Sharada Parajuli – Mero Mane

शारदा पराजुली – मेरो मने

दसैँको अष्टमीको दिन बिहानैदेखि घरघरबाट मासुको हरहर बास्ना आइरहेको थियो । ललीताका बुबा पनि मासुको स्वादको कल्पना गर्दै जिब्रो फड्कार्दै खसी काट्ने तरखरमा लागेका थिए । खसी काट्दा चाहिने खुकुरी र रक्ती हाल्न चाहिने भाँडो उनको छेउमै थियो ।

भान्साघरमा आगो धुवाइरहेको थियो । ललीताकी आमा भान्सामा बसेर लसुन अदुवा र प्याज केलाउदै थिइन् । ललीता पिङमा मच्चिँदै थिई । “बाबा हेर्नुहोस् न मैले पिङ कस्तरी मच्चाएँ ।”

“ल, ल बिस्तारै खेल है, फेरि लडिएला नि” ललीताका बाबाले सचेत गराउँदै भने ।

“ए पानी तातेन भन्या । छिटो गर न, फेरि अहिले काइँलालाई ढिला हुन्छ रे । उसले सबैका घरमा खसी काट्न पुग्नुपर्छ । उनी भान्सातिर हेरेर यसरी नै अरु केके भन्दै थिए ।

“बाबा ! हाम्रा घरमा खसी काट्ने हो ?” ललीताले प्रश्न गरी ।

“हो छोरी” उनले स्वीकृति जनाए ।

“अनि खसीलाई काट्दा दुख्दै न बाबा ?” ललीताले फेरि प्रश्न तेस्र्याई ।

“दुख्छ होला नि ।” ललीताका बुबाले छोटो उत्तर दिए ।

“अनि खसीलाई दुखाइ-दुखाइ किन काट्नलाग्नु भएको त बाबा ?” ललीताको जिज्ञासा झन बढ्न थाल्यो ।

“हेर छोरी, आज दशैँ हो त्यसैले खसी काटेर खान लागेको नि । ललीतका बुबाले खुलस्त पारे ।

“कुन खसी काट्ने बाबा ?” ललीताले जान्न खोजी ।

“कुन हुनु नि, उः त्यो चुलबुले खसी काट्ने अनि मज्जाले पकाएर चिची पापा खाने है छोरी । मेरी छोरीलाई चिची पापा कति मिठो लाग्छ हगि ?” ललीताका बुबाले ललीतालाई खुसी पार्ने हेतुले भने । ललीता भने दौडँदैै भान्सामा पसी ।

“ममी …..ममी, बाबाले मेरो मनेलाई काट्ने रे । मेरो मनेलाई नकाट्नू भन्नू न, उसलाई दुख्छ क्या । मेरो मनेलाई काट्दा मर्छ । अब म कसलाई मने भन्ने ? अब म कसलाई खानेकुरा दिने ? म कोसँग खेल्ने ? मेरो मने । मेरो मने मर्छ ।”

“ममी मेरो मनेलाई नकाट्नू भन्नु न । मेरो मनेलाई दुख्छ क्या ।”

उसको बिलौना मिश्रति रुवाइले ललीताकी आमाका आँखा भरिएर आए । ललीताका बाबा पनि स्तब्ध भए । खसी काट्न ठीक परेको काइँलाको हातबाट खुकुरी एक्कासि भुइँमा खस्यो । ललीताकी आमाले बाहिर निस्केर भनिन् “भो खसी नकाटौँ । यसरी छोरीलाई रुवाइ रुवाइ के मासु खानु ?” उनी फेरि भित्र पसिन र उम्लदै गरेको पानीको आगो ओझ्याइन् । ललीता हिक्कहिक्क गर्दै थिई ।

आमाले नयाँ लुगा देखाउँदै अप्रत्यक्ष रूपमा ललीतालाई फकाउन थालिन् । ललीता रुन छाडेपछि आमाले दाल, भात र स्कुसको तरकारी पकाइन् । ललीतालाई अरू दिनको भन्दा आजको खाना खुब मिठो लाग्यो । उसले थपीथपी खाई र उठ्ने बेलामा भनी, “आमा, आज त क्या मिठो खाना पकाउनु भएको ! मनेलाई पनि दिऊँ है ? ऊ मेरो साथी हो नि । मिठो कुरा साथीसँग बाँडेर खानुपर्छ रे, हाम्रो मिसले भन्नु भएको क्या । ललीता थालभरि भात र दाल लिएर मनेको टाट्नामा गई ।

मनेले सिनित्त पारेर सबै भात खायो । ललीताले मनेलाई सुम्सुम्याउँदै भनी, “मेरो ममीले कति मीठो भात पकाउनु हुन्छ हगि, मने !” मनेले कान हल्लायो । ललीता खुसी भई । ललीताले भनेका कुरा भान्साबाट आमा र बुबाले सुनिरहेका थिए ।

गोरखापत्र शनिबार
असोज २३, २०६७

Bhairab Aryal – Asan Ko Dabali (Hansya Byangya)

भैरव अर्याल – असनको डबली (हाँस्य-व्यंग्य)

“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”

“अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।”

“देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”

“हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।”

“जवाना भी यिनका जवानी भी यिनकी – बुझिनस्?”

