Thakur Man Lama – Swagat Nawa Barsha

तरङ्गित मौषम उन्माद त्यस्तै पार्न
मनमा उल्लास खुशी तनमा भर्न
स्वच्छन्दताको पवन बहार बहदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

आशा यही बिजारोपण हुदै हुर्कदै फुल्न
सपना रंगीन सबले यही देखि साँच्न
शितलता ती जुनका लेप सरी लगाउदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

दुःख कष्ट सब सदा नासिउन
मनमा कतै रीस राग क्रोध नआउन
यस्तै यस्तै कामना ह्दयमा जगाउँदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

पुलकित हुदै पालुवाहरुमा कोमलता लहराई
फैलाई बाहु शान्तिको आवाज उठाई
कुना काप्चा कन्दराहरुमा ज्योति भर्न
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

हिजोको तिक्तता मैलता सबै बिर्साउन
एकताको भाव सँगै हाथ अघि बढाउन
सुन्दर सुनौलो भबिष्य यही नयनमा देखाउदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

Komal Bhatta – Muluk Ko Khajana Luterai Sakhap Bho (Nepali Gajal)

कोमल भट्ट – मुलुकको खजाना लुटेरै सखापभो (गज़ल)

मुलुकको खजाना लुटेरै सखापभो
भरोषा र आशा चुटेरै सखापभो

गरीवी र भोकले सधैँ ग्रस्त पार्दा
समाजका सुस्वप्ना टुटेरै सखापभो

अशिक्षा र अन्धो समझ फैलिनाले
भविष्यत र भाग्य फुटेरै सखापभो

इलम क्यै नपाई युवाशक्ति सारा
विदेश तर्फ लर्कन छुटेरै सखापभो

कहाँहो सुशासन गयो भक्ति देशको
सबै पद र लोभमा जुटेरै सखापभो
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Ananda Ram Paudel – Byakaran

आनन्दराम पौडेल – ब्याकरण

साँधसीमाना मिचिएछकि
छिमेकीसँगको व्यवहारमा तलवितल परेछकि
ज्यापुनी दिदी कराइन्
प्रोफेशर सरले
भाषा पढाउन छाडेर
ध्यान दिएर सुने
ज्यापुनी दिदीले धारे हात लाएको
उफ्रि-उफ्रि चिच्याएको
प्रोफेशरले हेरिरहे
र अन्तमा भने
ब्याकरण मिलेन
शव्दसंयोजन, शव्दविन्यास
एउटै मिलेन।

Padma Prasad Mainali – Jastako Tasto

पद्यमप्रसाद मैनाली – जस्ताको तस्तो

कोही उड्छन् गगन विचमा कोही गुड्छन् धरामा ।
कोही रुन्छन् पथ अपथमा नाङ्गीदै यो धरोमा ।।

कोही रम्छन् महलहरुमा शानले भर्भराई ।
कोही घुम्छन् जततत कतै गाँस बास नपाई Continue reading “Padma Prasad Mainali – Jastako Tasto”

Muktinath Sharma – Sahitya

मुक्तिनाथ शर्मा – साहित्य
(Source: मधुपर्क जेठ, २०६९)

पाकेका स्याउका दानाभित्रको रसमाधुरी
काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी
जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ
साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।।
के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ
क्रोधको बेग जो रोक्छ सभ्य शान्त बनाउँछ
शान्ति क्रान्ति यही बोल्छ बेला मौका उदाउँछ
साहित्य जीवनीभित्र स्वादिलो पन ल्याउँछ ।।
वन काफलमा जस्तै वासना मग्मगाउँछ
छल्छल्कल्कल खोलीको बोलीमा कल्कलाउँछ
चिर्बिर् चरी जुरेलीको बोल्छ माया लगाउँछ
खाना समाजको हो यो स्वादिलो पन ल्याउँछ ।।
ज्ञानको भोक मेटिन्छ भेटिन्छ चेतना सफा
सच्चिदानन्द सौन्दर्य भावना उच्च निर्मल
उन्नति प्रगति निम्ति ज्ञान विज्ञान छाउँछ
साहित्य चेतना छर्दै स्वादिलो पन ल्याउँछ ।।
भाषाको जननी हो यो मान्छेको श्रेष्ठ मित्र हो
जिन्दगीको उचाइ यो भोगको स्वाद एहि हो
स्रष्टा द्रष्टा यही नै हो समाज मन्पराउँछ
विशाल क्षेत्र साहित्य स्वादिलो पन ल्याउँछ ।।

