दियेश रत्न शाक्य – भत्किनु हुन्न हाम्रा संकल्पहरू
जब म देख्न थाल्छु
अहिले पनि
सडकभरि गल्लीभरि
टेकामा उभिएका घरहरू
चोकभरि चौरभरि
टहरामा गुम्सिएका परिवारहरू
मैले बिर्सन खोजेको बिगत
फेरि बल्झ्रेर आउँछ
मनमुटुभरि कम्पन बिझाउँछ
म सोच्न थालेको हुन्छु
भत्किन लागेको भित्तो अडेस लगाएर
तिनले कसरी काटे होलान्
दिन,महिना र बर्षहरू
प्रत्येक पराकम्पनको
दर्दनाक सन्त्रासलाई कति कष्टले झेल्दै
पुरानो च्यात्तिएको पालभित्र बसेर
तिनले कसरी सहे होलान्
दिनको टन्टलापुर घाम
रातको कठ्यागृने जाडो
हावाहुरी अनि झरी बर्षात्
टुकीको धिपधिपे उज्यालोमा
तिनका नानीबाबुहरूले
कसरी थाले होलान् आफ्नो होमवर्क
कसरी कोरे होलान् भबिष्यको नक्सा
म सम्झिरहेछु बर्षदिन अघि
आँखाभरी तैरिएका
भग्न दृश्यहरू
मुटुभरी घोपिएका
समबेदनाका स्वरहरू
र फेरि पनि सम्झिरहेछु
त्यतिखेर
मेरो यो प्यारो देशको
क्षेत्रफलभन्दा पनि/आकाशभन्दा पनि
फराकिलो बनेर उठेको देशप्रेम
र सगरमाथाभन्दा अग्लो बनेर उठेको
स्वाभिमान जुटाएर
हामीले गरेका संकल्प र बाचाहरू
कि हामी सग्लो उठाउँछौं यो देशलाई
कि हामीअझ अग्लो उठाउँछौं यो देशलाई
र अहिले समय-साल फेरिए पछि
थप सोच्न थालेको छु
निरन्तर सोच्न थालेको छु
हाम्रा घर/धरोहर
जे भत्के भत्के
जे ढले ढले
अब कदापि भत्किनु हुँदैन
समय-सीमा सामू
नवनिर्माणका हाम्रा संकल्पहरु
अब कदापि ढल्नु हुँदैन
इतिहासदेखि परिचय बनेको
नेपाली सद् भाव र स्वाभिमान
(जनमत २०७३श्रावण अंकमा प्रकाशित )