Tanka Subba – Yessima Tokne

टंक सुब्बा – यस्सिम्मा… टोक्ने

ठीक मेरैसम्मुख उभेको सालको बूढो रुख जस्तै
कति उभिनु ठिङ्ग स्थिर आङको खोपडीमा !
बेगवान मनहरु हुइक्याउँदै,
झापड हान्ने एक झोक्का बतासले
‘झप्पु’ हानेर जब कतै भाग्छ,
तब गाली गर्छु ‘तथानाम’ त्यसलाई
अनि मुर्मुरिन्छु रिसले चूर भएर

खै ! कता गयो त्यो पनि आ’ छैन सदाझैं ?
कति ठडिनु छेउमै अग्लिएको टावरसंग दाँजिदै ?
उमेर मात्र तन्किन्छ त्यो टावरको तलाभन्दा धेरै,
त्यसैले लाग्छ छलूँझैं बाटो कहिले, केही ‘यस्सिम्मा… टोक्ने परिस्थितिलाई ।

सकिए जस्तो छ यात्रा पनि, किनभने, प्रत्येक दिन र रात
काट्दै छु एउटै आयतनमा पत्थरको सालीक झैं,
हिउँदको कक्रिने जाडो र वर्खाको प्रचण्ड गर्मी
ताप्ने गरेको छु यथास्थानबाटै,
देख्छु पर पहाडको रङ्ग मौषमले पोते अनुसार
मात्रै स्पर्श गर्छु दृष्टिका हातहरुले त्यसलाई
र हरदिन उकाली-ओराली गर्ने दुई पाईला
सोँच्छु अब त्यहा पुग्ने छैन,
किनकि, बाँधिएको छु -फन्फनी अचेल
‘यस्सिम्मा… टोक्ने वाध्यताले ।

आफ्नै शिरमाथि जून-घाम र ताराहरु उदाएर आउनु
त्यो महत्वको विषय किन हुदैन र ?
तर सिमलको रुखझैं जिङ्गृङ उभेर
समय हाम्फाल्दै कुदेको हेर्नु बाहेक -फुर्सद छैन मलाई ।
मान्छेहरु हूलका हूल दोहोरीलत्तमा
चौतर्फी हाँकिन्छन् -उद्देश्यहरु बाँधेर
म भने, थिचिएको छु नउठ्ने गरी,
मेरैअगाडि घरको खाँबो-दलिनले थिचिएसरी
‘यस्सिम्मा… टोक्ने दायित्वले ।

यो ठाउँमा उभिन बेकार सोँचौ भने
थुप्रै-थुप्रै सपनाहरु पालेको छु यहिँबाट,
थुप्रै-थुप्रै सपनाहरु छामेको छु यहिँबाट,
तसर्थ मूर्तीको नियतिलाई कुल्चेर
प्रयोजन खोज्छु चलायमान क्षणहरुसंग
र अनुवाद खोज्छु जीवनका सही मार्गहरुमा
अन्तराल-अन्तरालहरुमै
तर यो गति, जति धकेल्न खोजे पनि ठाउँको ठाउँ
सालको बूढो रुख जस्तै मक्किँदै गएको छु म,
मेरो छेउको त्यही टावर जस्तै रित्तिँदै गएको छु म,
‘यस्सिम्मा… टोक्ने समयसंग ।।

Modnath Prashit – Jaba Chalchha Huri

मोदनाथ प्रश्रित – जब चल्छ हुरी

जब चल्छ हुरी, जब चल्छ हुरी, जब चल्छ हुरी
घामको ज्योति छेकिरहेका काला बादल फाट्छन
मै हुँ भन्दै सिँगौरी खेल्ने रुखको धूलो चाट्छन्
मस्त निंदमा शान्त सुतेका सागर पनि उर्लन्छन्
ज्वारहरुको थप्पड खाई पहरा पनि भत्कन्छन्

कठयाङ्ग्रिएका हिउँका डाँडा गाल्दै हिँड्छ हुरी
बाटो छेक्ने बार र गौंडा ढाल्दै हिँड्छ हुरी
फोहेर मैला घुर बर्ढार्दै गुनुनुनु हिँड्छ हुरी
उलटफेरका गाथा गाई हुनुनुनु हिँड्छ हुरी

