Hem Nath Ghimire – Badshaha Ko Atyadhunik Poshak

हेमनाथ घिमिरे – बादशाहको अत्याधुनिक पोशाक

प्राचीन युगको कथाका बादशाह निरङ्कुश तथा मूर्ख थिए । भारदारहरु उनको निरङ्कुशताबाट आजित भई उनको मूर्खताको फाइदा उठाई उनको बेईज्जत गर्न विद्वानले मात्र देख्ने अत्याधुनिक पोशाक लगाइदिने नाममा बादशाहलाई नाङ्गै शहर घुमाए । सजायँको भय तथा मूर्ख भइने डरले कुनै पनि नागरिकले सत्य बोल्ने हिम्मत गर्न सकेनन्, केवल बादशाहको अत्याधुनिक पोशाकको तारिफ गरे । तर एउटा अबोध बालकले बादशाह नाङ्गै भएको कटु यथार्थ छर्लङ्ग पारिदियो ।

यी त भए प्राचीन युगका निरङ्कुश तथा मूर्ख बादशाह । तर यो अत्याधुनिक युगका बादशाह भने न मूर्ख छन् न त बाहिर आफू निरङ्कुश भएको छनक नै दिन्छन् । बरु अरुलाई मूर्ख बनाउन उनी निकै सिपालु छन् । बादशाह आफूलाई निकै उदार देखाउँछन् र आफ्ना मन्त्रीहरुको चयन गर्ने अधिकार जनतालाई नै दिएका छन् । तर जनताबाट चुनिएका मन्त्रीहरुभने आफूलाई अर्कै ग्रहका प्राणीझैं सोच्छन् र जनतालाई बिर्सिएर बढीभन्दा बढी सहुलियत प्राप्त गर्न तथा बादशाहको साखिल्ले बन्नको लागि उनकै अन्धभक्त भएर उनको चाकडीमै मात्र लाग्छन् । उनीहरुको लागि जनता भनेको वनको कुनै जन्तु हो जस्तो लाग्छ ।

बादशाह आफ्नो चलाखीले यी मन्त्री भनाउँदाहरुलाई कठपूतली बनाउन पाउँदा धन्य सम्झन्छन्् र विभिन्न जुक्ति लगाएर तिनीहरुलाई मूर्ख बनाईरहन्छन् । यस्तै जुक्ति सोच्ने क्रममा यी मन्त्रीहरुको बौद्धिक धरातल तथा नियत जनतासामु छर्लङ्ग पार्नको लागि बादशाहलाई एउटा नयाँ जुक्ति सुझ्छ । बादशाहले मन्त्रीहरुलाई पालैपालो बोलाएर आफ्नो आधुनिक दराजभित्र रहेको विद्वान बाहेक अरुले नदेख्ने अत्याधुनिक पोशाकको दर्शन गराउँछन् । सबै मन्त्रीहरु आफूलाई विद्वान देखाउन भएभरको बुद्धि लगाएर पोशाकको तारिफ गर्छन् । बादशाहले यदि यो पोशाक लगाएर शहर परिक्रमा गरेमा विशेष उपहार दिने प्रलोभन पनि देखाउँछन् । उपहार पनि पाईने र बादशाहको नजीक पनि हुन पाईने मौका गुमाउन मन्त्रीहरु चाहँदैनन् र बादशाहको शर्त मान्न तुरुन्त राजी हुन्छन् । बादशाहको चलाखीले गर्दा हरेक मन्त्रीलाई यो शौभाग्य प्राप्त गर्ने नीज मात्रै हो भन्ने भ्रम परेको हुन्छ ।

योजना अनुसार हरेक मन्त्रीलाई छुट्टा छुट्टै समयमा बोलाएर प्रत्येकलाई भिन्दा भिन्दै कोठामा लगी उक्त अत्याधुनिक पोशाक पहिर्याईन्छ, मन्त्रीहरु आफूलाई भाग्यमानी सम्झन्छन् । हरेकलाई पोशाक लगाएर तयार पारेपछि सबैलाई एकै समयमा शहरको मुख्यद्वारमा पुर्याईन्छ । आफ्ना अन्य सहकर्मीलाई पनि देखेपछि मन्त्रीहरु हतोत्साहित हुन्छन् । तर तुरुन्त समालिएर मुक्त कण्ठले एक अर्काको पोशाकको प्रशंसा गरी आफूलाई बढी विद्वान सावित गर्न पछि पर्दैनन् । आफूलाई मात्र सो पोशाक दिईएको भनेर भ्रममा पारेकोमा खिन्न हुनुभन्दा पनि आफूले मात्र नभई अरुले पनि उपहार पाउने भए भनेर भित्र भित्रै धेरै चित्त दुखाउँछन् ।

उता शहरमा बादशाहले झ्याली पिटाइसकेका हुन्छन् – मन्त्रीहरु आज अत्याधुनिक पोशाकमा शहर घुम्न आउनेछन्, आफ्ना गुनासाहरु सुनाउने मौका नगुमाउनु । मन्त्री बनेपछि आफूलाई अर्कै ग्रहका प्राणी सोच्नेहरु एकमुष्ट शहरको भ्रमणमा आउने र आफ्नो गुनासो पनि सुन्ने भएपछि यो अद्वितीय मौका उम्कन नदिई सबै जनता शहरको मुख्यमार्गको दायाँ बायाँ जम्मा भईसकेका हुन्छन् ।

मन्त्री भनाउँदाहरु बडो फुर्तीसाथ शहरको मुख्यमार्गमा एकमुष्ट प्रस्तुत हुन्छन् । प्रतीक्षारत जन समुदायमा एक्कासी कोलाहल मच्चीन्छ – “हे भगवान , हरे शिव ! यस्तो के देख्नु पर्यो, मन्त्रीहरु बौलाए, छिः छिः ।” यस्तै यस्तै शब्दहरु गुन्जिरहन्छन् । जनताहरु अचम्भित र आक्रोशित हुन्छन् । मन्त्रीका आफ्ना नजीकका भनाउँदाहरु गएर मन्त्रीहरुलाई यथार्थ बताउँछन् र छिट्टै फर्केर आफ्नो लुगा लगाएर आउन अनुरोध गर्छन् । तर मन्त्रीहरु भने ठाँटले आफूले लगाएको अत्याधुनिक पोशाक विद्वानले मात्र देख्ने बताई उल्टै ती आफ्ना भनाउँदाहरुलाई मूर्ख बनाई हाँसोमा उडाउँछन् । नाङ्गा मन्त्रीहरुको हुल देखेर जनतामा हाहाकार मच्चिन्छ, उनीहरु आँखा छोपेर आ–आफ्नो घरतिर लाग्छन् । तर मन्त्रीहरु भने जनतालाई नै मूर्ख बनाउँदै एकदम फूर्तीका साथ शहर परिक्रमा गरिरहन्छन् ।