“बुझें हजुर! रुपियाँको पाँच मुठा भयो, भयो लगिबक्स्योस्- पात राम्रो छ। बिग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपाऊँ। हजुरहरुलाई के थाहा छ, यति पात टिप्न कस्तो …!”

“मलाई सब थाहा छ – उसको सम्बन्ध अचेल कतातिर छ भन्ने। अघिअघि सिद्धाको दशा लाग्यो भने आजको सुदामा भोलिको कुबेर हुन्छ भन्थे, अचेल सिद् (CID) मात्र हुन सके आजका बेकार भोलि तिनोटा कार हुन्छ।”

“सरकारी कारलाई साइड दिनुपर्छ भन्ने तँलाई थाहा छैन? दुई दिन टोयोटा चलाउन पाएँ भन्दैमा टुप्पिएको छुसी, तै, फुच्चाको खुट्टामात्र किचिएछ, ज्यान गएको भए …!”

“… ज्यानको मूल्य मामुली भन्ने कि अमामुली? एकातिर गैसकेको ज्यानलाई मुटु फेरेर पनि जोगाइन्छ; अर्कातिर बम बर्साएर हजारौं ज्यानको एक चिहान पर्छ।”

“परे आफ्नो उपकार नपरे परोपकार। भाग्योदय चिट्ठा किन्नुहोस् भाग्योदय, – पहिला १ के एक लाख पच्चीस हजार।”

“जति कुरा गरे पनि युग हजार र हजुरकै घेरोमा सेरोफेरो गरिरहेको छ। पेन्सन खाने बेलामा कारिन्दाले मोहोर तानेजस्तो कारबार यो के व्यापार? मैले त हङ्कङ नै ताकें, चालीस-पचास हजार भनेको के हो र–?”

“दुइटा पैसा पनि हाम्रो निम्ति लाखजस्तै हो मालिक! भारी पनि त ठुलै छ नि: जो पायो उही भरिया लाउनु पनि हुन्न अचेल; हामी भनेका रैथाने भरिया; मालिकजस्ताको भारी बोक्ताबोक्तै ३२ बर्ख बितिसके, बेइमानी भनेको बाह्र दामको गरिएको छैन।”

“इमानदारी र बुद्धूपनको सीमारेखा कहाँनेर पर्छ कुन्नि? २० वर्ष जागिर खाएँ बीस पैसा खाइन, अहिले जाउलो खान नसकेको देखेर सबै मलाई बुद्दू भन्छन्, तपाईं नै भन्नोस् वास्तवमा म के हुँ?”

“म भन्नु नै आत्मा हो। आत्मा नचिनी परमात्मासित साक्षात्कार हुन सक्तैन। भरे चार बजे यहीं अध्यात्म प्रवचन हुने भएको छ। महिला तथा सज्जनवृन्द…!”

“…महिलाले लूप लगाएर वा चक्की खाएर, पुरुषले भ्याक्सेटोमी गरेर वा कन्डम लगाएर। परिवार नियोजन युगको माग हो।”

“यो युग पनि मगन्ते युग हो। कतै श्रम र चन्दा माग्यो; कतै शास्त्र र सैनिक माग्यो, कतै अन्न र पैसा माग्यो; कतै स्वतन्त्रता र अधिकार माग्यो; कतै बाटो र गौंडा माग्यो; जता हेर्यो मागामाग छ।”

“हाम्रो माग पुरा नभए हडताल गर्ने योजना छ।”

“योजना त तपाईंको राम्रै हो; तर कुनै पनि योजनाले स्थायी शान्ति ल्याउला भनेजस्तो मलाई लाग्दैन। शान्तिको लागि कति धनको खर्च भो, कति जनको खर्च भो, कति जोबनको खर्च भो, कति चिन्तनको खर्च भो, कति जीवनको खर्च – तर यतिको खर्चको उपलब्धि के?”

“के भन्नुहोला यो सर्वरोगहारी तेल हो। कान पाकेको भए दुई थोपा हाल्नोस्, आँखा दुखेको भए गाजलझैं लगाउनोस्; भिरुङ्गी भएको छ भने मालिस गर्नोस् – चार दिनमा चमत्कार …।”

“चन्द्रलोक यात्रा चमत्कारै हो विज्ञानको। तर मानवता र विश्वशान्तिमा यसको के भूमिका होला?”

“शान्तिस्वस्तिको सरदाम किन्न आएको, तपाईं कता नि? आराम छ? अलि उता जाऊँ, बाटो पेल्ने मेसिन आयो…।”

“यी मेसिनहरुले पनि आजकाल…!”

“दमकल दमकल! … कहाँ दमकल हुन्थ्यो घण्टीवाल गाई- सागको मुठै लिएर देडिएछ, उ: साँढे पनि।”

“कति आत्तिएर दौडादौड गरेका यी मान्छेहरु, मानौं यहाँ एउटा युद्द नै आउँदै छ।”

“हेर हेर उ: उक्ल्यो, कस्तो छिल्लिएको साँढे!…”

“यहाँ यस्तै भीड हुन्छ पर्यटक! यो काठमाडौं सहरको मुटु हो- असनको डबली, उ; त्यो झ्यालको कला हेर्नोस् त! कस्तो लाग्यो?”

