Nawaraj Subba – Euta Chiya Gaff

नवराज सुब्बा – एउटा चियागफ

‘हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।’ अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर उभिएर चिया पिउँदै थिएँ । दुइतीन मिनेटसम्म पनि उनको गफलाई साथीहरूले चाख मानेर सुनेको देखेपछि मलाई पनि त्यो दृश्यले त्यतैतिर तान्यो ।

‘के रे, के रे ! ‘ भन्दै समूहमा गएर मैले पनि उनको कुरा सुन्न उत्सुकता जनाएँ । यतिन्जेलमा महेन्द्रजीले दुइटा श्रीमतिसम्मको कथा सुनाइसकेका रहेछन् तर मैले आग्रह गरे पछि उनले मेरो निम्ति पुनः पहिलो श्रीमतिबाटै कथा दोहोर्‍याए । ललितपुर जाउलाखेल स्थित स्थानीय विकास मन्त्रालयको प्रशिक्षण केन्द्रमा २०६५ साल जेठको चौथो हप्तामा एचआइभी/एड्स सम्बन्धी एउटा गोष्ठीमा सहभागी हुन विभिन्न जिल्लाबाट विशेषज्ञ, चिकित्सक, जनस्वास्थ्यकर्मी, प्रशासक तथा विकासकर्मीहरूको राष्ट्रिय भेला आयोजना गरिएको थियो । हलमा बसेर घण्टौं प्रस्तुतीकरण सुन्दासुन्दा सहभागीहरूलाई लागेको दिक्क हटाउन साथीले कुनै ‘पीस’ अर्थात् ठट्यौली पो भन्दै होलान् भन्ठानेर हाँस्न तयार पर्दै म पनि कान सोझ्याउँदै उनी छेऊ गएँ ।

‘लौ सुन्नुस्’ भन्दै उनले मान्छेका चार श्रीमतिहरू को को हुन् बताउन थाले । ‘साथी हो ! मानिस संसारबाट विदा हुने बेलामा सबैभन्दा माया गरेर राखिएकी कान्छी श्रीमतिले पनि साथ दिदैन रहिछन् ।’ ‘संगै जाउ“ न प्रिय !’ भनेर अनुनय विनय गरे पनि कान्छी श्रीमतिले ‘धत् त्यस्तो नि हुन्छ !’ भन्दै छाड्छिन् । मान्छेको त्यो कान्छी श्रीमति भनेको अरू कोही होइन उसको आफ्नै शरीर पो रहेछ । बाँचुन्जेल यसैका लागि भनेर कति पोसिन्छ, श्रृङ्गारपटार गरिन्छ, दुखेमा उपचार गरिन्छ तर मरेर जाने बेलामा यही शरीर आफूसंग साथै जादैन । सबैभन्दा धेरै माया गरिने आफ्नो शरीर मानिसको कान्छी श्रीमति जस्तो मात्र रहेछ ।

यसरी कान्छी श्रीमतिले साथ नदिए पछि मान्छे स्वभाविक रूपमा साइँली श्रीमतितिर लाग्छ र आफूसंगै जान अनुरोध गर्दछ । तर साइँली श्रीमति पनि भन्दछे- ‘हेर, म तिमीलाई तिम्रो सास रहुन्जेल मात्र साथ दिनसक्छु !’ यसरी मानिसले जीवनभर दुःख गरेर कमाएको धनसम्पत्ति मानिसको सास रहुन्जेल मात्र काम लाग्ने रहेछ । मानिस मरेर जादा यसले पनि साथ दिने रहेनछ । त्यसैले सास रहुन्जेल मात्र साथ दिने मानिसको साइँली श्रीमति भनेको हामीले जीवनभर कमाएको धनसम्पति रहेछ ।

अन्तिम अवस्थासम्म मान्छेले माया गर्ने गरेको अनि कहिले काहीँ दिक्क मानेको उसकी माइली श्रीमतिलाई पनि आफूसंग जाउँ भन्छ । त्यसबेला माइली श्रीमति भन्दछे- ‘स्वामी म जान त जान्छु तर म तिमीसंग आर्यघाटसम्म मात्र जान्छु !’ यसरी मान्छेलाई उसका घरपरिवारले पनि आर्यघाटसम्म मात्र साथ दिने रहेछन् । माइली श्रीमतिरुपी घरपरिवारले पनि मान्छेलाई केवल आर्यघाट पुर्‍याएर अन्त्येष्ठी गरे पछि विदा गर्दा रहेछन् ।

तर, जीवनभर त्यति वास्ता नगरिएकी जेठी श्रीमतिलाई मानिसले बाँचुन्जेल उति वास्ता गर्दैनन् । तर त्यही जेठी श्रीमतिले मान्छेलाई मृत्युपर्यन्त साथ दिन तत्पर हुने रहिछन् । यसरी मान्छे मरेपछि पनि साथ दिने अर्थात मान्छेलाई ज्यूँदो बनाएर राख्ने उसकी जेठी श्रीमति भनेको अरू कोही नभएर आफ्नै जीवनकालमा गरिएका राम्रानराम्रा काम, उसले कमाएको ख्याती र इज्जत रहेछन् !

साथीबाट बडो चाखलाग्दो उपदेश पो पाइयो । साथीले सायद कुनै सन्तको प्रवचन सुने अनि आफू प्रभावित भए । आज हामीलाई चियासंगै त्यसलाई मजाले पिलाए । गफको अन्तमा म पनि एकचोटी मज्जाले हाँसौला भनेर उनको कुरा सुन्न कान टाँसेको थिएँ । गफको सुरु सुरुमा अरु बेलाझै सबैजना उनको भनाइ सिद्धिए पछि हाँस्न तम्तयार भएर कान ठाडा ठाडा पार्दै थिए । तर जब तेस्रो र चौथो श्रीममतिको कुरा बताउन थालियो, हामी सबै गम्भीर हुँदै गयौं । अन्तमा उनको कुरा सुनेर हामी सबैले महसूस गर्‍यौं र एकमुखले भन्यौ- ‘हो त नि !’ । यसरी एउटा चियागफले सबैमा गहिरो प्रभाव छाड्यो । यस्ता गफ निकाल्ने अरू साथीहरू पाए हुन्थ्यो । यस्तो चिया गफ फेरी कहाँ होला !