Aryabiman Chitrakar – Manai Ta Ho

आर्यबिमान चित्रकार – मनै त हो

मनै त हो के बुझोस् यसले
तिम्रा ऐतित्युदका बाघचालहरु
मनै त हो, सहेरै बसिदिन्छन्
तिम्रा करकापहरु
के बुझोस् यसले
तिम्रा स्वार्थका ब्यालेन्ससीतहरु
गाएरै बसिदिन्छन्
आफ्ना यूलोजीका गीतहरु

मनै त हो के बुझोस् यसले
तिम्रा षड्यन्त्रका भुइचालोहरु
मनै त हो नबोलेरै कुर्छन्
आफ्नो पालोहरु
के बुझोस् यसले
तिम्रा सिम्प्याथीका अद्जस्तमेंटहरु
सहजै बनिदिन्छन् साउने भेलका
रेंटल टेन्टहरु

मनै त हो के बुझोस् यसले
तिम्रा डाइमेन्सनका परिधिहरु
मनै त हो बाधेरै राख्छन्
आफ्ना बचाऊ बिधिहरु
के बुझोस् यसले
तिम्रा रंगमंचका नाटकहरु
स्वीकार्य ठान्छन् पार्श्वध्वनिका
कथित बादकहरु

मनै त हो के बुझोस् यसले
तिम्रा पाराडाइम सिफ्टहरु
मनै त हो हाँसेरै थाप्छन्
अनवान्टेड गिफ्टहरु
के बुझोस् यसले
तिम्रा कटुवचनका धारहरु
रेत्त्तिऐरै बस्छन् बरु
गर्दैन् छेकबार अरु

मनै त हो के बुझोस् यसले
तिम्रा दोषका निराधारहरु
मनै त हो कम्प्रोमाइज गर्छन्
धैर्यका आधारहरु
के बुझोस् यसले
तिम्रा मृगतृष्णाका प्रकारहरु
अझै फराकिलो पार्छन्
आफ्नै आकारहरु

मनै त हो केहि बुझ्दैन यसले
मनै त हो केहि जान्दैन यसले
मनै त हो!!
मनै त हो !!!!

Shiva Prakash – Virtuous Maanchhe !

शिव प्रकाश – भर्चुअस मान्छे !

धेरैलाई उस्तै देख्छ
थोरैलाई आफू जस्तै
आफू धेरै हुन सक्दैन
धेरै, थोरै हुन चाहदैन
खुम्चिएर बसेको हुन्छ-
थोरै,
चेतनाको विशाल आयतनमा
एउटा मान्छे जस्तै !

उन्नत छ-
सफेद झूठको खेती
सम्मुन्नति ल्याएको छ –
मान्छे जस्ता देखिने
धेरै मान्छेको जीवनमा धेरै
उ जान्दैन-
धेरैले गरेको खेती
कर्महिन बसेको छ –
एउटा सानो कित्तामा
थोरैभित्र
एउटा मान्छे जस्तै !

बतासमा आकार देख्छ
पानीमा रंग देख्छ
तर केही देख्दैन-
मान्छे जस्ता देखिने धेरै मान्छेभित्र
एउटा भर्चुअस बुद्ध जस्तै
एउटा भर्चुअस मान्छे !

(अश्रृंगार कविता अभियान…)
बोस्टन, अमेरिका

Biplav Pratik – Upaya Ko Khoji Ma

बिप्लव प्रतिक – उपायको खोजीमा

निरुपाय
सुर्यझैँ, जसको अरू उपाय छैन
मानिसका लागि बिहान बिउँझिदनु र सुतिदिनु रातमा
बिलकुल सुर्यजस्तै म पनि बिउँझदै, सुत्दै
उदाउँदै, अस्ताउँदै
एउटा नियममा बाँधिएको छु
अनि उद्देश्य ढाँटेर बाँच्नु
साह्रै कष्टदायक छ मलाई ।
त्यसैले विरोध बोलिरहेछु, नयाँको खोजीमा ।

