Madhab Sayapatri – Thaal [Nepali Baal Katha]

माधव सयपत्री – वाल कथा : थाल

मधु त्यो घरमा काम गर्न बसेको तीन वर्ष भएको थियो । उनले त्यो घरमा धेरै काम गर्नुपथ्र्यो । करलागी परेर मालिकले मधुलाई छैटौं कक्षामा भर्ना गरिदिए । कामको बोझ भए पनि मधु राम्ररी पढ्न थाले । उनी विद्यालयको अतिरिक्त क्रियाकलापमा भाग लिन थाले । मधुले पुरस्कारसमेत जिते । तर, मधु पुरस्कार लिएर घर आउ“दा मालिकमालिक्नी फिस्स पनि मान्दैनथे । एक पटक मधु कविता प्रतियोगितामा प्रथम भए ।

त्यो घरकी छोरी सात वर्षकी थिइन् । उनको नाम कृति थियो । कृतिले मधुलाई भनिन्, ‘मधु, मलाई पनि कविता लेख्न सिकाइदेऊ न है † म पनि पुरस्कार जित्छु नि †’ मधुले भने, ‘मैया, तपाईंले दुःख गर्नुभा’को छैन । दुःखमा नपरी कविता लेख्न आउ“दैन । मेरो घरमा दुःख थियो । यहा“ पनि दुःख छ । तपाईं दुःख गर्न सक्नुहुन्छ ?’ कृतिले भनिन्, ‘म तिमीलाई काममा सघाउ“छु । अनि मलाई दुःख भइहाल्छ नि †’ मधुले भने, ‘तपाईंले काम गरेको देखेपछि ड्याडीमम्मीले गाली गरिहाल्नुहुन्छ नि †’मधुको कुराले कृतिले अँध्यारो मुख लगाइन् । उनले भनिन्, ‘त्यसोभए मैले कहिल्यै कविता लेख्न जान्दिनँ त ?’ मधुले सम्झाए, ‘मैले ख्यालख्याल पो भनेको त † तपाईंले पनि कविता लेख्न जान्नुहुन्छ । म सिकाइदिऊँला मैया †’ मधुको कुराले कृति खुसी भइन् ।

सुरुमा मधुलाई त्यो परिवारमा भिज्न निकै गाह्रो भएको थियो । ‘आइस्योस्, गइस्योस्’ भन्नुपर्ने । बोल्न पनि जानेनन् । अगाडि उभिनु नहुने । सोफामा बस्न नहुने । थोत्रो थालमा भात खानुपर्ने । त्यो घरका ज्याकी र पिङ्की कुकुरको जति पनि उनको भाउ थिएन । मधुलाई अर्कै संसारमा आएछुजस्तो लागेको थियो ।
कृतिले एक पटक मम्मीलाई सोधेकी थिइन्, ‘मम्मी, मधु किन सोफामा बस्दैन ? ज्याकी र पिङ्की बस्छन् त † उसले सोफामा बस्नुहुँदैन हो ममी ? उसले भात खाने थाल पनि कुच्चिएको छ । ज्याकी र पिङ्कीको राम्रो छ । हामो मधु कुकुरजतिको पनि छैन हो ? ऊ मान्छे होइन र ममी ?’ मधुकर सुनिरहेका थिए ।

कृतिका कुराले मम्मीलाई रिस उठ्यो । चुर्मुरिँदै एक थप्पड गालामा चड्काइदिइन् । कड्केर भनिन्, ‘सानुमान्छेले सबै कुरा जान्न खोजेर हुन्छ ? तँलाई के चासो ? ड्याडीलाई कुरा लगाइदिऊँ ?’ कृति चुप लागिन् । मम्मी लुगा फेरेर निस्किन् । कृति डाइनिङ टेबुलमा मुन्टो अडाएर सुँक्सुँकाइरहेकी थिइन् । उनलाई मधुले माया गरेर भने, ‘मैयालाई ममीले कुटिस्यो हगि † ममीको अगाडि किन त्यसो भनेको सानुमान्छेले †’ कृति सुँकसुँकाउन छाडिन् । मधुले भने, ‘मैया, तपाईंहरू धनी मान्छे, म गरिब मान्छे । गरिबले राम्रो चिज खोजेर हुन्छ त †’ कृति फेरि बोलिन्, ‘तिम्रा कुरा म पत्याउदिनँ । मधु, ड्याडीमम्मी बाहिर जानुभएको छ । आज तिमी ड्याडीको थालमा भात खाऊ ल † थाल के हुँदोरै’छ †’ मधुले भने, हुँदैन, मलाई मार्नुहुन्छ ।’ कृतिले भनिन्, ‘थाहा पाए पो मार्नु † म ढोकामा बस्छु । खाऊ न खाऊ । यही थालमा खाऊ ।’ कृतिले थाल झिकेर ल्याइदिइन् । मधुलेले कृतिको ढिपीलाई टार्न सकेनन् । कृति ढोकामा उभिइन् । मधु डराई–डराई भात खान थाले ।

कृति ढोकाबाट चियाउ“दै थिइन् । मालिक फुत्त भित्र पसे । आप्mनो थालमा मधुले भात खाइरहेको देखेर रिस थाम्न सकेनन् । मधुको ढाडमा एकलात्ती हाने । मधु ढुन्मिनिएर लडे । कृति भागेर तलामाथि गइन् । मालिकले मधुलाई घिसार्दै भने, ‘साले भातमारा † निस्की मेरो घरबाट । मेरो थालमा तँ भात खाने ? तँ नोकर कि मालिक ? तेरो पढाइको के मतलब †’ मालिकसाबले मधुलाई घिच्याउँदै मूलगेट कटाइदिए । कृति तलामाथिबाट चिच्याइन्, ‘ड्याडी † थाल केही भा’को छैन । मधुलाई ननिकाल्नुस् । थाल माझेपछि जुठो गइहाल्छ नि †’ तर, उनी कतै नहेरी गए ।

मधु घरबाट हिँडेपछि कृतिले भात खाइनन् । स्कुल पनि गइनन् । ड्याडीमम्मीले फकाए । उनले टेर्दैटेरिनन् । मम्मीलाई भनिन्, ‘तपाईंहरूले मधुलाई नल्याएसम्म म केही पनि गर्दिनँ ।’
मधु निस्केको तेस्रो दिन मम्मीले एउटा केटालाई घरमा लिएर आइन् । उनी मधु नै थिए । मधुलाई देखेपछि कृति धेरै खुसी भइन् । त्यो दिनदेखि मधुले भात खाने थाल पनि नयाँ आयो । ओछ्यान् पनि सफा । बोलाउँदा पनि ‘मधु, यता आऊ ।’ भन्न थाले । एक दिन कृतिले सोधिन्, ‘हाम्रो घरबाट निस्केपछि तिमी कता गयौ मधु ?’ मधुले भने, ‘होटेलमा भाँडा माभ्न बसेको थिएँ । तिम्रो मम्मी त्यहीं पुग्नुभएछ । तपाईंको मायाले गर्दा म आएँ कृतिमैया †’कृतिले तरक्क आँसु खसालिन् । उनले भनिन्, ‘मधु, ड्याडीमम्मीले तिमीसँग कविता लेख्न सिक भन्नुभा’को छ । अब मलाई कविता लेख्न सिकाइदेऊ है † तिमीजत्रो भएपछि तिम्राजस्तै कविता लेख्नसक्छु नि, म पनि † पहिलो भएर प्राइज ल्याउँछु ।’ मधुले कृतिलाई पनि कविता लेख्न सिकाइदिए । आपूmसँग भएका बालकविताका राम्रा–राम्रा पुस्तक पनि पढ्न दिए । कृतिको आप्mनो कविता ड्याडीमम्मीलाई देखाउन कोठामा गइन् । मधुकर मुसुमुसु हाँसिरहे ।

(स्रोत : Rajdhani.com.np)

Madhab Sayapatri – Digbhram

माधव सयपत्री – दिग्भ्रम

नीरकलाले औँला भाँचेर लोग्ने भेट्ने दिन गनी। आफ्नै मनलाई भनी, “आज शनिबार। आइतबार एक, सोमबार दुई, मंगलबार तीन, बुधबार चार। आजसमेत चार रात। जाबो चार रात ! चा-चार वर्ष त बिताएँ। अब चारचोटिमा घाम उदाएर अस्ताए भने म उहाँकै खोकिलामा लुक्न पुगिहाल्छु नि !”

