक सपनाहरू सजाउँदै म समयको प्रतीक्षा गर्न थालेँ तर समयले मलाई पर्खेन । मैले हेर्दाहेर्दै कसैले आएर मेरी उसलाई टपक्कै टिपेर बेपत्ता भयो ।

वषौंँसम्म मैले उसको कुनै पत्तो पाइनँ र पनि मेरो नजरबाट उसको आकृति ओझेल भएन । हृदयको कुनामा सधैँ बसिरहन्थी ऊ, अनि सपनामा आएर भन्ने गर्थी- ”म के गरुँ त ! तिमीलाई भनेकै हो…। तिमी महान् बन्न खोज्दा हामी एक-अर्काबाट टाढा भयौँ ।”

र आज समयको चक्रले एकपटक फेरि मलाई उसको नजिक ल्याइपुर्‍याएको छ । जीवनको यौटा मोडमा अपरिकल्पनीयरूपमा केही महिनाअघि उसँग भेट भयो ।

‘पूर्णरूपमा फक्रिन पाउनु फूलको अधिकार हो’ भन्दै आˆना रहरहरूलाई हतकडी लगाएर फूलको वकालत गर्ने म फूलको चोटले घाइते बन्न पुगेँ र पनि मुश्किलले घाऊ पुरिइसकेको थियो- अचानक फेरि मैले मन पराएकी उसलाई वर्षौँपछि देखेँ तर ऊ यतिञ्जेल कोपिलाबाट फूल भएर पनि ओइलिने तरखरमा थिई । हुन त म पनि कहाँ उस्तै रहेको छु र ?

हाम्रा नजर जुधे । उसले सहजरूपमा सोधी- ‘सञ्चै छौ ?’

‘ठीकै छु ।’

‘के गर्दैछौ त अचेल ?’

‘दुई सन्तान र श्रीमतीको भरणपोषणको लागि दौडधूप गर्दैछु’ उसँग आँखा जुधाएर मैले भनेँ- ”के छ त तिम्रो हालखबर ?”

‘आदर्श पत्नी र सफल आमाको भूमिका निर्वाह गर्ने कोसिस गर्दै जीवनका पल-पल धकेलिरहेकी छु ।’ उसको आवाजमा शुष्कता थियो ।

मुर्झाउने तरखरमा लागेकी ऊ आज पनि मलाई उत्तिकै सुन्दर लाग्दै थिई । धेरैबेर उसको चेहरामा नजर डुलाइरहेँ र उसले पनि । केही क्षणको त्यो हेराइमा हामीले मनमनै एक-अर्कासँग धेरै कुरा गर्‍यौँ अनि फेरि भेट्ने वाचा गरेर आ-आफ्नो गन्तव्यतिर लाग्यौँ ।

आजकल कहिलेकाहीँ हामी आˆनो समय चोरेर यसो भेट्ने गर्छौं र आपसमा सुख- दुःखका कुरा गरेर जीवनलाई सहज बनाउने कोसिस गर्छौं । उसले मसँग कुनै गुनासो गर्दिन तर म मौका पाउनासाथ पुरानो घाउ कोट्याएर उसँग गुनासो पोख्छु । जवाफमा ऊ भन्छे- ‘मैले भनेकै थिएँ, मलाई आˆनो बनाएर लैजाऊ, तर तिमीले…….।” म चुप लाग्न विवश हुन्छु ।

अचेल मलाई उसको झन् धेरै माया लाग्न थालेको छ । उसले पनि भन्ने गर्छे- म उसका सपनामा सधैँ सधैँ आउने गर्छु रे !

उसले एकदिन मलाई भनी- ”हामी शरीरले टाढा भएर के भो त मन अझै उस्तै छ मेरो र सायद तिम्रो पनि । त्यसैले हामी सधैँभरि एक अर्कालाई मनले माया गरौँ हुन्न र ?” उसको कुराले चित्त बुझ्यो । किनकि हामी दुवै आज जुन धरातलमा उभिएका छौँ त्यो धरातलबाट एक इञ्च पनि यताउता हुन सक्दैनौँ । यो हाम्रो तपस्या हो । मलाई आज त्यो कोपिलाभन्दा ऊ त्यो फक्रिएको फूल झनै सुन्दर लागिरहेछ । म त्यसलाई धित मरुञ्जेल हेर्दैछु यो बरण्डाबाट र यति नै बेला एक हातमा थाली र अर्को हातमा लामो लठ्ठी लिएर घरबेटी बूढी झाडी पन्छ्याउँदै गुलाफ फुलेतिर लम्किन्छिन् र लठ्ठीले तानेर फक्रेका केही गुलाफहरू टिपी थालीमा राख्छिन् । सायद पूजा गर्नको लागि होला ।

फूल ! चाहे हजारौँ भँवराले चुसेर छोडेको नै किन नहोस्, ईश्वरको लागि त्यो सधैँ पवित्र नै हुन्छ, जस्तो मेरो लागि मेरी ऊ……….।

मैतीदेवी, काठमाडौँ ।

Chhakku Udasi – Dashain Ra Abodh Fuchhe

छक्कु उदासी – दशैं र अबोध फ़ुच्चे

दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा बन्ने गरेको छ ।

फुच्चे ! पोहर, परारतिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बाबुले अटम भर्दै आएको फुच्चेले यो पालीदेखि आमालाई कल्पनै नगरेका प्रश्नहरू एक पछि अर्को गर्दै सोध्न थालेको छ । पुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुँदो हो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।

सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहा नै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थिई । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरूको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थिई । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँघेको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।

फुच्चे गर्भमा छ भन्ने थाहै नपाई बिदेश लागेका दिलको मालिक आज सम्म अत्तो पत्तो छैन । बेजातीसँग बिहे गरिस भनेर न माईतीले हेरे, न घरकाले स्वीकारे । न घरकी न घाटकी भएको बेला झन गाउँबाटै निकाला गरियो । गाउँ-गाउँतिर डुल्दै जाँदा गाई भैसीको शरणमा एउटा साहुको गोठमा ओट लागेकी थिई । एकातिर भुँडीमा पापको डल्लो हुर्कदै थियो । छोरी जन्मियोस भन्ने कामना गर्दा गदै दुर्भाग्य बस भैंसी गोठमा छोरोको जन्म भयो । न्वारन नै नभएको छोरोको नाम वरपरका सबैले ए…फुच्चे भनेर बोलाउन थाले । आफू पनि छाती माथी ढुंगा राखी आफ्नो मुटुमा फलेको छोरालाई फुच्चे भनेर बोलाउन बाध्य हुन्थी ।