“मलाई त यो पाउडर राम्रो लागेन। बास्ना पनि कस्तो गल्लीगल्ली गनाउने छ्या; दुई स्टिक लिपस्टिक दिनोस् त गुलाबी होइन, फुस्रो चहिं…।”

“यी फुस्रा हिप्पीहरु आनन्द खोज्न आएका रे! गाँजा र रक्सीमा लठ्ठिएर पाइने आनन्द पनि कुनै आनन्द हो?…”

“पख्नोस् न आनन्दजी, म पनि हिंडिहालें। रानीपोखरीतिरबाट जाने होइन त?”

“… डुब्या रे! रानीपोखरीमै हामफालेछ।”

“कल्ले फालेछ यो अलबम्, हेर्नोस् हेर्नोस् कस्ता तस्बिर रहेछन्; ठिटीको हो कि ठिटाको? पैसा पनि छ कि?”

“एक बरफको दस-दस पैसा, एक बरफको दस-दस…!”

“के यो डबलीमा ट्वाल्ल परेर उभिइरहेको ए मिस्टर?”

प्रगति

Babita Basnet – Kshatipurti

बबिता बस्नेत – क्षतिपूर्ति
(Source: Himal Khabar)

“हामी देशमा आमूल परिवर्तन ल्याउन चाहन्छौं, नयाँ नेपाल बनाउनबाट हामीलाई कसैले रोक्न सक्दैन।” कमरेडको मुस्कानले भरिपूर्ण मुहार देखेपछि ऊ हतारहतार टेलिभिजन बन्द गर्दै बत्ती निभाएर ‘छ्यानमा पल्टी र व्यङ्ग्यको शैलीमा कमरेडको बोली दोहोर्‍याई― परिवर्तन!

परिवर्तनको पछाडि लाग्दालाग्दै विगतका घटनाले जिन्दगीको उमङ्गलाई निराशामा बदलेपछि उसलाई यो शब्द नै व्यङ्ग्यात्मक लाग्न थालेको हो। परिवर्तनकै चाहनामा उसले रङ्गीन सपनाहरूले भरिएको किशोरावस्थालाई दुःख र भागदौडमा बिताई। त्यही क्रममा धेरैले सुख भनेर परिभाषित गर्ने यौन उसको बर्बादीको कारण बन्यो।

ऊ अहिले पनि सम्झ्िन्छे― भावी प्रेमीको रोमाञ्चकारी स्पर्शको कल्पना गर्दागर्दै एक्कासी उसको शरीरमाथि आक्रमण भएको। कसैको अगाडि नाङ्गो हुनु स्वास्नीमान्छेका निम्ति शायद सबैभन्दा ठूलो कुरा हो। आफ्नो प्रेमीसँग बिताउने सुमधुर साँझ्हरूको कल्पनामा पनि ऊ त्यो हदसम्म पुगेकी थिइन। तर युद्धका नाममा हिँड्दा हिँड्दै आफ्नै सहकर्मीहरूबाट पटक पटक नाङ्गिनु परेपछि उसले निकै तनाव र पीडा भोग्नु पर्‍यो, जुन अहिले पनि निरन्तर भोगिरहेकी छ।

आफूमाथि भएको अन्यायलाई पार्टीमा राख्दा उल्टै पार्टीलाई बद्नाम गरेको आरोपमा ऊ निष्कासित भई। त्यतिबेला शान्ति वार्तामा व्यस्त पार्टीका ठूला नेताहरूलाई भेट्न धेरै कोशिश गरी तर ठूला ठूला बैठक र निर्णयका अगाडि उसको समस्याले त्यति महत्व पाएन। त्यसबीचमा विभिन्न पदमा पुगिसकेका नेता पत्नीहरूले पनि उसका कुरा सुनेपछि भने, “हाम्रा कामरेडहरूले सुधार गर्नुपर्ने कुरा धेरै छन्, केही दिनयता पार्टीभित्र सांस्कृतिक समस्या अलि बढी नै देखिएको छ।” आफू माथि जे भएको छ त्यो सांस्कृतिक समस्या होइन भनेर बुझ्ाउन जति हारगुहार गरेपनि खासै फरक नपर्ने देखेपछि अहिले ऊ आफ्नै गाउँमा गएर बसेकी छ।

मुलुकमा शान्ति प्रक्रिया शुरु भएपछि द्वन्द्व पीडितहरूका निम्ति राहतका कुरा आए। शान्ति कायम गर्न होला, सिङ्गो शान्ति मन्त्रालय नै गठन भयो। उसले नजिकबाट चिनेका कमरेड त्यसको मन्त्री पनि भए। एक दिन घरमा आएका एक नातेदारले बिर्सिएर छोडेको गोरखापत्र पढ्दै जाँदा उसले एउटा सूचना देखी, जसमा द्वन्द्व पीडितहरूले आफू पीडित हो भन्ने प्रमाण बोकेर क्षतिपूर्तिका लागि मन्त्रालयमा निवेदन दिन सक्ने उल्लेख थियो।

शुरुमा त यो सूचनाले उसलाई खुसी तुल्यायो। क्षतिपूर्ति शब्दले न्यायको आश जगायो। तर जब आफूले भोगेको वास्तविकता आँखा वरिपरि आयो, ऊ खुम्चिई। जीवनको परिधि असाध्यै साँघुरो भएझ्ैं लाग्यो। सूचनामा धन वा जन के को क्षति भएको हो र अङ्गभङ्ग भएको भए के भएको हो, त्यो खुलाउनुपर्ने थियो। सम्झ्ी, उसको जीवनमा जुन प्रकारको क्षति भयो के त्यो पूर्ति हुने प्रकारको छ? ऊसँग क्षतिको विवरण पेश गर्ने कुनै प्रमाण थिएन। उसले आफँैलाई प्रश्न गरी― के तेरो जीवनमा भएको शारीरिक र मानसिक क्षतिको प्रमाण हुन सक्छ? के मनमा पुगेको चोट र पीडाको भर्पाई हुन सक्छ?