नीरकलालाई चार वर्षभन्दा ती चार रात र चार दिन लमतन्न लागिरहेका थिए। चार वर्षअगाडिको उसको बिहे लुकीलुकी, डराईडराई गरिएको थियो। रातको १२ बजे आयो नीरकलाको बेहुलो उसको काका लिएर। हतारहतार एक घन्टामा बिहे सकी २ बजेतिर नीरकलालाई घर पुर्‍याएर राती नै चम्पट कसेको थियो। साँच्चै भन्ने हो भने नीरकलालाई उसको लोग्नेको अनुहारको पनि राम्रो याद थिएन।

उनीहरू जम्माजम्मी चार घन्टाजति मात्र सँगै बसेका थिए। आनीबानी, व्यवहार दुवैको कस्तो थियो थाहा भएन। अति छोटो समयको सुहागरात त्यसै त्यसै खल्लोखल्लो गरी बितेको थियो। हिँड्ने बेलामा उसको लोग्नेले बाआमासित बिदाबारी भइसकेर पनि भनेथ्यो, “नीरकला ! देशमा छिट्टै केही परविर्तन भएछ भने हाम्रो भेट होला। छिट्टै पनि हुन सक्छ। कहिल्यै नहुन पनि सक्छ। बाआमालाई राम्रो हेरविचार गर ! भाइबैनीलाई पढ्ने वातावरण बनाइदेऊ। तिमी आफू पनि पढाइलाई नरोक। मबाट खर्चले रोकिने छैन। पीर, चिन्ता नलिनू। सेनाको जागिर। देशै युद्धमा होमिएका बेला, म एउटाको के महत्त्व हुन्छ? बाँचिएछ भने भेट होला। म हिँडेँ।”

मर्मभेदी कुरा गरेर ऊ ढोकाबाट बाहिरियो। नीरकलालाई भनभनी रँिगटा लागेर आएथ्यो। तैपनि, सम्हालिएर ऊ लोग्नेसँगै बाहिर निस्की। पँधेरासम्म पुर्‍याइदिई। युद्धकालभरि नीरकला डराईडराई सेनाको सुरक्षा कवचभित्रबाट लोग्नेसँग एकाध महिनाको फरकमा फोन सम्पर्क गर्थी। लोग्नेको स्वर उसले फोनमा मात्र याद गरेकी थिई। लोग्नेले गोप्य माध्यमबाट आफ्नो फोटो पठायो। आवाज र फोटोको आधारमा मात्र नीरकलालाई लोग्ने पहिचान गर्नु थियो। नीरकलाले फेरि सोची, “उस्तैउस्तै अनुहार भएका मानिस धेरै हुन्छन्। कतै आफू पनि झुक्किएर आफ्नै श्रीमान् नचिन्ने त हैन !”

फोटो त नीरकलाले पनि पठाएकी हो। पक्कै उसको लोग्नेलाई पनि आफ्नी स्वास्नीको अनुहार राम्ररी याद हुनुपर्छ। निसाना गलत ठाउँमा पर्‍यो भने त बर्बादै भइहाल्यो नि ! द्वन्द्वको त्यो त्रासदीपूर्ण समयमा नीरकला मानसिक, शारीरकि रूपले धेरै पीडित भई। विद्रोहीहरूले नीरकलालाई आफ्नो घोषणासभामा तीन दिनको बाटो शैलुङको घनघोर जंगलमा पुर्‍याए। तर, ऊ सकुशल घर फर्की।

पछि नीरकलालाई यस्तो कडा दबाब आयो, सातादिनभित्र उसले लोग्ने झिकाउनुपर्ने। नझिकाए नीरकलाको घरबाट एक जना जनसेनामा लाग्नुपर्ने। विद्रोहीहरूले नीरकलालाई नै लाने जोड गरे। यदि नगए घरमा बम पड्काइदिने र अन्तिम कारबाही भौतिक सफाया गर्ने। बिहेको एक वर्षसम्म नीरकला ज्यादै तनावमा रही। तर, उसले हार खाइन। विद्रोहीसित दरो तर्कले प्रतिवाद गरी। नीरकलाजस्ता तार्किक, सभ्य मानिसको अझ महिला छापामारको खाँचो युद्धमा बढी भएको कुरा आयो।

एकदिन एक डफ्फा छापामार उसको आँगनमा छिरे। आएकामध्ये बढी अधिकारसम्पन्न छापामारले भन्यो, “तपाईंको श्रीमान् घर फिर्ता गर्नुहुन्छ कि आफैँ पार्टीमा लाग्नुहुन्छ? तपाईंले तुरुन्त निर्णय दिनुपर्छ। हैन भने हामी यसको सूचना हाइकमान्डमा पठाउँछौँ। त्यहाँबाट आएको निर्देशन अनुसार गर्छौं। यसलाई ख्यालख्याल नसोच्नुहोला। जनता आपmनो मुक्तिका लागि टाउकामा कात्रो बाँधी मुट्ठी कसेर मर्नमार्न तयार भइरहेका बेला तपाईंको श्रीमान् शाही सरकारको भाट टट्टु बनेर जागिर खाइरहेका छन्। अझ सुनिन्छ, हाम्रो सूचना शाही सेनाको उच्चालयमा पुर्‍याइरहेका छन् रे ! तपाईंहरूलाई बाँच्न मन छ कि छैन? के यो जनयुद्धलाई तपाईंहरूले ठट्टा सोच्नुभएको?”

नीरकला हत्तपत्त गल्ने खालकी थिइन। उसले छापामारहरूलाई नै तिलमिल पार्ने तर्क पेस गरी, “कमरेड महोदय ! मेरो परिवार सम्पन्न भइदिएको भए मेरा श्रीमान्ले तुच्छ वचन सहीसही सिपाहीमा जागिर खानु पर्दैनथ्यो। उहाँको रोजगारको ग्यारेन्टी गर्नूस्। म तुरुन्त मेरो श्रीमान् झिकाउँछु। हैन भने एउटा परिवार चलाउन कोही जागिर खान जान्छ भने तपाईंहरूलाई किन आपत्ति ! फरक विचार राखेकै भरमा तपाईंहरू सामान्य मानिसलाई विस्थापन गराउनुहुन्छ। विस्थापित भएर गएपछि राज्यकै ढिकुटीबाट भत्ता खाइरहेको हुन्छ। तपाईंहरूकै कारणले राज्य झनै कंगाल भइरहेको कुराप्रति अलि गहिरिएर सोच्नूस्। यो कुरा तपाईंका माथिल्लो तहका नेतालाई सुनाइदिनूस्।”

त्यस छापामारले अनौठो मानेर हेर्‍यो। थप तर्क गर्न नसकेर होला। एकछिनको मौनतापछि ऊ बोल्यो, “तपाईंले हाम्रो युद्धको आवश्यकता, गति, प्रगतिलाई नजरअन्दाज गर्दै हुनुहुन्छ। तपाईं र तपाईंको परिवारले सामन्तवादी, प्रतिक्रियावादीको पक्षपोषण गररिहेछ र हाम्रो पार्टीलाई जुनसुकै समयमा पनि खतरा छ। त्यसैले छिट्टै गाउँ छाड्नुहोला।” नीरकलाको निडरता, तर्कशक्ति देखेर देवर, नन्द र सासू-ससुरासमेत छक्क परेका थिए।

नीरकलाको परिवारले गाउँ छाड्नुपर्ने चिट्ठी हात पर्‍यो। त्यसको जानकारी उसले श्रीमान्लाई गराई। उसले ‘मर्नुभन्दा दुःखै गर्नु राम्रो हुन्छ, यतै आउनू’ भनेर खबर पठायो। सारा जिन्सी सामान सस्तोमा बेचबिखन गरेर उनीहरू गाउँ छाड्ने तयारीमा थिए।

संयोगवश उनीहरूको परिवारले गाउँ छाड्नुपरेन। दिल्लीमा दल र माओवादीबीच १२ बुँदे समझदारी भयो। नीरकलाले ठूलो राहत मात्र होइन, नवजीवन पाएको अनुभव गरी। त्यसपछिका दिनमा नीरकलाले आफ्नो पढाइलाई निरन्तरता दिई। राम्रैसँग परिवार चलाई। देवर, नन्दको पढाइ अगाडि बढाउन राम्रोसँग भरथेग गरी। श्रीमान्ले बरोबर खर्च पठाइरहेको थियो। दुई वर्षको अवधिमा पनि नीरकलाले आफ्नो श्रीमान्सित भेट गर्न पाइन। उसको श्रीमान् संयुक्त राष्ट्रसंघीय मिसनमा सेयरालियोन गयो। नीरकला श्रीमान्समक्ष प्रस्तुत हुन सकिन।

अब पक्कापक्की भयो, नीरकला श्रीमान्सँग मन साट्न, यौवन साट्न, माया साट्न सहर जाने भई। त्यता जाने दिन आउन लाग्यो। आफू भेट्न आउन लागेको कुरा राम्ररी पुर्‍याउन सकिन फोनमा। मात्र उसले ‘राम्ररी आउनू, बसपार्कमा उत्रेपछि फोन गर्नू’ भन्यो।

भोलि गाउँ छाडेर उता जाने दिन नीरकलाको। घ्यू, कुराउनीदेखि लिएर गाउँमा पाइने मीठामीठा खानेकुराका कोसेली जम्मा गरी। लुगाफाटो मिलाउने तयारी गर्दागर्दै रातको १० बजिहाल्यो। ११ बजे ऊ ओछ्यानमा गई। उसलाई मनमा कस्तोकस्तो सुखद अनुभूति भइरहेको थियो। धेरै खुसी, रोमाञ्चका कारण ऊ निदाउन सकिन। राती १ बजे बल्ल निद्रा परेछ।

बिहानै घरबाट बिदा भई। देवर साथ लिई तल सडकसम्म झरी। अँध्यारैमा नीरकला बस चढी। उसको देवर घर फर्कियो।

३ बजेतिर नीरकला बसपार्क झरी। उसले श्रीमान्लाई फोन सम्पर्क गर्ने प्रयास गरी। फोन लाग्दै लागेन। धेरैबेरको फोनको व्यस्ततापछि फोन लाग्यो। नीरकलाले आफ्नो श्रीमान्को नाम दिई। रिसेप्सनिस्टले एकछिन कुर्न भन्यो। ऊ नीरकलाको लोग्ने बोलाउन गयो। नीरकला रिसिभर कानमा राखेर निकैबेर पर्खी बसी। फोनबाट आवाज आयो, “ए तिमी आयौ! ल ठीक छ, म १५ मिनेटमा त्यहाँ आइपुग्छु। फोन राखौँ ल !”

