Shrawan Mukarung – Kishne

त्यो, घामको अनुहार नदेखेको किस्नेको अनुहार देख्यो कि
मलाई घिन लाग्छ
त्यो, पानीको छिटो नभेटेको किस्नेको कपाल देख्यो कि
मलाई रिङटा लाग्छ

बिहान, धारामा ङिच्च दाँत देखायो भने किस्नेले
दिनभरि आफ्नो काम बिग्रन्छ
बेलुकी, झ्यालतिर लुसुक्क आँखा लगायो भने किस्नेले
रातभरि आफ्नो सपना बिग्रन्छ

म, हाटबाट फर्कँदा भूतजस्तो पछि–पछि आउँदो रै’छ किस्ने
मेरो त हंसले पनि ठाउँ छोड्यो
म, जङ्गलबाट झर्दा दुम्सीजस्तो अघि–अघि झर्दो रै’छ किस्ने
मेरो त जीउभरि काँडा उम्रियो

सपना पनि हातमा सर्प लिएर लखेट्छ मोरो
ब्यूँझँदा पसिनैसरि हुन्छु
विपनामा त झन् आँखैमा अलच्छिना
म रातभरि भरि रुन्छु
देख्यो कि परै सुइसुइला पार्छ, भेट्यो कि असत्ती आँखा मार्छ
अनुहारमा रगत सार्छ
आमा ! त्यो किस्नेले मलाई कुन दिन
कुन अभरमा पार्छ !

Shrawan Mukarung – Ishwar Ghisriyeko Gohi

यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यो मन्दिरको अशक्तताछेउ
दिनभरि उफ्रेका पपगीतहरूले
कुल्चिगएको हुनुपर्छ–
केही गम्भीर गजल, भजन र मालश्री धुनहरू
यो बुद्धजस्तो साँझलाई
वेदका केही वृद्ध ऋचाहरूले तरबार बनाएको हुनुपर्छ
र यो काटिएको अल्लाह– आकाशको आँखाभरि
बाइबलको केही रोमान्टिक पदहरूले
आफ्नो पिरो स्वप्न खोजिरहेको हुनुपर्छ
यहीँबाट–
खर्पनमा मृतसूर्य बोकेर गएको नित्सेजस्तो ब्रेकफेल ट्रक
फर्केको हुनुपर्छ–
दर्जनौँ एब्स्ट्रयाक्ट तराईबासीहरू लिएर
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !

यहीँबाट–
निक्खर सेतो परेवा मङ्गोलियन शिशुको आँखा खाएर
सगरतर्फ उडेको हुनुपर्छ
उसको नाबालिक आमाको सांस्कृतीय वक्षबाट
बहिरहेछ– आधुनिकता
चुरोटको आर्टिस्टिक धुवाँसँगै
रेस्टुराँका गुप्त क्याबिनहरूमा फैलिरहेछ– शास्त्रीय सङ्गीत
–पाखे ईश्वर…! पाखे ईश्वर…!!
यहीँबाट फर्कन्छन् रात्रिबसहरू सुदूर गावोँन्मुख भएर
टोपीमा साङ्लो लिएरै आइपुग्छन् ओशोहरू–
ईश्वर बन्ने सपनासित दुर्घटित हुन
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !

यहाँका यी हास्यमुदित सहरहरू
कहँदैनन्– ईश्वरत्व
चिहानभित्र फेरि बौरेको थाहा पाएर फर्काइएका जस्ता–
डिप्रेसिस्ट दर्जनौँ राष्ट्रवादी कविहरू
लेख्ने आँटै गर्दैनन्– ईश्वरका कविता
यहीँ फुल्छ स्टिफन हकिङलाई सुहाउने गुलाफ
तर चेपिन्छ– त्यो
हस्तरेखाको पोस्तक

र छात्राहरूका टिनएज् अटोग्राफहरूमा
थाहा छैन– यहाँका भद्र कलाकारहरूलाई
थिएटरजस्तो अखबारका प्रभातीय पृष्ठहरूमा
कस्तरी चिच्याउँछ– ईश्वर ?
दासत्वका विदेशी ब्रह्म–भैँसीहरू धपाउँदै धपाउँदै
यहीँबाट फर्कन्छन्– गाउँवादी नेताहरू
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !

यहीँबाट–
जसै आइरहेछ– गृहलक्ष्मीहरूका नारीवादी खित्काहरू
लोकल दादाजस्तो जून चुइँकिरहेछ– बाहिर
झ्यालबाट फुत्त उफ्रिन्छ– बिरालो
फुटाइजान्छ केही टिपिकल गमलाहरू
छेवैको अर्धनिद्रित छिँडीबाट
सुप चपाउँदै निस्कन्छन्– केही उपबुज्रुकहरू
–इराकमाथिको कारबाही…
–देवेगौडाको फेन्टास्टिक् मुस्कान…
–महाकाली सन्धि…
–मिस नेपाल/ग्रेटर नेपाल…
–उग्र राष्ट्रवाद/दैविक राष्ट्रवाद…
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !

यो पेन्टी, ब्रा र मगमगाइरहेको वीर्यको सुगन्ध
–ईश्वर स्त्री हुनुपर्छ
यो गुन्द्रुक, किनेमा
–ईश्वर गाम्ले हुनुपर्छ
यो कार, क्यासिना
–ईश्वर सहरिया हुनुपर्छ
यी त खातेहरू हुन्
अर्को पागल
अर्की सस्तो वेश्या
अरू अरूहरू हुन्
यसरी हेरिरहँदा टाढा देखिने अस्पष्टता
ईश्वरको निर्दोषिता हुन सक्छ

यी भोका पर्खालहरूबाट पखालिँदै गएका नाराहरूसित
ईश्वरको केही अंश हुनुपर्छ
यी नाङ्गा भित्ताहरूबाट च्यातिँदै गउका पम्पलेटहरूसित
ईश्वरको केही अवशेष हुनुपर्छ
भर्खरै रेलिङ तोडेर गएको जुलुसभित्र ईश्वर थिए–थिएनन् ?
यस्तरी सडक भत्केको छ
यस्तरी मन्दिर र गुम्बाहरू भत्केका छन्
लतारिएको छ– बिजुलीको तार
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यहीँनिर–
कुनै आदिम मान्छेको हृदयसित
दु्र्घटित भएको हुनुपर्छ– ईश्वरको बौद्धिकता ।

Shrawan Mukarung – Bhanubhakta

श्रवण मुकारुङ – भानुभक्त
(Source: Himal Khabar)

पहिलो जुनी
वि.सं. १८७१ असार २९ मा आए
भानुभक्त र गए- वि.सं. १९२५
असोज ६ सँगै

दोस्रो जुनी
भए आदिकवि
कतै चिम्सा आँखा
कतै लामो नाक
कतै गोरो वर्ण
कतै कालो वर्ण

कतै पूर्ण कद
कतै अर्ध कद
कतै रथयात्रा
कतै अबिर जात्रा

तेस्रो जुनी
भए माछा
नदीको लहरमा कविता लेख्दालेख्दै
एकदिन अचानक
खायो- गोहीले
……….

बयालीस लाख जुनी
भए किम्बुको रूख
शरद ऋतुको आँखैअघि
खायो रेशमकीराले
……….

चौरासी लाख जुनीपछि
आज फेरि
जन्मिए भानुभक्त मानिस भएर
(मानिसको जीवनको कुनै भर छैन)
र हिँडे भानु
अमरावती कान्तिपुरी नगरी

हतारमा बिर्सेछन् बिर्के टोपी

बाहुला सुर्केको कमिज
खासाको जिन्स पेन्टमुनि
गोल्डस्टार सुज
झ्ोलामा टाबेल, गन्जी र कट्टु
एसएलसीको सर्टिफिकेट र
श्रीप्रकाश कोविदको उपन्यास
खल्तीमा नागरिकता, पासपोर्ट
रु.सात सय पचास र
आमाको सादा तस्बिर

बालाजु, बसपार्क, धरहरा
घण्टाघर र रानीपोखरी
घुमे कविजी दिनभर
गुनकेशरी फुलिरहेछ गमलामा
रित्तै दौडिरहेछन् चपला अवला
जब ढल्क्यो घाम
गमे कविजी कता जाम?
कविले कविको मर्का बुझछ
सम्झ्े उनले चित्तधर

खल्तीमा छ रु. सात सय पचास
लच्छिनकी रहिछिन् घरबूढी
दिइन् स्नेहले दालभात
ढल्किए कविजी चुरोट तान्दै
सम्झ्े उनले चुदी-रम्घा
झ्र्‍यो आँसु दुई कानमा
ताने सिरक र छोपे मुख

किनकि-
भोलि त उड्नु छ मलेसिया
लेख्नु छ- रामायण!