घर छोडेर युद्धमा होमिँदा उसले मानिसहरूको दृष्टिकोण मात्र होइन समाज र राष्ट्रलाई नै परिवर्तन गर्ने सपना देखेकी थिई। त्यतिबेला धर्म, संस्कृति, परम्परा, अन्धविश्वास, विभेद खै के के, के के परिवर्तन गरेर बन्धनरहित स्वतन्त्र जीवन बाँच्न भनी घर छोडेर अनेकौं हण्डर खाएकी ऊ अहिले त्यही घर, त्यस्तै समाजमा फर्किनु परेपछि अहिले आफैंसँग प्रश्न गरिरहेकी छे― साँच्ची त्यतिका वर्ष मैले के गरें? र, किन गरें?

उपयोगिता सकिएर होला पार्टीले पनि फ्याँकिदिएपछि गाउँमै दुःख गरिरहेकी उसलाई कतिले द्वन्द्व पीडितका रूपमा लिएका थिए। यद्यपि गाउँमा उसले आफूले भोगेको वास्तविकता कसैलाई भनेकी थिइन। शायद ऊ पार्टीमा लागेपछि जिन्दगीको सपना देख्न शुरु पनि नगरेको १३ वर्षको कलिलो भाइ सुरक्षाकर्मीद्वारा मारिएकोले मानिसहरूले उसलाई द्वन्द्व पीडित ठानेका थिए। जिल्ला शान्ति समितिमा बसेका गाउँकै एक छिमेकीले मन्त्रालयबाट पीडितहरूका निम्ति बनाइएको फारम ल्याइदिएर भने, “चाँडै भर्नु म फेरि जाँदा पुर्‍याइदिन्छु, क्षतिपूर्ति लिन चाहिँ तिमी आफैँ जानुपर्छ।” उसले फारम हेरी, न त्यसमा उसले भोगेको पीडा लेख्ने ठाउँ थियो, न त्यो फारम त्यसअनुरुपको ढाँचामै थियो।

गाउँमा बत्ती आइपुगेकाले हिजोआज घरघरमा टेलिभिजन छ। टेलिभिजनबाट उसले धेरै पटक युद्धका बेला ध्वस्त संरचनाहरूको पुनर्निर्माण हुने कुरा सुनेकी छ। तर उसले भाइ मारिएपछि मानसिक सन्तुलन गुमाएकी आमालाई हेर्दै कति पटक टेलिभिजनमा बोलिरहेका मान्छेसामु एक्लै प्रश्न गरेकी छे― पुनर्निर्माण? प्रहरी चौकी, अस्पताल, पुलपुलेसाहरू त बनाइएलान्, तर छोरो मारिएपछि जिन्दगी बाँच्नै बिर्सिएकी मेरी आमाको भत्किएको मनको पुनर्निर्माण कसरी होला? बमका छर्राले बनाएका खाल्डाखुल्डी त पुरिएलान्, टाउकोमा कालो कपाल हुँदै हराएको छोरो आज आउला, भोलि आउला भनेर बाटो हेर्दाहेर्दै सेतै फुलेकी पल्लो घरकी बडीआमाको जीवनमा समयले बनाएको यो खाडल कसले पुर्न सक्ला?

Krishna Dharabasi – Biralo

भित्तामा टँसाएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिएँ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइनँ । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भएँ । पुस्तकहरू त भित्रभित्र माटैमाटो पो भइसकेछन् । भित्तापट्टबिाट धमिरा लागेर किताबको खोल मात्र बाँकी बचेछन् । मन साह्रै विरक्त भयो । आफूले कति दुःख गरी कहाँकहाँदेखि खोजेर, किनेर अप्रँप्य मानिएका पुस्तकहरू पनि सङ्कलित थिए । कति त पछि पढौँला भनी त्यत्तिकै थन्क्याइएका पनि थिए ।

मेरो पुस्तकप्रेम देखेर आमा छक्क पर्नुहुन्थ्यो । जता गएर आउँदा पनि मेरा झोलाबाट पुस्तक नै निस्कन्थे । घरका सबै जनाले मेरो त्यस रुचिको सम्मान गर्दै मलाई नसोधी सानो कागजको टुक्रा पनि फाल्दैन थिए । तर, एकाएक धमिराले त्यस्तरी पुस्तक खाइदिएको देखेर आमा पनि नराम्रँे गरी पिरोलिनुभयो । म त रोएँ पनि धुरुधुरु । २०३३ सालमा घर डढ्दा, त्यसबेलासम्मका सबै पुस्तकहरू आगोले खाएको थियो, त्यसपछि समेटिएकाहरू यसपालि धमिराले खाएको थियो । सम्पत्तिकै सट्टा पुस्तक सङ्कलनमा लागेको म पटकपटक यस्ता दर्ुघटनामा परिरहेको थिएँ ।