दुवैतिरका फोन राखिए। शरीर र मनमा रोमाञ्चक कौतूहलसाथ ऊ बसपार्कमा कुरी रही। भनेकै समयभित्र ऊ आइपुग्यो। उसले नजिकै गएर भन्यो, “शशीकला, बोर भयो होला। ल जाउँ !” उसले झोला बोक्यो। नीरकला ठूलो चक्रव्यूहीय शंकाको घेरामा परी। त्यो लोग्नेमान्छे आफ्नो लोग्ने हो कि होइन, ठ्याक्कै अन्दाज लगाउन सकिन। ऊ रोकिँदैरोकिँदै पछि लागी। त्यो मान्छेले फर्केर हेरेन। नीरकलालाई झनै औडाह भयो। लोकसेवाको वैकल्पिक उत्तरजस्तै लाग्यो त्यो लोग्नेमान्छे। नीरकलालाई आफू कसको पछि लागेर हिँडेकी छु सोच्न गाह्रो भयो। ऊ भ्रमित मात्र होइन, दिग्भ्रमित भई।

अचम्म ! नीरकलाको लोग्नेले सीधा उसको मुखमा हेर्दै हेरेन। स्पष्टसँग नीरकलाले अनुहार हेर्नै पाइन। केवल पछिपछि डोरिइरही। अर्कै लोग्नेमानिसले उसलाई डोर्‍याइरहेको त छैन? कसैद्वारा बलात्कृत हुने त होइन? आशंका नीरकलाका अगाडि ठूलो पहाड बनेर उभियो। पहाड चढ्ने वा झर्ने केही विचार गर्न सकिन। ऊ बाख्रो डोरिएझैँ डोरिइरही।

एकान्त ठाउँ आयो, लोग्नेमानिस बोल्यो, “शशीकला ! घरमा सबैलाई सञ्चै छ?” नीरकला झनै सशंकित भई। घरमा सबै कोको छन्, उसको श्रीमान्लाई थाहा छैन र? बुबाआमा, भाइबहिनीलाई सञ्चै छ भनेर किन भन्न सकेन उसले ! नीरकलालाई त्यो लोग्नेमानिस आफ्नो लोग्ने होइन कि भन्ने लाग्यो।

नीरकलाले तपाईं को हो, तपाईंको नाम के हो भन्न पनि सकिन। मेरो नाम शशीकला होइन, नीरकला हो भन्न पनि सकिन। लोग्नेमानिसले बोकेको उसको झोला तानेर आफैँ बोक्न पनि सकिन।

नीरकला नीरजस्तै नीली भई। लोग्नेमानिस थोरै पछाडि फर्कियो तर नीरकलालाई राम्ररी हेरेन। नीरकलाले हेरी। हो वा होइनको शंकामा परी। फोटोसँग दाँजी। अनुहार मिल्छ पनि मिल्दैन पनि। स्वर मिलेको जस्तो पनि लाग्छ, फेरि फरकजस्तो पनि लाग्छ।

लोग्नेमानिस एउटा घरमा छिर्‍यो। भुइँतलामै तेस्रो कोठाको ढोका खोल्यो र भित्र पस्यो। नीरकला बल्लबल्ल कोठाभित्र छिरी। उसका पाइला गह्रौँगह्रौँ भएका थिए ।

(श्रोत : नेपाल साप्ताहिक ५६५)

Shyam Bahadur Lama – Bhale Ko Tauko

श्यामबहादुर लामा – भालेको टाउको 

भालेको टाउकोमा सबैको आँखा जान्छ । पोथीको टाउकोमा कसैको दृष्टि पुग्दैन । पोथीको टाउको संवेदनशील मान्दा हुन्, भालेको टाउको रक्सीको. सितन ठान्दा हुन् । दिनहुँ अण्डा कोरल्नी पोथीको टाउको कसैले दागा धर्दैनन् । भालेकै टाउकोमा बढी आकर्षित हुन्छन् । भालेले पनि अण्डा कोरल्नी भए केको टाउको खान्थे होलान् । वास्तवमा टाउको संवेदनशील अङ्गका रूपमा हेरिन्छ । शारीरिक अवस्थाअनुसार जुनसुकै अङ्ग पनि संवेदनशील हुन सक्छ । कहिलेकही पिण्ड खाने बेला भएका वृद्ध पनि संवेदनशीलताको अतिक्रमण गरेको आरोपमा मुछिन पुग्छन् ।

नियतवश वा अञ्जानमा संवेदनशीलताको अतिक्रमण भएको सुनिन्छ । अञ्जानमा संवेदनशीलताको घानमा पर्दा मैले पनि कानमा समातेर क्षमायाचना गरेको छु । भीडभाडमा लुटेराहरूले फाइदा उठाउँछन् । संवेदनशीलताको मतलब राख्दैनन् । यसको अर्थ लुटेराहरू प्रहरीको फन्दामा पर्दैनपर्ने होइनन् । धरौटीमा रिहा भएर पुनः चोरी–डकैती धन्दामा संलग्न हुन्छन् । लुटपाट गर्दा कहाँ स्पर्श गर्नुहुन्छ, कहाँ हुँदैन तिनलाई मतलब छैन । घटना बारम्बार दोहोरिन्छन् । यौन दुव्र्यवहारको घानमा चाहिँ निर्दोष बूढा परेछन् कि भन्ने शङ्का लाग्छ ।

टाउको संंवेदनशील अङ्ग हो । छुनै नहुने अङ्गचाहिँ होइन । हेयर ड्रेसिङ पार्लरमा शृङ्गारपटार पार्नेक्रममा जति चुल्ठो समाए पनि उल्टो अबगाल लाग्दैन । चुल्ठो समाइसमाई कोरीबाटी गरेबापत उसैलाई दक्षिणा चढाएर कपाल तलासदै हिँड्नुको तात्पर्य टाउको संवेदनशील होइन भन्ने स्वतः प्रमाणित हुन्छ । महिलाहरूमात्र हैन, पुरुषहरू पनि बङ्गाली काटेर भालेकै सिउरको नक्कल गरिन्छ । भालेलाई यति महŒव दिएर भालेकै टाउको चपाउन छाडदैनन् ।

श्रीमती माइत गएकीले यस्ता नौरङ््गी कुराहरू खेल्छन्, मेरो मनमा । छोराछोरी भान्टाङभुन्टुङ तीनभुँडी देखाएर सुतिहाल्छन् । आन्द्रामा बिजुलीपानी भरिएपछि तन्द्रामा विभिन्न कुरा खेलाउने यही टाउको हो । सृष्टिकालदेखि नै भाले र पोथीको अस्तित्व नभएको भए यो संसार कसरी चल्थ्यो होला हगी ? अनुत्तरित प्रश्नले समाधानको प्रतीक्षा गर्दैन । टाउकोको प्रश्नमा टाउकोले जिम्मेवारी नलिँदा टाउको नै भारी भएको महसुस हुन्छ ।

ऋाफैँ साखुल्ले भइदिन्छु, हो त नि । नेगेटिभ र पोजिटिभविना विद्युतीय तरङ्ग त प्रवाह हँुदैन भने सिङ्गल फेजले डब्बल फेजको काम किन गथ्र्यो । शुद्धि हराएको बुद्धिले यति पनि हेक्का राख्न नसक्नु मेरै टाउकोको कमजोरी हो । कमजोरी सर्वव्यापी छ, मै हँु भन्ने नेताले घर फेरे, घडेरी फेरे । कसैकसैले त श्रीमती नै फेरे तर मुलुकको काँचुली भने फेर्न सकेनन् । ठूलाबडाको त यो हालत छ भने झन् मेरो के हविगत होला । भर्खर सत्तरी नाघेको अल्लारे छु । कुन्ताकी बुहारी भटमास टोकिछे, माइती बस्दाबस्दै भुँडी बोकिछे भन्ने उखानसित दाँजिन पुग्छु । पहिला बुझ्नुपर्ने कुरा पछि बुभेmँ । जुनसुुकै प्राणीको पनि भालेपोथी हुन्छन् । जलमा होस्, थलमा होस् । भालेपोथीको अस्तित्व अपरिहार्य छ । सरोवरमा बरोबर अन्तक्र्रिया चालु राखेकोमा हाँसलाई बदमास भन्न मिल्दैन ।