हेमनाथ घिमिरे,
बाहुन डाँडा, लमजुङ् ।

बानेश्वर, काठमाडौं,
२०६१ माघ १६

Saku Thapa – Kukur Dekhi Hoshiyar [Nepali Laghu Katha]

आज मलाई आफ्नो पुरानो साथीले खाना खान निमन्त्रणा गरेको छ । धेरै समयपछि भेट भएकोले पनि साथी कहां जाने इच्छा जाग्यो । ऊ मेरो स्कूले साथी मात्र नभएर गाउँले साथीपनि थियो । अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको राम्रो नोकरी भएबाट विदेश गई कुस्त कमाएर शहरमै घर बनाएर बसेको छ । त्यसैले नै धेरै समय देखि हाम्रो बीच भेटघाट भएको थिएन ।

एकदिनको कुरो हो, म बजार गएको थिएँ । हिड्दै गर्दा कसैले मेरो नाम सम्बोधन गर्दै बोलाएको आवाज सुनें, टक्क अडिएर र आवाज आर्एतर्फ नजर लगाएँ । परिचित झैँ लाग्ने आवाज ठम्याउन नसकेर नजरलाई डुलाएँ । त्यो आवाज एउटा महंगो गाडीको झ्यालबाट आइरहेको रहेछ । “कता हेर्छस हरि, म तेरो स्कूले साथी रमेश” । म एकछिन अलमल्ल परें र बल्ल याद भयो रमेश त शहरिया बनिसकेको छ, पक्कै उही हो । म ऊ तर्फनजिकिएं । बजारको भिड, गाडीको चापले गर्दा केही कुरा हुन सकेन र उसले मलाई भेट्को लागि भनेर भिजिटिङ्ग कार्ड दियो र भन्यो, “म कहाँ आउ, भेटघाट तथा गफगाफ गरौंला” भन्दै गाडीमा हुइकियो । मेरो मनमा अनेक तर्कना जाग्यो । ऊ सम्पन्न भएर पनि मलाई चाहि बिर्सेको रहेनछ, यसमा खुसी पनि लाग्यो । बजारको काम सकेर घर्रतर्फ लागें ।

मैले फोनबाट उसलाई सर्म्पर्क राख्दा, तिमी र भाउजू तथा बच्चाहरू सहित हामीकहाँ खाना खान आउनु भनेर खवर गरेपनि गाउँले जीवन खेतीपातीको कामको व्यस्तताले शहर बजारका झैँ त्यसरी कहाँ हिड्न मिल्छ र । आफू एक्लै जाने विचार गरेर निस्कन्छु । साथीको घर कहाँनिर हो, देखेको त छैन । तर पनि उसको घर भएको टोलको बारेमा केही जानकारी चाहिँ भएबाट त्यही टोलमा दिएको घर नम्बर खोज्दै जादा बताए अनुसारकै घर फेला पार्छु । बाटैसँग जोडिएको, ठूलो कम्पाउण्ड, ठूलो गेट, अनि बगैचा पनि सजिएको घर रहेछ । जब गेट नजिक पुग्छु र गेट ढक्ढकाउछु । एक्कासी कुकुरले झम्टौला झैँ गरेर कराएको आवाजले म नराम्ररी झस्कन्छु । गेट नजिकै वालमा एउटा बोर्ड टाँगिएको रहेछ, “कुकुरदेखि होसियार” । आफूलाई त सानैमा कुकुरले टोकेको, त्यसैले पनि कुकुरको नामैले पनि सातो जान्छ । कुनै निर्णाय लिन नसकी अलमल्ल परें । निकै समयसम्म बाहिरै बसी रहें कोही लिन आउँछन् कि भनेर, तर पनि कोही आएनन् । कतै शहरमा त्यस्तो कुनै माध्यम थियो कि बोलाउने, आफूले नजानेर यस्तो भएको हो वा साथी तथा आफन्तलाई बोलाएर ढोकामा कुकुर राखेर तर्साउने प्रवृति विकास भएको । बुझ्न पनि सक्दिन अनि भित्र पस्ने सहास पनि गर्न नसकेर फरक्क र्फकन्छु घर्रतर्फ । “कुकुरदेखि होसियार” भन्ने बोर्ड अनि साथीलाई संझदै ।

Harihar Dahal – Prabhu Malai Bachaunu Hos

घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि वहाँहरू दुबै जनालाई अहिल्यै मानसिक अस्पताल लगिहालौं।

तर वहाँहरू दुबैको झगडाको कारण भने म आँफै हुँ। मेरो खुशी र सफल भविष्यका लागि वहाँहरूको लडाईं केन्द्रित छ।

संभवत संसारकै सबै भन्दा बढी भाग्यमानी सन्तानमा पर्छु म किनकि दुबै अभिभावकको संपूर्ण जिन्दगी केबल मेरो उज्जल भविष्यका लागि मात्र समर्पित छ। र वहाँहरू केबल मेरो भलाईका लागि मात्र लड्नु हुन्छ। लुछाचुडी गर्नु हुन्छ र एक अर्काको टाउको फुटाउनु हुन्छ।

आमाले मेरो पढाईमा उचित ध्यान नदिएको आरोपमा बुवाले आमाको कंचडमा दाबिलाले हिर्काएको घाउ अझै निको भएको छैन । आमाले चिथोरेका नंग्राका ढोबहरू बाको अनुहारमा अझै स्पस्ट देखिन्छन।

वाको कथन छ- तँ गतिछाडा आइमाईले छोरालाई बिगार्ने भईस। न समयमा खान दिन्छेस, न समयमा स्कुल पुर्याउछेस। जुम्रा हेरेर बस्न मै तँलाई फुर्सद छैन। थुतुनोभरि नाना थरीका बिषादीहरू धस्यो। । अनुत्पादक काममा समय बितायो। ज्ञानगुणका कुरा भन्दा बढी मतिभ्रस्ट हुने कुराहरूमा ध्यान दियो। अर्काको देखासिकी गर्यो।
आफ्नो भन्दा अर्काको पारीबारले के गर्छ भन्ने कुरामा बढी चासो दियो। कल्ले के लायो, के खायोको चर्चा गर्दै समय बर्बाद गर्यो। आफुले सुको पढेकी छैनस भन्दैमा छोरालाई पनि हली बनाउने बिचार छ?

