दियेश रत्न शाक्य – समबेदनाका स्वरहरू
त्यो पठार भूमिबाट
जब तिमी निस्प्राण भएर
कफिनमा सजिएर आयौ
नजाने तिमीसंगै
कति सपना
कति आकांक्षा
कति खुशी
कति रहरहरूको
प्राणपखेरु उडेको छ
म अनुमान गर्न सक्छु
तिम्रो मृत्युको खबर
आफ्ना प्रियजनसमक्ष
कुन आँधीबेरी लिएर पस्यो होला
अनि हरेकपल्ट तिम्रो आगमनमा
आँखाले भ्याएसम्म बाटोभरी
बैंसको मुस्कान छरेर
अटुट बन्धनको गुँरास बिछ्याएर
पर्खिबस्ने मायालु मनहरूमा
यो खबर कुन बज्रपात बनेर पस्यो होला
विस्फोटसंग विवश हुँदै
मृत्यु अँगाल्नु पर्ने यो सजाय
आखिर तिम्रो के दोषको लागि थियो
तिमी
फरक अनुहारको हुनु
फरक भुगोलको हुनु
फरक धर्मको हुनु
अथवा
डर्टी, डिफिकल्टी र डेन्जरससंग लड्न
तिमी जन्मजात
बहादुर र साहसी हुनु
जोशिलो र जाँगरिलो हुनु
ओ! बिस्फोटको जिम्मा लिनेहरू हो
म मेरा यी प्रश्नहरूको जवाफ चाहन्छु
निहत्था
निर्दोष
मान्छेका लाश गनेर
आखिर कुन युद्ध जितिन्छ?
अथवा
कुन भगवान खुशी हुन्छ?
(राजधानी दैनिक २०७३/७/१३मा प्रकाशित)