धमिराले पुस्तक खाएपछि हारेको र रिसाएको मनले अबदेखि यस्तो र्‍याकमा किताब नराख्ने भनी बजारबाट एउटा ठूलो टीनको बाकस किनेर ल्याएँ । केही समय त्यसमा किताब राखियो तर कतिवटा बाकस किन्ने भन्ने समस्या पनि आयो र भनेको पुस्तक फुत्त झिक्न पनि गाह्रो भयो । त्यसैले बाकसलाई परित्याग गरी फेरि र्‍याकतिरै लागेँ, तर अब दर्ुइ/चार, दर्ुइ/चार दिनमा र्‍याक चलाइरहने गर्न थालियो । आमा, सीताजी जसले पनि बेलाबेला पुस्तकहरू चलाएर धमिरा लागे/नलागेको हर्ेर्ने गर्नुहुन्थ्यो ।

हुँदाहुँदै एकपल्ट फेरि घरमा एकाएक मुसाको आतङ्क बढ्यो । यति मुसा फैलिए कि केही चीज पनि सद्दे हुन छोडे । ओछ्यानका सिरक, डसना, सिरानीदेखि बेलुका खोलेर राखेको लुगासम्म बिहान उठ्दा काटिसकेको हुन्थ्यो । यस्ता बेलामा किताब त झन् मुसाकै गुँड हुन पुग्यो । रिसैले विष ल्याएर राखिदियौँ । सुरुसुरुमा दर्ुइ/चारवटाले खाएर कताकता अप्ठ्यारो चेपतिर गएर मरेछन्, कुहेर गन्हाएर घरमै बसिनसक्नु दर्ुगन्ध व्याप्त भयो । हैजै फैलिएलाजस्तो भयो । विष ख्वाएर मार्दा पनि घरमै बस्न नसकिने भइयो ।

मुसाले पुस्तकमाथि गरेको ज्यादती फेरि खपिनसक्नुभयो । कति महत्त्वपर्ूण्ा पुस्तकहरू जतासुकै काटिदिएर कामै नलाग्ने बनाइदिए । मुसाको यस आतङ्कले दिक्क हुनुभएकी आमाले एकदिन कहाँबाट हो एउटा सानो बिरालोको बच्चो लिएर आउनुभयो । बिरालो म्याउँम्याउँ गरेर कराउँदै घुम्न थालेपछि मुसाहरू विस्तारै घट्दै गए । सुरुमा सानै थियो बिरालो । त्यसले मुसा मार्न सक्ने कुरै थिएन । तर पनि मुसाको लागि त्यो आतङ्कित थियो । हामी सबैले माया गर्‍यौँ त्यसलाई । दूधभात खान दिने, काखमा राख्ने गर्न थाल्यौँ । बिरालो पनि चाँडै रत्तियो हामीसँग ।

म जब बिहानै उठेर पढ्न वा लेख्न बस्थेँ, बिरालो कताकताबाट म्याउँम्याउँ गर्दै आएर मेरो काँखमा ‘घुरुरुरु’ गर्दै बस्थ्यो र सानो बालकजस्तो आँखा चिम्लिएर निदाउँथ्यो । ठूलो हुँदै गएपछि साँच्चै नै त्यसले घरका मुसा मार्न थाल्यो । कताकतातिरबाट पनि मारेर ल्याउँथ्यो । बिरालो घरमा ल्याएपछि मुसाको अत्याचारबाट साँच्चै मुक्त भइयो ।

बिरालो घरमा आएपछि बुहारी भएको घरझैँ ढुक्क भयो मेरो पुस्तकालय । र, बिरालो मेरो एकान्तको साथी पनि । हुँदाहुँदा त्यसले मलाई एकक्षण पनि नछोड्ने भयो । म जता जान्छु त्यो मेरै पछिपछि । म बाथरुमभित्र पसेँ भने त्यो बाहिर ढोकामा बसिरहन्थ्यो, भान्सामा भए म्याउँम्याउँ गरी छेउमै हुन्थ्यो । मैले आफ्नो भागबाट अलिकति भात नदिई त्यो त्यहाँबाट चलबलाउँदैन थियो । बिरालोले मलाई पछ्याएको देखेर कहिलेकाहीँ आमा हाँस्दै भन्नुहुन्थ्यो, “हैन साह्रै गहिरो पिर्ती पो लायौ त तिमेरुले । यो बिरालो तेरी पर्ूवजन्मकी बेहुली हो कि के हो -” म पनि हाँस्दै भनिदिन्थेँ, “तपाईंले नै खोजी ल्याइदिएकी बुहारी हो त †” हाँसो हुन्थ्यो घरमा । सीताजी भन्थिन्, “साँच्चै नै यो त मेरी सौताजत्तिकै भई ।” वास्तवमा त्यो बिराली पोथी रहिछे । हामी सबै हाँस्यौँ । हामी हाँसेको देखेर कुरा बुझेझैँ त्यो टुलुटुलु हाम्रो अनुहारतिर हेरिरहन्थी र आफ्ना खुट्टाहरूले उसको अनुहार पुछिरहन्थी । लामालामा जुँगा हल्लाउँदै फेरि आएर मेरै काँखमा बस्थी । हातले उठाएर पर पुग्ने गरी फ्याँक्दा पनि थेत्तरो बालकजस्तो विस्तारै आइहाल्थी ।