भद्रपुर झापा, २७ जेठ २०६५

Krishna Dharawasi – Aba Kahile Aaunchheu Nani

“तिमी पनि जान लाग्यौ नानू  !” बाबाको अनुहार एकदम दयनीय र कारुणिक थियो । निरीह थिए आँखा । ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए । जहाँबाट आएर पनि सधैं बस्ने उहाँको त्यही त एउटा विशेष ठाउँ थियो, जहाँ आज पनि एकोहोरो टोलाएर बस्नुभएको थियो । यस्तो आवाज थियो उहाँको, मैले केही बोल्नै सकिनँ । त्यसै जीउ लल्याकलुलुकजस्तो भयो, मन चिसो भयो । शरीरभरि अनौठो तरङ्ग कुद्यो ।
सधैं टन्न भरिएको जस्तो लाग्ने त्यो घर र त्यहाँका चोटाकोठाहरू आज रित्ता र सुनसानजस्ता थिए । सरसामानले अस्तिजस्तै भरभिराउ घर तर रित्तो र खाली थियो । जता हेर्‍यो, उतै केही नभएजस्तो । छरछिमेकमा बोलेका आवाज सबै दौडेर आएर हाम्रै घरमा पसिरहेझैँ लाग्थ्यो, भिरालोमा बगेको पानीझैँ ।
जीवन त कति सामान्य कुरा रहेछ, कति कफल्लो ! मनका पत्रैपत्रहरूमा बाँधिएको यो तर ससाना कुराहरूले भरिएको लाग्ने ।
कति डर लाग्थ्यो हामीलाई बाबाको उपस्थिति, अनुहार र आवाज । घरैभरि, टोलैभरि एउटा डरलाग्दो व्यक्तित्व थियो उहाँको । बाबाले सुन्ने गरी हामी कोही बोल्दैनथ्यौँ । आमाकै वरिपरि लुटपुट गथ्र्यौं सधैँ । हाम्रा हरेक मागहरू आमामार्फत पुग्थे बाबासम्म । कहिल्यै आफ्नो अगाडि उभ्याएर केही सोध्नु पनि भएन उहाँले । बाबालाई बसेका ठाउँमा चियाखाजा पुर्‍याउन पनि ‘तँ जा, तँ जा’ गथ्र्यौं हामी दिदीभाइ ।
एक थप्पड कुट्नुभएको थिएन, एक शब्द गाली गर्नुभएको थिएन । मागेका कुनै कुराको अभाव अनुभव गराउनु भएको थिएन तर त्यसै डर लाग्थ्यो हामीलाई बाबाको उपस्िथति । बाबा घरमा भएका बेला हामीले कहिल्यै ठूलो स्वरले बोलेको थाहा छैन ।
हामीजत्तिकै नभए पनि डराएकै देख्थ्यौँ आमालाई पनि । हामी त साना केटाकेटी थियौँ तर आमा किन डराउनु हुन्थ्यो होला ! कहिल्यै आमाबाबाको पनि बाझाबाझ र झगडा भएको थाहा पाएनौँ तैपनि आमा त्यत्तिकै दबिएकी, डराएकी देखिनुहुन्थ्यो ।
हामी हुर्किंदै, बढ्दै गएपछि विस्तारै बाबाको नजिक पर्दै गयौँ । बाबाले पनि हामीलाई सोधखोज गर्न थाल्नुभयो । हाम्रो पढाइबाहेक बाबाले हामीसँग अरू कुनै कुरामा सोधखोज गर्नु भएन ।
एसएलसी उत्तीर्ण गरेपछि पालैपालो भाइ र म घरबाट टाढा भयौँ । घरबाट टाढा भए पनि आमाबाबाको सम्पर्कबाट ओझेलमा थिएनौँ । भाइ त त्यति वास्ता गर्दैनथ्यो घरको तर मलाई किन किन साह्रै याद आइरहन्थ्यो घर । सबैभन्दा धेरै माया लाग्थ्यो आमाको, डरसँग मिसिएको जस्तो माया लागिरहन्थ्यो बाबाको पनि । आफू जन्मेको-हुर्किएको ठाउँ, साथी-छरछिमेकीको सम्झना कसलाई आउँदैन ! तर, माध्यमिक शिक्षा पूरा गरेपछि सदाका लागि छोडिँदो रहेछ घर । फेरि कहिले रहरले पनि, इच्छाले पनि घरमा बस्न नपाइँदो रहेछ । घर छोडिदाखेर िछोडिदा रहेछन् सबै आफ्ना पि्रय वस्तुहरू । विस्तारै अनुभव हुँदै गयो, घरसँगै आमा छोडिनुभयो, बाबा छोडिनुभयो, आफ्ना रहरलाग्दा प्यारा सरसामानहरू छाडिए । डेराको बास भयो, सधैं अभाव र असुविधाको जीवन सुरु भयो ।
छुट्टीमा छोटो समयका लागि घर जाँदा आमा भन्ने गर्नुहुन्थ्यो, “तिमीहरू अब ठूला भयौ, घर छोडिहाल्यौ । काखै रत्तिो भएजस्तो लाग्छ । यत्रो घर छ, यत्रा सरसामान छन्, तिमीहरूकै लागि भनी भेला गरििदएका कैयौँ चीजहरू छन् । हेर ! अब यी सबै बेकामे भए । सुनसान लाग्छ घर । बिरानो हुन्छ मन । बोल्ने साथी पनि कोही हुँदैन । तिमीहरूका बाबाको कुनै ठेगान छैन, कहिले कहाँ, कहिले कहाँबाट फोन गर्नुहुन्छ । प्रायः एक्लै बस्नुपर्छ यस घरमा, अनाथजस्तो । तँ त बरू छुट्टीमा पनि आउँछेस्, तेरो भाइ त झन् के भा’को ! छुट्टीमा पनि उतै घुमेर बिताउँछ । कहिलेकाहीँ त मनमा विरक्त लागेर आउँछ । यत्रो जीवन, त्यसै बितेछ यही घर र आँगनको संसारमा ।
आमाका कुरा सुन्दा त्यसै त्यसै मन अमिलो भएर आउँथ्यो तर आमाको मायाले हामीले आफ्नो भविष्य बिगार्नु हुने थिएन, हामीलाई उहाँहरूले नै त्यसो गर्न पनि दिनुहुने थिएन ।
बाबाप्रति पनि गुनासा थिए आमाका ः “तिमीहरूका बाबा साह्रै अनौठा हुनुहुन्छ । मनका कुरा कहिल्यै नखोल्ने ! जतिबेला पनि कुरैकुराले भरिए को बाकसजस्तो बोल्नै डरलाग्दो । कहिल्यै कडा स्वरले नबोलाए पनि मनमा गह्रौँ त्रास बोकिरहनुपर्ने ! स्वतन्त्रताको बोध हुनै सक्दैन । केही कुराले जतिबेला पनि थिचिरहेजस्तो । यस्तै डरले मैले कहिल्यै पनि आफ्ना रहरका कुराहरू गर्न सकिनँ । मन लागेको खान र लाउन सकिनँ । कुनै कुराको अभाव नदेखिए पनि मलाई यो सम्पन्नताको अनुभूति हुनै सकेन नानी ! तिमीहरू जन्मेपछि तिमीहरूसँगै खेलेँे । आफ्ना सबै रहर र खुसीहरू तिमीहरूमा मिसाएँ । अब त तिमीहरू पनि छैनौ, तिम्रा बाबा मलाई कहिल्यै पल्टाउन नसकिने ढुङ्गोजस्तो लाग्नु हुन्छ ।”
अनौठो थियो आमाको अनुभूति बाबाप्रति । हामीलाई पनि त्यस्तै हुनुहुन्थ्यो बाबा । तर, गाउँ-समाजमा उहाँको उपस्थिति विशिष्ट थियो । एक असल समाजसेवीका रूपमा चिनिनुहुन्थ्यो ।
मेरो बिहे भइसकेपछि एकदिन बाबाले पहिलोपल्ट गम्भीर भएर बोल्नुभो !
“नानी ! अब तिमीमा ठूलो जिम्मेवारी आएको छ । पराइघरमा धेरै असुविधाहरू हुन्छन् । तिमी जहाँ पुगे पनि, जस्तै अप्ठ्यारो परे पनि, यो घर तिम्रो हो, यहाँ भएका सबै कुरा तिम्रै हुन्, चाहिएको जे पनि आफ्ना लागि प्रयोग गर्न सक्छ्यौ । निर्धक्क आमासँग भन्नू र लिनू !”
त्यस दिन म साह्रै भावुक भएकी थिएँ । बाबाले मलाई कति माया गर्नु हुँदोरहेछ भन्ने थाहा पाएँ । आँखाभरि आँसु भरिए । भन्नु भो, “छोरीका कमजोरी भनेका यिनै आँसु हुन् । यिनलाई लुकाउन सिक । आँसुले सधैं हेप्छ, मनलाई दरो बनाउनू । अब तिमी नयाँ संसारमा जीवनयुद्ध गर्न जाँदैछ्यौ ।”
साँच्चै नै एकाएक मन दरोजस्तो भयो । मेरा लागि बाबा र लोग्ने दुइटा दरा अभिभावक थिए । रोजेको लोग्ने पाएकी थिएँ । बाबाले असहयोग गर्नुहोला भन्ने कत्रो डर थियो मनमा तर उहाँले सहजै स्वीकारिदिनुभएको थियो । आमामार्फत बाबाका कानमा पुगेको मेरो प्रस्ताव एकाएक विवाहमा परिणत भएको थियो । म त्यसै दङ्ग परेकी थिएँ ।
तर, एकदिन आमाको कुराले म अचम्मित भएँ । उहाँले भन्नु भो, “छोरी ! बाबु भए पनि, लोग्ने भए पनि लोग्नेमान्छे भनेको लोग्नेमान्छे नै हो । उनीहरूमा हामीमा जस्तो हार्दिकता हुँदैन । संसार घुमिरहने स्वच्छन्द तिनीहरू अनेकौँ स्वभावले रङ्गिएका हुन्छन् । तिमीहरूले देख्दा कहिल्यै केही नभन्ने तिमीहरूका बाबाले पनि मलाई कति दुःख दिनु भएको छ । यो मन कहिल्यै खुसी छैन, प्रसन्न छैन । जहिले पनि जेलमा परेको जस्तो लागिरहन्छ । एउटा सानो घेरामा थुनिएर संसार हेर्दाहेर्दै बित्यो जिन्दगी ।”
आमाका आँखा भरिए का थिए । रोइहालेको जस्तो देखिएको थियो अनुहार । गला अवरुद्ध थियो उहाँको । भन्नुभो, “यो जीउ स्वस्थ रहेसम्म मात्र हुन्छन् लोग्नेहरू आफ्ना । जीउले साथ दिन छोडेपछि साह्रै गाह्रो छ नानी तिनीहरूको माया पाउन । रोगी भएकी छु भित्रभित्रै । सारा संसारको ख्याल गर्ने तिम्रा बाबा मेरो उपचारका लागि एकछिन पनि समय निकाल्नु हुन्न । महिनौँ भइसक्यो म दिनदिनै असक्त हुँदै गएको । घरबाहिरको संसारै देख्न पाइएन, न आफ्नो भन्ने अलग्गै सम्पत्ति रह्यो । सदा टाट्नामा बाँधेको बाख्रोजस्तो, हालिएको घाँस खाएर आइयो । आज शरीरभरि लुगा र गहना भरभिराउ छन् तर पोल्टामा एक पैसो छैन ।”
आमाका कुराले शरीरभरिको मासु थरथरायो । कहिल्यै कल्पना नगरिए को कुरा भन्दै हुनुहुन्थ्यो आमा । देखिएको सुखभित्र दबिएको दुःखको डरलाग्दो चित्रण थियो । बाबाको अनुहार टाटैटाटा परेको ढोँगी लोग्नेमान्छेजस्तो लाग्यो । मनमा कताकता रसिजस्तै उठेर आयो । महिलावादी दिदीहरूले भन्ने गरेका पुरुषविरोधी विचारहरू सत्यजस्ता लाग्दै गए । सम्झेँ, रमेशलाई । उसको अनुहारमा पनि बाबाकै रङ देखियो । त्यस्तो माया लाग्ने लोग्ने पनि एकछिन छाया परेको अनुहारमा फेरियो ।

बाबाले मेरो अनुहार नहेरी सोध्नुभएको थियो । निहुरनिुभएको थियो उहाँ । पढेजस्तो गररिहेको हातको पत्रिका भुइँमा खत्रक्क खसेको थियो । भनेँ, “हो बाबा ! अब जान लागेकी । ज्वाइँको पनि अफिसबाट फोन आएको आएकै छ । नानीको पनि पढाइ धेरै छुटिसक्यो । मैले पनि अब तीन महिनाभित्र थेसिस् बुझाइसक्नुपर्छ ।”
निकैबेर केही बोल्नुभएन । लामोलामो सास फेरेजस्तो देखियो । टाउको नउठाएरै भन्नुभो, “श्यामले त दुई-चार दिन छुट्टी लिएर बसेकै भए पनि हुने । ऊ पनि हतारिए र हिजै हिँड्यो । उसको पनि नानीको पढाइ छुट्यो रे, बुहारीको जागिर बित्यो रे ! उसकै पनि थुप्रै कक्षाहरू छुटे रे ।”
केही बोलिनँ म । मनभित्र अव्यवस्थित बजार भरिए को थियो । यसो नियालेर हेरेको, तपतप झररिहेका थिए उहाँका आँखाबाट आँसु भुइँमा । त्यस्तो कडा मान्छे, आज आँखैआँखा बगिरहेको देखेँ । अवरुद्ध स्वरमा एक्लै बरबराएझैँ गर्नुभो, “तिमीहरूकी आमा साह्रै सोझी भनेको तर पापी रहिछ, त्यसले मलाई जीवनमा कहिल्यै आफ्नो ठानिन । कहिल्यै उसले आफ्नो मनको कुरा भनिनँ । जहिले पनि मेरै कुरा मात्र सुनिरही, मानिरही । आफ्ना रहर, इच्छा, आवश्यकता केही भनिन । मैले नै बुझेर जे-जे दिएँ, त्यही त्यहीमा रमाएजस्तो गरछि । म सोझो मान्छे, उसले मलाई यत्रो धोका दिएको कसरी जान्नू ! त्यत्रो बिमार लागेको रहेछ, कसरी खप्न सकेकी ? किन एकपल्ट पनि नभनेकी ? सुरुमै थाहा पाएको भए जति पैसा खर्च गरेर पनि त म निको पार्ने थिएँ । संसार घुमाउने थिएँ, उसका लागि यो सारा सम्पत्ति उडाउने थिएँ । मलाई किन चाहिएको थियो र यो सम्पत्ति ? तिमीहरू सबै आफ्नो खुट्टामा उभिएकै थियौ…। बालखैमा आमा मरनि् । सौतेनी आमाको रुखो व्यवहारमा हुर्किएको म । जहिले पनि आमाको मायाको रहर लाग्थ्यो । तिम्री आमालाई कहिलेकाहीँ आमाजस्तै ठान्थेँ । कहिल्यै केही भन्दिनथेँ । उसको चित्त दुख्ला भन्ने लागिरहन्थ्यो । तर, उसले त मसँग मन खोल्नुपर्ने नि ! एकैचोटि त्यत्रो रक्तश्राव भयो, पहिल्यैदेखि हुँदोरहेछ नि, किन खपेकी त्यसले ? उपचार हुनै सकेन ।”
च्याप्प अँगालो हालेर रुन मन लाग्यो । आँसु थाम्नै सकिनँ । आमाप्रति बाबाको त्यत्रो माया कठै  ! आमाले कहिल्यै थाहा पाउनुभएन ।
एकाएक अत्यधिक रक्तश्रावबाट आमाको निधन भएको समाचारले हामी स्तब्ध भएका थियौँ । अनेक गरेर प्लेनको टिकट मिलाइदिए साथीहरूले । घाटमै मात्र भेट्यौँ आमाको शवलाई । सबै थोक त सकिएको थियो, त्यही रुन बाँकी थियो, रोयौँ दिदीभाइले एकअर्कालाई अँगालो हालेर ।
आमाको काम सकिएको पन्धौँ दिनमा भाइ आफ्नो परिवारसहित हिँडेको थियो । दुई दिनपछि म हिँड्न लागेकी थिएँ । रमेश हतार गररिहेको थियो तल ।
एकदिन रमेशले कुरैकुरामा भनेको थियो, “बाबाको ब्लडप्रेसर छ, डाइबेटिज छ, केही गरी बाबा तलमाथि भइहाल्नुभो भने आमालाई चाहिँ हामी नै ल्याउनुपर्छ है शोभा !” त्यो दिन म रमेशलाई हेरेर साह्रै भावुक भएकी थिएँ ।
…तर, आज ?
मलाई हिँड्नु कि बस्नुभयो ।
विस्तारै भन्नु भो बाबाले, “जाऊ बाबु जाऊ  ! तिमीले जानैपर्छ । जीवनलाई रोक्न सकिँदैन । भविष्यका विरुद्ध हिँड्नु हुँदैन ।”
म त्यत्तिकै उभिइरहेँ । थप्नुभो, “आमा थिई आइरहन्थ्यौ । अब त ऊ पनि छैन, केका लागि आउँछौ होला र ! यो सबै सिर्जना तिमीहरूकै आमाको त रहेछ, ऊ गई, सबै गयो ।”
बसेको ठाउँबाट उठेर बाथरुमतिर लाग्नुभो, म उभिएकै ठाउँमा टुक्रुक्क बसेँ ।
तल रमेश कराइरहेको थियो, “शोभा ! छिटो गर न, गाडीले हतार गररिहेछ ।”

नेपाल साप्ताहिक अंक ३२४

Punya Karki – Firta Bhayeko Muskan

पुण्य कार्की – फिर्ता भएको मुस्कान

ऊ दोपहरको घाममा झोला बोकेर गेटभित्र के छिरेको थियो । बार्तलीमा खेलेकी छोरीले देखिहाली छे । हातको पुतली त्यत्तिकै छोडेर “बाबा ! आउनु भो चिच्याउँदै गेटमा बाबालाई च्याप्प समाउन पुगी । छोरीलाई दुई हातले च्याप्प्ा उठाएर उसले दुईटै गालामा म्वाइँ खायो । छोरीले बाबाको गलो यसरी बेरी उसलाई सास फेर्न गाह्रो भयो ।

कोठाभित्र पसेर राम्ररी झोला बिसाउन पनि भ्याएको थिएन छोरीले बाबुको गला अवरुर् हुने गरी भनिहाली “बाबा ! अब कहिल्यै पनि जागीरमा नफर्किनु ल ।” उसले कुनै जवाफ दिन सकेन । छोरीले फेरि ख्यारख्यार पारी “है बाबा ! अब घर छाडेर कहीँ पनि नजानु ल । ल बाबा हुन्छ भन्नु न ।”

“किन छोरी तिमीलाई कसले के भन्यो?”

