प्रमोद सारंग – मान्छे र नदी (कविता)
टाढिएर आफैँदेखि
चट्टान र खोंचहरूसम्म
डुब्दै र उत्रिदै गन्तव्यमा पुग्न
मान्छे नदी भएको हुन्छ !
सङ्ग्ल्याएर फेरि
धमिला सम्बन्धहरू
धोएर आँशु र हाँसोका दैनिकीहरू
आशाका उही पारिला
र, उज्याला दिनहरू कुर्दै
घामका न्यानो स्पर्शहरूमा
मान्छे नदी भएको हुन्छ।
शायद,
महासागरसम्म पुग्नु छ
मान्छे र नदीलाई
गाउँदै -गाउँदै दिनरात
संघर्षका आफ्नै गीतहरू !
ㅁ
(२०७१,पुष)
Tag: river
Damodar Pudasainee – Mai Khola Ko Tunwalo
दामोदर पुडासैनी किशोर – माइखोलाको तुवालो
तुवालोहरू
सालिक बन्ने अभियानमा छन्
तुवालोकै सहाराले
अक्षर र आवाज कोर्न खोज्दैछ समय
अकस्मात बिजुली चम्केको छ
नरिवलघारीका चार दिशामा
चट्याँग ,
बेसार फूल बनेर फक्रेको छ
आवाजहरू
चियाका बुटा उम्रन खोजेका छन्
जोगमाई र देउमाई तिरबाट झरेका नदीहरूका
तीर्खा मेटाउँन खोज्दैछन्
समथर फैलेका मनहरूले
घामसँग लेखापरीक्षण गराउँन
डोकोमा हरहिसाब बोकेर
धमिलिँदै सँलिँदै
म्याराथुनरत छ माइखोला
माइखोला वारिपारी ओहोरदोहोर गर्नेहरू
निर्माण गर्न खोजिरहेछन्
जिन्दगीको सम्पत्तिसाली वासलात
उत्तिसघारिबाट आँखाहरू
ब्युँझिरहेकोबेला
बेसारको नयाँ चित्र
निर्माण गरेका छौँ तिमीले र मैले
तुवालोको आधारभूमिमा
अनुरागको छुर्पी चुस्न खोज्दैछौँ दुबै मिलेर
दुबै किनारहरू
नदी बन्ने अभियानमा छन्
एकाकार रूपमा
अम्रिसोघारी माझमा
उठ्न खोजिरहेछ
ध्वनीको मानचित्र
त्यही मानचित्रमा खोज्दैछ एउटा माझी
डुँगा चढनेहरूको
एक ढाकर सुस्केरा
माइखोलाकै दायाँ बायाँ त हो
हामीहरू अलमलिएको पनि
चियाका मुहुनाहरूमा
सुस्केराहरूको मेला चलिरहेछ
कुरूसका प्रत्येक डोबहरूले
चित्र कोर्न खोजिरहेछन्
चित्रमा किन कोर्न सकेका छैनौ
नयाँ गोरेटाहरूका
नयाँ अम्मलका कथाहरू
धूलाबारीमा अलिकति जमिन दिनु
मैले उमार्नेछु
तुवालोका बिराट बिरूवाहरू
-२०७५ माघ २० गते आइतबार
माइखोला,इलाम