Matrika Pokhrel – Ban Phool Ra Sapana

मातृका पोखरेल – वनफूल र सपना
(सहिद सेतू सुनारको स्मृतिमा)

म वनफूल,
युगौंदेखि
गरिबी र अपमानको हिउँले
धेरै ठाउँमा डामिएका छन्
मेरा फूलका पत्रहरू
सभ्यताको जँघारमा
घाइते भएर म
धेरैपटक लडेकी छु
अपमानित भएरै
मैले पनि युगलाई नबोकेको भए
हामी सबै मिलेर चन्द्रमा कसरी छुन्थ्यौं ?
ठिहिर्याउने वर्तमानमा बाँचेर
मैले सबैलाई
एक पाखो घाम ताप्न बोलाएकी हुँ,
म सेतू सुनार !
हामी सबैभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

मेरा पिता पूर्खाले
खाडलमाथिको जमिन देखेनन्
मैले खाडलमाथिको जमिन टेकिन
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
हामी धेरैले उचालेको
नयाँ यात्राको एउटा साइतमा
मैले पनि अघिल्तिर पाइला राखेँ,
मलाई थोपाको शक्तिसँग विश्वास छ
मलाई घामको वास्नासँग विश्वास छ
मलाई हावाको गतिसँग विश्वास छ
म सेतू सुनार !
मलाई समानताको भोलिसँग विश्वास छ
म तपाईंहरूजस्तै हो,
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

प्रिय आफन्तहरू !
भोलिको समयलाई
बेलाबेलामा सम्झाइरहनु
मैले रोपेको विरुवामा
फेरि झुन्डिनुहुँदैन कालीपोकेहरू,
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरूलाई
बुझने भएपछि सुनाइदिनु
तिम्रा निला आँखाहरूको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिँडेकी छ,
मसँग लोभको कुनै दरबार छैन
म वनफूल !
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

मेरा पूर्खाले,
गोडमेल गर्दा नदेखेको एउटा झार
झयाँगिएर विषवृक्ष भएछ,
त्यो हल्किएको देखेर
म क्रोधले आहात भएँ
म अतितसँग क्रुद्ध भएँ
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
प्रिय आफन्तहरू !
म जंगली फूल !
म सेतू सुनार !
तपाईंहरूभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

(जनआन्दोलनका क्रममा २०६३ वैशाख ४ गते नेपालगञ्जको ज्ञानेन्द्र चोकमा गोली लागी मृत्यु भएकी सहिद हुन् सेतूसुनार । पछि आन्दोलनकारीहरूले ज्ञानेन्द्र चोकलाई सहिद सेतू विक चोकको रूपमा नामाकरण गरेका थिए ।)

Matrika Pokhrel – Usko Mrityu Ma

मातृका पोखरेल – उसको मृत्युमा

देशको मानचित्र बोकेर
गाउँगाउँ घुमी हिँड्ने
हामीले सधैं देखिरहेको
हाम्रै चेतनाको बारीमा
घाम रोपेर हिँड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो

उसको मृत्युमा
शोकले निन्याउरा भए
झुप्राहरू
नियास्रोले सुस्ताए
दलानहरू
अनुहारहरू फुङ्ग उठाएर
बेहोसझैं भए
गाउँका गोरेटाहरू
सहयात्रीहरूको एक हुल झैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचाको नालीमा फालनहालेको
चेतनाको माछापुच्छ्रे
अस्तिमात्र ढल्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।

सुनेको थिएँ–
माटोको मायामा जून फल्छ
विवेकको छातीमा घाम उदाउँछ
इतिहास लेख्न सकुन्जेल
जून मर्दैन
घाम मर्दैन
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्युपछि पनि बास आउँछ
घाम र जूनमा रूपान्तर भएर
सृजनाको एउटा बोत्री
अस्तिमात्र निभ्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।

हाम्रो एकता, वर्ष १, अङ्क २, ०६१ असोज

Matrika Pokhrel – Sabai Kura Sancho Hunechha

मातृका पोखरेल – सबै कुरा साँचो हुनेछ

सबै कुरा साँचो हुनेछ त्यसबेला,
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्,
आकाशबाट चराहरू लड्नेछन्,
र, भ्यागुताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्,
आजका मितिको टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरू,
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको,
सुदूर यात्रा तय गर्नेछ,
लाटोकोसेराहरू,
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्,
र, इतिहासको क्रुर नियति बोकेर
वर्तमान बगिरहनेछ
अनाथ रगतको बागमती ।