आमा प्रतिवाद गर्दै भन्नुहुन्छ- तिमी नकच्चरा बुढालाई बहुला कुकुरले झैं गाँउ चहार्दै ठिक्क छ। काम दाम केही छैन। घरभित्र मुन्टिनासाथ तातो भात चाहिने बडाहाकिमलाई घर परिवारको चिन्ता छैन। बिहानदेखि बेलुकासम्म नागरिक सर्बोच्चताका नाममा भाषण ठोक्यो र बेलुका घरभित्र छिर्नासाथ श्रीमतीलाई रुवायो। तीन थाल भात घिच्नासाथ कुम्मकर्ण झैं सुत्छौ र बाघले घुरे झैं घुरेर हामीलाई सुत्न दिदैनौ। घरको काम जति सबै मै बुढीले गर्नु पर्ने। छोराको हेरचाह मै बुढीले गर्नु पर्ने। ऐंचो-पैचो, मेला-पात, छर-छिमेक मैले नै चलाउनु पर्ने। पाहुना-पासो मै बुढीले धान्नु पर्ने। तिमी बुढा त बरु मरेपनि हुन्थ्यो ! एक्लै पाल्थे छोरालाई!

यी संबादहरू मैले बच्चादेखि नै सुन्दै आएको हुँ र निरन्तर सुनिरहेको छु। यस्तो लाग्छ- बा र आमा मेरो भविष्य भन्दा पनि वहाँहरू आफ्नै ब्यक्तिगत सुख, सुबिधा र आत्मा सन्तुष्टिलाई बढी महत्व दिनु हुन्छ। छोरालाई कसले बढी ध्यान दिन्छ भन्ने अहँकार र घमण्डको लडाईका बिच मेरा बाल अधिकारहरू खोसिएका छन। आरोप र प्रत्यारोपको युद्धमा म मिचिएको छु। घुन जस्तै पिसिएको छु।

मेरा खुशीका नाममा मलाई दिनदिनै रुवाँउने काम भएको छ। मेरो भविष्यका नाममा मेरो भविष्य बर्बाद गर्ने काम भएको छ। म चाहन्छु कि मेरा बा र आमाले मेरो भविष्य र सफलताका लागि भन्दा आफ्नो कर्तब्यमा ध्यान दिनुहोस्। जिम्मेबार अभिभाबकले गर्नु पर्ने कर्तब्य र कृयाकलापका बारे छरछिमेकि बाट सिक्ने प्रयास मात्र गरिदिए पनि मेरो भविष्य सुन्दर हुन सक्थ्यो कि ?

प्रभु! मेरा बा र आमाको मनसिकतालाई परिवर्तन गरिदिंदै सदबुद्धि दिनुहोस्। मलाई शान्तिले बाँच्न, हुर्कन, रमाउन, बढ्न, पढ्न र गरिखान पाँउने अधिकार सु-निश्चित गरिदिनु होस् ! यस घरको सदस्य भएर जन्मनुमा मेरो के दोष प्रभु? लौन मलाई बाँच्न दिनुहोस्! म हजुरप्रति जीवनभरि अनुग्रहित हुनेछु। प्रभु, मलाई बचाउनु होस्!नागरिक सर्बोच्चताका नाममा भएपनी बचाउनु होस्!

– क्यालिफोर्निया

Pravin Rai Jumeli – Bhakte Le Scooter Kinena

प्रवीण राई जुमेली – भक्तेले स्कूटर किनेन

“आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!’ बजारबाट भर्खरै आएको भक्तेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो।
“जॉंगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे’-प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि।
तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन भक्तेले, लुगा फेरिसकेपछि हातमा केही सिफारिश-पत्रहरू अँठ्याएर ऊ स्कूलतिर कुदिहाल्यो।
“अब कहॉं कुदेको हौ एति हतारसित?’-धनमायाले त्यो सोद्धा ऊ आँगन पनि ओह्ऱ्लीसकेथ्यो।
“स्कूटर किन्ने मेलोमेसो गर्नु हौ’ भनेर हॉंस्दै टाड़ियो भक्ते चाहिँ।

डॉंड़ामा निस्केर स्कूलको प्रांगनतिर निक्कै चियो गर्दा उसले त्यहॉं थुप्रै मान्छेहरू सल्बलाइरहेको देख्यो। आज त्यहॉं उनीहरूको मन्त्री-महोदय आउनेवाला छ र गाउँलेहरूलाई चाहिँ आफ्नो-आफ्नो दुःखहरू सुनाउनुपर्ने सार्वजनिक निमन्त्रणा भएकोले नै उ पनि त्यतातिर जॉंदैछ। मन्त्री-महोदय क्षेत्रीय विधायक पनि भएकाले गाउँलेहरूका “माङ’-हरू धेरथोर पूरा हुन्छ कि भन्ने आशा छ-भक्तेको मनमा।

भक्ते स्कूलको प्रांगनमा सेंसें र फें फें भई पुग्दा प्रांगनभरि नै गाउँलेहरू झुण्ड-झुण्डमा बॉंटिएर गफ गर्नमा मस्तराम देख्यो। तिनीहरूका व्यग्र आँखाहरू मन्त्री आउने सम्भावित दिशा-सिम्बल डॉंड़ातिर घरिघरि उठिरहन्थे। अथवा मन्त्री आइपुग्नासाथ आफ्नो दुःखेसो लिएर सबैभन्दा अघि पस्रिने व्यग्रता सबै चेहराहरूमा समान्तर रूपले बसेको देख्न पाइन्थ्यो। ती झुण्डहरूमा पनि पञ्चायतहरू एकतर्फी, सरकारी नोकरीवालाहरू एकतर्फी, चेली मोर्चा एकतर्फी, लफंगे केटाहरू एकतर्फी र सिधा-साधा गाउँलेहरू एकतर्फी छुट्टेर बसेका थिए। त्यहॉं भेला भएका सार्वजनिक अनुहारहरूले जात-जातका अभिव्यक्तिहरू बोकिराखेका थिए, तापनि भक्तेलाई कता-कता थाहा थियो कि तिनीहरूका प्रवृत्तिमा समाविष्ट छद्म अनुहार भने एउटै छ। जुन भीड़मा उसले पनि आफ्नो अनुहार खोज्नलाई नै यसरी हाटबजारमा राम्ररी किनबेच पनि नगरी मन्त्री महोदयको एक झलक पाउने लालसासित यहॉं आइपुगेको छ।