केही अवश्यै हराएको छ
चोट निरन्तर परिरहेछ
घाउ हराएको छ सायद
आर्तनादलाई मेरो
कहिले समाजले, कहिले जुलुसले
कहिले सामयिक घटनाले
विवेचना गर्न नसकेर
अल्मल्याइदिएको छ ।

यस्तो अवस्थामा जो कोही पनि
निरुपाय छट्पटिन सक्छ, कहालिन सक्छ
तर, मथ्न पनि सक्छ
आफ्नो शेष ऊर्जालाई मस्तिष्कभरि ।
आज त्यही सम्झेर
म मथिरहेछु मस्तिष्क
यातना बिर्सेर, पीडा बिर्सेर
टुङ्गोको तस्बिर हातमा च्यापेर
एउटा परिवर्तित मार्ग रोजेर
अनुहारभरि इन्द्रेनी बुनेर, उनेर, पोतेर ।

– नयाँसडक, ७ मे १९८७

Baidyanath Upadhyaya – Drishya

वैद्यनाथ उपाध्याय – दृश्य

मेरै पीडाहरूको
समागमले
प्रगाढ छ यो रात!
मेरो वश चल्दथ्यो भने
म सूर्य झूल्काई दिन्थें
त्यो कालो पर्दा जस्तो रात
म च्यातेर मिल्काई दिन्थें।
सँधैं
केही छुटीरहेछ
केही जुटीरहेछ
जीवनको क्रम..
मेरो बौद्धिक सीमादेखि पर
केही घटिरहेछ निरन्तर
भौतिक लालसाको विस्तारमा
खुम्चिएको छ आकाश
भोगवादको प्रवल्यले
डगमगाएको छ यो धरती
संकटग्रस्त हिमाल
वन-सम्पदाहरू
निद्राग्रस्तहरूको सपनाको
दैल्हो चियाई
शरण माँगिरहेछन
थरि थरिका
मानव अत्याचारले
पीडित
नदी-नालाहरू
आफ्नै अस्तित्वको
तलाशमा
काल्लिंदैं बगिरहेछन
अँध्यारो यो कैनवासभित्र
म यो कुन दृश्य
प्रत्यक्ष गरिरहेछु!

Tirtha Yatri Paudel – Maane Danda Chautariko (Nepali Gajal)

तिर्थ ‘यात्री’ पौडेल – माने डांडा चौतारीको

माने डांडा चौतारीको बर याद आयो
दुई खोलीको बीचको मेरो घर याद आयो

बर्खा लाग्यो खोला नाला बौलाएरे भन्छन्,
पैरो जादा घर छोडेको डर याद आयो

बन पाखा भीर पहरा खोल्सा खोल्सिहरुमा,
घर छाउन शीला खोज्या खर याद आयो

बासी खादै दिन काट्दा बिदेशमा आज,
खुशी साट्दै मिलि खा’को दर याद आयो ॥

लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन

Indra Kumar Sunuwar – Tyag

ईन्द्र कुमार सुनुवार – त्याग

तिम्रो साथ नै मेरो शक्ति
म हु भक्त तिमी मेरो भक्ति
तिर्मो पबित्र प्रेम हो मेरो धन
तिम्रै लागि खाली छ यो मन

तिमी नै हौ रुदा मलाई फकाउने
दुखमा पनि तिमी नै छौ हसाउने
उकालो चड्दा हात समाई तानेउ
ओरालीमा आफू लडि मलाइ थामेउ

यसरी लडेउ फेरि उठ्न सकिनौ
मुटुभरिको बेदना कहिल्यै भनिनौ
आशु पिएर अ मृत पिलायौ
जीबन दिएर किन मृत्यु स्वीकारेउ!