आयु पुगेका जीर्ण कथाका पात-पतिंगर उड्छन्
तात्छन् जंगल कलिला राता नयाँ आँकुरा फुट्छन्
खेद्दै हिमऋतु बसन्तलाई स्वागत गर्छ हुरी
नौलो सिर्जन निम्ति प्रलयको गाउँछ गीत हुरी

Manu Lohorung – Awahan

मनु लोहोरुङ् – आव्हान

समथरबाट पहाड चढ्दैमा
सगरमाथा पुग्न सग्दैनौ
पहाडबाट तराई झर्दैमा
मेरिआना देख्न सक्दैनौं
अहंकारको बायुपंखी घोडामा
आफ्नै गोहोमा अल्मलिदैछौं
हामी एउटा मूलबाटो निस्किने
गोरेटो मै अटेस मटेस गर्दैछौं ।

इतिहासको पाना च्यातेर
गर्‍याम् गर्‍याम् चपाउँदैछौ
हिजोको थोरै उज्यालोको
आकृतिको भित्तालाई
गर्ल्यामगुर्लुम ढाल्दैछौं,
समावेशीको बिगुल फुक्दै
आफ्नै संस्कृति र समाजमा
ध्वनि प्रदूषित बनाउदै छौं,
आफ्नो रंग खोज्ने निहुँमा
आरोपको हिलो छ्यापा छ्याप् गर्दैछौ ।
देउता पुज्ने गरेका ढुङाहरुलाई
बेकामे भनेर अहिले नफ्याकौं,
काम लाग्छ ढुंङ्गा-माटो दुवै
किनकि
यो धर्तीको श्रृजना एउटाले मात्र हुदैन
म,अनि हामी सबै यसमा रहनुछ
खडेरी मनको मरुभूमिमा कहिले
एकता र राष्ट्रियताको बीउ उम्रिदैन
चाहे पूर्वको कञ्चनजङ्धा होस या
पश्चिमको मानसरोवर-
हाम्रो लागि उत्तिकै
सङ्लो र अग्लो हुनु जरुरी छ
अनि मात्र सगरमाथा चिनाउन सक्छौं ।

शित्तलपाटी-६ संखुवसभा,हाल: इजरायल

Rupesh Rai – Bibhransha

रुपेश राई -विभ्रंश

प्रत्येक दिन
थपिने आँखा, नाक, कान
अनि चलमलाउने प्राण एउटा आकृति
लिएर निस्कन्छ हातखुट्टा
बोकेर, मान्छे

त्यसलाई
मान्छे, भनी हाल्न त भएन नि !

यदि
आकृति अर्कै लिए….!

ए,
होइन पो रहेछ ;
भन्नु कति सजिलो हुन्छ, नि ?

त्यसरी नै
आउँछ जान्छ क्रियकलापहरू
हास्नु र रूनुको, समयका आँखा र
मुखबाट तिमीले भनेको
मान्छे गिज्याउँदै

भइरहन्छ
मान्छेको जन्मजस्तो
अमान्छेको पनि अनि हत्तु भएर थाक्छ
उसको मर्यादा, प्रचलित मान्छेको
हास्ने प्रवृतिसँग

त्यसबेला
दुख्छ उसको घृणा कुनि कस्तो
मनको कुनामा चेप्टिएर
बसेको भावनासँग

पिरोलिएर
विभ्रंश हुन्छ अनुहारमा
लतपतिएको भेदभाव पनि अनि आँखा
च्यातेर निस्कन खोज्छ
भित्रको दृष्टिसमेत

स्खलित
भएको ईखको पिसाब
आक्रोशले ओढेको छालाबाहिर
अन्धा भएर दगुर्छ, समाजको पेरिपेडमा
छरपस्टिएको ब्रेल वर्णमाला
छाम्दै

लुछालुछ
हुन्छ तेरो र मेरो मान्छे, अमान्छेको
घरमा, अनि फेरि भेदभावको वीर्य
छर्दै डुलिबस्छ मान्छेको
आकृति ।