जीवमध्ये बढी चेतनशील मानवको त झन् कुरै अर्को छ । हैकम चल्नेको जे पनि चल्छ । समानुपातिकको नाममा भालेपोथी संसद् प्रवेश गर्छन् । हाम्रोलाई छाडेर राम्रो चयन गर्नेक्रममा उच्च नेताकी श्रीमती नै सबैभन्दा राम्री ठहरिन्छिन् । लाटी गल्ड्याङ्री भए पो । च्वाँकच्वाँक हुन्छन् । हाम्री र राम्रीबीचको म्याराथुन दौडमा राम्रीले बाजी मार्दा हाम्रो र राम्रो पाखा लाग्छन् । हाम्रीको ठाउँमा राम्री छानेर लिङ्गमा फरक पारिएको छैन ।

पाखुरामा बल हुने दलको नेताले श्रीमतीलाई सांसद बनाउनु ठूलो कुरा होइन । कोठाकी सङ्गिनीले कोटा नपाए कसले पाउँछ ? हुनेलाई जहीँ–तहीँ नहुनेलाई कहीँ न कहीँ । दिनमा होस् कि रातमा बेहुलाबेहुली साथमा । भाले बासेर सदन घन्काउँदा पोथीले ताली बजाउने संसदीय संस्कार नौलो होइन । भाले बास्दा पोथी कोरकोराउनु स्वाभाविकै हो । असन्तुुष्टहरू भन्छन्– तालीमात्र बजाउनु त घरमै बसेर बजाए पनि हुन्थ्यो । सहपाठीको मर्यादित आग्रह किन अवज्ञा हुन्थ्यो । घरमा पनि टायम मिलाएर प्रक्रिया कायम राख्छन् ।

जीवको अस्तित्व भाले र पोथीले धानेको छ । भालेले पोथीलाई तानेको देख्छन्, जीवको अस्तित्व धानेको देख्दैनन् । एकोहोरो रोटी पाक्दैन । फर्काएर सेकाउनु त परिहाल्यो नि । भाले र पोथीको मिलनबाटै ब्रह्मको अलौकिक सृष्टिले निरन्तरता पाएको छ भन्ने तथ्यलाई बिर्सन मिल्दैन । हाम्रा नेताहरूले यस्तै रहस्य बुझेर नै सदनभित्र अर्धाङ्गिनी भिœयाएका हुन सक्छन् ।

भालेपोथी एकार्काका परिपूरक हुन् । एक सिक्काको दुई पाटो चार खुट्टाको एउटा बाटो मान्छेकै भालेपोथीले तय गर्छन् । प्राणीमध्ये चेतनशील, संवेदनशील बुद्धिमानी भविष्यद्रष्टा, आधुनिकताको स्रष्टा मान्छे नै हो । मान्छेले आफ्नो धर्मपरम्परा छाड्दैन । तिउन चखुवाको मात्र भालेपोथी बीच विछोड हुन्छ । एउटासित छोडपत्र अर्कोतिर जोडपत्रको खेल खेल्ने खेलाडीको बाहेक भालेपोथी छुटिँदैनन् । घाँस खानी पशुदेखि घुस खानी नरपशुसम्म भालेपोथी मिलेर बस्छन् तर मिलनको प्रक्रया कसैको पनि समान छैन । कसैले मन मिलाउँछन्, कसैले तन मिलाउँछन्, कसैले पुच्छर मिलाउँछन् त कसैले थुतुनो मिलाउँछन् ।

शोषकको टाउको, नातागोता पोषकको टाउको, घिचुवाको टाउको, कानुन मिचुवाको टाउको, यी सबैका नियत सानो भए पनि टाउको ठूलै हुन्छ । यति ठूलो टाउकोधारी मान्छे टाउकाकै लागि लालायित हुन्छन् । आफ्नो ठूलो टाउकोमा कसले कतिखेर डण्डा बर्साउँला थाहा छैन । कुखुराकै भालेको सानो टाउकोमा ¥याल चुहाउँछन् मान्छेहरू । भालेको टाउको भनेपछि छोराको बाउको जिम्मेवारी सम्हालिसकेका पनि हुरुक्क भएर निद्रामा पनि जुरुक्क उठ्छन् । त्यही भालेको टाउकाको स्वाद बिर्सन नसकेर त होला नि । भालेको सानो टाउकोले ठूलो प्रभाव पारेको छ । यतिचाहिँ भन्नैपर्छ । ठूलाले ठूलै टाउको ताक्छन्, सानाले सानै । गैँडाको खागप्रति उस्तै अनुराग छ । बाघको अवयव र हात्तीको दाह्रा आँखाको तारा भइदिन्छ । आधुनिक हतियारले ड्यामड्याम ढाल्दा सरोकारवाला निकाय थाहा नपाएको अभिनय गर्छ । डेढ÷दुई किलोको नौसिङ्गे भाले ढाल्दाचाहिँ सबैको आँखा ठूलो । यो पनि भालेकै टाउकाको करामत भन्नुपर्ला ।
एकातिर सन्तान बढ्छ अर्कोतिर भाले लड्छ । भान्छा रमाइलोमा कान्छा खुसी हुने नै भयो । खानीपिउनी मामिलामा भेदभाव गरिन्न । दुवै मिलेर भालेको सिकार लतार्छन् । वंशपरम्परा कायम राख्ने सवालमा भने भाले र पोथीमा यथोचित जिम्मेवारी बाँडफाँड भएको पाइन्न । सुत्केरी आमालाई छोरा जन्माउने बेलामा कति प्रसव वेदना हँुदोहोला । छोराको बाउ भैखाको चाहिँ जिब्रो फड्कारेर भालेको टाउको चपाउँछ । कतिन पुरुषार्थ गरेँ भन्ठान्छ कि कुन्नि आधा पाउको टाउको चपाएर धार्नीको रवाफ देखाउन पछि पर्दैन ।

मेरा पनि सन्तान धेरै छन् । दाह्री नफुल्दै दर्जन हाराहारी पुगिसके । भन्ने नै हो भने भालेको टाउको त कति चपाइयो कति । निख्खर साखिने भालेको टाउको मैले भुले पनि मेरो तिखुल्ले जिब्रोले भुल्न सकेको छैन । बोकँु बोक्नै नसकिने टोकँु टोक्नै नसकिने बूढीभैँसीको ठूलो टाउको चपाएर बुद्धिबङ्गारा खियाउनुभन्दा दाँत पनि नदुख्ने आँत पनि पुष्ट हुने भालेको सानो टाउको रोजाइको प्राथमिकतामा पर्नुको कारण यही हो । यसदेखि बाहेक गैँडा, बाघ, हात्तीको टाउको निम्नस्तरीय उपभोक्तको पहँुचभित्र पर्दैन ।

उसो त शक्तिको आड नपाई गैँडाको हाड चपाउनै सकिन्न । सर्वसाधारका लागि सर्वसुलभ खुराकी कुखुरा नै हो । भालेको टाउको सम्झँदा अहिले पनि श्रीमती सुत्केरी भइदिए हुन्थ्योजस्तो लाग्छ । बिर्सनै सकिन्न– भालेको टाउको । मुख मिठ्याउँदै थिएँ । कतिखेर निद्राले साथ दियो थाहा भएन ।

Madhab Sayapatri – Chhapamar Nabanera Thikai Garen

माधव ‘सयपत्री’ – छापामार नबनेर ठीकै गरेँ

मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह गर्न नपरे म ढुक्कले खेतपाती, वस्तुभाउ गर्दी हुँ ।’ युद्धरत पार्टीको समर्थक भएपनि ऊ छापामार बनेको थिएन । केही समय विश्वासपात्र भएर पार्टीका गोप्य कागजपत्र र चिठी सम्बन्धित ठाउँसम्म पुर्यायो । एक्कासि उसलाई रोगले गाँज्यो । छापामार बन्न सकेन । छापामार बन्न नसक्नुकोपश्चातापले उसलाई खङ्गार्दै थियो । माओ, क्यास्त्रो, चे ग्वेभारा, गोञ्जालो आदिका आत्मसंस्मरण पढ्दा उसलाई युद्धभन्दा उत्तम बाटो अरू छैनजस्तो लागेको थियो । सोच्थ्यो, ‘देश र जनताको लागि मर्न पाएको भए मेरो पनि सालिक बन्थ्यो होला ।’