अब त फुच्चेले पनि दशैंको बेला अरुको आमाले घर, आगन र चौका सिंगार पटार गरेको देख्न थाल्यो । अरुको बाबाले “भ्या….भ्या …” गर्दै खसी ल्याएको पनि सुन्यो । अनि त्यस्तै अरुको बाबा बिदेशबाट बाकस टल्काउदै चरप्पै चाचा, पापा ल्याएको बुझ्यो । उसका सबै दौंतारीहरूले नयाँ-नयाँ लुगा लगाएको र मिठा-मिठा खाएको महसुस गर्न थाल्यो । त्यसैले होला अरुको लैलैमा फुच्चे पनि अन्यासै खुसी हुँदै थियो । अवश्य फुच्चेको अबोध मानस्पातलभरि अरुको घरमा जस्तै आफ्नो घरमा पनि धुमधामका साथ दशै भित्रिने आशा गरेको थियो । तर फुच्चेको आशा निराशामा परिणत हुँदै थियो । ऊ आमालाई प्रश्नमाथि प्रश्न थुपार्दै थियो । गर्दा गर्दा उस्का अबोध धेरै जिज्ञासाहरू उस्को आमाको मौन र अमिलो अनुहार अनि बलिनधारा आँशुसँगै नाजवाफमै टुङ्गिन बाध्य भएको थियो । बिचरा ! अबोध फुच्चेको के दोष ????

Bishwa Raj Adhikari – Neta Mohan Prasad Le Dekhe Dar Lagdo Sapana

विश्वराज अधिकारी – नेता मोहन प्रसादले देखे डरलाग्दो सपना

भगवानको अप्रत्यासित आगमन बाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने ‘प्रभु, मेरो घरमा बडो कृपा गरि पाल्नु भयो, म धन्य भए, हजूर यसरी आउनु होला भनी मैले कहिले चिताएको पनि थिन। नेताको कुरा सुनेर भगवानले हाँस्दै भन्नु भयो ‘नेता मोहन प्रसाद, तिमी त नास्तिक व्यक्ति, भगवान प्रति तिम्रो आस्था छैन रे, भन्दै हिँडछौ सारा संसारलाई। तिमी यति बढी आस्तिक हुँदा हुँदै पनि किन म नास्तिक हुँ भन्दै हिँडछौ त जनतालाई, हँ नेता मोहन प्रसाद?’

भगवानको कुराबाट नेता अलि लज्जित भए। नेताले आफ्नो त्यो लज्यामा हाँसो मिसाउँदै भने ‘प्रभु, म के को नास्तिक हुनु, म त एक नम्बर खाँटी आस्तिक मान्छे हो। हजूरलाई थाहा भएकै कुरा हो, भगवानमा मेरो पूरा विश्वास छ । म नास्तिक हो भनेर त केवल जनतालाई भनेको हो मैले। जनतालाई आज भोलि साँचो कुरा भने पछि पत्याउँदैनन्। जुन नेताले जति बढी झूठ बोल्यो उसलाई त्यतिकै बढी पत्याउँछन। अशल गरेर, सत्य बोलेर राजनीति गर्नेको दिन गयो अब, प्रभु। अनि, यस्तो स्थितिमा जनताको मन जित्न झूठको सहारा नलिएर के गर्नु त? आउने चुनावमा उनीहरुको मत कसरी बटुल्ने त, हजूर? कुनै अरु नै उपाए छ भने आज्ञा होस, प्रभु। झूठ न बोलेर पनि चुनाव जित्न सकिने तरिका छ त अर्को कुनै, प्रभुको नजरमा? भगवानले फेरि हाँस्दै भन्नु भयो ‘हेर नेता मोहन प्रसाद, म भन्दा बढी जान्ने सुन्ने त तिमी नै छौ। दाउपेंचमा तिमीलाई कसैले जित्न सक्छ र? हामी भगवानहरुले त थाहा पाउन सक्तैनौ तिम्रा भित्री मनका कुराहरु। तर यसरी सँधै झूठ बोल्यौ भने एक दिन पत्याउन छाडने छन, है, जनताले तिमीलाई, बुझ्यौ।’

भगवानको कुरा सुने पछि नेताले हात जोड्दै अलि लाज मानेर भने ‘प्रभु, सँधै एकै किसिमको झूठ बोले भने पो न पत्याउलान जनताले, सँधै नया नया किसिमको झूठ बोले भने हामीले झूठ बोलेको थाहा नै पाउँदैनन, यी सोझा साझा जनताले। फेरि अर्को कुरा प्रभु, झूठ पनि अलि पत्यारिलो किसिमले आत्म विश्वासका साथ भन्नु पर्छ। प्रभु, जनताको पनि अब झूठो कुरा सुन्ने बानी परिसकेको छ। कहिले काहिँ झुक्किएर हामीले साँचो कुरा गर्दा पत्याउँदैनन, झूठो कुरा सुन्दा सुन्दा। जस्तै, सधै भरि सुद्ध भनी पानी मिसाएको दुध खाएको व्यक्तिले यथार्थ मै सुद्ध दुध खाए भने पचाउन सक्तैन रे, पेट खराब हुन्छ उसको, अनि त्यस्तो दुध खाने व्यक्तिले सुद्ध दुध दिनेलाई गाली गर्दै भन्छ रे, कस्तो नराम्रो दुध दियौ तिमीले मेरो त पेट नै खराब भयो। अस्ति अस्ति तिमीले नियमित रुपले दिने दुध नै ठीक थियो, सुद्ध थियो।’

नेताले थपे ‘हजूरलाई त सबै कुरा त विदित नै छ। म ठूलो आस्तिक मान्छे हो। हजूरबाट कुनै कुरा लुक्न सक्छ, कहिँ, प्रभु? हजूरलाई त छर्लङ्ग नै मेरो बारेमा।’

नेताले फेरि थपे ‘प्रभुको कृपा सँधै भरि यसै गरि रहि रहोस म माथि। अनि नि प्रभु, अब आउने चुनावमा मैले जिते भने प्रभुको सुनको मूर्ति बनाइ स्थापना गर्ने छु, एउटा सुन्दर मन्दिर निर्माण गरेर त्यो मूर्तिलाई त्यस भित्र राख्ने छु, प्रभु। त्यसैले अहिले प्रभुको आराधना गरेरको, प्रभुलाई आह्वान गरेको, यो कुरा विन्ति गर्न।’