Ajaya Paudyal – Aba Balla Ta Shuru Bhayo

अजय पौड्याल – अब बल्ल त सुरु भयो अझै बांकी छ

अब बल्ल त सुरु भयो अझै बांकी छ
आँखा को गाजल घोलिएर गालामा आउन
अझै बांकी छ
कालो बादलले घमाईलो आकाश छाउन
भन्छौ भने अझै सुरू नै नगरौं
माया मात्र छैन यो संसारमा टेन्सन पाऊन

अब बल्ल त सुरु भयो अझै बांकी छ
कालो अंध्यारो रातमा एक्लै बिरह गाउन
अझै बांकी छ
तड्पिन,एक छाक खान अनि लाउन
भन्छौ भने यो बाटो नै नहिडौं
माया धितो राखी सकिंदैन धुरी छाउन

अब बल्ल त सुरु भयो अझै बांकी छ
शहरको भिडमा आफ्नो अस्तित्व पाउन
अझै बांकी छ
समाजमा पनि एक चिनारी बनाउन
भन्छौ भने यो गृहस्तीनै नगरौ
तर बिना तिम्रो साथ म जिउन त के
मर्न पनि पाउन्न

Bhupin Byakul – Kurup Kabita

भूपिन ब्याकुल – कुरूप कविता

एक्लै कति
सुन्दर भएर बसिरहोस कविता

एक्लै कति
सौन्दर्यको एकोहोरो प्रेमी बनिरहोस कविता

आज त्यसलाई
कुरूप पार्न मन लागिरहेको छ !

सबैभन्दा कुरूप राज्यसत्तामा पनि
सबैभन्दा सुन्दर देखिँदो रहेछ कविता

सबैभन्दा फोहोर
हिंसाको समुद्रमा नुहाएर
सबैभन्दा सफा भएर निस्कँदो रहेछ कविता

आज त्यसलाई
कुरूप पार्न मन लागिरहेको छ !

आउ प्रिय कविहरु
यसपल्ट कवितालाई
सुन्दरताको दासताबाट मुक्त पारौं
कलाको अनन्त बन्धनबाट मुक्त पारौं
र हेरौं
कबिताको बत्ति निभेपछी
अझ कति अंध्यारो देखिँदो रहेछ दुनियाँ
अझ कति खाली हुँदो रहेछ रिक्तता

के अन्तर छ
मन्दिर र बेश्यालयको नग्नतामा
के अन्तर छ
संसद भवन र आर्यघाटको दुर्गन्धमा
के अन्तर छ
न्यालय र मासु पसलको क्रुरतामा
यिनीहरुकै पर्खालबाहिर
सबैभन्दा इमान्दार भएर उभिँदो रहेछ कविता

आज त्यसलाई
कुरूप पार्न मन लागिरहेको छ !

आउ प्रिय कविहरु
आजै कबिताको मृत्यु घोषणा गरौँ
र हेरौं
झन कति जीवन्त देखिँदो रहेछ
कबिताको लासमाथि जन्मिएको कविता

हेरौं
कबिताको मृत्युमा खुसीले
कुन हदसम्म बौलाउँदो रहेछ बन्दुक

कति टाढासम्म सुनिँदो रेहछ – सत्ताको अट्टहास
र कति उदास देखिँदो रहेछ – कलाको अनुहार

सुन्दर कबिताहरु लेख्नलाइ त
सुन्दर समय बाँकी नै’ छ
किन आज लेख्न मन लागिरहेको छ
समयको अन्तिम लहरसम्म नलेखीएको
सबैभन्दा कुरूप कविता

जसरी बन्दुकले लेख्छ
हिंसाको कुरूप कविता सहिदको छातीमा …

एक्लै कति
सुन्दर भएर बसिरहोस कविता !

Lekhnath Paudyal – Bibek Batikako Sanu Phool 1

लेखनाथ पौड्याल – विवेक-बाटिकाको सानू फूल (क)