सुनेको थियो, युद्धमा सहादती हुनेहरूको सालिक बन्ने भएको छ रे ! त्यो लहरमा उसको पनि जिउँदोजाग्दो सालिक ठडिन्थ्यो होला । सालिकको घाँटीमा माला पहिर्याइन्थे होलान् । कमरेड इशानले उसलाई दुइदिन फकाएको थियो । विप्लवलाई आश्वासन दिँदै भनेको थिो, ‘विप्लव दाइ, हाम्रो गौरवशाली युद्धदस्तालाई तपाईंजस्ता विचारशील मान्छेको खाँचो छ । परिवारको जिम्मा पाटीले लिन्छ, होलटाइमर भएर हिँड्नुस् । उपचार पनि पार्टीले नै गरिदिन्छ । हामीलाई तपाईंले डोर्याउनुपर्छ दाइ !’ इशानले हस्तक्षेपै गरेपछि भनिदिएको थियो, ‘तिमी ढिपी नगर भाइ । जनताको मुक्तिको लागि युद्धमोर्चामा सम्लग्न हुने मन भएपनि मलाई रोगले गाँज्दैलगेको छ । म भूमिगत भएर खट्न सक्दिनँ ।’ इशान थप केही नबोली हिँडेको थियो ।

केही दिनपछि इशानले दोहोरो भिडन्तमा सहादत प्राप्त गर्यो । पार्टीले सम्मान गरी उनको सालिक निर्माण गर्ने भयो । यता विप्लवलाई रोगले च्याप्दैलग्यो । देश सेफ्ल्यान्डिङ्गतिर लाग्यो । पार्टीले यति छिट्टै युद्ध रोकेर शान्तिप्रकृयामा आउने कुरा उसले सोचेको पनि थिएन । इशानको सहधमिर्णी मृदुला उसलाई हेर्न आउँदा उनले भनेका चोटिला कुराले उसको मन शतचूर्ण भएको थियो । अहो ! कति साहसी महिला ! श्रीमान् मृत्युका पीडालाई कसरी लुकाउन सकेकी ! उनले भनेकी थिइन्, ‘दाइ, उतिबेला हाम्रो गौरवशाली जनयुद्धलाई नजरअन्दाज गर्नुभो । त्यतिबेलै युद्धमा लागेको भए तपाईंको उपचार पार्टीले गर्थ्यो । अब हामीले सिफारिस गर्ने कुरा भएन ।’

‘मृदुला ! पति विछोडको पीडालाई हृदयको कुन कुनामा केले छोपेर राखेकी छ्यौ ? आइमाईलाई कमजोर सम्झन्थेँ । अहँ, होइन रहेछ । उनी इशानभन्दा पनि आँटिलिरहिछन् ।’ मृदुला हिँडेपछि उसको मन नराम्ररी हुँडलियो । विप्लवले इशानकी रक्तकणिका सानी छोरीको सुन्दर अनुहारमा इशान नै देखेको थियो । छुट्नेबेला मृदुलाले भनेकी थिइन्, ‘दाइ, श्रीमान्को वीरगतिले मलाई झन् कठोर बनाएको छ । समयले घाउको खाटा पुर्दैल्याएको छ । अहिले त मलाई कमरेड इशान मेरै साथमा हुनुहुन्छ जस्तो लाग्छ । दाइ, तपाईं छिटै निको हुनुस् । मेरो शीध्र स्वास्थ्यलाभको कामना ।’

उसले निरास भएर भनेको थियो, ‘बैनी मृदुला, मेरो रोगको कारणले युद्धमोर्चामा जान सकिनँ । मेरो शरीर गल्दैगएको छ । धेरै दिन बाँच्दिनँ होला । विजयका लागि शुभकामना ।’ उसले यसोभन्दा मृदुलाको अनुहार मलिन भएको थियो । उनीहरूबीच एकछिन मौनता छायो । मृदुलाले ऊसित बिदा मागिन्, ‘दाइ, म तपाईंलाई हेर्न आएकी । शहिदहरूको सालिक निर्माणबारे मिटिङ्ग हुँदैछ । छिट्टै पुग्नुछ । सक्नुहुन्छ भने जाऊँ ।’ उसले भन्यो, ‘मृदुला, म जान सक्दिनँ । सास बढेर हिँड्नै हुँदैन ।’ मृदुला हिँडिन् । ऊ उनी हिँडेको हेरिरह्यो ।

हतियार बिसाएर पार्टी शान्तिप्रकृयामा आयो । पार्टी सरकारमा गयो । गैह्रीखेत बेचेर श्रीमतीलाई साथ लिई विप्लव उपचारका लागि काठमाण्डु गयो । मुटुको उपचार खेत बेचेको पैसाले मात्र सम्भव थिएन । उसले पार्टीमा लागेका गाउँकै साथीहरूलाई सम्पर्क गर्न खोज्यो । पार्टीबाट केही आश पनि गरेको थियो, पार्टीले उसको उपचारका लागि धेरथोर सहयोग जुटाइदिन्थ्यो कि ! तीनचार दिनपछि केही साथीसँग उसको सम्पर्क भयो । विशाल, क्रान्ति, प्रहार, एटम, चट्टान र हुङ्कार अस्पतालमै भेट्न आए । डाक्टरले रगत, दिसा, पिसाब, खकार परिक्षणका लागि स्याम्पल लिए । तर परीक्षणको रिपोर्ट आएपछि मात्र अस्पताल भर्ना गर्ने भए । केही पत्ता औषधी दिएर पर्सिपल्ट मुटुको परीक्षण गर्न बोलाए । अब उसलाई अस्पताल बस्न आवश्यक थिएन ।

तीनदिन कता गएर बिताउने होला, ऊ सोचिरहेको थियो । श्रीमती पनि उसकै मुखमा हेरिरहेकी थिइन् । काठमाण्डुमा उसका खासै नजिकका आफन्त थिएनन् । भए पनि कसलाई दुःख दिनु ! साथीहरूलाई हप्पति भन्न सकेन । विशालले सदाशयता देखाएर भन्यो, ‘आज हाम्रोमा जाऊँ है दाइ !’ क्रान्तिले थप्यो, ‘हैन आज हामीकोमा जाने । हुँदैन त भाउजू ?’ प्रहारले झनै आदर गरेर भन्यो, ‘तिमीहरूकोमा भोलिभोलि जानुहुन्छ । आजचैँ म लान्छु ।’ एटम चट्टान र हुङ्कारले पनि कर गरे । ‘हैन, यिनीहरू मलाई आफ्नो कोठामा लैजान किन यति आतुर भएका हँ ?’ कस्कोमा जाने उसले तत्काल निर्णय गर्न सकेन । श्रीमतीको अनुहारमा हेरिबस्यो । श्रमतीले पनि उसकै मुख ताकिन् । सोच्यो, ‘साथीहरूको डेरा साँघुरो होला । बिरामी राख्न गाह्रो पनि हुन्छ । पानीको समस्या होला । यस्तै त हो काठमाण्डुको हाल । यी साथी पनि डेरै गरी बसेका छन् । काठमाण्डुमा बाँच्न यिनीहरूलाई कति गाह्रो होला । झन् बिरामी पाहुना लाग्दा कति अप्ठेरो हुन्छ !’

विशाले नै जित्यो । त्यो दिन उनीहरू विशालकोमा जाने भए । अरू साथी बिदा भए । विशालले ट्याक्सी बोलायो । गंगालालबाट निस्केर ट्याक्सी चत्रपथ आइपुग्यो । बाँया मोडिएर त्यो चाबेलतिर हुँइकियो । भित्रीबाटो छिरेर ट्याक्सी विशालनगर पुग्यो । उनीहरूलाई चोकमा ओरालेर ट्याक्सी हिँड्यो । विशाल अघि लाग्यो । केही पर पगेपछि एउटा घरको मुलगेट खोल्यो । विप्लवलाई लाग्यो–‘विशालले डेरा त राम्रै घरमा लिएको रहेछ ।’ बैठक कोठामा पुर्यायो ।

बैठककोठाको डेकोरेसन देखेर विप्लवलाई सकसक लाग्यो । ‘हैन, विशालले कति पैसा कमाउँछ हँ ? केमा जागिर खान्छ होला विशाल ?’ भित्रैबाट आएको सकसकीलाई उसले रोक्न सकेन । सोधिहाल्यो, ‘विशाल, तिमीले कोठा त राम्रो लिएका रहेछौ, कसरी खर्चको म्यानेज गरेका छौ हँ ?’ विशालले भन्यो, ‘यो घर मेरै हो दाइ । क्रान्ति, प्रहार, चट्टान, एटम, हुङ्कारले पनि घर बनाएका छन् । ‘छापामार बनूँ दाइ’भन्दा तपाईंले टेरपुच्छर लाउनुभएन । मौकामा चौका नहाने कहिले कमाउने ! सोझो औंलाले ध्यू कहाँ आउँछ र ! ज्यान हत्केलामा राखेर पार्टीमा लाग्दा पनि नकमाए कहिले कमाउँने ? मैले मास्टर र कर्मचारीहरूबाट लाखौँ रुपियाँ चन्दा उठाएँ । खुद्रामसिना चन्दा त कति हो कति । विस्थापित गराइएका मान्छेले छोडेको जेथोमेथोको के हिसाब ! सफायासम्मको कार्वाही गर्ने चिठी पठाएपछि पैसा बुझाउन उनीहरू नै आउँथे । पार्टीलाई के थाह, कस्ले कति चन्दा उठायो । ‘यत्ति उठ्यो’ भन्दियो, टन्टै साफ ।’