* * * *

हो, सबैकुरा साँचो हुनेछ त्यसबेला,
अस्पतालभित्र डाक्टरहरू
जीवित र मृत मान्छेहरू
छुट्याउन असमर्थ हुनेछन्,
वर्षाको भेलले,
देवीथान भत्किएको बेला
सिद्धान्त रक्षाका लागि
अदालतमा मुद्दा लड्नेछन्
निरीह राजनीतिज्ञहरू,
मेरो गाउँको निश्चल कुवामाथि
फेरि घोलिने छन्
एसिडका रङ्गीबिरङ्गी पोकाहरू,
हो, त्यसबेलासम्म
यो सब भइरहनेछ,
जबसम्म बग्ने छ–
हाम्रो रगतमा पहेँलो रङ्ग,
सबै कुरा सामान्य हुनेछ त्यसबेला
जबसम्म देखिने छ
हाम्रो आँखाको पर्दामा
कात्रोको जस्तो पहेँलो रङ्ग,
हो, त्यतिबेलासम्म
सबैकुरा साँचो हुनेछ ।

Matrika Pokhrel – Ma Desh Padhdai Chhu

मातृका पोख्रेल – म देश पढ्दैछु

म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ्दैछु ।
देशलाइ पढ्दै जाँदा –
अक्षरहरू भित्रका पनि अक्षरहरू पढ्दैछु
सजिएका शान्तिका अक्षरहरू भित्र
किरिङ मिरिङ
अशान्ति र कोलाहलका चित्रहरू पनि हेर्दैछु ।
न्यायका शब्दहरू पढ्दा
जेल, नेल, बन्दुक र पुलिसका
यातनाहरू पनि भोग्दैछु ।
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।

देश गहिरिएर पढ्दैछु ।
इतिहासका शब्दहरूभित्र खोज्दै जाँदा
राष्ट्रभक्ति जस्ता शब्दहरूभित्र
कोशी र जङ्गल बेचिएका
सहिछापहरू पनि देख्दैछु
देशलार्इ बनधकमा राखेका
सम्झौताका आला अक्षरहरू पनि देख्दैछु
जनभक्तका कानूनभित्र
युवाका रगत बेचिएका
राता टाटाहरूमा एक थोपा आँसु पनि खसाल्दैछु
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ्दैछु ।

Matrika Pokhrel – Delhi Ka Machchhar Haru

मातृका पोख्रेल – दिल्लीका मच्छरहरु

उद्वेलित आगोका लप्काहरुको
चेतना बोकेर
हामी बारम्बार
बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं
तर प्रत्येक दिन
मक्किएको सन्धीको ठूटोमा बास बसेर
निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन्
दिल्लीका मच्छरहरु ।
***

एक भाँडो उज्यालो बोकेर
घरभित्र चियाउन पनि नपाइने
उसका लागि सधैंसधैं
कोठाहरु अँध्यारै राख्नु पर्ने
इतिहासले छादेका फोहोरहरु
फाल्ने रहर बोकेका आँखाहरु
ओछ्याउन पनि नपाइने,
स्वाधीन माटोको बास्ना
खोज्ने नाकहरु
बोक्न पनि नपाइने
बाक्लो स्वेटरलाई छेड्ने सुँड बोकेर
हर्दम यतै घुमिरहन्छन्,
हाम्रा बस्तीहरुको शान्त छातीमा
आतङ्कको दुन्दुभी बजाइरहन्छन,
दिल्लीका मच्छरहरु ।
***

मधेशको गर्मीमा मात्र होइन
हिउले ढाक्ने चिसा लेकहरु सम्म
बेग हानेर पुग्ने योजना कोर्छन उनीहरु,
सगरमाथाकै काखमा पुगेर
हाम्रो अभिमानलाई डस्न खोज्छन उनीहरु,
स्वाभिमानको एक झप्को निद्रा
सुत्न पनि दिंदैनन्,
आत्मसम्मानको एक झल्को सपना
देख्न पनि दिंदैनन्
हामी लिपुलेकबाट
एकजोडा सेता परेवाहरु उडाउन खोज्छौं
उनीहरु हाम्रा परेवाहरुका प्वाँखमा
विषालु सुँडहरुले चिल्छन्
हामी यतिबेला
आफैभित्र पनि प्रश्न कोरिरहेका छौं
किन पालीरहेछन् मान्छेहरु?
दिल्लीका मच्छरहरुको घार
हामी घृणाले निथ्रुक्क भिजेका छौं
यो युग अझै
विवेकको युग होइन जस्तो,
यो युग अझै
स्वाभिमानको युग होइन जस्तो,
यो युग अझै
स्वतन्त्रताको युग होइन जस्तो,
यो युगलाई,
निर्धक्क/निर्लज्ज हमला गरिरहेकाछन्
दिल्लीका मच्छरहरु ।