केही विद्वान कहन्छन्
ऋषिमुनितकले
ब्रह्माचिन्हू छ गाह्रो ।

माया-जञ्जाल जान्ने
विषयकन कुनै
ठान्दछन् उग्र गाह्रो ।

भन्छन् कोही महात्मा
पुरुष पुरुषको
भाग्य जान्नू छ गाह्रो ।

कोही रोएर भन्छन्
कुटिल मतलबी
मित्र चिन्हू छ गाह्रो ॥

Birbahadur KC – Mero Yatra Jari Chha

बिर बहादुर के.सी. – मेरो यात्रा जारी छ

म त क्रान्ति योद्धा हु
क्रान्तिको गर्भबाट जन्मिएको
म त लडाकु सिपाही हु
भिषण युद्ध जितिरहेको
मैले रगतसग बाचा गरेको छु
मैले जनतासग कसम खाएको छु
मेरो उद्देश्य भन्नु नै मुक्ति र स्वतन्त्रता हो
मेरो चाहना भन्नु नै क्रान्ति हो
क्रान्तिबाट शान्ति जन्माउन
मैले बुद्धसगं पनि सम्झौता गरेको छु।
त्यसैले, हातमा हात जोड्न
सहमत बन या नबन
तिम्रो सहमति बिना पनि
मेरो मुक्तियात्रा जारी रहने छ
मेरो क्रान्तियात्रा जारी रहने छ।

म त हिमालको छोरो हु
सगरमाथाले जन्माएको हो मलाई
म त आरोही हु
कयौं हिमाल चुमिसकेको छु
मैले सगरमाथा चुम्ने सपथ खाएको छु
मैले सगरमाथा हसाउने प्रण गरेको छु
मेरो सपना भन्नु नै आरोहि हो
मेरो विपना भन्नु नै आरोहण हो।
सगरमाथाको शिरमा विजयको साइरन बजाउन्
मैले पासाङल्हामु र आङसिरिं सग सम्झौता गरेको छु।
त्यसैले, गतिमा गति भर्न
सहमत बन या नबन
तिम्रो असहमतिको कुनै प्रवाह नगरी
मेरो सगरमाथा आरोहण जारी रहने छ।

म त उज्यालो ज्योतिष कण हुँ
आगोका लप्काबाट जन्मिएको
म त तातो लाभा हुँ
ज्वालामुखीबाट फुटेको
मैले संसार उज्यालो पार्ने संकल्प लिएको छु
मैले अध्यारो बढार्ने दृढता व्यक्त गरेको छु
मेरो भावना भन्नु नै उज्यालो हो
मेरो कामना भन्नु नै कालोको अन्त्यष्टि हो
किनकी मैले रावणहरु मार्न
रामसगं सम्झौता गरेको छु
त्यसैले, काधमा कांध जोड्न
तयार होउ या नहोऊ
तिम्रो तयारी विना
मेरो उज्यालोको खोजी जारी रहने छ।
मेरो रावण मार्ने चाहना पुरा हुने छ
मेरो संकल्पको यात्रा जारी रहने छ।

म त जितवीर हु
कयौं हारबाट जन्मिएको
मत रक्तविज हु
रगतका थोपा थोपाबाट जन्मिएको
मैले जित्नको लागि बलिदान गरेको छु
मैले दुनिया बदल्नको लागि उत्सर्ग गरेको छु।
मेरो उद्देश्य पूर्णजित हो
मेरो यात्रा नै सफलताको लागि हो
किनकि मैले जित्नको लागि सम्झौता गरेको छु।
त्यसैले, आऊ या नआऊ
तिम्रो अनुपस्थिति मै
मेरो जितको ढोका खुल्ने छ।
कदममा कदम मिलाऊ या नमिलाऊ
तिम्रो कदमको अग्रता बिना
म शिखर चुम्न सफल हुनेछु।
विजय सफलता
उज्यालो सुन्दरता
.अनन्त, अनन्त सम्म
निरन्तर अविरल र अविचल
जारी रहनेछ मेरो विजयको यात्रा।

Kumar Simkhada – Ko Doshi Chha

कुमार सिंखडा – को दोषी छ?

‘देश अन्धकार भो
गाउँ निष्पट्ट भो ‘

‘यो धमिलो गाउँ
यो अँध्यारो ठाउँ
कसरी हिँड्ने? ‘

‘अँध्यारैमा सल्बलाउनेहरुबिच
अँध्यारैमा निदाउनेहरुबिच
कसरी जिउने?’

भन्ने हामी,
भाडाका ट्युवलाइटले आँखा देख्नेहरु!
अन्धकार देख्नमा को दोषी छ?
अन्धकार देखिने देश?
या, अन्धकार देखाउने हाम्रो कालो चश्मा?