बिरालोसँग ज्यादा घुलमिल गर्नु राम्रो हुँदैन, बिरालाका रौँहरू निलियो भने त्यसले पछि दमरोगको समस्या उत्पन्न गर्छ आदि भन्थे मान्छेहरू । तर, बिरालीको साथ मलाई अभ्यस्थ हुँदै जान थाल्यो । ऊ आएर काखमा नबसी म झन्डैझन्डै लेख्नै नसक्ने जस्तो पो हुन पुगेछु पछि त । निकैवटा लेख-रचनाहरू बिरालीबिना नलेखिएरै खेर गए कतिपल्ट । आमा भन्नुहुन्थ्यो, “काखमा छोरी नसुती लेख्न सक्दैनस् -” हाँस्थ्यौँ हामी । साँच्चै नै मलाई त्यो बिराली ‘छोरी’ जस्तै नै लाग्न थालेकी थिई । पशुसँग मान्छेको यस्तो प्रेम होला भन्ने मैले सोचेको थिइनँ । बिराली पनि निकै नै कुरा बुझ्ने भएकी थिई । त्यसले घरमा मलाई एकैछिन नछोडे पनि अफिस वा अन्यत्र जानुपर्दा कहिल्यै पछ्याउँदैन थिई । तर, साँझसम्म पनि त्यो आँगनमा, म आउने बाटोतिरै उभिएर हेरिरहेकी हुन्थी । जब म आँगनमा पुग्थेँ, त्यसले मेरा खुट्टामा लुटपुटिएर, सुँघेर र जीउमा चढ्न खोजेर माया गर्थी । हिँड्दाहिँड्दै अल्भिmएर लडिएला वा झुक्किएर कुल्चिएला कि भन्ने पीर पार्थी त्यसले ।

जेहोस्, बिराली घरको घनिष्ठ सदस्यजस्ती भएकी थिई । साना केटाकेटीहरू पनि बिरालीसँग खेल्न रमाउँथे । त्यसले मुसो समातेर खेलाई-खेलाई मारेको देखेर साना छोराछोरी रमाइलो मान्थे ।

छिट्टै नै त्यो जवान भई । सानो बोन्र्साई बाघजस्तो देखिन थाली । ठूलो सुरिलो स्वरले लेघ्रो तानेर कराउँदै घरभरि घुमीघुमी घरको रखवाली गर्न थाली । कहिलेकाहीँ आधा रातसम्म पनि हराउन थाली । आमा हाँस्दै भन्नुहुन्थ्यो, “तेरी छोरीको उमेर पुग्यो, अब घर बस्न छोडी ।”

ढिलो आइपुग्दा मान्छेलाई जस्तो हकार्नुहुन्थ्यो आमा, “कहाँ गएकी थिइस्् घर छोडेर – अब बैँस चढ्यो तँलाई – कुनचाहिँले विष ख्वाएर मार्ला अनि थाहा पाउलिस् । घरै बसिरहनुपर्दैन † भोलिदेखि तेरो खुट्टा भाँचिदिन्छु ।”

कुरा बुझेकी जवान अविवाहिता छोरी डराउँदै, धकाउँदै आफ्नो कोठातिर पसेझैँ विस्तारै सिँढी चढ्थी र खुरुरु कुदेर भित्र पस्थी । मेरो छेउमा आएर बस्थी । म सजिलो गरी पलेँटी कसी दिन्थेँ, त्यो डराउँदै काखमा बस्थी । अनौठो खाले माया लाग्थ्यो त्यसको । त्यसैत्यसै मानवीकृत हुँदै गएकी थिई त्यो । राती सुत्दा पनि कहिले गोडामुनि, कहिले सिरानीतिर आएर टाँसिएर सुतिरहेकी हुन्थी । कहिलेकाहीँ सीताजीले झर्किएर त्यसलाई हातले टिपेर पर पुग्ने गरी फालिदिन्थिन् तर फेरि कतिखेर आइसकेकी हुन्थी ।

केही समयपछि त्यो मोटाउँदै गई । एकदिन आमाले भन्नुभयो, “अब यो ब्याउने भइछे । कति बच्चा पाउने हो – बिरालाका छाउराले घर सारै फोहोर गर्छन् ।”

नभन्दै एकदिन साँझमा घर पुग्दा बिराली बियाएको चर्चा चलिरहेको थियो । एक/दर्ुइ दिनदेखि बिराली मेरो छेउमा आएकी पनि थिइन् । खाने बेला पनि त्यस दिन बिराली आइन । सीताजीले भनिन्, “आज अचम्मै भयो । यो हाम्रो घरको पशु होइन है, यो त मान्छे नै भइसकी ।”