“आइपुगेको छैन रैछ नि बूढ़ो?’ भक्तेले नजिकै उभिरहेको लालबहादुरलाई सोध्यो। लालबहादुरले चाहिँ ओंठ लोफ्राएर टाउको मात्रै हल्लायो, बोली फुटाएन। भक्ते घुम्दै पर पञ्चायतहरू उभेका ठाउँमा पनि पुग्यो, पञ्चायतहरूले उसलाई सशङ्कित पाराले हेरे। “यहॉं सबैकै एउटा-एउटा दाउ छ। एउटाले अर्कोको भाग पो खोसाइदिन्छ कि… अथवा अरूले थाहा नपाई भित्र-भित्रै गर्दै गरेको धॉंदली पो चाल पाइहाल्छ कि? भनेर चंखो बस्नैपर्छ। म मात्रै लाटा भएछु, सरकार दाइने हुँदा पनि केइ त खोसाई खानै सकेको छुइनॅं’ इत्यादि कुराहरू भक्तेले सोंच्यो।

“मिनिस्टर सापको लागि एसो गेट्-सेट् बनाउनु पनि सल्लै पो भइना नि?’ भक्तेले केही मधुरो स्वरमा सोध्यो।

प्रत्युत्तरमा, पञ्चायत सचिवले नै “हिज-अस्तिसम्म गाउँमा पिरा पनि नपाउने मोरो-भाग्गेले मात्रै चौकी पाको हौ। केको गेट् र सेट्‌ चाहियो? भनिदियो।
भक्तेले अरू केही सोध्न सकेन र चेली-मोर्चाका कर्मठहरू बसेका पल्लोपट्टि डिलमा गएर एउटा बिँड़ी सल्कायो। गैह्री खोल्सामा झोड़ा बॉंध्ने विषय लिएर टी.बी. सरलाई लेख्न लगाएको अर्जीपत्र एकपल्ट खोलेर हेऱ्यो उसले। “त्यो काम पाए….? उसको पनि ठूलो सपना लुकेर बसेको छ त्यहॉं-स्कूटर किन्ने सपना। यो सरकार बहाली भएदेखि यता गाउँमा थुप्रै बेकारी केटाहरूले स्कूटर कुदाउन थालेको दश्य झल्झली आँखैमा छ उसको। स्वास्थ्य उप-केन्द्रमा खॉंबोहरू नलाएर हुन्छ कि, पार्टीको मिटिङमा विधायकले दिएको मान्छे ओसार्ने गाड़ीको पैसा खाएर हुन्छ कि, मेलामा “हउसी’ खेलाएर हुन्छ कि, टेण्डर-सेण्डर हुँदा “युथ’बॉंधिएर “पर्सन्टेज’ खॉंदै हुन्छ कि- लाटा जनता र देशलाई नै लुट्नुपर्ने त रहेछ नि? खै, सरकारले पनि केही नगर्दो रहेछ त? उहिल्यै बाजे-बराजुको पालादेखि यता… बारीमा दश नंग्री खियाएर त कसले पो के गर्नसकेको छ र? यसरी लाटा भएर बसिरहॅंदा त सबैले नै पो छोड़िराख्ने रहेछ है…’सोंच्दा सोंच्दै भित्रदेखि हताश भएर आयो भक्ते। त्यसरी उसले एउटा बिँड़ीको आधाभन्दा बेसी भागलाई धुँआ बनाइसक्दा मात्र “”मिनिस्टर साप आयो है” भन्ने हल्ला सुन्यो। एकाध मान्छेहरू ग-र-र-र सिम्बल-डॉंड़ातिर कुदेर पनि गए, एकाध चाहिंँ सिरीमानको घरदेखि यतै अल्याङ-टल्याङ गर्दै बसे। केही क्षणपछि-कमिलाहरूले घेरिएको किरा झैं भएर मन्त्री-महोदय स्कूलको प्रांगनमा आइपुग्यो र.. पञ्चायत र युवामोर्चाले प्रबन्ध गरेको चौकीमा बसेको देख्यो भक्तेले, त्यसपछि त गाउँलेहरूले पूरै घेरिहाले। घेरिनु मात्रै होइन तर निम्न प्रकारका शब्दकोशहरू वैरिन थाले-

“पञ्चेतले बनाको लिस्टी भइना, च्यादरको लागि नयॉं लिस्टी बनाउनुपर्छ।’
“मन परेकोलाई मात्र दिएर हुँदैना, गरीबले पैला पाउनुपर्छ’
“नोकरीवालहरूले चाहिँ केइ पाउँदैन भने भोट पनि नहाल्दा भयो हैन?’
“अम्लिसो रोप्ने लोन केना मैले पाइना?’
“बिरुवा रोप्ने पैसा एक पैसा नबॉंटी पञ्चेतले सप खाको छ।’
“एमेले भएर गाउँमा के-के हुँदैछ केना खोज्दैनौ?’
“भाषणमा त ठूल्ठूलो कुरा गर्थ्यो… खै पुऱ्याएको?’
“भोट नसकिञ्जेल आऊ-आऊ, भोट सकेपछि जाऊ-जाऊ, क्याउ एस्तो?’

बिचरा, मन्त्री महोदय? प्रश्नहरूको यति भयानक दहमा फॅंसेका थिए कि उनको अस्तित्व नै डुब्न लागेको थियो। उनीसित आउने केही चम्चे र सुरक्षाकर्मीहरूको प्रयास पनि भिड़लाई साम्य पार्नुबाट नाकाम भएका थिए। फेरि एक्कासी… पञ्चायत, युवा-मोर्चा र चेली-मोर्चाबीच नै भयानक भनावैरी शुरू भयो र “ढ्याक’, “ढुक’, “प्ल्याट’ जस्ता इत्यादि हाथापाइका स्वरहरूसितै “अइया’, “आत्था’, र “माऱ्यो नि’ भन्ने शब्दहरू पनि भुइँका धूलोहरूसितै उछिटिँदैबाहिर आउनथाले। कमिलाको गोला फुटे झैं भीड़ छरपस्टिँदा मात्र मन्त्री महोदय पनि फुत्केर आफ्ना सहकर्मीहरूसित सिम्बल-डॉंड़ातिर कुदे जहॉं उनको गाड़ी रोकिएको थियो। यता भीड़ले चाहिँ हाथपाइ छोड़ेर अब अश्लील गाली र किसिम-किसिमका आरोपहरूले एकार्कालाई हानाहान गर्न लागेका थिए। भुइँभरि सिफारिश पत्रहरू छरपस्टै लड़िरहेका थिए र मन्त्री महोदयको कालो चश्मा पनि एकातिर कच्चाक-कुचुक परेर लड़िरहेको थियो।