विप्लव एकैचोटि भिरबाट खस्यो र तल चट्टानमा बजारियो । ‘जनताको मुक्तिका लागि लडेका छापामारहरूको यस्तो करतुत ! शर म लाग्नुपर्नेमा गर्व पो गर्छन् !’ त्यो घृणित प्रवृतिको घृणा गर्ने उसले शब्दै भेटेन । त्यहाँ केही भन्ने कुरा पनि भएन । विशालकी श्रीमती आएर नमस्ते गरिन् । केटाकेटीले पनि ‘नमस्ते अंकल’ भने । त्यो रात त्यहीं बिताउन उनीहरू बाध्य थिए । खाना खान बोलाउँदा विप्लवकी श्रीमतीको अनुहारमा बादल लागेको थियो । उनीहरूसँगै भित्र पसे ।

विशालको घरको भोजनपरिकार देख्दा उसलाई लाग्यो –विशाल राजसी भोजन गर्छ । सुत्ने कोठाको झकिझकाउ देखेर ऊ दिग्भ्रमित भयो । भनिसाध्ये छ र ! रातभरि उसको मनमा कुरा खेलिरहे । ‘अचम्म ! मनपरि चन्दा उठायो, आफूखुसी राख्यो । न पार्टीलाई सबै बुझाउनुपर्ने न सरकारलाई चन्दाको कर तिर्नुपर्ने । नेपालीहरूले आफ्नो गाँस काटेर डराईडराई दिएको चन्दाले को उँभो लागेछ ? कस्ले महल ठड्याएछ ?’ यतिबेला उसले सबै कुरा बुझ्यो । पार्टीले जुराइदिएको आफ्नै नाम ‘विप्लव’ देखि उसलाई धृणा लाग्यो । पार्टीमा कस्ता अवसरवादी पनि लागेका रहेछन्, त्यो पनि बुझ्यो । पुग्यो, उसलाई यत्ति बुझ्दा पुग्यो ।

भोलिपल्ट झिसमिसेमै उठ्यो । विप्लवको मन भने एकतासले पोलिरहेको थियो । उसलाई त्यहाँ बस्नै मन लागेन । मनले अर्कै कुरा भनिरहे पनि मुखले भनिदियो, ‘विशाल राम्रो प्रगति गरेछौ । खुसी लाग्यो । अभैm प्रगति होस् । हामी फुपूकी छोरीकोमा जान्छौँ । त्यहाँबाट अस्पताल पनि नजिकै पर्छ । भोलिलाई सजिलो हुन्छ । ल त हामी जान्छौँ है !’

उनीहरू मन भारी पारेर हिँडे । ‘साम्यवादको लक्ष्य लिएको पार्टीका कार्यकर्ता यति तल गिर्न सक्छन् ? कसरी पत्याउने ?? नपत्याऊँ, आफ्नै आँखाले देखिसक्यो । छापामार नबन्दाकोपश्चात्ताप छिनभरमै उसको मनबाट नामेट भएर बढारियो । छापामारप्रतिको उसको मोह भङ्ग भयो । सोच्यो, ‘छापामार नबनेर मैले शतप्रतिशत ठिक गरेँछु ।’

श्रीमतीले उसलाई डोर्याएर टेम्पु लाग्ने ठाउँसम्म पुर्याइन् । उसको मनले हिसाब सोध्यो, ‘पार्टीका कार्यकर्ताहरूले देशभरिका कर्मचारी, शिक्षक, व्यापारी र सर्वसाधारणबाट कति अन्नपात र पैसा उठाए होलान् ? यसको हिसाब कोसँग छ ?’ उसले अड्कल गर्न पनिसकेन । निरासनिरास उनीहरू नारायणगोपाल चोकतिरै लागे । आकाश धँमिलिएर रन्चे भएको थियो ।

Bishnu Bhandari – Sahar Ma Comrade

सहरमा कामरेड

सरकारी नम्बर ल्पेटको गाडी सहरको पाँचतारे होटल अगाडि रोकियो । चालकले गाडीको ढोका खोलिदियो । गाडीबाट सांस्कृतिक संस्थानको जिएम निस्कियो, जसले भर्खरै राजनीतिक नियुक्ति पाएको थियो । राजनीतिक नियुक्ति पाएपछिको यो पहिलो सार्वजनिक कार्यक्रम थियो उसको ।

गाडीबाट झर्दा चिसोले टोक्लाजस्तो गरी घोच्यो । मध्यपुस, त्यसमा पनि बदली भएको आकाश, चिसो बढेको थियो । उसले आजै लगाएको टाइसुट मिलायो । कपाल ठिक छ छैन भनेर दुबै हातले कपाल स्याहा¥यो र होटलतिर हे¥यो । उसले हेर्दानहेर्दै आयोजक र अतिथिहरू ऊतर्फ हुर्रिए । उनीहरू झन्डै एकघन्टादेखि उसको प्रतीक्षामा फूलमाला लिएर उभिएका थिए । धेरैले झुकेर नमस्कार गरे । नवप्रवेशी कामरेडहरूले सिकारु मुठ्ठी सहितको हात उठाए । पुरानाले सलाम कमरेड भने । नवप्रवेशीले लालसलाम नै टक्र्याए । उसले स्मित हाँसो सहित अभिवादन फर्कायो ।

जिएम भर्खरै युद्ध लडेर आएको पार्टीको नेता । कला साहित्यमा पनि राम्रै दख्खल थियो । लामो समय सांस्कृतिक फाँटमा काम गरेकोले होला ऊ सांस्कृतिक विचलनप्रति अलि बढी नै सजग थियो । सांस्कृतिक रूपान्तरण र समाजमा संस्कृतिले पार्ने प्रभावबारे राम्रै प्रशिक्षण दिन्थ्यो । सायद त्यही भएर होला उसका कवितामा पनि यो भाव मुखर भएर आउँथ्यो ।

‘हामी सहरमा छौँ भन्ने कुरा बिर्सनु हुन्न कमरेड । सहरमा काम गर्नेको सबैभन्दा ठूलो चुनौती भनेको आफूलाई सांस्कृतिक विचलनबाट जोगाउन सक्नु हो,’ उसले प्रायः बैठक र छलफमा भन्ने गथ्र्यो– ‘सहर स्वभावैले अराजक र नैतिकहीन हुन्छ । गाउँमाजस्तो यहाँ काम गर्न सहज छैन । कमरेडहरूले आफूलाई सहरको रमझमबाट जोगाउनु होला ।’

पार्टी सरकारमा थियो । ऊ नेताको नजिकको मान्छे । पार्टीमा उसको हैसियत पनि माथि नै थियो । यही भएर होला दिनक्कै घेटघाट हुन्थे । छलफल र भेटघाटमा खानेपिउने विषय सँगै जोडिएर आउँथ्यो । बाध्यताले हो वा आवश्यकताले हो ऊ स्वयम् भने सहरको रमझममा अभ्यस्त हुँदै गएको थियो ।

केही समय अगाडि ऊ सवार भएको गाडी नदी किनारा हुँदै गुड्दै थियो । नदी भन्ने कि ढल ? यसबारेमा पुनर्मूल्याङ्कन गर्नुपर्ने हुन्छ । पहिलेदेखि नदी भनिएकोले सबैले नदी नै भन्दा हुन् । तर त्यो नदी भन्दा पनि खुल्ला ढलजस्तै थियो । हावासँगै नदी किनारमा दुर्गन्ध यसरी फैलिन्थ्यो कि बाटो हिँड्नेहरू नाक थुनेर हिँड्थे । अझ चिसोमा भन्दा पनि गर्मी ऋतुमा यहाँ बस्नै नसक्ने हुन्थ्यो । तातो हावासँगै दुर्गन्धले सारा बस्तीलाई क¥याप्प पाथ्र्यो । त्यस्तो ठाउँमा पनि सुकुम्वासी भने मजाले बसेका थिए ।

नदी किनारामा लहरै सुकुम्वासीका छाप्रा थिए । छाप्रापछि बाटो र बाटोसँगै अग्ला अग्ला घर । अग्ला घरका झ्याल सबैजसो बन्द देखिन्थे । ती झ्यालहरू फोहोरको कारणले हो वा नाङ्गाभुतुङ्गा सुकुम्बासीको नजर पर्छ भनेर हो प्रायः बन्द नै हुन्थे । ती बन्द घरमा मान्छे बस्छन् कि भुत बस्छन् भन्ने सङ्का गर्ने ठाउँ प्रसस्तै थियो । त्यो बाटो हिँड्नेहरू यस्तै सोच्थे ।

सुकुम्बासी बस्तीमा भने चहलपहल प्रसस्तै थियो । त्यस्तो जाडोमा पनि नानीहरू नाङ्गैभुतुङगै यताउता दौडदै थिए । कोही रुँदै त कोही हाँस्दै थिए । प्रायः प्रत्येक दिन यसरी नै हाँँसो र रोदन मिसिएर एउटा छुट्टै लयको निर्माण हुन्थ्यो । लय सङ्गीतमय हुँदै सारा बस्तीमा फैलिन्थ्यो । हुनेखानेहरू यो लयलाई मन पराउँदैनथे । उनीहरू यस्तो सङ्गीतलाई हेपेर माग्नेहरूको चर्तिकला भन्थे ।