नेताको कुरा सुने पछि भगवानले अलि रिसाएको जस्तो गरेर भन्नु भयो ‘हेर नेता मोहन प्रसाद, तिमी जनतासँग त सँधै झूठ बोल्छौ नै, तर मसँग पनि झूठो न बोल। मेरो कृपाले तिमीले आउने चुनाव जिते पनि मेरो मन्दिर बनाउने छौ भन्ने कुराको कुनै ग्यारंटी छैन। तिमी सँधै झूठ बोल्ने मान्छेको के विश्वास। गएको चुनाबमा नै तिमीले भनेका थियौ, यो चुनाव जिते भने मेरो निर्वाचन क्षेत्रमा हजूरको एउटा सुन्दर मन्दिर बनाउने छु भनेर, तर खोइ बनाएको। चुनाव जितेको पनि कति वर्ष भइ सक्यो। हो कि होइन, ल भन त?’
भगवान अलि क्रुद्ध भएको हो कि भन्ने अनुमान गर्दै नेताले भगवानको हात माथि आफ्नो सिर राख्दै भने ‘के गर्नु प्रभु, हजूरको कृपाले नै चुनाव जितेको हो। हजूरको दया म माथि त थियो नै तर मेरा कार्यकर्ताहरुको हात पनि कम थिएन मलाई त्यो चुनाव जिताउनमा। उनीहरुले मलाई चुनाव जिताउन हर सम्भव प्रयास गरे। के गरेनन् मेरा कार्यकर्ताहरुले, बुथ कब्जा गरेनन् कि फर्जी मत हालेनन्? जायज नाजायज सबै काम गरे। तर चुनाव जितेर पनि के गर्नु, प्रभु? मेरो पार्टी नै यस्तो पर्यो, कहिले सरकारमा जान न सक्ने। सरकारमा जान पाएको भए, हजूरको मन्दिर बनाउनु कुनै ठूलो कुरा थिएन। सरकारमा जान नसक्ने पार्टीमा बसेर के गर्नु, त्यसैले मैले त्यो पार्टी नै छाडी दिए, र अर्को एउटा छुट्टै पार्टी खोले, प्रभु, आफू त्यो पार्टीको हाली मुहाली हुने विश्वासमा, सरकरमा जान पाइएला भन्ने आशमा ।’

नेता मोहन प्रसाद एकै छिन घोरिए। त्यसरी घोरिएको केही क्षण पछि भने ‘हुनत मैले समय समयमा उचित निर्णय लिएको छु, प्रभु। कति ओटा पार्टी फेरि सके मैल, त्यसैले जहिले पनि म शक्तिसाली छु। तर कस्तो मेरो भाग्य, ‍धेरै पार्टी फेरे पनि, नया पार्टी खोले पनि कहिले सरकारमा पुग्न सकिएन। धन्य मलाई विजयी गराउने ती जनताहरु, आफू रहेको पार्टी फुटाउँदा पनि, नयाँ पार्टी खोल्दा पनि र यी सबै कुरा केवल आफ्नो स्वार्थ र अहम् का लागि गर्दा पनि पत्याएका छन, मलाई । मैले गर्ने बिरोध सभा, आम सभामा कस्सिएर भाग लिएका छन। मेरो साथ दिएका छन। अविश्वास गरेका छैनन् जनताले। मैले उठाएको मुद्दा गलत छ भन्ने बरु मलाई लागेको हुन्छ तर जनतालाई भने पत्तै हुँदैन, त्यो कुराको। त्यति मात्र हो र, मैले केवल आफ्नो स्वार्थका लागि कुनै रानैतिक दल वा नेता माथि झूठो आरोप लगाउँदा, गाली गर्दा समेत मेरा कार्यकर्ता र जनताहरु म सँग सँगै लागेर गाली गरेका छन, ती नेता र राजनैतिक दलहरुलाई, मैले गाली गेको उचित छ भन्दै। जनताले मलाई निकै साथ दिएका छन। फलानो व्यक्ति प्रधान मंत्री हुँदा, मैले आफूलाई चर्चामा ल्याउन उनले गरेको एउटा जन हित कार्यको बिरोध गर्न मैले उनको र उनको पार्टीको बिरुद्धमा जुलुस निकाले, आमरण अनसन बसें, मेरा कार्यकर्ताहरु पनि जोसका साथ त्यो जुलुसमा सहभागी भए, म सँगै आमरण अनसनमा बसेर बिरोध गरे उनको। भारतको अन्ना हजारेका समर्थकहरु झै, ठूलो संख्यामा समर्थकहरु ओइरिएका थिए मैले गरेको त्यो आमरण अनसनमा। कति विश्वास छ म माथि उनीहरुको। तर उनीहरुको म प्रतिको त्यस्तो विश्वास देख्दा कहिले काहिँ भने ग्लानी बोध हुन्छ, मलाई। सधै जनतासँग झूठ बोलेकोमा मेरो अन्तर आत्माले मलाई धिक्कार छ मन भित्र भित्र। तर धिक्कारेर, ग्लानी गरेर के गर्नु? ग्लानी गरेर, आफूलाई आफैले धिक्कारेर चुनाव जित्न सकिँदैन, सत्तामा पुग्न सकिँदैन, प्रभु। हुन त जनताहरु पनि सबै अशल कहाँ छन र, अपराधी, स्वार्थी र लोभी पापीहरु पनि उत्तिकै छन। तर के गर्नु प्रभु, त्यस्ता खराबहरुको सहयोग नभएमा चुनाब जित्न सकिँदैन, फेरि। अशल मतदाताहरुको सहयोगले जित्न गार्यो छ, बरु उल्टो चुनाब हारिन्छ, अशल मतदाताहरुले प्रचार प्रसार गरे भने। चुनाब हारे पछि भएन त फसाद। कहिले शक्ति हातमा लिएर त कहिले सत्ताको वर पर नै बसेको धेरै समय भयो प्रभु, अब त शक्ति र सत्तामा नभए त बाँच्न नै न सकिने जस्तो भइ सक्यो। शक्ति र सत्ता त चुरोट, चियाको अम्मल जस्तो भएको छ। त्यसैले अनेक किसिमका झूठा मुद्दा मुद्दाहरु उठाएर जनतालाई ती मुद्दाहरुको पछि लगाउनु परेको छ, मैले। कहिले जनकपुरको त कहिले टनकपुरको, कहिले पानीको त कहिले खानीको अनेक किसिमका हावादारी मुद्दाहरु उठाउनु परेको छ। त्यसो न गरे जनताले बिर्सि दिन्छन, प्रभु। फिल्ममा खेल्न नपाएका, चर्चाबाट हराएका हिरो हिरोइनलाई दर्शकहरुले बिर्से जस्तो। जनताले बिर्सि दिए कसरी सक्ति साली हुन सकिन्छ, प्रभु। त्यसैले कुनै न कुनै मुद्दामा अल्झ्याउनु परेको छ जनतालाई। कहिले दमनको बिरोध भन्दै त कहिले शोषणको बिरोध भन्दै। कहिले विभेदको बिरोध भन्दै त कहिले के को ———-। र जनतालाई सडकमा उतार्ने सबै भन्दा सजिलो तरिका भनेको प्रभु , क्षेत्रवाद, राष्ट्रवादको नारा चर्काउनु हो। हामीले यो तरिका प्रयोग गर्दा जहिले पनि हजारौ मानिस आएका छन सडकमा। त्यसैले यो नारा हामीले बढी प्रयोग गर्छौ। हिन्दी फिल्ममा काम गर्ने विवाहित हिरोइनले बजारमा आफ्नो माग बढाउन पत्रकारहरुलाई बोलाएर मेरो फलानो हिरोसँग रोमान्स चलि रहेको छ भन्ने हल्ला बजारमा फैलिएको छ भन्दै आफैले अन्तरवार्ता दिए जस्तो।’