भक्ते, मनभरि आशंका र डरहरू लिई अघि नै कुदेर स्कूल माथिको किम्बूको रूख छेउमा पुगिसकेको थियो। उ त्यहीं फ्यात्त बस्यो, किंकर्तव्यविमूढ़ थियो उसको दिमाग। तर निक्कै-निक्कै बेरपछि उसले त्यहीं मुनितिर लड्न-लड्न आँटेको पुरानो स्कूललाई हेऱ्यो, जसको विषयमा चाहिँ कसैले केही-केही बोलेन। उसले गाउँलेहरूले भोग्नपरेको पानीको दुःखलाई सोंच्यो-जसको विषयमा पनि कसैले मन्त्री-महोदयलाई केही नै भनेन। उसले स्वास्थ्य उप-केन्द्रको हाल पनि झल्झली देख्यो जो एकजना गुरूबाबुको घरमा कुचुक्क परेर बसेको छ। गाउँको शीर्षमा अवस्थित आले जंगलको सुरक्षार्थ “मास्टर-रोल’-मा मान्छे राख्ने सम्बन्धमा, स्कूलमा गणित र विज्ञान पढ़ाउने शिक्षकहरूको अभाव विषयमा, बिरुवा रोप्ने सम्बन्धमा… अहॅं कसै-कसैले पनि सिफारिश गरेन। उसलाई लाग्यो-कहींबाट पनि आउन पर्दैन रहेछ भिखारीहरू यो देशमा, तिनीहरू त यहीँबाट पो उम्रिँदा रहेछन्। तर उसको कल्पनामा चाहिँ त्यति भयानक तस्वीर आजसम्म बन्नसकेको थिएन, जस्तो भर्खरै मात्र उसले देखिसकेको छ।

ओफ! अचानक भक्तेले हातमा अँठ्याएको अर्जी-पत्रहरू च्यातेर टुक्रा-टुक्रा पारिदियो र चुपचाप घरतिर लाग्यो। उ घर छेउसम्म आइपुग्दा पनि तल स्कूलको प्रांगनबाट चाहिँ चिच्चाहटका स्वरहरू आइरहेका थिए। बेलुकीको खाना खाएर धनमाया र नानीहरू ओछ्यानमा पस्दासम्म उ अगेनाको डिलमा नै आगो ताप्दै बसिरह्यो। समयको छ्यान उसलाई रहेन, सधैं ठट्टा गरिरहने भक्तेको आज त्यस्तो गम्भीर रूप देखेर धनमाया पनि छक्क पर्दै निदाई।

त्यसरी नै धेरै दिनहरू बितेर गए। आफ्नो दैनिक क्रियाकलापमा भक्ते हिज-अस्ति भन्दा ज्यादै खट्नथालेको तर.. सधैंभन्दा निकै कम्ति बोल्न थालेको कुराहरू धनमायाले पनि थाहा गरी। त्यसपछि पनि कतै-कतै मन्त्री-महोदयहरू आएका र आउनेवाला खबरहरू सुनेर पनि उ त्यतातिर गएन। प्रत्येक दिन नभए तापनि केही दिन बिराएर.. “”स्कूटर” किन्ने रहर दोहोऱ्याइरहने भक्तेले त्यसउसो त्यो कुरोलाई झिकेन, धनमाया छक्क पर्थी।

एकदिन भक्तेले उसको घरको सिकुवाको खॉंबोमा झुण्डिरहेको सानो ऐनामा आफ्नो अनुहार हेऱ्यो। सधैंको भन्दा निकै अर्कै-अर्कै भइसकेछ ऊ… र हेर्दाहेर्दै उसको त्यो अनुहार बिस्तारी तन्किँदै र खुम्चिँदै घरि पञ्चायत-सचिवको जस्तो, घरि चेली मोर्चाको सभापतिको जस्तो, घरि मन्त्रीको चम्चेको जस्तो.. भइरह्यो। हॅं? उसले अनुहार झट्काएर ऐनामा राम्ररी हेऱ्यो र आवेशले गर्दा मुखभरि जमिएको थुक ऐनाभित्रको त्यो आफ्नै अनुहारतिर थुकिदियो… “थू’। अनुहारमा भने कुनै प्रतिक्रिया आएन तर थुक चाहिँ ऐनाको सतहमाथि बग्दै-बग्दै गएर भुइँसम्म चुह्यो…. तु-यु-यु-यु। अनि भक्तेले उसको अधुरो बाल्यकाल, अधुरो यौवनावस्था … र समग्रमा भन्नु हो भने उसको अधुरो जीवनलाई नै सोंच्यो।

“धना!’ ओछ्यानमा पसेर बत्ती पनि निभाइसक्दा एकदिन.. भक्तेले धनमायालाई उसको फूलनामबाट बोलायो, “लाले भन्थ्यो सिलगढी जान्दा प..रतिर सिभोक रोड भन्नेको छेउछाउ थुप्रै बॉंदरहरू बसिरहेको हुन्छ अरे; मान्छेहरूले गाड़ीबाट फ्यॉंकिदिएका खानेकुराहरू पर्खिँदै-पर्खिन्दै बसिरहन्छ अरे; फेरि.. कसैले फ्यॉंकिदियो भने बाझ्दै लुछाचुँड़ी गरेर खान्छन्‌ अरे; सुन्यौ? त्यहॉं एउटा लंगड़े बॉंदर पनि छ अरे… र त्यसले चाहिँ त्यो खोसामारमा कहिले केही पाउँदैन अरे। के त्यतातिरको जंगलभित्र गिठा-भ्यागुरहरू छैन र?
कहिल्यै सिलगढ़ी नगएकी र कहिल्यै “सिभोक रोड’-को वरिपरि फैलिएका पटेर जंगल नदेखेकी धनमायालाई भक्तेको त्यो प्रश्नको उत्तर दिन निक्कै चर्को पऱ्यो, तापनि पतिदेवको मन राखिदिन “”किन नहुनु होला र?..। तरूल, कन्दमूल नभएको जंगल पनि कहीं हुन्छ र?.. भनिदिई।

“हो’, केही बेर बिसाएपछि भक्तेले भन्यो, “ठीकै भन्यौ.. जंगली फल, तरूलहरू नभएको जंगल कहीं हुँदैन। हाम्रो बाबुले भन्थ्यो-उहिले हाम्रो गाउँमा बजारको बगड़ा खाने पनि कोही-कोही हुन्थेन अरे; बारीमै उमारेको अन्न र साग-सब्जीले मनग्गे पुग्थ्यो अरे, अनिकालमा मात्तै त मान्छेहरू यो माथिको आले जंगलमा गिट्ठा-भ्यागुर खन्न जान्थ्यो अरे; र पनि.. मान्छेलाई ठीकै थियो। सप्पै मान्छेहरू खुबै मिलेर बस्थे अरे गाउँमा पनि।”