“हजुरलाई माओबादीले मार्छन रे क्या !”

“…………………………” उसले कुनै जवाफ दिन सकेन । एक भन्नु न दुई भन्नु छारीको कुराले अक्क न बक्क भयो ।

ऊ आँगन छेउको काठको कुसर्ीमा बसेर कागती चिया पिइरहेको थियो । छोरीको चुरीफुरी हेर्न लायकको छ । उसकी पत्नी दलानमा चामल केलाइरहेकी छिन् । खाटमाथिको झोलुङ्घामा काखको छोरो सुतिरहेको छ । धेरै लामो समयपछि बल्लतल्ल समय निकालेर ऊ घरमा निस्किएको छ । आक्रमणअपहरण र युद्धको कारणले उनीहरूलाई बिदा दिन छाडेको छ । चाडपर्वतिथिसरादको त के कुरा बाउआमा मर्दा पनि उसलाई घर जान दिइएको छैन ।

अस्ति मात्र उसको साथीको पिताजीको निधन भएको खबर आयो । एक त उसलाई घरसम्म पुग्न आँट आएन अर्को हाकिमले जाने निर्देशन पनि दिएन । उसले कोठामै बसेर जुठो बारिरहेको छ ।

उसको घर राजमार्गबाट दुई किलोमिटरभित्र गाउँ भएको कारणले कहिलेकाहीँ यसो हाकिमहरूलाई झुक्याएर आउने गर्छ । समय दिनप्रतिदिन यति जटिल बन्दैछ । र्न्र्को घाउ अझ चर्को रुपमा बल्ँिझदै गएको छ । िहंसाप्रतििहंसाको चक्रब्युहमा सर्वसाधारणको जीवन रुमलिँदैछन् ।

उसले पुलिसको जागीर बिवशताबश खाइरहेको छ । चटक्क छाडिहाल्न पनि मिल्दैन । घरमा दुईटा नानीहरू श्रीमती र बूढीआमा पाल्नु पर्ने बाध्यता छ । उसले जागीर सुरु गर्दा त देशको अवस्था ठीकै थियो । ज्यानलाई त्यती खतरा थिएन । एस।एल।सी पास गरेपछि घरको आर्थिक अवस्थाले पढाइ अघि बढाउन सकेन । मास्टरी खानलाई निकै कोसिस गर्यो त्यसमा पनि सफल भएन । जिल्लामा पुलीसको भर्ति खुल्यो लाग्छु भन्ने आशा त त्यती थिएन । त्यसमा पनि सोस्रफोस्रको बोलबाल चल्छ भन्ने सुनेको हो । त्यही पनि एकचोटि कोसिस गर्छु भनेर हिँड्यो । हट्टाकट्टा स्वास्थ्य स्थिति त्यसमा पनि एस।एल।सी पढेका कारण सजीलै भर्ना भयो ।

तालीम सकेपछि मिहिनेत गर्दै गयो । पढाइलेखाइमा सिपालु भएका कारण बाहिरी कामभन्दा भित्री लेखापढीको काममा नै ब्यस्त हुन थाल्यो । पुलिस भएको पाँचबर्षमा हवल्दार पदमा पदोन्नति भयो । त्यसको छ बर्षमा असई बन्यो । उसलाई अझ माथि जाने लालसा बढ्दै गयो । फलस्वरुप प्राईबेटको परिक्षार्थी भएर आई।ए पास गरी बि।एको जाँच पनि दिन थाल्यो ।

यस्ौबीच उसको सपनाहरू बिखण्डित पार्दै देशमा राजनीतिक बिद्रोह सुरु भयो । बिस्तारी देश युद्धको आगोमा जल्दै गयो । शासकहरूको मन्दबुद्धिका कारण पुलीसले बिद्रोहको सम्पूर्ण भार थाम्नु पर्ने घडी आयो । कसैको स्वर्गीय सुखको लागि उनीहरू धमाधम बलीको बोको हुँदै जानुपर्यो । सत्तामा बस्ने काला पुरुषहरूले उनीहरूलाई बहुलिठ्ठ युद्धमा बिबेकहीन ढङ्घले प्रयोग गर्दै गए । जसको कारण नमारिने मान्छे मारिँदै गए नथिुनने मान्छे थुनिँदै गए नचुटिने मान्छे चुटिँदै गए । कयौँ गाउँहरूमा मान्छेमा मानिसहरूको कत्लेआम गरियो ।

यसले गर्दा देशब्यापी रुपमा प्रतीशोधको ज्वालामुखी नै फुट्या । लोग्ने मारिए पछि कयौँ आईमाई पीठ्युँमा नानी च्यापेर जंगल पसे । दाजु मारिएपछि भाइबहिनी हँसियाखुर्पा जे भेटिन्छ सोही चिज बोकेर युद्धमा होमिए । दिनदिनै आफ्नो पेशा खतराको सुचीमा पर्दै गयो । हिजोसम्म सम्मान गर्ने मान्छेहरू घृणाको आँखा उचालेर हेर्न थाले ।

फेरि बिद्रोहको बारेमा उसको अलिक छुट्टै दृष्टिकोण रहेको छ । यो समस्या पुलिसले समाधान गर्ने समस्या होइन । यो त राजनीतिक दलहरूले सत्तासीन नेताले राजनीतिक तवरले हल गर्ने समस्या हो अनाहकमा पुलिसलाई थोत्रा थ्रिनट थ्री राईफलको बलमा पुलिस लगाएर दमन गरेर यो विद्रोहलाई रोक्नछेक्न र उनीहरूलाई मारेर तह लगाउन सकिन्छ भन्नु हुटिट्याँउले सगर थाम्न खोज्नुजस्तो हो । उसको यो भित्री सोच हो।सरकारको नुन खाएपछि खुलेआम बोल्न मिल्दैन।नचाहाँदा नचाहाँदै पनि बिभिन्न अपरेशनहरूमा जानु पर्छ।उ भन्दा जुनियरले अन्धाधुन्द मान्छे मारेकै कारण काँधमा दुईवटा फुली थपिसके।त्यसमा उसलाई पश्चाताप त छँदै छैन।पुलिसको पेशानै संकट र बेईज्जतीको दलदलमा परेकोमा भने दुःखबोध भने छ ।

छोरी अुगनमा उसले ल्याइएिको लावरको भकुण्डो रमाई रमाई उफारिरहेकी छ ।उ भने एक तमास रुपले टोलाईरहेको छ।बुढी भएकी आमा उसको हात काखमा तानेर मुसा्रदै पिलपिल आँसु झारिरहेकी छन् “नानी!भो छोडिदे त्यो नाथे जागिरबरु घरमै भैँसी पालेर दुध बेची खाँउला।राति निद्रा आँउदैनझलझली तँलाई सम्झिन्छु ।रेडियोमा यति मरे र उती मरे भन्छ।यो बुढेसकालमा डाँडामाथिकी जुनघाम भएकी मान्छेलाई कति पीरमा पार्छस नानी अब छाडिदे।”

आमाका कुराले उसका आँसु रसाउँछन ।एक शब्द बोल्न सकेन । आफुलाई सानैमा टुहुरो बनाएर बाउ मरेपछि आमाले कति दुःख गरेर हुर्काएको सम्ड्ढयो। एक्लो छोरो थियो ऊ । जोरीपारीको अगाडि ताडनालााछनाअपमान र अभावहरू सबै आफूले पिएर हुर्काएकी थिईन।उनको अनुहारमा विगतको त्यो दर्दपुर्ण समय प्रतिविम्वित थियो ।आमाको अवस्थाले ऊ साँच्चै द्रवित भयो।

झोला राख्ने निहुले कोठा भित्र पसेर आछ्यानमा लम्पसार सुत्यो ।सोचाइको सागरमा डुब्दै उत्रिँदै डुब्दै उत्रिँदै निष्कर्षविहीन अवस्थामा टोलाईरह्यो।

खेल्दाख्ोल्दैको भकुण्डो आँगनमै छोडेर छोरी भित्र पसी । ओछ्यानमा लम्पसार बाबामाथि छाँद हालेर उसको भुँडीमाथि सुती । “बाबा ! बाबा !! अब हामीलाई कहिल्यै छाडेर नजानु ल !”

“………………”उसले ल पनि भन्न सकेननाईँ पनि भन्न सकेन।

“ल भन्नु न बाबा ! ल भन्नु न !!

“किन नजानु बा ! “उसले ल भन्नुको साटो कारण खोज्ने कोसिस गर्यो ।

“तपाँईलाई मार्छन रे क्या । हो बाबा साँच्चै हो ”

“कसले भन्यो तिमीलाई “मायालु स्वर निकालेर सोध्यो ।

“मेरो साथी मिस्री र त्ाल्लाघरे कालेले भनेको क्या ।”

“के भने बा अनि उनीहरूले …।”

“उनीहरू राति बम हान्छन् अरे । त्यसपछि हामीसँग मिल्न आओ भन्छन अरे । तिमरको बन्दुक देओ भन्छन् अरे । जजस्ले बन्दुक दियो केहि गर्दैनन् अरे । अनि जसले बन्दुक दिएन उनीहरूलाई मार्छन अरे ।”

“………………।”ऊ कुनै प्रतिक्रिया नजनाई टोलाइमात्र रह्यो ।

“मिस्री र कालेले भनेको कुरा हो बाबा । साँचो हो ।”

“अँ अँ”टाउको हल्लाएर समर्थन जनायो ।

“बाबा ! तपाइर्ँपनि बन्दुक दिईहाल्नु ल । हुन्छ बाबा ।”

“हुन्छ बा हुन्छ ।”उसको चित्त बुझाउन खोज्यो ।

ऊ फेरि रमाउँदै भकुण्डो टिप्न आँगनतिर कुदी । उसले झोलाबाट ललिपप झिकेर फेरि भित्र डाक्यो । काखमा राखेर उसको कपाल सुम्सुम्यायो । उसका निर्दाेष आँखामा गहिरो गरी नियाल्यो । आँखामा बालसुलभ चाचलता घनिभूत रुपले नाचेको थियो । निष्कलंक मुहारमा जीवनको आभा धप्प बलेको थियो।

आँगनमा बेगनबेलीका कोपीलाहरू सयपत्रीका फुट्न लागेका थुँगाहरू मधुर सुवास छरेर फक्रिने तरखरमा थिए । उसले छोरीको मुहारमा तिनै कोपिलाहरूको प्रतिबिम्वलाई दर्शन गर्यो । भोलिको सुन्दर फूलहरूको जीवन आज दाग लाउनु हुँदैन । भोलिको दिनलाई उज्यालो बनाउन यिनको सुवास र सुन्दरता ज्यादै महत्वपूर्ण छ । यी कोपिलाहरू असमयमै ओइलाउनु हुँदैन । यस्तो सोच्दासोच्दै केही भावुक बनेछ । छोरीको ओठको निर्दोष हाँसो कतै मेरो मृत्युले असमयमै खोसिने पो हो कि उसको मनमा क्षण भरमै त्रासको बादल मडारियो।

