Prabhat Aryal – Baato

म आँखा खोलेर हेर्छु
बद्लियेछ यो ठाउँ
पुरानो त केवल म मात्र रहेछु
हिजो पनि येही थिए म, भोलि नि हुनेछु
छैन कुनै गन्तब्य मेरो
न त सुरुवात छ, न त अन्त्य मेरो

मुटु पनि छैन
छैन कुनै आवाज नै
केवल छन् त यी आँखा
जस्ले देख्चन कहानी हरेक बर्गका
केवल छन् त यी आँखा
जस्ले देख्चन कहानी हरेक बर्गका

म देख्छु फोहोर टिप्द्दै हिड्ने ति बालबालिका
टप्प परेर इस्कूल जाने भोलिका कोपिला
जीवन कस्तो उमेर एयूटाई , फरक ति समस्या
म देख्छु भाईसाथी संगै हास्दै चहलपहल गरेको
अनि उता हेर्छु, देख्छु भोक ले एयूटा भाई रोएको
म देख्छु लाखौ कमाउने ति सयोउ मान्छे
अनि सय रुपैया मा दिन काट्ने ति लाखौ मान्छे

जब रात पर्छ, म जागेकै हुन्छु
म सुन्छु रातमा डराउँदो आवाज एक्लै हिड्ने नारीको
घर नभई मेरै साहारामा रात काट्ने ति बैनीको
जीवन कस्तो, उमेर छुट्टै तर समस्या उस्तै
उनको मनमा मर्दको डर
अनि ति बैनी को मनमा, सानो घर को रहर

म देख्छु कयौउले अन्तिम सास लिएको
अनि कोसैले पहिलो चोटी सास फेरेको
म देख्छु थरीथरी का गाडी
म देख्छु मान्छे का ठुला सपना को भारि
म देख्छु जैले हुने त्यो रुवाबास
सुग्न्छु नसामा चुर भएका ठिटाको बास

अनि सोच्छु
पुरानो त केवल म मात्र रहेछु
सबैको सोच बद्लियेछ
मानबताको त के कुरा
म त केवल एयूटा बाटो हुँ
न त कुनै गन्तब्य छ मेरो

Kundan Sharma – Sadakai Sadak Ma

कुन्दन शर्मा – सडकै सडकमा

उफ्। सडक कहिल्यै खतम हुँदो रहेनछ
एकपछि अर्को बढ्ने
एकले अर्कालाई काट्ने।
सडक र यो हिँडिरहने विवशता
कतैबाट सराप पाएको हो कि ?
कस्तो यो मन, कहिल्यै नअघाएको।
थाकी–थाकी उठेका मेरा पाइलाले
सोधिरहन्छन्, अझ कता ?
यो थकाइ,
सबै जीउभरि सरिसक्यो
तैपनि म किन नअडेकी ?
सडककै छेउमा कुनै दिन
अन्तिम थकाइमा ढल्ने सत्य मेरो।
तर सडक अझ बढ्दै जाला
नटुङ्गीकन… ।
हैन, मैले किन टुङ्गिन जानिनँ त ?
टाढा–टाढा आँखा पुर्याएकी थिएँ
आफ्नो अन्त्य खोज्न,
नपाउँदा पनि
किन अघि बढिराखेँ त्यसै।
किन ? किन ??
किन र ???
सडक कहिल्यै खतम हुँदो रहेनछ
एकपछि अर्को बढ्ने…
म कहिल्यै अडिँदो रहिनछु
थाकेर पनि,
सधैँ नयाँ थकाइतिर लम्किने।
थाहा छ मलाई, अन्त्य मेरो
अन्त्यहीन सडकमा हुनेछ ।
अनि यात्राको यो विवशतालाई

घर, सहर र विश्व बनाई
सधैँ नयाँ अर्थ दिन खोज्छु।
नयाँलाई पुरानो पारी
फेरि नयाँतिर लम्कन्छु।
कसरी भनूँ म
मेरो हिँडाइ अर्थहीन छ ?
‘अर्थ’ खोज्नै त म हिँडिरहिछु—
यो रित्तो मनको,
यो हिँडिरहने विवशताको,
र ‘हो’ र ‘हैन’
दुई विरोधी सत्यले ठगिएको
जीवनको।
प्रत्येक ‘किन’ ले मलाई अघि सारेको छ,
म जहाँ थिएँ
त्यहाँ म छैन ।
म जहाँ छु
त्यहीँ भोलि हुनेछैन ।
‘किन’ को अन्त्य ‘अघि’ हुन्छ
अनि प्रत्येक ‘अघि’ ले फेरि ‘किन’ ल्याउँछ ।
सडक कहिल्यै खतम नहुने
म जहिले पनि हिँड्न खोजेर;
म जहिले पनि हिँडिरहने
आफैसँग हारेर ।
एउटै घेराले मलाई
बाँधिराख्न कहाँ सक्यो र ?
मैले बाँधिएर बस्नै पनि कहिले मानेँ र ?
सडक कहिल्यै खतम हुँदोरहेनछ
……………………………………
एकले अर्कोलाई काट्ने।
मैले सडक बनाएँ
हिँडिरहन— नयाँका लागि बढिरहन ।
तर मेरो प्रत्येक पाइलाअगाडि
फेरि यो तगारो किन ?
मलाई अड्याएर
किन मागेको विवरण मैसित,
मेरो हिँड्ने विवशताको ?
मेरो रित्तिँदै गएको मनको ?
र यो हाँसोउठ्दो जीवनको ? … ।