बोल्दा-बोल्दै बिचमै रोकियो भक्ते। धनमायाले मात्र भक्तेको लामो निश्वासलाई सुनी। दुवै धेरै बेरसम्म केही बोेलेनन्। निक्कै-निक्कै बेरपछि भक्तेले अघिकै कुरामा-“अहिले हेर, गाउँ-गाउँमा सरकारले विकास दिएको छ, सप्पै पढ़े-लेखेको छ, कुरा ठूल्ठूलो गर्छ… र पनि मान्छेहरू किन नमिलेको होला? किन पशुजस्तो भएको होला? हो, नभई नहुनेहरूले त पाउनैपर्छ तर पुगीसरी हुनेहरूले चैं लोभ र स्वार्थले गर्दा आफ्नो धर्म-कर्म, मान-मर्यादा सप्पै बिर्सिनु ठिक हो?’ भनेर थपनी जोड्यो।

“तर.. यो सब थाहा भएर पनि कसले बुझिदिन्छ र? कि आज धनराजले खोसाउँदा टी.बी. सर ठगिन्छ भनेर; टी.बी. सरले लिन्दा लाले पछिपर्छ भनेर; लालेले माग्दा म लुटिन्छु भनेर र… मैले थाप्दा थुलुङहरू मर्छ भनेर? … बुझेरै पनि कसैले कति छोड़िदिएको छ र?
फेरि अचानक नै भक्तेले बत्ती जलायो।

“के मेरो अनुहार मॉंग्नेको जस्तो छ?’उसले आफ्नो अनुहार धनमायातिर फर्काउँदै सोध्यो।
के भन्ने धनमायाले? उसले चुपचाप सानो नानीलाई झैं भक्तेलाई सुताई र बत्ती पनि निभाई।
“धना!’ अनि केही क्षणपछि भक्तेले धनमायाको छात्तीभित्र मुख लुकाएर भन्यो, ” म स्कूटर किन्दिनॅं ल?’ कुन्नि किन हो, धनमायाले भक्तेका आँखाहरू छाम्दा भिजेका पाई।

Alok Chalise – Sambandha

आलोक चालिसे – सम्‍बन्‍ध

किस्सा १.

दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी, लाखौंलाख खर्च गर्न सक्‍ने आमत छैन । दीप मानसीक ज्‍वारभाटमा छ , अब के गर्ने ? संझौता !! स्‍थानिय उच्‍च मा बि मा ब्‍यबस्‍थापन बिषयमा दाखिल हुन्‍छ ।

दीपका प्रत्तेक कृयाकलाप र रुपगुणलाइ नियाल्न थालेकी छन्‌ जलुले । उनी पिताको रोजगारी सँगै भारतीय औधोगीक शहर मुम्‍बाइमा जन्‍मेकी आधुनिक बिचार मन पराउने केटी हुन्‌ । दुबैमा आकर्षण छ , घमण्‍ड पनि ! मौनतालाई जलुलेनै चिर्ने जमर्को गर्छीन्‌ । उनको प्रष्‍ताबलाई सहर्ष स्‍विकारर्‍यो दीपले । फलस्‍वरूप २१ वर्षे दीप र १९ की जलुमा एउटा सम्‍बन्‍धको अङ्‌कुरण भयो । सामाजिक पुरातन बिचार बिरुद्ध बिद्रोह गरे । परिणाम अन्‍तर जातीय बिबाह भयो उनिहरुमा,पारिवारीक मन्‍जुरी बीना । दीपलाई छात्रबृत्तीले जापान डोर्‍यायो । ऊ मेहेनतमा तल्‍लिन थियो । “जति टाढा रह्‌यो , उति माया मौलाउँछ “,दीप को ब्‍यबहारले यसै भन्‍थ्‍यो । तर जलुका बैशालु मनमा बिस्‍तारै बिस्‍तारै अषन्‍तोष पैदा गर्दे थियो – रहर र उमङगका चाहनाले । भनिन्‍छ नि “नौ दिन नदेख्‍दा नौलो, बीस दिन नदेख्‍दा बिर्रस्‍यो “। जलुका मनमा दीपका बिरुद्द गुनासा र अबिस्‍वासका चम्‍काहरु चुलिदै गए । ऊनको नजरमा अब दीप नालायक पती छ । न जलुलाई भौतिक – मानषिक सुख दियो, न यथेष्‍ट सम्‍पती नै । केबल भूगोलको सीमापारी कतै नाममात्रको सम्‍बन्‍ध छ । ऊन्‍को सोचमा कहालीलाग्‍दो पाहाड उभिए । अहिले उनिहरु एउटै भूगोलको सिमानामा छन्‌ तर साथ छैन । नत कानुनी रुपमै अलग छन ! सुनिन्‍छ , आजकाल दीप मानसिक बिछिप्‍त छ रे प्रेम बीयोगमा ।

किस्सा – २

धनबहादुर, ब्‍यापारको क्रममा बनेपाबाट बसाइ सरेर आएका नेवार परिवारको कान्‍छो छोरो । सम्‍पन्‍न वर्गको नभएपनि साथीभाइ बीचमा ऊस्‍को छुट्‌टै रवाफ छ । मिठाई, चकलेट र आइसक्रीमको भोज गर्न सक्‍ने उस्‍को आमत छ । शत्ति सधैं सम्‍पन्‍नता कै पछाडी त घुमेको हुन्‍छ । राजनीतिमा हेर्नुस्‌, इतिहासमा हेर्नुस्‌, समाज र संगठनको त कुरै छोडौं, बिद्वानमा पनि बिचलन आउछ सम्‍पन्‍नताको अगाडी । अनि त्‍यो फुच्‍चे केटोको त के कुरा ? खुल्‍ला आकाशको रोमान्‍चक उडानमा हराइदिन्‍छ आफ्‌नो जिन्‍दगीलाई ।लहैलहै न हो, लागू पदार्थको सेवनमा फस्‍छ । धन्‍नै दिदीका श्रीमान्‌ परिवारमा चल्‍ता-पुर्जा रहेछन्‌ र बिदेशको टीकट कटाइदिए , दु‍रर्ब्‍यसन्‌ले जकड्‌नु अगावै ।अब देख्‍यो धनबहादुरले देशमा गरेको दादागीरी र नबाफी पन । बल्‍ल तल्‍ल हारगुहार गरेर काम पाउने भाथ्‍यो , पर्यटकीय आगमनको इजाजतको समयाबधिले हात हल्‍लाउन थाल्‍यो ‘सायोनारा’ भन्‍दै।