यो मुनी कोक्रोमा यसको भाइ छ यी दुईटा नानीहरूको भविष्यको लागि पनि मैले केही साच्नै पर्छ फेरि चारवीस पुग्न लागेकी बूढी आमा पनि त छन् । उसको मन आमा हुँदै जीवन अर्ध्यांगिनीतर्फ मोडिन्छ । ऊ जीवनमा आज जस्तो भावुक कहिल्यै बनेको थिएन ।

“खाना तयार भयो । पहिले खाना खानु न ।” श्रीमतीको मृदुल एवम् मसृण बोलीले ऊ भान्सातिर आकर्षित बन्यो ।

“माम खाने अब माम खाने । म पनि आज बाबासगँ माम खाने ।”

“खाने खाने आज बाबाछोरी सँगै खाने ।” छोरीको कुरामा समर्थन जनायो । आज धेरै दिनपछि यस परिवारले एउटै छानामुनि बसेर खाना खाए ।

चाँदनी रातको मादकतामा संसार ल भएर सुतेको छ । निशाको घोर कलिमालाई जूनको रोशनीले छताछुल्ल उज्यालो बनाइदिएको छ । आँगन छेउमा बेगनबेलीको …… जातको फूल मगमग बासना छरिरहेछ । यो फूलको नाम त थाहा छैन तर साँझ परे पछि यसले सुगन्ध दिन थाल्छ । राती पनि यसको सुगन्धमा खिचिएर मौरी भँबरा र अन्य किराहरू आउने गर्छन्।

छोरी साँझमै सुतिसकेकी छ । आमा पनि सुतिसक्नुभएको छ । छोरो झोलुङ्घोमै निदाइरहेको छ । घडिले एघार बजाइसकेको छ । पति पत्नी टाँडको बरण्डामा बसेर अन्तरङ्घ कुराकानीमा डुबेका छन् । दुबैका आँखामा निद्राको लेश छैन । कुनै गहन बिषादमा परेका चखेवाचखेवीको जोडीजस्तो मनको सन्तापहरू पोखेर निलो आकाशका ताराहरू नियालिरहेका छन् ।

“हजुर त साँच्चै निष्ठुरी ! कत्ति भन्दा पनि लाग्दै नलाग्ने । जागिर छोडेर आउनु भनेको कहिलेदेखि हो छोरीले मलाई दिनको भोक न रातको निद बनाउँछे । आमा त्यस्तै पीरले सुकिसक्नुभएको छ ।”

” “ऊ अक्क न ब्ाक्क भएको छ । ऊसँग कुनै जवाफ छैन ।

“हेर्नु माईती गयो । माईतीमै सबैले ट्वाक ट्वाक गर्छन् । ज्वाइर्ँलाई भिनाजुलाई किन जागिर छोड्न नलाएको भन्छन् । अटेरी गर्दा गर्दै कुन दिन अनिष्ट ब्यहोर्नु पर्ने हो थाहा छैन…………” उनी त सुँक्कसुँक्क आँसु े झार्न पो थालिन् । ऊ पनि तरल बन्यो । उनका आँसु पुछिदियो । टाउको काखमा लिएर सुमसुम्याउन थाल्यो । “सरु किन यसरी रोएकी छोड्ने सोच त बनाउँदै छु नि तर हेर जागिर छाडेपछि कसरी गुजारा चलाउने हो पीर लागेर आउँछ !”

“के को पीर पौरखी मान्छेलाई खालि हात र भोको पेट बस्नुपर्छ । जसरी पनि यती जाहान सजिलै पाल्नसकिन्छ । आफ्नै खेतीले ८-१० महिना खान पुगिहाल्छ । भैँसी पाल्दा पनि भयो । बाकट खसीपालन गर्दा पनि भयो । कुखुरा पालेरै तल्लाघरे जेठाजु मैनाको दस हज्जार कमाउँछन् । हामी चैँ खाली हात बस्नुपर्छ ” श्रीमतीको आँटको भित्रभित्रै सराहना गर्यो । साँच्चै उसकी श्रीमती पौरखी छे । अल्छी कुन चराको नाम हो उनलाई थाहा छैन । ऊ जागिरमै बस्छ ढुक्कसित । घरव्यवहार खेतिपाती सारा कुरा भ्याएकी छिन् ।

“सरु आज म तिमीलाई एउटा कुरा भन्छु मान्छे ऊ त ” श्रीमतीको मन चोर्ने विचार गर्यो।

“के कुरा भन्नु न । राम्रो भए मान्छु नराम्रो भए मान्दिनँ ।”

“जागिर छोडेर विदेश जानुपर्यो दुईचार बर्षको लागि । कमाई पनि हुने सुरक्षित पनि हुइँने । एक त जागीर राजिनामा गरेर छोड्न सरकारले रोक लगाएको छ । भागेरै हिँड्नुपर्छ । त्यसो गर्दा सबै सुविधा पनि माया मार्नुपर्छ । फेरि गाँउमा सजिलो सँग बस्न पनि असहज छ । भन त सरु के गरुँ ।”

“ए पर्दैन पर्दैन विदेश जान पर्दैन । महिनाको पाँचसात हजार कमाउन विदेशै जानुपर्छ उहाँ बगाउने पसिना यहीँ बगायो भने यहीँ नै त्यति कमाई हुन्छ । तपाँई किन डराउनु हुन्छ गाँउका सबै जागिर छाडेर आइसके । खुशीको जागिर पो हुन्छ त । फेरि त्यो पेशा नै छाडेपछि उनिहरूले पनि राम्रै गरेको देखिएको छ । आखिर जागिरमा रहँदा पनि तपाइर्ँले उनीहरूलाई छेती पुर्याउने काम गर्नुभएको छैन क्यारे।”

श्रीमतीको कुराले उसको हृदयमा हौसला बढ्यो ।जागिर छोडेर पनि केही गर्न सकिन्छ भन्ने आँट पलायो ।sाेक्रामा सुतिरहेको नानी छट्पट्ाएर रुन थाल्यो । उनी उठेर नानी स्यार्हान थालिन् । घडिले आधा रात भएको संकेत दिईसकेको थियो ।

ओछ्यान मिलाएर सुत्ने तरखरमा लागे । तर यी दुई जोडिलाई आज निद्राले आफ्नो शरणमा बेर्न सकेन ।

उसको काखमा उनले यति धेरै ताता आँसुहरू बगाईन् । भोलिपल्टदेखि ऊ जागिरमा नफर्किने निर्णय गर्यो ।

बिहान छोरी नब्युँझिदै ऊ साँढे चारको दिवावसमा काठमाडौँ प्रश्थान गर्यो । आफ्नो पाकेको संचयकोष निकालेर पशल थाप्ने योजनाका साथ ऊ त्यता लागेको छ ।

घरको बिशेष परिस्थितिले जागिर गर्न नसक्ने ब्यहोराको राजीनामापत्र उतैको हुलाकबाट पठाईदिनलाई तयार गरेर हिँडेको छ ।

गाडि तुफान गतिमा हुँईकिरहेको छ । त्यो भन्दा बिजुलिवाण गतिमा उसको मन दौडिरहेको छ ।जीवनमा सर्वाधिक हलुङ्गो स्थिति महसुस भएको छ ।अव उसको जीवनको सबै ढोकाहरू खुलेको अनुभुति सल्वलाएको छ ।रातिको निद्रा सुत्ने कोसिस गर्छ ।तर निद्राले कसै गर्दा पनि आँखालाई चुम्वन गर्दैन । बरु उसको आँखामा सानि छोरी को निष्कलंक मुहार बुढि आमाको ममतामयि मुहार र श्रीमतिको हार्दिक तथा अप्रतिम प्रेमले ओतपोत अनुहारको झल्को एकपछि अर्को तँछाडमछाड गर्दै बल्झिदिन्छ ।ऊ ओठमा सन्तुष्टिको मुस्कान झिकेर वसको झ्यालबाट टाढाटाढाको रिगंन क्षितिजलाई चियाइरहन्छ ।

समाप्त

Rajab – Return Ticket

राजव – रिटर्न टिकट
(Source: Himal Khabar)

यताको मौसम सुधि्रएपछि म आइपुगेँ। अन्तिम अप्रिलको दिन, वातावरणमा न्यानो फैलन थालेको थियो। म आइपुगेको लगत्तैको बिहान मे महिना शुरु भयो।

“घमाइलो दिन भर्खर हो शुरु हुन थालेको”, छोरोले भन्यो।
“तर यहाँको घाममा ताप अझ् बढ्न सकेको रहेनछ, काठमाडौंमा त घाम निकै चर्किन थालिसकेको थियो।”
“यता घामको ताप ढिलै बढ्छ। फेब्रुअरीभरि लगातार परेर थुप्रिएको हिउँ मार्चसम्म पनि पग्लिएको थिएन”, छोरोले सुनायो।
“कार्यक्रम अलि ढिलै राखेको भए हुन्थ्यो कि .?”

“हैन बुबा, त्यस्तो आत्तिनुपर्दैन। अब जाडो हुँदैन। अप्रिल लागेपछि त चिसो घट्न थालिहाल्यो नि।”
“चिसो त मेरो शरीरलाई हुँदैहुँदैन।”
“त्यसैले त मेको प्रोग्राम राखेर अन्तिम अप्रिलको टिकट पठाइदिएको बुबालाई।”

“काठमाडांैमा पनि चैत-वैशाखदेखिकै मौसम प्यारो लाग्छ। कात्तिक कटेपछिका चिसा दिन मलाई कहिल्यै मनपरेन।”
मे लागिसके पनि ठिहीले महिनौँ कठाङ्ग्रिएका रूखमा ज्यान लागेको थिएन। ठिहीले सुकेका तिनका हाँगामा भर्खर पालुवाका गर्भ लाग्न थालेका थिए। त्यसकारण पार्क, सडक र घरबगैंचाका वृक्षहरू मृतजस्ता जर्जर देखिन्थे। नगरमा प्रकृतिको हरित रमाइलो शुरु हुन बाँकी नै थियो।

“जूनदेखि त चारैतिर हरियोपरियो र फूलैफूल देखिनेछ बुबा”, यसरी भावी मौसमबारे मलाई आश्वस्त पार्न खोज्दै छोरोले भन्यो।

त्यस बिहान हामी चाँडै बिउँझ्िएर सडकमा ‘र्लियौँ। सूर्य शहरका गगनोन्मुखी दैत्यभवनभन्दा अझ्ै तलै देखिन्थ्यो। घामका कलिला किरणले ती भवनका शिशाहरू आल्हादक रूपमा टल्किरहेका थिए। हामी फूटपाथमा अनौठो पाइला चाल्दै थियौँ। सडकमा बाहनका गतिहरूको अटुट ‘इरो लाग्न थालेको थियो। म भित्रभित्रै पुलकित भइरहेको थिएँ। तर, मेरी श्रीमती मजत्तिको रमाउन सकिरहेकी थिइन। उसलाई अझ्ै छोरोको कुरोको ह्याङ्ग’भरले छोडेको थिएन। नेपालमै भन्दै थिईः “जानुस् तपाईं मात्रै।”

वास्तवमा मेरै करबल र सम्झ्ाइबुझ्ाइले ऊ आउन राजी भएकी हो। उसको हिसाबले त एक, दुई, तीन नआउनेमा थिई। उसले मलाई रन्केर र सन्केर भनेकी थिईः “म एक जान्न, दुई जान्न, तीन जान्न …।”