Shrawan Mukarung – Patrakar

तिमी छक्क पर्छौ
कि,
तिमीजस्तै ऊ
कुनै होचो घरको मझेरी
बलेँसी, पँधेरी, जङ्गल
अँध्यारो छिँडी
साँघुरो गोठ
या,
अस्पतालको कुनै बेड वा परिसरमा
आफ्नै आमाको कोखबाट
उसको जन्म भएको हुन्छ

तिमी अझ छक्क पर्छौ
कि,
तिमीजस्तै–
पहाडको कुनै अपरिचित गाउँको धूलो
या,
भित्री मधेसको
कुनै टोल, खेत, इनार
आँपको फेद, राजमार्गको छेउ
अथवा–
सहरको कुनै गल्ली, डबली
वा पिच रोडहरूमा
दगुर्दादगुर्दै ऊ हुर्किएको हुन्छ

उसलाई देखेपछि
तिमी झन् तीन छक पर्छौ
तिम्रा जस्तै–
उसका आँखा, मुस्कान
र गहिरो आत्मविश्वास…

अहा !
उसलाई भेटेपछि त झन्
तिमी छक्क पर्नुको कुनै सीमा नै रहँदैन–
‘के पत्रकार आफैँमा एक मानिस हो…?!’

घाम
एकदम सीधा
तिम्रो सिउँदोमाथि मस्त छ
तिमीलाई आज, आकाश हेर्नु छैन
तिमी
एकदम उसलाई हेरिरहेछौ एकटकले
हेर्दाहेर्दै–
उसका बलिष्ठ पाखुराहरू
फैलिरहेछन्– घडीफूलको लहरा भएर
र तिम्रो मुटु र मस्तिष्कको गोलो पृथिवीलाई
कस्दै छ बेस्सरी !

तिमीलाई थाहा छैन–
प्रजातन्त्र र पत्रकार
कुन माउ, कुन चल्ला ?
तर, तिमीलाई थाहा छ
आफू उभिएको भूमि
सुन !
जिउँदो देशमा
पत्रकारको प्रायः हत्या हुन्छ
र उसको उद्दीप्त अनुहार
कुनै आतङ्कारीको बूढो बन्दुकको दवासमा
सविस्तार अवतरित हुन्छ

तब,
तिमी छक्क पर्दै पर्दैनौ
किनकि–
तिम्रो सिउँदोको सिन्दूर
लोकगीत भइसकेको हुन्छ !

Shrawan Mukarung – Prem Geet

अब म तिमीलाई यहीँ छोडेर जान्छु !
यी जन्तीजस्ता पर्वत
चराको माला
बुकी र बतास
यी सनईजस्ता भन्ज्याङ
लोकन्ता खोला
गोधूलि र मौनता
यी मान्छेका आदिम र आधुनिक दुःखहरू
कसैलाई थाहा हुनेछैन ।

अब म तिमीलाई यहीँ छोडेर जान्छु !

मलाई खोज्दाखोज्दै
कुनै प्रिय दिन तिमी मर्नेछौ
कुनै इतिहास बन्नेछैन – त्यो
मृत्युपर्यन्त पनि भेट्नेछैनौ मलाई
कुनै युग
कुनै काल
कुनै जन्म
मेरो मन फर्किनेछैन – कहिल्यै ।
पगली !
अब म तिमीलाई यहीँ छोडेर जान्छु !
यहीँ
बस यहीँ
यो तिम्रो सिउँदोमा बजिरहेको मेरो आलो रगतको बाँसुरीमा ।