अब धनबहादुरमा बच्‍पना सुधार्ने दृढता छर्लङगै देखिन्छ बिदेशको संगत र हण्‍डरले । उस्‍ले भिसा अनुमती नभएपनि नफर्किने निधो गर्‍यो । “पातलो गाठीको फराशिलो धनेको भाग्‍य पनि गतिलै रेछ “। साथीहरु खासखुस गर्थे । कारण उस्‍को सत्‍कार गर्ने भोजनालयमा एकजना स्‍थानीय युबती लठ्‌ठ परिसकेकी थिइन्‌ धनको ब्‍यबहार बाट। युबाहरुमा एउटा होडहुन्‍छ , बिपरीत लिङ्‌गीको मान जीत्‍ने । दौंतरी बीचमा धनले त्‍यो दौड जितिसकेको थियो । सम्‍बन्‍धलाई जीबन्‍त रुप दिने योजनामा मस्‍त थिए उनीहरु, दूर्भाग्‍यले अध्‍यागमन निरिक्षकको बल्‍क्षीमा पर्‍यो धन ।बचावटका शब्‍द थिनन्‌ । अध्‍यागमन अनुमतीलाई लत्‍याएको थियो उस्‍ले । बन्‍दी कक्षमा आ-आफना रुची र बिषयमा हराइरहेका झुण्‍ड भन्‍दा परको कुनामा बस्‍यो । नेपाल हुंदाको बीगत र जापान आएपछीको आइच्‍यान सँग मिलेर देखेको सपनाबारे गम्‍न थाल्‍यो ।’ के हाम्रो सम्‍बन्‍ध यत्तिकैमा तुषारापात हुने भो त ?’ ‘ आइच्‍यानले मलाई चटक्‍कै बिर्सन सक्‍छे ? ‘…गरोस्‌ पनि के ! जन्‍म थलोको सारा सुख-सुबिधा छोडेर किन आउँछे म जस्‍तो अल्‍लारेको पछिलागेर ? बुढो सारसले पँकेटा फड्‌फडाउँदा उडेका प्‍वाँख जस्‍तै महसुष गर्‌यो उस्‍को प्रेमसँबन्‍ध धुजाधुजा भएर उडेको । हुनपनि त अति-बिकशीत शहरका मान्‍छेहरुमा मानषिक सँबेदना भन्‍दा ज्‍यादा यान्‍त्रीक गती र भाव सुन्‍य मनको बाहुल्‍याता हुन्‍छ । बिस्‍तार अरुकोही आउनेछ ऊस्‍को मनमा । सोझी छ, दूख नपाए हुन्‌थ्‍यो !!आषा मार्‍यो त्‍यो सम्‍बन्‍धको ।

‘धन, मैले वकीलसँग कुरा गरें ।’ एकै सासमा थपी-हाम्रो बिबाह दर्ता नभएपनि भावनात्‍मक सम्‍बन्‍ध र साथको प्रमाड जुटाउछु म ।हामी सँगै छौं नि महिनौं देखी। म तिमीलाई टाढा हुन दिनेछैन आफुबाट !’ मंगोलीयन बनोटको भिउंटे मुहारमा ठुलाठुला आँखाको तरेली भिजाउँदै शीशाको पर्दा बीचमा अन्‍तरापबाट बेदना पोखी ऊस्‍ले । तिमी… यहासम्‍म…??? बक्‍बकाउँदो स्‍वरमा सोध्‍यो आश्‍चर्य चकित धनले । डुब्‍न लागेको स्‍वासमा एउटा त्‍यान्‍द्रोको सहारा देख्‍यो धनले । साँच्‍चै त्‍यो मिहिनेती केटीले अध्‍यागमन कानुन्‌सँग कुश्‍ती खेलेर जिती उस्‍को प्रेमलाई । कसरी भन्‍ने , सम्‍बन्‍ध कच्‍चा धागो हो ? ऊनीहरुको सम्‍बन्‍ध त माया र बिश्‍वाषको बलियो गाँठोले जोडिएको छ ।

किस्‍सा ३

प्रीतीमा, सम्‍पन्‍न परिवारकी सुशिल केटी । सभ्‍यता छ । सुसंस्‍कार छ । नेपाली-हिन्‍दी चलचित्रमा शोख छ उन्‌को । अनि चलचित्र घर जान सक्‍ने आर्थिक पहुंच पनि । जब ऊ किशोराबस्‍थामा प्रबेश गर्छे, लोक कथामा मधुकरले दानबहरु बाट छुटाएर लगेको मालतीको रोमान्‍चकारी कल्‍पनामा डुबाउन रुचाउछे आफुलाई । चलचित्रका नायक-नायीकाको भाबभङ्‌गीमा हराउछे । अनी उमेरकै दोषहोला, सहपाठीको आकर्षक रुपबाट सम्‍मोहीत छ उ आजकाल ।साँच्‍चै मधुकर र मालतीको दुनियामा हराउने बाचामा दुबैजना घरमा थाहैनदिई भाग्‍छन्‌ । घरमा खल्‍लिबल्‍ली चल्‍छ , अत्तोपत्तो छैन उनको । गाइगुई चल्‍छ-भागे रे पृतीमा र आकाश !

उनका अभिभावकले निकै जोड गर्छन्‌ छुटाउनलाई – सम्‍पन्‍नताको दम्‍भ र यथार्थताको बिष्‍लेषण मिसाएर । ”छोडिदे छोरी,केही बिग्रेको छैन । पढ लेख , सबै ठीक हुन्‍छ २-४ बर्षमा । बिर्सिदेऊ तेसलाई।” पृतीमाकी आमाले भनिन्‌। उनी मौन छिन्‌ । दुबैमा दृढ अठोट छ आजिबन साथको । यथार्थको धरातल अर्के छ । माध्‍यमिक तह पनि पास नगरेको केटोले बिहा गरेर कसरी पारिवारीक दायित्‍व सम्‍हाल्‍ने ? कल्‍पनामा त जिन्‍दगी गुज्रिन्‍न । आकाशमा हिनता र अत्‍यास बढ्‌दो छ । बिपरीतमा प्रितीमा दृढ छ । बिहान घर धन्‍दा गर्छे , दिउसो क्‍याम्‍पस जान्‍छे । अनि हरतरहले आकाशको परिबारलाई खुशी तुल्‍याउने ध्‍येयमा लाग्‍छे बाकी समय । आकाश बिस्‍तार-बिस्‍तार असन्‍तुलित हुदै छ । परिबारमा उस्‍को प्रभाब र महत्‍व गीर्दो छ । त्‍यसैले होला चिडचिडाहट र क्रुरता पनि बढ्‌दो छ उस्‍मा ।

