सुधीर छेत्री – कक्षा-2007
लुगा सिलाउने मसिन जस्तो एउटा लुइरे शिक्षकले
दशपल्ट उध्रिरहने लास्ट-बेञ्चरहरूको दिमागलाई
खुटिरहन्छ।
यो कक्षाको ज्यामिति-बाकसभित्र
स-साना कम्पास र चॉंपहरू
बेमेलको बक्ररेखालाई
तन्काई-तन्काई
तेर्सो पार्ने प्रयासमा छन्।
मेरो श्रेणी कक्षा
राधाकृष्णन् र
कृष्णमूर्तिले टालेका कोटेसन चाखेर
जिब्रो पड्काइरहन्छ अनि दिनहुँ
दिमागको छानाबाट चुहिरहने
विचारका तप्कनाहरू
समयको भूईंमा पछारिइरहन्छ।
समय-तालिका चपाएर
अनुशासनको वान्ता गर्छ
उज्यालोले लाटिएका
पोल्ट्री फार्मका पङ्क्षीहरू।
जुनकिरीको रॉंको बोकेर
उमेरभन्दा अघि-अघि हिडिरहेछन्
दुबोहरू।
काठको टेबलले
आफ्नो संवेदनशीलता बचाउन
छातीभरि कोर्नदिइरहन्छ अङ्ग्रेजी गीतका स्थायीहरू।
हतास फलामका बेञ्चीहरू पनि
कनाइबस्छ ढाड
ग्रफाइटको पेन्सिलले।
इतिहासको किताबबाट
पिरियडैपछि निस्कनचाहने योद्धाहरू
भूगोल र विज्ञानको बीचमा चेप्टिएर
समय-कटनीको लागि
टिफिनको गन्ध सुँघ्दै
मुख मिठ्याइरहेछन्।
बाहिर देखेँ,
बयेरका टफी चुसेर चराहरू
मसीनका आवाजबाट
कर्कशता छिलेर
साङ्गीतिक लेप लाउनलाई
भुर्र-भुर्र हावा हम्किरहेका रहेछन्।