“के भयो र -” मैले सामान्य चासो देखाएँ ।

उनले भनिन्, “हामी घरमुनि चिया खाजा खाएर बसिरहेका थियौँ । तलामाथि गन्द्रयाङगुन्द्रुङ आवाज आइरहेको थियो । बिरालीले मुसो खोज्दै होली भनी खासै याद गरेनौँ । बिराली पनि अनौठो आवाज निकालेर बेलाबेला कराउने गर्थी । निकैबेरपछि चालचुल हरायो । हामी बसेकै थियौँ । माथिबाट विस्तारो बिराली सिँढी ओर्लेर आई र अनौठो पाराले आमाको अनुहार टुलुटुलु हर्ेर्दै माया लाग्दो गरी म्याउँम्याउँ गर्न थाली । हामीले त्यसको कुरा बुझेनौँ । आमाको खुट्टाको वरिपरि लुटुपुटु गर्दै कुदेर सिँढीतिर जाँदै, फर्केर हेर्दै फेरि फर्केर आउँदै आमाको साडी दाँतले टोक्दै उप|mेर सिँढीतिर जाँदै गर्न थाली । आमा उठेर पछि लागेपछि त्यो सुरुसुरु सिँढी चढ्न थाली । एकक्षणपछि आमाले माथिबाट बोलाउनुभयो, “ए सीते † यता आइज आइज †” माथि पुग्दा आमा छक्क परेर खाटको छेउमा उभिएर हेरिरहनुभएको थियो । बिराली खाटमाथि टुक्रुक्क बसेकी थिई र त्यसको छेउमा एउटा सालनालसहितको मरेको बच्चो खुनमा लटपटिएको थियो । त्यस दृश्यले हामी दुवै जना अचम्भित भयौँ । त्यसले त हामीसँग सहयोग पो मागेकी रहिछे । तन्नैसमेत उठाएर लगेर त्यसलाई माटोमा पुरिदियौँ । ”

सीताजीका कुरा सुनेर अनौठो लाग्यो मलाई । माया पनि लाग्यो ।

अब त्यसको स्वभावमा परिवर्तन आउन थालेको थियो । त्यो अब फोहोरी र अटेरी पनि हुन थालेकी थिई । त्यसले मुसा मार्न छोडेकी, गाउँतिर जान थालेकी र जथाभावी दिसा गर्न थालेकी थिई । घरकै कोठाचोटातिर पनि हग्न थालेकी थिई । त्यसको बिग्रिएको बानीले अब आमा र सीताजी दिक्क हुन थालेका थिए । तर, मलाई त त्यो बानी परेकी थिई । लेख्न बस्नेबेलामा ‘सु…री’ भन्नासाथ कहाँबाट प्रकट हुन्थी, आएर काखमा बसी हाल्थी ।

एकदिन आमाले भन्नुभयो, “अब यस बिरालीलाई घरमा राख्नुहुँदैन । कत्राकत्रा बाघजत्रा ढाडेहरू आएर घरै लडाउलान्जस्तो गर्न थाले । यो पनि अब पहिलाकी जस्ती छैन । यसले मुसा पनि मार्दिन ।” आमाको कुरा त्यति राम्रो लागेन तर मैले केही पनि भनिनँ ।

नभन्दै एकदिन साँझमा घर पुग्दा बिराली आँगनमा थिइन । कोठा, धारा, भान्सा सबैतिर चहारेँ तर कतै पनि बिरालीको उपस्थिति थिएन । खाना खाँदै गर्दा चर्चा चलाएँ, “खै आज त बिरालीको चालचुल छैन ।”

सीताजीले भनिन्, “आज आमाले त्यसलाई बोरामा हालेर माथि नारायणचोक पुर्‍याएर आउनुभयो ।”

मलाई भित्र कहाँ चिसो गरी दुख्यो । नमीठो लाग्यो, त्यस्सै मन बिरसिलो भयो । तर, केही पनि भनिनँ । सीताजीले भनिन्, “अस्तिदेखि त्यसलाई आमाले कहाँकहाँ पुर्‍याए पनि आमाभन्दा चाँडो त्यो घर आइपुग्थी । आजचाहिँ यसबेलासम्म आइपुगेकी छैन ।”

मनमा सानो आशा पलायो, “ए † त्यो आउनसक्ने रहिछे ।”

तर, त्यो रातभरि पनि आइन । भोलि बिहान खाना खानेबेलासम्म पनि आइपुगेकी थिइन । मनमा केके नराम्रोजस्तो भइरह्यो । कुनै प्रिय मित्रसँगको विछोडजस्तो । बेलुका घर पुगेँ । त्यसको चालचुल थिएन । लेख्न बसेँ, मन लागेन, त्यत्तिकै सुतेँ ।

दिनहरू बित्दै गए । विस्तारै बिराली विस्मृतितिर ठेलिँदै गई । म बिरालीबिना पनि लेखपढ गर्न अभ्यस्त हुँदै आएँ । फाट्टफुट्ट मुसाहरू फेरि देखापर्न थाले, चकचक गर्नथाले । मुसो देखेपछि बिरालोको सम्झना हुन्थ्यो र मन अमिलो भएर आउँथ्यो ।

२२ दिनको बिहान ढोका खोल्दा बिराली एकैचोटि उप्रिmएर मेरो कम्मरमा आइपुगी । म तर्सिएँ पनि । कम्मरबाट सोहोरिएर त्यो भुइँमा पुगी र म्याउँम्याउँ गर्दै वरिपरि घुम्न थाली । माथि मेरो अनुहारतिर हेर्दै खुट्टा चाट्दै गर्न थाली । म अनौठो भावुकताले भरिएँ । एकाएक मेरा आँखा रसाएर आए, त्यसलाई हातले उठाएर अनुहारको नजिक ल्याएँ । त्यसले मेरो गालाभरि, निधारभरि जतासुकै चाट्न थाली । काँधमा चढी, टाउकामा टेकी, पिठ्यूँपट्टबिाट भुइँमा खसी फेरि बाँदरजस्तो उफ्रिएर छातीतिर आई । त्यसका नङ्ग्राले कपडा छेडेर छालामा कति ठाउँ दरफर्‍यायो पनि ।