नेताको कुरा भगवानले गंभिरतापूर्वक सुनेरको देखेर उत्साहित हुँदै उनले भने ‘प्रभु, सँधै भरि हामीलाई पनि खुराफाति काम गर्न कहाँ मन लाग्छ र? के गर्नु राम्रो काम गर्न दिँदैन जनताले। कहिले यो गरि दे, कहिले त्यो गरि दे भन्दै आइ पुग्छन समर्थकहरु, कार्यकर्ताहरु। दबाब दिन्छन, जायज ना जायज काम गर्न। एक चोटी मलाई यति रिस उठ्यो, प्रभु, के भन्नु। एक पटक एउटा मेरो अति नै समर्पित कार्यकर्ता आयो र उसले भन्यो ‘मैले हजूरलाई जिताउन केही गर्न बाँकी राखिन, नेता जी। ज्यान कै बाजी समेत लगाएको थिएँ, बुथ कब्जा गर्न तपाँईको चुनावमा। अहिले हजूरको पालो आएको छ मेरो लागि केही गरि दिने। मैले यस यल सी दिएको छु तर मेरो जाँच बिग्रेको छ, दुइ वटा विषयमा पक्कै फेल हुन्छ। कसलाई हुन्छ भनेर हजूरले मलाई ती विषयहरुमा पास गराइ दिनु पर्यो। त्यो कार्यकर्ताको त्यस्तो कुरा सुनेर त बैठक कोठाबाट त्यसलाई घाँटीमा हात हालेर निकाली दिउँ जस्तो लागेको थियो मलाई, तर के गर्नु, गएको चुनावमा उसले गरेको सहयोग र आउने चुनावमा उसले गर्न सक्ने मदद झल झली सम्झे मैले। आफ्नो पि ए लाई बोलाएर उसको समस्या लेख्न लगाएँ। उसलाई जसरी पनि यस यल सी पास गराई दिने झूठो विश्वास दिलाएँ। अनि……… यस्तो स्थितिमा झूठ न बोलेर के गर्ने त प्रभु? पढ्ने बेलामा अल्लारिएर हिँड्ने, अनि फेल भए पछि पास गराई दिन भन्ने, के त्यस्ताहरु सँग साँचो बोलेर काम चल्छ त? तर प्रभु, त्यस्ताको काम गर्न मेरो नैतिकताले दिएन। हामीले जनताको काम गर्ने हो भन्दैमा जस्तो सुकै घटिया काम लिएर आइ पुग्छन मान्छेहरु, के भन्नु त्यस्तालाई। म आफूले कम मेहनत गरेर पढेको हुँ, यस यल सि को परीक्षामा दिनको ८ घण्टा पढेको छु। यस यल सि पास गर्न सकिएन त्यो बेग्लै कुरा हो। के गर्ने प्रभु, यसलाई यसो भनि देउ, उसलाई त्यसो भनि देउ भन्नेहरुको कथा बयान गरेर साद्दे नै छैन। एक चोटी एउटा केटो यसरी नै मेरो घरमा आयो। त्यति खेर म एउटा पार्टीमा प्रवेश भएको थिएँ, पहिलेदेखि जुन पार्टीमा थिएँ, म प्रति त्यो पार्टीले अन्याय गर्यो भन्दै, त्यो पुरानो पार्टी छाडेर। नया पार्टीमा प्रवेश गरे पछि म मन्त्री हुने हल्ला चलेको थियो, काठमाडौमा मात्र होइन, बाहिर पनि। त्यो केटाले के भन्यो, प्रभुले सुनेर पनि अचम्म मान्नु हुनेछ। त्यो केटोले भन्यो एउटा यैलानी जग्गा उसको नाममा दर्ता गराइ दिनु पर्यो। त्यस्तो गराई दिने हो भने उसले त्यो जग्गाबाट आएको पैसा मध्ये आधा मलाई दिने रे। त्यो सुनेर म यति रिसाएँ कि उसले चुनाबमा मलाइ गर्न सक्ने सहयोग पनि बिर्से अनि बेस्सरी गालि गरे त्यसलाई। रातो मुख लगाएर त्यो केटो हिँड्यो, त्यस पछि त्यो कहिले देखा परेन मेरो घरको वरिपरि। अलि अलि तल माथि गर्नु भनेको अर्को कुरा हो, तर त्यस्तो घटिया काम कसरी गर्नु? त्यस्तो घटिया काम गर्नु त आफ्नो नैतिकता नै बेच्नु हो। त्यो पनि त्यति थोरै पैसा का लागि, त्यस्तो घटिया कामको लागि। मान्छेहरुले हामी माथि आरोप लगाउँ छन, हामीले विकासको काम गरेनौ भनेर। यस्ताहरुले फुर्सत दिए पो विकासको काम गर्नु, राष्ट्र निर्माणको काम गर्नु, होइन त प्रभु?’

नेताको लामो कुरा सुने पछि भगवान दिक्दार मुद्रामा देखिनु भयो। भगवानले अलि खिन्नता भाव मुहारमा ल्याउँदै भन्नु भयो ‘नेता मोहन प्रसाद, मैले छिटै स्वर्गमा जानु छ। आज धेरै देवगणहरुको उपस्थिति छ, एउटा गंभिर विषयमा छलफल गर्न, स्वर्गमा। मलाई सबै देवगणहरुले अनुरोध गर्ने भएका छन एउटा इमानदार नेताको अवतार लिएर यो पृथ्वीमा आउन का लागि। पृथ्वीमा नेता, उनीहरुको विचार र राजनीति सबै अति दुषित भयो रे। राजा रामको पालामा जस्तो राजनीति जन मूखि रहेन अहिले यो पृथ्वीमा। राजनीति नेता मूखि हुन पुग्यो। नेपाल खण्डमा त झन अति नै। नेताहरुलाई सद् बुद्धि प्रदान गर्न र राजनीतिलाई पवित्र तुल्याउन मैले नेताको रुप धारण गरेर यो मृत्यु लोकमा आउनै परेको छ रे, देवगणहरुको बिचारमा। त्यसैले म अब जान्छु। तिम्रो लामो गफ कति सुन्नु।’

भगवानको कुरा सुने पछि नेताले मुहारमा प्रसन्नता ल्याउँदै भने ‘प्रभु, हजूर युवकको रुपमा आउनु भए हुन्थ्यो, यो धरतिमा। वालकको रुपमा आए भने त म हिँडि सकेको हुन्छु, माथि तिर। अनि अर्को चुनावमा मलाई प्रभुको आशिर्वाद प्राप्त होला भन्नेमा म पूर्ण विश्वस्त छु।’