प्रत्येकजसो छाप्राबाहिर आगो पुत्याउँदै थियोे । केटाकेटी र आइमाईहरू दिनभर दाउरा र कागजका टुक्रा खोजेर ल्याउँथे । बेलुका यसैलाई बालेर चिसो भगाउने निरर्थक प्रयास गर्थे । आज पनि यही उपक्रम गर्दै थिए उनीहरू । ‘विचरा कस्तो विजोक !’ उसले दिक्क मान्दै सोच्यो– ‘सहरको बीचमा पनि कस्तो गरिबी ?’
हुन पनि त्यहाँको अवस्था दर्दनाक थियो । त्यस्तो कठ्याङ्ग्रिदो चिसोमा पनि वृद्धवृद्धा र बच्चाहरू एकसरो कपडामा थिए । चिसो स्याँठ चलेको थियो । चिसोबाट बच्न आगोको ओरिपरि झुम्मिएका थिए । उसलाई यस्तो दुःखपूर्ण र भयावह अवस्था देख्दा खपिसक्नु भएन । उसले तुरुन्तै चालकलाई भन्यो– ‘गुरुजी गाडी रोक्नोस् त ।’ गाडी केही पर पुगेर रोकियोे । अपर्झट गाडी रोक्नु पर्नाको कारण नबुझेर चालकले प्रश्नसूचक दृष्टिले पछाडि हे¥यो ।

‘राम बहादुर गुरुङलाई भेटूँ कि भनेर ।’ जिएमले ढोका खोल्दै भन्यो– ‘उनको घर यहीँ होइन र ?’
सायद कुरो बुझेन गुरुले । ऊ अलमलियो ।

‘उही क्या सुकुम्बासी संगठनको नेता । अस्ति डेलिगेसन आएका थिए नि ।’ उसले विषयलाई अझ प्रस्ट्याउँदै भन्यो– ‘बस्तीमा निमोनियाबाट धेरै बच्चा बिरामी भएका छन् । हाम्रो अफिसबाट सुकुम्बासी बस्तीलाई सहयोग गर्नु थियो ।’

‘हुन त हो हजुर ! तर कार्यक्रममा पुग्न ढिला भैसकेको छ । फेरि आए नहोला ।’ चालकले नम्र स्वरमा भन्यो । साथै समय एक घन्टा घर्किसकेको पनि जनाउ दियो ।

‘हुन त हो,’ उसले अलिक गम खाँदै भन्यो– ‘जाउँ त उसो भए । बरू फर्किंदा सम्झाउनु होला । रकम मसँगै छ दिनुपर्छ ।’

‘कस्तो असल मान्छे ! सुकम्बासीलाई आफैँ रकम पु¥याउन चाहन्छ ।’ भर्खरै नियुक्त भएको आफ्नो जिएमप्रति अपार विश्वास जागृत भयो उसमा । उसले मनमनै सोच्यो –‘साँच्चै ! अब हामी गरिबका दिन पनि आएछन् क्यारे !’

उसले रिवन काटेर कार्यक्रमको उद्घाटन ग¥यो ।

हल तालीले गुञ्जायमान भयो । पाँचतारे होटलको भव्य हल सहरका एक से एक सुन्दरीले खचाखच भरिएको थियो । नाम चलेका लेखक, कलाकार र वुद्धिजीवीको उस्तै जमघट । यस्ता प्रबुद्ध व्यक्तिको अगाडि आफूलाई प्रमुख अतिथिको रूपमा पाउँदा अलिक असजिलो महसुस ग¥यो उसले । पुसको जाडोमा पनि उसको शरीरमा ताप उत्सर्जित भयो र हप्प भयो ।

हुन त उसले सहर पसेदेखि नै आफूलाई हिरो सम्झिन्थ्यो । यी सबै गुहुका किरा हुन् । के थाहा छ यिनलाई भनेझैँ गथ्र्यो । ऊ सकभर साना र स्तरहीन कार्यक्रममा जान्नथ्यो । फेरि प्रमुख अतिथिभन्दा तल त ऊ मरिगए हुन्नथ्यो । कथंकथाचित यस्तै भैहाल्यो भने पनि ऊ तुरुन्तै मेरो काम छ भन्दै लुसुक्क निस्कन्थ्यो र टाप ठोक्थ्यो । कसैले यस्तो प्रवृत्तिको प्रसङ्ग उठायो भने सिधासिधा भन्थ्यो– ‘आफूलाई मेन्टेन गर्नुपर्छ । हामी भनेका दस वर्ष युद्ध लडेर आएका हौँ । यी सहरमा बस्नेहरूलाई के थाहा युद्धको भावभूमि ?’

हुन त जान्नेसुन्नेहरू भन्थे ऊ युद्ध नै लडेको हैन । छाला बचाउन युद्धमा लागेको हो । तर पार्टीमा भने उसको रवाफ राम्रै थियो ।

कार्यक्रमको बिचमा उसलाई दोसल्ला ओढाएर सम्मान गरियो । प्रायः सबै वक्ताले उसको प्रशंसा गरे । कतिले अहिलेका महान् योद्धाको उपमा दिए । कतिले अहिलेका महान् कलाकार भने । कतिले यो दशककै अग्रणी कवि ! एक किसिमले उसलाई उडाए । उसले एकपटक हलमा सरर नजर दौडायो । ‘ओहो कति भव्य ! कति सभ्य ! यस्तो पो कार्यक्रम !’ ऊ रोमाञ्चित भयो । उसले यस कार्यक्रमलाई विगतमा दूरदराजमा हुने कार्यक्रमसँग दाँजेर हे¥यो । कति फरक ! हेर्दा हेर्दै हिन्दी र अङ्ग्रेजी नृत्य प्रस्तुत भयो । उसलाई अलि अप्ठेरो लाग्यो क्यारे । छेवैमा बसेको आयोजक संस्थाको अध्यक्षलाई हे¥यो । अध्यक्षले अरूले नसुन्नेगरी भन्यो– ‘क्यार्नु र हजुर ठाउँ अनुसार चल्नै प¥यो ।’
‘हो त नि है !’ उसले चित्त बुझायो ।

कार्यक्रमको अन्त्यमा उसको बोल्ने पालो आयो । भर्खरै युद्धबाट आएको युवा । उसमा बोल्ने कला भरपुर थियो । सांस्कृतिक क्षेत्रमा काम गर्ने मान्छे । उसलाई कला, साहित्य र संस्कृतिको ज्ञान राम्रो थियो । यस्तो महत्वपूर्ण उपस्थितिमा आफ्नो योग्यता र खुवी पदर्शन गर्न पाउनु भनेको मौका पनि हो । नभन्दै कला, साहित्य र संस्कृतिका बारेमा गहन मन्तव्य दियो उसले । अझ सांस्कृतिक रूपान्तरणका बारेमा बोल्दा त भर्खरै पार्टी प्रवेश गरेका अर्धनग्न यौवनाको अनुहार बिग्रिएर सानो भयो । उसले संस्कृतिका विविध पाटामाथि आफ्नो ओजपूर्ण भनाइ राख्दै भन्यो– ‘हामीले पुरातन र आयातीत संस्कृतिको पक्षपोषण गर्नु हुन्न ।’ उसको भनाइलाई गडगडाहट तालीद्वारा हलले समर्थन ग¥यो ।

कार्यक्रमको पहिलो चरण सकियो ।

ऊ मञ्चबाट झर्दै गर्दा किशोरीहरूको ठूलो हुलले उसको अटोग्राफ माग्न थाल्यो । धेरैजसो त ऊसँगै टाँसिदै भन्न थाले– ‘वाह ! तपाईंले त कमालै गर्नु भयो ।’ उसले जीवनमा पहिलो पल्ट यति नजिकबाट यति कामूक सुन्दरीलाई स्पर्श ग¥यो । र, जीवनमा पहिलो पल्ट आफ्नो अटोग्राफ दियो । यो चिसो ऋतुमा पनि उसको निधारमा चिटचिट पसिना आए । हुन त एसीको कारणले पनि यस्तो भएहोला । फेरि एसीभन्दा पनि बढी त अरु नै कारणले काम गरेको थियो सायद । पहिलो पल्ट भएर हो वा कागको बीचमा वकुल्ला देखिँए कि भन्ने लागेर हो, यहाँबाट कतिखेर भागूँ भागूँ लाग्योे । उसले घडी हेर्दै अध्यक्षलाई सोध्यो– ‘अब जाने हैन ?’ अध्यक्षले मुुस्कुराउँदै भन्यो– ‘भर्खर त कार्यक्रम सुरु भएको छ हजुर ।’

‘भर्खर कार्यक्रम सुरु भएको छ रे !’ उसले अचम्म मान्दै हे¥यो ।

‘हो त हजुर ! डिनर र गीतसङ्गीत त बाँकी नै छ ।’ अध्यक्ष अलि झुक्दै बाँकी कार्यक्रमको बारेमा जानकारी गरायो ।