Chandra Ghimire – Feri Arko Aaitabar

चन्द्र घिमिरे – फेरि अर्को आइतवार

सुदूर पूर्वको क्यासिनो रात स्थगन गरेर
लावारिस सालका पातहरू
बज्ने सल्र्याङ–सल्र्याङ
सन्त्रास बजाउँदै
आयो अर्को आइतवार ।

बज्यो
सुर्ताको सुर्ती मल्दै
मलेशियामै हात छुटेको
रघुवीरको खुइयऽऽऽ तन ।

बज्यो
अरबबाट घर फिर्दा
मालिकबाट
अरबी छोरो आर्जेकी
छब्बिस वर्षे धनकुमारी
र उनको जोगी मन ।

बज्यो
यत्तिनै खेर
चियापसले रामदुलारीको कितली हुँदै
सर्लाहीबाट
अइयाऽऽऽ समाचारको फुस्सऽऽऽ बाफ
‘अपहरित रामस्वरूपको फिरौतीपछि हत्या’
नथामेर त्यो ‘ओभरडोज’
दुर्घटनाग्रस्त चिया गिलासहरू
भिखमपुरमा चुडियो धु्रवेश दाको सितार
बच्चे साह तेली बसाइँ हिँड्ने
लू चल्छ ।

बग्दो नदीको पइँ्या अररियो
सहनै पर्ने भो
फेरि अर्को लोधर आइतबार
भोग्नै पर्ने भो
फेरि अर्को गद्दार आइतबार !

Rakesh Karki – Meri Shrimati

इन्जिनियर राकेश कार्की – मेरी श्रीमती (कविता)

(१)
आज पनि उस्तै रौनक जस्तो हिजो अस्ति
मेरी श्रीमती मेरो दिलमा गुलाफ फुले जस्ति
लोलाएको सन्ध्यामा संगै सुस्ताउँछिन्
हरेक बिहानी मेरो सामु मीठो मुस्काउँछिन्

(२)
भगुवान तिम्रो बरदान श्रीमतीको माया
जस्तो चर्को घाममा पनि मलाई उन्को छायाँ
हौसलाकी खानी बन्छिन् प्रत्येक बिचलनमा
वेशर्त आँट र विश्वास बोकी मनमा

(३)
उज्यालो बटुलेर सधैँ साथ सजाउँछिन्
मादक हेराइले उभाइ खुशी छल्काउँछिन्
चोखो उनको हृदयमा म धड्किन्छु
नि:स्वार्थ उनको साथ बोकी माथी उक्सिन्छु

(४)
गर्वले हरदम मेरै छेउमा उभिन्छन्
सौन्दर्यको चारैतिर किरण फिजाउँछिन्
मुटुमा मुटु जोडीरहने मेरी श्रीमती
धन्य भएँ म, मलाई सुख कति कति

– लस् एन्जेलस्

Komal Shrestha Malla – Khoj

कोमल श्रेष्ठ मल्ल – खोज

सपना बिउझन्छ ?
प्रहार
बिध्वंस

बिभत्स रागमा ! ?
कुरुप क्रुर अनुहार कुर्चीमा
रहस्यमय रहर
कम्पीत माटो ?

आश्रय
खोजका
असह्य इच्छाहरु
गन्तीमा औलाहरु
लास

रातो रातो
खोला Continue reading “Komal Shrestha Malla – Khoj”

Suchitra Khaniya – Niyati Ko Khel Yestai (Nepali Gajal)

सुचित्रा खनिया – नियतिको खेल यस्तै (गजल)
(Source: मधुपर्क जेठ, २०६९)

नियतिको खेल यस्तै खेल्यो जिन्दगीले
जीतभन्दा हार बढी झेल्यो जिन्दगीले

जिन्दगीको ओत भन्नु यही मनको छाता
वषर्ात्मा घाम पानी छेल्यो जिन्दगीले

अँगेनामा खाली खाली तावा मात्रै तात्यो
बिना आँटो भोक मात्रै बेल्यो जिन्दगीले

आज भन्यो भोलि भन्यो दिन मात्रै गन्यो
माकुराको जालोजस्तै जेल्यो जिन्दगीले

Bhupin Byakul – Ishwarka Nadiharu

भूपिन ब्याकुल – ईश्वरका नदीहरु

ईश्वरले छोएपछि टक्क रोकिन्छन्
ईश्वरका नदीहरु !

ईश्वरले छोएपछि ह्वात्त घट्छन् –
ईश्वरका नदीहरु !

ईश्वरले छोएपछि स्वाट्ट बढ्छन् –
ईश्वरका नदीहरु !