नेताको कुरा सुने पछि भगवान अलि क्रुद्ध हुनु भयो। भगवानले भन्नु भयो ‘नेता मोहन प्रसाद, म तिमीलाई कुनै किसिमको सहयोग गर्दिन। तिमी जस्तो जहिले पनि झूठ बोल्नेलाई किन सहयोग गर्ने। मैले त तिमीले जनताको भलाई गरेको होलाउ, ठूलो त्यागका साथ उनीहरुको सेवामा समर्पित भएको होलाउ भनी अहिलेसम्म तिमीलाई सहयोग गरेको थिएँ। तर तिमीले त केवल आफूलाई र आफ्नो परिवारलाई सहयोग गरेको रहे छौ। जनताको पैसाले महल बनाएका छौ। झोपडिमा बस्ने मान्छे तिमी ……….. । तिम्रो सबै चर्तिकाला मैले धर्तिमा आए पछि मात्र देखे। तिमीले अहिलेसम्म झूठो बोलेर ढाटेको रहेछौ मलाई। अँ हँ अब म तिमीलाई सहयोग गर्दिन।’

नेताले डराउँदै भने ‘हजूर, हजूरको दया दृष्टि नभए पछि त म बरवाद नै हुन्छु। म जस्तो मान्छे, सधै गफ गरेर जिवन विताएँ, अब राजनीति भन्दा बाहिर गएर मैले के काम नै गर्न सक्छु र, प्रभु। दाउपेँच गरेर नै जिवन बित्यो, अब के काम गर्न सक्छु होला त मैले?। म माथि दया गर्नु पर्यो प्रभुले। आउने चुनावमा मलाई जिताउनु पर्यो। नत्र म वरवाद हुन्छु, घरको न घाट को हुन्छु। प्रभु दया होस प्रभु दया होस, म माथि।’

बोली प्रष्ट हुन नसकेको आबाज मुखबाट निकाल्दै, पलङ्गमा काम्दै गरेको देखेर नेता मोहन प्रसादकी पत्नी कमलाले दिक्क मान्दै भनिन ‘होइन, दिउँसो नै डर लाग्दो सपना देख्नु भए जस्तो छ, नेता ज्यू। उठ्नुस, के के भइसक्यो के के, थाहा छैन। तपाँई चाँई सुत्नमा नै मस्त…….। अलि पहिले नै पार्टी कार्यालयतिर गएर कुरा मिलाएको भए हुन्थ्यो नि। बरवाद भयो नि!’

पत्नीको कुरा सुने पछि अर्ध निद्रामा रहेका नेताले डराउँदै भने ‘के भयो र त्यस्तो, हँ?’

‘पार्टीको नीति विपरित काम गरेको, पार्टी फुटाउने उद्योगमा लागेको भनी तपाँईलाई पार्टीबाट निस्कासन गरे, पार्टीमा बलियो पकड भएका तपाँईका बिरोधीहरुले, संस्थापन पक्षले रे। अहिले भरखरै समाचारले भन्यो। त्यो समाचार आउनु भन्दा पहिले बैठकमा थुप्रै कार्यकर्ताहरु तपाँईलाई भेट्न बाटो कुरि रहेका थिएँ, त्यस्तो समाचार सुने पछि ती सबै उठेर हिँडे, तपाँईलाई भेट्दै न भेटि। मैले तपाँईलाई भनेको त थिएँ नि, त्यो पार्टीमा नजानुस भनेर, मान्नु भएन। मन्त्री बन्ने सुरमा त्यो पार्टीमा जानु भयो, हान्निएर, दायाँ बायाँ बिचार नगरेर। देख्नु भयो त …………… अब …..। खानु भयो नि धोका’ पत्नीले सुनाएको यो कुराबाट आश्चर्य चकित हुँदै नेताले भने ‘हँsssssssss।’

Kumud Adhikari – Birkhe Dai

कुमुद अधिकारी – बिर्खे दाइ

यसपालि म काठमाडौँबाट घर आउँदा निकै अस्थिर थिएँ। इलाम आक्रमण भएको पाँच दिन मात्र भएको थियो। सदरमुकाम आक्रमणपछि गाउँघरतिर हालखबर के छ भनेर बुझ्न मन लाग्यो र दौडिएँ घरतिर। दैनिक कामको व्यस्तता र देशको वर्तमान असहज स्थितिले हुनसक्छ, म विचलित पनि छु। यात्रा गर्दा वा केही गर्दा कहिले के हुने हो भन्ने कुराको निधो हुँदैन। कता बम पड्किने हो कि, कहाँ गोली चल्ने हो कसैले भन्न सक्तैन।