पृती भने धर्ती जत्तिकै सहनशील छ । सारा पीडालाई एकान्‍तमा आँसुका ढीक्‍कामा बगाइदिन्‍छे । प्रमाण पत्र तह पनि पुरा गरिसकी उसले । आजकल पिताजीको भन्‍सुनले नोकरीपनि पाएकी छ। आकाश आफुलाई अपमानित महषुस गर्छ पृतीको यो सफलताबाट । पेटमा उनीहरुको मायाको निसानी बढ्‌दो छ । पृतीमाको एकमात्र आषा छ, सन्‍तान भएपछि आकाशमा बदलाब आउने छ । अहँ, स्‍थिती सहन र नियन्‍त्रण बाहिर गैसकेको छ । पित्री प्रधान समाजमा उन्‍ले छोरीलाइं जन्‍माएपछी त झन उग्रता बढेको छ आकाश र उस्‍को परीवारमा । केही लागेन पृतीमाको, छ महिनाको सन्‍तान च्‍यपेर आफ्‍नो अल्‍लारे प्रेमलाई धिक्‍कारर्दे माईतीको शरणमा जान्‍छे । अब जीन्‍दगी ऊस्‍लाई वाक्‍क भैसक्‍यो । माया-प्रेम-सँबन्‍ध सबै सबै उस्‍लाई मशान घाटको कथा जस्‍तै लाग्‍छ आजकाल । आकाशको धम्‍की र ताडना जारी छ । नशामा मातेर जान्‍छ ऊ पृतीमाको जन्‍म घर । तथानाम असभ्‍यता ओकल्‍छ । “छिमेकमा पनि नाकै देखाउन नहुने पारिसक्‍यो । ” पृतीकी आमा फतफताउँछीन्‌ । झन्‌ दुख्‍छ पृतीको मन – धारीलो फलामले रेटे जस्‍तै । उनी पलायन हुन चाहन्‍छीन आकाशको नजर बाट , यो बीरही समाज बाट । पारिवारीक सल्‍लाह र एकजना नातेदारको सहयोगमा उनी जापान पुग्‍छीन्‌ । यात्राभरी ऊनको मन चङगा जस्‍तै हलुका भएर उड्‌छ जहाज सँगै । प्रेम, बिबाह, लोग्‍ने, घर…सबैलाई सँझिन्‍छीन‌ । शब्‍दमा पनि घृणा लाग्‍छ । कहालीलाग्‍दो बिगतमा फर्केर पनि हेर्ने ईच्‍छा हुन्‍न । ऊनी द्रिढ भएर सोच्‍छीन्‌- ” एउटा नया जीन्‍दगी बाँच्‍छु , निष्‍फिकृ-स्‍वतन्‍त्रताको ।जसमा कुनै लैङगीक बिभेद हुन्‍न , श्रीमान पनि हुन्‍न र बन्‍धन्‌ पनि !”

नौलो समाजमा खुल्‍ला पंक्षी भएर बाँच्‍न चाहन्‍छीन ऊनी । अब यही एउटै मात्र धोको छ । समयको प्रबाह बग्‍दो छ । खात्राक-खुत्रुक काम पाएकी छन । तर आम्‍दानी खासै छैन , खोजी जारी छ । यसै सीलसीलामा एकजना फरासीलो सहयोगी भेटीन्‍छ । प्रवेश साँच्‍चै सहयोगी छ, मीहिनेती छ, एउटा आदर्श गुँण बोकेको युबक । पृतीमाको समय भागदौडमै बितिराखेको छ । सँघर्ष छ , नयाँ भाषा र परीबेष मा, तर बिगतको भन्‍दा कता हो कता सहज । नारी मन नहो, भाबनाको कोमल पत्र छेड्‌दै कहीलेकाहीं फुर्सदको समयमा अनायासै लहर उठ्‌छ-“यदी मेरो आकाशमा प्रवेशको ब्‍यबहार भैदिएको भए…।” कल्‍पनाको तड्‌पनबाट ओर्लीएर मन बुझाउँछे- “शुरुमात ऊ पनि कहाँ त्‍यस्‍तो थियो र ? सब यस्‍तैहुन्‌ लोग्‍ने मान्‍छे ! “उनको मनले खबरदारी गर्छ- फेरी त्‍यही मायाको भोक छ तँलाई ? कम्‍जोरी हो यो माया । घण्‍टौँ सम्‍म ओल्‍टे र कोल्‍टे फेरेर बिताउँछे । मनभरी प्रश्‍नोत्तरका तुफान उठ्‌छन्‌ । बिहानीपख बल्‍ल आँखा लागेछ । ऊ त सपनामै युद्‌धको जेहाद छेड्‌दै थिई- बिहा गर्नु, लोग्‍ने हुनु मात्रै पबित्र सँबन्‍ध हो ? कदापी होइन ! एक्‍लो जन्‍मीनु, मर्नुको बीचमा किन कसैको सहारा चाहीन्‍छ? फेरि म तेही दलदलमा फसुँ ?? महाभारत कालमा अर्जुनलाई श्रीकृष्‍ले संझाएका थिए- पार्थ, तिमी युध्‍दको मैदानमा छौ-धर्म र न्‍याय को वकालतको लागी । नाता- सँबन्‍ध केबल भ्रम हुन्‌ । च्‍यतेर हटाउ भ्रमका पर्दालाई ।त्‍यो नव परिचित फरासिलो केटोलाइ टाढा पन्‍छाउने प्रयाशमा थिइन मनको कुनाबाट । आकाशको दानबी रूप संझीदा बद्रोहको आगो दन्‍किन्‍थ्‍यो मनमा । त्‍यसैको ज्‍वालामा कागजका पत्ता सरी जलाउँदै थिइन्‌ पुरुष प्रधान समाजमा महीलाको दासत्‍व सम्‍बन्‍ध । झिसमीसे बिहान भैसकेको थियो । झ्‍यालको अन्‍तराप बाट भित्रिएको चिसोपनले कोठा ओसींदै थियो । तर उनी ऊष्‍णतामा छट्‍पटाइ रहेकी थिइन्‌ । पुस्‍तौं देखी बज्‍यैबाट आमा र आमाबाट उन्‌मा आएको नारी सुलभ कोमल मनले बिद्रोहको आधुनिक बिचारलाइ अबरोध सिर्जना गरी रहेको स्‍पष्‍ट देखिन्‍थ्‍यो । अन्‍तर मनमा त्‍यो नवपरिचीत आकर्षक युबकले बलियो घर बनाइसकेको थियो ।

उनका हातहरु बिस्‍तरा भित्रै सल्‍बलाइ रहेका थिए लोग्‍नेको न्‍यानो आलिङ्‌गनको लागी, अनि फेरि एउटा सँबन्‍ध रोपणकालागी । निद्रामै बरबराउंदै बिच्‍छ्‌यौना बाट जुरुक्‍क उठीन्‌-“सबै पुरुष आकाश हुँदैनन्‌ ।…एउटा परिपक्‍व संबन्‍धको खाँचो छ !”

टोकीयो, डिसेम्‍बर २००७