‘ए हो ! ल ठिक छ । बरू जाँदा सुकुम्बासी बस्तीमा पस्नु छ । छिटो गर्नु है ।’ उसले सहमति जनाउँदै भन्यो ।
केही छिनमै ऊ षोडशी सुन्दरी र बुज्रुकहरूद्वारा घेरियो । वेटर ह्विस्की, वियर र वाइनले भरिएका किस्ती समाएर उसको अगाडि उभिए । सबैले रुचिअनुसारका प्याला उठाए । उसको सहयोगीले पनि उसलाई प्याला उठाउन आग्रह ग¥यो ।

‘हैन, यो लिने हो र !’ ऊ अनकनायो ।

हुन त सहरमा आएपछि लुकिछिपी खान थालेको थियो उसले । युद्धकालको त कुरै बेग्लै । युद्धकालमा रक्सी बनाउने र खाने दुबैलाई भाटे कारबाही हुन्थ्यो । कतिलाई भाटे मात्रै हैन आर्थिक कारबाही पनि हुन्थ्यो । ऊ लड्नभिड्न भन्दा पनि यस्ता कारबाही गर्न मन पराउने मान्छे । युद्धको बेला सबैभन्दा बढी भाटे कारबाही गर्नेमध्ये ऊ पनि पथ्र्यो । तर सानैदेखि लाएको बानी त्यति सजिलै कहाँ सुध्रिन्थ्यो र ! सहर आएपछि फेरि लिन थालेको थियो उसले ।

‘हजुर पनि ! पाँचतारे होटलमा नलिएर कहाँ लिने त !’ सहयोगीले कर ग¥यो । सहयोगी आयोजक संस्थाको अध्यक्ष पनि भएकोले उसलाई सल्लाह लिन सजिलो थियो । ऊ भर्खर प्रवेश गरेको कामरेड थियो । व्यवहारमा जस्तो भए पनि बोली मिजासमा अब्बल थियो ऊ । चाकडी चाप्लुसीमा पनि होनहार । सांस्कृतिक क्षेत्रमा जस्तो भए पनि आर्थिक क्षेत्रमा बलियो थियो । सहरमा उसलाई धेरैले चिन्थे । ऊ जहाँ पुग्थ्यो तर उसैले माथ्र्यो । यहाँ पनि उसको छिट्टै तरक्की हुनेवाला थियो । त्यसैले पनि उसले नयाँ नेतृत्वलाई खुसी पार्न यो कार्यक्रममा प्रमुख अतिथि बनाएको थियो ।

जिएम सा’ब अझै पनि अनकनाउँदै थियो । तर एकजना अर्धनग्न सुन्दरीले उसको हातमा ह्विस्कीको प्याला थमाईहाली । उसले पहिल्यैदेखि उसलाई पछ्याउँदै थिई । सबैले हर्षोल्लासपूर्वक चियर्स गरे ।
रात ढल्किँदै थियो । रातसँगै कामूक नृत्य र गीत–सङ्गीतको धुनमा सुन्दरीहरू पनि मस्किँदै थिए । उसलाई असैह्य हुन लाग्यो । एकातिर ह्विस्कीको रमरम अर्कोतिर सुन्दरीको कटाक्ष । ऊ विह्वल भयो ।

उसको अगाडि एकपछि अर्को गर्दै विगतका घटनाहरू नाच्न थाले । कसरी भोकभोकै बाँदरजस्तै कुँदेको थियो ऊ ? दुई कोस टाढा बन्दुक पट्किँदा पनि कसरी भागेको थियो ? भाग्दाभाग्दै कसरी सुरक्षाकर्मीको घेरामा परेको थियो ? कसरी उसको साथीले आपूm मरेरै भए पनि उसलाई बचाएको थियो ? दुश्मनसँगको झडपमा आफ्नै अगाडि सहयोद्धा ढल्दा कसरी रोष र घृणाले उद्वेलित भएको थियो ? जेलका चिसा छिडी र भूमिगत कालको सम्झनाले मात्र पनि उसको मुटु हल्लियो ।

सोच्दासोच्दै फेरि विगतको रङ्गीन दुनियाँमा पुग्यो । कसरी भर्खरकी किशोरीसँग प्रेमको प्रस्ताव राखेको थियो उसले ? प्रेम झाङ्गिन नपाउँदै कसरी एकपछि अर्को गर्दै सबै प्रेमिकाहरू मारिएका थिए ? प्रेमिकाहरू मारिने क्रम नरोकिएपछि ऊ आजित भएको थियो । त्यसपछि उसले गाउँकी अलि उमेर ढल्किएकी युवतीसँग माया गाँसेको थियो । यो बाध्यता थियो कि आवश्यकता । आज उक्त प्रसङ्ग सम्झिँदा पनि वडो उदेक लागेर आयो । कसरी लहसिए होला ऊ विना स्वादकी ग्रामिण युवतीको प्रेममा ? ऊ फेरि फर्किएर वर्तमानमा आयो । आज ऊ कुन दुनियाँमा छ भन्ने छुट्याउन सकेन उसले । कहाँ त्यो भोको र विदीर्ण छाप्रोको कथा । कहाँ यो पाँचतारे होटलको रङ्गीन लीला !

केही समयपछि उही सुन्दरी आएर उसलाई च्याप्प समाई । उसको स्पर्शले एकपल्ट उसको शरीर सर्वाङ्ग रोमाञ्चित भयो । ‘हजुर त कस्तो हेनसम ? मलाई त हजुरजस्तै हिरो मन पर्छ ।’ भएन फसाद ! हेर्दाहेर्दै ऊ त हिरोमा पो दरियो बाः । उसले एकपल्ट आँखा मिच्यो र टाउको हल्लायो ।

‘हैन म विपनामा त छु !’ उसले घोरिएर सोच्यो । जसरी सोचे पनि उसले आफूलाई विपनामै पायो । ‘अनि फेरि के भनेकी यो केटीले ?’ ऊ तिनछक परेर उसलाई एकनास हेरिरह्यो । लाटोले केरा हेरेजस्तै । हेर्दाहेर्दै आँखा चार भए । युवतीले लजाएको नखरा पार्दै नजर झुकाई ।

त्यसपछि त्यो नवयौवनाले उसलाई हातमा समाएर नाच्न आग्रह गरी । किंकर्तव्यविमूढ भयो ऊ । कहिल्यै ननाचेको मान्छे । कसरी नाच्ने होला आज ? सुन्दरीले छोडेकी हैन । उसका मुलायम करकमलको न्यानो स्पर्शले ऊ आजित भयो । कहिल्यै ननाचेकोले आपूm नाच्न नसक्ने कुरा व्यक्त ग¥यो उसले । तर त्यो सुन्दरी त ज्याद्रो पो निस्किई । ‘के भयो त पहिले ननाचेर ? आज नाचे भैहाल्यो नि ।’ सुन्दरीले कर गरी । उसले सुन्दरीको आग्रहलाई लत्याउन सकेन ।

राती अवेरसम्म पार्टीे चल्यो ।

उसले हुन्न हुन्न भन्दा भन्दै पनि निकै पियो । पियो भन्दा पनि पिलाइयो । सम्मानका लागि, इज्जतका लागि अथवा मायाले भरिएका नयनका लागि उसले पियो । पिउँदा पिउँदा बोली नै लरवरिएको थियो उसको । पार्टी सकियो । उसको सहयोगी, बाँकी भद्रजन र सुन्दरीहरूले उसलाई गाडीमा चढाए ।
अब ऊ सुनसान सडक हुँदै निवास फर्कंदै थियो । सबैतिर शून्यता व्याप्त थियो । फाट्टफुट्ट गाडीहरू हुर्रिएर भाग्दै थिए । बाटोमा उही सुकुम्बासी बस्ती देखियो । यतिखेर बस्ती पनि सुनसान र चकमन्न थियो । निस्पट्ट चिसो रात, सबैतिर सन्नाटा छाएको थियो । अब भने चिसो हावासँगै फाट्टफुट्ट पानीका थोपा पनि छिटाउन थलिसकेका थिए ।

चालकले गाडीको गति कम गरेर पछाडि हे¥यो । हुनत यो सुनसान रातमा सुकुम्बासी नेतालाई भेट्न सम्भव थिएन । तर पनि जिएमले फर्कंदा भेट्नुपर्छ भनेको थियो । चालकले उक्त विषयको जानकारी गराउन चाह्यो । तर समयले त फन्को मारिसकेको थियो । विचरा, चालकलाई के थाहा समय कुन रफ्तारमा अगाडि बढ्छ ? उसलाई त केवल गाडीको गति थाहा थियो । उसलाई लाग्दो हो समयको चक्र भनेको चौविस घन्टा हो । उसले घडी हे¥यो । आज पनि समय घुमिसकेको थियो । र, समयसँगै क्रान्तिकारी जिएम नसाले लठ्ठिएर पछिल्लो सिटमा पल्टिएको थियो ।

(नागरिक दैनिकः १५ असोज, २०७३)