यस्ता असहज परिस्तिथिका सर्जक को हुन् र यसको समाधान कहिले होला भन्ने मनमा तर्कना मात्र रहन्छ। समाधानका लागि कोही पनि सिरियस भएको पाइँदैन। मान्छे स्वार्थ र आत्मपरकताले यति धेरै ओतप्रोत छन् कि, कोही मर्यो भने मानिसलाई केही हुँदैन। मानवीय संवेदना मृतप्राय छ। आफ्नू टाउकामा बम नपड्किऊन्जेल वा आफूलाई गोली नलागुन्जेल मान्छेले अर्को मान्छेको पीडा बुझ्नै सक्तैन। फेरि सुरक्षा फौज हुन् या विद्रोही हतियारको उन्माद यति धेरै छ कि सर्वसाधारणको एउटा शब्दले मात्र पनि उसको ज्यान लिन सक्छ। यस्तो उन्माद र संवेदनहीनता बोकेर यस देशका मानिसहरूले देशलाई कहाँ पुर्याउने हुन् केही पत्तो छैन।
घर आएर झोला बिसाइ यसो पल्टिन मात्र के लागेको थिएँ, तल्ला घरमा रुवाबासी भैरहेको सुनेँ। तल्लो घर अर्थात् मेरा छिमेकी बिर्खबहादुर सुन्दासको घर। हतारहतार लागेँ त्यतैतिर। मलाई देख्ने बित्तिकै कान्छी भाउजू छाती पिटीपिटी रुन थालिन्। कान्छी भाउजू, बिर्खे दाइकी जहान। हेर्छु मानिसहरूको भीड लागेको छ। उनीहरूका आफन्तहरू पनि छन्। आँखाभरि आँसु पारेर बसेका। बिर्खे दाइकी एउटी छोरी र दुईवटा छोराहरू पनि शोकमग्न छन्। ठूलै दुर्घटनाको आशङ्काले अर्का छिमेकी इन्द्रलाई सोध्छु- “के भयो ? किन यसरी शोक मनाइरहेका ?”
“बिर्खे दाइ 21 गतेको हवाई आक्रमणमा मारिएछन्। अहिले भर्खर खबर आइपुगेको।”
“अरे ! कसरी ?” म छक्क परेँ। बिर्खे दाइ त बिद्रोही हैनन्। फेरि कसरी यो हवाई कार्बाही ? फेरि हवाई कार्बाही त अस्ति फागुन 21 गते इलाम सदरमुकाममा भएको हो। समालबुङबाट बिर्खे दाइ कसरी इलाम पुगे र हवाई कार्बाहीमा मारिए ? बिर्खे दाइका छोराहरू केही बदमासजस्ता त देखिन्थे पहिले पनि तर पनि उनीहरूको सम्बन्ध बिद्रोहीसँग भएको त मलाई थाहा थिएन। मनमा चिसो पस्यो कतै यिनै केटाहरूले गर्दा त हैन बाबु भुमरीमा परेका। तर यत्रो फटाईँ गर्लान् भन्ने त लागेको थिएन। नहुन पनि सक्छ। जे होस् यो समय तर्कना गर्ने थिएन।
म कान्छी भाउजू त्यसरी रोएको हेर्न सक्तिनँ। यस्तो दुःखको समयमा कसरी सम्हालिऊन् पनि। कान्छी भाउजू दमिनी या बिर्खे दाइ दमाइँ नै भए पनि मेरा लागि केही फरक पर्दैन। त्यसो त पहिले पनि परेको थिएन। उनीहरूका जिउज्यानमा पनि मेरोजस्तै रातै रगत बग्छ, उनीहरूको कपाल मेरैजस्तो कालो छ। बिर्खे दाइ हा…हा…हा…हा.. गरेर हाँस्दा मेरै बुबाले हाँसेजस्तो सुनिन्छ। म उनका छेउमा जान्छु। देख्छु वरिपरिका आँखाहरूले मलाई अनौठो पाराले हेरिरहेका छन्। कान्छी भाउजूका हातहरू समाउँछु। यस्ता दुःखका बेलामा मलाई शब्दले सान्त्वना दिन आउँदैन, खै किन हो जान्दिनँ। मनका भावनाहरूलाई शोकको घडीमा शब्दमा उतार्न पटक्कै आएन मलाई। चाहे जो होस् शोकमा परेका व्यक्तिको हात समाउँछु म। मलाई लाग्छ दुईचार फोस्रा र बनिबनाउ शब्दहरूले भन्दा हातको न्यानो स्पर्शले धेरै गुणा बढी समवेदना प्रकट गर्छ। मैले कान्छी भाउजूको हात समाएर मौनताको भाषामा उनका दुःखहरू घटाइरहेको छु। मैले निकै बेर हात सुमसुम्याएपछि भाउजूको विलौना केही कम हुन्छ।
विस्तारै सोध्छु भाउजूलाई – “कान्छी भाउजू कसरी यस्तो भयो, कसैले दुष्ट्याइँ गरेको त हैन ?”
भाउजू रूँदै भन्छिन्-“हैन नानी ! हैन ! तपाईँ त छ महिना यता घर आउनुभएको छैन। जे भयो यही छ महिना भित्रै भयो। म त डुबेँ नानी ! म त डुबेँ !” भाउजूले यसभन्दा बढी केही भन्न सकिनन्। धिक्कारेँ आफूलाई किन यस्तो बेलामा मलाई पनि बेलिबिस्तार चाहिएको होला। भाउजूको रुवाइ बढ्न थाल्यो। म फेरि भाउजूको हात समातेर उनको दुःखको पहाडलाई केही होच्याउने प्रयत्न गर्नतिर लागेँ।

बिर्खे दाइको काजक्रिया पनि सकियो। उनको दाहसंस्कार पनि गर्न सकिएन। हवाई आक्रमणमा परेका मानिसहरूको सनाखत नै हुन सकेन। लासहरू यति धेरै क्षतविक्षत भएका थिए कि कसको हो चिन्ने कुरै थिएन। कति मारिए भन्ने कुराको त यकिन छैन। सरकारी तथ्याङ्कले एउटा कुरो भन्छ भने विद्रोहीहरूको बक्तव्यले अर्कै। सर्वसाधारण त जहिले पनि मारमा। सही सूचनाको अधिकार समेत जनतालाई छैन।
म घरबाहिर सिकुवामा बसेर बिहानीको दोस्रो चिया खाइरहेको थिएँ। भित्र आमाले दूध तताउँदै हुनुहुन्थ्यो। एकछिन पछि आमाले भन्नुभयो- “ए साने ! कुराउनी कोर्ने हैन। कराई सुकिसक्यो।”
“हुन्छ आमा !”भन्दै हतार हतार भान्सामा गएँ र किटको ठूलो कराइमा लागेको कुराउनी कोर्न लागेँ। मेरो सानैदेखिको स्वभाव वा बानी हो यो। दूध तताएपछि कुराउनी कोर्ने र कुराउनीको डल्लो क्वाप्लाक्क मुखमा हालेर हिँड्ने। आमाले मेरो बानी मन पराएरै होला जहिले पनि म घरमा आउँदा, मलाई नै कुराउनी कोर्न लगाउनु हुन्थ्यो। हो उमेर चालीस कटिसक्यो तर पनि बालापनको बानी गएको छैन। कुराउनी कोरिसकेर कराई किलामा झुण्ड्याउँदा अचानक मलाई ठूली दमेनाको सम्झना आयो।