Raju Syangtan – Ram Bahadur Marga

राजु स्याङ्तान – रामबहादुर मार्ग

जब टेक्छु यो लमतन्न राजमार्ग
टेकेजस्तो लाग्छ
आपाको कुप्रो आङ

४० वसन्तअघि लक्का जवान हुँदा
गिट्टीमा सपनाको अलकत्रा घोलेर
बनाएका थिए रे आपाले यो मार्ग

ऊ त्यो जङ्गलको बीचमा
थोत्रो डोजरको पाटपुर्जासँगै लडिरहेको
पहेंलो टोपी
सायद मेरै आपाको हुनुपर्छ

त्यो पुरानो ट्याक्टरको टायरनेर
आधा डढेको हात्तीछाप चप्पल पनि
मेरै आपाको हुनुपर्छ

ऊ त्यही फ्याँकिएको क्रसरले
चुँडिलग्यो होला
मलाई तातेताते गराउने
आपाको दाहिने हात

हुइँकिन थालेपछि पुलमाथि मोटर
कति हिँडे होलान् तरुनी आमासँगै
पुलमुनिको बाटो
दुई रुपैयाँ भाडा नभएर

हिजो साँझ पिएपछि एक डबका जोस
आपा निस्केछन् राजमार्गमा
कराएछन् जोडजोडले,
‘साला को हो महेन्द्र भनेको ?
यो महेन्द्र राजमार्ग होइन
पूर्व–पश्चिम राजमार्ग पनि होइन
मैले बनाएको हुँ, मैले ’

बिहान ब्युझँदा टोल छिमेक
राजमार्गछेउमा लडिरहेको थियो आपाको लाश
किचिमिची पारेको थियो
वर्षौं भोट हालेको बुढीऔंला पनि

न कुनै मुचुल्का
न कुनै साक्षी
बेवारिस लडिरहेको छ आज
आँगनमा आपाको लाश

म गइरहेछु
मेरो आपालाई भेट्न
यो अमलेखगञ्ज
यो निजगढ
यो महेन्द्र राजमार्ग
पूर्व–पश्चिम राजमार्ग

तर,
तर किन भन्न पाउँदिनँ
रामबहादुर मार्ग ?

Nirajan Sapkota – Bato Birayeko Chitthi

निराजन सापकोटा – बाटो बिराएको चिट्टी

यो मनका असंख्य चर्चरौउदो घाउहरु…
कता गएर बिसाउ…खै कुन चौतारीमा मलम लाउने होला..
प्रजातन्त्र लोकतन्त्र …सप्ताह लगाएको झैँ नारा आए नारा गए
एक छिन् को रमझम…अनि जुनीभरिको सन्नाटा..
ठुला ठालुका भिम्कायी भासणहरु…
ति भासणभित्रका आसहरु…केहि भईहाल्छ कि भन्ने मनका आर्तनादहरु…
छोराको माला लगाएको रीत्तो तस्वीर…
कपाउदै काम्दै लेखिएको त्यो चिट्ठी…केहि भईहाल्छ कि भन्ने मनका आर्तनादहरु..
तर यो पाली संभोधन रास्ट्रपति जियूलाई पो हौ त..
इमेल को cc प्रधानमन्त्री जियूलाई पनि..
निकै प्रहरपो भए त..
खबर पाईएन..शायद हुलाकीले बिर्सियौ की..
ठिकै छ बाबु..नया खबर सुनाउ..सम्झन त राष्ट्रले पनि कहाँ सम्झियो र..
लौ बेस भो मनबाटै सिद्धै प्रतक्ष्य प्रसारण हुदै भयो…
हुबहु बाटो बिराएको चिट्टी…..

Basudev Adhikari – Anam Sadak Ki Thiti Sanga

वासुदेव अधिकारी – अनाम सडककी ठिटीसँग

बैभव चोर्न आएको होइन
न तिमीलाई बराल्न आएको !

म त पेरिसको
बैभव सुँघ्न आएको
विकास हेर्न आएको
सौन्दर्य प्युन आएको
मोनालिसासँग बात मार्न आएको
मसँग किन ततर्किएकी तिमी ?

म अङ्ग्रेज होइन
मैले पनि कनिकुथी अङ्ग्रजी सिकेर आएको
(सदा त नेपाली नै बोल्छु)
बाटो भुलेपछि
के गरुँ त तिमीलाई नसोधेर ?
अघि नै भनेँ नि
म तिमीलाई बराल्न आएको होइन
म तिम्रो भाषा बिटुल्याउन आएको होइन
म तिम्रो भाषाको गुबो मार्न आएको होइन
(हाम्रोमा त्यस्ता आउँछन्)
किन ततर्किएकी तिमी ?
किन मौन बसेकी
के के भनेर
मलाई आँखा तर्दै हिँडेकी ?