(अनेसास जापानद्वारा आयोजित भानु जयन्ती २०६५ मा वाचित)

Chaitanya Adhikari – Naya Saal Ko Jutta

चैतन्य अधिकारी – नयाँ सालको जुत्ता

नयाँ सालको संघारमा
एउटा खिन्न मान्छे जस्तै
ठिङ्ग उभिएको छ कोही
असमंजस, दोधारमा
लज्जा आधा अनुहारमा
आशा आधा अनुहारमा

आफ्नो गोडामा लगाएको
फित्ते चप्पललाई देखाउंदै
ऊ भन्छ –
यो साल नयाँ बुटजुत्ता लाउँछु कि ?
दह्रो खुट्टा हिंड्न पाउँछु कि ?
पुरानो जुत्ता एम्बुशमा खस्यो
हिंडिरहेको बाटो हठात् धुवाँमा फँस्यो
नपत्याए हेर,
यी पैतालाभरि आगोले पोलेका डामहरू!

यसपालिको बुट जुत्ता
मागेर नपाउने खालको हो भनेका छन्
आफैंले सिलाउने खालको हो भनेका छन्
सिउनेहरु भने
पिउनेको आनन्दमा झैं मस्त देखिन्छन
सियोसंग खेलिरहेका भेटिन्छन
कतै घोचाघोच गरेर
रक्ताम्य पार्ने त होइनन जताततै ?

यिनीहरुले नै हो,
यसपालिको बुट जुत्ता
टलकदार चमकदार हुन्छ भनेका,
टाला टाला मिलाएर
छाला छाला मिलाएर
रंगीबिरंगी बन्छ भनेका,
तलुवा एउटै छालाको चाहिन्छ भन्ने पनि छन्
त्यस्तो कहाँ पाइन्छ भन्ने पनि छन्
उफ! लाउनेका भन्दा बनाउनेका सुर्ता !

नयाँ सालको संघारमा
घाउमा लगाउने टेप जस्तै
पटक पटक उप्काउँदै टाँस्दै गरेको
एउटै मात्र तिथि-मिति भएको
अरु कुनै चाडबाड नलेखिएको
एउटा अनौठो क्यालेन्डर च्यापेर
कोही भनिरहेछ –
यो साल पनि
जुत्ता बनेन भने
असह्य हुनेछ मेरो पीडा…
बलजफ्ती घिसार्दै
कत्ति पो तन्काउन मिल्ला
यो काइते चप्पलको फित्ता ?

मलाई सोध्छौ भने ऊ को हो,
शायद त्यो मेरो देश हो ।

पोखरा

Ram Prasad Prasain – Katmira Sapana Ra Manchhe

रामप्रसाद प्रसाईं – कटमिरा सपना र मान्छे

मानव नरमुण्डहरू
को र कस्लाइ जस्ता प्रश्नहरूका फलाँटे डाँडाहरू
गुण्डावादका गञ्ज र
सामाजिक र सँसारिक पिण्डेश्वरहरूका धर्मशालामा दाग्बत्ती दिँदै गर्दा
अलि पर देवालयका मन्त्रोच्चारणहरू अवरतण हुँदै गर्दा
ठेलागाडाभरि डोर्याइएका बतासे सपनाहरू
स्वाभिमानी हातका श्रमजीवि ठेलाहरूसँगै
मानवनिर्मित मानीबिहीन पत्थरघट्टमा,
पत्थरघट्टमा फलिँदै गरेका अन्नका दानाहरूमा
दामाशाहीमा भाग लगाउँदै गरिइएका पुर्खालु हस्तिनापुर र हिम्वत् खण्डहरूमा
इतिहासका विधाताले पैतालामुनि भरिदएका खिल
र विजयशील जपमाला एकसाथ नियालिरहन्छ
अघिल्लो साँझको जाँडपानीको रापले लर्बराउँछ
अघिल्लो पुस्ताका कहर अनि विद्धमान् साङ्लाले सुस्ता शोषित भएझैँ

सपनाका बिस्कुनहरूमा रछ्यान रोप्दै हिँड्दा
तिम्रा चक्षुद्वारमा चियाइरहेका गाजलबन्दीले अस्मिताको धज्जी उडाउँछ,
हो, त्यहींनेर ठिङ्गुराका मार्गचित्रको इतिहासमा चिल्सा लाग्यो
इतिहासको साधक परतन्त्रको धावक भयो
जिजीविषा, स्वाभिमान् र स्वतन्त्रताको भावक नाटकीयरूपमा मेजमानको शावक बन्यो