ठूली दमेना ! नाम के हो थाहा छैन। नाम त मलाई बिर्खे दाइकी पत्नी कान्छी भाउजू कै पनि थाहा छैन। साइनो लागेर बोलाउने गाउँले परिवेशमा धेरै आफन्तहरूका नाम मलाई थाहा छैन। साइनोको सम्बोधन यति प्यारो र आफ्नोपनले भरिएको हुन्छ कि वास्तविक नाम या कागजमा भएका नामको कुनै अर्थै रहँदैन। कानुनी प्रक्रिया अथवा लेखापढी गर्दामात्र नामको प्रयोजन हुन्छ। जे होस् कुरो हुँदै थियो ठूली दमेनाको। ठूली दमेना बिर्खे दाइकी आमा थिइन्। म र बिर्खे दाइ लगभग दौँतरी हौँ। उनी मभन्दा दुई वर्षमात्र ठूला हुन्। तर उनीहरूको पारिवारिक कारणले उनको छिटै बिहे भयो र छोराछोरी पनि छिटै भए। त्यसैले मेरा छोराछोरीहरू र उनका छोराछोरीहरूमा उमेरको निकै अन्तर छ। ठूली दमेना र कराईसित मेरो अविस्मरणीय घटना गाँसिएको छ।
एकदिन म बिर्खे दाइसँगै उनकै आँगनमा खेलिरहेको थिएँ। मलाई बिर्खे दाइको घरभित्र आउनुजानुमा केही रोकटोक थिएन। खाजा खाने बेला भएको थियो। ठूली दमेनाले बिर्खे दाइलाई खाजा खान भित्र बोलाइन्। म पनि सँगसँगै भित्र पसेँ। किटको ठूलो कराईमा मकैको चामलको पुवा पकाएको रहेछ। ठूली दमेनाले मलाई – “साना ! पुवा खाने ?” भनेर सोधिन्। मलाई पनि खेल्दा भोक लागिरहेको थियो र भनेँ-“ल खाने दमेना।” त्यसपछि बिर्खे दाइ र मैले घिउमा भुटेर पकाएको मकैको पुवा र साँदेको गुन्द्रुकको अचार खायौँ। साँझ घर गएर मैले ठूलो पुरुषार्थ गरेझैँ आमालाई सुनाएँ- “आमा ! आमा ! मैले त ठूली दमेनाकहाँ मकैको पुवा खाएर आएँ।” आमाले बेस्सरी झपार्नुभयो, दमाइँको घरमा किन खाएको भनेर। मलाई त्यसबेला दमाइँ को हो, किन उनीहरूले छोएको खान नहुने आदि कुराको जानकारी थिएन। मैले मतलब पनि राखिनँ। बिर्खे दाइ मेरा साथी थिए, एकदम मिल्ने साथी त्यसैले होला। अँ दुईटा कुरा अलिक भिन्नै चाहिँ थिए। उनीहरूको घर मुन्तिर कान्लामा सुँगुरको खोर थियो जुन हाम्रामा थिएन र उनीहरूले लुगा सिउँथे। तर लुगा त हाम्रा बाले पनि सिउनुहुन्थ्यो र उनीहरूको भन्दा राम्रो कल थियो हाम्रामा।
अरे ! मेरा त आँखामा आँसु आइसकेछन्। कठैबरा बिर्खे दाइ ! मेरा बालसखा ! छ महिना पहिले म घर आउँदा कति हँसिलोँ पाराले ठट्यौली गरेर छुट्टिएका थियौँ। अब त केवल सम्झना मात्र रह्यो। थाहा छैन यो असहज परिस्थितिले केके खोस्ने हो ! मेरा प्यारा बिर्खे दाइलाई त खोसिसक्यो।

यसैबीच इन्द्रबाट थाहा पाएँ इतिबृतान्त। हाम्रो सीमान्त गाउँ समालबुङमा प्रायः विद्रोहीको चलखेल सामान्य मात्र थियो। कहिलेकाहीँ चन्दा माग्न आउँथेजान्थे। सुरक्षा फौज पनि बेलाबखत आएर जान्थे। त्यस्तो धेरै दुःख दिएको थाहा छैन। जे होस्, मेरा लागि अकल्पनीय घटना घटेको थियो। बिर्खे दाइ यसरी मर्लान् भनेर सोच्दै सोचेको थिएन। कतै मनका अन्तरकुन्तरमा पनि यस्तो घटनाको आशङ्का थिएन। म त काठमाडौँबाट हिँड्दा बिर्खे दाइसँग तासको एकदुई बाजी जमाउँला भन्दै आएको थिएँ। तर उनी त तासको महल जस्तै ढलिसकेछन्। म मर्माहत भएको छु। कान्छी भाउजूलाई कसरी जिन्दगीको बाटो देखाऊँ ? बिर्खे दाइ र कान्छी भाउजूको प्रेमबाट धेरै कुरो सिकेको थिएँ मैले। औपचारिक शिक्षाले नछोएका बिर्खे दाइ र कान्छी भाउजूको जोडी मेरा नजरमा आदर्श जोडी थियो। मैले उनीहरूको जस्तो व्यवहार र समझदारी काठमाडौँका धेरै पढेलेखेका भनाउँदाहरूमा पनि देखेको छैन।
समस्या बिर्खे दाइका छोराहरूबाटै सुरु भएको रहेछ। केटाहरू केही उच्छृङ्खल त थिए। बेलामौकामा मातेर हामीलाई हेप्ने बाहुनहरू, काठाहरू सबलाई मास्नु पर्छ भन्ने गर्थे। तर तिनीहरूको अभिव्यक्ति रक्सीको मातसँगै हराएर जान्थ्यो। होला केही अवचेतन मनमा कि हामीहरू दलित हौँ र यिनै माथिल्लो जात भनाउँदा हरूले हामीलाई माथि उठ्न दिँदैनन्। तर उनीहरू माथि नउठ्नुमा सबभन्दा धेरै दोष चाहिँ उनीहरूकै थियो। बिचरा बिर्खे दाइले लुगा सिएर र बनीबूतो गरेर उनीहरूलाई यसैपालि एस.एल.सी. पास गराएका थिए। उनी आफू अनपढ भए पनि शिक्षाले मात्र हामीलाई उकास्छ भन्ने कुरो बुझेका थिए। आफू सानो जात भनेर कुर्लिनुको साटो पढेर ठूलो जात भनाउँदाहरूसँग वैचारिक युद्ध गर्नुपर्छ भन्ने कुरामा बिर्खे दाइ विश्वस्त थिए। म पनि उनलाई सधैँ यस्तै कुराहरूमा सहयोग गरिरहन्थेँ। बिर्खे दाइका कुरा सुन्दा उनी अनपढ भनेर कसैले भन्न सक्तैनथ्यो।
एक दिन विद्रोही का केही क्रान्तिकारी युवाहरू आएर बिर्खे दाइका छोराहरूलाई ‘दलित मुक्ति मोर्चा’ का उद्देश्यहरू बताउँदै, सदस्यता लिन अनुरोध गरेछन्। केटाहरूलाई के चाहिएको थियो र बाहुन-छेत्रीको थिचोमिचो बाट मुक्त हुने उपाय त अब हात लाग्यो भनेर तुरन्त सदस्यता लिइहालेछन्। सैद्धान्तिक कुराहरू एक ठाउँमा र व्यवहार एक ठाउँमा। बिर्खे दाइले चाल पाएर विरोध पनि गरेछन् तर के गर्ने लिइसकेको सदस्यता फिर्ता नहुने। अब दलित मुक्ति मोर्चा साथै विद्रोहीका अन्य कार्यक्रमहरूमा जान निम्तो आउन थालेपछि बिर्खे दाइको पसिना छुटेछ। उनी विचराले सशस्त्र क्रान्तिले कैयौँको ज्यान लिएको देखिसकेका थिए। मानिसको ज्यान नलिइ पनि संगठित भएर युद्ध गर्न सकिन्छ भन्ने धारणा थियो बिर्खे दाइको। सायद उनले चाल पाएको भए पहिले नै सदस्यता लिनबाट रोक्थे कि। अब जे हुनु भैसकेको थियो।
त्यसको केही दिनपछि केटाहरू दलित मुक्ति मोर्चाको बैठकमा सहभागी भएर आए। उनीहरूको उत्साह हेर्न लायकको थियो रे त्यसबेला। अब यी शोषक बाहुनहरूको खैरात छैन भन्दै गाउँभरि कुर्लिहिँडेछन्। त्यो देखेर बुबा आमा निकै डराउनु पनि भएछ। तर कुरो फेरि आयोगयो भएछ।