तर मान्छेका नदीहरु
त्यति धेरै आज्ञाकारी हुँदैनन्
त्यही स्तरमा शासित हुँदैनन्
त्यही हदमा अनुशासित हुँदैनन्

मान्छेका नदीहरु
निरन्तर विद्रोह गरिरहन्छन्
निरन्तर युद्ध लडिरहन्छन्
निरन्तर रुपान्तरित भइरहन्छन

ईश्वरका नदीहरु
स्वयम् ईश्वरहरुझैं
कथाहरुमा बग्छन
कथाहरुमा रोकिन्छन्
र कथाहरुमै घटबढ हुन्छन्
जब कि, बगिरहन्छन् निरन्तर
अबरोधहरु पन्छाउँदै
गतिशीलताको पूजा गर्दै
रुपान्तरणलाई स्वीकार गर्दै
महान्-आस्था समुद्रमा विलीन हुन
उत्सव मनाउन
आकाशमा उड्न
र फेरी नदी बन्न
नदीहरु !

ईश्वरले छोएपछि टक्क रोकिन्छन्
ईश्वरका नदीहरु !

Narayan Dutta Shastri – Desh Lai Nabirsaun

नारायणदत्त शास्त्री – देशलाई नबिसौँ
(मधुपर्क जेठ, २०६९)

हामी सक्छौँ वरपर डुलौँ, ज्ञान विज्ञान खोजौँ
शिक्षा-दीक्षा हितकर हुने भावना स्वच्छ रोजौँ
हामी हाम्रो मुलुकभरको दुःख देखी नतर्सौँ
छाडौँ अल्छी, कुनियत सबै देशलाई नबिर्सौँ ।
हेरौँ हाम्रा नजर भरका उच्च आदर्श देश
हामी लागौँ प्रगति पथमा बन्छ नेपाल बेस
स्वार्थी नेतागण किन भए ? मात्र तीदेखि तर्सौँ
ज्यानै अर्पौँ तर पनि कठै ! देशलाई नबिर्सौँ ।
जे जे पर्ला ! अब अघि बढौँ, क्रान्तिदेखि नतसौर्ँ
मौका हेर्दै, गतिविधि बुझौँ, देशलाई नबिर्सौँ ।
खोजौँ आˆनो हक, बिहकमा भित्रभित्रै नपिल्सौँ
प्राणै त्यागौँ तर पनि यहाँ, देशलाई नबिर्सौँ ।

– चुँदीरम्घा, तनहूँ ।

Basanta Mohan Adhikari – Afai Lai Ek Fera Hera (Nepali Gajal)

बसन्त मोहन अधिकारी – आफैलाई एक फेर हेर

हे मान्छे आफैलाई एक फेर हेर
आफ्नै आत्मा एक फेर चिनेर हेर

यो आत्मा र शरीर बेग्ला बेग्लै हुन्छ
नपत्याए आफैलाई जाँचेर हेर

छल्न, ढाँट्न सक्छौ यो आँखालाई तिमी
यो आत्मा छल्न सक्दैनौ सोधेर हेर

मरे पनि यो शरीर यहि देख्न पाउँछौ
आत्मा छ अन्नत बिचार गरेर हेर

जन्मने र मर्ने यो शरिर हो तिम्रो
आफैंभित्र छ इश्वर खोजेर हेर

Bal Krishna Lamsal – Kina Hunchhau Tadha Timi (Nepali Gajal)

बालकृष्ण लम्साल – किन हुन्छौ टाढा तिमी (गजल)

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?

तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि।
कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि?

साचो माया गर्छौ भने भन्नु पर्छ मन को कुरा।
अन्जानमै हाम्रो माया मैले कतै फुकाए कि?

मेरो पनि एउटै विश्वाश साचो माया गर्नु पर्छ।
राम्रो मौका खेर फाली ठुलो मुल्य चुकाए कि?

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?

Pratirodh Karki – Chhaya

प्रतिरोध कार्की – छायाँ
(मधुपर्क साउन, २०६७)

पछ्याइरहेको छु छायाँलाई
बढेको छ दूरी नजरको
छायाँसँग मेरो
आत्मीयताको आदिम
प्रेमबस्ती बसालेको छु
छायाँविहीन छायाँको
निर्माणाधीन महलमा
मायाको आकृति Continue reading “Pratirodh Karki – Chhaya”