दियेश रत्न शाक्य – राजमार्गमा उभिएर
उनी धर्ती हून्
अलिकति ढलान
अलिकति अलकत्राले छोपेर
फेरिन सक्दैन
आमा मनले भरिएको उनको कोमल छाती
जहाँ आनन्दलय समातेर
गुडिरहेछन् सवारी वाहनहरू
बोक्दै गन्तव्य -रसपानका यात्रुमनहरू
सडकको नाउँमा
उ साझा आँगन हो
समावेशी पात्रहरूको खुल्ला नाट्यशाला जस्तो
सम्मान थाप्न नायकहरू
आउने बाटो यही हो
अपमान छल्न खलनायकहरू
भाग्ने बाटो यही हो
खर्पनभरि तरकारी र जुजुधौको
बिहानी साइत बोकेर
सहर पस्दै गरेका किसानहरू
झोलाभरि भविष्यको नक्सा बोकेर
स्कुल लाग्दै गरेका नानीहरू
सबैले नाप्ने बाटो यही हो
हो यहीं भेटिन्छन्
भिक्षाटन हात फिंजाउँदै
बिरहको सारङ्गी बजाउनेहरू
मर्निङ वाक वा म्याराथनका
स्वस्थ पदचापहरू
बधाई टोप जस्तै पड्किरहेका
फौजी जवानका हिंडाइहरू
बिना कुनै सर्भिस चार्ज
चाउचाउ ,जुस र मिनरल वाटर
पस्किरहेका सडकछाप वेटर/वेट्रेसहरू
लिपस्टिक र आँखीभौ झैं खुलिरहेका
सेता,पहेंला र जेब्रा क्रसिङ्का धर्साहरू
किन हो यसलाई मेट्ने
उदण्ड प्रयास गरिरहेछन्
एउटा बेमौसमी जुलुस
उ साक्षी हो
इतिहास उन्ने
प्रत्येक घटनाहरूको
प्रत्येक दुर्घटनाहरूको
र उसले साँचिराखेको छ
सडकभरिको
सीमान्तकृत /बहिष्कृत/बलात्कृत आवाज
उ पुर्याउन चाहन्छ यसलाई
सर्वोच्च मुकामसम्म
लोड गर्दै कुनै हुलाकी गाडीमा
तर अफसोच
उनीकहाँ आइपुग्छ केवल
कुनै महानगरबाट दया गरेर पठाइएको
फोहोरको कन्टेनर
र उनका सूचनाका भण्डारणहरू
सदरमुकाम होइन
फोहोरसंगै डम्पिङ साइट पुगेर पुरिन्छ
बस् एउटा सम्बन्ध
घटना र सुचनाबीच टुट्छ
घटना र इतिहासबीच टुट्छ
घटना र न्यायबीच टुट्छ