६ वर्षअगाडि छोरो पढ्न अमेरिका उडेको थियो। ऊ पीएचडी गर्न यता आएको थियो।जुन विश्वविद्यालयमा फेलो थियो, त्यहीँ प्रोफेसर पनि भयो। बिहे पनि यतै गर्‍यो। ऊ नेपाल फर्किएला र उसको बिहे गरिदिउँला भन्ठानेको थिएँ। मेरी श्रीमतीले त केटी खोजी, रोजी पनि गरिसकेकी थिई। तर, हामी दुवैको योजना र सोच विपरितको कुरो उसले एकदिन फोनमा पोख्यो। त्यस दिनदेखि रन्थनिएकी मेरी श्रीमती शान्त हुनसकेकी थिइन।

उग्र असन्तुष्टि र दुःखी मन बोकेरै ऊ मसँग अमेरिका उडी। त्यसकारण त्यस बिहान पहिलो पटक देखिएको अधुनातन अमेरिकी नगरको वैभवपूर्ण स्वरुपले पनि उसको अनुहार रमाएन। छोरोको बिहे नेपालमा धुमधामसँग गरौँला भन्ने थियो उसलाई। उसले आफ्नै रुचि र विचारकी केटी छानेकी थिई। मैले पनि सहमति दिएको थिएँ। त्यो सहमतिमा ल्याप्चे लाउन हामी छोरो अमेरिकाबाट फर्किने दिन कुरिरहेका थियौँ। तर, छोरोले दुई महिनागाडि फोन गरेर हाम्रो आशमा धक्का दिँदै भन्योः “यस पटक पनि नेपाल आउन सक्दिनँ, विश्वविद्यालयमा भर्खर जागिर लागेको छ।”

“अनि कहिले आउँछस् त?” हामीले सोधेका थियौँ। तर, उसले लटरपटर जवाफ दिँदै भन्यो, “अर्को साल हेरौँला।”
“हेरौँला होइन, आउने ठेगान पनि दे। हामीले यहाँ केटी ठीक …”

तर उसले केटी त अमेरिकामै ठीक पारेको रेछ। त्यो भेद खुलस्त हुनुअगाडिको एउटा फोनमा उसले भनेको थियोः “बुबा तपाईंहरूलाई अमेरिका आउन भिसाको लागि म चिठी पठाउँदैछु, हुन्न?”

उसले हामीलाई अमेरिका डाकिदिए र घुमाइदिए हुन्थ्यो भन्ने आश त हामीले पनि पालिरहेका थियौँ, मुख फोर्न मात्र सकेका थिएनौँ। तर, त्यस दिन उसैले एकाएक त्यसो भनेपछि हामी बूढाबूढी पुलकित नहुने कुरै थिएन। हामीले भनिहाल्यौँः “हुन्छ, कहिले पठाउँदै छस्?”

“पर्सि त्यता आउने मान्छे भेटेको छु, उसैको हात पठाइदिन्छु।”
उसले त्यसो भनेको क्षणदेखि हामी दङ्ग पर्न थालिहाल्यौँ। त्यसको केही दिनमा त हामीले त्यो मान्छेबाट भिसाको लागि उसले पठाएका कागजात पनि पायौँ। त्यसै साँझ् छोरोको फोन पनि आएको थियो। हामीले उसले पठाएको चिठी र कागजातहरू पाएको कुरो सुन्नेवित्तिकै आतुरी नै परे झ्ैँ उसले भन्योः “भोलि नै अप्लाई गरिहाल्नुस् बुबा।”
वास्तवमा हामीभन्दा पनि हाम्रो भिसाको लागि ऊ हतारिएको बुझ्ियो। त्यसको भोलिपल्ट फेरि उसले फोन गरेर भन्योः “हिजो भन्नै बिर्सेछु बुबा, कार्यक्रम चाहिँ मेको दोस्रो हप्ता राखेको छु।”

हाम्रो लागि त्यस्तो विशेष के कार्यक्रम राखेछ भन्ने जिज्ञासाले मैले हत्तपत्त सोधेको थिएँः “के कार्यक्रम बाबु?”
तर जवाफ दिन हिच्किचाउँदै उसैले सोध्योः “भाइले भनेन बुबा?”
“अहँ भनेन त …”, मैले भनेको थिएँ।
त्यसपछि उसले हडबड भएझ्ैँ भन्योः “सबै कुरो भाइलाई भनेको छु, बुबालाई भाइले भन्छ। अहिले मलाई युनिभर्सिटी जान हतार छ, म भोलि कुरा गर्छु।”

त्यसपछि उसले तीन-चार दिन फोन गरेन। उसको कन्थो सबै उसको भाइले सुनायो। कान्छो छोरोबाट ठूलोको सारा वृत्तान्त सुन्नेवित्तिकै उसकी आमा आगो भइहाली। उसलाई निभाउन मलाई हम्मे पर्‍यो। मैले उसलाई भनेको थिएँः “छोराछोरीमाथि जबर्जस्ती गर्ने जमाना छैन। आफ्नो खुशी र भविष्यको हिफाजत गर्ने काम उनीहरूकै हो। मनपराएकी केटी बिहे गर्छ भने गरोस्। नगर भने पनि गर्छ, बरु भनेर हाम्रो इज्जत राखिदियो। त्यसकारण चुप लाग्नु नै बेस।”
“हाम्रो पनि त खुशी, रहर हुन्छ …”, भन्दै ऊ रुन थालेकी थिई।

वास्तवमा उसको रुने, रिसाउने र घुर्क्याउने क्रम जारी थियो। म यात्राको लागि गर्नुपर्ने काम गर्दै, दैनिक उसलाई सम्झ्ाउँदै पनि थिएँ।
अमेरिका आइपुगेको बिहानसम्म पनि उसको अनुहार उजेलिन सकेको थिएन। तर, यहाँ उसलाई सम्झ्ाउने जिम्मा छोरोलाई दिएर म केही हल्का भएँ। मलाई पनि छोरोको निर्णय बिझ्ाउन छाडेको त थिएन, कताकता सामाजिक रूपमा ठगिएको अनुभव भइरहेको थियो। त्यसकारण यहाँ हुन लागेको छोरोको बिहेसँग मेरो पनि उत्साह पूरा जोडिन सकेको थिएन। तर, म छोरोको अगाडि आफ्ना निराशाका भेद नखुलुन् भन्ने कोशिशमा थिएँ।

उसले आफ्नै विश्वविद्यालयमा पढेकी केटी रोजेको रेछ। केटी एमबीए गर्दै रेछे। भेटघाट, चिनापर्ची, आवतजावत, प्रेमजस्ता शब्दहरूसँग उनीहरू जोडिएछन्। र, बिहे पनि गर्ने भएपछि हामीलाई खबर गरेछन्।
हामी बिहेको कार्यक्रमभन्दा १५ दिनअगाडि त्यसरी अमेरिका आइपुग्यौँ। दुई-चार दिन त मेरी श्रीमतीले छोरोसँग बोलिव्यवहार बारिरही। त्यसपछि उसलाई छोरोको ममताले पेल्न थालेछ र ऊ केटीबारे छोरोसँग सोधपुछ गर्न थाली। वास्तवमा ऊ केटीको रङ्गरोगन, घर, जातपातबारे ज्यादै केरकार गर्दै थिई। उसको केरकारले लछारपाटो लाउनसक्ने त केही थिएन, आफ्नो अहम् तुष्ट गर्न मात्र त्यस्तो गरेकी हो। त्यसकारण छोरोको जवाफबाट उसको चित्त केही बुझ्ेको थियो, केही बुझ्ेको थिएन। समग्रमा ऊ खुशी हुनसकेकी थिइन। बिहेको दिनको प्रक्रियाले त झ्न् उसलाई पोलेको थियो।
त्यस दिन हामी छोरोको अपार्टमेन्ट भन्दा एक घण्टा परको एउटा भारतीय मन्दिरमा भेला भयौँ। त्यहाँ हामी ६ वटा कारमा दुई अमेरिकन र नौ नेपाली गरेर ११ जना पुगेका थियौँ।

मन्दिरमा पुगेपछि हामीले दुलही पक्षकालाई अढाइ घण्टा कुर्नु पर्‍यो। दुलहीसहित उनीहरू त्यही बिहान शिकागोबाट युनाइटेड एअरलाइन्सको प्लेनमा आउँदैथिए। एअरपोर्टमा ‘र्लिएपछि उनीहरूले हामीलाई फोन गरेर अब एक घण्टामा आइपुग्नेछौँ भनेका थिए। तर, त्यसो भनेको डेढ घण्टापछि मात्र आइपुगे। कुराइको त्यो लम्बाइले मेरी श्रीमती भित्रभित्रै झ्न् चिढिएकी थिई, तर भन्न केही सकिरहेकी थिइन। एक घण्टा त उसले मन्दिरमा भएका १२-१३ देउता घुम्दै र नमस्कार गर्दै बिताई। त्यसपछिको बाँकी समय ऊ बर्बराई नै रही। मैले उसलाई त्यसरी धेरै नफतफताउन सम्झ्ाई नै रहेँ। उसको फतफत छोरोका साथीले सुन्लान् भनेर मैले उसलाई पटक, पटक मन्दिरको बगैँचातिर लगेको थिएँ।

हामीलाई त्यसरी कुराएर दुलहीसहितको १० जनाको जत्था साढेबाह्र बजे आइपुग्यो। उनीहरूमध्ये कसैले मेरो छोरोलाई नमस्कार गर्दै भनेको थियोः “एअरपोर्टबाट सीधै हान्निएका हौँ, तर जामले गर्दा एकनासको स्पिडमा आउन सकेनौँ। बीच-बीचमा फँस्दै आउन पर्‍यो।”

ढिला हुनुको कारण भन्ने र कुराएकोमा क्षमा माग्ने काम सकिएपछि परिचयको कार्यक्रम शुरु भएको थियो। सबभन्दा पहिले दुलहीलाई अघि सार्दै मामा पर्नेले भन्योः “यी बेहुली मेरी भान्जी।”

त्यसपछि अलि लाज मान्दै मेरो छोरोले हामी बूढाबूढीलाई देखाउँदै बेहुलीलाई भन्योः “ड्याडी, मम्मी …।”
उसले स्वाभाविक लजालु मुस्कानले नमस्कार गरी, मैले फर्काएँ। तर, मेरी श्रीमतीको हात बाँधिई नै रह्यो। उसले दुलहीको पैन्ट-सर्टको पहिरनतिर हेर्दै मुख बङ्ग्याएकी थिई। मलाई चाहिँ उसको रङ्गरोगन र दृष्टि मनपरेको थियो।

छोरोले पनि दुलहीबाहेक अरूलाई चिनेको रहेनछ। त्यसकारण सबैसँग क्रमशः परिचयको सिलसिला चल्यो। केटीका बाबुआमा केही कारणले आउन पाएनछन्। त्यसकारण गार्जियनसमेतको जिम्मेवारी त्यही मामा पर्ने शिवप्रसाद जटायुले लिएको रहेछ। केटीको तर्फबाट आएकामध्ये तीन आईमाई र सात पुरुष थिए।

परिचयको कार्यक्रम सकिएपछि हामी सब मन्दिरभित्र पस्यौँ। आईमाईको ग्रुप चाहिँ दुलही लिएर मन्दिरभित्रको अर्को कोठाभित्र गयो। हामी पुरुषहरू चाहिँ मन्दिरको विशाल भूतल कक्षमा ‘र्लियौँ। त्यहाँ रेडिमेड विवाहमण्डप रहेछ। दुलाहादुलही पक्षका सब त्यही मण्डप वरिपरि राखिएका कुर्सीमा बस्यौँ र कल्याङमल्याङ गर्न थाल्यौँ। लगभग ३५ मिनेटपछि बनारसी सारी, चोलो, घुम्टो र गहनाहरूमा सिँगारिएकी दुलहीलाई लिएर महिलाहरू पनि ‘र्लिए र दुलहीलाई मण्डपको चकटीमा लगेर बसाए।