भावक, धावक र साधकहरु
चास्नी, च्याँख्ला र चनैटो एकैसाथ
झुलो, चकमक र झिल्का बोकेर
सिपिका चालमा चल्दैछन् हाम्रा मिसिसिपिहरू
चुलोमा घान हालिएका दाउराहरू
अब भोकका, भोगका र शोकका कारूणिक विम्व नबनून्
अगेनोमा लोहोरो लुकाएर तरुल पकाउने परिपाटीसँगै

मागपत्र,
मार्गचित्र सहितको मृत्यु दण्डको
फैसला छुट्याउन नसक्ने तहसिल
हजुर म त
तमोसुक माथि भाग्यो
झट्टी हान्दिन

जीवन यात्राका हेमोग्लोबिनमा
ह्याम्लेट अस्तित्वको लकेट लेटेर
हाइरोनिमोका मिथक कथामा
मजस्तै जेठीकमेनाहरू
जेठीकमेनाजस्तै महरूका निमित्त
कुपोषणका निदानका निमित्त
प्रत्येक खिलि चुरमा
पोटासियम साइनाइड मिसाउने प्रणयलीला बन्द गर्नै पर्छ

Dr. Mohan Prasad Joshi – Chumbakiya Akarshan

डा. मोहनप्रसाद जोशी — चुम्बकीय आकर्षण

कहिले झर्ना भई छङछङ खस्दै,
कहिले रिसाएजसरी कुर्लेर ओर्लिंदै,
कहिले सुसेला हाली मीठो गीत गाउँदै,
कहिले कम्मर भाँचेर नागबेली खेल्दै,
कहिले सीधासीधा भएर हिंड्दै
एउटा नदी बगिरहेछ |

उसलाई थाहा छैन, ऊ कहाँ जाँदै छ ?
तर जाँदै छ, जाँदै छ, जाँदै छ |
उसलाई थाहा छैन ऊ के खोज्दै छ ?
तर खोज्दै छ, खोज्दै छ, खोज्दै छ |
एउटा चुम्बकीय आकर्षणमा परेर
ऊ निरन्तर अगाडि बढ्दै छ,
आफैँ नदी भएर पनि
प्यासी भएर हिंड्दै छ |

तर एक दिन आउँदै छ जुन दिन उसको
लामो यात्रा सकिँदै छ,
एक दिन आउँदै छ जुन दिन उसको
सारा प्यास मेटिंदै छ,
एक दिन आउँदै छ जुन दिन ऊ
नदीबाट समुद्र बन्दै छ !

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको | डा. जोशीकै ‘कहाँ छ ठाउँ ‘ नामक गीति सङ्ग्रहमा पनि समावेश भएको | सङ्गीत: न्ह्यू बज्राचार्य, स्वर: आनी छोइंग डोल्मा |)

Ishwar Ballav – Manis Ko Payar

ईश्वर बल्लभ – मानिसको पयर

आकाश मात्रै नहेर
धरती पनि हेर्नुपर्छ
धरतीले मानिसलाई सारै माया गर्छ
जति नै तारा आकाशमा छन्
त्यति नै थोपा यहाँ पानी पर्छ,
त्यति नै बिरुवा यहाँ सर्छ
क्षितिज जतिजति टाढिंदै जान्छ
पाइला त्यति त्यति नै यहाँ सर्छ
कहीँ बत्ती बल्दै बल्दै जान्छ,
कहीँ बत्ती निभ्दै निभ्दै जान्छ
तर पयर मानिसको सर्दै सर्दै जान्छ ।

Gayatri Bhattarai – Shabdahar Ma Kabita

गायत्री भट्टराई – शव्दहारमा कविता

फूल-पाति, दुना-टपरीमा
सजिएको
त्यो
आँगन,यज्ञशाला…

फेरी अर्को रङ्गशालामा
अभिनीत हुन्छ
‘म’ हराएको मान्छे।

दर्शक ग्यालरीमा
चिच्च्याँइ रहेको देख्छु –
हिङ नभएपनि हिङ बाँधेँको टालो हल्याई
बाझागरे माइलो
(हो गामनाङे माइलो)