अब बिराली मलाई एकछिन नछोड्ने भएकी थिई । त्यत्रो दिनपछि पनि त्यसले आफ्नो घर चिनेर फर्केर आएपछि आमा पनि त्यसप्रति दयालु हुनुभएको थियो । उहाँलाई एक किसिमको पश्चातापजस्तो पनि लागेको थियो । जे होस्् पहिलाजस्तै त्यो म पढ्न बसेपछि काखमा आएर सुतिरहन्थी ।

तर, पहिलाभन्दा बढी नै गाउँ डुल्ने बानी बढेको थियो त्यसको ।

एक बेलुका त्यो थिइन घरमा । आज बिराली कता गइछ भनी सबैले चर्चा गरे । राती ओछ्यानमा पनि त्यो आइन ।

आधा राततिर कताबाट त्यो आइपुगी । बाहिर ढोकामा एकोहोरो कराइरहेपछि झर्को मान्दै सीताजीले ढोका खोलिदिइन् । त्यो भित्र पसी । हामी फेरि सुत्यौँ । विभिन्न कोठाहरूमा बद्याकबुद्रुक गर्दै त्यो रात बिराली झर्को लाग्ने गरी कराइरही । सीताजीले झर्किंदै भनिन्, “ढाडे चाहिएछ साँडेलाई फेरि आज रातभरि सुत्न नदिने भई ।”

हामी त्यत्तिकै निदाएछौँ । कतिबेरदेखि त्यो कराउन छोडी, थाहा भएन । बिहान उठेर प्रातर्ःकर्म सिध्याई सदाझैँ पढ्न बस्दा यसो भुइँमा थुपारेको पुस्तकको थाकतिर हेरेको त पुस्तकलाई सिरानी लगाएर बिराली मस्त सुतिरहेकी थिई । कति मजाले निदाइछ यो भन्दै छोई हेरेँ, चलबलाइन, ध्यान दिएर हेरेको त त्यो कतिबेला मरेर अररो भइसकेकी रहिछे ।

मन चिसो भयो, जीउ शिथिल भयो । लल्याकलुलुक भएँ । मूर्तिजस्तो एकोहोरिएछु कतिबेरसम्म । त्यसैलाई हेरिरहेँ ।

नेपाल साप्ताहिक
अंक १३०

Saku Thapa – Sahuliyat Card [Nepali Laghu Katha]

हरेक दिन झैँ आज पनि म आफ्नो निश्चित समयमै कार्यालय तर्फ लाग्छु । सदा झैँ गाडी खचाखच नै थियो तर पनि समयमै कार्यालय पुग्नु पर्ने भएकोले खचाखच भरिएकै गाडी चढ्छु,, मसंगै अरु पनि चढ्कै हुन्छन् । भनिहालेनि सबैलाई ढिलै घर निस्केर भएपनि समयमै कार्यालय पुग्ने अभिलाषाले गाडी खचाखच नै भरिएको छ । त्यस गाडी भित्र विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी अलावा अन्य काम विशेषले हिड्नेको पनि कमी छैन । खलासी भाडा उठाउने क्रमलाई निरन्तर दिइरहेको हुन्छ गाडीमा जति भिड भएपनि ।

विद्यार्थीहरू आफूले पाउने विद्यार्थी सहुलियत कटौती गराउन विद्यार्थी परिचय पत्र देखाउँदै थिए । सो सुविधालाई खलासीले पनि सहस्र स्वीकारी कटौती गरेरै दिइरहेको थियो । भिड भएबाट परिचय पत्र -कार्ड हेर्ने काम सबैमा सम्भव पनि नभएबाट विश्वासकै भरमा कटौती गर्दै थियो । उ सबैसँग समयमै भाडा उठाउनै व्यस्त हुन्छ । भाडा माग्ने क्रममा त्यो खलासी एउटी बूढी आइमाईसँग पनि पैसा माग्छ, खचाखच भरिएको गाडी भएर पनि खलासी बूढी आइमाई नजिकसम्म पनि पुग्न सक्दैन । खलासीले अलिपरैबाट भाडा माग्छ । विद्यार्थीहरूले भाडा दिँदा कार्ड छ भनेको सुनेर ती बूढी आइमाईले पनि उनीसँग पनि विरामी जँचाउने कार्ड रहेको हुँदा कार्ड छ भनेर भाँडा दिन्छिन। त्यी बूढी आइमाईले कार्डको अर्थ बुझिन कि बुझिनन् तर पनि उनीले विद्यार्थीहरूको बाक्यलाई हु-बहु बोलिदिइन् । त्यो खलासीले पनि कुनै प्रतिकार नगरी सहुलियत अनुसार नै भाडा कटायो । यसबेला खलासीले बूढी आइमाईलाई प्रत्यक्ष रूपमा देख्न सक्यो सकेन थाहा भएन, अनि ती बूढी आइमाईले पनि कस्तो कार्डलाई सहुलियत प्रदान गरेको हो भन्ने अर्थ बुझिन कि बुझिन त्यो चाहि थाहा हुन सकेन । तर भाडा सहुलियत पाएकोमा ती बूढी आइमाई प्रफुल्ल देखिइन् ।