बिचरा बिर्खे दाइ । मेरा बालसखा बिर्खे दाइ। म झल्झली सम्झन्छु बिर्खे दाइसँग मैले बिताएका दिनहरू। हाम्रो प्यारो समालबुङ गाउँ, मेची खोला, पारि इन्डियाको चियाबारी। बिर्खे दाइ र म प्रायः हरेक दिन समालबुङको ऐँसेलु घारी चाहार्थ्यौँ। जिम्बुका रूखमा चढेर जिम्बु खान्थ्यौँ। काँचा मेलहरू खान्थ्यौँ। एक दिन त हामी लहड चलेर करफोक स्कुलको कुटी जङ्गलसम्म पुगेका थियौँ, गोरूसिँगे खानलाई। बिर्खे दाइसँग म कैयौँ पटक मिरिक गएको छु। चियाका बुट्टाहरूमा लुकामारी खेलेका छौँ हामीले। मिरिक गएर सयौँ पटक चिया र सिँगडा खाएका छौँ। साधारण लेखपढ गर्न नजानेका बिर्खे दाइ त्यसबेला अरूले किताबहरू पढेको साह्रै रुचाउँथे। एक पल्ट मेरा बुबाले मलाई मिरिकबाट ‘गान्धीको जीवनी’ किनेर ल्याइदिनुभएको थियो। मैले पढेको देखेपछि बिर्खे दाइले मलाई त्यो किताब पढेर सुनाउन भनेका थिए।मैले त्यो किताब बिहान-बेलुका गरेर एक महिनाभित्रमा पढेर उनलाई सुनाएको थिएँ। उनमा त्यसपुस्तकबाट परेको प्रभाव उनको जीवन मै देखिन्थ्यो। मैले बुबासँग मिरिक जाँदा पुराना किताबहरू बेच्ने ठाउँ देखेको थिएँ र पछिल्लो पल्ट उनीसँग जाँदा मैले त्यो ठाउँ उनलाई देखाएको पनि थिएँ। त्यसपछाडि बिर्खे दाइलाई मैले म्याक्सिम गोर्कीको ‘आमा’ पनि पढेर सुनाएको थिएँ। आफ्ना जिन्दगीका जिम्मेवारीबाट केही पैसा बचाएर मिरिकको त्यही दोकानमा गएर बिर्खे दाइ आफ्ना छोराहरूका लागि पुस्तकहरू किन्थे बेलाबेलामा। ‘कुन किताब किन्नु ? लेखिदिनोस् !’ भनेर बुबासँग लेखिमाग्दा रहेछन्। अघिल्लोपल्ट म घर आउँदा मैले उनका बाकसमा थुप्रै किताबहरू देखेको थिएँ। उनी छोराहरूले राम्रा किताब पढेनन् भनेर निकै चिन्तित देखिन्थे।

कान्छी भाउजूसँग म आँखा जुधाउन सकिरहेको छैन। उनका आँखामा आँसु सुकेका छैनन्। म कसरी सम्झाऊँ उनलाई। “म त एक्लिएँ नानी ! म त एक्लिएँ !” भनेर बिलौना गरिरहन्छिन्। त्यसदिन विद्रोहीहरूको बीसजनाको समूह आएको थियो रे। ‘दलित-मुक्ति मोर्चा’को विशाल आमसभामा जानका लागि लिन आएको भन्दै बिर्खे दाइलाई लिएर गएछन्। कहाँ जाने भनेर सोद्धा कड्केर नेपालटार जाने भन्दै ओरालो लागेका थिए रे। कान्छी भाउजू ले त त्यसैदिनदेखि डराएर खानपिन पनि राम्ररी गर्न छाडिसकेकी रहिछन्। अब कहिले आउलान् भनेर बाटो हेर्दाहेर्दै हप्तौँ बितेछ। त्यसै बीच इलाम सदरमुकाम आक्रमण भयो 21 गते। जनमुक्ति सेनालाई सघाउने भन्दै दलितमुक्ति मोर्चाका सदस्यहरूलाई पनि इलामतिर लिएर आउँदा पुवामाई नजिकै सेनाले हेलिकप्टरले बम खसालेछ। दलित मुक्तिमोर्चाका अन्य सदस्यसहित बिर्खे दाइलाई पनि सहिद घोषणा गरेछन् विद्रोहीहरूले।
यसरी बिर्खे दाइ बिदा भए हामीबाट। अब हामी माझ सानो खुसीको कुरा हुनासाथ हा…हा…हा…हा… गरेर गाउँ नै थर्काउने गरी हास्ने बिर्खे दाइ छैनन्। मेरा अभिन्न मित्र छैनन्। खै के गर्ने ? कान्छी भाउजूलाई अब एसएलसी पास गरेका छोराहरूको चिन्ता छ। म पनि उनीहरूका लागि चिन्तित छु। हेर्छु केटाहरूको रङ फुस्रो छ। युवा अनुहारहरूमा कान्ति छैन। उनीहरूको अनुहारले क्रान्तिको भ्रान्तिमा परेको स्पष्ट देखाइरहेको छ। तर के गर्नु र बोली र गोली छुटेपछि फर्काउन सकिन्न। मानिसको जिन्दगी पनि अचम्म लाग्दो छ। कतिपय कुराहरू पश्चाताप गर्दा पनि फिर्दैनन्। अब ती केटाहरूले त्यस्ता भेलाहरू, सभाहरूमा भाग लिनैपर्छ। सदस्य छन् उनीहरू। ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झैँ, शोषकलाई मजा चखाउने सुरमा बाबुलाई पनि उनीहरूले गुमाउनु पर्यो।

बीस दिनपछि म काठमाडौँ फर्किएँ। साथै लिएर आएँ कान्छी भाउजूले दिएका केही पुस्तकहरू जुन उनले छोराहरूका लागि जम्मा गरेका थिए। ती पुस्तकहरूमध्येमा एउटा थियो – मेरै बुबाले संस्कृतबाट अनुवाद गर्नुभएको ग्रन्थ-‘सरल गीता।’

Kusum Gyawali – Nari Akarshan (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – नारी आकर्षण (लघुकथा)

“होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए “छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ” । अाइन्दा “यस्तो हरकत” कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको “निकै मनोरञ्जक समाचार” बन्यो, बजारको यस समाचारलाइ “शालीन (?)” गृहिणीहरूले टिप्पणी गरे “अचेलका बच्चा उम्रिदै तिनपात !”। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ “अस्लील चलचित्रले बिगारेको” निस्कर्षमा पुगे । “केटी भने पछि केटाहरूको जातै यस्तो” क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । “पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको” ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने “क्रान्तिकारी” नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि “शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको” निस्कर्ष निकाल्यो ।