यसरीनै शब्दहारमा
फेरी अर्को कविता ॥

– ओदालगुडी,असम

Pravin Rai Jumeli – Ama Mero Website Ko Homepage

प्रवीण राई जुमेली – आमा मेरो वेबसाइटको होमपेज

मेरो र म जस्तैहरुको यो डायास्पोरामा भिज्नअघि
कुनै एल्डोराडोको सपना बोकिएको थिएन आँखामा
साँपले काँचुली छाडे जस्तै
पास हुनेहरुले स्कुल छाडे जस्तै
त्यस्सै छाडियो गाँउ
त्यस्सै छाडियो गाँउ
गाँउसित ‘गाँउ’ शब्दको टियारा मात्र थिएन
एकान्त र अभावको स्यास पनि थियो
आमाका गोधुली आँखाहरु थिए
थिए गोरेटोहरुमा उसले हुर्काएकी नानीको डोब र गन्ध पनि
विज्ञान र बजारको ड्रग्स बाँट्दै हिंडेको भर्चुअल विश्वले
हेर्दोहेर्दै हामीलाई सिंगो एउटा गाँउको डडेलोभित्र लपेटिसक्यो
जसको ब्ल्योकहोलभित्र डोडो बन्दै गइरहेको
मेरो नानो गाँउ र मेरी चौबन्दी आमालाई कसैले पनि
मिस्यानथ्रोपिस्ट हुनबाट बचाउन सकेन
सफलता र आकांक्षाका टेरोकार्डहरु
मनको उमङ्गलाई क्याथार्सिस नहुँदो रहेछ
देख्छु अचेलभरि नै मौरीका झैं सयौं मेगापिक्सेल आँखाबाट
साल्साका टेक्सटोनिम्समा सम्प्रेषित बन्दै गइरहने
फुल्न नसकेका निकोल किडम्यानहरु बाटो किनारामा
देख्छु अभिभावक भुलेर आकाश खोज्न हिंडेका
नदुख्नसक्ने टर्मिनेटर छातीहरु
परिवेश नै दुर्गन्धको बर्डफ्लूले समातिँदै गएकोले होला
मेरो पनि दुर्गन्ध साथी नै लाग्छ हिंड्ने नाकहरुलाई
कहिले त हरेक दिनका दिमागी खेलहरुको संसदीय शून्यकालमा
सपना विभागको मन्त्रीलाई एउटा प्रश्न गर्न मनलाग्छ
कि त्यो कस्तो पेनकिलर हो
जसले हाम्रो मनका ‘दुख्नु’ क्रियालाई मारिदियो
कसरी नभनूँ कि मादलको मित्रसेनले गाएको अभाव र
बास गिटारको साकिराले उगेलेको पूर्णतामा भिन्नता छ
नभनूँ कसरी कि आफ्नो नाङ्गोपन छोप्न मैले आर्जन गरेको यो लुक्स नै
डान्से मेकाब्रेको सानो प्रतीक मात्र हो
नभनूँ कसरी कि तिमी त त्यहाँ नै छैनौ
छाडिराखेको थिएँ जुन बाँसुरीमा मैले
स्मृतिको प्रज्ञामा नमरुँ म गाउँ र आमा
त्यसैका मिथिम्स सङ्गाली यसैले
मनको सिलिकन भ्यालीमा कपेको छु ‘गाँउ डट कम’
र तिम्रो काखको न्यानोपन छाम्दै छाम्दै
आमा, बनाएको छु तिमीलाई मेरो वेबसाइटको होमपेज
बाँचिरहोस मभित्र सम्वेदनाको सर्वर
दिमागको गूगल सर्चमा मात्र तिम्रो इतिवृत्ति नभेटूँ
प्लुटोक्रेसीको पगरी गुँथ्न होड चलेको भीडमा
राजधानीको रेड टेपिज्म जस्तै आवहवा नबनूँ म।।

Sulochana Manandhar Dhital – Bonsai

सुलोचना मानन्धर धिताल – बोनसाई

तिम्रा इच्छाका तारहरूले
मलाई अझै बेर्र्दै छौ के ?
बेर,
जति बेर्न सक्छौ बेर
आखिर म त
‘बोनर्साई’ नै त हुँ !