मण्डपमा भारतीय बाहुन विधिविधान पूरा गरेर मन्त्र जप्दै थियो। दुलही प्रकट भएपछि उसले दुलाहालाई पनि डाक्यो। दुवै दुलाहादुलही मण्डपमा बसेपछि हामी पनि कुर्सी सार्दै घेर्न पुग्यौँ। दुलाहादुलही जग्गे (मण्डप) मा बसेको लगभग २० मिनेटभित्र बिहे सम्पन्न भयो। बाहुनलाई त्यही समयभित्र सक्न भनिएको थियो। त्यसकारण उसले व्यावसायिक चातुर्यका साथ द्रूतगतिमा विवाहविधान पूरा गरिदियो। मेरी श्रीमती यो सब गतिविधि जिल परेर हेरिरहेकी थिई। जग्गेबाट उठेपछि बुहारीले आएर खुट्टामा ढोग्न टाउको निहुराउन खोजेझ्ैँ गरेकी थिई, तर उसले भैगो भन्दै आशीर्वाद मात्र दिई।

बिहेको विधान सकिएपछि हामी भूतल कक्षकै डाइनिङ्ग हलभित्र पस्यौँ। त्यहाँ तोस्कन नामक इटालियन रेस्टुरेन्टको क्याटरिङ्ग सर्भिसबाट राखिएका १५-१६ परिकार थिए। हामी तिनै परिकार प्लेटमा टिप्दै खान थाल्यौँ। खाउन्जेल मेरी श्रीमती बुहारीसँग गफ गरिरहेकी थिई। त्यसपछि बुहारी छोरोसँग एउटा कुनातिर लागेर गफ गर्न थाली। हामी उनीहरूलाई छोडेर माथि मन्दिर परिसरमा उक्ल्यौँर कुर्न थाल्यौँ। दश-आठ मिनेटपछि उनीहरू आएर बुहारीलाई त्यतै छोडेर छोरो हामी भएतिर आयो। बुहारी र अन्य महिला मन्दिर परिसरको पहिलेकै सिँगारिएको कोठाभित्र पसे। त्यसपछि बुहारीको मामा पर्ने उही शिवप्रसाद जटायुले मनजिक आएर गफिन खोज्दै भन्योः
“हजुर आज त बुहारी घर लैजान पाउनुहुन्न, उनलाई आजै शिकागो फर्कनुपर्छ। भोलि बिहान अफिसको मिटिङमा उनले कुनै पनि हालतमा उपस्थित हुनुपर्ने रहेछ, त्यसकारण अहिले चार बजे उड्ने प्लेनको रिटर्न टिकट लिएर आजको बिहेको साइत छोप्न मात्र आएकी हुन्। ५-६ दिनपछि फर्कने छिन्, दुःख नमान्नुहोला। यस्तै हो, यस विषयमा ज्वाइँ-छोरीले सल्लाह गरिसकेका छन्, ज्वाइँले हजुरलाई विस्तार गरिसेला नै, हीँ…हीँ…”
उसको कुरो सकिँदा नसकिँदै बुहारी र अन्य महिला त्यो सिँगार कोठाबाट निस्किए। बुहारी उनीहरूसँग त्यो कोठामा लुगा फेर्न पसेकी रेछे, बाहिर निस्कँदा दुलहीको भेसका लुगाहरू फुकालेर आउँदाकै कमिज-पाइन्टमा बाहिर निस्किएकी थिई। ऊसँग दुलही हुँदाको बेलाको नाक, कान, गर्धनका गहना र अनुहारको कस्मेटिक मात्र बाँकी थिए।
ती महिलाहरूलाई छोडेर फेरि बुहारी छोरोसँग एकान्ततिर लागी। त्यतै एकछिन् उभिएर उनीहरूले गफ गरेको देखियो। त्यसपछि हामी भएतिर आएर छोरो निकै अप्ठेरो मानेर उभिइरह्यो। बुहारीले आदर सम्प्रेषण गर्दै भनीः “दर्शन बुबा, मम्मी …”
त्यसपछि ऊ आफूसँग आएका महिला-पुरुषको डफ्फासँग मन्दिर परिसरपछाडिको पार्किङ लटतिर लागी। हामीहरूको फौज पनि त्यतै लाग्यो। पार्किङ लटमा कतिपयले परस्पर बिदाइको हात हल्लाए। छोरा-बुहारीले पनि आपसमा त्यस्तै गरे। त्यसपछि सब आ-आफ्ना कारभित्र पसे।

पार्किङ लटबाट बिहेमा आएका कारहरू धमाधम सडकमा निस्कन थाले। म आफू चढेको कारको शिशाबाट निकै अगाडि हुँइकिएको दुलही चढेको हरियो कार अनायास च्याउन थालेछु। मेरो त्यो दृष्टि नियाल्दै छोरोले भन्योः “भोलि बिहानै उसले अफिसको महत्वपूर्ण मिटिङ एटेण्ड गर्नुपर्ने रहेछ बुबा, त्यसकारण बिहेको साइत छोप्न मात्र रिटर्न टिकट लिएर आएकी रेछे। फ्लाइट चार बजेकै भएकोले पनि फर्कन हतारो भयो, नत्र …”
म केही बोलिनँ। बरु श्रीमतीतिर हेरेँ। उसको पुरानो अनुहार केही लुटिएजस्तो देखिँदैथियो।
छोरोले फेरि मलाई सुनायोः “ऊ अफिसमा बिदा लिएर सात दिनमा फर्कन्छे बुबा। हामी त्यस दिन उसलाई लिन एअरपोर्ट जानेछौँ।”

अगाडि ड्राइभर सिटमा बसेर उसको साथी कार तीब्र गतिमा चलाइरहेको थियो। कार आठ लेनको व्यस्त हाइवेको देब्रे लेनमा कुदिरहेको थियो। म केही नबोली झयालबाहिर अरू कारका गति हेरिरहेको थिएँ। मलाई बोल्नु आवश्यक पनि थिएन। मेरो मौनको अर्थ लखकाट्न खोज्दै छोरोले भनेको थियोः “के गर्ने बुबा व्यस्त हुनुपर्ने जब छ उसको, ऊ आएपछि बुबामम्मीलाई लिएर हवाइ घुम्न जाने प्लान छ हाम्रो।”

तर म चुप नै रहिरहेँ। ऊ मैले केही बोलिदिए हुन्थ्यो जस्तो गरिरहेको थियोर त्यही हिसाबले बोलिरहेको थियो। वास्तवमा म भित्रभित्रै ऊप्रति अगाध मायाले भरिन थालेको थिएँ। तर, मेरी श्रीमतीले अचानक त्यो पोखिदिईः
“बुबालाई बुहारी मनपरेको छ बाबु!”

हालः अमेरिका

Sanjay Bista – Bartaman

सञ्जय बिष्ट – वर्तमान

बल्ल अनेक शङ्का -उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो।
सुतेको थियो एउटा शिशु ईश्वरजस्तै । ईश्वर नै।
त्यो आइतबारको घाम लागेको दिन थियो। पन्ध्रको नौ पढ़्ने छोराले दुई दिनअघि नै आफ्नो सेतो कमिज खोलेर गोलसखानमा फ्यॉंकेको थियो । टिपेर आमाचाहिँले धोएपछि आँगनको तारमा सुकाएकी थिई। कार्यालयको झन्झटदेखि मुक्त पदमबहादुर आँगनमै घाम तापिरहेथ्यो । धोएर सुकाइएको कमिजको गोजीमा खैरो दाग देख्यो उसले।
उठेर कमिजछेउ गयो ऊ। पल्टाएर हेर्यो गोजीलाई। गह्रौँ मन लिएर फर्क्यो ऊ कमिजदेखि अघि बसेकै बेतको चौकीमा। स्वास्नीलाई केही भनेन। क्रिकेट खेल्न जान्छु भनेर छोरा अघि नै घरबाट निस्किसकेको थियो, हातमा ब्याट पनि बोकेर।
पन्ध्रको आफू सम्झने कोसिस गर्यो उसले। त्यो समयको आफूलाई यो समयको उसले स्पष्ट सम्झन सकेन यद्यपि पन्ध्रको छोरासित मनमनै खुब रिसायो ऊ।
आइतबार पनि तनाउपूर्ण भइरह्यो पदमबहादुरको।
झमक्क सॉंझ परेपछि छोरो घर पस्यो।
‘‘तँ यहॉं आइज।’’ उसले बोलायो त्यसलाई।
आज पनि सधैँजस्तो छोरा घर पसेपछि गोसलखानमा मुख कुल्ला गर्दैथ्यो । अनुहार धुँदैथ्यो।
‘‘ठुलो भइस् त?’’ अघिल्तिर उभिएको छोरालाई उसले सोध्यो। स्वरमा क्रोध स्वाभाविक थियो।
नबुझेर छोरा अकमक्क पर्यो।
‘‘राम्रो कुरा सिकेछस्।’’ भन्यो बाबुले छोरालाई ।
छक्क परेको छोराले बाबुलाई हेरिरह्यो।
‘‘भात खाएर पुगेन तँलाई? के-के खानु सिक्दैछस्?’’ हकारेर सोध्यो, सोधेर हकार्यो छोरालाई उसले।
यसपल्ट परिवर्तित अनुहारको रङ्गसित छोराले बाबुदेखि दृष्टि फिरायो।
पदमबहादुरले अरू केही भनेन।
‘‘पैसा नदिनू धेर।’’ अर्को दिन उसले स्वास्नीलाई भन्यो।
‘‘हन तेरो लुगामा त सिग्रेट पो गनाउँछ त!’’ निक्कैपछि एक सॉंझ आमाले छोरालाई करॉंउदै थिइन्।

