प्रमोद सारंग – आगो (कविता)
पेटमा आगो लिएर
जन्मिन्छ मान्छे-
भोक रोग र शोकको ।
ऊ चुल्होको आगो बालेर
पेटको आगो निभाउन
घर बाहिरको आगोसँगै हिँडिरहन्छ
पृथ्वीको कुना- कुना !
ऊ शान्त हुनै सक्दैन
जबसम्म पुग्दैन ऊ
चिताको आगोसम्म !
र, पिउदैन –
महाआत्मामा विलय भएर अथाह सुखको लप्का !
साँच्चै मान्छेको जीवन
आगोको वरिपरि घुम्दो रहेछ।
(२०६४,फागुन )
प्रमोद सारङ्ग – शहीदको रगत
शहीद
ढले
मरे
गए।
तर
रगत
बाँचिरहेछ
कराईरहेछ
उठिरहेछ !
र,
खोजिरहेछ
शान्ति
अझै
यही
माटोमा !
ㅁ (२०७५, माघ )
प्रमोद सारंग – कविताको मृत्यु
कविता भोको हुन सक्छ
तर कविताको मृत्यु हुँदैन !
कविता सडक, गल्लीहरूमा देशभरि चाहारेर
आन्दोलनको भीडबाट हराएको हुन सक्छ
देशको अनुहार हेर्न फन्को मार्ने
युद्दको सारथि भएको पनि हुन सक्छ
घाम हुन सक्छ , पानी हुन सक्छ ।
एकदिन कविताको त्यागपुञ्जमा रूमल्लिएर
फिस्स मर्न सक्छ कवि
तर कविता मर्दैन/ मर्न सक्दैन
कवि मरेर जान्छ
तर कविता बाँचिरहन्छ युगौँयुग ।
ㅁ (२०७६, जेठ )
प्रमोद सारंग – अत्तर गुलाफ ( कविता)
म यही बतासमा अल्झिरहेको
एक मुस्कानी घामको ओठ
खोजिरहेछु पलपल वसन्तको न्यानो स्पर्श
र, प्रेमानुरागको प्रेमिल महक !
म अजयतृप्तिको प्रणय लहर
तिम्रो माधुर्यताको अनमोल कोलाजमा
भेट्न सकूँ म, रम्दै-रम्दै
जीवनको अनन्त पराग !
निर्मल नयन ओछ्याउँदै
ईन्द्रेणी मनको त्यो लालित्य साटिरहने
ए ! मायालु, भन तिमी को हौ ?
म तिम्रो ओठमा फुल्न चाहान्छु।
ㅁ (२०७७, पुष )
प्रमोद सारङ्ग – एउटा कविको बयान
कुनै गरिब देशको भोको कविले
जिन्दगीदेखि हारेर
आत्महत्या गर्नुअघि लेखेको
सुसाईड नोटजस्तो किन छ ?
यो देशमा उम्रिदै गरेका
कविताको आवाज !
बेलुकी हतार- हतार घर फर्केपछि
शुद्ध पागल भएर किन लेखिरहन्छ
भोक, महङी, लोडसेडिङ्ग
र, सरकारको विरुद्धमा निरन्तर
दुःखले पिल्सिएको कविता ?
एउटा कविले देहत्याग नगरूञेलसम्म
कति लेखिरहन्छ उदासी कविता ?
ㅁ (२०६४ ,जेठ )
प्रमोद सारङ – गाउँमा (कविता )
जीवनको अन्तिम प्रार्थना
गरिरहेका मान्छेहरू गाउँ पुग्छ्न्,
जीवनदेखि थाकेर
अथवा, काल कुरेर बसिरहेका मान्छेहरू पनि
गाउँ नै पुग्छन् !
मेसिनसंगको युद्धमा हारेर
बैंसमै बाकसमा फर्केको लास पनि गाउँ नै पुग्छ !
शहरबाट संघर्षमा बरालिएका रहरहरू
र , बंचेखुँचेको आश पनि गाउँ नै पुग्छ।
के आपत -विपत, महामारी!
के जन्ती ,के मलामी?
टुप्लुक्कै गाउँ नै आइपुग्छन् मान्छेहरू
गाउँ छोडेर सदाका लागि जानेहरू पनि
यात्राका अनन्त घुम्तीहरू बोकेर
गाउँतिरै फर्किरहेका हुन्छन्
हैन, के छ त्यस्तो खजाना,
टाढिदै गएको गाउँमा ?
ㅁ
(२०७६, मंसीर )
प्रमोद सारंग – मान्छे र नदी (कविता)
टाढिएर आफैँदेखि
चट्टान र खोंचहरूसम्म
डुब्दै र उत्रिदै गन्तव्यमा पुग्न
मान्छे नदी भएको हुन्छ !
सङ्ग्ल्याएर फेरि
धमिला सम्बन्धहरू
धोएर आँशु र हाँसोका दैनिकीहरू
आशाका उही पारिला
र, उज्याला दिनहरू कुर्दै
घामका न्यानो स्पर्शहरूमा
मान्छे नदी भएको हुन्छ।
शायद,
महासागरसम्म पुग्नु छ
मान्छे र नदीलाई
गाउँदै -गाउँदै दिनरात
संघर्षका आफ्नै गीतहरू !
ㅁ
(२०७१,पुष)
प्रमोद सारङ – विहानी र कविताहरू
जब चराहरूले गाउँछन्-
जागृतिका गीतहरू
गुन्ञाएर हार्दिकताको आलाप
प्रेम र उत्साहको सिन्दुरे विहानीमा
त्यसघडी तिमीले
आँगनमा फुलेको गोदाबरी, सयपत्री पनि नियाल्नू
र, सुन्नू एउटा तरङ्गीत धून –
कसरी बोल्छ विहानीले
शितको थोपा- थोपाबाट
सुन्दर कविताको ताजगी !
जस्तो कि एउटा उल्लासको
उदय भईरहेको हुन्छ
जीवनको स्नान गर्दै प्रातगानमा
जहाँ, स्नेह र प्रेमको ताजा सुगन्धले
समातिरहेका हुन्छन् –
जीवनका अनन्त खुशी र गहिराईहरू !
(२०५७, असोज )
प्रमोद सारंग – नपर्ख
नपर्ख,नपर्ख !
कतिखेर फुत्किन सक्छ
हातबाट समय!
कति खेर उड्न सक्छ
तिमीभित्रको बोलिरहने चरा
अङालेर सारा खुशी
भेट जिन्दगीलाई !
हेर त!
हिजो मस्त फुलेको फूल
आज भूँइमा झरेको छ।
आज फुलेको फूल
भोलि कतिखेर झर्न सक्छ ?
कसलाई थाहा छ र?
कुन घुम्तीमा पुगेर
रोकिने हो हाँस्ने रहर !
नपर्ख ,नपर्ख !
(२०७७,जेठ)