Yuddha Prasad Mishra – Ghaam Paani Ghaam Paani (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – घाम पानी घाम पानी (नेपाली बाल कविता)

घाम-पानी घाम-पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन

झिलिमिली झिलिमिली बिजुली चम्क्यो
बादल गज्र्यो अन्धाधुन
जन्ती सन्ती भागाभाग
डोले भरिया कहाँ हुन्, कहाँ हुन्
घाम-पानी घाम-पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन

आँधी आयो असिना आयो
जन्ती बस्ने घरै उडायो
स्यालको बिहे भाङ् भाङ् भुङ् भुङ्
आज असार भोलि साउन
घाम-पानी घाम-पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन

(बालकोसेली पूर्णाङ्क १४, २०४५)

Shashi Thapa Pandit – Anshu Jharera Hune Bhaye Manchhele

शशी थापा (पण्डित)
(मधुपर्क २०६६ चैत)

आँसु झारेर हुने भए मान्छेले
मृत्युलाई पनि जित्न सक्थ्यो होला
तर पनि आँसुको मूल्य यहाँ
आफैँमा पनि अनमोल छ
रोएर बाँच्न चाहन्छ मानिस
रुवाएर जान निको ठान्दैन
पीडा र दुःख सहन्छ बरु
अन्तिम बिदाई दिन सक्दैन
मेरो मनको कुन कुनामा
रुमलिएछ त्यो जिन्दगी
घाँटीमा हाड अड्किरहेझैँ
मझधारमा अड्किएछ जिन्दगी
सम्पन्नता भित्र पनि
मायाको अभावमा पिल्सिएर

केवल वितृष्णै वितृष्णामा
विक्षिप्त बन्न पुग्छ मान्छे ।
देखावटी मुकुण्डो भित्र
मर्किएको खम्बा हुन्छ
बाहिरको सुन्दरताभित्र
कालकुटजस्तो विष हुन्छ ।

Prakash Rajapuri – Sambidhan Lekhan

प्रकाश राजापुरी – संविधान-लेखन
(मधुपर्क असार, २०६७)

संविधानमा नेपालीको पहिचान लेखिदेऊ ।
यस राष्ट्रको गौरव र स्वाभिमान लेखी देऊ ।।
लेखी देऊ यो नेपालीको, हिमाली सभ्यता ।
भृकुटी, जनक, सीताको सम्मान लेखी देऊ ।।
जनयुद्धमा, जसले दिए आहुति प्राणको ।
ती देशभक्त शहिदको, वलिदान लेखी देऊ ।।
विभिन्न धर्म, वर्ण, लिङ्ग र जातिको लागि ।
समान हक र प्रगतिको, विधान लेखी देऊ ।।
विश्वमानव हितको लागि, गौतम बुद्धको ।
अहिंसा, प्रेम, शान्तिको आहृवान लेखी देऊ ।।
अभियान लेखी देऊ, सगरमाथा विजयको ।
नेपालीका अद्वितीय, दास्तान लेखी देऊ, ।।
सम्पूर्ण मानव जातिको, कल्याणको लागि ।
मानवताले भरिएको, संविधान लेखी देऊ ।।
स्वर्ग पनि गर्दछ, जुन धरतीलाई नमन ।
त्यो धरतीको सौन्दर्य र गुणगान लेखी देऊ ।।
भरिए छ वीर गाथाले, इतिहास तै पनि ।
ए, ‘प्रकाश’ केही नयाँ र महान् लेखी देऊ ।।

Ishwar Ballav – Mero Behosi Aja

ईश्वर बल्लभ – मेरो बेहोसी आज

मेरो बेहोसी आज मेरो लागि पर्दा भो
जो थिए पीर सबै दुख सबै पर्दा भो

यो नशा जिन्दगीको प्यारो नशा रक्सीको
के हो यो? पिरती हो नयाँ नयाँ प्रेयसी हो
जे थिए स्वप्न सबै नै पग्लिएर पानी भो
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो

मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आश यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरु ती अल्झिएर बाधा भो
हराए गीत सबै हार सबै पर्दा भो

शब्द – ईश्वर बल्लभ
स्वर – नारायण गोपाल