आउनू भन्ने चिठी आएको रहेछ छोराको स्कुलदेखि। त्यो पनि पोष्ट अफिसबाट। छक्क परेको पदमबहादुरले यस विषयमा कसैलाई केही भनेन। आफ्नो अफिस भ्याउने गरी ऊ छोराको स्कुल-अफिस दस बजी पुग्यो।
चिनेको हेडमास्टर र उसले एकाअर्कालाई झन्डै सँगसँगै नमस्कार गर्यो।
हेडमास्टरको ‘‘बस्नुहोस्,’’ सँगसँगै ऊ चौकीमा बसिसकेको थियो।
औपचारिकता पुरा भएपछि पदमबहादुरले भन्यो, ‘‘चिठ्ठी पठाउनुभएको पाएँ।’’ उसलाई समयमै अफिस पुग्नु पनि थियो।
‘‘पछिबाट कुनै प्रकारको जानकारी दिनुभएन भन्नुहोला भन्ने ठानेर,’’ हेडमास्टरले भन्यो।
‘‘भन्नुहोस्,’’ भन्यो पदमबहादुरले।
चौकीदारलाई बोलाएपछि हेडमास्टरले भन्यो, ‘‘आदित्यको बारेमा केही भन्नु थियो । सोध्नु पनि।’’
पदमबहादुर जान्दथ्यो, त्यो जेसुकै होस् राम्रो निश्चय होइन जो अब भन्नेछन् हेडमास्टरले आदित्यको बारेमा।
‘‘मैले बाबाको चिठी ल्याउनु भनेको थिएँ। ल्याएन। बिमारी भएँ भन्थ्यो हरेकपल्ट। थिएन होला पक्कै।’’
थिएन।‘‘थिएन,’’ नै भन्यो पदमबहादुरले।
चौकीदारले दुवैको अघिल्तिर टेबलमा भर्खर राखिदिएको रेजिष्टर पल्टायो हेडमास्टरले।
‘‘मईमा,’’ भन्यो। रोकियो। ‘‘एक्तिस दिनमा सरकारी छुट्टी पॉंच दिन।’’ पदमबहादुरलाई हेर्यो।
‘‘शनिबार र आइतबार आठवटा। आठ, पॉंच तेह्र। स्कुल लागेको अठार दिन।’’ रेजिष्टरबाट फेरि आँखा पदमबहादुरकै निराश अनुहारमा पुर्यायो।
‘‘यहॉं हेर्नुहोस्,’’ हेडमास्टरको दाहिने हातको चोर औँलाले आदित्यप्रकाश देवानलाई छोएको थियो रेजिष्टरमा।
आदित्यप्रकाश देवानदेखि स…र…र…र… तेर्सो सरेको हेडमास्टरको औँलासँगसँगै कुद्यो दृष्टि पदमबहादुरको।
अङ्ग्रेजीको सानो अक्षर ए,ए,ए लेखिएको रहेछ थुप्रै।
हेडमास्टरले चौकीदारलाई फेरि बोलायो। भन्यो ‘‘नाइन बी-को आदित्यप्रकाश देवानलाई बोलाऊ।’’
‘‘के गर्नुपर्ने अब हामीले!’’ बोलाइमा भनाइ र सोधाइ खुट्याउन गाह्रो थियो।
पदमबहादुर मौन रह्यो। के गर्नुपर्ने अब उनीहरूले—उसलाई थाहा थिएन पनि।
चौकीदारले अफिसमा पुन: प्रवेश गरेपछि भन्यो, ‘‘सर, आदित्यप्रकाश आज एब्सेन्ट छ।’’
पोहोर नौमा फेल भएको छोरा स्कुल जानलाई बिहान घरबाट निस्किएको थियो।
भारी मन बोकेर ऊ अफिसतिर लाग्यो।
मान्छे भएर जन्मिएका पढ़ेकाहरू कत्ति छन् तर काम नपाएर मान्छेजस्तो बॉंच्न नपाएकाहरू। पदमबहादुरले जमाना सम्झ्यो। राजनीतिक दाउपेच सम्झ्यो। अशिक्षित सोझाहरूको दुर्गति सम्झ्यो अनि सम्झेर आफ्नै छोराको सम्भावित अँध्यारो भविष्य आर्द्रता फैलियो शरीरभरि उसको।
भाषण हुँदैथ्यो। सबैले ढॉंटेको बुझिहाल्ने ढॉंट्छन् यिनीहरू— पदमबहादुरलाई अरूहरूलाई जस्तै थाहा थियो। तर सधैँजस्तो घर पुगिहाल्ने हतारको मन नभएको ऊ उभ्नेहरूको माझ उभियो।
घर आइपुगेको रहेछ आदित्य। आमाचाहिँलाई भन्दैथ्यो त्यसले, ‘‘अँ, मार्दैन मलाई लगेन भने?’’
पदमबहादुर घर आइपुगेको दुवैले थाहा पाइसकेका थिए। भनिन् छोरालाई ‘‘बाबालाई भन्। छैन मेरोमा।’’ आमाचाहिँले।
‘‘के चाहियो?’’ आएर आफूअघि उभिएको छोरालाई बाबुले सोध्यो।
‘‘पैसा,’’ उत्तरको शैली सुनेर ऊ विचलित बन्यो।
‘‘किन?’’ खस्रै सोध्यो पदमबहादुरले।
‘‘प्य्राक्टिकल खाता ल्याउनु भनेको अस्ति नै दुइटा। आजु पनि गाली गर्यो सरले। पचास रुपे लाग्छ।’’ सुनेर भॉंचिएको मन फेरि भॉंचियो बाबुको।

पछिबाट फेरि फेल भएकै रिजल्टसित अर्को स्कुल खोज्नु भन्ने सूचना पनि भएको कागज आयो। बॉंच्दैन, मर्छ। भोलि मर्छ।—भन्ने विश्वासको मान्छे मर्दाकै जस्तो आमा-बाबु दुवैलाई उस्तो दुखित बनाएन त्यसले।
पदमबहादुरले छोरालाई केही पनि भनेन।
बरू ‘‘मर्निङ स्कुल पढ़्छु,’’ आदित्यले भन्यो।
पढ़्दैन यसले—पदमबहादुरलाई थाहा थियो। पढ़ेन पनि आदित्यले।
त्यसपछि भने परिवारका सदस्यहरूदेखि क्रमश: प्रत्येक दिन आदित्य टाड़िँदै गयो। सम्झाएकोहरू नलाग्ने भइसकेको थियो त्यो तर लोकव्यवहार र समयले त्यसलाई पढ़ाउला—बाबु-आमा दुवैले आशा गरेका थिए।
तर यो तीन वर्षले आदित्यप्रकाशलाई खरानी बनाइसकेको थियो; आगो उमेरमा बल्नै नदिई। ज्वाला दन्कनै नपाई, रापिलो भुङ्रो हुनै नपाई तर अन्तिम अवस्था त्यसैको, खरानी भइसकेको थियो त्यो। चिसो खरानी। हिँड़्ने होइन बाजको वेग लिएर आकाशमा उड़्ने उमेरमा धस्रने भइसकेको थियो त्यो जमिनमा। महान् अपराधको जस्तो दण्ड भोग्दैथ्यो त्यो बॉंड़ेर पनि अझ धेर परिवारका प्रत्येक सदस्यलाई । जीवनको युवास्था भार भएको थियो त्यसलाई।
छोराको यस्तो अवस्थाले बाबु-आमा दुवैको ओठको मुस्कान खोसिसकेको थियो। यद्यपि तिनीहरू छोरालाई माया नगर्न त के नगरेको अभिनय गर्न पनि सक्तैनथे। सपनालाई आशाको त्यान्द्रो कतै थियो। पक्कै थियो।
सत्रको जन्मदिनमा छोराको रहर किनी दिएकी थिइन् आमाले।
महिना दिनपछि सोध्दा ‘‘साथीकोमा छ,’’ भन्थ्यो।
त्यही विषयमा दुई-तीनचोटि आदित्यले आमाबाट गाली खानु पर्यो।
तर साथीकोबाट त्यो फर्केन।
तरै पनि हप्ता दिनपछि अठार पुग्ने छोरालाई आमाले सोधिन्, ‘‘योपालि के किनिदिनु?’’
‘‘गिटार।’’
‘‘पर्दैन गिटार-सिटार । निकाल्न पोहोरको।’’ छोराको इच्छा सुनेर आमा कराइन्।
तर ‘‘फेरि कहॉं हिँड़्नु आँटिस्?’’ त्यसको जन्मदिनको अघिल्लो दिन त्यसलाई आमाले सोधिन्।
‘‘साथीकोमा,’’ जवाब सधैँलाई यही हुन्थ्यो।
‘‘पर्दैन। हिँड़् मसित बजार।’’ भनिन् आमाले।
त्यसैले रोजेको किनी दिइन् आमाले गिटार त्यसलाई। नयॉं खोलभित्र नयॉं गिटार बोकेर आदित्य बजारबाटै आमासित छुट्टियो।
बजाउँथ्यो तर कस्तो?—आमा-बाबु दुवैलाई थाहा थिएन। सॉंझमा दुई-तीन साथीहरू जम्मा भइहालेका थिए। गाइरहेका थिए तिनीहरू, गीत होइनजस्तो अङ्ग्रेजी गीत।

लोग्ने-स्वास्नी दुवैले छोरामा धेरै दिनअघिदेखि एउटा कुरो थाहा गरेका थिए—केही दिन सामान्य रहेपछि अचानक छोराको बोलीचाली र व्यवहारमा ठुलै परिवर्तन आइहाल्थ्यो। थोर बोल्थ्यो, बोल्थ्यो के झर्कन्थ्यो खालि। रुखो व्यवहारसँगसँगै विचलित देखिन्थ्यो त्यसलाई मानसिक अनि शारीरिक रूपमा पनि। फेरि केही दिनपछि केही दिनलाई पुरानै सामान्यता फर्किआउँथ्यो आदित्यमा।
त्यस बेला आदित्यको अवस्था सामान्य थिएन। कुनै महान् मानसिक समस्याले जस्तो छटपटी त्यसमा लक्षित हुन्थ्यो। धेरै दिनसम्म नसुतेको जस्ता आँखा, अस्त-व्यस्त केश, पहेंलो अनुहारमा मसिना फोकाहरू, नाकबाट एकोहोरो पानी चुहुने प्रक्रिया।
पानीले भरिएका राता आँखा उठाएर, त्यसले बाबुलाई भन्यो, ‘‘जुत्ता किन्छु।’’
‘‘मसित हिँड़्,’’ भन्यो बाबुले।
आमा-बाबु एउटा बिहामा जान तयारी भइसकेका थिए।
‘‘आफै किन्छु,’’ त्यो रुखो बोल्यो।
‘‘छैन पैसा,’’ अनुहारको रङ्ग बाबुकै पनि बद्लिसकेको थियो।
‘‘ठिक छ, खालिखुट्टै हिँड़्छु म। कति सौको प्रेजेन्ट बोकेर जाऊ बिहामा,’’ करायो आदित्यप्रकाश।
धेरै भए खुशीका यस्ता समारोहहरूमा हुनुपर्ने खुशी भएर जान नपाएको पदमबहादुर र उसकी स्वास्नीले सँगै र अलग-अलग पनि। उनीहरूसम्म आइपुग्ने खुशीका लहरहरूलाई बिचमा बॉंध बनेर उभिएको छ आदित्य। खुशीका छालहरूले पहिलेजस्तो तिनीहरूले भिज्नै पाउँदैनन्।
घरको वातावरण अचानक अँध्यारो भइहालेको थियो।
नजॉंदा अप्ठ्यारो हुन्छ सोचेर; ढिलो गरी; मन नगरी-नगरी तिनीहरू बिहेमा गए।
महिना दिनअघि किनिदिएको महँगो जुत्ता त्योसित थिएन। चप्पलमै आदित्य घरबाट निस्किसकेको थियो।
ठुलो सॉंझमा त्यो सिग्रेटको गन्धसित घर पस्यो। पहिला- पहिलाजस्तो घर पसेपछि गोसलखान पसेर मुख धुने, कुल्ला गर्ने बानी त्यसले त्यागिसकेको थियो।
भोलिपल्ट बिहानै गिटारसित घरबाट निस्कन लागेको छोरालाई बाबुले टोक्यो,‘‘कहॉं जॉंदैछस्?’’
‘‘प्य्राक्टिस गर्नु। साथीकोमा।’’ भन्यो त्यसले।
‘‘तेरो साथीहरू यहॉं आउनु सक्तैन?’’
‘‘किन? म जानु हुँदैन?’’ व्यवहार त्यसको छोराको बाबुसितको थिएन।
बाबुले केही भन्नै सकेन। त्यो गयो गिटारसँग।
=यही छोरा। हो, यही छोरा।
बल्ल अनेक शङ्का-उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो। सुतेको थियो एउटा शिशु ईश्वरजस्तै। ईश्वर नै।ळ
तर सधैँभन्दा छिटो, सॉंझ नपरी आदित्य घर पस्यो।
आमालाई हेरेर मुसुक्क हॉंस्यो त्यो।
बिहानको मानसिक छटपटी त्योसित थिएन। शारीरिक आलस्य पनि थिएन त्योसित। भिजेका आँखा, झर्को , उग्रता केही थिएन तर बिहान हातमा झुन्डिएको गिटार पनि थिएन त्योसित।
‘‘बाबा खै?’’ आमाचाहिँको छेउमा बसेर त्यसले सोध्यो। चेपेको छुर्पीले त्यसको दाहिने गाला बाहिर निस्किएको थियो।
‘‘किन?’’ सोधिन् आमाले।
‘‘त्यसै,’’ भन्यो त्यसले।
दुईवटा छुर्पी गोजीबाट निकालेर त्यसले आमालाई दियो।
फेरि दुईवटा निकालेर ‘‘बैनी खै?’’ सोध्यो।
‘‘साथीकोमा जान्छु भन्थ्यो,’’ भनिन् आमाले।
‘‘दिउँसो जानु पर्दैन? यति बेला हो जाने?’’ दाजु भयो त्यो।
आमा त्यतिमै खुशी भइन्।
‘‘बैनी कति वर्ष पुग्यो?’’ छोराको प्रश्न सुनेर आमा छक्क परिन्।
‘‘तँभन्दा डेढ़ वर्ष सानु।’’ बताइन् उसले छोरालाई।
सामान्य घटना थिएन घरमा त्यो। त्यसैले सधैँजस्तो तर अर्कै कारणले आमा राति छिटो निदाउन सकेकी थिइन। उसले सॉंझको घटना लोग्नेलाई सुनाई।
‘‘कहॉंबाट पाएछ पैसा त्यसले?’’ पदमबहादुर अझ चिन्तित बन्यो।

