Shrawan Mukarung – Aatanka

हजारौँ मानिसहरू मरिसके
हजारौँ मानिसहरू मरिरहेछन्
सम्भवतः
हजारौँ मानिसहरू मर्नेछन्

प्रत्येक क्षण
मानिसको मृत्यु
आतङ्क भएर फैलिरहेछ– यो देशमा

अस्वाभाविक होइन– मृत्यु
आश्चर्य होइन– जन्मिएपछि मर्नु

कुनै स्वाभाविक संयोग
कुनै सजिलो घटना
अथवा–
हजारौँहजार सम्भावनाबीच
सूर्यको राप समातेर
मानिस आएको छ– यस पृथिवीमा
यी फूलहरू
यी चराहरू
यी खोला, पहाड, आकाश र क्षितिजहरू
आइपुगे जसरी– समयको स्वभाव भएर
यी सपनाहरू
यी दुःखहरू
यी माया, करुणा, क्षमा र क्रूरताहरू
आइपुगे जसरी– जीवनको अंश भएर

मृत्यु कसरी हुन्छ– अनौठो…?
मृत्यु कसरी हुन्छ– आतङ्क…?

आतङ्क त विचार हो
जसलाई हामी त्यागिदिन सक्छौँ
आतङ्क त व्यवस्था हो
जसलाई हामी भत्काइदिन सक्छौँ