Shyamal – Nepal Naun Ko Desh

प्वाँखजति झरेर
कुरूप, कमजोर र टिठलाग्दो
कुखुराको चल्लो
नेपाल नाउँको देश ।
प्लास्टिकका दाना छरिन्छन्
यसको भोकअगाडि
र पखाला लाग्छ जोडसँग
बिरामी छ—
कुनै पनि बेला मृत्यु हुन सक्छ
हेर्दै छु— यस देशको नक्सा
दुब्लाउँदै, खुम्चँदै, खिइँदै गएको ।
एकदम फरक छ
धेरै–धेरै फरक छ
पञ्चहरूको देश
र मेरो देशमा ।
तिनीहरू त्यही कुरूप चल्लाको
मासु खाने दाउमा छन्
तिनका बच्चा
देशको नक्सा च्यातेर
डुङ्गा बनाउने दाउमा छन्
तिनीहरू आफ्ना खन्चुवा पत्नीका छातीमा
दूध भर्ने दाउमा छन्
धेरै–धेरै फरक छ
नेपाल र नेपालमा ।
उनन्तीस वर्षसम्म
मृत्युशय्यामा सङ्घर्ष गरिरहेको
हाम्रो कामनाले मात्र
सास फेरिरहेको नेपाल !
मैले लेखेँ भने राम्रो कविता
राष्ट्रिय पञ्चायतले पास गरेको छ
मृत्युदण्डको कानुन !
कति–कति फरक छ
नेपाल र नेपालमा !