Nibha Shaha – Mansara

निभा शाह – मनसरा

पसिना बगेर मात्र
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा
रगत बगेर मात्र
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा
जबकि रगत-पसिनाले नै त
बदलिने हो दुनियाँ
तर किन बदलिएन मनसरा ?
कहिल्यै आगो भर्भराएको सुन्यौ मनसरा ?
आफूले चिरेका दाउरा
अरुले बालेपछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
आगोको आवाज सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा-
आफूले खोरिया खनेको खेत
अरुकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
आगो भर्भराएको सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा-
आफूले बोकेको बन्दुक
अरुले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
आगो बोलिरहेछ मनसरा
आगो भर्भराएको सुन्यौ मनसरा ?

(श्रमिक महिला दिवस १०० वर्षपुगेको उपलक्ष्यमा लेखिएको यो कविता विश्वभरिका श्रमजीवी मनसराहरुमा समर्पित ।)