त्यसपछिका दुई-तीन दिन आदित्य आफ्नै समयमा घर पस्यो। चौथो दिन हुनुपर्छ त्यस घटनापछिको —त्यो रात परुन्जेल पनि घर पसेको थिएन। आमा-बाबु दुवै र बहिनी पनि मौन त्यसलाई पर्खिरहेका थिए।
पदमबहादुरले आठ बजेतिर ओछ्यानबाटै ढ्याप…ढ्याप… ढ्याप… जुत्ताको आवाज सुन्यो। आवाजले ओछ्यानमा पल्टिएर समाचार-पत्र पढ़्नै नसकिरहेको बाबुको क्रोधले अचानक चरमता प्राप्त गर्यो। धेरै वर्षपछि छोराप्रतिको तीन-चार झापटले मात्रै अब त्यो चरमताले सामान्य स्थिति प्राप्त गर्न सक्ने थियो।
बन्द दैलो ढक्ढकियो बाहिरबाट।
ढक्ढकियो।
फेरि ढक्ढकियो।
अनुहार र आँखामा उत्ताप बढ़ेको पदमबहादुर करायो, ‘‘खोल्दे।’’
आमा-छोरी चुह्लामा खाना पकाउँदै थिए। प्लेयरबाट आएको आवाजलाई जितेर आएको बाबुको खस्रो आवाज सुनेपछि छोरी उठी। प्लेयर बन्द गरिहाली र दैलौतिर गई।
‘‘ए! आउनुहोस् न काका।’’ सुनेपछि पदमबहादुर ओछ्यानबाट उठ्यो।
जान ऊ मानेन। मान्दै मानेन।
स्वास्नीको आग्रहमा ‘‘मारोस् बरू कुटेरै। मरोस्। त्यो मर्यो भने हामी बॉंचेहरू बॉंचुन्जेल सन्चोले बॉंच पाउँछौँ।’’ पदमबहादुर करायो।
‘‘नकराउ, होस् नकराउ, मान्छे हॉंस्छ।’’ स्वास्नीले व्यथित स्वरमा भनी।
‘‘हॉंसोस्, हॉंसोस्। छोरा भनाउँदोले यसरी…।’’
तर उसको स्वर यसपल्ट स्वास्नीसम्म मात्र पुगोस्; बाहिर नजाओस् घरभित्रदेखि जस्तो अभिप्रायको भइहालेको थियो।
आउने छिमेकी भाइले निक्कै बेर सम्झाएपछि छोराको बाबुले टॉंड़मुनिबाट जुत्ता तान्यो।
‘‘टर्च बोकूँ?’’ सोध्यो पदमबहादुरले।
‘‘बोक्नोस् न।’’ भन्यो छिमेकी भाइले।
‘‘नसुर्ताउनू भाउजू।’’ उसैले भन्यो।
दुवैजना आदित्यलाई छुटाएर ल्याउन थानातिर लागे। लाग्दा दुवैले चिनेका पुलिसहरू सम्झे।
आदित्य छुटेपछि तीनैजना सँगै घर आएनन्। बाबु घर आइपुग्दा छोराको अघिल्तिर बसेकी आमा छोरालाई गाली नगरेर रोइरहेकी थिइन्।
‘‘किन स्वाङ पार्छौ? पर्दैन रुनु, मचाहिँ यो मर्दा पनि रुदिनँ।’’ कराएर पदमबहादुर आफ्नो कोठामा पस्यो।
सम्भवत: पदमबहादुर आफूभन्दा छोरा नै पहिला मर्छ भन्ने कुरो सोच बाध्य भइसकेको थियो।
‘‘अब घरबाट निस्किस् भने फर्केर नआइज।’’बाबुले घोषणा गरेको थियो र यही नै आदित्यको निम्ति सजायहरूमध्ये सबैभन्दा ठुलो थियो।
आगोले पोलेको छटपटीमा त्यो दुई दिन घर बस्यो। असाधारण व्यवहार गर्थ्यो त्यो। एक क्षण झोक्रिएर बस्थ्यो। उठ्थ्यो। छटपटिन्थ्यो। कराउँथ्यो र सुँकसुँकाउँथ्यो पनि। मानसिक रूपमा असन्तुलित र शारीरिक रूपमा रोगग्रस्त थियो त्यो।
गएको आइतबार बिहानै हातमा एउटा पानी कागजको झोला झुन्ड्याएर कतै हिँड़्न लागेको छोरालाई बाबुले सोध्यो, ‘‘कहॉं जॉंदैछस्?’’
‘‘एक छिन।’’ जवान यस्तो थियो। यस्तै हुन्थ्यो त्यस्ता बेलाहरूमा प्रायै।
‘‘के हो त्यो?’’ बाबुको दाहिने हातको चोर औँला पानीकागजको झोलातिर तेर्सिएको थियो।
‘‘क्यासेट। सुन्छ अरे साथीले।’’ त्यो झर्कियो।
‘‘पर्दैन। पर्दैन लानु।’’ खोस्यो झोला पदमबहादुरले।
दसवटा क्यासेट रहेछ त्यहॉं, जम्मै बहिनीचाहिँले थुपारेकी।
अब त्यो कतै गइहालेन। झोक्राएर बस्यो। दुई-तीनचोटि बाहिर-भित्र पनि गर्यो। छोराको अवस्था हेर्नुनसक्ने बाबुलाई छोरा सुटुक्कै कतै गइहालोस् , गइरहेको देख्न नपरेर रोक्न नपरोस्।— पनि लागेको थियो। एक घण्टापछि याद गर्दा त्यो भित्र-बाहिर कतै थिएन। पदमबहादुर आमा-छोरीअघि हृदयबाटै चाहिँ रिसाएन।
दिउँसो तयारी भएर बजार जान लागेकी छोरीले ‘‘आमा, मेरो घड़ी देख्नु भो?’’ सोधी ।
सुन्नसाथ मनमा एउटा शङ्का जन्मेर , हुर्केर बलियै भइहालेको भए पनि ‘‘हेर् न राम्रो। टेबलतिर…।’’ उसले भनी।
पाइन घड़ी छोरीले।
अँह, पाइन।
राखेको ठाउँ भुलेको होस्, भुलेकै होस्—मनमा बोकेर छोरीसँग आमाले सिह्रानीमुनि, टेबलमाथि, ओछ्यानतिर हेरिन्। पाइँदैन भन्ने दुवैलाई थाहा थियो।
छोरीको घड़ी नपाएको थाहा पाएपछि पदमबहादुर अझ दु:खी बन्यो। यो दु:ख घड़ी हराएकैमा चाहिँ थिएन।।
‘‘नभन्नू कसैलाई।’’ स्वास्नी, छोरी दुवैलाई उसले भन्यो।
सॉंझ परेपछि उज्यालो अनुहारको आदित्य घर पस्यो। विषाक्त थियो घरको वातावरण।
‘‘ना,’’ भन्यो त्यसले बहिनीलाई । हातमा दुईवटा छुर्पी थियो त्यसको। नथापेर बहिनीले आँसु झार्न थाली। आमापट्टि फर्क्यो त्यो।
‘‘खॉं तँ आफै।’’ कर्कश स्वरमा आमाले भनिन्।
‘‘कतिमा, कसलाई बेचिस् घड़ी?’’ रिसाएको बाबुले तर आवाज बाहिरसम्म नपुगोस् सोचेर बिस्तारै सोध्यो।
सुनेर छक्कै परेको जस्तो भयो आदित्य।
तर त्यही अभिनय गरिरहन सकेन त्यसले त्यहॉं। त्यसको अल्पकालीन मानसिक अनि शारीरिक सामान्यताले त्यसलाई दोषी सिद्ध गराइसकेको थियो।
‘‘सोध यसलाई। कतिमा कहॉं बेच्यो घड़ी यसले। म तिरेर ल्याउँछु।’’ आफ्नो कोठाभित्र पस्दै भन्यो पदमबहादुरले।

अस्तिसम्म सॉंझ परेपछि तर सामान्य रूपमै घर पस्ने आदित्यमा हिजोदेखि फेरि छटपटी बड़्दै गएको पदमबहादुरले याद गर्यो।
आज बिहान पदमबहादुर अफिस जान लाग्दा आदित्य बिहानको मधुरो घाममा झोक्राएर आँगनको डिलमा टुक्रुक्क बसेको रहेछ, शिर पनि निहुराएर।
उभिएर उसले छोरालाई केही क्षण हेरिरह्यो। छोराछेउ गयो ऊ।
‘‘भित्र हिँड़्।’’ उसले छोराको हात समायो।
निहुरिएको शीर उठेर; पहेंलो अनुहारको; भित्र भासिएका आँसुले भरिएका दुई राता आँखाले उसलाई हेर्यो र बिस्तारै उसको हातको सहारा लिएर एउटा मानव आकृति उभियो।
बाबुले समाएको छोराको सानो शक्तिहीन पहेंलो नाड़ी र रक्तहीन हातका रक्तहीन औँलाहरू हेर्यो।
शरीरभरि फैलिएको आर्द्रता र छोरा लिएर ऊ घरभित्र पस्यो।
‘‘बस्।’’ बस्न लगाएर छोरालाई पलङमा छोरासितै टॉंसिएर बस्यो ऊ पलङमै । हात समातिरहेकै थियो छोराको। समाएर बसिरहूँ यसलाई यत्तिकै —उसलाई लागिरह्यो।
‘‘के गर्छस् अब?’’ ठिठलाग्दो स्वर बज्यो बाबुको।
जवाब थिएन त्यसको। आएन पनि।
‘‘मरेको जस्तो कति दिन बॉंच्छस्?’’ बाबुको स्वर कॉंपेको थियो।
अँह, जवाब त्यसको पनि थिएन। हराएको युवा-अवस्था खोजेजस्तो आफ्नै पहेंला खुट्टाको वरिपरि नामको विपरीत आदित्यप्रकाश शिर झुकाएर केही खोजिरहेजस्तो थियो।
‘‘नखाई सक्तैनस्?’’ सोध्न विवश थियो बाबु।
छोरा मौन रह्यो।
‘‘घरमै अलि-अलि बरू रम खा, बेलुका-बेलुका। म ल्याइदिन्छु तर…’’ भनेर एउटा लाचार बाबुको अवस्थामा पदमबहादुर आफै छक्क पर्यो।
दुईवटा पहेंला हातहरू उठेर आँखासम्म पुगे। अनिच्छापूर्वक उठ्यो पदमबहादुर हात छाड़ेर छोराको र अफिस जानलाई घरबाट निस्क्यो।

धेरैअघि एकपल्ट पशुपति पुगेर जानेको पदमबहादुरले आज पनि मरेर पनि बॉंचेका घर फर्कन नपाएकाहरूलाई सम्झ्यो। सम्झ्यो—सुनेका मुर्दाहरू श्मसानबाट बौरेर फर्केकाहरू।
कसैले नदेखोस् भन्ने उद्देश्यले अनावश्यक उसले ठुलो ज्याकेट लगाएको छ। ज्याकेटको देब्रेपट्टि ठुलो भित्री गोजीभित्र भर्खर किनेको एक क्वाटर रमको शिशी हालेको छ पदमबहादुरले। समाएको पनि छ उसले छात्तीमा टॉंसिएको त्यसलाई बाहिरबाट दाहिने हातले। एउटा पराजित बाबु तर अझ विजयको आशा र अस्वस्थ छोराको निम्ति औषधि बोकेर यो सॉंझमा अफिसबाट घर फर्किरहेछ।